Saturday 27 June 2015

Laliguras jhai Phuleka Dibya by Prakash Sayami

लालीगुराँस झैँ फुलेका दिव्यको सम्झनामा
 प्रकाश सायमी





ः लद्दाखबाट मुम्बई आएका मेरा मित्र फुन्सोख लद्दाखीलाई मैले एक पटक सोधेको थिएँ, “तिमी किन आफ्नो जन्मभूमि छोडेर मुम्बई आयौ ? ”
उनको जवाफ तड्का थियो, सुन्दा मन तरंग हुन्थ्यो । बुझ्दा अविश्वसनीय झैँ लाग्थ्यो तर उनले सविश्वास यसरी भनेका थिए, सुनेको कति दिनसम्म म मात्तिएको थिएँ, झुम्मिएको थियो उनको उत्तर सुनेर ।
त्यो उत्तर यस्तो थियो,
” ..लद्दाखमा लता मंगेशकरको गीत सुन्न प्रतिवन्ध छ, मेरो दोस्त । ”
लता गीत सुन्न र आफ्नो सांगीतिक जीवनलाई उच्चता दिन फुन्सोख लद्दाख बाट भारतको मुम्बई आएका थिए, किशोरकलामै । उनको युवा कालमै पछि लद्दाख भारतको एक प्रान्त भयो ।
अस्सीको दशकको अन्त्यतिर फुन्सोखलाई मैले मुम्बईकमा फिल्मकृर्मको वेला भेटेको थिएँ । अस्सीको दशकको शुरुवातमै नेपाली संगीतमै  यस्तो अद्भुत घटना घटेको थियो, एक नेपाली कलाकारको जीवनमा ।
ती कलाकार थिए, दिव्य खालिङ ।
दिव्य खालिङले नारायणगोपाललाई मेरो गीत गाउन लगाउनु छ भनेर आफ्ना सारा गीतका झोला गुन्टा बोकेर भारतको पहाडी राज्य दार्जीलिङबाट नेपाल आएका थिए, आफ्ना सारा साथीभाइ, सारा सारसाज छोडेर । उनी नेपाल आउँदा स्वर सम्राट नारायणगोपाल  पाभिलियनमा फर्किसकेका थिए, गाउन छोडेर ।
रेडियो नेपालसित नारायणगोपालको कट अफ भइसकेको थियो । कलाकारको भीडमा उनी एक्ला थिए, दरवारको उनीप्रति आकर्षण वढ्दो थियो तर उनी दुरवारविमुख ।
आफ्ना मित गोपाल योञ्जनसित उनको एउटा इनिंग सकिसकेको थियो, आफ्ना साथी अम्बर गुरुङसित नारायणगोपालको भाइरल वार चलिरहेको थियो । त्यति नै वेला अम्बर गुरुङका चेला दिव्य नेपाल आइपुगेका नारायणगोपाललाई आफ्नो गीत गाउन लगाउन ।
नारायणगोपाललाई गीत गाउन लगाउन चानचुन गाह्रो काम थिएन । राजदरवारले उनलाई एउटा गीत गाउन लगाउन दश विन्ति गरेको गर्यै थियो । अरु त परै जाओस् उनकै पिता वस्ताद् आशागोपाल गुरुवाचार्यले उनलाई शास्त्रीय गीत गाउन लगाउन सकेनन् । त्यस्ता जिद्दी नारायणगोपाललाई  आफ्नो गीत गाउन लगाउन दार्जीलिङबाट नेपाल आए, एक युवा दिव्य खालिङ आफ्ना दिव्य सपना बोकेर ।
दिव्यको पहिलो गीत रेडियो नेपालमा गायिका मीरा राणाको स्वरमा रेकर्ड भयो,
विर्सिएर मैलै फेरि तिमीलाई सम्झिदिएँ,
सम्झिएर कता कता मैले तिमीलाई विर्सिदिएँ
शब्द र संगीतमा आफ्नै दम भएका दिव्यलाई यो गीतले एकै पटक हिट बनाइदियो । दिव्यको रेडियो नेपालको चारदिवारबाट बाहिर आयो ।
स्वयम् नारायणगोपाल दिव्यको गीतसंगीत सुन्न एकराता दिव्य बसेको हुोटल वी सुपर लजमा आए । दिव्य त्यतिवेला प्रताप सुब्बाको नाटक रातको प्रथम प्रहर मा संगीत निर्देशकका रुपमा काम गर्न काठमाण्डू आएका थिए । नाटकको सफलता र चर्चासंगै त्यस नाटकमा प्रयुक्त दिव्यको संगीतको पनि व्यापक वाहवाही भइरहेको थियो ।
पञ्चायती शासनकालको देश जनमतसंग्रह गरेर भर्खर निर्दलीयको जीत भनेर थाकेर वसेको थियो, दिव्य त्यही वेला आफ्ना कापी, कलम र हार्मोनियम बोकेर उत्साही भएर नारायणगोपाल भन्ने नेपाललाई भेट्न आएका थिए ।
पहिलो भेटमा दिव्यले नारायणगोपाललाई केही गीत सुनाए, गनेर चारओटा ।  ती सबै गीत नारायणगोपालले  समय दिएर  सुने । नारायणगोपाल गीत सुनेर स्तव्ध भए, शान्त भए र अस्थिर भए रेकर्ड गर्न ।
दिव्यको महान सपना साकार भयो, नारायणगोपालले दिव्यको संगीतमा गाउने भयो । कवि डायलन थोमसले भनेको ‘एक सुन्दर विहानी’ दिव्यको जीवनमा त्यतिवेला आयो जब स्वरसम्राट नारायणगोपालको स्वरमा पहिलो गीत रेकर्ड भयो,
सँधै नै म हाँसे तिमीलाई रुवाई
आज सारा खुशी म दिन चाहन्छु
 सांस्कृतिक संस्थानका महाप्रवन्धक नारायणगोपाल गुरुवाचार्य फेरि एकपटक प्रशासकीय जीवनबाट वाहिर आए, आफ्नो करोडौँकरोडको अमूल्य आवाजमा । नातिकाजी, शिवशंकर, चन्द्रराज शर्मा, अम्बर गुरुङ, गोपाल योञ्जन, सीके रसाइली पछि पहिलो पटक नारायणगोपाल आफू भन्दा पछिल्लो पुस्ताका संगीतकारको संगीतमा गुञ्जिए ।
सेलाईसकेका नारायणगोपालको नामले पुनर्जीवन पायो । नारायणगोपालले दिव्यलाई नयाँ नाम दिए, सोम् । दुवै एकआर्काका सोम सोम भए ।
यी दुवै सोमले त्यतिवेला  व्याटिँग गर्र्न थाले जतिवेला नेपाली संगीत लगभग ध्वस्त ध्वस्त हुन थालिसकेको थियो । नेपाली संगीतको पुनर्जागरण यही वेला भयो ।
शब्द उच्चारणमा अशुद्धताको आरोप खेपिरहेका नारायणगोपालाई दिव्यले यति शुद्ध, स्पष्ट र सुशब्द उच्चारण गर्न लगाए, भाषाका  आचार्य भनिनेहरू पनि नारायणगोपालको अगाडि मौन भए ।
यसपछि रत्न रेकर्डिङ्ग संस्थानको लङ्ग प्लेइङ्गमा दिव्य र नारायणगोपालका चार गीत प्रकाशित भए जसले नारायणगोपाल र दिव्यको जोडीलाई जगमग बनाई दियो र नेपाली संगीतलाई जीवन्त ।
मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ, दिनु पर्ने जे छ
त्यो बराबर हुन्छ
दिव्यको रचनामा शब्द र संगीतमा बराबर बलियो थियो तर त्यसमा थपियो  नारायणगोपालको भारीभरकम स्वरको भार । दुवै एकअर्कासित हारे ।
अनि दुवै जिते ।
नारायणगोपालको यो दोस्रो इनिङ्मा उनले गाएका दिव्यका सबै गीतले चमत्कार नै गरे, विपना नभइ बाँचिदिने, त्यस्तै अर्को एउटा माइलस्टोन सावित भयो ।
नारायणगोपालले महाकवि लक्ष्मीप्रसाद देवकोटा देखि लिएर आफ्ना साथी नगेन्द्र थापा सम्मका गीत गाएका थिए तर नयाँ पुस्ताका गीत गाएका थिएनन्, दिव्य नै त्यस शृँखलाका पहिलो सूत्रधार थिए । दिव्यकै कारणले पछि भर्खर लेखनमा अगि वढेका गीतकार दिनेश अधिकारीको तिमीलाई भुल्दा म एक्लो भएछु पनि गुञ्जियो ।
सन् १९५६ को मार्चमा दार्जीलिङमा जन्मेका दिव्य नारायणगोपाल, गोपाल योञ्जनका गीत सुनेरै हुर्केका थिए । उनी आफूलाई गोपाल योञ्जनका एकलव्य शिष्य मान्थे तर कुनै दिन उनले नारायणगोपालको जीवनमा गोपाल योञ्जन अभाव भर्नु छ भनेर कल्पना सम्म गरेका थिएनन् ।
दिव्यले नेपाल आउनु अगि दार्जीलिङमा आफ्ना दुई मित्र वाग्येल लामा र पेमा लामासित मिलेर टीम बनाएका थिए । उनको संगीतमा दावा ग्याल्मोले पहाड जस्तो बनिदेऊ  तिमी हिटको आरेखमा पुगिससकेको थियो ।
अम्बर गुरुङ, गोपाल योञ्जन, रञ्जित गजमेर, शान्ति ठटालले े दार्जीलिङ छाडेपछि त्यस सांगीतिक पहाडी राज्यलाई सम्हाल्ने दिव्य र उनका टोली थिए । दिव्य समग्र नेपाली संगीतको विकासमा काठमाण्डू आए पछि पहाड मौन भयो ।
दिव्यले अस्सीको दशकमा नेपालका नामी नामी कलाकार किरण प्रधान, अरुण थापा, भक्तराज आचार्य, प्रेमध्वज प्रधानलाई पनि आफ्ना गीत गाउन लगाए ।
दिव्यलाई एकपटक फेरि दार्जीलिङले गर्वले सम्झे ।
कवि क्षेत्रप्रताप अधिकारीको शब्दमा नारायणगोपालको स्वरमा दिव्यको संगीतले त्यो वेला चमत्कार गर्यो जुन वेला ‘म त लाली गुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनै भरि फुलिदिन्छु’ गुञ्जियो ।
एउटा सामान्य आधुनिक गीतले राष्टिय गीतको जस्तो दर्जा पायो जसको श्रेय दिव्यलाई नै जान्छ अनि उनको चमत्कारी संगीत संयोजनलाई ।
