Wednesday 29 July 2015

Gayak Fatteman by Prakash Sayami

युग गायक  फत्तेमान ः दृश्य –अदृश्यमा
प्रकाश सायमी




नेपाली संगीतका पाँच युगमा विशेष चर्चा हुने युग हो, नेपाली संगीतको स्वर्णिम युग । यसका युगलाई क्रमवद्ध रुपमा हेर्दा २०१८ देखि २०३५ सम्मा मानिन्छ ।
लगभग यो दुई दशकको समावधिमा नेपाली संगीत आकाशमा धेरै यस्ता होनहार कलाकार आए, जसले नेपाली समाजलाई समृद्ध, सम्पृक्त र सशक्त बनाए । यसमा चार पक्षको सशक्त भूमिका रह्यो, गायक, संगीतकार, गीतकार र स्रोता समाज । नेपालीभाषी स्रोताले जमेर नेपाली गीतसंगीत सुने र तत्कालीन समाजमा हिन्दी गीतसंगीतलाई खुलेर वहिष्कार गरे, त्यसमा रेडियो नेपालको प्रमुख भूमिका रह्यो ।
रेडियो नेपाल स्थापनाको ठीक नौ वर्ष पछि आएका यी कलाकारमध्ये नारायणगोपाल, माणिकरत्न, अरुणा लामा, अम्बर गुरुङ, बटुकृष्ण ज्वाला,  वच्चुकैलाश, फत्तेमान राजभण्डारीको महत्वपूर्ण भूमिका रह्यो । यद्यपि यो भन्दा एक दशक अगि आएका नातिकाजी, हरिप्रसाद रिमाल, उस्ताद भैरववहादुर थापा, तारादेवी, कोइलीदेवी, धर्मराज थापा, प्रेमध्वज प्रधानको पनि महत्वपूर्ण कदम रह्यो भनें उस्ताद् साइँला, मास्टर मित्रसेन, उस्ताद् बद्री, मास्टर रत्नदासको देन अलगै रह्यो ।
नेपाली संगीतको स्वर्णिम युगमा आएका गायक गायिकाले राम्रा संगीतकार, गीतकार पाए त्यस्ता भाग्यमानी गायक मध्ये फत्तेमान राजभण्डारी एक हुन् ।
काठमाण्डूको जयवागेश्वरीमा जन्मेका फत्तेमानको शुरुवाती गायन पशुपतिको भजन र भारतीय मूलका धुरन्धर गायकबाट प्रभावित  थियो ।
उनले भक्ति संगीतबाट गायन शुरु गरेको भएपनि उनलाई ख्याति सुगमसंगीतमा आएर मिल्यो, यो सौभाग्य जुटाउने उनका गुरु वा अग्रज नातिकाजी श्रेष्ठ थिए ।
नातिकाजीको संगीतमा फत्तेमानले गाएका गीतबाट उनको विशिष्ट पहिचान वन्यो । नातिकाजीको संगीतमा गाएका मर्न वरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिनँ र यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले ... यी दुई गीतले फत्तेमानलाई नेपाली सुगम संगीतमा आफ्नो पहिचान बनाउन शक्त बनायो । तीर्थराज तुलाधर र यादव खरेलका यी शब्दलाई संगीत गर्ने नातिकाजीको स्वर्णस्पर्शी हातले फत्तेमानको ओठमा चढ्न पाउँदा एउटा चमक र तरंग ल्यायो । फत्तेमान आफ्ना समकालीन माणिकरत्न, महेश पाल्पाली, भृगुराम श्रेष्ठ, पुष्प नेपाली, कन्हैयाकुमारका अगाडि फरक देखिए ।
स्वरमा मिठास, घनत्व र विविधता भएका कारण फत्तेमानले अन्य संगीतकार शिवशंकर, अम्बर गुरुङ, कोइलीदेवी, नारायणगोपालका संगीतमा पनि गाए । नातिकाजीको संगीतपछि फत्तेमानको स्वरलाई नयाँ धरातल दिने दुई संगीतकार शिवशंकर र नारायणगोपाल थिए ।
शिवशंकरको संगीतमा गाएको कस्तो बत्ती बालिएछ रात आफैँ विझाउने, कस्तो माया लाइएछ ले उनलाई एउटा पृथक परिचय दियो तर नारायणगोपालको संगीतमा गाएको गीतले वृहत परिचय बनायो । यसले नेपाली संगीतमा दुई ध्रुवको असीम मिलन भन्न सकिन्छ ।
नारायणगोपालसित परिचय र गायन
नारायणगोपाल कुशल गायक, संगीतकार र अभिनेता थिए (स्मरणीय रहोस्, उनको मञ्चीय जीवन २०१३ मा नाटक त्याग बाट शुरु भएको थियो ।) तर उनको विरासत उस्ताद् आशागोपाल गुरुवाचार्यको घरबाट शुरु भयो भने उनको सांगीतिक संगत दुई हस्ति प्रेमध्वज प्रधान र माणिकरत्नबाट चुलियो । शास्त्रीय संगीतका ज्ञाता भएको ठाउँ वरौदाको महाराज फिरदौस संगीत विद्यालयमा उनको शास्त्रीय अध्ययन भयो तर गायनको ज्ञान गरिमामा उनी अम्बर, गोपाल र कर्म योञ्जनका सन्निकट थिए । उनलाई राम्रो स्वर र त्यसको प्राकृत अवस्थाको संकेत नहुनु असम्भव छ , यही विधि विधानमा उनले फत्तेमानको गुणगम्भीर स्वरलाई ग्रहण गरे ।
नारायणगोपालले मनपराएका गायक फत्तेमानको स्वर विद्युतीय तरंगमा गुञ्जिसकेको थियो भने परिचय र निकटताको क्रम बढाइदिए, न्हैकन्तला निवासीय नरेन्द्र बाटाजूले । सितारवादक बाटाजूले फत्तेमान र नारायणगोपाललाई परिचय गराईदिएको त्यो क्षण सम्भवतः नेपाली संगीतको एक महत्वपूर्ण घटकको रुपमा  लिन सकिन्छ, गोपाल योञ्जन र नारायणगोपाल मित लगाएको क्षण जस्तै ।
फत्तेमानको स्वरको मात्र होइन, व्यक्तित्वबाट प्रभावित नारायणगोपालले तुरुन्तै आफ्नो संगीतमा नारायणगोपालका निम्ति केही गीत संगीत गरेर गाउन दिए, ती सबै गीत तीसदशकका सर्वाधिक चर्चित गीत भए, जिन्दगीका पानाभरि सुख भेटिँदैन, वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले र शान्तिको धरा ..
