Wednesday 3 February 2016

Satyajit Ray by Prakash Sayami

सत्यजीतको संसार
प्रकाश सायमी
बम्बई आजको मुम्बई होइन ।
त्यहीँ मैले पहिलो पटक भेटेको थिएँ, नवेन्दु दा । जसको पूरा नाम थर हो नवेन्दु घोष । उनी सिनेमा लेख्थे, सिनेमालाई कथाको ढाँचामा पटकथामा रुपायित गर्थे तर धीमा स्वरमा साना साना कुरा भन्थे जुन बुझ्दा ठूलो लाग्थ्यो ।
बम्बईको होटलको सीरकको अपेक्षाकृत विशाल वातानुकूलित स्टुडिओमा नवेन्दू घोषसित वासुदाले चिनाइदिएका थिए, यसो भन्दै, मानुष । वैष्णवो जानबो ।
बंगालीमा मैले नबुझेको अविस्मृत  त्यस संवाद्को सारसक्षेप यो मान्छे कविता पनि गर्दोरैछ भनिएको होला भन्ने म बुझ्छु  ।
नवेन्दूदा त्यतिवेला वासु भट्टाचार्य निर्देशित पञ्चवटी मा संवाद् लेख्दैथिए र चलचित्रमै उनले कर्मसिद्धी गुरुज्यू नामक् एक प्रौढ पात्रको भूमिका पनि  निर्वाह गर्दै थिए । म त्यस चलचित्रका निम्ति वासुदाको सहायक थिएँ, त्यसपछि नवेन्दुदासित हिन्दी संवाद् नेपालीमा अनुवाद गर्ने कामको भारा पर्यो मलाई  ।
 वासुदाको सौभाग्यले नवेन्दूदासित पन्ध्र सोह्रदिन मैले सँगै बसेर काम गरेँ ।  विमल राय, ऋषिकेश मुखर्जी, सलिल चौधरी, असित सेन , सत्यजित रेसित काम गरिसकेका नवेन्दूदा पछि आफैँ चलचित्र निर्देशक पनि भए, तृषाग्नि मा
 ।
सन् १९८५ को डिसेम्बर वीसभन्दा अगिको त्यो पन्ध्रदिन मेरा निम्ति सत्यजितमय हुन गयो । उनले सत्यजित रेका वारे यति धेरै जानकारी, ज्ञान र गोप्यता मलाई पोखे , मेरा निम्ति त्यो विश्वविद्यालयीय पाठ भन्दा कम थिए ।
नवेन्दुदा सत्यजित रे कति नजीक कति टाढा थिएन तर सत्यजित रे कहाँ कता के गर्दैछन् सब जानकारी उनी राख्थे ।
बम्बईमा सत्यजित रे एउटा हिन्दी सिरीयलको छायाँकन गर्न आउने कुरा उनले मलाई त्यतिवेला सुनाए, जतिवेला हामी पञ्चवटीको प्याच्वर्क गर्दैथियौँ ।
स्मिता पाटिलले अभिनय गर्ने त्यो सिरीयल मुम्बईमा छायाँकन भएन बरु सत्यजित रे काठमाण्डू गएछन्, किस्सा काठमाण्डूका शुटिंग गर्न ।
त्यही वर्षको डिसेम्बर २६ तिर काठमाण्डूबाट रेले नवेन्दूदालाई एउटा टेलिग्राम पठाए, स्मिता पाटिलको दुःखद् निधन मा शोक व्यक्त गर्दै ।
सत्यजित रे दोस्रोपटक काठमाण्डूमा ‘किस्सा काठमाण्डू का ’को शुटिंग गर्न गएका थिए, पहिलो पटकको शुटिंगमा मेरो मधुर मिलन भएको थियो चलचित्र संस्थानको आँगनमा ।
पहिलो पटक शुटिंग गर्न आउँदा उनलाई चेतन कार्की, हरिहर शर्मा, उज्वल कुन्दन ज्यापू आदिले निकै सहयोग गरेक थिए । तर त्यो वेलाको सहयोग र स्नेह प्राविधिक कारण काम नलाग्ने भएपछि उनले चलचित्र संस्थानलाई मुद्दा हाले आफूलाई विग्रेको क्यामरा प्रयोग गर्न दियो भनेर ।
