Friday 22 May 2015

Matra Euta Selfie by Prakash Sayami

 मात्र एउटा सेल्फी
प्रकाश सायमी

राहत भन्ने शब्द हाम्रो शब्दकोशमा ढिलो गरी आइ पुग्यो विशेष गरी ४५ सालको भूइँचालो पछि मात्र यो शब्दले जनजीवनमा र राजनीतिक वृत्तमा प्रविष्टी पाएको देखिन्छ ।
लखनऊ पढेका लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्री हुँदा गएको प्रलयकारी भूकम्पका वेला राहत र दौरान भन्ने शब्द अचानक हाम्रो जीव्रोमा हाम्रै भएर झुण्डियो ।
यी दुवै शब्द लखनऊ व्वाय् लोकेन्द्रवहादुर चन्दले नै ल्याएर  हाम्रै  वनाएका हुन् ।
४५ सालको प्रलयकारी भूकम्प आएको वेला हाम्रा वारेमा भारतीय अखबार नवभारत टाइम्स्को प्रतिदिनमा शरद् जोशीले व्यँग्य कसेर लेखेका थिए, हाम्रा करतूत र प्रताप वारे । त्यो तपसीलको कुरा भयो ।
इतिहास कति पनि नविर्सने गरी त्यो वेला आएको राहत शब्दले राहत बाँड्ने क्रममा धाँधली भो भनेर तत्कालीन राजनीतिक नेता कर्णप्रसाद ह्योजू वीभत्स रुपले भक्तपुरमा मारिएको घटना नेपालको इतिहासमा एउटा नमेटिने दाग बन्न पुग्यो । त्यो हत्याको घटनाले रोम जस्तो शहर भनेर चिनिने भक्तपुरलाई झन् वीभत्स रूपले चिन्न विवश बनायो अन्तर्राष्ट्रिय जगतमा ।
भक्तपुर नगरभित्र ह्योजू मारिँदा स्थानीय प्रहरीभित्र पस्न सकेन, समाचारका अनेक प्रसंग आए त्यो वेला । ह्योजू हत्याकाण्डपछि भक्तपुरवासीका नजरमा झन् डर, भय र चिन्ता फैलियो त्यो वेला ।
राहतसित जोडिएको मर्माहत घटनाले भक्तपुरलाई दुई फ्याँक बनाइदियो , ह्योजूविरोधी समाज र ह्योजू समर्थक शान्त समाज । त्यहाँका जनता त्यसपछि नेतासँग साँच्चै डराएको देखियो ।
नेता त किसिम किसिमका हुन्छन्, भारतको मुम्बईमा बाल ठाकरेसित फिल्मका अभिनेता देखि लिएर नेता सम्म डराउँथे । तर भारतकै प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुसित नेता, अभिनेता र समाजसेवी झुम्थे, रमाउथे । स्पेनका फ्य्राँकोसित कवि लेखक डराउनु पथ्र्यो । उनकै समय फेडरिको गार्सिया लोर्का एक झमटमा मारिए । फ्रान्समा डेगासित सब तर्सिन्थे तर डेगा ज्याँ पल सात्र्र भनेपछि तर्सिन्थे, त्यसैले डेगा जहाँ गएपनि फ्रान्स भनेको सात्र्र हो भन्थे ।
नेतासित डराउनु पर्ने समाजमा जनता कहिले सुरक्षित हुँदैनन् भएको पनि छैन । भक्तपुरमा ४५ सालको भूकम्पमा त्यस्तै एउटा इतिहास बन्यो, एउटा मान्छेलाई जिउँदै मारियो । नेपालको इतिहासमा प्रधानमन्त्री समेत त्यो हत्याको विरोधमा जुलुसमा जानु परेको घटना छ ।
राहत र हत्या भक्तपुरसित जोडिएको इतिहास छ ।
यसापालि पनि राहतले अनेक कथा बनाए, पत्याउन सकिने नसकिने सबै खाले । राहत भारत, चीन, बाँग्लादेश सबैतिरबाट आए ।
यो राहत  भन्ने शब्द उर्दूबाट हिन्दीमा आएको भएपनि यसको शाब्दिक अर्थ रोचक छ, वाटो देखाउने मन्त्र वा वाटो सम्म पुर्याउने माध्यम ।
राह को अर्थ बाटो हुन्छ, राहसित जोडिएर राहगजुर, राहतगीर, राहदानी,  राहत, राही, हमराही आदि इत्यादि शब्द आएका छन् प्रयोगमा । 