दिव्यले गरेका प्रायः गीतमा शब्द संरचना उच्चकोटिको हुन्छ, यसमा शंका थिएन । उनको संगीतमा वाद्यसंयोजन अब्बल दर्जाको हुन्थ्यो कारण उनी अम्बर गुरुङ पछि संगीतको दुवै नोटेशन जान्ने एक मात्र  संगीतकार थिए नेपाली जगतमा । उनले त्यो पहिचान दिए आफ्ना हरेक संगीतमा ।
उनले नारायणगोपालले संगीत गरेका मलाई नसोध कहाँ दुख्छ घाउ मा समेत त्यो करामत देखाएका छन् भने उनैले सुवासचन्द्र ढुँगेलको शब्दमा भक्तराजले संगीत गरेको जति चोट दिन्छौ देऊ मायाललुलाई पुनः संगीत संयोजन गरेर रेकर्ड गराएका छन् ।
दिव्यले आफ्नो रचना वाहेक नयाँ पुस्ताका गीतकार दिनेश अधिकारी देखि अग्रजमा चेतन कार्की,  कञ्चन पुडासैनी, क्षेत्रप्रताप अधिकारी, अमृतलाल श्रेष्ठ आदिका गीत पनि संगीत गरे ।
कञ्चन पुडासैनीको शब्दमा तिमीलाई भुल्दा म एक्लो भएछु, होस् वा अमृत श्रेष्ठको शब्दमा पत्थरको मुटू बोकी मान्छे तिमी नबनी देऊ मा  दिव्यको संगीतको अर्कै छाप  थियो ।
दिव्यको संगीतकारितामा रचना, संगीत र संगीत संयोजन वाहेक अर्को पक्ष बलियो थियो गायन । तर उनले मञ्चमा वाहेक रेकर्डमा कतै गाउन चाहेनन् । दिव्यमा कार्यक्रम संयोजन गर्ने र कलाकार मञ्चस्थ गर्ने गज्जबको कला पनि थियो । उनैले उपनिवद्ध गरेको स्मृतिका कोसेली हाम्रा गीतहरु कार्यक्रम मार्फत् दार्जीलिङका कलाकार अरुणा  लामा,  शंकर गुरुङ, पेमा लामा, डेजी बराइली, कुन्ती सुन्दास (पछि मोक्तान) रमोला मोक्तान आदि नाचघरमा मञ्चस्थ भएका थिए ।
दिव्यकै पहलमा स्वरसम्राट नारायणगोपालको पहिलो एकल साँझ दार्जीलिङ र सिलीगुडीमा प्रस्तुत भएको थियो, ब्लू नोट्स विद् नारायणगोपाल शीर्षकमा । त्यसपछि मात्र नारायणगोपालको एकल साँझ स्वर्णिम सन्ध्या काठमाण्डूको प्रज्ञा भवनमा २०४६ साल जेठ ८ गते सम्पन्न भएको थियो ।  दिव्यको स्नेहनले नै प्रकाश श्रेष्ठ, भक्तराज आचार्य, लक्ष्मी श्रेष्ठ पनि सिलीगुडीमा प्रस्तुत भएका थिए । यस्ता सामाजिक सहकार्यमा दिव्यको ज्योति देखिन्थ्यो ।
उनले रातको प्रथम प्रहर वाहेक अन्य नाटकमा आघात, अतृप्त आत्मा मा पनि पृष्ठ संगीत गरे । आघात नाटकका निम्ति उनले दार्जीलिङदेखि गायिका अरुणा लामालाई बोलाएर गीत रेकर्ड गराए भनें लामो समयपछि नारायणगोपाललाई पनि नाटकमा गाउन प्रेरित गरे ।
दिव्यले काठमाण्डूको सांगीतिक परिवेशमा आफूलाई स्थापित गराउन महेन्द्र विद्याभवन, ज्ञानोदय स्कुल देखि महेन्द्र पुलिस क्लब विभिन्न ठाउँमा संगीत प्रशिक्षक भएर काम गरे । उनले आफैँले संगीत स्कुल पनि खोले , केही शिष्य तयार पारे ।
दिव्यको गायनबाट प्रभावित भएर रत्न रेकर्डिङ् संस्थानका महाप्रवन्धक गणेश रसिकले उनलाई महेन्द्र पुलिस क्लबको मञ्चमा प्रस्तुत पनि गरे तर उनले कहिले गाउन रहर गरेनन् , कारण उनी नारायणगोपालको स्वरलाई हिमाललाई जत्तिकै उँचो सम्मान दिन्थे ।
देशको राजनीति विग्रेकोमा विक्षिप्त भइरहने दिव्यले नेपाली संगीतमा पनि अनुशासनको अभाव भएको वेलावेलामा चर्चा गरिहरन्थे । उनी नेपाली संगीतमा म्युजिकल ह्यान्डको अभाव भएको कुरा गरिहरन्थे, यही एउटा साझा सपना पूरा गर्न उनी आफ्ना सोम नारायणगोपालसित लागिपरेका थिए । तर दुवैले गीत रेकर्ड गर्दा सदैव वाद्यवादकको अभाव महशुश गर्थे र प्रवासबाट कार्निभल ग्रुपलाई आमन्त्रण गर्थे ।
दिव्य मुम्बईमा गरिने रेकर्डिङ्का विरोधी थिए, अनि भारतीय कलाकारले अशुद्ध नेपाली गीत गाउने अन्धो परम्पराका उनी खेदो खन्थे । उनी स्वयम्ले संगीत निर्देशन गरेको चलचित्र दिदी मा गीत रेकर्ड गर्न मुम्बई जाँदा उनले सारा गायक गायिका नेपालबाट लिएर गए । यहाँ सम्म कि उनले रेकर्डिँङ्का वेला संगीत संयोजक पनि नेपालीमूलकै संगीतकार मनोहरि सिंहलाई चलाए ।
एशियाका सर्वोत्कृष्ट सेक्सोफोनिस्ट मनोहरि सिंहले उनको सांगीतिक प्रकार्यको खुलेर प्रशंसा गरे । उनले नेपाली चलचित्र लडाइँ, खुकुरी वाहेक टेलिचलचित्र अविरल बग्दछ इन्द्रावती मा पनि कालजयी संगीत गरे ।
दिव्यको संगीतबाट प्रभावित भएर गायक दीप श्रेष्ठले आफ्नो दोस्रो एल्बम शृँखला मा समीक्षा गर्न लगाएका थिए । पाटनको यलमायामा सम्पन्न भएको सो कार्यक्रममा दिव्यले गायक दीप श्रेष्ठलाई सूरहरुको राजा पदवी दिएका थिए ।
साथी सहकर्मीलाई इज्जत दिन पछि नपर्ने दिव्य खालिङको जीवनको अन्त्यकाल निकै दुःखदायी रह्यो , उनी रोगसित लडिरहे, मौन चूपचाप सबै कुरा हेरिरहे । उनलाई हेर्ने उनकी पत्नी ग्रेस खालिङ वाहेक कोही भएनन् ।
खसी ढल्दा भीड लाग्ने नेपाली समाजमा दिव्य ढल्दा उनका वरिपरि कोही थिएनन् , उनका तीन छोरा र एक छोरी वाहेक । ललितपुरको धोवीघाटमा लामो समय उनले एकाकी जीवन  विताए । लामो समय नर्भिक अस्पतालमा उपचार गर्दा गर्दै उनले अचानक प्राण त्यागे, असार महिनाको १० गतेका दिन नौ  वर्ष अगाडि ।
देश निर्दलमा बस्ने कि वहुदलमा जाने विषयमा जनमत संग्रह हुँदै गर्दा उनी नेपाल आएका थिए । देश राजतन्त्र फ्याँकेर गणतन्त्रमा जाने आन्दोलन चल्दै गर्दा उनी यो जगतै छोडेर गए ।
एक नेपालीले देख्नु पर्ने सबै अप्रिय कुरा नेपाल वन्द, भ्रष्टाचार, नेताका कुरुप अनुहार, आश्वासन, धाँधली सबै देखेर गए दिव्यले तर दिएर गए एकेक कालजयी गीतहरू । जसलाई सुन्दा र सम्झिँदा लाग्छ उनी नेपाली संगीतमा लालीगुराँुस झैँ अझै फुलिरहेका छन् ।
नारायणगोपालको अन्तिम गीत भनेर हल्लामा आएका भ्रामक गीत छोडेर नारायणगोपालले साँँच्चै नै रेकर्ड गर्न नपाएका तीन अन्तिम गीत सहितको सीडी दिव्यको पुण्यतिथिमा पाँच वर्ष अगि म्युजिक नेपालबाट प्रकाशित भएको थियो, मेरो सानो संसार ।
नारायणगोपालले गाएको उनको अन्तिम गीत मेरो सानो संसार तिमीलाई अटेन, मेरो घाम जून तिमीलाई रुचेन पछि युवा पुस्ताका गायक शैलेश सिंहले आफ्नो एल्वम सन्धि पनि रेकर्ड गरेका छन् ।
नारायणगोपाल देखि शैलेश सिंह सम्म विस्तीर्ण भएर फैलिएका दिव्यको स्वरलाई एउटा गायकीको स्वर मान्छन् , संस्कृतिकर्मी चेतन कार्की । अहिलेका चर्चित संगीतकार न्ह्यू बज्राचार्य उनको स्वर त राम्रो तर व्यालेन्स् नभएको भन्छन् ।
रेडियोमा सर्वाधिक रुपमा नारायणगोपालको गीत वजाउने सञ्चारकर्मी मुकुन्द खड्का भन्छन्, “गोपाल योञ्जनलाई सम्मान गर्दै म भन्छु । मलाई त गोपाल योञ्जनका संगीतमा भन्दा दिव्य खालिँगको संगीतमा नारायण गोपाल ऊर्जावान र भव्य भएर आएको जस्तो लाग्छ ।  नारायणगोपाल साँच्चै  सुन्न चाहनेले दिव्यकै संगीमा सुन्नुपर्छ, सम्पूर्णता त्यहीँ भेटिन्छ । ”
नेपालका प्रथम रक सिंगर मुकुन्द भन्छन्, “दिव्यको आवाज पनि असीम थियो तर दुर्भाग्य, उनले कुनै गीत रेकर्ड गराउन चाहेनन् ।”
यहीँनेर स्तव्ध हुन्छन्, मुकुन्द । यहीँनेर स्तब्ध हुन्छन्, दिव्यका स्वजन, शुभेच्छुक र संगीतानुरागी  । साँच्चै दिव्यले एउटा गीत हाम्रा लागि गाएको भए ?
यो पृथिवीमा हरेक मान्छे आफ्नै गीत गाउन आएका हुन् , यसमा दुई मत छैन तर दिव्य आफ्नो गीत अरुले गाओस् भनेर आएका हुन् ।
०००