यसपछि चलचित्र संस्थानले उनलाई क्षतिपूर्ति तिर्नु पर्यो , करीब करीब ५६ लाख रुपियाँ ।
संस्थानसित मिलेर एउटा फिल्म बनाउने उनको र संस्थानको यो सपना ध्वस्तन्यस्त भएपछि नै पञ्चवटी को तयारी भएको हो शायद ।
रेले नेपालीमा सिनेमा बनाएनन् तर नेपालीसित धेरै काम गरे, विशेषतः भारतीय नेपाली र भारतमा भास्सिएका यहाँका पुराना संभ्रान्त नेपालीसित ।
मेरो पहिलो चलचित्र पृथिवी को अल्बम विमोचनमा प्रमुख अतिथि भएर आउँदा भरत शम्सेर जबराले कसरी रे सित सिनेमा बनाएँ भनेर आफ्नो अनुभव सुनाएको म अझै पनि  सम्झिन्छु । सन् १९७१ मा चित्राञ्जली का निम्ति भारत शम्सेरले सीमाबद्ध नामक् सिनेमा उनीसित बनाएका थिए ।
शंकरको उपन्यास सीमाबद्ध मा  आधारित यस फिल्ममा बरुण चन्दा र शर्मीला टैगोरले उत्कृष्ट अभिनय गरेका थिए । यसपछि भारतशम्सेर र सत्यजीत रेले कुनै फिल्म बनाएनन् ।
सत्यजित रेको नेपाल र नेपालीसँग लगाव अरु धेरै कारणले पनि छ, उनले काठमाण्डू माथि कैयन् कथा लेखे । उनले नेपालीवासी धेरै भएको ठाउँ दार्जीलिँगमा गएर कञ्चनजंघा (१९६२) शुटिंग गरे , उनले नेपालीकै सहयोगमा सिक्किमका अन्तिम राजा छोग्यालको लगानीमा सिक्किम (१९७१ ) मा छायाँकन गरे ।
कञ्चनजंघाका वारेमा धेरै तारतम्य प्रसंगमा गोपाल योञ्जन पनि जोडिन्छन्, संगीतकार योञ्जनलाई यस चलचित्रमा रेले शुरु को भागमा बाँसुरी बजाउन लगाएका थिए भनिन्छ तर पर्दामा उनको नाम छैन, आलोक डे को नाम पढ्न पाइन्छ ।
बरु सत्यजित रेले काठमाण्डू आउँदा कञ्चनजंघा को बालपात्र त्यो गुरुङ केटो कसरी छानियो भन्ने चैँ सुनाए , म र मेरा साथी वीरेन्द्र श्रेष्ठलाई ।
पत्रकार वीरेन्द्र श्रेष्ठ पेशाले पत्रकार भए पनि उनमा गायनको नशा थियो उनका दाजु अरुण थापाले गर्दा । उनले सत्यजित रेसितको पहिलो भेटमा केही नेपाली लोक गीत पनि सुनाएका थिए ।
किस्सा काठमाण्डू का को पहिलो एपिसोडको छायाँकनका वेला हामी तीनजना भेट्न गएका थियौँ, वीरेन, सुमीत्रा राई र म ।
त्यो भेट आधा घन्टाको थियो र त्यहीदिन रे महोदय कोलकत्ता उड्दै थिए ।
रे महोदयसित यसपछि अर्का भेट कोलकत्ताको मारोलोक स्टुडिओमा भयो जहाँ गणशत्रु को छायाँकन गर्दा गर्दै उनलाई हर्टअट्याक् भयो  । यो सन् १९८९ को कुरा हो यसपछि उनी धेरै वर्ष सिनेमामा फर्किएनन् । पछि उनले शाखा प्रशाखा र आगन्तुक बनाए ।