यी सबै गीतले फत्तेमानलाई नेपाली संगीत समाजमा उच्चाकर्षण दियो दुई कारणले, एक नारायणगोपालको सम्बल र सशक्त संगीतले र अर्को, नारायणगोपालले आफ्नो संगीतको गीत आफूले वाहेक अरुलाई गाउन दिएका थिएनन् यस्तो भाग्य पाएका उनका दोस्रा गायक हुन् कन्हैयाकुमार सिंह पछि ।
फत्तेमान पछि मात्र अरुणा लामाले नारायणगोपालको संगीतमा अरुणा लामाले गाएकी थिइन् ।
नारायणगोपालको संगीतमा गाएर फत्तेमान राजभण्डारीले जुन परिचय नेपाली सांगीतिक समाजमा बनाए त्यसका निम्ति उनलाई भजन शिरोमणी, गायन शिरोमणी वा युग गायक कुनै पनि परिचय उपयुक्त भएन, उनी नारायणगोपालको नजरमा संगीतका महाराज भए र उनलाई दिलदार गायक स्वरसम्राट नारायणगोपालले महाराज उपनाम दिए ।
नारायणगोपालले महाराज उपनाम दिएका फत्तेमानको दोस्रो पारी –इनिँग) अझै यादगार भयो जब उनको दार्जीलिँगबाट नेपाल आएर स्थायी बसोबास गरिरहेका अम्वर गुरुङसित भयो । अम्बरसित उनले केही कालक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत शाखामा सहकर्मी भएर काम पनि गरे , यी क्रममा अम्बरको संगीतमा फत्तेमानले फर्केर हेर्दा, जब घाम लाग्छ जस्ता नाटकमा गीत पनि गाए । यी गीतको विशिष्टतालाई कायम राख्न अम्बरले संगीतमा जति मिहेनत गरे, त्यतिकै गायनमा फत्तेमानले पनि अहम् भूमिका निभाए, फर्केर हेर्दा जे देख्छौ तिमी अरुलाई नभन, म फूल होइन मानिस हुँ, तिमीलाई गरीब भन्दा जस्ता गीत यस समयका  प्रतीक हुन् ।
नाटककार सत्यमोहन जोशीको शब्दमा रचित फर्केर हेर्दा जे देख्छौ तिमी बोलको गीतले फत्तेमानलाई रंगमञ्चका नायक नै बनाएको थियो , उनी जमे यस गीतमा । यो इतिहास भुल्न नसकिने गरी कोेरिएको छ नेपाली नाटकको आलेखमा ।
अम्बर र फत्तेमानको संयुक्ति –कोर एशोसियसन)को जोडदार नमूना बनाईदिए अर्का कवि श्यामदास वैष्णवले । वैष्णवको हातबाट पाएको कवि गोपालप्रसाद रिमालको गीत रातो र चन्द्र सूर्य जंगी निशान अम्बरले दसमिनटमा संगीत गरे । यति कम समयमा संगीत गरिएको यो गीत यति लामो समय सम्म टिक्नुमा अम्बरको संगीतजस्तै स्वर अनि फत्तेमानको सहगायन प्रमुख मानियो । आज पनि यो गीत नेपालका क्रिकेट खेलाडी खेल मैदान आफ्नो जोश थप्न गाउँछन् , यो गीत गाएर उत्साह वढाउने नेपाली खेलाडीलाई थाहा छैन होला यसमा फत्तेमान जस्ता होनहार गायकको स्वरको जार्गन र गर्जन पनि छ भनेर ।
फत्तेमान र अम्वरको अर्को सफल योगदान रह्यो, अम्वरकै शब्दमा रहेको होशियार, यसवखत होशियार ..गीत । यस गीतमा अम्बरले फत्तेमानलाई फत्तेमान भन्दा १८ वर्षपछि आएका नयाँ गायक भक्तराज आचार्यसित उभ्याइदिए र यहाँले फत्तेमानले आफ्नो करामत छोडेनन् ।
नेपाल र नेपालीलाई जगाउन तयार पारिएको यो गीतमा फत्तेमानको स्वरले अलग्गै आस्तित्विक अभियान दिएको थियो । यस वाहेक फत्तेमानले अम्बर गुरुँगको संगीतमा गाएका छन् ।
फत्तेमानको गायनको अर्को महत्वपूर्ण पक्ष हो, लोक शैलीको गायन । यस शृँखलामा उनले पुण्यप्रसाद सुवेदीको शब्दमा घिन्ताङ्मा  घिन्ताङ् मादलै बज्यो एक कालचिन्ह्को रुपमा सदा सम्झना गरिने गीत हो, यस गीतमा फत्तेमानसित युगल स्वरमा तारादेवीको स्वर समाविष्ट छ भने नातिकाजीको संगीतको विशिष्ट जादू कायमै नै छ । तर वीसको मध्यमा रेकर्ड भएको यो गीत साठीको दशकमा फत्तेमानले नयाँ पुस्ताकी गायिका अञ्जु पन्तसित गाउँदा पनि यसले आफ्नो कालवोध यथावत कायमै राखेको थियो । यही गीतबाट आजकी उदीयमान गायिका अञ्जु मञ्चमा आएकी थिइन् ।
फत्तेमानले युगल गायनमा तारादेवी वाहेक कमला श्रेष्ठ, ज्ञानु राणासित पनि गाएका छन् भने उनले राष्ट्रिय भावका गीतमा पुरुष कलाकारसित सहगायन गरेका छन् ।
राष्टिय भाव, आधुनिक, लोकगायन, भजन वाहेक फत्तेमानको गायनको विशिष्टता उनको गजल शैलीका गायनमा विशेष देखिन्छ, शम्भुजित वाँसकोटाको संगीतमा उनले गाएको अँध्यारो मेरो यो भाग्य रेखा .. त्यसमध्ये एक स्मरणीय आधार मान्न सकिन्छ ।
उस्ताद् भैरववहादुर थापा, दीपक जंगम, ज्ञानवहादुर, गोविन्दवहादुर नेपालीका गीत गाएका फत्तेमानले पछिल्लो पुस्तामा शुभवहादुर, शम्भुजीत वासकोटा, डाक्टर किराँत सम्मका गीत गाएका छन् ।
उनको गायनको युगलाई नेपाली संगीत आकाशमा सम्मानका साथ गर्विलो स्वरको भव्य युग मानिन्छ तर उनले गाउने चाहेका र गाएका जस्ता गीतको संरक्षण नेपाली संगीत भइरहला त ? यो प्रश्न अति आदरणीय गायक फत्तेमानले छोडेर गएका छन्
नेपाली संगीत आकाशमा लामो समयसम्म निरन्तर गाउने गायकमा फत्तेमानलाई सदा सम्झना गर्न सकिन्छ तर सवभन्दा अलग तर्कमा आधारमा हेर्ने हो भनें उनी नेपाली संगीतको पुनर्जागरण युगमा पुनः सक्रिय हुने गायकका रुपमा सम्झना गर्न सकिन्छ ।
उनको गायनको शिष्टता, सरलता र आभ्यासिक स्वरका कारण अनि उनको सामाजिकता र सद्भावनाका कारण सदैव सम्मानका साथ हेरिनेछ ।
उनी प्रति नेपाली जगतले हरेक किसिमको सम्मान दिए पनि उनी माथि भएको अन्याय पनि कहिले विर्सिनसक्नुको छ, उनको निधन हुँदा राष्ट्रले उनलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान दिन नसक्नु त्यतिवेलाको सरकारको नालायकी मान्न सकिन्छ ।
संगीत रचना, गायनमा आफ्नै किसिमको बौद्धिक पाक भएका फत्तेमानको रातो र चन्द्र सूर्य देशभरि गुञ्जिने तर उनलाई यही देशले एउटा प्राज्ञको रुपमा कुनै पद दिन नसक्नु वा देशका ठूल्ठूला पुरस्कार ती चाहे जगदम्बा श्री हुन् वा इन्द्रराज्य लक्ष्मी पुरस्कारबाट वञ्चित हुनु हाम्रै संगीत समाजको पनि कति ठूलो कृतध्नता वा नालायकी हो ठोकुवा गरेर भन्न गाह्रो छ ।
फत्तेमानले त गाएर आफ्नो कर्म र धर्म फत्ते गरेर गए तर उनका अनुयायीले उनको योगदानलाई फत्ते गर्न सक्छ, यो प्रश्न सदैव खट्किरहन्छ अनन्त सम्म ।
००
 

Saturday 18 July 2015

Kagazma phuleko Ajambari ful by Prakash Sayami

कागजमा फुलेको अजम्बरी फूल
प्रकाश सायमी
 –मलाई यो स्वीकार गर्दै गर्दा काफी शरम लाग्छ, म कहिले लामो उपन्यास पढ्न सक्दिनँ । म कहिले लामो उपन्यास पढ्न सक्दिनँ,  मैडम बाभोरी वा वार एन्ड पीस जस्ता महान उपन्यास पनि । अवश्य डन क्विजोट बारम्बार पढेको छु किनकि त्यो साँचो उपन्यास होइन, त्यो केवल एक कहानी हो जो बराबर चलिरहन्छ ।