उर्दू भन्दा पहिले यो रेख्तामा प्रचलित शब्द हो यद्यपी उर्दू भनेकै कुनै भाषा होइन, केही भाषाको लश्कर अर्थात् उर्द । उर्दूमा देखिने गरी पाँचभाषा मिस्सिएका छन्, फारसी, पुश्ती, अपभ्रंश, तुर्कीश, खडी वोली । यी सवै मिलेर एउटा उर्द अर्थात् कारवाँ बनेको हो जसलाई उर्दू भनियो । हामी उर्दूलाई मिष्ठान्न भाषा भन्छौँ । यो त्यतिकै मिठो भयो । त्यहीँबाट हामीले राहत ल्यायौँ ।
उर्दूमा राहत शब्द प्रयोग गर्ने पहिलो कवि मीर तकी मीर हुन् भनें यो शब्दलाई पछि लोकप्रिय बनाउने पाकिस्तानी कवि फैज अहमद् फैज हुन् । संयोगले दुवैले आफ्नै नामलाई उपनाम बनाएका छन्, मीर र फैज ।
फैजले मोहब्बत शीर्षकको कवितामा लेखे ,
“और भी गम है दुनियाँ में मुहब्बत के सिवाय
राहत ए अस्ल और भी है ”
यही राहत कविताबाट चिनिए पाकिस्तानी कवि फैज दक्षिणी एशियाई भूखण्डमा ।
यही राहत शब्दले हाम्रो राजनीतिमा लोकेन्द्रवहादुर चन्द लोकप्रिय भए । र, यसै शब्दले नेपालमा त्यस्तो दुर्दशा निम्त्यायो ।
यसपालि पनि राहत शब्द लोकप्रिय भएको छ, राहत बाँड्नेहरू, राहत बटुल्नेहरू चर्चामा छाएका छन् ।
राहतसँगै यसपालि सेल्फी पनि निकै चर्चामा आएको छ । अष्ट्रेलियाबाट आविष्कृत भएको सेल्फी शब्द अहिले हरकोहीमा चर्चित प्रयोग सन्दर्भ बनेको छ । केही साथीभाइ बटुल्यो, केही पोका खाद्यान्नको झोला तुम्बा बाँध्यो, केही दीनदुःखीलाई भेला पार्यो एउटा फोटो खिँच्यो । अनि ती प्रापकको इच्छा अनीच्छा विरुद्ध एउटा फोटो खिँच्यो र त्यसलाई सर्वत्र टाँस्यो । चाऊचाऊ दिएको देखि बोरा दिएको सम्मका फोटाले सामाजिक सञ्जालका सबै अवयव भरिएका छन्, यस्ता फोटा र दृश्यले आँखालाई जण्डिसग्रष्त बनाएका छन् ।
यस्ता फोटो खिँच्नु, जबरजस्ति प्रेषित गर्नु पनि एक किसिमको हिंसा बन्दै गएको छ । यस्ता हिंसाबाट सबै राहत पाउने मान्छे दुःखी नै होला तर यस्तै दुःखबाट पीडित भएर पनि फोटो खिँचाएका छन् । मानौँ कुनै मोडलले जबरजस्ति आफ्नो स्वीकृति वेगर निर्वस्त्र भएर फोटो खिँचे जस्तो ।
हालै धादिङ  देउरालीकी एक महिला कुमारी योञ्जनले आफ्नो फोटो त्यसरी प्रयोग गरिएकोमा आपत्ति जनाएर राहत लिन अस्वीकार गरेकीछिन् । तिनले भनिन् , मेरो फोटो जहाँतहीँ प्रयोग गर्ने हो भने म यो राहत लिन्नँ ।
उनको यो भनाई पछि राहत वितरक तरंगित भएका थिए ।
काठमाण्डू उपत्यकाको रामकोटमा नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा राहत वितरण गर्न जाँदै गर्दा नेपाल मुक्तक प्रतिष्ठानको व्यानर झिकेर सजाउन खोज्दा त्यस प्रतिष्ठानका सल्लाहकार मध्ये एक वरिष्ठ गीतकार चेतन कार्कीले तुल झुण्ड्याएर हिँड्ने हो भनें म यहाँबाट एक पाइला अगि बढ्दिनँ भनेर असहमति जनाए ।
उनको असहमति पछि तुलको विज्ञापन नगर्ने भइयो र सामान्य फोटो सम्म खिँच्ने निर्णय भयो तर ती फोटोहरु फेसबुक र ट्वीटरमा सर्वत्र छरिएपछि त्यस कार्यक्रममा  सहभागी मध्ये एक कवि उषा शेरचनलाई धेरैले नानाथरी टिप्पणी गरे पछि कवि शेरचनले गुनासो सम्पादन गरेर पोष्ट गरेकी छिन् ।
