Sunday 30 November 2014

Saarc, Seemana and Sangeet by Prakash Sayami

संगीत, सिमाना र सार्क
प्रकाश सायमी

सार्क सम्मेलनको भेला हुन्छ र भेलामामा वातचीत र विवादको कुरा उठ्ने दुई देश हुन् , पाकिस्तान र भारत ।
भारत र पाकिस्तान छुट्टिएपछि लामो युद्धकाल चल्यो जब वार्ताको माहौल बन्यो, त्यतिवेला दुई प्रधानमन्त्रीको भेट तय भयो । दुई राजनीतिक नेताको भन्दा पहिले त्यतिवेला सांगीतिक स्तरका दुई हस्तिको भेट भयो, झेलम नदीको किनारमा । पाकिस्तानकी गायिका नूरजहाँ र हिन्दुस्तानकी गायिका लता मङ्गेशकर ।
नूरजहाँ लता भन्दा अग्रज थिइन् भारत पाकिस्तानसित छुट्टिनु  अगि नै । नूरजहाँका समकालीन थिए, शमशाद वेगम, पारुल घोष, राजकुमारी, अमीरबाई कर्नाटकी, राजकुमारी । यी सबै गायिकाको नाउँ  चलचित्र गायनको रेकर्डिँङ इतिहास १९३१ मार्च १४ मा आलमआरा सिनेमाको गीत रेकर्डिँग पछि मात्र जोडिन्छ, यसवीच अर्को दुई गायिका जौहर जान र सुमलन्दा देवीको नाउँ अद्भूत किसिमले इतिहासवद्ध भएका छन् ।
गौहर जान भारतीय संगीत इतिहासकी प्रथम रेकर्डेड गायिका हुन् भने सुमलन्दा देवी अर्की ।
द ग्रामोफोन एन्ड टाइपराइटर लिमिटेड एन्ड सिस्टर कम्पनीज्मा फ्रेडरिक विलियम गैन्सवर्गले यही महिना –(१९०२ नोभेम्वर ) मा  यो गीत रेकर्ड गर्दा त्यो भारतकै निम्ति अपार खुशीको कुरा थियो ।
ईसं १८७३ मा ऐलिन एन्जेलिना एउवार्ड नामबाट अर्मेनियन  ख्रीष्टानको रुपमा जन्म लिएकी गौहरले पछि धर्मपरिवर्तन गरेर  इस्लाम भएकी थिइन् र यही नामबाट गाउन थालिन् ।
 एकतीसवर्षपछि सोही स्टुडिओमा सुमलन्दादेवी गाउन पुगिन्, भारतवर्षमै पछि ठुमरीकी रानी भनेर कहलिएकी ती गायिका काठमाण्डू विजयेश्वरी छाउनीबाट कोलकत्ता पुगेकी थिइन्, तिनी नेपाली जातिकी प्रथम गायिका  मेलवादेवी मानन्धर गाउन  थिइन् ।
मेलवादेवी कोलकत्ता पुग्दा गौहर जानको निधन भएको तीनवर्ष चारमहिना भएको थियो तर यसवीच धेरै महिला गायिका आउन सकेको स्थिति थिएन ।
सन् १९१० मा मुम्बई कालवादेवीबाट रिलिज भएको गौहरजानको माइका पिया विन कछु ना सुहाये गीत नै अन्तिम थियो भने त्यसको दशकौँ पछि प्रेम को ढुँढने आई जगत में प्रेम के सुन के पुकार भूल गई तन मन की सुध वुध गाएर रायगढ संगीत सम्मेलनमा ठुमरी की रानी पदवी पाएपछि मेलवा भारतकी निम्ति सुमलन्दा र नेपालकी निम्ति मेलवादेवी नै रहिन् । राणा सरकारको कोपभाजन पछि भारत पलायन भएकी मेलवाले भारतमा त्यो नाम फेर्नु परेको थियो ।
मेलवादेवी नै भारत र नेपालको संगीतलाई संगत दिने पहिली साधक थिइन् । उनले हिन्दी, उर्दू, बँगाली, पञ्जावी भाषामा अ‍ेनकन् गीत गाएकी थिइन् । हिज् मास्टर्स भ्वाइस् मा त्यो सुरक्षित हुनु पर्छ भन्ने संस्कृतिकर्मी रामशरण दर्नालले आफ्नो एक लेखमा लेखेका छन् ।
मेलवादेवी मानन्धर पछि नेपालको दरवारबाटै खेमचन्द प्रकाश बम्बई पुगे र उनले हिन्दी फिल्म महल मा आयेगा आनेवाला गीत संगीत गरेर लतालाई अजर अमर बनाए । लताले यसपछि  नेवारभाषी संगीतकार भोला श्रेष्ठको संगीतमा फिल्म ‘यह बस्ती यह लोग’(सन् १९५६) मा ‘दिल जलेगा तो जमाने में उजाला होगा ’ गाएकी थिइन् ।
लताले यसवाहेक ‘माइतीघर’ चलचित्रमा मवीवि शाहको शब्दमा पाश्र्वगायनमा सहभागी भएकी थिइन् , लताले मवीवि शाहको शब्दमा ‘आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ’ गाइन् ,यसवाहेक उनकी बहिनी आशा भोँसले, उषा मंगेशकरले पनि नेपाली गीत गाएर सहभागित जनाएका छन् ।