 –म उपन्यास पढ्दिनँ– ती झूठा हुन्छन् ।
यी दुई महान् अभिव्यक्ति उपन्यासका वारेमा पोखिएका गत शताब्दीका तरंगहरू हुन् । पहिलो उद्गीत वाक्य अर्जेन्टिनाका महाकवि होर्खे लुई बार्खेसको हो भनें दोस्रो भनाई पोल्याण्डका कवि ज्बीग्नीयेव हेर्बेतको हो । शायद दुवैले आफ्नो समयमा कुनै उपन्यास लेखेनन् । तर चर्चा सदैव साहित्यिक भएकै कारणले पाइरहे ।
यी उपन्यासका विरोधी होइनन्, साहित्य बेचिनुका लागि लेखिने विधा उपन्यास बनेकोमा दुखेसो मात्र होइन ।
सन् २००० मा भारतमा एउटा वहार नै आएको थियो जो पनि साहित्यकारहरु आजकाल के गरिँदैछ भन्दा उपन्यास लेख्दैछु भनेर धाक दिन्थे । मानौँ, उपन्यास नलेख्ने मान्छे साहित्यकार नै नमानिएला भन्ने डर भएको थियो । त्यतिवेला हामी नेपालमा उपन्यासको एक शताब्दी मनाउने तयारी गर्दै थियौँ र संयोगले नेपाली उपन्यासको शतावार्षिकी मनाउँदै गर्दा त्यसका आयोजकमध्ये पंक्तिकार पनि एक थिए । त्यतिवेला नेपाली उपन्यास विक्रीका  आधारले भन्दा सम्मानका आधारले हेरिने चलन थियो, त्यही क्रममा पाँच उपन्यासकारलाई सम्मान गरिएको थियो, गोविन्द गोठाले, धुँस्वा सायमी, ध्रुबचन्द्र गौतम, गीता केशरी र सरुभक्त ।
यी चारमध्ये धुँस्वा सायमी नेवारभाषाका प्रथम उपन्यासकार थिए भनें गीताकेशरी पारिजात पछि दोस्रो चर्चित नेपाली उपन्यासकार थिइन् ।
नेपाली भाषामा उपन्यास लेख्ने कम थिए त्यसमा पनि महिला उपन्यासकारको गणना त्यतिवेला औँला बराबर पनि थिएन ।
आज वाह्रपन्ध्र वर्षमा उपन्यास बेस्ट सेलिँगको आरेखमा आइसकेको छ लेख्नेको संख्या र छाप्नेको संख्या पनि अपार भएको छ तर त्यसका वीच ती उपन्यासकार हराए वा विकेनन् जो वास्तवमा उपन्यासमै काम गर्थे । अहिले नेपाली उपन्यास लेखकले होइन, प्रकाशकले वेच्छ । अन्तर्राष्ट्रिय बजार पनि आजकाल यसरी नै धावा बोल्न थालेको छ ।
जे एम् क्लेज्, ओरहान पामुक, जे एम कोएत्जीलाई पन्छाएर आजकाल विदेशी उपन्यासमा पनि फरक नाम अगाडि आएका छन्, एलिजावेथ गिल्बर्ट, जे के रोलिँग, खालेद होस्सेनी, पाउलो कोहेलो, हारुकी मुराकामी आदि । यी शायद बुक स्टल प्रतीक्षा गरिने नाममध्ये हुन् ।
उपन्यास विकाउनका लागि अनेक धन्दा गरिन्छ , त्यसैले आजकाल उपन्यास प्रकाशन क्रिकेटको कन्ट्रैक्ट जस्तै हास्योद्रेक हुँदै गएको छ । राम्रो नराम्रो दुवै अर्थमा ।
यसै वर्ष उपन्यासको वीरसिक्कामा  एउटा नयाँ घटना घटेको छ, प्रकाशकले कहिले छाप्न नमानेको किताब पचास वर्ष पछि छापिएको छ यही महिना । त्यो उपन्यास आगामी असार २९ गते बजारमा आउँदैछ तर त्यो बजारमा आउनु अगि नै चर्चित भइसकेको छ , त्यो उपन्यास हो हार्पर लीको गो सेट अ वाचम्यान् ।
यस उपन्यासका वारे समीक्षक लेभ ग्रसम्यानले लेखेका छन्, वीसौँ शताब्दीका सबभन्दा प््रभावशाली मानिएकी उपन्यासकार लीको टू किल अ मकिँग बर्ड आज सम्म चार करोड प्रति विक्री भइसेको छ । लाइब्रेरी जर्नलको सर्वेक्षण अनुसार यो अहिले पनि सबभन्दा पढिने उपन्यास मध्ये एक हो । लीको यो पहिलो प्रकाशित उपन्यास हो तर यो तिनले लेखेको पहिलो उपन्यास अवश्य होइन । पहिलो हो, गो सेट अ वाचम्यान् जुन तिनले सन् १९५० को मध्य हिउँदमा न्यू योर्कको फ्ल्याट्मा लेखेकी थिइन् त्यतिवेला तिनी विमान सुपरिवेक्षकको पदमा कार्यरत थिइन् । उनलाई  यो उपन्यास नछाप्न उनको प्रकाशकले दबाब दिएपछि उनले दोस्रो उपन्यास  आफ्ना वाल्यकालका हिरो झँ लुई फिञ्च माथि लेखे ।”
त्यो उपन्यास थियो, टु किल अ मकिँग बर्ड । यो उपन्यास प्रकाशन भएको लगत्तै हार्पर ली यति चर्चामा आइन् उनलाई विश्व साहित्यिक समाजले वेस्ट सेलरको रुपमा पढ्न थाले । मकिँग बर्ड प्रकाशन भएको दोस्रो वर्ष  हलिउडmमा यसमाथि फिल्म बन्यो, बब मूलिगनको निर्देशनमा युनिभर्सल पिक्चर्सले बनाएको यो फिल्म अन्य साहित्यिक कृतिमा बनेका सिनेमो सूचीमा सबभन्दा माथि पर्न सफल भयो , होवार्ड फास्टको स्पार्टाकास, डा जिवागो, लस्ट फर लाइफ, द ग्रेट गाट्स्वी, जोरवा दी ग्रीक, अन्ना केरेन्निना, द प्राइड एन्ड प्रेज्युडासको इतिहासमा यो अग्र पंक्तिमै रह्यो । यो लेखिकाको निम्ति सामान्य कुरा थिएन । यसपछि उनले फर्केर हेर्नु परेन ।
यस उपन्यासमा नायकको भूमिका निर्वाह गरेर गेगरी पैकले त्यो वर्षको उत्कृष्ट अभिनेताको ओस्कार पुरस्कार पाए । उनको अभिनय मनपरेर लेखिकाले आफ्ना दिवंगत पिता अमासा लीको रिस्ट वाच गेगरीलाई उपहार दिए जुन घडी उपन्यासका नायक एटीकस फिञ्चले पनि लगाउँथे । यही उपन्यासका कारण दुवै लेखिका र  अभिनेताका वीच लामो समय आत्मीय सम्बन्ध पनि रह्यो ।
सन् २०१२ को ११ जुलाई मा व्हाइट हाउसमा आयोजना गरिएको उपन्यासको ५० औँ वार्षिकीमा गेगरीकी विधवा विरोन्कीले लेखिका हार्पर लीलाई राष्टिय धरोहर भन्दै आफ्नो र आफ्ना देशवासीका तर्फबाट अभिवादन गरेकी थिइन् ।
 एक उत्कृष्ट उपन्यासमाथि बनेको टु किल अ मकिँग बर्ड  फिल्मलाई सम्मान गर्दै त्यसै वर्ष तीनओटा  हुलाक टिकट प्रकाशन गरिएका थिए, पहिलो ः  उपन्यासको प्रथम संस्करणको टाइटल, दोस्रोमा मेनरोबिलको टाउन ताल र तेस्रो हुलाक टिकटमा चलचित्रका नायक ग्रेगरी पैकले अदालतमा बहस गर्दैै गरेको दृश्य ।
 इतिहासमा यस्तो घटना विरलै हुन्छ, उपन्यास प्रकाशनको पचासौँ वर्षमा आयोजित त्यस  कार्यक्रममा कृतिलाई सम्मान गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले टेक्स्ट बुक अफ लाइफ भनेर संज्ञा दिए । एउटा राष्ट्र प्रमुखले आफ्नो देश चिनाउने कृति पाउनु र त्यो कृतिलाई चिन्नु कति ठूलो संयोग हो ।
तर यस्ता प्रसंगमा हामीले हाम्रा कालजयी कृतिलाई कति सम्झियौँ, कति दुःखद् पाटो छ । हार्पर लीको उपन्यास प्रकाशन भएको केही वर्ष पछि नेपाली भाषामा प्रकाशित पारिजातको पहिलो उपन्यास शिरीषको फूल को पनि यस्ता धेरै प्रसंग छन् जसलाई जोड्दा हामीसित पनि हाप्नै नसकिने इतिहास छ भनेर गर्व गर्न सकिन्छ । 
नेपाली भाषामा महिलाले लेखेको पहिलो सफल उपन्यास ।
मदन पुरस्कार द्वारा सम्मानित पहिलो महिलाको पहिलो उपन्यास ।
अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक चर्चित नेपाली उपन्यास ।