शेरचनको भनाई यस्तो थियो, आफूले चोखो मनले दुःखीको सेवा गर्दा पनि मलाई मान्छेले अनेक दोष लगाए ।
उनले आफ्नो दोषबाट दुःखी भएर होइन, दोष्याउनेका कारण दुःख भएको कारण लेखेकी छिन् ।
विडम्बनाको अर्को नाम भनेको पनि विज्ञापनै रहेछ ।
यस्ता दुर्भाग्य, अपवाद, असमञ्जस परिस्थिति यसपालि धेरै देखिए वा धेरै भए  भनौँ ।
अझै अचम्म र विकराल  त के भयो भनें राजेश हमाल, क्रिष्टीयानो रोनाल्डो, सलमान खान, राजीव भाटीया उर्फ अक्षय कुमारले नेपालको निम्ति रकम नै नउठाइकन वा नपठाइकन समाचारका शीर्षक बनिरहे । नेपाली मिडियाले विना सोधखोज र जानकारी विना नै यिनीहरुलाई अञ्जु बानियाँ वा रसेन्द्र भट्टराई प्रभृत्तिले चर्चामा ल्याइरहे ।
राजेश हमालले छोरी वुहारी भन्ने फिल्ममा भगवानसित हात जोडेको फोटो प्रयोग गर्दै नेपालमा भूकम्प जाँदा राजेश हमाल विदेशमा प्रार्थना गर्दै भनेर पनि समाचार लेखे । नेदरल्याण्डमा राजेश हमालले एक अरब नेपाली रकम संकलन गरेर ल्याउँदै भनेर पनि लेखे ।
राजेश हमाललाई अञ्जु बानियाँ  बनाउने नेपाली मिडिया जगतले अस्ति भर्खर गाली खाएको भारतीय मिडियाले भन्दा गतिलो भूमिका दिन  सकेन ।
हाम्रा समाचार स्रोत पनि आजतक र एनडीटीभी भन्दा फरक छैन । फरक भए पनि यही अर्थमा मात्रै हो, या हामी सही लेख्छौँ गलत पढ्छौँ । या हामी गलत कुरा सही तरिकाले लेख्छौँ ।
हाम्रा समाचारहरुले एकदिन विराएर असहमति जनाइरहेको हुन्छ । भनेको हो , भनेको होइन । भनेको कुरा बँग्याइएको हो । यी र यस्तै कुरामा अल्झेका छन् हाम्रा समाचार  सन्दर्भहरू ।
ती हाम्रा लागि बनेका हुन् तर हामीले बुझ्ने गरी बनेका होइनन् भन्ने भान हुन्छ ।
समाचार लेखनका वारेमा पुस्तक लेख्ने विज्ञ एम भी कामथले लेखेका छन्, कुकुरले मान्छे टोकेको समाचार हुँदैन तर मान्छेले कुकुर टोकेको समाचार हुन्छ ।
हामी हाम्रो समाचारमा कुकुर टोक्ने मान्छे खोजी रहेका हुन्छौँ , त्यो हाम्रो समाचारकर्मीको जायज खोज हो । यो सिलसिला धेरै पुरानो होइन तर धेरै नयाँ पनि होइन ।
हाम्रो पत्रकारितामा यो रोग व्याप्त भएको छ । रोगको यो परिधिमा हाम्रा पाठक, हाम्रा मसीजीवि, हाम्रा सुधीजन घनिष्ठ रुपले पीडित हुँदै गएका छन् ।
यसपालि राहत र सेल्फीले यही देखाएको छ ।
राहत चाहिनेलाई दिने हो कि हतार हतार  बाँड्न जाने हो ? राहत नचाहिएको ठाउँमा पनि  राहत र राहतकर्मीको भीड लागेको छ  तर जहाँ राहत चाहिएको छ त्यहाँ न क्यामेरा पुगेको छ, न राहत नै ।
 काठमाण्डू उपत्यकाको ललितपुरकै केही गाउँ ठूला दुर्लुँग, आस्राँग, गेम्दी जस्ता ठाउँलाई कर्णाली भन्दा हेला गरिएको छ । जाजरकोट भन्दा टाढा ठानिएको छ । त्यस स्थानमा वैशाख १२ को विनाशकारी भूकम्पको नौ दिन पछि बल्ल राहत पुगेको छ ।
राजधानीबाट राजधानीसँगै जोडिएको एउटा गाउँ पुग्न नौदिन लाग्ने रहेछ भनें त्यो गाउँ कर्णालीमा हुनु वा जुम्ला नुहनुले के फरक पार्छ ?
