Tuesday 7 May 2019

Award by Prakash Sayami

फ्रान्समा एकजना फिल्म निर्देशक छन्, जन क्लाउड, उनी सुटिङको समयमा कलाकारलाई यसरी उक्साएर अभिनय गराउँथे, ‘राम्रोसित अभिनय गर्नू है ओस्कार अवार्ड पाउनुपर्छ ।’ तर, उनका फिल्मले कहिल्यै ओस्कार पुरस्कार पाएनन् । उनले आफ्नो मेहनतमा कमी देखाएनन् । पुरस्कारप्रतिको उनको लोभ वा आकर्षणमा कहिल्यै निम्नपन आएन।
फ्रान्समै एक अर्का लेखक थिए, जाँ पाल सात्र, जसले साहित्यका निम्ति दिइने संसारकै ठूलो नोबेल पुरस्कारलाई मेरा निम्ति यो पुरस्कार आलुको बोराबराबर हो भनेर इन्कार गरिदिए ।
उनीभन्दा अगाडि दुईजना अरु लेखकले पनि नोबेल पुरस्कार बहिष्कार गरेका छन्, तर तिनको चर्चा फरक प्रसंगमा हुने गर्छ, बोरिस पास्तारनाक र अलेक्जेन्डर सोल्जेनित्सिनले राजनीतिक अर्थ देखाएर त्यो पुरस्कार लिएनन् । यसको प्रसंग फरक अर्थमा हुनेछ।
नेपाली साहित्यमा पनि नोबेल पुरस्कारका निम्ति भनेर लाखौँलाख खर्च गरेर नेपाली कृति अंग्रेजीमा अनुवाद गरेर विदेश पठाउने काम वर्षौंवर्षदेखि नेपालमा रहेको ‘पेन नेपाल’ नामक संस्थाले ठेक्कामा जस्तै लिएको छ, तर जहिले पनि हातमा लाग्यो शून्य नै भइरहेको छ । यो लेखकको रहरले भइरहेको छ वा पेन नेपाल नामक संस्था आफ्नो अस्तित्व खोजिरहेको छ, त्यसको अन्योल चिर्न अझै बाँकी छ । तर, अनुवाद गरेर नोबेल कमिटीलाई पठाउने काम चैँ भइरहेको छ।
विश्व प्रसिद्ध नोेबेल पुरस्कार पहिलोपटक पाउने लेखक सली प्रुधिमको नाउँ अहिले धेरैलाई स्मरण छैन, तर उनले हराएका लेखक वा उनका प्रतिस्पर्धी मानिएका लियो टोल्सटाय अझै पनि पढिन्छ, वा चर्चामा छन् । नेपालमा पनि धेरै यस्ता पुरस्कृत लेखक कालान्तरमा डस्टबिनमा थन्किएका छन् ।
अहिलेसम्म उताबाट कुनै हरियोबत्ती नबलेको हो कि यहाँका ठेकेदारले उताको नियमक्रम वा विधि–विधानलाई पछ्याउन नजानेका हुन्, अलमल त्यहीँ भइरहेको छ । तर, नोबेल पुरस्कारका लागि लेखकहरू नेपालमा लेखिरहेका छन् । जसरी अभिनेता सुनील थापा ओस्कार पुरस्कारका निम्ति अभिनय गरिरहेका छन् ।बलिउडबाट काठमान्डुमा आएर अभिनय यात्रा सुरु गरेका कलाकार सुनील थापा ओस्कार अवार्ड मेरो सपना हो भन्ने गर्छन् । अहिलेसम्म उनी ओस्कार पुरस्कार महोत्सवमा पुग्न पाएका छैनन् तर उनले ओस्कारको सपना देख्न छाडेका पनि छैनन्।
पुरस्कारका निम्ति कलाकार, लेखक वा साधकले मरिमेट्ने परम्परा नेपालमा पहिलेदेखि नै जारी छ ।
नेपालमा शाही शासनकालमा दरबारबाट दिइने गोरखा दक्षिणबाहुका निम्ति दौडधूप चल्थ्यो, गोदबा पाउने सरकारी कर्मचारीको त्यही पुरस्कार पाए अनुसारको पदोन्नति हुने परम्परा थियो । तर, त्यस्तो वेला पनि राजाले दिने गोदबा बहिष्कार गर्ने सामथ्र्य राख्ने नेपाली थिए, शंकरदेव पन्त।
नेसनल कमर्श कलेजका संस्थापक शंकरदेव पन्तलाई उनका सम्धि (तत्कालीन प्रधानमन्त्री) ले राजा महेन्द्रका सामु प्रस्ताव लगेर गोदबा दिन सिफारिस गराए, तर पन्तले राजाका सामु सरकार मैले के नै गरेको छु र यो पुरस्कार पाउनका लागि भनेर अस्वीकार गरिदिए, इतिहासमा यस्ता घटना बिरलै हुन्छन् ।
शंकरदेव पन्तले राजा महेन्द्रको हातबाट गोदबा अस्वीकार गरेजस्तै भारत सरकारले दिने पद्मश्री पुरस्कार हिन्दीभाषी कवि डा. हरिवंश बच्चनले सीधै अस्वीकार गरिदिए र भने यो त मैले पहिल्यै पाइसक्नुपथ्र्यो, अब त यो ढिलो भो । पछि उनलाई भारत सरकारले पद्मभूषण नै दिए।