भूमिकाको कारणले सर्वाधिक चर्चित उपन्यास ।
चर्चा र विवादमा उपनिवद्ध एक मात्र उपन्यास ।
पारिजातको पनि यो पहिलो उपन्यास होइन, यसअगि उनले दुई उपन्यास लेखेर च्यातिसकेकी थिइन् । शिरीषको फूल पनि कुनै प्रकाशकले प्रकाशन गर्न तयार नभए पछि पहिलो संस्करण पारिजात आफैँले प्रकाशन गरेकी थिई ।
पुस्तक लेखिएपछि पढ्ने पहिलो पाठक निवन्धकार शंकर लामिछाने थिए भने यसवारे सुन्ने पहिलो स्रोता एक डेनिश चित्रकार थिए । यस उपन्यासलाई पुरस्कृत गर्दा नेपाल भाषाका महाकवि चित्तधर हृदय ले पारिजातलाई अगुवाएका थिए ।
यस उपन्यासले आजभन्दा ५० वर्ष पूर्व मदन पुरस्कार पाइसकको इतिहास छ । यो उपन्यास प्रकाशन भएको ४० वर्ष पछि यसमाथि चलचित्र पनि बनिसकेको छ जापानी निर्देशक ताकोस्की इतोहको निर्देशनमा ।
चलचित्र बन्नु भन्दा पहिले नै यो उपन्यास सर्वाधिक चर्चामा  थियो । यो उपन्यासलाई पुरस्कृत गरेको केही वर्ष पछि समालोचक गोविन्द भट्टले यो कागजको पूmल मात्र हो भनेर ठोकुवा गरेका थिए ।
कागजको फूल आफैँमा एक परिहासयुक्त व्यँग्य मानिन्छ । भारतमा बनेको पहिलो सिनेमास्कोप सिनेमा कागज के फूल उत्कृष्ट भइकन पनि त्यो सबैभन्दा नराम्रोसित फ्लप भयो, यसको क्षति व्यहोर्न निर्देशक गुरुदत्तलाई धेरै वर्ष लाग्यो । आज सम्झिँदा गोविन्द भट्टको संकेत त्यतैतिर पो हो कि जस्तो पनि बुझिन्छ ।
यस पुस्तकको पहिलो पटक आवरण बनाउने कलाकार मनुजबाबु मिश्रले उपन्यास पढ्नु अगि शिरीषको फूल देखेकै थिएन तर उनले त उपन्यासको पनि यति सुन्दर भविष्य देखेका थिएनन् ।
यो उपन्यास वर्सेनी विक्रीको आधारमा उपल्लो दर्जामा पर्छ यसले साहित्यिक पाठकलाई त बँचाएकै छ तर त्यो भन्दा वढी वीस दशकको त्यो साहित्यिक महतमलाई पनि कायमै राखेको छ ।
साहित्यकार शंकर लामिछानेको जापान भ्रमण पछि  जापानमा पढेको ओसामा दजाईको द सेटिँग सन् बाट प्रभावित भएर लेखक पारिजातलाई चर्चा गरेका थिए र उनीबाट लामिछानेले भनेजस्तै उपन्यास जन्मेकोमा उनी मात्र होइन, सम्पूर्ण साहित्यिक जगत नै लाभान्वित भए ।
शिरीषको फूल माथि सिनेमा बनाउने क्रममा यस पंक्तिकारलाई पहिलो पटक निर्देशकको रुपमा चयन गरिँदा शिरीषको फूल कस्तो हुन्छ भनेर पर्यावरणविद्, वातावरणविद् र वनस्पतिशास्त्रीसित बुझ्न खोज्दा ठूलै हँगामा पनि भएको थियो, यसवारे समीक्षक सौरभले आफ्नो पुस्तक असहमति मा लेखेका पनि छन् । अर्का वनस्पति शास्त्री डा. तीर्थवहादुर श्रेष्ठले पारिजातलाई पनि शिरीषको फूल वारे अज्ञानता भएको हुन सक्ने जानकारी दिएका थिए ।
यस्ता सबै गोबरझ्याउला पछि पंक्तिकारले चलचित्र निर्देशन गर्ने अपजसी कामबाट विदा लिएको स्मरण हुन्छ ।
नौलाखमा बनाउने भनेर शुरु गरिएको यो फिल्म साठी लाखमा पूरा भएर पनि सफल हुन सकेन ।
लेखक पारिजातले यो कृतिमाथि निर्मित  फिल्म हेरेको भएको निराशा वाहेक केही पाउने थिइनन् तर पनि  हामीसित एउटा बहुपठित पुस्तकको  सिनेमा अर्काइभ  भयो जुन सार्थक त भएन ।
सार्थक नुहुनुका धेरै कारण होलान् तर ती कारण मध्ये एक प्रमुख कारण हो यस कृतिमाथि सिनेमा बनाउने निर्णय नै पारिजात स्मृति केन्द्रको आत्मघाती निर्णय हुन पुग्यो ।
प्रसिद्ध उपन्यासकार ग्राबिएल गार्सिया माख्र्वेजले म उपन्यासमाथि जति खर्च गरे पनि सिनेमा बनाउन दिन्नँ भनेका थिए उनले त्यसो भन्नुका पछाडि उनका पाठक नै उनको उपन्यासका दिग्दर्शक एवम् परिकल्पनाकार हुन् । उनी चाहँदैनथे कुनै एक निर्देशकले आफ्ना पाठकमा रहेको त्यो कल्पनाको संसार खोसीदेओस् ।
माख्र्वेज मात्र होइन उनी भन्दा धेरै पछि आएका जापानी लेखक हारुकी मुराकामीले पनि आफ्नो उपन्यास नर्वेजियन ऊड मा सिनेमा बनाउन निकै मुश्किलले अनुमति दिए तर चाल नपाउने गरी दुई पटक उनले सिनेमा बन्नबाट रोक लगाए ।
यस्ता इतिहासका वीच पारिजातको उपन्यास शिरीषको फूल बन्यो , राम्रो नराम्रो जे सुकै बने पनि पारिजातका अक्षरलाई पर्दामा कोर्ने काम भयो ।
पारिजात स्वयम्ले यस उपन्यासलाई पछि आफ्नो चयनमा राख्न मनपराएनन् ।
मदन पुरस्कार पाएको वारे पनि उनले असन्तुष्टि नै जनाइन् ।
सन्दर्भतः एउटा रमाइलो कुरा यहाँ जोड्न सकिन्छ, मदन पुरस्कार पाउनु अगि उनी मदन शम्सेर कै नाममा स्थापित मदन स्मारक स्कुलमा अध्यापन गराउँथिन् । यही स्कुलमा कार्यरत रहँदा उनले एउटा भजन पनि लेखिन् । सुन्दा अचम्म लाग्ने यो कुराको ज्वलन्त साक्षी अझै पनि मदन पुररस्कार गुठीमा सुरक्षित छ, ईश्वर माथि आस्था नराख्ने पारिजातले लेखेको त्यो सरस्वति वन्दना मा सर्दार रुद्रराज पाण्डेकी सुपुत्री श्री पाण्डे ले संगीत गरेकी थिइन् ।
श्री पाण्डे पछि निवन्धकार प्रा डा दुर्गाप्रसाद भण्डारीकी अर्धाँगिनीका रुपमा चिनिन्थिइन् , केही वर्ष अगि उनको पनि निधन भइसकेको छ ।
पारिजातल शिरीषको फूल वाहेक अनिँदो पहाडसँगै, वैँशको मान्छे, महत्ताहिन, तोरीबारी बाट र सपनाहरु आदि कृति लेखेकी छिन् तर चिनिन्छिन् यही कालजयी कृति शिरीषको फूलले ।
नेपाली साहित्यमा लीलध्वज थापा, युधीर थापा र प्रकाश कोविदका उपन्यासले बजार पिटीरहेको वेला पारिजातको यो उपन्यास आउनु पर्दामा एक धक्का थियो । नेपाली पाठकलाई उपन्यास पढ्ने लत लगाउने प्रकाशक रत्न पुस्तक भण्डारका रत्नप्रसाद श्रेष्ठले डायमन् शम्सेर राणाको वसन्ती भारतको दार्जीलिङ सम्म बोकेर लगेर बेचे ।
एक रुपैञामा किनेको एक रुपैञामै भारत  लगेर बेच्ने रत्नप्रसाद श्रेष्ठका कारण पछि दार्जीलिङबाट एकसेएक उपन्यासकार जन्मिए, शिवकुमार राई, असीत राई, इन्द्रवहादुर राई, दलसिंह गहतराज, प्रकाश कोविद्, सुवास घिसिंग  आदि । प्रकाश कोविद् र सुवास घिसिंगले नेपाली पाठकलाई उपन्यासको टेस्टामिन दिइरहे जसले गर्दा आजसम्म उपन्यासको पाठक घटेका छैैनन् ।
प्रकाश कोविद् उपन्यास लेखनका निम्ति ठाउँ ठाउँ घुमिरहन्थे, आराधना उपन्यास लेख्ने क्रममा यिनी लामो सयम काठमाण्डू पनि बसेक आफ्ना जीवनसंगिनी रुपा राईका साथमा । त्यतिवेला नै प्रकाश कोविद् र पारिजातलाई  पंक्तिकारले एकसाथ भेटाउँदा एउटा प्रश्न गरेका थिए, तपाइँ दुई आफ्नो उपन्यास कति पटक पढ्नु हुन्छ ?