Bachchan : Kathmandu Selfie by PS

बच्चन : काठमान्डू सेल्फी

  • १२ असार, २०७२
  • प्रकाश सायमी

बच्चन : काठमान्डू सेल्फी
नेपालमा यसपालि गएको विनाशकारी भूकम्पपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकै चर्चामा आए। त्यसपछि अभिनेता अमिताभ बच्चन। अमिताभले भूकम्प पीडितका लागि राहत कोषमा ११ लाख भारतीय रुपैयाँ जम्मा गरेपछि उनी नेपाली मिडियाको हेडलाइन बने। उनलाई लिएर भारतीय प्रधानमन्त्री मोदीले रिट्वीट नै गरे। मोदीकै कारण अमिताभले कुनै समय गुजरातको प्रवर्द्धनका निम्ति निःशुल्क विज्ञापन खेलेका थिए, गुजरातका ब्रान्ड एम्बोसेडर भएर।
नेपालमा चलेको फिल्मबाट करोडौं कमाउने खान बन्धु— आमिर खान, सलमान खान र शाहरुख खान चुप लागे पनि अमिताभ चुपचाप बस्न सकेनन्। नेपालमा भूकम्प आउनासाथ पशुपतिनाथको सम्झना गर्दै आफ्नो फिल्म ‘महान्'को सुटिङको संस्मरण ब्लगमा लेखेर सहानुभूति प्रकट गरे।
नेपाल सन्दर्भमा सदासर्वदा चर्चामा रहने बम्बई फिल्मी उद्योगका चर्चित अभिनेता अमिताभ बच्चन पहिलो होइनन्। उनीभन्दा पहिल्यै सदावहार अभिनेता देव आनन्दले त नेपाललाई आफ्नो फिल्ममार्फत अन्तर्राष्ट्रि्रय बजारमा समेत लिएर गए। ‘कान्छा रे कान्छी रे प्रीत मेरे साँची' जस्तो लोकप्रिय गीतमार्फत नेपाली लोकधुनलाई बलिउडमा जीवित राखे। उनले नेपाली बाजा मादललाई समेत स्थापित गराइदिए।
देव आनन्द नेपालका सानासाना दुःखमा दुःखी हुने एक भारतीय अभिनेता थिए। नेपाली कलाकार रवि शाह, प्रकाश थापा, मीना सिंह, सुनील थापा, गोपाल भुटानी, छुन्की भुटिया, केबी मोक्तान, रतन गुरुङ र पछिल्लो चरणमा गायक उदीतनारायण झालाई उनले मौका दिए। यसबाट उनको नेपाल–सम्बन्ध प्रस्ट हुन्छ। देव आनन्दको स्टुडिओ नवकेतनमा नेपाली फिल्मको प्राविधिक कार्यको निम्ति छुट थियो।
उनले नेपालमा आफ्ना दुई फिल्म ‘ईश्क ईश्क ईश्क' र ‘हरे रामा हरे कृष्णा' छायांकन गरे। पछिल्लो हिट भयो तर अघिल्लो फिल्मका कारण नेपालसित शबाना आजमी र शेखर कपूरको सम्बन्ध सेतु जोडियो। देव आनन्दकै कारण यश चोपडाले ‘जोशिले' यहीँ छायांकन गरे।
देव आनन्दले सिनेमाका अलावा आफ्नो पुस्तक ‘रोमान्सिङ विद् लाइफ' प्रवर्द्धनका लागि पनि नेपाल आएर अपार माया दर्शाए। असी वर्षको उमेरमा आफ्नो पुस्तकका निम्ति अन्तिमपटक नेपाल आएका उनी पहिलोपटक चालीस वर्षअघि दरबारको पाहुना भएर युवराजधिराज वीरेन्द्रको बिहेको जन्तीमा आएका थिए।
पञ्चायती कालका शासक महेन्द्रका उनी प्रिय थिए। उनी दरबारका एक चहेता कलाकार। भारतीय प्रधानमन्त्रीसित महेन्द्रको सम्बन्ध बिग्रँदा पनि देव आनन्दसित खसोखास सम्बन्ध थियो नै।
भारत र पाकिस्तानको लडाइँ चरमचुलीमा भएको बेला भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीले पाकिस्तानसित वार्ता गर्न चाहँदा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले सशर्त स्वीकार गरे। त्यो वार्ताको नेतृत्व प्रधानमन्त्री वाजपेयीले गरेको भए पनि ड्राइभिङ फोर्समा देव आनन्द नै थिए। वार्ता गर्न लाहोर गएको बसको अघिल्लो सिटमा चेक शर्ट र कोटमा देव नै थिए, उनैले नवाज शरीफलाई अँगालो हालेर वार्ताको निम्ति बधाई दिए। संयोगले शरीफ देव पढेकै लाहोर कलेजका जुनियर परेछन्।
देव आनन्द यस्ता धेरै कुरामा छिमेकीका असल मित्र थिए, यो उनको सिनेमामा पनि देखिन्थ्यो र व्यवहारमा पनि। २०५८ जेठ १९ गते नेपालमा भएको दरबार हत्याकाण्डपछि देव आनन्द अति भावुक भए र उनले आफूलाई माया गर्ने नातेदारलाई गुमाएको महसुस गरे। उनले यसबारे आत्मकथामा पनि सगर्व लेखेका छन्। उनी त्यसको केही समयपछि नेपाल आए र पशुपति मन्दिरको घाटमा दिवंगतका निम्ति श्रद्धाञ्जली अर्पण गर्दै रोए पनि।
उनी नेपाल–भारतबीच सांस्कृतिक दूतजस्तै थिए। यसपालि हाम्रो दुर्दशाको तस्बिर हेर्न नपाई उनी चार वर्षअघि नै बितिसके।
तर, उनी जत्ति नै दुःखी देखिए— अभिनेता अमिताभ बच्चन।
नेपाल र नेपालीका निम्ति सदैव चिन्ता गर्ने प्रसिद्ध अभिनेता अमिताभको नेपालमा दुई सिनेमा ‘महान्' र ‘खुदा गवाह' छायांकन भएका छन्। दुवै फिल्म सफल भएको मानिन्छ।
‘महान्' त अमिताभका लागि नेपालीको लागि नै एक यादगार फिल्म मान्न सकिन्छ। यसै फिल्मबाट अमिताभले टि्रपल रोलमा प्रवेश गरेका थिए भने यो चलचित्र सुटिङ गर्दाका प्रायः स्थान यसपालि ध्वस्तन्यस्त भएका छन्। भूकम्पलगत्तै उनले ब्लगमा त्यो पुरानो तस्बिर पनि शेयर गरेका थिए।
अमिताभ नेपालमा महानको सुटिङ गर्न आउँदा होटल एभरेस्टमा बसेका थिए। यो भूकम्पले होटल एभरेस्टलाई पनि भग्न अवस्थामा पुर्याकइसकेको छ। पुलित्जर पुरस्कार विजेता आइएम शेलीले एभरेस्ट होटल उपन्यास लेखेर चर्चा पाएका थिए। यही होटलमा ०४१ सालमा अमिताभ आफ्ना पिता डा. हरिवंश राय बच्चन, आमा तेजी बच्चन र छोराछोरीसहित आएका थिए। अमिताभ त्यो बेला काठमान्डू आउँदा नेपालका चार पत्रिकाले उनीसित गुणगम्भीर वार्ता गरेका थिए। गोरखापत्रबाट दुर्गानाथ शर्मा, मधुरमबाट विश्व बस्नेत र रिपु श्रेष्ठ, ममताबाट विजय उदय पाल्पाली र पुकारबाट थियो— यो पंक्तिकार। तीमध्ये गोरखापत्रबाहेक अरू पत्रिका भग्नावशेष भइसके। एभरेस्ट होटलमा अन्तर्वार्ता दिँद अमिताभ ताज्जुब भएका थिए, नेपाली पत्रिकाले पनि उनलाई चिन्छन् भनेर।
उनले त्यो बेला एभरेस्ट सेराटन, होटल अन्नपूर्ण, मुग्लिङमा फरक–फरक शैलीमा अन्तर्वार्ता दिएका थिए।
महान्, अमर अकबर एन्थोनी, दिवार, बर्सादकी एक रात, नमक हलाल, अमिताभका नेपालमा व्यावसायिक रूपले सफल फिल्म हुन् तर उनको अर्को सफल फिल्म ‘शोले' काठमान्डूमा रिलिज हुन पाएन, प्रतिबन्धित भयो। धर्मेन्द्रका कारणले यो फिल्म नेपालमा चल्न पाएन। यसबारे अमिताभले त्यो बेला आश्चर्य प्रकट गरेका थिए।
अमिताभबाहेक बलिउडका धेरै कलाकारले नेपालमा सुटिङको निम्ति आउने र यहाँको ठाउँको प्रशंसा गर्ने गरेको पाइन्छ। ती चाहे सलमान खान हुन् वा ऋषि कपूर, नाना पाटेकर हुन् वा नसिरुद्दीन शाह, विनोद खन्ना हुन् वा शशि कपूर, अनिल कपूर हुन् वा जैकी श्राफ; ती सबैले नेपालमा आएर भारतमा भन्दा बढी नै माया र सम्मान पाएकै छन्।
अमिताभ ती कलाकारभन्दा फरक हुनुका दुई कारण छन्— सम्बन्ध र इतिहास।
अमिताभको नेपालसितको सम्बन्ध अभिनय, फिल्म र सुटिङका कारणमात्र भएको होइन। उनको जीवनकै पहिलो विदेश यात्रा नेपालमा भएको थियो। औसत बाल्यकाल पनि यहीँ बित्यो। नेपालका कविहरू लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, बालकृष्ण सम, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठहरूलाई बाल्यकालमै स्पर्श गर्न पाउने उनी पहिलो भारतीय अभिनेता थिए। उनी पिता हरिवंश रायसित युगकवि सिद्धिचरणको घर पनि पुगेका थिए भनेर युगकविले संस्मरणमा लेखेका छन्। पितासँगै अमिताभ महाकवि देवकोटाले स्थापना गरेको सरस्वती सदनको पुस्तकालय हेर्न पनि पुगेका थिए।
अमिताभले यसपालि ११ लाख रुपैयाँ दिँदै भने, ‘म नेपाल र नेपालीको लागि अझै कुनै पनि किसिमको सहयोग गर्न इच्छुक छु।'
उनको यो भनाइमा पनि गर्वशाली इतिहास झल्किन्छ। इलाहावाद, दिल्लीमा बाल्यकाल बिताएका उनको एउटा गौरवशाली बाल्यकाल काठमान्डूमा बित्यो। त्यही बेला उनले दिलीपकुमारका राम्राराम्रा फिल्म हेरेका थिए। सन् २०११ को डिसेम्बरमा दिलीपकुमारलाई बधाई दिँदै उनले उनले उल्लेख गरेका छन्, ‘मैले तपाईंका आन, सहिदजस्ता शक्तिशाली फिल्म काठमान्डूको पुरानो सिनेमा हलमा हेर्दा कुनै दिन यहाँसित एउटै पर्दा शेयर गर्छु भन्ने कल्पना पनि गरेको थिइनँ।'
अमिताभले सिनेमा हेरेका ती पुरानो हल त भुइँचालोभन्दा पहिले नै हराइसके।
अमिताभ अभिनेताका रूपमा पहिलोपटक सन् १९८१ को मे महिनामा आएको भए पनि यसअघि उनी सन् १९५५ मा पितासँग भारतीय राजदूतावासका सचिव महाराजकृष्ण रसगोत्रको निम्तो मान्न आएका थिए। यही कालमा उनको धेरै समय काठमान्डूमा बितेको थियो। उनका पिता भने सन् १९५४ मै भारतीय दूतवासले आयोजना गरेको कवि सम्मेलनमा कविका रूपमा आइसकेका थिए।
पहिलोपटकको कवि सम्मेलनबारे कवि बच्चनले लेखेका छन्, ‘नेपालमा मलाई कविको रूपमा चिन्नेहरू कम थिएनन्। धेरैजसो मान्छे मेरो मुखबाट कविता सुन्न चाहन्थे। नेपालमा मेरो प्रवासकालमा कतिपय ठाउँमा कैयौंपटक कवि सम्मेलन भए, जसमा नेपाली कविहरूले पनि भाग लिए। नेपालका जुन कविहरूको नाउँ मलाई याद छ, ती थिए— कवि श्री बालकृष्ण सम, श्री देवकोटा, श्री घिमिरे, श्री केदारमान व्यथित र श्री भवनी भिक्षु।'
नेपालका कविहरूमाझ लोकप्रिय भइसकेका कवि बच्चनको ‘मधुशाला' नेवारभाषामा त्यतिबेला जनकवि दुर्गालाल श्रेष्ठले ‘सुलिँ' नामबाट अनुवाद गरिसकेका थिए।
कवि बच्चन स्कुले जीवनदेखि नै नेपालप्रति आकर्षित थिए। इलाहावाद युनिभर्सिटी इतिहास विभागका प्रमुख डा. ईश्वरप्रसाद सिंहकै कारण नेपालप्रतिको मोह उनमा बढेको थियो। जुद्धशमशेरको शासनकालमा नेपालको इतिहास लेख्न बोलाइएका सिंहले नेपालको गौरवपूर्ण वर्णन गरेको सुनेपछि बच्चन नेपाल आउन लालायित भएका थिए। कवि बच्चनले आत्मकथा ‘बसेरे से दूर'मा लेखेका छन्, ‘विद्यार्थी जीवनदेखि नै मेरो मनमा नेपालका लागि कुतुहलता थियो। मानचित्रमा भारतको उत्तरमा कम चौडाइ भएको ज्यादा लम्बाइको यो देशलाई देखाएर हाम्रो अध्यापक यो बताउन भुल्दैन थिए कि नेपाल एक स्वतन्त्र देश हो। आफ्नो गुलामीका दिनमा यो कल्पना गर्दा मनमा एक प्रकारको हर्ष हुन्थ्यो। नेपालमा केही यस्तो शक्ति छ जबकि हाम्रोजस्तो लम्बाचौडा देश अंग्रेजसित पराजित भएको थियो तर नेपालले स्वतन्त्रताको झन्डा उँचो राख्यो।'
कवि बच्चनले नेपालको कुनाकुना घुमेका थिए। मठमन्दिर, दरबार र सांस्कृतिक सम्पदा सबै। उनले लेखेका छन्, ‘पुरानो काठमान्डू त मन्दिरहरूको नगरी हो। सायदै त्यस्तै ठाउँ होला जहाँ तपाईं उभिनुस्, मन्दिर नदेखियोस्। सडक गल्ली, चोक, चौबाटो, दोबाटो, कुना काप्चामा जहाँ ठाउँ मिलेको छ, त्यहाँ मान्छेले मन्दिर बनाएका छन्।'
अमिताभलाई नेपालसित जोड्नमा कवि बच्चनको इतिहास ज्ञानको अहम् भूमिका छ। पिताले बनाएको बाटोमा सुसंस्करित रूपमा हिँड्न सिकेका अमिताभले आफ्नो छोराको बिहे, आफ्नो जीवनमा आएको आर्थिक संकटमा सदासर्वदा पशुपतिनाथलाई सम्झे र विनाशकारी भूकम्प गएको पर्सिपल्ट पशुपतिनाथलाई सम्झेर यिनै पंक्ति लेखे आफ्नो ब्लगमा।
‘थाहा छैन, भगवानमा केही शक्ति त छ यस्तै भूकम्पमा पनि यी अडिग रहे।'
अमिताभमात्र होइन बच्चन परिवारकी बुहारी अभिनेत्री जया बच्चनको पहिलो फिल्म सुमनका नायक पनि नेपालकै अभिनेता जग्गनाथ तिमिल्सेना थिए। यी धेरै सम्बन्ध र स्नेहका कारण बच्चन परिवार नै नेपालको निकट रहे। कवि बच्चन आउँदा होस् वा अभिनेता बच्चन आउँदा, नेपालमा तिनको स्वागत हुनुको कारण पनि त्यही हो।
‘दशद्वार से सोपान तक' कृतिमा कवि बच्चनले लेखेका छन्, ‘नेपालका राजाकी बहिनी शारदा अमिताभकी फ्यान थिइन्। उनले दिएको भोजमा राजमाता भेट भइन्। स्व. महाराज महेन्द्रकी पत्नीले मेरो पछिल्लो यात्रामा मेरा काव्य पाठ सुनिसकेकी थिइन्, जसको स्मृति तिनलाई अझै पनि छ/थियो। स्व. महाराज स्वयं एक राम्रा कवि थिए र एक गोष्ठीमा उनको कविता सुन्ने अवसर मिलेको थियो। राजमातालाई त्यो दिनमा याद थियो।'
बच्चनले सम्झेका र सम्झना गरेका धेरै कुरा त अब रहेनन्। कति त स्मृतिमै सीमित भए । दरबार हत्याकाण्ड र भुइँचालोपछि धेरै कुरा हराए/गुमे। तर नहराएको कुरा अझै बाँकी छ— असल छिमेकीको सदासयता र स्नेह।
- See more at: http://www.nagariknews.com/entertainment/bollywood/story/40536.html#sthash.EFpjV7Gc.dpuf

