Friday 28 November 2014

प्रेरणास्रोत नारी
 
प्रकाश सायमी |


 
आई एम म्याड्म् बाभोरी ! बहुआलोचित यो स्वीकारोक्तिपछि विश्व साहित्यमा गुस्ताभ फ्लेबर्ट निकै चर्चित भएका थिए। फ्लेबर्ट महिला थिएनन्, न त उनले जीवनमा कहिल्यै विवाह गरे। नायिका बाभोरीसित न उनको चरित्र मिल्थ्यो न त कथा। बरु केही हदसम्म उनका संवेदना वा भावानुभूतिले उनको जीवनसित साक्षात्करण गर्थ्यो यस कृतिमा।
म्याड्म् बाभोरी गुस्ताभ फ्लेबर्टको सर्वाधिक चर्चित कृति थियो र उनी यसका निम्ति नै कालजयी भए। कृतिको सफलतापछि उनले हिम्मत गरेर भने, 'म नै हुँ, त्यो नायिका।' नायिकाप्रतिको शतप्रतिशतवादी उनको धारणा कृतिप्रतिको न्यायमात्र नभई महिलाको दु:ख, पीडा वा आक्रोशप्रति सम्मान नै थियो।
विश्वका धेरै राम्रा कृति, धेरै राम्रा सिनेमा वा धेरै राम्रा गीत पुरुषले लेखे पनि त्यसमा महिलाको उपस्थिति वा महिलाको ऊर्जा औं अस्मिताको सफल छायांकन भएको पाइएको छ। त्यसैले कहिलेकाहीँ यस्ता कृतिमाथि सन्देहास्पद भएर हेरिने समाज पनि यथावत् छ।
कृतिको सफलतापछि वा त्यसले उचाइ हासिल गरेपछि स्रष्टा हराएर स्रष्टाको लिंगीय पहिचान खोजिने गरिन्छ।
हलिउडका तीन अपार सफल चलचित्र टेक्विला सनराइज, डिस्पोजल र इन्डिसेन्ट प्रपोजलमा यस्ता प्रश्न नआएका होइनन्। यद्यपि इन्डिसेन्ट् प्रपोजल्‌मा त यो सिनेमा निर्देशक महिला हुन् कि परुष भन्ने घातक प्रश्न बारम्बार आएका थिए। यस फिल्ममा जुलिया रोबर्टस्को भूमिका र टेक्विला सनराइज्‌मा मिचेली फ्रिफायरको भूमिकामा महिला सर्जक हावी भएको समीक्षकले दाबी गरेपछि निर्देशक प्रकट भएर प्रस्टीकरण दिएको थियो।
नेपाली गीति समाजका अत्यन्त आदरणीय गीतकार किरण खरेलका चर्चित गीतमा धेरै नै महिलाको प्रसंग र चर्चा आएको बारेमा उपन्यासकार डा. ध्रुवचन्द्र गौतमले प्रश्न गर्दा गीतकार खरेलले भनेका थिए, 'म बच्चैदेखि महिलाकै वरिपरि हुर्कें। मलाई मामाघरकी हजुरआमाले पाल्नुभयो, काठमाडौं आएपछि फुफू दिदीहरूसित बसेँ। गीतसंगीतमा लागेपछि पनि मलाई महिला कलाकारले बढी स्नेह र साथ दिए। त्यसैले मेरा प्राय: गीतमा महिलाका कुरा आउनु स्वाभाविक हो, म यसमा गर्व पनि गर्छु।'
बालबालिकासम्बन्धी पत्रिका 'कोपिला'का निम्ति लिइएको यो अन्तर्वार्तामा गीतकार खरेलले जे कुरा स्वीकारेका छन्, यस्तै हुबहु विचार केही वर्षअघि भारतका चर्चित फिल्मी गीतकार जावेद अख्तरले पनि राखेका थिए- मेरो रचनामा सदैव महिलाको सम्मान वा इज्जत नै हुने गर्छ कारण म आमा, सानीमुमासित हुर्कें।
बाबुले आमालाई छोडेर गएपछि मलाई मामाघरकी हजुरआमाले नै हुर्काउनुभयो। मेरी आमा बित्दा मलाई मेरी हजुरआमाले लासमाथि माटो छर्ने बेला कठालो पक्डेर 'आमाको मुख हेरेर कसम खा, आमाले पाएको दु:खको बदला लिन्छु, भन् भन्।' मैले त्यसरी नै कसम खाएँ र मेरा सारा रचना, कृति आमाजस्ता महिलाप्रति नै समर्पित भए।
जावेदले आफ्ना धेरै सिनेमामा, गीतमा महिलालाई पुरुषको प्रेरणा वा विजितको भूमिका दिएका छन्। उनका रुमानी गीतमा महिलाको बयान गर्दा ईश्वरको अनुकम्पा वा प्रकृतिको शक्तिसित समतुल्य मानिएको यथेप्सित पंक्ति पाइन्छन्।