पुरस्कारका निम्ति गरिने प्रतिस्पर्धा वा पथप्रदर्शनले नेपाली साहित्यमा, सिनेमामा जति प्रभाव पारेको छ, त्यसले जनस्थानमा अहिलेसम्म कुनै नामोनिसान वा स्तम्भ राख्न सकेको छैन । अथवा, यसो भनिए पनि फरक नपर्ला नेपालमा दिइने पुरस्कारको स्थायित्व नभएको र नरहेको आज दिइएको पुरस्कारको पाँच वर्षपछि कुनै दिगो पहिचान नै रहँदैन ।नेपालमा मात्र होइन, विदेशमा पुरस्कृत भएका नेपाली सिनेमा वा साहित्यिक कृतिको समेत यहाँ कुनै इतिहासगत चर्चा भएको देखिँदैन।
औपन्यासिक विधामा अनुराधाजस्तो मनोविश्लेषणात्मक उपन्यास लेखेर ख्याति आर्जन गरेका लेखक विजय मल्लले नेपालको मौलिक र अहिलेको भाषामा अग्र्यानिक उपन्यास लेखे, कुमारी ।
कुमारी कथावस्तु नै विश्वको चासोको विषय अनि नेपाल र नेपालीका निम्ति चुनौतीको विषय भएका वेला उपन्यासकार विजय मल्लले यसलाई सिनेमा बनाउने सपना देखे, विश्व बजार हेरेर । उनले यसका निम्ति निर्माताद्वय भरतलाल श्रेष्ठ र एलपी जोशीसित अनुबन्धित भए ।निर्माताद्वय श्रेष्ठ र जोशीले कुमारी फिल्मका निम्ति प्रसिद्ध बंगाली निर्देशक विमल भौमिकलाई अनुबन्ध गरे । विमल भौमिक आफ्नो निर्देशन शिल्पका निम्ति भारतको उच्च स्तरका धेरै पुरस्कारबाट पुरस्कृत भइसकेका थिए।
फिल्मकार भौमिकबाहेक त्यस फिल्मका निम्ति संगीतकार सलिल चौधरी पनि अनुबन्धित भइसकेको अवस्था थियो । तर, दुई निर्माताको अनबनले कुमारी चलचित्र पर्दामा आउन सकेन ।
यस दुःखद् घटनापछि लेखक विजय मल्लले कुमारी नामक यो कथा शाही नेपाल चलचित्र संस्थानमा प्रस्तुत गरे, संस्थानले यस चलचित्रका निम्ति निर्देशक प्रेमबहादुर बस्न्यातलाई चुन्यो र यसको पटकथाका निम्ति पनि बस्न्यातले नै बागडोर सम्हाले ।भारतको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा अध्ययन गर्दा पटकथा लेखनमा स्वर्णपदक पाएका बस्न्यातले विजय मल्लको कुमारीमा आफैँ पटकथा लेखे भने संवादका निम्ति विजय मल्ललाई नै सुम्पे।
नेपालको पहिलो रंगीन चलचित्र बन्ने सफल इतिहास बोकेको कुमारीमा सलिल चौधरीको ठाउँमा संगीतकार शिवशंकर र चन्द्रराज शर्मा आए भने कुमारीको भूमिकामा नायिका चैत्यदेवी सिंहलाई लिइयो ।
रंगमञ्च र सिनेमासम्बन्धी विधामा मास्टर्स गर्ने त्यो वेला चैत्यदेवी पहिलो नेपाली महिला थिइन् । उनले यसअघि नेपालबाट बनेको पहिलो फिल्म ‘आमा’मा आमाको भूमिकामा अभिनय गरिसकेकी थिइन्।
शाही नेपाल चलचित्र संस्थानबाट निर्मित कुमारी प्रदर्शनपछि नेपालको पहिलो रंगीन चलचित्र मात्र बनेन, यो नेपालबाट विदेशी चलचित्र महोत्सवमा समावेश हुने र पुरस्कृत हुने पहिलो नेपाली चलचित्र घोषित भयो । रुसको तासकन्द फिल्म फेस्टिभलका निम्ति यो नेपालबाट नामांकित भएको पहिलो फिल्म थियो ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत यो चलचित्र नेपालमा कुनै पनि हिसाबले सफल भएन । यसका निर्देशकले विदेशमा वाहवाही पाए तर नेपालमा यसका लेखक विजय मल्लको गाली नै खाए।लेखक विजय मल्लले निर्देशक बस्न्यातले गर्दा आफ्नो कृतिको हत्या भयो भन्नेसम्म आरोप लगाए ।
नेपालबाट अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिएर पुरस्कृत हुने यस फिल्मका निर्देशकले नेपालमा दोस्रो फिल्म कहिले बनाउन सकेनन् र यसका लेखक विजय मल्ल पनि दोहोरिएर फेरि फिल्ममा आउन सकेनन्।