राहत लिने भन्दा दिनेको लर्को लागेको यो दुनियाँमा राहत  दिन जान हतार गर्नु, सेल्फी खिँच्न हतार गर्नु, सेल्फी पोस्ट गर्न हतार गर्नु भूकम्पको गीत गाएर चर्चामा आउन हतार गर्ने कलाकारको मृगतृष्णा भन्दा के फरक भो र ?
भूकम्प आएपछि का गीतमा गायक, गीतकार स्वच्छ मनले देखिए जस्तै  म्युजिक भिडिओ बनाउँदा लाखौँलाख लिने म्युजिक भिडिओमेकर पनि भूकम्प पीडितका निम्ति दानी भएर निःशुल्क काम गर्न लालायित भएका छन् । तर त्यसले भूकम्प पीडितको घरमा काँचको पर्दामा बत्ती बल्दैन । कैँयौ पूर्व सचिवहरू पनि आफ्नो जीवनकालमा खाएका गरेका घुस्याहा कामबाट मुक्त हुन  पनि जनकल्याणकारी गीत लेखीरहेका छन् । तर यो काम नराम्रो होइन, यसलाई नकारात्मक दृष्टिले हेर्नु वा भन्नु जरुरी छैन । यो पनि संकलन वा सञ्चयनका हिसाबले एउटा अर्काइभ नै हो । 
एक सर्वेक्षणका अनुसार   गुजरातको  भुजमा भूकम्प जाँदा भारतवर्षमा पनि पचास भन्दा बढी गीत लेखिए वा रेकर्ड भए तर प्रसारणमा आउँदा तिनका पनि आफ्नै सीमाहद तोकिए । अटल विहारी वाजपेयीका गीत पनि त्यतिवेला शब्द सन्दर्भ र सामाजिक सरोकारका  कारण प्रसारणमा आएनन् । 
वेदना, संवेदना अनि पीडाका आफ्नै वोध हुन्छन् तर त्यसलाई सेकेन्ड ह्यान्डका रुपमा अनुभूत गर्न खोज्दा सही नहुन सक्छ । ०४५ सालको भूकम्प आउँदा स्वरसम्राट नारायणगोपालले गीत गाएनन् वरु तिनका सहायतार्थ फुटबल खेलेर रकम संकलनमा जुटे ।
नारायणगोपालले भूकम्पको गीत गाएको भए शायद हामीलाई आज यति धेरै भूकम्पका गीत आवश्यक हुने थिएनन् कि ? दुर्भाग्यवश अहिले सबै कलाकार भूकम्प गीतको गाउने म्यारथुनमा छन् तर ती गीतले पीडितलाई केही दिँदैन, मात्र कुनै कुनै च्यानललको टीआरपी बढाउला । केही वर्ष टुँडिखेलका पाल, गोँगबुका लडेका घर, घरका थुप्रो अनि रगताम्य भएका  लाशका डँगुर देखिएला । कालान्तरमा त्यो एउटा गीत पनि सेल्फी बन्दै जाला, त्यो कवि वा गीतकारको मनको सेल्फी । भावनाको सेल्फी । प्रसिद्धी वा चर्चाको सेल्फी ।
मात्र सेल्फी ।
कवि मंगलेश डबरालले आफ्नो एक कवितामा लेखेका छन्,
भत्केको, लडेको घरको धुलोको डँगुरबाट
एउटा ढोका
वा एउटा झ्याल चिहाइरहेको हुन्छ
आकाशतिर ।
पुरै घर काम नलाग्ने भएपछि
घरवाला अन्ततः त्यो घरको झ्याल र ढोका
काँधमा बोकेर हिँड्छ ।
त्यो झ्याललाई कुनै भित्तामा लगेर जोड्छ
जहाँ पछि कुनै इँट पलाउन सकोस्
००

Sunday 10 May 2015

Nepali Ekata by Prakash Sayami

भूकम्पमा नेपालीको यस्तो एकता