Saturday 20 June 2015

Basu Da by Prakash Sayami

वासुदालाई सम्झिँदा
प्रकाश सायमी

“जो भूइँमा सुत्छ, ऊ पलंगबाट खस्ने डरले पहिले भूइँमा सुतेको हो । म यसलाई पनि वहादुरी मान्दिनँ, जो एक्लै सुत्छ । एक्लै सुत्ने मान्छे अरुमे  डरले एक्लै सुतेको हो ।”
 फ्राञ्ज काफ्काले आफ्नो डायरीको एक कुनामा लेखेको यो पंक्ति पढ्दा डरको साम्राज्य मान्छेको जीवनम कत्ति छ धेरै व्याप्त छ ,  थाहा पाएर अचम्मित भएथेँ ।
मान्छे आफ्नासित, परिवारसित, आफ्ना सहकर्मीसित, शुभेच्छुकसित, आफ्ना पराई सबैसित कति डराईरहेका हुन्छन् । यो स्वभाव त स्वभावतः देखिन्छ, जब साँच्चै मान्छे एक्लो हुन्छन् ।
एक्लो हुँदा के , भीडमा मान्छे कति डराउँछन्, त्यो त भूकम्पको त्रासमा देखियो । मान्छेको डर मान्छेसित कति छ ?
यस्ता डरका अनेकानेक व्याख्या गरेर फिल्म बनाउने सर्जक वासु भट्टाचार्य आज भन्दा १८ वर्ष अगि आजकै दिन मुम्बई विते । उनको सिनेमामा डरको भयावह रुप देखिन्छ, विशेषतः पति–पत्नीको सम्बन्धमा उनको डर विस्तीर्ण रूपमा पर्दायित हुन्छ ।
उनी सम्वन्धमा सबभन्दा बढी डर देख्छन् ।
सम्वन्ध नै उनको चिन्ताको विषय हो । उनले सम्वन्धका वारेमा कैयन सिनेमा बनाए, सम्बन्धका वारेमा वनाएका उनका कालजयी सिनेमा मध्ये ‘आविष्कार’ लाई एउटा मान्न सकिन्छ । जसमा अभिनेता राजेश खन्नाले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाए ।
स्टारसिस्टमलाई विल्कुल नमान्ने वासु भट्टाचार्यले राजेश खन्नालाई एकदिन कारबाट ट्याक्सीमा लगेर शुटिंग गरिदिएपनि उनी शीर्षक बने समाचारका ।
हिसाबले उनी दिलीपकुमारसित काम गर्न चाहन्थे । तर अभिनेता दिलीपकुमारका कैयन् शर्त उनलाई निर्देशकीय रुपमा पचेन । दिलीप कुमारसित उनको मधुमति –(नि. विमल राय) को समयमा नै कलाकार ठूलो कि निर्देशक भन्ने कुरामा बाजी परेको थियो र यो बाजी स्क्रिन पत्रिकामा विज्ञापनका रुपमा पनि प्रकाशित भएको थियो तर उनले दिलीपलाई हराईदिए  उनले दिलीपको ठाउँमा राजकपूरलाई लिएर तीसरी कसम बनाए ।
‘तीसरी कसम’ असफल भएपछि यसका निर्माता गीतकार शैलेन्द्रले आत्महत्या गरे तर पछि फिल्म सफल भयो र तीसरी कसमले अन्तर्राष्ट्रिय स्तरका कैयन् पुरस्कार पाए । सत्यजित रे को पाथेर पाञ्चाली पछि ख्वाजा अहमद अब्बास, केतन आनन्द  अनि वासु भट्टाचार्यले अन्तर्राष्ट्रिय सिनेमाको बजार खोजे ।
उनले आफैँ निर्माताको रुपमा नसीरुद्दीन शाह र शबाना आजमी जस्ता नयाँ कलाकार लिएर स्पर्श बनाए, सई पराञ्जपेलाई निर्देशक लिएर ।
वासु भट्टाचार्य सार्थक सिनेमाका अभियन्ता थिए । सार्थक सिनेमाको अर्थ बजार पनि उनको एक शर्त हो । अर्थमुखी सिनेमाका निम्ति उनी परिचित थिए । तर उनको बाटो सरल थिएन, उनी कठिन बाटोमा लड्खडाउँदै धेरै वर्ष हिँडे ।
मैले यहाँ लड्खडाउँदै लेख्नुको अर्थ दुईटा छन्, एक त उनको व्यावसायिक जीवन चुनौतीपूर्ण थियो । उनले सिनेमा बनाउँदा सूत्रवद्ध सिनेमाको वाढी थियो । तीन ओटा फाइट, पाँचओटा  गीत अनि फुटेज नापी नापीकन आमाको रुने दृश्य, वहिनीको आत्महत्या र अन्त्यमा केटा केटीको मिलन यस कोटिका हिन्दी सिनेमाको निस्सिम जालोमा वासु भट्टाचार्य  वाटो खोज्दै थिए जसका निम्ति कुनै पथ प्रदर्शक थिएनन् वा भएनन्  ।
दोस्रो, उनको वैवाहिक जीवन पनि संकट र धरापमा थियो त्यो वेला । उनी सिनेमामा पति पत्नीको सम्वन्धका वारे उच्चकोटिको वयान त दिन्थे तर उनकी पत्नी रिँकी भट्टाचार्यसितको उनको दाम्पत्य जीवन अदालतको कठघरामा आइसकेको थियो । 
जीवनको यो अस्थिर आकाशमा  वासुदासित मेरो मुम्बईमा दोस्रो  भेट भयो सन् १९८६ मा, मुम्बईको प्रसिद्ध होटल सीरकमा । (सम्झनाको लागि पहिलो भेट पनि होटलमै भएको थियो, काठमाण्डूको शंकर होटलमा ) मुम्बईको सीरक होटललाई मैले  अमिताभ वच्चन अभिनीत  हिन्दी सिनेमामा मात्र देखेको थिएँ ।
मलाई त्यो होटलभित्र वासुदाले लिएर गए, उनको नयाँ फिल्मको साथमा । करीव डेढ महिना मैले उनीसित त्यो होटलको भित्र वाहिर गरेँ, कहिले तल कहिले माथि ।
उनी मेरा सिनेमाका गुरु थिए, गुरु बन्नका  लागि उनले चाहिने जत्ति सबै गुण बोकेका थिए तर धेरै जसो  फ्याँकिसकेका थिए ।
चिनाजानीको पहिलो चरणमा  मलाई भन्नका लागि उनले  तयार पारेको पहिलो कथोपकथन  यस्तो थियो, हिन्दीमा उनले सुनाएको यो संवाद् मैले नेपालीमा उतार गर्दा मभित्र अझै तरङ्ग पैदा हुन्छ ८.१ को भूइँचालो जस्तो । उनी भन्दैथे,
“म  चेलालाई सबै फर्मूला सिकाउन सक्छु ।  तर म अरु गुरुजस्तो एउटा फर्मूला लुकाएर राख्दिनँ । वरु चेलासित कम्पिट गर्न पछि अर्को नयाँ फर्मूला निकालूँला ।”
उनले मलाई एकवर्षको संगतमा कुनै नयाँ फूर्मला सिकाएनन् कारण,उनी स्वयम् नै फर्मूृलाका विरोधी थिए । फर्मूला जानेका भए उनी पनि एक कमर्शियल फिल्म डाइरेक्टर हुन्थे अरु जस्तै  सफलको अर्थमा ।
मैले उनलाई भेट्दा उनी हातमा साइँली र कान्छी औँलामा रंगधारी  औँठी लगाएर  महँगो चुरुटको कश मार्दै थिए,  मिठो कश । मैले यसरी चुरुटको स्वादमा रमेका तीन प्रिय मान्छे देखेको छु,स्वरसम्राट नारायणगोपाल, साहित्यकार पारिजात अनि ई मेरा नन्ब्राण्डेड  गुरु वासुदा  ।
पारिजात दिदी त चुरुटलाई प्रेमले ‘यो सिग्रेट होइन, ए ग्रेड हो’ भन्थिन् अनि उनैले चुरोटलाई चुरुट लेख्दा मलाई यसको रुट मिले जस्तो लागेथ्यो ।
वासुदाको हातमा चुरुट सुहाउँथ्यो, त्यो चुरुट भएको हात विस्तारै मुखाभिमुख हुन पुग्दा उनको वाक्लो तर चमकदार चश्मा देखिन्थ्यो । अनि देखिन्थ्यो त्यो चश्माभित्र डुबेका र अलि अलि भिजेका भावप्रवणशील आँखा । जुन आँखाले त्यो उमेरमा जसलाई हेरे पनि मायाले हेरेजस्तो लाग्थ्यो  । त्यो आँखामा हेर्दा मलाई डर डर लाग्थ्यो ।
मेरा गुरु यस्ता थिए, हातमा चुरुट अनि अशान्त मुद्रामा सल्बलाइरहने ।
परमहंस योगानन्दलाई तिमीले खोजेको गुरु ओठमा चम्मच लिएर घुमिरहेको हुन्छ, तिमीलाई नै उसले बोलाउँछ भने जस्तै मेरा गुरु पनि मेरा सम्मुख थिए हातमा चुरोट लिएर , पहिलो भेटमा । मलाई उनैले नजीक बोलाए र भने, “ल सिग्रेट खान्छौ ?
मैले भनेँ, “खान्थेँ । छोडिसकेँ ।
उनी चकित परे । मेरो ओठ, आँखा, मेरो उँचाई अनि अनुहार हेरेर भने  “कति वर्ष भयौ ? कति ओटा सिग्रेट देखेका छौ , तिमी त यस्तो कुरा गर्दैछौ ? मानौँ ?