लेखक विजय मल्लले कुमारीको कथामा कुमारी शोभा नामक उपन्यास प्रकाशन गरे, यो उनको उपन्यास अघिल्लो उपन्यास अनुराधाको छेउसम्म पनि आउन सकेन।एउटा लेखकका निम्ति योभन्दा ठूलो सुसाइड गोल अरु के नै होला ? विदेशमा पाएको पुरस्कारले पनि यो कृतिलाई जोगाउन सकेन यद्यपि विजय मल्लले केही समयपछि चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माका निम्ति ‘बदलिँदो आकाश’ नामक कथा लेखे त्यति मात्र हो ।कुमारीपछि धेरै नेपाली फिल्मले तासकन्द फिल्म महोत्सवमा धाउने काम गरे, तर कुनै फिल्मले प्रवेश पाएनन्।
तासकन्द फिल्म महोत्सवमा कुमारी सहभागी भएकै वेला भारतीय फिल्म निर्देशक राज कपुर पनि आफ्नो फिल्म ‘सत्यम् शिवम् सुन्दरम्’ लिएर पुगेका थिए । राज कपुर स्वयम् रुसी समाजमा विशेषतः आबारा, बरसात अनि ‘मेरा नाम जोकर’का कारण लोकप्रिय थिए । उनको रुसी जनसमाजमा जुन प्रभाव छ, त्यसले गर्दा नै तासकन्द फिल्म महोत्सव त्यो वेलाको एउटा तज्जन्य आकर्षण भएको पुरस्कार महोत्सव मानिन्थ्यो।
राज कपुरको सर्वाधिक पुरस्कृत फिल्म ‘मेरा नाम जोकर’ व्यावसायिक रूपले असफल भएपछि सत्तरीको दशकमा पछि यस्तोसम्म अवस्था आयो, कुनै चलचित्र हलमा प्रदर्शन हुँदा यसले कुनै पुरस्कार पाएको छैन ‘हैन है’ भनेर हलमा ‘डिस्क्लेमर’ देखाइनुपर्ने अवस्था आयो । फिल्म निर्देशक राज कपुरले पनि यो पीडा पछिसम्म भोग्नुपर्यो।कुमारीपछि हाम्रा कुनै चलचित्र तासकन्द महोत्सवमा गएका छैनन्, कुमारीपछि यसका पुरस्कृत निर्देशक प्रेमबहादुर बस्न्यातको पनि अहिले कुनै चलचित्रमा चर्तिकला देखिन छाड्यो, पुरस्कारले महत्व राख्ने भए आज प्रेमबहादुर बस्न्यातको नाउँ सक्रियतका सूचीमै हुन्थ्यो।
अहिले तासकन्द फिल्म महोत्सव नै इतिहासको गर्तमा पुरिइसकेको छ । यसको कुनै चर्चा छैन ।
पुरस्कार केका लागि किन दिइन्छ र त्यसको के कति लामो प्रभाव हुन्छ, यसबारे अहिलेसम्म कुनै सर्वेक्षण वा तत्विक उत्तर आएको छैन, तर पाठक वा दर्शकमा विक्रय ध्येयका हिसाबले पुरस्कारको ट्यागले व्यापार वा विपणनमा केही असरचैँ अवश्य पार्छ भन्ने बुझिन्छ ।पुस्तकजस्तै चलचित्रमा दिइने धेरै पुरस्कार कहिलेकाहीँ मात्र होइन, धेरै हदसम्म पाँचजना निर्णायक वा तिनको एक चौथाइ बौद्धिकताको बोझिलो तर्कका कारण दिइन्छ, जसको त्यो कृतिसित वा त्यसको जनप्रभावसित केही असर हुँदैन।
विश्व प्रसिद्ध नोेबेल पुरस्कार पहिलोपटक पाउने लेखक सली प्रुधिमको नाउँ अहिले धेरैलाई स्मरण छैन, तर उनले हराएका लेखक वा उनका प्रतिस्पर्धी मानिएका लियो टोल्सटाय अझै पनि पढिन्छ, वा चर्चामा छन् ।
नेपालमा पनि धेरै यस्ता पुरस्कृत लेखक कालान्तरमा डस्टबिनमा थन्किएका छन् । नेपाली कवितामा एकेक उद्यम कवि प्रकट भएको समय, कविताकै कारण सडकमा क्रान्ति भएको युगमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवमा ‘गम्काइछाड्छौँ विश्वमा हाम्रो माटोको सुवास’ शीर्षकको कवितामा देशभरिका कविलाई उछिनेर प्रथम भएका कवि विनोद अश्रुमालीको अहिले कुनै नाम छैन । उनी अहिले पनि कविताको चिन्तामा हिँडेका छन्, तर उनलाई पढ्ने, चिन्ने वा गुन्ने मान्छे बजारमा पाउन गाह्रो छ।
यो ट्रेजेडी विनोद अश्रुमालीको मात्र होइन, धेरै प्रथम भएका कवि–लेखकको छ । कतिपय त्यस्ता महोत्सवमा प्रथम भएका कविपछि गीतकारमा सीमित भएका छन् भने कतिपय लोकसेवा लडेर सचिवको लाइनमा उभिएर रिटायर्ड भएका छन्, तर तिनको कलमबाट पछि कुनै शक्तिशाली कविता जन्मिन सकेन।