प्रकाश सायमी | २०७२ बैशाख २६ शनिबार1388 पटक पढिएको
104
1
भनिन्छ, भूकम्प एकपटक आउँछ तर त्यसको कम्पन घरिघरि आइरहन्छ।
यो साह्रै पुरानो कुरा। तर एकदम सत्य कुरा। भौगर्भिक यथातथ्यमा दोहोरिइरहने साँचो कुरा हो यो। तर, यसका निर्मितिका पछाडि अनेक तर्कना छन्, भूकम्पले अनेक उथलपुथल ल्याउँछ, मान्छेलाई ब्यूँझाउँछ, सुताउँछ अनि सताउँछ। यस्तै भनिएको कथा छ।
नेपालमा ९० सालको भूकम्पदेखि यसपालि ७२ सालसम्मको भूकम्पका बीचमा ८२ वर्षको इतिहास छ। यो ८२ वर्षको दरम्यानमा अन्य कैयन् भूकम्प गए तर त्यसको खास लेखाजोखा छैन। तहसनहस र क्षतिको हिसाबले यी दुई भूकम्पले नेपालका युवा, वृद्ध, बालबालिका सबैलाई त्रस्त बनाइदियो। छोयो सबैलाई भित्रैदेखि, अन्तरकुन्तर हल्लाइदियो।
भूकम्प आउँछ भन्ने हल्ला त पहिलेदेखि नै थियो तर यसको प्रारूपिक तयारी थिएन भन्ने बुझियो यसपालि। २०१८ सालमा बरु यसको अलिअलि प्राभ्यास गरिएकै थियो। तर, यसपालि शून्य बराबर नै थियो।
कैयौंले वर्षौंदेखि भूकम्पको नाउँ विभिन्न संघसंस्था र एनजीओ चलाएर खाएका थिए, डिस्यास्टर म्यानेजेमेन्टका कैयन् साइनबोर्ड झुन्ड्याएकै थिए तर वैशाख १२ गते ती सबको बाह्र बजाइदियो भूकम्पले।
यसलाई सुरुमा महाभूकम्प भनियो।
पछि विनाशकारी भूकम्प भनेर पुन: नामकरण पनि गरियो। हामी यसबाट के बुझ्छौं भने ९० सालमा ध्वंश भएका धेरै कुरामध्ये यसपालि दरबारमार्गको छेउमा रहेको घन्टाघरले आफ्नो पहरेदारी दिइरह्यो, त्यो भत्केन वा चर्केको खबर सम्म पनि आएन बरु त्यसैको पारिपट्टिको दरबार हाइस्कुलको क्षतिको तस्बिर पहिलो कम्पनमै चश्मदीद गवाह बन्न पुग्यो।
रानीपोखरीको पानीसँगै भिजेएर बसेको घन्टाघरको जग सायद बलियो थियो कि? तर, घन्टाघरसँगै पुन:र्निमाण भएको धरहराले यसपालिको विनाशलाई सहन सकेन।
धरहरासित ९० सालपछिको सुन्धाराको झरझर बगिरहने पानीको कथा अब काठमाडौं मलले सुकाइसकेको थियो। काठमाडौंको परिकल्पना गर्ने कर्मचारी सञ्चय कोषलाई मान्नैपर्छ यो घडीमा जसले एउटा ऐतिहासिक धाराको मुहान सुकाउनमा ठूलो छलाङ लगायो।
काठमाडौं मल बन्दै गर्दा नै आजभन्दा २५ वर्षअघि काठमाडौं ट्वान्टी ट्वान्टीका संयोजक रविराज कर्माचार्यले भनेका थिए, 'यो भवन बन्नु सुन्धारा, धरहरा, हनुमानढोका सबैका निम्ति खतरा छ। यहाँ फ्लाई ओभर बन्नु, ठूल्ठूला क्रसिङ ब्रिज बन्नु तनावपूर्ण छ।
ललितपुरको भूतपूर्व सैनिक संगठनमा कर्माचार्यले भनेका यी भनाइ पंक्तिकारको कानमा अझै गुञ्जिरहेको छ। धरहरा, सुन्धारा त अब रहेन तर रविराजको भनाइ शाश्वत सत्य नै बनेको छ।