मैले खर्र्रर सातओटा चुरोटको नाम भनिदिएँ , डनहिल र रोथम्यान्स्को चर्चा नगरिकन । मेरो उत्तर सुनेर उनमा कमसेकम ९.१ रेक्टरको कम्पको अनुभव भएको हुनुपर्छ । एकैपटक झर्केर उनले भने चूप । वदमाश ।
वासुदाको वोलीमा दुइटा विविधता थियो चमत्कारको । उनी गाली गर्दा पनि माया गरे जस्तो गरेर भन्थे ।  उनको माया पनि कहिलेकाहिँ गाली जस्तो कठोर हुन्थ्यो ।
सिनेमाको उनलाई जति ज्ञान कसैले थिएन, त्यो मलाई पक्का थाहा थियो ।
वासु भट्टाचार्यलाई सिनेमाको जत्तिकै ज्ञान त हरेक विषयमा थियो, संगीत, राजनीति, होटल व्यवसाय, सैनिकी जीवन, प्रहरी प्रशासन आदि इत्यादि । इतिहास उनको सबभन्दा प्रिय विषय थियो ।
आँखा चिम्लेर उनी नेपाल र भारतको इतिहास भन्न सक्थे । नेपालका कुलीन परिवारका राणाखलक  उनलाई कवाडी वेच्ने साहु जस्तै लाग्छ रे , उनी वेला वेला भन्थे ।
उनको नेपालका राणा र शाह परिवारसित पनि निकटता र विकटताको सम्वन्ध रहेछ । भारतमा पहिलो हिन्दी सिनेमा बनाउने इन्दु शम्सेर (जो चेत भवनका मालिक थिए ) , कलकत्तामा पलायन भइवसेका भारत शम्सेरलाई  जुत्ताको लाइनमा अगाडि पछाडि देखेका रहेछन् ।
पञ्चायतकालको नेपालमा यस्तो कुरा कसैबाट स्वाद् मानेर सुन्नु पाउनु सौभाग्य थियो ।
क्राइसाटाब्द १९८६ डिसेम्वरको त्यो शीतकालीन मुम्बईमा वासुदा मेरा निम्ति पैगम्बर जस्तै थिए , खाना, तलब, होटल सुविधा र फिल्मस्टारसितको भेटघाट सबै मिलाईदिने ।
त्यो समय उनी श्रीमती टीका सिंहसित एउटा नेपाली फिल्म सहकार्यमा बनाउँदै थिए । टीका सिंह त्यतिवेला शाही नेपाल चलचित्र संस्थानका महाप्रवन्धक थिइन् । नेपालका तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको विहेको रंगीन तस्वीर खिँचेर चर्चामा आइएससकेकी  टीका सिंह दरवारका निकट थिइन् भने उनका पति भरतकेशर सिंह त्यो वेला कुनै मुलुकमा नेपालका राजदूत थिए ।
टीका सिंहसित मेरो मुम्बईमै परिचय भयो, त्यही पञ्चवटी फिल्मका निम्ति । नेपाल र भारतको लगानीमा बनेको त्यस फिल्मकी लेखिका कुुसुम अंशल  थिइन् भने भारतका लागि  निर्मात्री शोभा डाक्टर अनि नेपालका लागि टीका सिंह । यी उग्र महिलाका वीच एक शालीन महिला थिइन् , दीप्ति नवल जो यस फिल्मकी नायिका थिइन् ।
चार चार जना शक्तिशाली महिलाका वीचमा एक्ला वासुदा त्यति असहज कहिले देखिएनन् । एउटा संवेदशील पुरुषलाई यति धेरै महिलाको भीडमा काम गर्नु पर्दा कति कठिनाई हुँदो हो, म सोच्थेँ । व्यवहार र बोलीमा कहिँ तलमाथि भए, कति घात आघात हुँदो हो । फेरि ती चारैजना महिलाका वीच तार मिलाउन कति गाह्रो हुँदो हो ।
वासुदालाई यस कुरामा मैले मानें र मान्नै परेको कारण अर्को छ, उनले ती कुनै महिलाका वीच पनि आफ्नो पुरुष अहम्लाई वाधा वा अडचन हुन दिएनन् । खास्साको सन्तुलन थियो गुरुजीमा ।
सिनेमा वन्यो तर नेपालमा त्यो फिल्म प्रतिवन्धित भयो , दरवारमा शक्ति सन्तुलन बद्लिसकेको थियो । टीका सिंह भन्दा ताकतवार मान्छेले उनको ठाउँ र नाउँ लिइसकेको थियो । दरवार त्यसै पनि कमजोर ठाउँ । टीका सिंहले जसलाई फ्याँकेर दरवार नजीक भएका थिए, तिनै अब दरवारका सारथि बनिसकेका थिए ।
पञ्चवटी डब्बा बन्द भो ।
पञ्चवटीका निर्देशक वासु भट्टचार्यसित मेरो सम्बन्ध झन् झ्याँगिदै गयो, गुरु चेलाको रुपमा । उनले चूपचाप मसित एक शर्त राखे, “तिमी मसित काम  गर्छौ अब ?”
शर्त दुवैतिरबाट स्वीकार  भयो । उनी र म सँगसँगै हिँड्न थाल्यौँ झन् । साह्रै कम पैसामा गुजारा गर्नु पर्ने मुम्बईको जिन्दगीमा वासुदाको यो अफर कम उत्साहवद्र्धक  थिएन ।
उनी मलाई जिस्काएर , एलई  भन्थे । जसको पूर्ण अर्थ हुन्थ्यो, लिविँग इन्साइक्लोपेडिया । उनले मलाई यो नाम  जिस्काएर दिएका थिए, डिसेम्वर १३, १९८६ मा । त्यो दिन मंसीर २७ गते परेको थियो ।
र, यो त्यही मंसीर २७ थियो, २०४३ सालको । मलाई वासुदाले एलई नाम दिएको ।
यसपछि मलाई धेरैले धेरै नाम दिए, फिल्मकार चेतन कार्कीले नेपाली व्रिटानिका भने, अभिनेता हरिहर शर्माले वकिँक टकिँग डिक्शनरी भने, पत्रकार श्याम स्मृतले नेपाली विकीपिया भने, गायक भक्तराजका पुत्रद्धयले नेपाली गुगल भने । तर जसले जे भने पनि म ती सब उपनामको हकदार मान्दिनँ त्यो एउटा स्नेह हो ।  तर  मलाई वासुदाले दिएको त्यो नाम स्मृतिकर लाग्छ वा एउटा जिम्मेवारी लाग्छ ।
चलचित्रका कारण वासुदालाई मैले चिनेको हुँ, तर साहित्य, संगीत, चित्रकलाका कारण उनी झन् व्यापक भए मभित्र ।
धर्मयुग नामक् पत्रिकामा उनको एउटा संस्मरण मैले केशोर्यकालमै पढेको थिएँ, उनले डाँका मलखान सिंहलाई चम्बल घाटीमा गालामा झापड हानेको । रामकुमार भ्रमरको कथा तीसरा पत्थर  को छायाँकनको वेला भएको यो घटना पढ्दा त कति डर लाग्छ भने उनले त्यो डाँकूलाई झापड हानेको दिन कस्तो भयावह थियो  होला । कसरी डाँकू मलखान सिंहले थप्पड स्वीकारे , बडा रमाइलो छ कथा ।
यो घटना वारे वारम्बार प्रश्न गरे पछि उनले मलाई यो  पदवी दिएका हुन् , एल्ई भनेर ।
वासुदा सही शर्तमा राम्रा गुरु थिए कि थिएनन् म भन्न सक्तिनँ । र उनको आफ्नो अर्थमा उनी राम्रा शिष्य पनि हुन  सकेनन् । उनी प्रसिद्ध फिल्म निर्देशक विमल रायका शिष्य  थिए, गुलजार, देबु सेन जस्तै । देबु सेनले धेरै नेपाली फिल्मको पटकथा लेखे । गुलजारले विमललाई पछ्याए,  कथा शैलीमा ।
वासुदाले विमल रायकी छोरी रिन्की लाई विहे गरे , उनी गुरुका ज्वाइँ भए । एक छोरा एक छोरी भइसकेपछि  उनको वैवाहिक जीवन दुष्कर हुँदै गयो । उनी गुरुवाट तिरष्कृत जस्तै भए ।
उनले भनेको एउटा गुरुवाणी सदैव मेरो कानमा स्पर्श गरिरहन्छ,
“अनेस्टी इज नट अ पोलिसी । इफ  अनेस्टी इज अ पोलिसी टु अ पर्सन, देन हिज इज् डिस्अनेस्ट । हिज इज युजिँग अनेस्टी लाइक अ क्लोक ।”
सारमा उनले जस्तो जिन्दगी बाँचे, त्यो उनको माग थियो तर उनले जस्तो जिन्दगी पाए त्यो उनको लागि सजायँ भयो ।
सन् १९९७ जून वीसका दिन उनले प्राण त्यागे ,  पुरै बलिऊड मौन थियो । सारा कोशिशका वावजूद उनले अस्पतालमा जीवनको भारी विसाए, जसको आधा जीवन स्टुडियो र अदालतमा वितेको थियो उनको विसौनी अस्पतालको शैय्या बन्यो  । उनका समकालीन फिल्मकार, कवि, शायर गुलजारले उनको सम्झनामा एउटा कविता लेखेका छन्,