पूर्वीय होस् वा पश्चिमा, सबै स्रष्टाका लेखनमा वा विषयवस्तुमा प्रेरणाको स्रोत प्राय: महिला नै भएको पाइन्छ। अझै धेरै स्रष्टाका चर्चित कृति महिलाका विषयमा नै प्रधानताका साथ अगाडि छन्। टोल्सटायको अन्ना केरेनिना वा म्याक्सिम गोर्कीको मदर, डी एच लरेन्स्का लेडी च्याटर्जिज लभलेटर, शरतचन्द्रको परिणीता वा व्सेवोल्द पुडोवकिनको सन् १९२६ को महान् रुसी चलचित्र मदर वा एसियाली भूखण्डमा अत्यधिक सफल मानिएको महबुब खानको मदर इन्डिया वा हाम्रै नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमा यसमध्येका केही गुणनीय उदाहरण नै हुन्।
यी धेरै कारणले वा प्रमाणले गायक, लेखक, चित्रकार, फिल्मकार वा खेलाडीको जीवनको सफलतामा महिलाको भूमिका अहम् रहेको पाइन्छ। फरक यतिमात्र हो- कतै आमाको भूमिकामा, कतैकतै दिदीको भूमिकामा, कतै प्रेमिकाको भूमिका, कतै पत्नीको भूमिकामा। वा कसैकसैलाई छाडेर गएकी प्रेमिकाले र कसैकसैलाई बितेर गएकी पत्नीले पनि रचनाकालमा ठूलो प्रभाव पारेको पाइन्छ।
विश्वविख्यात फुटबल खेलाडी क्रिस्टिना रोनाल्डोकी दिदी अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनका फ्यान थिए। उनले आफ्नो भाइलाई यही नामले जन्म दिए। आज रोनाल्डोसित फुटबल र दिदीले दिएको नाम सँगसँगै टाँसिएको छ, निशानीमा।
गायक अरुण थापालाई आफ्नी प्रेमिका विमलाले छोडेर गएपछि उनले उनकै सम्झनामा राम्राराम्रा गीत गाएका छन्, स्वस्थ सम्बन्धको चर्चा गर्दै। राष्ट्रकवि माधव घिमिरेले पहिली पत्नी गौरी को सम्झनामा गौरी शोककाव्य लेखेर आफू पनि रोएका छन् र अरूलाई पनि अझैसम्म रुवाइरहेका छन्।
भारतीय साहित्य जगत्का शक्तिशाली गद्यकवि डा. हरिवंश राय वच्चनले आफ्ना दिवंगत पत्नी श्यामाको सम्झनामा निशा निमन्त्रण लेखेर कैयौंलाई रुवाए र उनले वाचन गर्दा कैयौं रोए। त्यही कविता सुनेर रुने उनका पाठकमध्ये एक तेजी सुरीले 'आजसम्म तिमी एक्लै रोयौ अब तिमीसित म पनि रुन्छु' भनेर वच्चनलाई जीवनसाथीका रूपमा स्वीकारेर दुई सन्तान अमिताभ र अजिताभको जन्म पनि दिए।
पहिले प्रशंसकका रूपमा पछि प्रेरणाका रूपमा तेजी वच्चन उनका कृतिमा रहिन्।
शब्द वा अक्षरमा जेसुकै खेलबाट गरे पनि कैयन् स्रष्टा साधकले आफ्नो नामको अगाडि सरु वा पछाडि मधु राखेको स्मरणीय हिस्सा पाइन्छ।
अम्बर गुरुङका गीतमा 'उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला' भन्ने गीतमा कैयौं प्रेरक महिलाको नाम सगर्व गाँसिएर आउँछ। गोपाल योञ्जनका सदाबहार गीतमा उनको प्रारम्भिक जीवनमा साथ दिने उनकी महिला मित्र मदन प्रधानको भूमिका कति पाश्र्वतर भएर झल्किन्छ।
हरेक सफल कवि, लेखक, कलाकार वा उद्यमी सबैको जीवनमा महिलाको भूमिका पाश्र्वभूमिबाट अग्रभूमिमा सरेको देखिन्छ। त्यो चाहे चित्रकार पाब्लो पिकासोको बारेमा भनौं या संगीतकार विथोभिन। गायक जोन लेननको जीवनमा उनकी पहिली पत्नी सिन्थिया लेननदेखि उनको जीवनमा योको ओनोसम्मको फरकफरक भूमिका छ तर पनि उनले आफ्ना हरेक गीतमा स्त्रीको वामाशक्तिलाई सहर्ष स्वीकारेर कैयन् गीत रचेका र गाएका छन्।