असन वा भोटाहिटीभित्र पनि अन्नपूर्ण मन्दिर छेउमा यस्तै विशालकाय भवन बनेको भए हुन्थ्यो के? आज असन गोँगबुजस्तै ध्वस्त हुन्थ्यो।
गोँगबुको आफ्नै गर्वशाली इतिहास थियो, त्यसलाई त्यहाँ बनेका कालचुम्बी घरले सखाप बनाइदियो, रहेन त्यो इतिहास अब। भनिन्थ्यो, गोँगबुमा धानको एउटा बालाले नौ मालाको धानको बाला झुलाउँथ्यो र त्यही धानको बालाले उपत्यका धान्थ्यो। गोँगबु अर्थात् भाले नाच्ने खेत अब इतिहासको कालखण्डमा यो भूकम्प कथाभन्दा पहिले हराइसकेको थियो।
अब यो भूकम्पले त्यहाँका विशालकाय भवनको नाश गर्‍यो। त्यस्तो घर बनाउन स्वीकृति दिने नियामक, नगरपालिका वा प्रशासन प्रणाली कति हदसम्म यसको दोषी हो? लेखाजोखा बाँकी नै छ।
लोभ लालच र भ्रष्ट आचारले बिगारेको हाम्रो प्रशासन प्रणालीले सांस्कृतिक जीवनलाई डस्यो, नाश ग:यो, आज त यही नागरिकीय जीवनलाई पनि नारकीय बनाइदियो।
कथा यत्तिमात्रै हो तर दु:ख अनन्त छ। गोर्खा, भक्तपुर, सिन्धुपाल्चोक, खोकना, बुंगमती सारालाई छियाछिया पा:यो। कतिमा प्रशासनको दोष होला कतिमा हाम्रो लापरबाही?
त्यसको पनि हिसाबकिताब थाती नै रह्यो।
यी सारा कुरा भईकन पनि यसपालिको विनाशकारी भूकम्पले नेपालीका बीचको सद्भाव, एकता र सहचार्यलाई अनुपम चरित्रको रूपमा प्रस्ट्यायो। नेपाली एकदम सहिष्णु जाति रहेछ भन्ने प्रमाणित गर्‍यो।
के राहत, के पैसा, के स्वास्थ्य सेवा? सबैमा एकजुट भएर देखा परे। नेपालीले नेपालीलाई देखाएको अदम्य साहस र स्नेह इतिहासभर यादगार हुने भो।
सामाजिक सञ्चाल, सञ्चारजगत्, सूचनाचक्र, लिपि प्रतिलिपि सबै कुरामा नेपालीले आफ्नो प्रेमभाव देखाए।
'तिमीलाई शक्ति चाहिन्छ जब कुनै कुरा दबाउन वा हत्याउनु छ भने यदि तिमी केही उद्धार गर्न चाहन्छौ भने प्रेम नै काफी छ।'
विश्वप्रसिद्ध चलचित्र अभिनेता चार्ली च्याप्लिनको यो भनाइ यसपालिको भूकम्पको प्रकोपपछि देखियो। शक्ति हुने, सत्तामा हुने, पार्टीमा हुने वा राजनीति गर्ने मौन देखिए तर जो कहिल्यै कुनै राजनीतिक जुलुस, सभा, समारोह वा पार्टीको ब्याच वितरणमा कमै देखिए। त्यस्ता मान्छे सहयोग, स्नेह, सद्भाव र राहत वितरणमा देखिए।
यसपालिको विनाशकारी भूकम्पले नेपालीका बीचको सद्भाव, एकता र सहचार्यलाई अनुपम चरित्रको रूपमा प्रस्ट्यायो। नेपाली एकदम सहिष्णु जाति रहेछ भन्ने प्रमाणित गर्‍यो। के राहत, के पैसा, के स्वास्थ्य सेवा? सबैमा एकजुट भएर देखा परे। नेपालीले नेपालीलाई देखाएको अदम्य साहस र स्नेह इतिहासभर यादगार हुने भो।
