Monday 17 November 2014

National Anthem ..

 एउटा राष्ट्रगानको कथा
प्रकाश सायमी
00

 भारतको राष्टगान जनगणमन अधिनायक एक नेपालीभाषी भारतीयले बनाएको भनेर थाहा पाएको वेला सम्म नेपालको राष्ट्रगान कसले बनाएको थाहा थिएन । तर स्कुल र कलेज पढ्दा राष्टगान गाउने समय भन्दा ढिलो स्कुल पुगिन्थ्यो । विशेष गरेर स्कुल सामान्य परिस्थितिमा गुठीको जग्गामा बनेको हुनाले एसेम्वली नामको कार्यक्रम हुन्नथ्यो तर स्कुल छेवमा रहेको सिनेमा हलमा सिनेमा हेर्न जाँदा सदैव श्रीमान् गम्भीर बज्दा जुरुक्क उठ्नु पथ्र्यो । त्यसकारण सिनेमा हलमा पनि कास्टिँग सके पछि मात्र हलमा प्रवेश गर्ने बानी बस्यो ।
यो बानी कलेज सम्म नै चल्यो र चलिरह्यो ।
यो श्रीमान् गम्भीर भन्ने गीत कुन चैँ श्रीमानको लागि रचिएको रहेछ, भन्ने वेतुकको प्रश्न एक दिन तुकको बन्यो जब यसका संगीतकार को हो भनेर थाहा भयो । यो त पञ्जाब राइफल्सका एम एस पठानले ब्रिटीशहरुको गड सेभ दी किँग को धुनको हुबहु नक्कल गरेका रहेछन् तर हल्लामा र चलनचल्तिमा यसका संगीकतकार काठमाण्डू भूईख्यलः का बखतबहादुर बुढापिर्थिले गरेको पनि भनिँदो रहेछ, संगीत अन्वेषक रामशरण दर्नाल यसमा पक्का थिए । तर कमल दिक्षितहरु यो कुरा मान्दैनथे ।
यस्तो राष्ट्रगान किन बनाएको होला भनेर मेरो प्रश्न जताततै फैलिएको वेला इतिहासवेत्ता चित्तरञ्जन नेपालीले प्रथम राणा प्रधानमन्त्री  जंगबहादुरले बेलायत भ्रमण गर्दा राजमति कुमति जिके वःसा पिरती राष्टगान भनेर गाएका थिए भनेर  भन्नु भयो तर यो पनि जनश्रुतिको आधारमा मात्र हो भन्ने पाइयो ।
धेरै पछि आख्यानकार ध च गोतामेले नेपालको पहिलो राष्टगान लण्डनको लाइव्रेरी अफ् न्याशनल एन्थेममा देखेको छु भनेर एकदिन भनेको सुनेँ तर उहाँले पनि यकिनका साथ यसवारे केही लेख्न नपाउँदै उकालोको बाटो तताउनु भयो, एउटा तपसीलको कुरालाई थाँती नै राखेर । अब यसवारे जान्ने , चासो राख्ने मान्छे कमै हुँदै गएको वेला  मैले एकदिन एफएमको माध्यमबाट राष्टगान फेर्न पाए कसो होला भनेर प्रश्न उठाएँ, स्रोताको सहभागिता पनि व्यापक बढ्यो ।
२०५६ साल फागुन सात गतेका दिन चलाइएको त्यो कार्यक्रममा धेरैले हालको राष्टगान फेरिनुपर्ने र फेर्दा नै राम्रो हुने राय दिए , धेरैले देशले रगत मागे, रातो चन्द्र र सूर्य , कतिले गाउँछ गीत नेपाली बनाए राम्रो हुने तात्तातो सुझाव दिए ।
सबै कुरा राम्रै चल्दैथियो, अचानक गृह मन्त्रालयका एक  सचिवले फोन गरेर एफएमका स्टेशन म्यानेजरलाई भनेछन्, कार्यक्रम तत्काल रोक्नु होस् । एफएमबाट यस्तो कार्यक्रम चलाउन पाइन्छ ।
स्टेशन म्यानेजर पनि अलि जिराहा थिए, कार्यक्रम झन् धेरै लामो चल्यो । उनले मलाई केही भनेनन् ।
स्वागतयोग्य रह्यो कार्यक्रम विवाद जे सुकै आएपनि ।