गीत, कविता, कथा वा जेसुकै रचनामा महिलाको शक्तिलाई स्मरण गर्दै लेखिएका प्रसंगमा स्रष्टाले सदैव आफ्नो प्रेमलाई भन्दा प्रेमिकाको नामलाई ताकत मानेका छन्। मराठी भाषाका सर्वसम्मानित लेखक विजय तेन्दुलकरले महिलाकै समस्यामाथि लेखेर नाटक र मञ्चमा स्त्रैन्यवादी लेखकको खिताब नै पाएका छन्, उनले भारतको आदिवासी जातिमा देखिएको महिलाको समस्यामा कमला वा राजनीतिक वृत्तमा महिलामाथि शोषण भएकोमा गिद्धाडे लेखेर आफ्नो पहिचान बनाएका छन्।
महिला यस अर्थमा धेरै लेखकको प्रेरणाको मुहान त अवश्य बनेका छन् तर कहिलेकाहीँ महिला पात्रमाथि भएका कैयन् कुरालाई विवृत्त गर्ने प्रसंगमा हाम्रो समाज वा हाम्रो अर्धबौद्धिक चिन्तन चुकेको पनि पाइन्छ।
नेपाली गीतमा प्रयोग हुने साइँली र माइली पोइल गएछन् वा निष्ठुरीले छाडेर गई हाली, ओ संगीता वा सेक्सी सीताजस्ता गीत विम्बले कहिलेकाहीँ स्रष्टा साधकले महिलाको शारीरिक बनोटको उपल्लो भागलाई गैरमूल्यांकन गरेर शारीरिक अवयवलाई मात्र हेरेका हुन् कि भन्ने भान पनि हुन्छ। यहाँनिर स्मरण गर्नुपर्ने हुन्छ, संयोगले आजकै दिन (मार्च ८ तारिख) सन् १९२१ मा भारतको लुधियानामा जन्मेका क्रान्तिकारी कवि गजलकार साहिरले लेखेका छन् :
लोग औरत को फकत जिस्म सभझ लेते हैं
रुह भी होती हैं उसमें यह कहाँ सोचते हैं
साहिरले उठाएको यो प्रश्न सन् पचास दशकको भए पनि अहिलेसम्म एसियाली समाजमा स्त्रीलाई रुह भएको (आत्मा र आत्मसम्मानको द्वार भएको ) पुर मान्न यो गठबन्धनको समाज डराउँछ। यो वैश्विक समाजमा विज्ञापन निर्माणदेखि प्रशंसाको पत्र बाँध्ने घडीमा समेत स्त्रीको बौद्धिक शक्ति वा धरातलाई न्युनाधिक्य मानेको पाइन्छ।
रक्सीको बोटलको विज्ञापन होस् वा कारको सिटको छालाको नरमपनामा महिलालाई समतुल्य मानेर बनाइने विज्ञापन र हेर्ने दर्शकमा त्यो नकारात्मक धारणा कायम हुनुमा त्यही सोचको अपसोचनीयताको कमाल छ।
आजको कस्मेटिक्स दुनियाँमा रूप, गुण र सौन्दर्यको दाबेदारीमा कुनै चीजको यथतामाथि चर्चाको चर्खा चलाउँदा महिला नै महिलाको विरुद्ध हास्य पात्र बनेको उदाहरण प्रशस्त पाइन्छ।
हरेक सफल पुरुषको पछाडि महिलाको भूमिका हुन्छ भन्ने बहुलोकप्रिय भनाइमा आजकाल यस्तो व्यंग्योक्ति भरेको उद्धरण पढ्न पाइन्छ, हरेक सफल पुरुषको पछाडि महिलाको भूमिका हुन्छ तर हरेक असफल पुरुषको पछाडि अर्को महिलाको भूमिका हुन्छ।
यो भनाइ सुन्दा जति हल्का लाग्छ तर यसमाथि गरिने तार्किक विमर्श सही हुन आउँछ प्राय:जसो। महिलालाई वेश्याको आरोप लाग्नु वा महिलामाथि सौता लाग्नु वा महिलाकै कारणले महिला बेचिइनु यी र यस्ता धेरै घटना प्रतिघटनामा अर्को महिलाको धेरै हात हुन्छ, त्यहाँ पनि पुरुषलाई परिचालित गरिने कारण महिला नै हुन्छ।