भूकम्पले तोडेको जमिन भएकै बेला मन जोडेको छ सारा नेपाली एक भएका छन्, नेपालीले आफ्नो दह्रो एकता देखाएका छन् यति बेला। विभिन्न नाराले देश टुक्रा पार्ने खेल भइरहेका बेला हात हातेमालो गर्दै देश जोडिँदैछ।
समय कठोर छ, बलवान् पनि। समय शक्तिशाली छ र धराशयी पनि। तर, किनारमा बसेर हेर्नेबाहेक अर्को विकल्प छैन। विकल्प भगवान्, जिसस वा मोहम्मद पनि होइन, मान्छे नै रैछ भन्ने पुष्टि भयो।
मान्छे नै आपत्मा मान्छेको काम आउँदो रहेछ। मान्छे यस्ता सब विपद्का लागि तयार हुनुपर्ने, यस्ता विपद्मा पनि मान्छेले मान्छेकै मुख हेरेर, हात समाएर अघि बढ्नुपर्ने रहेछ भन्ने कुरा त सत्य नै भो।
संकट पर्छ मान्छेलाई
ढुंगालाई के पर्छ
युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो कवितामा भनेकै हुन्। रामेश, रायन, अरिम, मञ्जुलले गाएकै हुन्। मान्छे हरेक संकटका लागि उभिनुपर्ने रहेछ मान्छेकै आँखामा।
मान्छे यस्तो संकटमा पनि पाँच दिन, ६ दिन, सात दिन, आठ दिन, नौ दिनसम्म ढुंगाले पुरिएर थिचिएर बाँचेको समाचार विश्वसामु इतिहास बन्यो।
'जहाँ पर्खाल छ, त्यहीँ तिम्रो बाटो छ', फ्रेडरिक नित्सेले वर्षौंअघि भनेको यो यथार्थ यसपालि एउटा अर्थवत्तामा परिणत भयो। मान्छेले आफ्नो द्वार आफैं बनाउनुपर्छ बाधाले छेकिए पनि।
मान्छेले संकटमा आत्तिनु हुँदैन, डराउनु हुँदैन भन्ने कुरा यसपालिको यो भावदशाले सिकायो। मान्छेलाई संकटमा पनि साहस चाहिन्छ, धैर्य चाहिन्छ भन्ने कुरा यस कालखण्डले देखायो।
संकट त हरेक घडीमा छ तर संकटसित सामना गर्ने कला हामीले आफैंसित सिक्नुपर्छ भन्ने भावबोध दियो यसपालि भएका अद्भुत अद्भुत घटनाले।
संकट त पाइलापाइलामा छ तर सामना गर्न हामी तयार हुनुपर्छ। यो कलमी घोषणालाई हाम्रा वीर, धीर र शूर नेपालीले प्रमाणित गरे।
द्वार, उद्धार, संहार, प्रतिहारको क्षणमा नेपालीलाई दुई कुराले साथ दियो, आँसु र रगत।
रगतले आक्रोश दिन्छ तर आँसुले करुणाको भाव।
आँसुले विनय पोख्छ, रगतले प्रणयको दशा अभिव्यक्त्याउँछ।
वास्तवमा यी दुवै कुरालाई बचाउन सक्नुपर्ने रहेछ यस्तो आपद् र संकटमा।
नेपालका भूमिपुत्रले यसपालि आफ्नो आँसुले बचाएको छ, यो गौरवपूर्ण जीवनको अस्तित्व।
नेपालीमाथि परेको अर्को धारिलो प्रहार यसपालि फरक शैलीको पर्‍यो, भारतीय मिडियाको एकतन्त्री प्रसार। र, काँचको पर्दामा नेपाली जनजीवनको गरिबी र दुर्दशाको नांगो तस्बिर, जसका कारण नेपाल र नेपाली भूकम्पले भन्दा यस पापरवाज्जीले आहत भए। तर, यसलाई पनि सूचनामैत्री नेपालीले एकजुट भएर सामना गरे।