नेपालमा पुरस्कारको पाखण्ड पर्व
नेपालमा बाबुबाजे अनि राजा–महाराजाका नाममा दिइने पुरस्कार छाडेर बर्सेनि उद्योगपति साहुमहाजनले आ–आफ्नो श्राद्धेपर्वमा दिइने पुरस्कार नै धेरै छन्lपुरस्कारका नाममा यहाँ विकृति बढ्नुको कारण सरकार स्वयं पनि जिम्मेदार हुँदै गएको छ । राष्ट्रिय विभूतिका नाममा ढाल बाँडेजस्तो यहाँ पुरस्कार दिइन थालेका छन्।
पुरस्कारका घोरविरोधी मानिने नारायणगोपालका नाममा सरकारी, गैरसरकारी अनि व्यापारिक संस्थाबाट थालथालका पुरस्कार दिने गरेका छन्, जुन नारायणगोपालको स्वयम् अपमान हो भन्ने कुरा आयोजक, प्रायोजकले बुझेका छैनन्।गायक, संगीतकार स्वयं २०४३ सालमा उनलाई दिइएको नेपालको पहिलो (र सायद अन्तिम पनि) राष्ट्रिय चलचित्र गायन पुरस्कार बहिष्कार गर्ने पहिलो कलाकार हुन्, जब कि उनका मीत संगीतकार गोपालयोञ्जन स्वयंले सो पुरस्कार लिए।
नारायणगोपालको सर्त एउटै थियो– चलचित्रको गीतमार्फत पुरस्कार पाएको हुँ भने पुरस्कार लिन्छु तर पुरस्कार लिएबापत मञ्चमा गएर सित्तैमा गीत गाउँदिनँ ।पुरस्कार आयोजना गर्ने विशाल बजार व्यवसायी समितिले उनलाई जति खिप्न खोजे, उनले त्यतिकै दह्रो संगठनात्मक रूपमा यस्तो पुरस्कार पर्मको कामचैँ बन्द गर्नुपर्छ भनेर आन्दोलन चलाए, जसमा उनलाई तत्कालीन कलाकार गायिका तारा थापा, सुक्मित गुरुङ र ज्ञानु राणाले साथ दिए।
नारायणगोपाललाई साथ दिएका कारण गायिका तारा थापाले नेपाल प्रज्ञा प्रतिष्ठानको खातेपिते जागिरबाट त्यतिवेला हात धुनुप¥यो, कारण त्यो चलचित्र महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्यसचिव विजय मल्ल निर्णायक थिए ।नारायणगोपालले सर्वोत्कृष्ट गायकका रूपमा पाएको त्यो पुरस्कार उनको घरमा आजसम्म पस्न सकेको छैन । देशको नाममा स्थापना गरिएको त्यो पुरस्कार आज पनि आयोजककै घरमा सुरक्षित छ, तर आयोजकले महोत्सवचैँ त्यतिवेला नै थन्को लगाइसके।
आजभोलि नारायणगोपालका नाममा मात्र होइन, चलचित्रका नाममा गल्लीगल्लीमा पुरस्कार दिने चलन सुरु भएको छ । पुरस्कार किनबेचको कुरा पनि व्यापक चर्चामा छ, तर दुःखद कुरा त्यो पुरस्कार यसपालि संस्थाको नाउँमा हुन्छ, अर्कोपालि रक्सी वा बियरको नाउँमा हुन्छ । नभए त्यो बन्द नै हुन्छ । यस्ता धेरै जाँड पुरस्कार, छ्याङ पुरस्कार धेरै कलाकारको घरमा थन्किएको छ।
हिजोआज सामाजिक सञ्जालमा मान्छेको मृत्यु भएको स्टाटसमा जति छिटो ‘रिप’ आउँछ, त्यति नै द्रूतगतिमा कसैले पुरस्कार पाएको स्टाटस उत्थापित गरे भने त्यत्तिकै छिटो बधाईको ओइरो आउन थाल्छ । तर, त्यो पुरस्कार कहिले कसरी कति दिनका लागि स्थापना गरिएको हो, कसैलाई थाहा हुँदैन ।
नेपालमा सहिदको संख्या दिनदिनै बढेजस्तै पुरस्कारको नाम र संख्या पनि दिनानुदिन बढ्दो छ । पुरस्कारको यत्रो ठूलो भीडमा कुनै कुनै पुरस्कार अझै पनि टिकेका छन्।
नेपाली साहित्यमा दिइने गर्वशाली पुरस्कार मदन पुरस्कारबाट वञ्चित भएको डायमन शमशेर राणाको सेतो बाघमा निर्णायक टोलीले (विशेषतः एकजना इतिहासकारले) जगतजंगको जन्म र तिब्बतका दलाई लामा (पाँचौँ) को प्रसंग त्रुटिपूर्ण भएको प्रसंगमा डायमन शमशेरलाई पुरस्कृत गरेनन् तर डायमन शमशेरको कृतिले देशभित्र मात्र होइन, विदेशको बजारमा समेत एक प्रमुख परिचय बनायो।