हाम्रा मिथक कथामा महिला यसरी पात्र बनेका धेरै उदाहरण त छन् तर त्यो देखेर जानेर बुझेर पनि घरसमाजमा महिलाको सत्ताशक्ति खोस्न अर्को महिला नै शत्रु बनेको उदाहरण प्रशस्त पाइन्छ। यसबारे महिलाले पुरुषविरोधी भएर सोच्दा त्यति न्याय भएको पाइँदैन।
आज हाम्रो छिमेकी मुलुकमा महिला अधिकारकर्मीको अगुवाइमा मुजरा प्रथा त हटेको छ तर त्यससित गाँसिएको एक सामाजिक एवं सांस्कृतिक परम्परा पनि नष्ट भएको छ। फेरि यसविरुद्ध आन्दोलन चल्दैछ।
हाम्रै समाजमा महिलाले महिलाको समर्थनमा बिना झन्डा बोकेर एकल महिला आन्दोलन सफलतापूर्वक चलाएको स्पष्ट उदाहरण हाम्रासामु घामजत्तिकै छर्लंग छ। भारतको गाजियाबादमा गुलाब ग्याङ अर्को उदाहरण बनेको छ जसमाथि अब प्रसिद्ध अभिनेत्रीद्वय माधुरी दीक्षित नेणे र जुही चावलाको प्रमुख भूमिका देखिँदैछन्।
गुलाब ग्याङ पुरुष निर्देशकले नै परिकल्पना गरेको विषयवस्तु हो जसरी आदिवासी महिला कमलामाथि बनेको नाटक र सिनेमा दुवै पुरुषले नै लेखन, निर्माण एवं निर्देशन गरेका हुन्, विजय तेन्दुलकर र जगमोहन मुन्धरा यसका बधाईका पात्र हुन्।
सामान्यतया कविको कल्पना वा चित्रकारको रंगदर्पणभन्दा बाहिर गएर पनि हाम्रो सामाजिक चिन्तन धराशयी बनेको पाइन्छ, जहाँ महिलाले पुरुषलाई नै दोषी मानेको पाइन्छ। पुरुष यस्ता काममा महिलाकै कारण अग्रसर भएको बुझिनुपर्छ, प्राय: भारतमा चलाइने वेश्याकोठी महिलाद्वारा नै सञ्चालन भएको पाइन्छ तर त्यहाँसम्म महिलालाई पुर्‍याउने र त्यहाँका महिलालाई प्रयोगमा ल्याउने प्रमुख पात्र प्रस्ट रूपमा पुरुष नै बनेका छन्।
पुरुषसत्तात्मक यो समाजमा महिला कामकाजी हुन नसक्नु, पहिला इस्तेमालको मात्र वस्तु हुनु पुरुषको दानवीय सोच पनि हो जसलाई कवि गीतकार साहिर लुधियानवीले यसरी व्यक्त गरेका छन् आफ्नो कालजयी रचनामा :
औरत ने जनम दिया मर्दोंको, मर्दों ने उसे बाजार दिया
जब जी चाहा मसला कुचला, जब जी चाहा दुत्कार दिया
महिलाकै प्रेम, प्रेरणा र प्रशंसाले कति महानतम् कृति लेख्ने पुरुष केही तुच्छ कारणले लोभिएका छन् तर त्यो क्षणिक हो भनिए पनि त्यसले दूरगामी असर पारिरहेकै हुन्छ।
पाकिस्तानकी चर्चित लेखिका तहमिना दुर्रानीले माई फ्युडल लोर्डमा धर्मको बहानामा इस्लामी महिलामाथि दमन गरिएको जनाउ दिएर पुरस्कृत कृति नै जन्माइन् भने शिक्षाका कारण तालिवानीको आँखाको तारो बनेका मलाला युसुफजाई आज विश्वचर्चित उदाहरणमात्र बनिनन्, नोबेल पुरस्कारका निम्ति आजसम्मकै कम उमेरकी मनोनयनमा परेकी अभियन्ता भएकी छन्।
यी र यस्ता उदाहरणबीच भर्खरै पहिलो फिल्म वाद्ज्दा बनाएर इराककी पहिलो महिला निर्देशकको उपाधि पाएकी हाइफा अल मन्सौरले भनेकी छन्- अब महिला साधन होइन, शक्ति हुन सक्नुपर्छ।
महिलालाई हाउस वाइफबाट होम मेकरसम्म बनाउन हाम्रो समाज सदैव दुई कारणले सजग हुनुपर्छ- शिक्षा र सहभागिताले। अवसर त्यसपछि आउने प्रकरणमात्र हो। कवि आलोकधन्वा लेख्छन्, मुख्यमन्त्री एउटा मुस्किलले सत्ता चलाउँछन् कैयन् जत्था लिएर।
तर, मेरी उनी एक्लैले घर चलाउँछिन्। के यो कम कुरा हो र?

No comments:

Post a Comment