जवाफमा पारिजातले प्रकाश कोविद्को उपन्यास मनग्गे पढेको् बताइन् तर कोविद्ले आफूलाई पारिजातको सबभन्दा मनपरेको उपन्यास शिरीषको फूल भएको स्वीकारे ।
पारिजात र प्रकाश कोविद् दुई अलग ध्रुवान्तका लेखक हुन् तर दुवै एकअर्का प्रति सद्भाव राख्थे, समपेशीय भएको कारणले ।
प्रकाश कोविद्ले त्यस भेटमा भनेका थिए, मलाई शिरीषको फूलको पुस्तकको आवरण बनाउन दिइयो भनें त्यो जत्तिको ठूलो पुरस्कार अरु केही हुन्न ।
पारिजातले भनेकी थिइन्, प्रकाश त्यो तिम्रो भागमा अवश्य पर्छ । पर्ख ।
प्रकाश कोविद्ले पर्खन सकेनन् ।
पारिजातले वाचा पूरा गर्न सकेनन् । तर यी दुवैले नेपाली पाठकलाई उपन्यासको बाटोमा परसम्म लगिरहे जहाँसम्म रुद्रराज पाण्डेले लान भ्याएका थिएनन् ।
यी दुई एकअर्काका किताब यसरी पढ्थे जसरी बाँग्लाभाषाका चर्चित उपन्यासका शरत्चन्द्र गौरवले रवीन्द्रनाथ ठाकुरका हरेक कृति खोजी खोजी पढथे ।
सम्मान र सद्भाव दुई तिर छ । एउटा पाठक बढाउने अर्को लेखकलाई खुराक दिइरहने ।
हामीले प्रकाश कोविद् र पारिजातलाई यसरी नै यही सन्दर्भमा सम्झे कतै अन्याय नहोला तर शिरीषको फूलको प्रकाशनका अर्धशताब्दीको यो पावन अवसरमा यस किताबलाई राष्टीय स्तरमा कुनै कार्यक्रम गरेर सम्झन नसक्नु थोरै अर्थमा ठूलो  अन्याय हो ।
०००

Anand ! Timi marna Sakdainau by Prakash Sayami

आनन्द, तिमी मर्न सक्दैनौ !
 प्रकाश सायमी
शीर्षकमा उद्धृत यो संवाद् भारतीय सुपर स्टार अमिताभ वच्चनले आफ्नो युगका अर्का महान् सुपर स्टार राजेश खन्नासित खेलेको पहिलो फिल्म आनन्द मा आफैँले बोलेका हुन् । 
अमिताभ वच्चनका कैयन् संवाद्  हिट भए तर यो हिट भएको पहिलो संवाद् हो ।
आनन्द ऋषिकेश मुखर्जीले आफ्ना मित्र राजकपूरका लागि लेखेको एउटा महानगरीय जीवनको विवृत्ति हो । यो पहिलो हिन्दी फिल्म हो जसको पछि हलिऊडमा ओलिभर स्टोनले सन् १९८४मा रिमेक  पनि गरे । यो राजेश खन्नाको जीवनको सदावत्र्तकालीन फिल्म मानिन्छ ।
साँच्चैका आनन्द, राजेश खन्ना ३ वर्षअगि आजकै दिन विते मुम्बईमा ।
राजेश खन्नाको मृत्यु अगि चर्चामा आएका यी कुरा निकै रोचक छन्,
ः उनलाई पहिलो पटक नाटकमा एक नेपाली निर्देशक वीएस थापाले मौका दिएका थिए अभिनेताका रुपमा । यहीँ उनको  आफ्नो पहिलो प्रेमिका अञ्जु महेन्द्रा सित भेट भयो ।
ः उनको पहिलो फिल्म आखिरी खत (सन् १९६६) सर्वश्रेष्ठ विदेशी भाषाको फिल्मको रुपमा ४० औँ ओस्कार फिल्म महोत्सवमा प्रविष्ट भएको थियो ।

ः सन् १९६९ मा प्रदर्शित उनको आराधना नामक् सिनेमाले उनलाई भारतको पहिलो सुपर स्टारको पगरी दियो ।
ः उनले पहिलो पटक सलीम र जावेद लाई जोडीका रुपमा चलचित्रमा मौका दिए सन् १९७१ मा हाथी मेरे साथी मा ।
ः बम्बई विश्व विद्यालयले उनीमाथिको निवन्ध द करिश्मा अफ् राजेश खन्ना पाठ्यपुस्तकमा समाविष्ट गरेको थियो ।
ः सन् १९६९ देखि उनले लगालग १५ ओटा हिट फिल्म दिए जुन अहिले सम्मको इतिहास मानिन्छ ।
ः उनी माथि वृत्तचित्र बनाउने जैक पिज्जेले उनको प्रसिद्धीलाई  रुडोल्फ भ्यालिन्टिनोको करिश्मा र नेपोलियनको अहँसित तुलना गरेका छन् ।
ः उनको निम्ति मिस्टर इन्डिया नामक् फिल्म लेखिएको थियो तर उनले अस्वीकर गर्े ।
ः उनले  प्रेम अञ्जु महेन्द्रासित गरे र विवाह बबी गर्ल डिम्पल सित गरे । दुवै सम्बन्ध असफल भएपछि यिनी टीना मुनिमसित लिव् इन रिलेशनसिशप मा बसे । टीना मुनिम अहिले भारतको ठूलो औद्योगिक परिवार अम्बानीकी बुहारी हुन् ।
ः राजेश खन्नाको घर आशिर्वाद बलिऊडको सबभन्दा प्रसिद्ध टुरिस्ट स्पट मानिन्थ्यो जुन हालै विक्री भएको खबर छ ।
ः सन् १९९२ देखि सन् १९९६ मा सम्म उनले काँग्रेस आई मार्फत् राजनीतिमा शानदार सवार गरे ।
ः राजेश खन्ना भारतका पहिलो रोमान्टिक सुपुर स्टार हुन् ।
ः राजेश खन्ना फिल्मजगतमा सबैभन्दा सफल र पछि सबैभन्दा असफल नायक मानिए ।
भनिन्छ, राजेश खन्नाको सफलता उनको पहिलो प्रेमिका अञ्जुलाई पचेन , उनको असफलता उनकी पत्नी डिम्पललाई सह्य भएन ।
अभिनेता राजेश खन्नाको चर्चा गर्ने वित्तिकै  दुई कुरा स्वतः प्रख्यमा आउँछन्, एक अभिनय र अर्को उनको जीवन ।
अनि उनको अभिनयसँग जोडिन्छ एउटा सम्मानित शब्द सुपरर स्टार । जुन शब्द पहिलो पटक भारतीय सिनेमामा उनका निम्ति मात्र प्रयोग गरिएको थियो र त्यो साँचो अर्थमा उनकै निम्ति मात्र हुन पुग्यो । यो शब्द भारतीय प्रिन्ट मिडियाले उनकै निम्ति क्वाईन गरेको थियो । त्यो पनि उनकी प्रेमिका –पत्रकार देवयानी चौवालले ।
आज भारतमा यो सुपर स्टार शब्द धेरै सिनेनायकलाई प्रयोग गरिन्छ, अमिताभ बच्चन देखि लिएर शाहरुख, अमिर र सलमान सम्म । यसवारेमा सलमानका पिता सलीम खान लेख्छन्,
"आज मेरो छोरा ठूलो स्टार भएको छ । हाम्रो घर बाहिर उसलाई हेर्न हरेक दिन भीड लाग्छ । मलाई मान्छे भन्छन्, कुनै पनि स्टारको निम्ति यस्तो क्रेज पहिले देखिएन । म तिनलाई एउटै कुरा भन्छु कि यही सडकबाट केही पर कार्टर रोडमा आशिर्वाद को सामुने मैले यस्तो तमाशा र भीड देखिसकेको छु , राजेश खन्नाको लागि । राजेश खन्ना पछि मैले कुनै स्टारको निम्ति यस्तो पागलपन देखिनँ । शायद अब त्यस्तो हुँदैन पनि होला ।"
सत्तरी र अस्सी दशकका चर्चित फिल्म लेखक सलीम खानको यो भनाईले एउटा सुपरस्टारको जीवनीको पुष्टि गर्छ ।
कुनै पनि सुपर स्टारको जीवनीको कुरा गर्ने वित्तिकै दुई कुरा स्वतः चर्चामा आउँछ,  सफलता र असफलता ।