हामीले उनलाई
अस्पताल दौडायौँ हतारमा
 प्रायः पेट बाँउडिएर
दुःख भइरहन्थ्यौ
उनी साँप जस्तै गुडुल्किरहेका थिए
सारा दुःख पेटमै थियो
अलार्म जस्तै
उनको रक्तचाप वढ्दो  थियो
उनी सास लिन चाहन्थे
अस्पतालमा
चिकित्सकले अप्रोनले छोपे आफूलाई
उनको पेट चिर्न
घाउ हट्यो
दुखाई कम भयो
जरैबाट
चिकित्सकले उनलाई
टुक्राटुक्राबाट पोका पारे
अस्पतालबाट हामीले फेरि
उनलाई ल्यायौँ
श्मसानघाटमा
टुक्राहरुलाई फेरि फैलायौँ
र हामीले खरानीमा  उनलाई
बाँड्यौँ ।
००
यो कविता पढ्दा म सदैव वासुदाको गुणगम्भीर अनुहार सम्झिन्छु कसरी सहे होलान् , यो पीडा उनले ? जसरी यति लामो जीवन सम्वन्धको पीडा बोकेका थिए , त्यसरी नै ?
आज उनी छैनन् तर धेरै प्रश्नका माझ एउटा प्रश्न गुरुजीलाई ।
००
 
 

Wednesday 10 June 2015

Sharnarthi Sarjak by Prakash Sayami

यी हुन् शरणार्थी सर्जक

प्रकाश सायमी
चार्ली च्याप्लिन्का बारेमा बंगालीभाषी फिल्मकार सत्यजित रेले लेखेका थिए, 'सानो मान्छेको ठूलो किताब।' त्यो ठूलो किताब थियो आत्ममन्थन शैलीमा लिखित उनको जीवनकथा,'माय् अटोबायोग्राफी'।
त्यो समय चार्ली च्याप्लिन् संसारकै सानो कदका चर्चित मान्छे थिए। भनिन्थ्यो, सबभन्दा सानो मान्छे चार्ली च्याप्लिन् र सानो देश चेकोस्लोभाकिया।
त्यो सानो देश चेकोस्लोभाकिया पनि दुई भागमा विभक्त भयो र झन् सानो बन्यो, चेक र स्लोभाकिया।
आज चेकभन्दा साना मुलुक पनि कति छन्। तर चेकका नागरिकले शरणार्थीको जीवन बिताएर बाहिर विश्वमा बाँच्न परिरहेको छ।
चार्ली च्याप्लिन्ले आफ्नो आत्मकथामा स्पष्ट लेखेका थिए, अब विश्वको अन्तिम रोग हुनेछ शरणार्थीको।
तिब्बती नागरिक शरण खोज्दै नेपाल र भारततिर पलायन हुँदै गर्दा उनले एक अन्तर्वार्ताको उत्कर्षमा भनेका थिए, अब तिब्बतीपछि कुनै अर्को जातिले शरणार्थीको जीवन बाँच्नु नपरोस्।
उनको कामना थियो। तर कामनामै सीमित भयो। विश्वमा मान्छे प्रख्य रूपमा तीन कारणले शरणार्थी जीवन बिताउन वाध्य भएको इतिहास छ, युद्ध, रोग र प्राकृतिक प्रकोप।
यी तीनैवटा कारण अशिक्षाकै कारण हुन्। अशिक्षा भइकन पनि युद्ध चाहिँ विशुद्ध राजनीतिक कारण हुन गएको छ।
युद्ध र युद्धोपरान्त विभाजन भएका मुलुकका कारण विश्वका कैयन् महापुरुषहरू अलगअलग भेषमा शरणार्थी भएर बाँचेका छन्। वा, बाँच्नु परेको छ।
दलाई लामा, ओशो त्यसका चमकदार नमुना हुन् भने पाकिस्तानका चर्चित कवि फैज अहमद फैज, पोल्यान्डका फिल्मकार रोमन पोलन्स्की, ग्रिसका फिल्मकार कन्स्टायन्टिन कोस्टा-गाभ्रास, बंगलादेशकी लेखिका तसलीमा नसरीन, उर्दूभाषी गजलकार नीदा फाजली आदि आदि कैयन् उदाहरण छन्।
विश्वप्रसिद्ध लेखक सलमान रुश्दी त जन्मकालदेखि नै शरणार्थीकै रूपमा घुमिरहे तर 'द सटानिक भर्सेज्' को प्रकाशनपछि त उनको जीवन झन् संकटको पराकाष्ठामै पुग्यो, शरणार्थीको रूपमा।
शरणार्थीको जीवनमै उनले आफ्नो आत्मसंस्मरण 'जोसेफ एन्टोन' लेखे, आफूलाई मनपर्ने दुई लेखक जोसेफ कोनराड र एन्टोन चेखवको संयुक्त नाम जोडेर उनले आफ्नो नाम नै जोसेफ एन्टोन राखेका थिए। उपनाम नभए पनि सुरक्षाको लागि उनलाई यो नामले निकै बचाएको थियो।
'जोसेफ एन्टोन'मा उनले शरणको जीवनलाई पीडाको पत्रपत्रमा भोगेको देखाएका छन्। उनी आफ्ना पिता माइलोमा क्यान्सरले ग्रस्त हुँदा पनि पाकिस्तान जान नसकेको र बित्दा पनि त्यो अवसरबाट वञ्चित भएको पीडा पोखेका छन्।
बम्बईको वार्डेन रोडको विन्स्डर विल्लामा जन्म लिएका रुश्दी बेलायत गएर पढेर फर्केर आउँदा शरणार्थी भइसकेका थिए।
उनकी आमा नेगिन रुश्दी उनलाई पुरानापुराना कथा पढेर सुनाउँथिन् तर पछि तिनले एकदिन भनिन्,'म तिमीलाई सारा अनुभव भन्न अब सक्दिनँ, तिमीले ती सबै कुरा किताबमा लेख्यौ भने म गोबरझ्याउलोमा फँस्नेछु।
त्यसपछि आमाको कथा रोकियो।त्यो रोकिएको कथालाई उनले १० अध्यायमा टुंग्याएका छन्। यो आत्मकथामा उनको यायावरीय शैलीको जीवन देखेर दिक्क भएका उनका छोरा जफरले एकपटक फोनमा सोध्छन्, 'ड्याड, कहिले हाम्रो स्थायी बस्ने ठेगान हुन्छ?'
सलमान यस प्रश्नमा छोराका सामु नि:शब्द भएका छन्। पुस्तकभरि उनले देश नहुनुको पीडा पोख्दै बिताएका छन्। भारत जुन उनको जन्मभूमि हो, पाकिस्तान उनको मातृभूमि बन्न पुग्यो उनका पिता अनीश रुश्दीले अपनाएपछि।
विश्वप्रसिद्ध लेखक सलमानलाई 'द सैटानिक भर्सेज्'पछि उनकै जातभाइ इस्लामिक सम्प्रदायबाट फतवाको घोषणा सुनाइएपछि राहतको छानो खोज्दै बेलायत, फ्रान्स, अमेरिका घुम्दै बिताए।
एकनाशको जीवन कहिले भएन। उनी हरेक ठाउँमा अतिथि रहे, तिथि तय नभएको यात्री।
सलमान रुश्दीको जीवनको धेरै किस्सा उर्दूका गजलकार नीदा फमजलीसित समतुल्य मान्न मिल्छ।
रुश्दी र गजलकार फाजलीको जीवनको औसत कथा एउटै छ। दुवैका अभिभावकले मुस्लिम भएको कारणले पाकिस्तान रोजे तर सन्तानले अभिव्यक्तिको स्वतन्त्रता र लेखनको हकदारीका कारण भारत छोड्न चाहेनन्। तर भारतमै पनि तिनको जीवन सुरक्षाको घेरामा कहिले थिएन। तिनलाई जीवनभर पाकिस्तानी भनेर हेलाँ गरिन्थ्यो।
भारतमै त्यस्तो पीडादायी जीवन बिताएका कैयन हस्तिहरू छन्, जसलाई युद्ध वा सीमा विवादको कुरा आयो कि पाकिस्तानी भनेर ताना कसिन्थ्यो। दिलीपकुमार, सआदत हसन मन्टो, नौशाद, नाशाद, साहिर लुधियानवी त्यस्तै कोटिमा पर्थे।
मन्टो र नाशादले त पछि पाकिस्तानमै गएर जीवन पनि बिताए तर त्यहाँ पनि शरणार्थीकै जस्तो जीवन भएपछि मन्टो फर्केर भारत नै आए।
देश नहुनुको पीडा हरेक समय मनमा गुज्रिरहन्थ्यो नीदा फाजलीलाई पनि। उनले लेखेका छन्,
मैँ रोया परदेश में भीगा माँ का प्यार
दु:ख ने दु:ख से बात की, बिन चिठी बिन तार ।।
सन् १९४७ को तबाही (उनले त्यो विभाजनलाई तबाही नै भनेका छन्) पछि उनकी आमा पाकिस्तानकी भइन् र उनी एक्लो भारतका। जब उनले आमा सिकिस्त हुँदा भारत जान चाहे, भारत-पाकिस्तानको लडाइँ चरमचुलीमा पुगिसकेको थियो।
उनकी आमासित समय कम थियो र राजनीतिक लडाइँका लागि समय हतारको थियो। सारा कोसिसका बाबजुद पनि नीदा आफ्नी आमालाई हेर्न वा भेट्न जानबाट वञ्चित रहे, वर्षौंको नाता सेलाएर चिहानमा परिणत भयो।