कानुनी उपचारमा राष्टगान फेरिनु बडो गाह्रो कुरा थियो, संसद्को दुई तिहाई बहुमतको समर्थन चाहिन्छ । यो चानचुने काम थिएन । भारतकै राष्टगान पनि गोर्खाल्याण्डको आन्दोलन पछि फेर्र्ने खूब हल्ला भएको थियो, नेपाली जातिसित असन्तुष्टि भएर । तर हुन सकेन कारण राष्ट्रगानको अन्तर्राष्ट्रिय लाइब्रेरी देखि लिएर धेरै ठाउँमा सच्याइनु र बनाइनुपथ्र्यो । यो धेरै गाह्रो काम मध्ये थियो , अन्ततः रवीन्द्रनाथ ठाकुरको रचना र श्रीरामसिंह ठकुरीको संगीत नै कायम रह्यो ,श्रीरामसिंहको नाम पछाडि रहेको नेपाली चैँ विस्तारै हटाइयो । भारतीय वीगब्रदरहुड –बडेभैयापन) ले कहिले काहिँ ठकुरीलाई कहिलेकहिँ ठाकुर पनि बनाउन खोजिन्थ्यो तर भारतमै रहेका उनका छोरा भाइको विरोधपछि त्यो बडबोलेपन वा बेइमानीको माने लागेन ।
भारतको राष्टगानमा जनताको गुण गान छ, नेपालको राष्टगानमा श्रीमान्को ।
कहिलेकाहिँ पिरोल्थ्यो मनमा । तर यसको निदान भयो, दोस्रो जनआन्दोलन पछि र गणतन्त्रको घोषणापछि ।
नयाँ नेपालको नयाँ राष्टगान बन्ने भयो । यसका लागि शब्द मागियो, देशका धुरन्धर कवि गीतकार देखि नवसिखुवा सम्मले पनि बुझाए । मैले आपत्ति जनाउँदाजनाउँदै पनि राष्टककवि माधव घिमिरे किताब नै बुझाउनु भयो । उहाँलाई त पहिलो चरणमै रिजेक्ट गरिदिए । पछि कविवरले पश्चाताप मान्दै भन्नु भयो, सायमीजीले त भन्नु भएको थियो । के गर्नु ? बेकारमा बुझाइयो ।
गीतकार प्रेमविनोद नन्दन, हरिहर तिमिल्सेना आदि चैँ दशभित्र परे तर बाजी मारे , प्रदीपकुमार राई अर्थात् ब्याकुल माइलाले । उनलाई राष्टगान मागेको छ बुझाउनु न भाइ भनेर सल्लाह दिने उनका मित्रदाजु गजलकार सुनील पुरी थिए । सुनील आफूले चैँ बुझाउन भ्याएनन् शायद ।
व्याकुल माइलाको शब्द छानिनुअगि उनले नै ट्रेस पेपर बनाएर लेखेको पुरानो राष्टिय गीत पनि चर्चामा आयो यद्यपि दुवै गीतको अक्षरको मात्रा बराबर नै छ, तालको मात्रा पनि त्यति नै ।
व्याकुल माइलाको गीत छानिएपछि संगीतकारको मैदानमा चारओटा धुन देखा परे, अम्बर गुरुँगको दुइटा , न्ह्यू बज्राचार्यको एउटा र प्रहरी ब्यान्ड्का राजेन्द्र गुरुङको एउटा ।
यही वेला मेरा आदरणीय गुरु एवम् प्रिय संगीतकार अम्बर गुरुङले आफ्नो चण्डोलको डेरामा एउटा मिटिँग बोलाए, राष्टगानको प्रतिस्पर्धामा जाने कि नजाने ?
हामी गुरुले बोलाएको समयमा सहभागी भयौँ, गायक संगीतकार शैलेश सिंह र म । त्यहाँ गुरुका तीनै छोरा किशोर, राजु र शरद् थिए भने गायक, संगीतकार दीप श्रेष्ठ, बाहेक गुरुका आफ्नै चेलाहरु पनि थिए ।
परिवारका सबै सामू गुरुका अगाडि बाहिरीयाहरुले दुई किसिमका तर्क ल्याए, यो राष्टगान पास भए पनि टिक्ने होइन । दोस्रो, सरकारले नै तपाइँलाई आएर आग्रह गरे मात्र गर्ने नत्र किन गर्ने ?
मिटिँगभर धेरै कुरा बहसमा आए ।
तर गुरुका चेलामध्ये एकजना उपब्रुजुकले भाषणजस्तै गर्दै भने, यो राष्टगान गर्नु को केही फाइदा छैन । यो पास नै हुँदैन ।
दीप श्रेष्ठ, शैलेश र मैले एक स्वरले भन्यौँ, सरले नै गर्नुपर्छ नत्र अर्को वाहियात मान्छेले मैदान मार्ला , तपाइँ पनि न्ह्यू पनि आउट होला ।