एउटा नाप्नै नसकिने सफलता र एउटा सम्हाल्नै नसकिने असफलता अभिनेता राजेश खन्नाले मात्र देखे एउटा जिन्दगीमा ।
सफलता उनले जस्तो भारतमा (सम्भवतः एशियामा ) कसैले देखेन, विश्वमा पहिलो पटक एल्भिस प्रेस्लेलाई सेतो कार चढ्न प्रतिवन्ध लगाइएको थियो त्यो सम्भवतः पहिलो पटक भारतमा राजेश खन्नाको निम्ति अवलम्बन भएको थियो ।
राजेश खन्नाले सेतो कार चढ्दा उनका महिला फ्यानका लिपिस्टीकको दागले गाडी रंगिन्थ्यो । प्रायः स्टारलाई मान्छेले मनपराउँछन् तर माया गर्दैनन् । राजेश खन्नालाई मान्छे असाध्य माया गर्थे, घर लान मनपराउँथे, सँगै राख्न मन पराउँथे । उनी पछि सर्वाधिक चर्चामा आएका अर्का सुपरस्टार अमिताभ बच्चन भन्छन्, पहिलो पटक दिल्लीको चाणक्यमा उनको सिनेमा हेर्दा मेरी आमाले उनलाई घर लिएर आउन मन गरेका थिए, त्यस्तो करिश्मा थियो राजेश खन्नाको ।
राजेश खन्नालाई ज्वरो आयो वा उनी विरामी परे भन्ने खबर फैलिँदा उनका महिला फ्यान उनको तस्वीरमा पानी छम्किन्थे । यो क्रेज भारतमा पछि सम्म रह्यो । एउटा हिन्दु परम्पराको भक्ति प्रथामा मनराउने कला भएको भारतवर्षमा राजेश खन्नाका निम्ति मीरा जस्ता भक्तिनी प्रशस्त थिए ।
उनको देहान्त हुँदा आजका चर्चित अभिनेता शाहरुख खानले भने, सर, तपाइँले हाम्रो युगलाई यो सब सिकाउनु भयो । मम्मी र म एकपछि एक राजेश खन्नाका सिनेमा हेथ्र्यौँ । जब जीवन हामीलाई मुश्किल लाग्थ्यो तब तपाइँले नै हामीलाई सिकाउनु भयो कसरी मायाले संसार बदल्न सकिन्छ । हामी तपाइँलाई हमेशा याद गर्छौँ ।
राजेश खन्नाको संसार नै अद्भूत थियो उनी सिनेमा आउँदा एकसेएक स्टारहरु  थिए मैदानमा । तर उनलाई कसैको पर्वाह थिएन । उनी एकलाख प्रतिस्पर्धीका वीच युनाइटेड प्रोड्युसरले  छानिएका थिए सन् १९६५ मा ।
सन् १९६९ देखि सन् १९७२ सम्म लगातार १५ सुपरहिट फिल्म दिए, यो सम्भवतः विश्व सिनेइतिहासमा पहिलो घटना थियो । यतिवेला उनको ६ वर्षको बालख देखि ६० वर्षका वृद्धासम्म फ्यान थिए । इतिहास हेर्न सकिन्छ यतिवेला जन्मेका हुर्केका धेरै बच्चाको नाउँ आमाले गर्वले राजेश राखेको पाइन्छ ।
राजेश खन्ना पर्दामा जाज्वल्यमान भइरहेको समय भारतमा फिल्म हेर्न जाने अवसरलाई साँच्चै पर्वको रुपमा लिइन्थ्यो ।  युवतीहरु त्यतिवेला  यसरी हलमा जान्थे, मानौँ तिनीहरु राजेश खन्नासित डेटिँगमा जाँदैछन् । सिनेमा हलमा प्रवेश गर्नु भन्दा दुई घन्टा अगि ती युवती व्यूटी पार्लरमा समय विताउँथे । व्युटी पार्लरमा उनको मात्र चर्चा हुन्थ्यो ।
२४ वर्षमा सिनेमा आएका राजेश खन्ना २६ वर्षमा बलिऊडका सबभन्दा ठूला सुपरस्टार भए । यो अप्रत्याशित सफलता यसअगि  कसैले देखेका थिएनन्  । उनी जहाँ जान्थे, त्यहाँ भीड  लाग्थ्यो । उनको सुरक्षाको निम्ति मुम्बई पुलिसलाई तनाव हुन्थ्यो ।
उनले विहेको गरेको साल प्रहरीले समुद्री किनार र महिला छात्रावासमा अचानक सिलवन्दी गर्नु परेको थियो ।
उनको विहे एउटा अन्तर्राष्ट्रिय घटना हुन पुग्यो ।
२६ वर्षको कलिलो उमेरमा सुपर स्टार भएर एउटा हिस्टिरीया जन्माएका राजेश खन्नाले ३२ वर्षको उमेर सम्म वन म्यान् इन्डस्ट्री नै चलाए । व्युटी पार्लरबाट चर्चामा आएका राजेश खन्नालाई त्यस्तै केश गृहबाट अपमानित रुपमा विदा गरिदिए , जब सैलूनमा यस्तो लेखियो,
राजेश खन्ना हेयर कट –दुई रुपैञा
अमिताभ बच्चन हेयर कट –तीन पचास रुपैञा ।
सन् १९७३ मा उत्तर भारतमा महँगी वढ्दै गएको वेला युवा प्रदर्शनमा थिए, मुम्बई यतिवेला शहरीकरणको रुपपरिवर्तनको मिर्मिरेमा  थियो ।
भर्खरै भारत सरकारले कन्ट्रैक्ट लेबर (रेगुलेशन एन्ड अबलिगेशन एक्ट) लागू गरेको गरेको थियो । यही विषयलाई केन्द्रविन्दू बनाएर बँगाली फिल्म निर्देशक ऋषिकेश मुखर्जीले सन् १९६४ को हलिऊड फिल्म बैकेट लाई हिन्दीमा रुपान्तरण गरे, रिचार्ड बर्टन र पीटर ओ टुल को ठाउँमा वच्चन र खन्नालाई लिए । यो फिल्मको नाउँ थियो, नमक हराम ।
जञ्जीरबाट उदाएका अमिताभ बच्चन र राजेश खन्नाको ‘नमकहराम’ प्रदर्शनमा आएपछि फिल्मी बजार बद्लियो ।
 मिडियापण्डित र फिल्मसमाजले अमिताभ बच्चनको आगमनले राजेश खन्ना खसेको भनेर दावी गरे पनि सही अर्थमा राजेश खन्ना आफ्नै कमजोर फिल्मका कारण खस्दै गएका थिए  । तर पनि उनी भन्थे, “मेरा फिल्म फ्लप भएका हुन् , म होइन..”
राजेश खन्ना आफूलाई श्रीपेच नभएपनि राजा मान्थे । 
भनिन्छ, सफलताको पछाडि कुनै कारण हुँदैन असफलताका  पछाडि सयौँ कारण हुन्छन्, मान्छे असफल भएपछि म कहाँ र कसरी चुकेँ भनेर फर्की फर्की हेर्छन् तर सफल भएपछि पछाडि फर्केर हेर्ने मौकै मिल्दैन । राजेश खन्नाको सफलता त झन् अद्भूत कथा थियो, भूतो न भविष्य ।
भारतका सुप्रसिद्ध कवि एवम् फिल्म लेखक जावेद अख्तर भन्छन्, राजेश खन्ना असफल हुनुमा उनको कुनै दोष छैन । उनी त पहिलो ओर्जिनल सुपरस्टार थिए, उनलाई के थाहा ? न उनले सुपरस्टारको न कुनै तालीम लिएका थिए न उनी भन्दा पहिले त्यहाँ न कोही पुगेका थिए । त्यो त हाम्रो भूल थियो ।
सन् १९७६ मा राजेश खन्नाको महाचोर रिलिज भएपछि टेड पत्रिकाले यस्तो सम्म लेखे, महाचोर महाबोर ।
यसपछि उनका लगालग सबै फिल्म फ्लप भए । दुई वर्षमा सत्र भन्दा वढी फिलम फ्लप भएपछि एक रात राजेश खन्नाको जीवनमा यस्तो घटना घट्यो । सारा परिवार सुतिसकेपछि उनी छानामा गएर एक्लै टोलाइरहे र मध्य चकमन्न रातमा पहिलो पटक उनले भगवानसित पुकारा गरे,
हे परवदीगार , तँ कहिले सम्म यो गरीवको परीक्षा लिइरहन्छस् ? के म तेरो अस्तित्व छैन भनेर स्वीकारुँ ?