थियो त उनको हातमा आमाको अन्तिम चिठी, मेरो खुदाले मेरा सारा इच्छा पूरा गरे। मैले जे मागें त्यो उसले दियो। एउटा तेरै दु:ख थियो जसले पिछा छोडेन।
शायद मेरो कुनै अपराधको कुनै सजाय होला जुन तँ जिउँदो हुँदाहुँदै पनि मेरो आँखाबाट ओझेल परेको छस्। तर मलाई यकिन छ एकनएकदिन मेरो मालिकले मेरो अपराधलाई माफ गर्नेछ र यो वियोगको घडी आफैं समाप्त हुनेछ।
नीदाले आमाको यो पत्रपछि लेखेका छन्, तर तिनको मालिकलाई दुई मुलुकको लडाइँ चर्काउन यति फुर्सत थियो कि तिनको प्रार्थना सुन्न भ्याएनन्।
भारतमा जस्तै पाकिस्तानमा पनि चर्चित मानिने गजलकार नीदा फाजली नेपालमा पनि अत्यधिक मनपराइने गजलकार हुन्। नेपाली चलचित्रकी चर्चित नायिका गौरी मल्ल जगजित सिंहले गाएको नीदाको गजल 'हर तरफ हर जगह वेशुमार आदमी' सुनेपछि सदैव भावुक हुन्छिन्। फेसबुकमा प्राय: सेयर पनि गर्छिन्।
नीदाका फिल्मी गीत पनि लोकप्रिय छन्, 'तु इस तरह से मेरे जिन्दगी में शामिल है होस् वा तेरे लिए पलकों के झालर बुनूँ। उनलाई यस्ता गीत र भावले मात्र होइन।
गजल, गीत, नज्म वा कतआत्मा आफ्नै महारत पाएका नीदा फाजली नेपाली भाषाका चर्चित उपन्यासका डा. ध्रुवचन्द्र गौतमका प्रिय गजलकार हुन्, डा. गौतमसित उनको एउटा गजल कण्ठस्थै हुने गर्छ,
कभी किसी को मुकम्मल जहाँ नहीँ मिलता
कहीँ जमीँ तो कहीँ आसमाँ नहीं मिलता
फाजलीको यो गजलमाथि गम्भीर विचारविमर्श गर्ने हो भने यसमा समग्र जीवनदर्शन देखिन्छ, कसैले पनि आफ्नो जीवनमा भनेजस्तो संसार वा सोचेजस्तो जीवन पाउन सक्दैनन् जमीन पाए, आकाश पाउन सक्दैनन्, आकाश पाए जमिन।
यो संकट सदासदा सबैको जीवन छ नै। उनको भावदशा यही हो भन्न सकिने।
साठोत्तरी पिँढीका लोकप्रिय शायर नीदाको हालको बसाइँ बम्बईको खारस्थित अमर अपार्टमेन्टमा कायमै छ। उनले आफ्ना पिता मुर्तजा हसन र माता जमिल फातिमा दुवैलाई पाकिस्तानमै गुमाए। आफ्ना पिताको मृत्युपछि उनले कवितामा लेखेका छन्,
तिम्रो चिहानमा
म मृत्यु इच्छा पढ्न आएको होइन
मलाई थाहा छ
तिमी मर्न सक्दैनौ
तिम्रो मृत्युको साँचो खबर जसले उडाएको थियो
त्यो झूटो थियो - त्यो तिमी कहाँ थियौ
कुनै सुकेको पात हावासित हल्लिँदै टुटेको थियो
मेरो आँखा
तिम्रो दृश्यमा कैद छ अझै
म जे पनि देख्छु वा सोच्छु
त्यो त्यही हो
जुन तिम्रो इज्जत र बदनामीको दुनियाँ थियो
कहीँ केही पनि बदलिएको छैन
तिम्रो हात मेरो औंलामा सास फेर्दछ
म लेख्नको लागि जहिले पनि
किताब कलम उठाउँछु
तिमीलाई मेरै कुर्सीमा बसेको पाउँछु
शरीरमा जति पनि मेरो रगत छ
त्यो तिम्रै कामना र कमजोरीका साथ बग्छन्
मेरो आवाजमा लुकेर
तिम्रो आत्म बस्दछ
मेरो बिमारीमा तिमी
मेरो लाचारीमा तिमी
तिम्रो चिहानमा
जसले तिम्रो नाम लेखेको छ
त्यो झूटो हो
तिम्रो चिहानमा
म गाडिएको छु
तिमी ममा जीवित छौ
कहिले फुर्सद पायौ भनें
मेरो चिहानमा मृत्यु इच्छा पढ्न आउनू।
यी हुन् नीदा। अनि उनको मृत्यु इच्छा अर्थात् उनको अपुरो फातिहा।
भविष्यत: उनको चिहान पाकिस्तानमा हुँदैन। यो हरेक शरणार्थीको समस्या हो।
शरणार्थीको समस्या बाँच्नुको मात्र होइन मर्नुको पनि हुन्छ। मृत्युपछिका कैयन् संस्कारका लागि लड्नुपर्ने हुन्छ।
हालै आएको भूकम्प पछि आफ्नो फेसबुकमा नेपालीलाई शरणार्थी बनाउने तुच्छ टिप्पणी लेखेर मधेसवादी नेता सरिता गिरी घनघोर विवादमा आएकी छिन्।
उनले पहाडका नेपालीलाई तराईमा झारे समस्या हुने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति राखेर नेपाली मनमा भाँजा हालेका छन्। नेपालका कैयन् तराई मुलुकका मान्छे आनन्दले बिहारका छापछापमा अनेक व्यवसाय गरेर बस्दा समस्या नहुने।
बिहारका कैयन् नागरिक काठमाडौंको गल्लीगल्लीमा केशशृंगार गृह खोलेर बस्दा समस्या नहुने वा नरहने। तर पहाडको नेपाली तराई झर्दा वा तराईको नेपाली पहाड चढ्दा किन शरणार्थी समस्या हुने्?
दृष्टिकोणको फरक यही छ।
सप्तरी भारदहका कैयन् झा, गुप्ता वा चुहार पटनाको बस व्यवसायमा आबद्ध छन्। पञ्जाबमा धान काट्न कैयन् धनुषाका नेपाली भारत जान्छन् जसमाथि राजेन्द्र विमलले फिल्म नै लेखेका छन्, 'हंसा चलल परदेश'।
हाम्रा कैयन् मैथिलीभाषी रंगकर्मी जनकपुरबाट नाट्य महोत्सव देखाउन पटना जान्छन्।
यस्तो सम्मानको परम्परा भएको थात थलोमा देशभित्रैको नेपालीलाई शरणार्थी देख्नु वा सोच्नु मायोपिक समस्याभन्दा केही होइन ।
विनाशकारी भूकम्पपछि बिहार फर्केर गएका पुल्चोकको हजामलाई उनको नेवार घरवालाले नेपाल फर्केर नआइज भनेको छैन।
बागबजारको सुपर भ्यु छोडेर गएका रहिम मियाँलाई घरवाला प्रेमध्वज प्रधानले अब नफर्की भनेको छैन वा भन्ने पनि छैन।
एउटा भूकम्पको कम्पन आउँदैन मान्छे यति छिटो बदलिनलाई ऊ कुनै ढुंगा वा पात होइन। यति त बुझ्नै पर्छ हाम्रो चेतनाको धागोले।
हामीले जतिसुकै छयहत्तरे भनेर दार्जिलिङका नेपालीलाई व्यँग्य कसे पनि 'देशले रगत मागे मलाई बलि चढाऊ रुँदिनन् मेरी आमा ऊ हो नेपालको छोरो' भनेर गाएकै छन्।
बरु दार्जिलिङबाट आएका गोपाल योञ्जनको गीत आज अमेरिकामा शरणार्थी जीवन बिताइरहेका कलाकारले देश सम्झेर गाइरहेका होलान् भने अत्युक्ति नहोला।
के मान्छे देश हुँदाहुँदै शरणार्थी हुनुपर्ने यही मात्र हो त?
कैयौं नेपालीले शानले भारतको सीमा रक्षणका निम्ति ज्यान आहुति दिएर इतिहास बनाएका छन्, त्यसैले भारतका राष्ट्रकवि प्रदीप लेख्छन्
आफ्नो राष्ट्रिय गीतमा :
कोही गोर्खा है कोही मदरासी
हम सब है भारतवासी
हे मेरे वतन के लोगों जरा आँख में भर लो पानी
यो गीत भावुकतामा लेखिएको होइन, भारत बचाउन गोर्खा जातिले गरेको योगदानको, कर्मको, धर्मको गुणगानमा लेखिएको हो।
भारतमा नेपालीले जे जस्तो सम्मान पाएको छ त्यो नेपालीको बहादुरीको परिणाम हो।
भारतमै नेपालीलाई हेय दृष्टिले हेरिने दिन गइसके भने अब मधेसवादी सोचका कारणले यो भेदको दृष्टि राख्नु वा शरणार्थी सोच राख्नु यतिबेला कुकर्म हुन जानेछ।
राजनीतिका लागि गरिने, बोलिने वा भनिने कुराले क्षणिक आनन्द देला तर समस्याको हल गर्दैन। एउटा नेपालीले अर्को नेपालीले शरणार्थीको पगरी गुथाउनु त्यति न्यायोचित नहोला कि?
- See more at: http://www.annapurnapost.com/News.aspx/story/12516#sthash.KvEghdDZ.dpuf