एक स्वरमा सारा नेपालीले विरोध गरे सामाजिक सञ्जालका माध्यममा, गो होम इन्डियन मिडिया भन्ने ह्यास्ट्याग यस हप्ताको पहिलो दिन पहिलो आरेखमै प:यो। भारतीय बुद्धिजीवी र साहित्यिक जगत्ले समेत नेपालीको यो कदमको खुलेर प्रशंसा गरे, भारतीय मिडियाको तानाशाहीबाट विरक्त भएका भारतीय राजनीतिक एवं सामाजिक जगत् पनि यही मौकामा खनिए, भारतीय मिडियातन्त्रमाथि।
यसपालि थाहा भयो, पत्रकारले मनमा लागेको लेख्ने हो तर मनपरी लेख्ने वा बोल्ने होइन रहेछ। पत्रकारिताको बिग्रिभत्किसकेको सिद्धान्तमाथि फेरि एकपटक गम्भीरतापूर्वक सोच्नुपर्ने बनायो, गो होम इन्डियन मिडिया ट्रेडिङले।
नेपाली सहनसक्ने, सहनसक्ने र दुख्ने गरी सहनसक्ने जाति हुन् तर सहन नसकेपछि ध्वंश गर्नसक्ने जाति पनि हुन् भन्ने पहिचान भयो यसपालिको यो घटनाले।
भूकम्पले धाँजा पारेका जमिनलाई त कालान्तरमा समयले यो प्रकृतिले जोड्ला तर नेपाली मन मुटुमा यसपालि कसैले धाँजा पार्न सकेन।
नेपाली मन दह्रो छ, बलियो छ र चोखो छ भन्ने सन्देश प्रवाहित भयो यही मौसममा।
गोपाल योञ्जनले त्यसैले गीतमै भनेका छन्,
सबैले मन खोलेर भन जय जय नेपाल
भन्यो कि बन्यो नेपाल हाम्रो सुन्दर शान्त र विशाल।
होइन भने नेपाली नभन
वीरको छोरा नातिमा नगन
छ धेरै छ गर्नु सेवा नेपाली बन्नलाई...
आज नेपाली मन जागेको छ, देश, विदेश र सर्वत्रबाट नेपालीले मन फुकाएर खर्च पठाएको छ। एक नेपालीले अर्को नेपालीको आँसु पुछ्न रुमाल पठाएको छ, सान्त्वनाले भरिएको प्रेमको रुमाल। यसलाई नेपालीपनको कमाल मान्नुपर्छ।
यसपालि भूकम्पपीडित क्षेत्रमा राजनीतिक पार्टीका नेता कम देखिएका छन्; डर, अभाव र आफ्नो प्रतिबद्धताले गर्दा। सबैतिर भय छ, नेताको अनुहार लिएर बाहिर आउँदा कस्तो किसिमको हमला हुने हो भनेर।
यो डरमा नेताले आफ्नो फेसियल भ्यालु बचाउन अब धेरै मेहनत गर्नुपर्ने देखिन्छ, आपत्मा राजनीतिक पहिचान त्यागेका छन् नेपालीजनले।
यस्तो बेला राजनीतिले कम काम गर्दो रहेछ। भूकम्प गएकै बेला प्रधानमन्त्रीलाई घेराउ गर्न गएका केही लेखक कविको धर्नालाई पनि जनताले राजनीतिक लेप लगाएर थुइक्क भनेका छन्।
भूकम्प जमिनमा मात्र होइन, मनभित्र पनि जाँदो रहेछ।
केही समयदेखि टेलिभिजन र अखबारको पानामा सधैं देखिने छद्म अनुहार विलय भएको छ।
यही हो भूकम्पको नयाँ कम्पन।
- See more at: http://annapurnapost.com/News.aspx/story/11543#sthash.oXqKqTJy.pFFhN0fr.dpuf