आजभोलि पानाका पाना गल्ती भएका पुस्तकले मदन पुरस्कार पाएका वेला डायमन शमशेरलाई पुरस्कार दिन नपाएको ती निर्णायक वेलावेला दुःख पोख्छन् । सर्वविदितै छ, केही वर्षअघि हिन्दीका कवि हरिवंश राय बच्चनलाई महाकवि भनिएको त्यो किताबले पुरस्कार पाएको दिन पुरस्कृत लेखकले मन्तव्य दिने क्रममा पुरस्कार पाएर होइन, आफ्नो कृतिमा भएका गल्तीका कारण घरीघरी रोएको इतिहास पनि छ ।
मदन पुरस्कारको गरिमा यस किसिमका किताबले घटाउँदै लगेको सत्य हो, तर मदन पुरस्कार पाएपछि कैयौँ यस्ता लेखक भएको इज्जत पनि थाम्न नसकेर उठ्न सकेका छैनन्, प्रकाशकले रोइरोई बुई चढाए पनि।
मदन पुरस्कारजस्तो साहित्यिक पुरस्कार पाएपछि लेखक पारिजातले निस्पृह भाव व्यक्त गर्दै भनेकी छन्, पुरस्कारप्रति त मेरो कुनै लोभ थिएन, शंकरदाइले लाइनमा राखिदिनुभएर मात्र हो ।२०१९ सालमा गोपालप्रसाद रिमालले ‘आमाको सपना’का निम्ति मदन पुरस्कार पाउँदा कवि स्वयंले पुरस्कार पाउँ भनी निवेदन दिएका थिएनन्, उनको कृतिलाई हातले लेखेर बुझाउने शङ्कर लामिछाने र डा. तारानाथ शर्माले कीर्ते सही गरेर बुझाएका थिए । मदन पुरस्कार पुस्तकालयले गोपालप्रसाद रिमाललाई पुरस्कार स्वीकार गराउन राजी गराउने सर्तमा यो निवेदन स्विकारेको कुरा कमल दीक्षितले धेरैपटक उल्लेख गरेका छन्।
नेपालमा मात्र होइन, बाहिरी विश्वमा पनि पुरस्कारको यही हालत छ, पश्चिमा जगत्मा पुरस्कार तीन किसिमले दिने गरिन्छ भन्छन्, मेकिङ, जजिङ र फेकिङ ।मेकिङ– दिने वातावरण बनाउने । जजिङ– निर्णायकलाई हाबी बनाएर । फेकिङ– ढाँटढुँट कम्पनीका आधारमा।
यसबारे कमनवेल्थ राइटर्स प्राइजका एक नियमित निर्णायक आदिल जुस्सावाला सन् १९९३ मा निर्णायकका हैसियतले ५० वटा उपन्यास पढ्नुपरेपछि आफूले त्यस दिन उपन्यास नै नपढ्ने निर्णय गरेको एक अन्तर्वार्तामा स्विकारेका छन् । उनले कोठेपदजस्तो किताबलाई पनि पुरस्कृत गर्नुपर्ने आयोजकको बाध्यतात्मक स्थिति आएपछि अन्तर्राष्ट्रिय पुरस्कार समितिको निर्णायक नबन्ने निर्णय गरेका छन्।
भारतमा चलचित्रका लागि दिइने कुनै पुरस्कार नलिने फिल्म अभिनेता आमिर खानले लगान फिल्मका लागि ओस्कार फिल्म महोत्सवमा आफ्नो भव्य लबिङ गरेका थिए, ओस्कार पनि त्यस किसिमको वितण्डाबाट वञ्चित छैन भन्ने कुरा त्यहाँबाट थाहा हुन्छ।
भारतमा ५९ वर्ष पहिलेदेखि दिइँदै आएको फिल्म जगत्को सर्वोत्कृष्ट पुरस्कार फिल्म फेअर पुरस्कार आमिर खानले ‘कयामत से कयामत तक’मा स्विकारे भने ‘हम है राही प्यार के’पछि अस्वीकार गर्दै आएका छन् । यही फिल्म फेअर पुरस्कार क्रान्तिवीर फिल्ममा नायकका रूपमा अभिनय गर्दा पाउनुपर्ने भनी ४० हजार लिएर किन्न आएको तर निर्णायकले मलाई सित्तैमा दिए भनेर अभिनेता नाना पाटेकरले मञ्चमै घोषणा गरे । फिल्मफेअर अवार्डकै प्रसंगमा भर्खरै आफ्नो आत्मकथामा अभिनेता ऋषि कपुरले आफूले पनि बब्बी फिल्ममा अभिनय गर्दा पैसा लगाएरै पुरस्कार किनेको उद्धृत गरेका छन्।
यो कुरा कति साँचो कति झूटो आफ्नै ठाउँमा छ, पुरस्कार आजकाल प्रायोजित (मेकिङ फेकिङ) बन्दै गएको भने सत्य हो । पुरस्कारप्रतिको यो वितृष्णा दिनानुदिन बढ्दै गएका कारण कुनै पनि पुरस्कारसित जोडिएको कुनै लेखकको नाउँ पढुन्जेल नै शंकास्पद बन्दै जान्छ । यसबाट हट्न नेपाली पुरस्कारले धेरै नै तीर्थाटन गर्न बाँकी नै छ ।