Thursday 4 June 2015

Nau Lakhe Tara by Prakash Sayami

नौलाख तारा उदाएपछि स्वर्णिम युगको प्रवेश




‘नौलाख तारा उदाए
धरतीको आकाश हाँसेछ
शरद लाग्यो वनमा
फूलले पिरती गाँसेछ.....’
स्वर÷सङ्गीतः अम्बर गुरुङ
रचनाः अगमसिंह गिरी
धुन गरेकोः १९५८ ई.सं.
रेकर्डः जनवरी १९६१, हिन्दुस्तान रेकर्ड कम्पनी, कलकत्ता
यही गीतबाट सुरु हुन्छ नेपालीको जातीय गान । अगमसिंह गिरीको रचना रअम्बर गुरुङको संरचना(स्वर÷सङ्गीत)बाट सुरु भएको अनिवासीय नेपालीहरूको नवसङ्गीतको जन्म सन् १९५८ मा दार्जीलिङमा हुन्छ । यही गीतले दार्जीलिङलाई नेपालसँग जोडेछ, यसको रेकर्डिङ पछि । सन् १९६१को जनवरीमा कलकत्ताको हिन्दुस्तान रेकर्ड कम्पनीमा रेकर्ड भएको यो गीत प्रवासी नेपालीको पहिलो गीत त होइन, यसभन्दा अघि मित्रसेन र मेलवादेवीले पनि साङ्गीतिक धरातल त बनाइसकेका थिए, तर नेपालको बजार नेपथ्यकमा नै थियो । अगम, अम्बरको यो संयुक्तिपछि दार्जीलिङले नेपाली सङ्गीतमा आभ्याक्रामी रूप लियो । यसभन्दा अघि अनपेक्ष रूपमा नेपालबाट सुरु भएको धर्मराज थापाको गायनले भारतीय भू–खण्डको पहाडी भागलाई नेपालीमय बनाइसकेको थिया्, तर पनि अनुभूतिका चार क्रम –विचार, भाव, प्रज्ञान, संवेदन)–मा कम नै थियो । विचारले अबोध र अर्थ दिन्छ, भावले नापजोख गर्छ र मूल्य दिन्छ, प्रज्ञानले भावी सम्भावनाहरू बताउँछ र परिवेशको सन्देश हुन्छ, संवदन इन्द्रियबोध हो । कार्ल गुस्ताभ जुङले भनेझैँ यस गीतमा उद्धृत तथ्यहरूको सङ्कलन निहित थियो । जन्मको हिसाबले ‘नौलाख तारा...’धर्मराज थापाको स्वदेशगान ‘नेपालीले माया मा¥यो बरी लै...’–को साङ्गीतिक प्रसारको प्रत्यक्षणता हो, प्रतिक्रिया पनि हो । दार्जीलिङकै साङ्गीतिक इतिहासको जग स्थापना पनि हो । टुटफुटरूपमा नवीन बर्देवा, एच.मान गुरुङ र दलसिंह गहतराजले सुरु गरेको पाखाली सङ्गीतको सुरुवात पनि हो । यो गीत एउटा कविता, एउटा रचना र एउटा गायकको माइलस्टोनमात्र नभएर राष्ट्रिय र जातीय घटना, दृश्यिक स्थायित्व(फेनोमेनान) र आत्मिक अनुभूति हुन पुग्यो, जसलाई असङ्ख्य प्रवासी नेपालीहरूको स्मृतिस्वरूप र अतीतगाथा एवम् गृहविरह(नोस्टाल्जिया)–का रूपमा सङ्गीतप्रेमीहरूले एकमतले ग्रहण गरे ।
साङ्गीतिक हिसाबले यसलाई एउटा गीत मानिलिऊँ तर भौगोलिक हिसाबले यो एउटा सांस्कृतिक भूगोलको पुनरुत्थान हो । यस गीतको अनुभव र घटनामा संसारभरिका नेपालीहरू प्रथमपटक एकैचोटि होम्मिएर कस्तो भूल गरे वा के आशिष पाए भन्ने कुरा अर्को हो, तर धेरैजसोले यस रचनालाई अम्बर गुरुङको साङ्गीतिक पक्षको सर्वश्रेष्ठ उदाहरण माने । समालोचक डाक्टर अभि सुवेदीले लेखेका छन्— ब्mदभच न्गचगलनुक ल्बगबिबपज त्बचब ग्मबभ ष्क तजगक बल भहउचभककष्यल या लयकतबनिष्ब तजबत जबक चभतगचलभम ब लभध मष्mभलकष्यल तयमबथ बलम ष्तक चभभिखबलअभ ष्क चभखष्खभम बलम ष्त जबक भखयपभम तजभ खष्दचबलत तजभ या लबतष्यलबष्किm या ल्भउबष् िम्ष्बकउयचब ।
‘नौलाख तारा....’को ज्वाला रन्कनुभन्दा पहिले पनि अम्बर सङ्गीत रचना गर्थे, गाउँथे तर त्यसबेलासम्म उनीहरू दार्जीलिङकै आकाशमा मात्र सीमित थिए, दार्जीलिङको सीमालाई नाघ्न सकेका थिएनन् । यस गीतको रेकर्डिङपछि अम्बर गुरुङ अम्बरजस्तै भए । उनको यस रचनाले साराका सारा नेपालीलाई नातागत रूपमा हृदयको अतल भूमिसम्म छोयो । कवि वाइरनले भनेझैँ अम्बरले एक सुन्दर बिहान एकाएक आफूलाई प्रसिद्ध पाए । अम्बर त्यसपछि नम्बरको क्रममा गनिए । भूपिले भनेका छन् ः
“जब गीत हुन्छ अगमको, सङ्गीत अम्बरको त्यसपछि गीत बन्छ एक नम्बरको ।”
यो एक नम्बरको गीतको रचना कसरी भयो र यसको प्रसिद्धिको कारण के हो ? भन्ने गीतकार नगेन्द्र थापाको प्रश्नमा अम्बरको जवाफ यस्तो छ—“यो गीतमा तीनवटै कुराको तारतम्य मिलेको छ । शब्दले नेपाली अवस्था राम्ररी जनाएको छ र शब्दहरूको गहिराइअनुरूप मैले सङ्गीत भर्दा धेरै चिन्तन गरेँ । गायकीमा भावमयता छ । भावपूर्ण आवेशमा आएर नगाएको भए त्यो गीत त्यति सफल हुने थिएन ।”
‘नौलाख तारा....’ नेपाली गेय सङ्गीतमा एउटा ठूलो मोड हो भन्नु अत्युक्ति हुन्न । गीतमा भावपक्ष नै सबल भएको कुरा अम्बरले स्वीकारेका छन् । तर भन्नै पर्दा अम्बरको स्वीकारोक्ति यस्तो पनि छ—“मुख्य कुरा त अभावको बेलामा यस गीतको जन्म भयो, नेपालबाहिर बसेका नेपालीहरूको राजनीतिक अवस्थाबाट जन्मेको गीत हो यो । अरू त परै जाओस्, यस गीतले मेरो जीवनमा नै नयाँ मोड दियो ।”
अम्बरको व्यक्तित्व र जिन्दगीभन्दा पनि परिवर्तनकै कुरामा यस गीतले दार्जीलिङको छरपस्ट सङ्गीतलाई एउटा सशक्त दल बनायो, जसमा कपिलराज सुब्बा, गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, मानवीर सिंह, शान्ति ठटाल, अरुणा लामा, पिटर जे. कार्थक, ललित तामाङ, इन्द्र थपलिया, गगन गुरुङ, जितेन्द्र बर्देवा, पासाङ बाङ्वल र अरू पनि जुटे । यही दलले सङ्गीत–सृजनामा हारमोनी(सस्वरता) र काउन्टर प्वाइन्ट(संलाप)–को गत्यात्मकता ल्याउनथालिसकेको थियो । यो अर्कै इतिहास हो, यस गीतको सफलतापछि शरण–रञ्जितको ‘सङ्गम ग्रुप बन्यो, जहाँबाट अरूणा उदाइन् । कर्म–गोपाल योञ्जनको ‘हिमालय कला मन्दिर’ बन्यो, जहाँ दिलमाया खाती र नगेन्द्र थापा थपिए— गायिका र गीतकारका रूपमा । तर उन्नाईसजना वाद्यवादक र एकजना गायकले चुनौतिपूर्वक तीन मिनेटभित्र ७८ आर.पि.एम्.को डिस्क रेकर्डमा गाएको यस गीतले त्यतिबेला दार्जीलिङभित्रको बहुलतालाई एकात्मक र सामाजीकरण गरेको थियो । यसलाई सम्झेर अगमसिंह गिरीको सोधनीमा अम्बर गुरुङको जवाफ यस्तो थियो, “दार्जीलिङ सधैँ मेरा आँखाका नानीहरूमा खेलिरहेको हुन्छ, मुटुमा सधैँ समेटिएको हुन्छ । दार्जीलिङको हरेक सुख–दुःखको सहभागी आफूलाई ठान्छु, सांस्कृतिक जागरण आएको छ । सङ्गीतको क्षेत्रमा अब दार्जीलिङले केही गर्न सकेन भने यो दुःखदायी हुनेछ ।”यसपछि दुःखदायी स्थितिमा अम्बरका सबै गोपालहरू दार्जीलिङबाट अन्यत्र छरिए— कोही काठमाडौँ, कोही कलकत्ता, कोही मुम्बई, कोही काहीँ ।
यसपछि अम्बरकै रचनामा ‘ए कान्छा मलाई सुनको तारा....’, शरण प्रधानको रचनामा ‘यहाँ फूल नखिलेछ....’, कर्म–गोपालको सङ्गीतमा नारायणगोपाल पनि जुट्नु, शान्ति ठटालको वैयक्तिक शृङ्खला बन्नु इतिहासको अर्को झलक हो । यसबारे चर्चा हुने नै छ ।
सन्दर्भलाई कायमै राख्दा वि.सं. १९९२ साल फागुन १४ गते दार्जीलिङमा जन्मेका अम्बर गुरुङले आफ्नो चौबिसौँ वसन्तमा रेकर्ड गराएको ‘नौलाख तारा....’ रागका आधारमा भीमपलासीको निकट पाइन्छ भने प्रकृतिका आधारमा नेपाली प्रवृत्ति(इन्सटिङ्क्ट)– सँग घनिष्ठ देखिन्छ । एक अतीतमा अम्बरका वाद्यवादक (शिष्य) रहेका पिटर जे. कार्थकको सम्झनाको सार यस प्रकार छ — “यस गीतले साङ्गीतिक सन्दर्भमा मात्रै पनि धेरै नयाँ देनहरू लिएर आयो । प्रथमतः यो कृतिको साङ्गीतिक महŒवाकाङ्क्षालाई भुल्न सकिँदैन, जसले नेपाली सङ्गीतमा त्यसबेलाका निम्ति अत्याधुनिक आन्दोलन ल्यायो । गीतको थालनी स्थायी (प्रिल्युड) मै पियानोको परिचय सशक्त र नाटकीय छ, जसले रचनाको विषयबारे श्रोतालाई सुरुमै चेतावनी दिन्छ । त्यसपछिको माइनर कर्डमा स्वरलहरीद्वारा शान्त अनुशासन कायम भएपछि तालपरिचय गराएर व्यवस्था –एरेन्जमेन्ट) कायम हुन्छ । तीनै काम एउटा बाजा पियानोले गर्छ र यो बाजाको बहुमुखीपन सङ्गीतसंयोजकले बुझेका रहेछन् जस्तो लाग्छ । तर कुनैकुनैलाई एउटै बाजालाई यसरी रगडाउँदा अलिक खल्लो लाग्नु पनि स्वाभाविक छ, तर साङ्गीतिक व्यवस्था कुनै जड कुरो होइन, समयानुकूलित गर्न सकिन्छ ।”
अम्बर गुरुङका सङ्गीतरचनाबारे केन्द्रित रहेर तीन दिनसम्म रेडियो सगरमाथाको अजम्मरी गीतसङ्गीतमा पिटर जे. कार्थकले यस गीतको निर्माणका बारे स्पष्ट रूपमा एउटै कुरा ठोकुवा गरे । त्यो यस प्रकार छ — “यो गीत शब्दद्वारा सुरु नगरिएर ओ...ओ...ओ...को तानले गरिन्छ, रचनाकार अगमसिंह गिरीले यो थप शिल्पलाई चिताएका पनि थिएनन् होला न त श्रोताले नै, जसले सतर्क बनाउँछ श्रोताहरूलाई । अर्को थप कुरा, यो तान काव्यात्मक पनि छ, यसले श्रोताहरूलाई आह्वान (इभोक) र उत्तेजना (प्रभोक) एकसाथ दिन्छ । त्यसपछि सुरु भएको स्थायीलाई माइनरमै कुशलतापूर्वक स्वरबद्ध गरिएपछि बाँसुरीको मेजर लहरको अन्तिम स्वर (लास्ट नोट)–सँग अन्तरा सुरु हुन्छ । स्थायी र अन्तराको विभिन्नतालाई मध्यभागको एक्लो बाँसुरी र भ्वाइलिनको समूहको मेजर–माइनर(सवाल–जवाफ)–ले सम्बद्ध गरेपछि श्रोताहरू गीतको आधा चरणमाआइपुगेर गीतसँग परिचित हुन सफल हुन्छन् । यो हुनुभन्दा पनि अघि स्वरसमूह (कोरस)–को ‘किन पो यहाँ आयौ नि....’–ले अर्को थप व्यापकता ल्याएको हुन्छ । त्यसपछि फेरि त्यै ओ...ओ..र समवेत (कोरस) –मङ्गलाचरणको सामुहिकतामा गीतको रेकर्डिङ धीमा भएर टुङ्गिन्छ । गीतमा साङ्गीतिक पूर्णताको उत्कृष्ट उदाहरण यस कृतिमा पाइए पनि सायद स्रष्टा अम्बर गुरुङ केही असन्तुष्ट नै छन् र त्यसरी अटुङ्गोमा गीत सकिएको होला भन्ने लाग्छ किनकि यस्तो किसिमको समाप्ति एउटा शिल्पमात्र नभएर अरू दृष्टिकोणले पनि लाक्षणिक वा साङ्केतिक छ । नेपाली लोकताल (समला)–लाई यहाँ आधुनिकीकरण गरिएको छ र नेपाली सांस्कृतिक दृष्टिले हेर्दा यस कृतिलाई मादल, सारङ्गी र बाँसुरीजस्ता घरेलु बाजा (फ्यामिलिएर इन्स्टुमेन्ट)–को आडमा प्रस्तुत गर्न सकिन्छ भने आधुनिक भव्यता दिएर सयौँ कलाकारहरूद्वारा फिलहार्मोनिक रूपमा पनि प्रस्तुत गर्न सकिन्छ ।”
एउटै गीत ‘नौलाख तारा....’ बारे धेरै लेख–प्रलेखहरू लेखिए । कारण प्रस्ट छ, एउटै कृतिमा आधुनिक सङ्गीतको अग्र रूपका ठोस कदमहरू सफलतापूर्वक चालिए । कालिकताका हिसाबले स्वदेश र प्रवासलाई एकसाथ जोड्यो, यो तीन मिनेटको गीतले । नौलाख तारा रेकर्डको उतापट्टि अर्को गीत छ— ‘तिमी आऊ बहार पर्खिरहेको छ’, जसले युगलगायतको इतिहास कायम राखेको छ— अतीतदेखि वर्तमानसम्म ।
‘नौलाख तारा...’ का प्रस्तोता अम्बरलाई कसैकसैले प्रथम सङ्गीतकार, दोस्रो गीतकार र तेस्रो क्रममा गायकका रूपमा राखेका छन् । बिर्सिएको कुरा के मान्नुपर्छ भने, धेरै गोपालहरूका गुरु पनि हुन् अम्बर ! र सम्झनै पर्ने कुरा उनी गायक नै हुन्, उनको भनाइमा— “मैले गाउन नथालेको (हारमोनियम समातेर) भए अथवा गायक पहिले नभएको भए म कसरी सङ्गीतकार हुन्थेँ, मैले सङ्गीत नगरेको भए कसरी गीतकार हुन्थेँ ?