त्यसपछि उनी रातभरि रोए एक्लै । केही वेर पछि उनकी पत्नी डिम्पल, उनकी छोरी र घरका  स्टाफ पनि आए तर राजेशको रुवाई रोकिएन । यो घटनालाई उनले जीवनको एक असाध्य पीडाको क्षण मानेका छन् ।
यसपछि उनी सौतन, अवतार, अगर तुम ना होते जस्ता सिनेमाबाट उदाए तर उनको त्यो राजसी युग फर्किन सकेन । मानौ राजेश खन्ना नामको युग वितीसकेको थियो । यसपछि उनले आफ्नै लगानीमा अलग अलग र जय शिव शंकर जस्ता  सिनेमा पनि बनाए ती चलेनन् ।
अमिताभ वच्चन पनि सन् २००० सम्म निकै फ्लप भए तर उनले आफूलाई रिन्वेन्ट गर्न सके , यो उनको चलाखी थियो ।
यी दुवै राजनीतिमा गए, एउटै पार्टी काँग्रेस आई मा । तर दुवैलाई राजनीतिले लोप्पा खुवाईदिए । तर राजेश खन्ना पछि सम्म पनि राजनीतिको शिकार भए ।
१८ जुलाई सन् २०१२ मा राजेश खन्नाको देहान्त हुँदा सम्पूर्ण भारत मौन र स्तव्ध थियो । भोलिपल्ट १९ जुलाईमा नौलाख भन्दा वढी शवयात्री उनको महायात्रामा  सामेल थिए, उनको प्रसिद्धीको दिनमा जस्तै उनको शवयात्रामा पनि लाठी चार्ज गर्नु परेको थियो । उनका समवयी वच्चनले ७० वर्षको उमेरमा चारकिलोमिटर हिँडेरै अन्तिम विदाईमा सामेल भएका थिए ।
वच्चनले आफ्नो ब्लगमा लेखे, बलिऊडको रोमान्टिक मुस्कान खोसियो ।
खन्नाको विदाईमा वच्चन र खन्नाको पहिलो फिल्म आनन्दको संवाद् खूब गुञ्जियो, "आनन्द तुम मर नहीँ सकते । "
०००

Monday 6 July 2015

Haribhakta Katuwal by Prakash Sayami

कहीँ कतै हराएँ भने म

प्रकाश सायमी | २०७२ असार १९ शनिबार1972 पटक पढिएको
577
3
हरिभक्त कटुवाल अब छैनन्, उनी बाँचेका भए यो वर्ष ८० का हुन्थे। आँग्लाहरू यस घडीलाई अक्टोजेरियन भन्छन्। उनी अक्टोजेरियनमा हुँदा गाली खाँदै हुन्थे कि ताली, त्योचाहिँ अनुमान गर्न गाह्रो छ।
४२ वर्ष दुई महिनाको जिन्दगी बाँचेर उनी खुदा हाफिज भए। अहिले बाँचेका स्रष्टाको तुलनामा उनले आधा जीवन पाएका थिए तर ख्याति र चर्चा त्यत्तिकै दोब्बर।
नेपाली समाजमा कटुवाल थरका व्यक्ति चर्चामा आएको र छाएको पहिलो हरिभक्त नै थिए। त्यसको धेरै समयपछिमात्र पूर्वसेनाप्रमुख रुकमांगद कटुवालजी आए, 'टु'मा उकार हटाएर कटवाल भएर। नत्र दोस्रो कटुवाल अहिलेसम्म कोही जन्मेको छैन हरिभक्तलाई माथ गर्ने।
असार १८ गते उनको जन्म भारत आसामको डिब्रुगढमा भएको थियो, विक्रमाब्द १९९२ मा। भारतमा विक्रमका शाखा सन्तानले शासन छोडेर अन्तिम भायसराय लोर्ड माउन्टवेटन ब्रिटिस राजमा थिए।
आसाम अलग्गै मुलुक थियो, आसामलाई त्यो बेला अखोम् भन्थे। अखोम्जस्तै त्रिपुरा पनि अलग्गै मुलुक थियो त्यो बेला र त्यहाँ वर्मन वर्ग शासनाधिकारी थिए।
त्यही वर्मनवंशका उत्तराधिकारी राजपाट छोडेर मुम्बईको बलिउडमा पुगेका थिए, ती थिए सचिनदेव वर्मन। सचिनदेवलाई एसडी वर्मन भन्छन् आजकाल।
एसडीकै संगीत अनुयायी भएर आसामबाट आएका थिए, भूपेन हजारिका।
उनी कोलकातामा बसेर भाग्य अजमाउन खोज्दै थिए तर उनको हत्याको खबर आसामभरि फैलिएको थियो। उनलाई आसामका युवाले देशविरोधी घोषणा गरेका थिए, बंगालीसित मिल्यो भनेर।
भूपेन हजारिकापछि हिन्दी फिल्ममा संगीत गरेर चर्चित पनि भए, विशेषत: लता मंगेशकरसितको निकटता र पछि लतामाथि उनले डायरीमा लेखेका केही पंक्तिले लतालाई समेत विवादमा ल्याए।
यिनै हजारिकाकी पत्नी प्रियंगुले पछि आएर लता र मेरो पतिको अवैध सम्बन्ध छ भनेपछि लता पनि चूप हुनु परेको थियो।
यो कुरा उनकी पत्नीले भूपेनले लेखेको डायरीको अंशबाट पढेको भनेर दाबा गरेकी छन्। त्यसैले भारतका बौद्धिकजन भूपेनलाई सम्झँदा वा गाली गर्दा लेखेरै मर्‍यो भन्छन्।
उनले त्यति नलेखेको भए सरस्वतीकी देवी मानिएकी लता अक्षुण्ण मानिन्थिन् भारतवहुल समाजमा। तर त्यो हुन दिएनन् भूपेनले।
भूपेनको जीवनको अन्त्यतिर फिल्मकार गुरुदकी भदैनी कल्पना लाजमीसित लामो समय लिव् इन रिलेसिप चल्यो र यो मृत्युपूर्वसम्म कायमै रह्यो।
ती 'लेखेरै मरेका' भूपेन हजारिका आसामका तारा थिए, उनकै पछि लागेर एक नेपाली गायिका अञ्जुदेवी सिंह निकै चर्चामा आइन्।
अञ्जुले आसामी, हिन्दी र बांग्लामा थुप्रै गीत गाएकी पनि छन्। भनिन्छ, उनैको कारण भूपेन कार्यक्रममा भादगाउँले टोपी लगाउँथे रे।
अञ्जुदेवीकै स्वरले चर्चामा आए कवि हरिभक्त कटुवाल...
त्यो दिन ढलेर के भो
यो साँझ त बाँकी नै छ।
अम्बर गुरुङको संगीतमा अञ्जुदेवीले गाएको यो गीत बीसको दशकमा रेकर्ड भएको थियो रेडियो नेपालमा। यो समय भूपेन हजारिका पनि काठमाडौंमै अमूर्त कलाको अध्ययन गर्ने क्रममा कीर्तिपुर र भक्तपुरतिर थिए।
यही समय पुर्खाको हड्डी खुड्डी खोज्दै हरिभक्त पनि नेपाल आएका थिए।
भूपेन फर्के। अञ्जुदेवी पनि फर्किइन् तर हरिभक्त यतै बसे।
आसाम विशाल भारतमा एक प्रान्तका रूपमा विस्तीर्ण भइसकेको थियो, अखोम् देशको अहम् त्यागेर।
इतिहास छिटपुटमा रूपमा कतै नमिले पनि हरिभक्तसित मेल खान्छ।
हरिभक्तको समस्या के थियो भने उनी यता बसेर पनि यताका हुन सकेनन्, उता गएर पनि उताका हुन सकेनन्। उनको आउनेजाने क्रम चलिरह्यो। न उनी यताका भए, न उताका।
आसामका प्राय: स्रष्टा, कलाकार वा नेताको यो समस्या अहिले पनि छ, देश नहुनुको पीडा। हरिभक्तको यो पीडा जगजाहेर थियो तर हरिभक्तको अर्को पीडा त झन् उजागर भयो यहाँ आएपछि, अपारिवारिक हुनुको पीडा।
उनकी पत्नी र उनका भाइपरिवार पनि उनीसित खुसी थिएनन् भन्ने बुझियो। हरिभक्त जीवनको अन्त बेलासम्म यहीँ बसे, पछि स्वास्थ्योपचार गराउँछु भनेर जन्मभूमि फर्के र त्यहीँ प्राण त्यागे २०३७ साल भदौ २५ मा।
उनी बित्दा नेपालमा भर्खरै बहुदललाई हराएर निर्दलीय व्यवस्थाले जनमत पाएको थियो र उनले अन्तिम रचना पनि त्यहीबारेमा लेखेका थिए,
'बहुदलको हार
हाम्रो हार हो।'
यो उनको रचना उनकै हस्तलिपिमा 'आकुञ्चन'को आवरणमा छापिएको थियो।
उनको यो रचनामा नेपालप्रेम थियो किनकि उनी नेपालका अरू कविजस्तै भएर क्रान्तिमा उत्रेका थिए, सडक कविता क्रान्तिमा। प्राय: यो संस्कार दार्जिलिङ, आसाम, देहरादुनबाट आएका लेखक कलाकारमा पाइँदैन।
ती नेपालमा केही उथलपुथल भयो भने हाम्रो भारत भन्दै जन्मस्थान फर्किहाल्छन् तर हरिभक्तले एक स्रष्टा भएर त्यो अर्थमा नेपालप्रति बेइमानी गरेनन्।
उनी नेपाली युवाको भविष्यप्रति चिन्तित थिए नै। त्यति बेला नै उनले भोलिको नेपाल सम्झेर लेखेका थिए,
ती जो बिहानै काखीमा
पुस्तकको ठेली च्यापेर
हूलका हूल निस्किरहेछन्
गल्लीगल्लीबाट
तिनलाई बाटो छोडिदेऊ
ती लहरजस्तै उर्लेर आइरहेछन्...