Tuesday 12 March 2019

News

Good Evening all 

Artcle by PS

अनुभूति

ताजमहल, लता र चन्द्रमा

शनिबार, २५ फागुन २०७५, ११ : १६ |  प्रकाश सायमी

1.0K

bulero agni group adradio nagarik cover ad
१८५७ को लडाइँ जो धेरै टाढाको लडाइँ थियो 
आज निकै नजिकका लडाइँ बाँकी छन्।  
यी दुई वाक्यमै आ–आफ्नो मन्तव्य प्रकट गरिएको छ केही अप्रत्याशित घटनाको। कविताको यो प्रभावशाली सुरुआत हो, आरम्भका लागि तर यसको असर उपस्थित समाजमा कसरी पर्छ ठिक भन्न सकिन्नँ। सायद यी दुई मिसरा यसै किसिमका बीज वाक्य हुन्, जसको प्रभाव कालान्तरसम्म परिरहनेछ। 
भारत र पाकिस्तान सिंगै मुलुक एउटै भएका बेला लडिएको यो सन् १८५७ को ठूलो लडाइँको चर्चा कवितामा अझै छ। यस्तै एउटा कविताका पंक्तिजस्तै मन्तव्यबाट भारत र पाकिस्तानको महासमरलाई रोक्न पाकिस्तानका प्रधानमन्त्री इमरान खानको वक्तव्यले काम गर्याे।
खानको भिडिओ मन्तव्यले लडाइँको भयावह स्वरूप टर्याे। खानको यो दृश्यिक संवाद् पछि भारतमा हुन लागेको चुनाव र मोदीको संकटापन्न चुनावको राष्ट्रिय मुद्दासित पनि जोडिन थालेको छ। तर शंका–उपशंका अझै बाँकी छन्, आ–आफ्नो हेराईबाट यसको भाष्य गर्ने कतिपय पक्ष अझै थाँती छन्। राष्ट्रिय,  माक्र्सवादी, लोकवादी, उत्तरआधुनिक, सबाल्र्टनवादी अनि दलित। विचारको मैदानमा आ–आफ्नो खम्बा र आ–आफ्नो पोजिशंसमा छन्। 
यो लडाइँको सम्भावना र क्षतिवारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लिएर सर्वत्र प्रशंसा भएको छ। लडाइँका बारेमा उनले दिएका टिप्पणी गुणगम्भीर छन्। भारतले यसअघि सबैभन्दा धेरै लडाइँ पाकिस्तानसित लड्यो, अनि चीनसित। चीनसित सन् ६२ को लडाइँका बेला भारतमा रहेका नेपालीभाषी कवि गोपालसिंह नेपालीले लेखे ‘हिमालय की क्रन्दन’। 
आज पनि भारतवर्षमा ती कविता गर्वले पढिन्छ र पढाइन्छ। चीनसँग लडाइँका बेला कवि धूमिल, कवि भवानीप्रसाद मिश्रका कविता पनि छापिएका थिए। तर, भारतीय सेनाको हौसला बढाउन कवि गोपालसिंहले लेखेको त्यो कविता लडाइँका बारेभन्दा सेनाको मनोबल बढाउन निकै काम आयो। उनको कविताको त्यो अंश यस्तो छ :
जैसा ये अटल अडिग अविचल वैसे ही भारतवासी 
है अगर हिमालय धरती पर तो भारतवासी अविनाशी 
कोई क्या हमको ललकारे 
हम कभी हिंसा से न हारे 
दुःख देकर हमको क्या मारे 

सन् १९११ मा भारतको बेतियामा जन्मेका नेपालीको यो कविता अझै पनि भारतीय सैनिक युद्ध मैदानमा गाउँछन्। भारतको कुनै मुलुकसित लडाइँ भयो भने लड्ने लडाकू वा लडाइँमा मर्ने प्रायः वीर गोर्खा नै हुन्छन्। त्यसैले जनरल म्याकेनसाले भनेका हुन् ‘कसैले म मृत्युसित डराउँदिन भन्यो भने कि त्यो पागल हो कि गोर्खा जवान हो भने चिन्नू।’ 
भारतले सन् १८५७ मा लड्दा बेलायतसित गोर्खा फौज थियो। भारतले स्वतन्त्र हुनुुअघि विशाल हिन्दुस्तानका रूपमा बेलायतसँग लड्दाको समय सन् १८५७ को समय थियो जति बेला मुगल साम्राज्य थियो र बेलायतसित मुगल सम्राट बहादुर शाह जफरसित भन्दा आधा मात्र सैनिक थियो। तर, बेलायतले लडाइँ जित्यो। त्यसपछि हिन्दुस्तान भन्ने शब्दको गुलाम भयो। 
गुलामीको त्यो युग सुरु हुँदा हिन्दुस्तानका अन्तिम सम्राट बहादुर शाह जफरलाई बर्माको रंगुनमा लगेर निर्वासित जीवन बिताउन बाध्य बनाइयो। जफर स्वयम् कवि सायर पनि थिए। उनका समयमा इब्राहिम जौक, मिर्जा गालिब जस्ता दूरद्रष्टा गजलकार थिए । तर, लडाइँका बेला उनका साथ ती कवि र कविताले केही काम गरेन। हिन्दुस्तानले  त्यो लडाइँ बेलायतसित हार्नु पर्याे।  
बेलायतले अन्ततः हिन्दुस्तान छाड्ने बेला भारतलाई दुई टुक्रा हुन बाध्य गरेर गयो, त्यहाँदेखि भारतको पाकिस्तानसित लडाइँ र क्रिकेट जारी छ। यी दुइटै चीज सम्भवतः उसले बेलायतको विरासतमै पायो। यसबारे भारतका एक उर्दूभाषी कवि असद जैदीले लेखेका छन् :  
लडाइँहरू अधूरा नै हुन्छन् अक्सर, पछि पूरा हुनका लागि 
कुनै अर्को युगमा कुनै अर्को हतियारले 
कति पटक त ती मैलाधमिला मूर्दाहरू नै उठेर लड्न थालेछन् फेरि 
जीवितलाई ललकार्दै जो तीभन्दा पनि ज्यादा मृत छन् 
सोध्नेछन् उनको टोली र उनका गण र सरदारका नाम 
या दुःखी सम्झँदै भन्न थाल्नेछन् अब म नजफगढतिर अघि बढ्दैछु 
वा भक्भकाउँदै सोध्नेछन् बख्तापुरको बाटो 
१८५७ का मृतक भन्छन्, बिर्सिदेऊ हाम्रा सामन्ती नेताहरूलाई 
कि कुन स्वामीत्वको फिर्ताका निम्ति ती लडेका थे 
अनि हामी तिनका लागि कसरी मरेका थियौँ 