गुरुवर पछिल्लो कुरामा कन्भिस्ड् त भए तर उनी न्ह्यूको कम्पोजिशनप्रति त्रसित थिए । त्यहाँ भएका मध्ये धेरैको न्ह्यूसित राम्रो थिएन । दीपदाइले मलाई न्ह्यूसित कुरा गरेर प्रतिस्पर्धाबाट पछि हट्नलाई अनुरोध गर्न भने ।
म त्यही दिन न्ह्यू बज्राचार्यकोमा पुगेँ । उनी मानसिक रुपले अम्बर गुरुङ मैदानमा आउँछ भने छोड्न तयार भएको बताए । यो त उनले अरु खराब मान्छे आउलान् भनेर ठाउँ बुक मात्र गरेको बताए ।
यसरी अम्बर गुरुङ मैदानमा एक्लै आए, संगीत संयोजन उनका जेठा छोरा किशोरले गरे । किशोरले मसित पनि केही सांगीतिक कार्य  गरिसकेका थिए ।
अम्बर गुरुङको संगीतमा व्याकुला माइलाको राष्टगान पास भयो तर सार्वजनिकिकरण गर्नमा सरकार त्यति औत्सुक्य देखिएन । र चहल पहल पनि भएन कुनै ।
म न राष्टगानको गायक थिएँ न रचयिता म चैँ असाध्य खुशी थिएँ पुरानो राष्टगान बद्लिएकोमा ।
यो खबर मैले नै न्यूजको रुपमा जानकारी दिएँ एफएमहरुमा । तर सरकारका सचिव अझै पनि अम्बर गुरुङलाई अल्झाइराख्न चाहन्थे, हो वा होइनको स्थितिमा ।
एक जना अधिकारी थरका सचिव जो गीतकार पनि हुन् उनले त सीधै भनेछन् अम्बरसरलाई , तपाइँले मिडियावालालाई भन्न नहुने ।
अम्बरसरले भनेछन्, ऊ मिडियाको मान्छे होइन मेरो स्टुडेन्ट हो ।
अम्बर गुरुङ र मेरो सम्बन्ध अनौठो थियो, न उनले मलाई गीत सिकाए न मैले संगीत सिकेँ ।  न म त्यो विषयको विद्यार्थी नै हुँ ।
तर उनले गर्वले भनेछन्, ऊ मेरो विद्यार्थी हो ।
मलाई पनि गर्व लाग्यो अज्ञात गुरुजीप्रति ।
राष्टगान पास भयो तर सरकारले कुनै औपचारिक घोषणा गरेन । अर्का सचिव जलकृष्ण श्रेष्ठलाई मैलै निरन्तर दवाव दिएँ, कार्यक्रम गर्नुपर्यो । नेपालको व्यूरोक्रेसीको लापर्वाही कति छ भनेर त्यो वेला थाहा पाइयो , रंगशालामा सारा जनसमुदायका सामू रिलीज गर्ने भनिएको राष्टगान योजना आयोगको कक्षमा रिलिज भयो ।
सकियो ।
त्यसपछि राष्टगानको विरोधमा अनि  समर्थनमा व्यापक आलोचनाहरु भए ।
राष्टगान पास भएपछि नजानिकन म पनि मैदानमा ओर्लिएँ गुरुको आदेशले । गुरु थला परेका थिए स्ट्रेसले । किशोर र मैले जताततै गीत वारे बोल्न थाल्यौँ ।
राष्टगान पास भए पनि संगीतकारले पाउनुपर्ने पारिश्रमिक वा परीतोषिक पाउन पाँचमहिना नै लाग्यो यसका लागि मैले सचिव जलकृष्ण श्रेष्ठ र मन्त्री पृथ्वी सुब्बा गुरुँगलाई बारम्बार फोन गर्नु पर्यो ।
एकदिन गुरुलाई मैले भने सर अब हजुरले सबै शुभेच्छुक जसले हजुरलाई सकारात्मक सल्लाह दिएका थिए, उनीहरुलाई बोलाएर एउटा चियापान वा रात्रिभोज गर्नु पर्यो, विशेषतः दीप श्रेष्ठ, शैलेशहरु ।
चियापान कार्यक्रम नै भयो, बौद्धमा ।
गुरुका कान्छा छोरा शरदको ससुरालीको रेस्त्राँमा ।
म पनि गएँ, देखेँ अघिल्लो दीर्घामा । तिनै मान्छे जसले अम्बर गुरुलाई राष्टगान गर्न हुन्न भनेका थिए । तर गर्नुपर्छ भन्ने दीप श्रेष्ठ, शैलेश सिंह त्यहाँ थिएनन् ।
००

No comments:

Post a Comment