२०४६ साल वा ६२/६३ को आन्दोलनमा कुनै दार्जिलिङ, कालिम्पोङ, आसमबाट आएर नेपाली भएर बसेका कुनै सिनेकर्मी, संगीतकर्मी, साहित्यकर्मी वा रंगकर्मी मैदानमा देखिएनन्; मानौं यो उनलाई पालनपोषण गर्ने देश नै होइन।
बरु ती नेपाली नागरिकतामा अमेरिका पलायन हुन तयार भए तर नेपाली र नेपालको स्वप्न निर्माणको लहरमा एक दिन उभिएनन्। वा त्यस आन्दोलनको पंक्तिमा एक दिन धर्नामा आएनन्। यस कुरामा यी र यस्ता प्रवृत्तिका सबैलाई दनक दिएर गए, कटुवालले।
कटुवाल यस अर्थमा तीभन्दा एककदम अगाडि। र, सधैं एक कदम अगाडि नै रहे। हरिभक्त कटुवाल बित्दा यो राष्ट्र आधा शोकमा थियो, जनमतसंग्रहमा धाँधली भएर जनमतको पराजय भएकोमा। कटुवालको शोकमा कसैले आँसु बगाउन पाएनन् तर रेडियो नेपालले उनी बितेको दिनभरि उनका तीनचार गीत
बजाइरह्यो,
बतासले झारेका फूलहरू सँगालेर राखे है...
पोखिएर घामको झुल्काभरि सँघारमै...
मेरो यो गीतमा जो मूच्र्छना छ त्यो तिमी होइनौ...
तिमी फूलहरूमा किन हाँसिरह्यौ... आदि आदि।
(स्मरणीय रहोस्, यति बेलासम्म उनको अर्को गीत मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठीकै छु, रेकर्ड भएको थिएन।)
हरिभक्तलाई त्यति बेलाका युवाकवि लेखकले भावभिनी भएर सम्झे, रोए पनि। उनको समयमा लेखनमा देखिएका युवाकवि लेखक जीवन आचार्य, दिनेश सत्याल, दिनेश अधिकारी, अशेष मल्ल, गगन विरही, किशोर पहाडी, कणाद महर्षि निकै भावुक भए।
पोखराबाट उनको सम्झनामा कटुवाल विशेषांक पनि निकाले पोखरेली सर्जकले। त्यो पोखराको गुण नै मान्नुपर्छ कटुवालप्रति।
कटुवाललाई नजिकबाट देखेर चिन्ने मान्छे कम थिए, त्यसमध्ये पंक्तिकार स्वयं पनि एक हुनुको अपराध स्वीकार्छ। कटुवाललाई नचिनेर पनि चिनेको बहानामा तथानाम लेख्ने कति थिए, त्यस्ताप्रति पंक्तिकारको सदैव आपत्ति छ।
अहिलेका नाम चलेका एकजना पत्रकारले भानु मासिकको कटुवाल विशेषांकमा यस्तो लेखेको पनि पाइयो, '४१, ४२ सालतिर कटुवाल बिहानै मेरो घर आइरहन्थे धोबीधारामा।'
कटुवाल मरिसकेपछि पनि उनको घर आएको कुरा उनी कसरी लेख्न सक्थे, कसैले नारायणगोपाल बितेको एक वर्षपछि कुनै लेखकको बिहेमा आएको कुराजस्तो।
नारायणगोपाल र हरिभक्त कटुवाल यस्ता कटु मधु स्मरणमा हरेक नेपालीको जीवनमा जोडिइरहन्छन् विश्वास भए पनि नभए पनि। लेख्नेलाई एक किसिमको तातो आनन्द आइरहँदो हो। हिन्दुस्तानमा गालिबले यस्तै जीवन बाँचे, भए नभएको, भ्रमको, मायावी जालोको।
यस्तो सौभाग्य (भनौं वा दुर्भाग्य?) हामीकहाँ कटुवाल र नारायणगोपालले धेरैधेरै नै पाए।
नारायणगोपाल र कटुवालले आफ्नो जीवनमा गालिबन भएर बाँच्ने प्रशस्त मौका पाए। असन, कमलाछी, भोटाहिटी, मासाँगल्ली, रञ्जनाको गल्ली, ढोकाटोल... यी सारा बाटो कटुवालले कहिले नारायणगोपालसित, कहिले भूपिसित, कहिले ईश्वरवल्लभसित, कहिले बलराम थापासित बिताएका थिए।
कटुवाल र नारायणगोपाल एकअर्कालाई सम्बोधन गर्दा कट्टुवाल र पाइन्टवाल भन्थे। जीवन ठट्टामा बिताए पनि दुवैले गीतमा गाम्भीर्य भाव पछिसम्मै कायम राखे।
नारायणगोपाल फुटबलका फ्यान थिए, कटुवाल क्रिकेटका। कटुवाल गुरुदत्त हेर्थे पर्दामा, नारायणगोपाल दिलीपकुमार। नारायणगोपालका सबै गीतमा कटुवाल जिउँदा छन्।
कटुवालले कविता, कथा, गीतबाहेक नाटक पनि लेखे तर चलेन। तर उनको जीवनमा लेखिएका दुई वायोपिक नाटक सर्वाधिक सफल भए।
कवि नाटककार अशेष मल्लले लेखेको 'मलाई नसोध कहाँ दुख्छ घाउ' मञ्चन हुँदा काठमाडौंमा तहल्का मच्चिएको थियो।
यही नाटकमा आजकी चर्चित अधिकारकर्मी सपना मल्ल प्रधानले कटुवालकी पत्नीको भूमिकामा सशक्त अभिनय गरेर ख्याति पाएकी थिइन्।
तर वास्तवमै कटुवालकी पत्नी जसकुमारीले कति दु:ख पाइन्, यसको हिसाब न कटुवाललाई थाहा छ, न कटुवालप्रेमीलाई नै।
यो नाटक मञ्चन भएपछि स्वरसम्राट् नारायणगोपालले आफ्नो संगीतमा यो गीत रेकर्ड गरे, जसमा संगीतसंयोजनमा दिव्य खालिङले अद्भुत छाप छोडे,
कतै बिरानीमा हराएँ भने म
कतै बेहोशीमा कराएँ भने म
मेरो प्राप्ति यही ठाने पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ।।
यस गीतको रेकर्डिङपछि कटुवाल पुनर्जीवित भए र सम्झे उनलाई सारा जगत्ले एकपटक विभिन्न सन्दर्भमा।
उनका छोरा दिगन्त क्षेत्रीले यो गीत रेकर्ड भएपछि स्वरसम्राट् नारायणगोपाललाई पठाएको पत्र इतिहास बन्नसक्छ तर पत्र ल्याउने उनका आसामी मित्रले बेइमानी गरेपछि नारायणगोपालले भनेका थिए, 'आसामीहरू कटुवालका साहू निस्के, उनलाई बेच्दै खाए।'
कटुवालका धेरै गीतमा संगीत गर्ने र उनीसित धेरै संगत गर्ने अम्बर गुरुङ भन्छन्, 'कटुवालको एउटा छोटा बानी छ। धेरैलाई एउटै गीत बाँडिहिँड्छ। संगीत गर्नुअघि उसलाई सोध्नुपर्छ।'
कटुवालको यो अप्रिय बानीको सिकार पंक्तिकार स्वयं पनि भएको छ, उनले मलाई डायरीमा लेखिदिएको गीत म अन्तिम मान्थेँ, मैले त्यो गीत नयाँ गायक रूपकुमार राईलाई रञ्जित गजमेरको संगीतमा गाउन दिएँ,
कस्तो बाटो हिँडिएछ
फूल कतै भेटिएन
काँडा धेरै थिए होलान्
पाइला त्यहाँ टेकिएन।
गीत रेकर्ड भएपछि थाहा भयो, यो मुम्बईमा संघर्षरत नेपाली गायक उदितनारायण झासित पनि एक प्रति सुरक्षित रहेछ।
कटुवाल कहाँ कता कुन अवस्थामा छरिएका छन्, यो पत्ता लगाउन यो लेखले पुग्दैन।
उनी धेरैका संस्मरणमा धेरै किसिमले छन्, सीके रसाइली, दीपक जंगम, तोया गुरुङ, मुरलीधर आदिआदिका स्मृतिपटबाट केही आउन बाँकी नै छ अझै।
आएका जति सबै सत्य नभए पनि उनी बाँचेका छन्, सबैको मृत अमृत स्मृतिमा।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/14383#sthash.w4ivM18L.FYro6u5F.dpuf