यो कविता नसकिँदै भारत पाकिस्तान कयौंपटक लडिसके। तर, लडाइँ अझै अपुरो छ। भारत र पाकिस्तानलाई लडाइँले जति तोडे पनि, जति छुट्टयाए पनि  गालिब, गजल, संगीत, संस्कृति, सिनेमा, क्रिकेट, खाना संस्कृतिले जोड्दै आएको छ।
 
गजलका बेताज बादशाह मेंहदी हसन मुम्बई आउँदा कयौं पटक बलिउडका नायक अमिताभ बच्चनले आफ्नो निवास प्रतीक्षामा गजल गायन कार्यक्रम राखेका थिए। मेंहदीलाई गुरु मानेर भारतीय गजल गायक तलत अजीजले हातमा गान्डी बाँधेका थिए। जगजीत सिंह कारगीलमा लडाइँ भइरहेका बेला मेंहदीको उपचारका निम्ति कार्यक्रम गर्न लाहोर पुगेका थिए। 
भारत र पाकिस्तानको द्वन्द्व हुने दुई ठाउँ देखिन्छ– क्रिकेटको मैदान र काश्मिरको भूभाग। यसपालि काश्मिरको पुलवामामा भएको आक्रमणपछि भारतको क्रुद्ध रूपलाई सम्हाल्ने पाकिस्तानका प्रधानमन्त्री इमरान देखिए। उनको मन्तव्यले जोगायो यो अप्ठेरोपनलाई।  
यस भ्लगले इमरानको पाकिस्तान र भारतमा मात्र होइन, सर्वत्र प्रशंसा हुन थालेको छ। क्रिकेटको मैदानमा भारतविरुद्ध खेल्ने इमरानले यसपालि भारतीय मन, मुटु जितेका छन्। सन्दर्भतः उनी राजनीतिमा त्यस समय आए, जुन समय पाकिस्तानका शासक जिया ऊल हकको मन्त्रीमण्डलमा उनलाई संस्कृतिमन्त्रीमा आमन्त्रित गरिएको थियो, जतिबेला उनी क्रिकेटबाट सन्यास लिएर मोडलिङतिर पाइला चाल्दै थिए। सन् १९८८ मा लण्डनको सोहा अपार्टमेन्टमा भाइसित बस्दै गरेका इमरानलाई जिया सरकारले राजनीतिमा तान्न सकेनन्। तर, पछि उनी आफैं आए। 
शत्रु मुलुक नै भए पनि पाकिस्तानका दुई व्यक्ति भारतमा सदैव लोकप्रिय रहे, बेनजीर भुट्टटो र इमरान खान। संयोगले यी दुवै अलग–अलग क्षेत्रबाट राजनीतिमा आए, प्रधानमन्त्री भए।  बेनजीरका पिता जुल्फिकर अली बलिऊडका फ्यान थिए, भुट्टटो बलिऊडकी अभिनेत्री मधुबालाका फ्यान थिए। बलिउडका धेरै अभिनेत्री इमरानका फ्यान थिए।  
इमरानको क्रिकेटको क्यारिअर अस्ताउँदै गरेका बेला हिन्दी सिने जगतका सुप्रसिद्ध निर्देशक देव आनन्दले उनलाई अब्बल नम्बर नामक् फिल्ममा नायकको भूमिका अफर गरेका थिए, लण्डनसम्म गएर। तर, इमरानले देवआनन्दलाई भने ‘तपाईलेमलाई छक्याइदिनुभयो। मलाई लाग्छ– म राम्रो अभिनय गर्न सक्दिनँ।’ 
यसो भनेर उनले देव आनन्दको अब्बल नम्बर रिजेक्ट गरे। तर, बलिउड सदैव उनीप्रति कृतज्ञ नै रहे। देवआनन्द तिनै व्यक्ति हुन्, जो भारत र पाकिस्तानको लडाइँको समयसीमा नाघेर लाहोर बस चढेर तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीसित नवाज शरीफ भेट्न जाने टोलीमा थिए। 
नवाज शरीफ पढेकै लाहोर कलेजका सिनियर विद्यार्थी देव आनन्द पनि पाकिस्तानमा लोकप्रिय मानिन्थे। देव आनन्दले इमरानलाई फिल्म अफर गरेजस्तै कुनै समय अर्का बलिउड फिल्म निर्देशक ओपी रल्हनले बेनजिरलाई लिएर फिल्म बनाउने घोषणा गरेका थिए। लण्डनमा पढ्दै गरेकी बेनजिरको प्रतिउत्तर नपाएपछि उनले त्यो फिल्म नै रद्द गरे। 
भारत र पाकिस्तानलाई सिमानाले अलग बनाए पनि सिनेमा र संगीतले सदैव जोडेको छ। भारतीय सिनेकर्मी दिलीप कुमार, जावेद अख्तर, शबाना आजमी, शत्रुध्न सिन्हा, नसीरुद्दीन शाह आदि सम्मान र पदक पाउन पाकिस्तान पुगिरहन्छन् भने भारतका गजल गायक गुलाम अली, फरीदा खानम, नुसरत फतेह अलि खान, राहत फतेह अली खान मुम्बईमा कार्यक्रम गर्न र रेकडिङ गर्न पुगिरहेका हुन्छन्। 
गजलका बेताज बादशाह मेंहदी हसन मुम्बई आउँदा कयौं पटक बलिउडका नायक अमिताभ बच्चनले आफ्नो निवास प्रतीक्षामा गजल गायन कार्यक्रम राखेका थिए। मेंहदीलाई गुरु मानेर भारतीय गजल गायक तलत अजीजले हातमा गान्डी बाँधेका थिए। जगजीत सिंह कारगीलमा लडाइँ भइरहेका बेला मेंहदीको उपचारका निम्ति कार्यक्रम गर्न लाहोर पुगेका थिए। 
भारत र पाकिस्तान छुटेपछि पहिलो वार्ता हुँदा झेलम नदीको किनारमा पाकिस्तानकी गायिका नूरजहाँ र भारतकी गायिका लताको भेट सरकारले नै गराएको थियो।  भारत र पाकिस्तान टुक्रेपछि एक संस्कृतिकर्मीले भावविभोर हुँदै भनेका थिए, ‘हामीले सबै कुरा बाँडेर लियौँ। तर, तीन कुरा बाँड्न सकेनौँ– ताजमहल, लता र चन्द्रमा। 
यो भनाई आधिकारिक रूपमा कसको हो भनेर पुष्टि हुन सकेको छैन। तर, पीडा दुवैतिर छ। भारत र पाकिस्तान विभाजन गर्ने अन्तिम वार्तामा सामेल हुन शिमला हाउसमा पस्ने बेलामा पण्डित जवाहरलाल नेहरू र मोहम्मद अली जिन्ना सँगै पसेका थिए। तर, जिन्नाले फर्कने बेला नेहरूसँगै पसेको ढोकाबाट ननिस्कने शर्त राखेपछि रातारात अर्को ढोका बनाइएको थियो। 
भारत–पाकिस्तान विभाजनपछि कयौं गीत बने। कयौं सिनेमा बने। कयौ किताब लेखिए हरेकपटक रगतसँगै आँसु बगे। छिमेकीका रगतसँगै हाम्रो पनि आँसु बगे। यसपालि पाकिस्तानले कार्ल बन् क्लौजवित्ज्को अन वारमा भनिएजस्तै युद्धलाई जित्न भौतिक विजय मात्रै काफी मानिँदैन भन्ने सावित गरेको छ। 
सन् १९७१ मा भारत र पाकिस्तानको युद्धको स्वरूपजस्तै झन्डै यसपालि त्यस्तै हुने थियो कि ? भन्ने प्रश्न बाँकी रह्यो।यतिबेला एउटा कविता याद आइरहेछ, नरेन्द्र जैनको। नरेन्द्र कुनै समय नेपालका लागि भारतका राजदूत थिए। उनी लेख्छन् :  
यहाँ धूलो नै धूलो रही आएको छ 
यति धेरै धूलो जस्तो पृथ्वी नै खसेजस्तो
आफ्नो लुगा झाडीरहेजस्तो 
यति अन्धो मोड कि 
टाढा–टाढासम्म केही देखिँदैन
संक्षेपमा भनुँ भने कुनै विकराल जंगलजस्तो। 