मन्ना डे, गीता दत्त, सुरेश वाडेकर, अनुराधा पौडवाल, सोनू निगम, कुमार सानू, अभिजीत भट्टाचार्य, साधना सरगम आदिले पनि गायनमा सहवद्ध भएका छन् ।
भारतीय सिनेजगत बलिऊडमा पाश्र्वसंगीतमा भोला श्रेष्ठ उनकी छोरी सुषमा श्रेष्ठ (पूर्णीमा), संगीतसंयोजक मनोहरि सिंह, रञ्जित गजेमर, कृष्ण सुनार, वीके शाही, उदीतनारायण झा, मुरलीधर मिजार आदि पनि आवद्ध छन् ।
यसवाहेक चलचित्र निर्देशनमा वीएस थापा, छायाँकनमा विनोद प्रधान आदि  सक्रिय छन् भने लामो समयदेखि निर्माणनियन्त्रणमा केवी लामिछाने सक्रिय थिए उनले हिन्दी सिनेमा जलमहल पनि बनाएका थिए ।
सार्क राष्ट्रमा भारत र नेपाललाई सङ्गीत, नृत्य र चित्रकलाले जोडेको छ ।  भारत र  नेपालले संयुक्त लगानीमा ‘पञ्चवटी’ नामक् सिनेमा बनाएको गर्वशाली इतिहास छ । 
सिनेमाका कारणले भारत वाहेक नेपालले पाकिस्तान, बाँग्लादेश, श्रीलंकासित पनि पनि संयुक्त लगानीमा धेरै ४१ सालदेखि चलचित्र निर्माण गरेको इतिहास छ । यसमा नेपालबाट शिव श्रेष्ठ, भुवन केसी, सुषमा शाही संलग्न थिए भने पाकिस्तानबा नदीम, बारबरा सेरिफ, जावेद सहभागी रहे । बाँग्लादेशबाट रोजीनाको सहभागी भएका छन् ।
हालैका दिनमा श्रीलँका सुप्रसिद्ध गायक संगीतकार डा. प्रवथ निलान्त पैरिस र नेपालका कवि दुर्गाबहादुर शाह बाबाले संयुक्त पहलमा नेपाःश्री नामक् एल्बम तयार पारेका छन्, नेपाली र सिंहाली भाषामा । जसमा सम्पूर्ण गीतको रचना कवि शाहले गरेका छन् भने संगीत डा पैरिसले । 
संगीतकै कारणले पाकिस्तानका गजलगायक  मेँहदी हसनले चाँदनी शाहको शब्दमा र दीपक जंगमको संगीतमा नौओटा गीतगजल रेकर्ड गराएका छन् जुन नेपाल र पाकिस्ताको सांस्कृतिक निधिको रुपमा दुवैतिर सुरक्षित छ , नेपालको एफएमबाट ती कहिलेकाहिँ प्रसारण पनि हुन्छन् । गजलका वादशाह मानिने मेँहदी हसन स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य सांस्कृतिक संस्थानको महाप्रवन्धक हुँदा स्वरसम्राटको निमन्त्रणामा आएर शाम ए गजल पनि गरेका छन् ।
मेँहदी हसनलाई पछ्याएर गायक, संगीतकार दीपक जंगमले पाकिस्तानको राजधानीमा गएर उनकै गजल उर्दूमा गाएर प्रस्तुत गरेका छन् ।
पाकिस्तानी संगीतसित सुपरिचित कलाकार दीपक जंगमले आफू रत्न रेकर्डिँग संस्थानको महाप्रवन्धक हुँदा गजल गायक गुलाम अलीलाई नेपालमा आमन्त्रण गरेर नेपालीभाषाका  गीत रेकर्ड गराएको अद्धितीय इतिहास छ । मवीवि शाहद्धारा रचित ती गीत गुलाम अलीको आवाजमा कालजयी बन्न पुगे, गाजलु ती ठूल्ठूला आँखा होस् वा के छ र दिऊँ तिमीलाई मैले ?
यसवाहेक पाकिस्तानका शकीना वेगम, शौफिक खान, ताहिर नदीमले नेपाली गीत गजलका निम्ति काम गरेका छन् ।
नेपाली संगीतको यति धेरै दक्षिण एशियाई भूखण्डमा लगानी हुँदा पनि भारतले ठूल्ठूला काम र कार्यक्रम गर्दा पाकिस्तान र बाँग्लादेशलाई सम्झिन्छ तर नेपाली कलाकार वा नेपाली संगीतकर्मलाई नसम्झिनु चैँ मित्रताको धेरै लाभ उठाएको हो नि भन्ने भ्रम हुन पुग्छ ।
भारतको मुम्बई र कोलकत्तामा सन् १९२७ मा स्थापित भारतीय रेडियो प्रसार समितिले केही कालपछि नेपाली गीतकोको विशेष कार्यक्रम गोरखा प्रसारणलाई रोक लगाएको छ भने नेपाली पत्रपत्रिका र सिनेमा भारतमा जान निकै मुश्किल र सेन्सरशिपको अन्य झमेला भारतमा यथावत छ भने अन्य मुलुकसित त यसको पहल हुन बाँकी नै छ ।
सार्कको यो भेलाले नेतागणको हात मिलाई र शुभकामनाको आदानप्रदानसँगै एकनिष्ठ भएर जोडिनुपर्ने अर्को पाटो हो , संगीत र सिनेमा । जसमा यताका र उताका प्रतिभामा केही कमी छैन भन्ने कुरा इतिहासले देखाएको छ ।
००
 

No comments:

Post a Comment