भारतीय फिल्म उद्योगका पाँचजना अग्ला मान्छे मध्ये रे पनि एक थिए जो ढले सन् १९९२ मा, कोलकत्ताको  के एम सी अस्पतालमा । सोही अस्पतालमा उनले ओस्कार पुरस्कार समारोह समितिका तर्फबाट दिइएको विशेष  लाइफ टाइम अचिभमेन्ट ग्रहण गरे  । इतिहास उनको निमित घडीको चक्रमा उल्टो घुम्यो । सन् १९५६ मा उनले पहिलो फिल्म ‘पाथेर पाञ्चाली’ का निम्ति क्यान्स् फिल्म फेस्टिभलबाट वेस्ट ह्यूमन डक्यूमेन्ट्री अवार्ड पाएका थिए । 
इतिहासको यो चरणमा ओस्कार पुरस्कार समारोह स्थल छोडेर बाहिर आएको यो पहिलो घटना थियो । शायद् यस्तो उच्चाकर्षणको पुरस्कार दक्षिण एशियाई भूमिसम्म आइपुगेको यो घटना लगभग पहिलो थियो र अहिले सम्म पहिलो नै मानिँदै आएको छ ।
यसको पाँचवर्ष पछि मैले रे लाई समर्पित गरेर रे माथि एउटा पुस्तक प्रकाशन  गरेँ, जसको नाम थियो रे ः द म्यान् अफ् सिनेमा । लेखकीय रुपमा यो मेरो पहिलो आँग्ला भाषाको किताब थियो ।
डापा पब्लिकेशनबाट प्रकाशित यो पुस्तक रे प्रति मेरो श्रद्धाञ्जलि थियो । यस पुस्तक तयार पार्दा मैले कैयन् सर्जक, कलाकार सित भेटेँ, कैयन् सित फोनमा कुराकानी गरेँ । कैयन् तथ्य पुस्तकहरुबाट लिएँ । यसै पुस्तक तयार पार्दा  अभिनेत्री अपर्णा सेनले भनेकी थिइन्, सिनेमाले हामीले गरेको गल्तिलाई झन् ठूलो देखाउँछ । मणिकाकाको सिनेमामा त्यो थिएन ।
चलचित्र पत्रकार चीदानन्द दास गुप्ताकी छोरी अपर्णा सत्यजीत रेलाई मणिकाका भन्थे , सत्यजीत रेलार्य बंगाली मूलका धेरै वन्धुवान्धवहरु माणिकबाबू भन्न मनपराउँथे, नवेन्दुदा पनि माणीकबाबो भन्थे, हाम्रा भारत शम्सेर प्रेमले माणीकदा भन्थे ।
ती माणीक दाप्रति समर्पित भएर पहिलोपटक काठमाण्डूमा सत्यजीत रे फिल्म महोत्सव भयो सन् २००५ मा ।
ललितपुरको यलमाया केन्द्रमा आयोजित यस फिल्म महोत्सवका आयोजक रेशु अर्यालका तर्फबाट महोत्सव मन्तव्य राखीदिन आग्रह गर्दा मैले स्पष्ट रुपमा यो  कुरा भनेको थिएँ,“ सिनेमा दुई कारणले  बन्दछन् , एउटा बनिबनाऊ दुनियाँका निम्ति र अर्को नयाँ बन्दै गरेको दुनियाँका निम्ति । सत्यजीतका निम्ति यी दुवै जगत उपलब्ध थिएनन् र उनले अर्को नयाँ दुनियाँ बनाए जसलाई सत्यजीत रेको संसार भन्न  सकिन्छ जहाँ उनले सबै कुरा स्कुलमा सिके जस्तो सिके । कतिपय मानिस फिल्म स्कुलमा गएर फिल्म पढ्छन् र सिक्छन् तर मेरा निम्ति सत्यजीत आफैँ एक स्कुल हुन्, फरक यत्ति छ । यही फरक छुट्याउन हामी यो जगतमा आउने हो भने सिनेमा हाम्रो लागि नयाँ विधा हो नत्र यी सारा सूत्र पुरानै हुन् । ”
सत्यजीत रेसित मेरो भेट केही केही कारणले महत्वपूर्ण होला तर सत्यजीत रे मेरा लागि  विशेष अर्थपूर्ण बनाइदिए, मेरा आदरणीय गुरु बासु भट्टाचार्यले अनि उनकै छायाँमा भेटिएका आदरणीय नवेन्दु घोषले । नवेन्दुदाले चिनाइदिएको सत्यजीत रेको संसार मेरा निमित अपार छ, अपार ।
००