जैनको कविता कुनै विचित्र आकस्मिकता जस्तो देखिए पनि होइन त्यो त्यस्तो। जैन एक कुटनीतिक मात्र होइनन्, मान्छेको मन बुझ्ने मानवी पनि हुन्। उनले कुनै समय निकारागुआका माक्र्सवादी पादरी कवि एर्नेस्तो कार्देनालको कवितालाई फ्रेम गरेर घरको भित्तामा टाँगेका थिए। ल्याटिनी अमेरिकी र स्पेनिस भाषामा पाब्लो नेरुदा पछि खुब चर्चामा आउने दुई कवि सेजार बैयाख्खो र कार्देनाल पर्छन्। कार्देनालको लण्डन म्यागेजिनमा एपिग्राम्स् नामक् पचास कविता छापिएपछि सन् १९७६ मै जैनले पोस्टर बनाएर फ्रेम गरेर घरको भित्तामा टाँसे। 
लिबरेसन थियोलोजीमा विश्वास गर्ने कार्देनालको कवितामा जस्तै शक्ति बोकेर आएको अहिलेको समय कविता जत्तिकै संवेदनशील छ। यस्ता धेरै घटनाले भारत र पाकिस्तानको छिमेकी भएका कारण हामीलाई पनि छुन्छ। वा, यतिवेला हुने कुनै पनि लडाइँमा हाम्रा पनि निर्दोष जवान पर्छन्। विशेषतः हरेक लडाइँमा हाम्रै चिरपरिचित पहाडी जवानले प्राण त्याग्छ। लडाइँको अर्थमा हारजीत जे भए पनि मर्नेबित्तिकै मान्छेभित्रको मनुष्यत्व नै हो। 

Sunday 12 August 2018

Short poem by Prakash Sayami


यात्रामा कसैलाई भेट्दा
छुट्टीने बेला
उनको नाम सोध्न विर्से जस्तै
आज अचानक सम्झिरहेछु
उनको  नाउँ
भगवानले आशिष दिए जस्तै