Friday 21 November 2014

Saarc Sahitya by Prakash Sayami

सार्क साहित्य
प्रकाश सायमी


 सार्कस्तरीय लेखक सम्मेलन शुरु हुनु अगावै श्रीलंकाका उपन्यासकार माइकल ओन्दात्जे र अफगानिस्तानका खालेद होस्सेनीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो विशिष्ट पहिचान बनाईसकेका थिए तर दुवैले आआफ्नो मुलुकको पहिचान त्यागेर नै यो सफलता पाएक थिए । यिनकै समयका अन्य लेखक स्रष्टाहरु त्यही मुलुकमा बसेर त्यही देशीय समस्यामाथि लेखिरहेका छन् र आफ्नो सक्रियता जनाइरहेका छन् । आफ्नो लेखनको मूल जरो आफ्नो मातृभूमि भएपछि त्यसलाई बुझ्न बुझाउन र बुझेको कुरा सुन्न छरछिमेकसित नै बस्नुपर्ने रहेछ, एउटै चौतारीमा ।
समस्या एउटै हुन सक्ने, समाधानको बाटो एउटै हुन सक्ने अनि आपसको विचार लिने दिने प्रक्रियाले सिर्जनात्मक मूलमा फरक बाटो अख्तियार हुन सक्ने, यही निष्कर्ष देखियो ।
यसैको पहल स्वरुप दक्षिण एशियाई मुलुकका राष्ट्रको सम्मिलनमा सार्क लेखक संगठन गरियो जसले सार्क राइटर्स फाउन्डेशन भनियो । फोस्वाल नामले चिनिने यो संस्था आज दक्षिण एशियाई राष्टहरु मध्ये भूटान, भारत, नेपाल, बाँग्लादेश, श्रीलङ्का, पाकिस्तानका वीच सक्रिय देखिन्छ ।
दक्षिण एशियाई भावाव्यक्तिको  अवस्था फरक फरक भएपनि बुझिने र स्वारोक्ति स्थिति एउटै एउटै जस्तो छ, संस्कृतनिष्ठ भाषाका निकट रहेका हिन्दी, नेपाली र बंगाली भाषा राष्ट्रभाषा रहेका नेपाल, भारत र बांग्लादेशजस्तै अरवी र फारसीको मूलमा बनेको उर्दू भाषा राष्टभाषा रहेका पाकिस्तानसित पनि अनुभूति र संवेदनाको सतह समानीय देखिन्छ ।
पाकिस्तान, भारत र बांग्लादेश एउटा सिंगो राष्ट्रबाट विभक्त भएको भए पनि  भएपनि तिनीहरूको अहिलेको अवस्था र समस्या पनि एउटै छ, आतंकवादको पीडा र सिमानको समस्या ।
यी कारणले लेखन र जीवनमा आउने तिनको पीडाको प्रभाव छिमेकलाई पनि सदैव परिरहनु स्वभाविकै हो । यसैलाई मूल मन्त्र मानेर २००० देखि सार्क लेखक सम्मेलन सक्रिय देखिँदै आएको छ , फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिट्रेचर नाम दिइउको त्यो संस्थाको परिकल्पना गैरराष्ट्रिय स्तरमा भारतबाट परिकल्पना गरिएको थियो सन् १९८७ मा । यसपछि भारतीय लेखकले विभाजन पश्चात् पहिलो पटक पाकिस्तानमा पाइला टेकेका थिए भने त्यसको लगत्तै पाकिस्तानी लेखकले पनि भारतमा पहिलो पटक राजनीतिक सहयोग विना भारतमा पाइला टेकेका थिए ।
यसको उद्वोधनमा यस्तो भनिएको छ, “हामी सार्क क्षेत्रका पागल स्वप्नजीवि हौँ । भला सरकारले राजनीतिक र कुटनीतिक काम गरोस् तर हामी हामीवीच भएका धर्म, जात र अन्य भेदका कुराको अन्त्य गरेर एउटा नयाँ पुल बनाऔँ जसले गर्दा हामी अझै सृजनात्मक काम गर्न सकौँ ।”
सन् २००० मा काठमाण्डूमा भएको घोषणापत्र मा यसै भनिएको यो सार्क स्तरीय साहित्यिक संस्था फोस्वालमा नेपालको सक्रियता शुरुवात देखि नै बलशाली रहेको छ ।
१३ औँ सार्क सम्मेलन काठमाण्डू हुँदा यो लेखक सम्मेलनमा सांस्कृतिक अवधारणाका साथ दुई नयाँ विषयमाथि प्रवेश भएका थिए, बुद्धिज्म र सूफीज्म ।
भाषागत हिसाबले नेपालबाट र भारतबाट भारतीय नेपाली कवि लेखक यसमा सहभागी भएको सार्थक इतिहास छ ।
सन् २००९ देखि फोस्वालले सार्क राष्ट्रका लेखकलाई सम्मान गर्ने क्रममा भारतबाट उदयप्रकाश, जयन्त महापात्र, कमाल खानलाई पुरस्कृत गरिएको थियो । यसले सार्कका लेखकको स्थिति, विचार, चिन्तन र अनुभवको धरातललाई नजीक नजीक देखाएको महशुश हुन्थ्यो ।
सन् २०१० मा नेपालबाट अभि सुवेदी, भारतबाट मार्क टली सम्मानित भएका थिए भने गत वर्ष पाकिस्तानबाट फारहीन चौधरी, अफगानिस्तानबाट अब्दुल खालिद रशिद,श्रीलंकाबाट दाया डिस्सानायके सम्मनित भएका थिए । रमाइलो संयोगको कुरा गतवर्ष नै नेपालबाट कवि सुमन पोखरेल अनि नेपालको भारतीय राजदूतावासमा कार्यरत भारतीय कवि अभय के पनि पुरस्कृत भएका थिए ।
सन् २००१ मा बाँग्लादेशी कवि शम्शुर रहमानलाई पुरस्कृत गरेर शुरु भएको फोस्वालको यो सार्क लेखक पुरस्कारले माल्दिभ्स लेखकलाई पनि समेट्न थालेको छ ।  फोस्वालको यो कार्यक्रममार्फत् सार्क राष्टका युवा लेखकको पनि दह्रिलो स्थिति देखिएको छ, यस भेलामा मनु मञ्जिल, गीता त्रिपाठी, ज्योति जंगल, भुपिन व्याकुलले दिल्लीमा सहभागीता जनाएका छन् भने नेपालमा हुँदा नेपाली, नेवार, मैथिली, हिन्दी, लिम्बू, मगर भाषाका कविले पनि सहभागित जनाउने मौका पाएका छन् ।
फोस्वालले यस किसिमका आयोजना गर्नु भन्दा अगाडि पनि नेपालमा पाकिस्तानबाट अहमद फराज, भारतबाट कुँवर नारायण, केदारनाथ सिंह आएर सार्क स्तरीय सम्मेलनमा निकटर्वी  लेखक धुँस्वा सायमी, तुलसी दिवस, प्रा डा डी पी भण्डारीसित समकालीकताको आभाष दिएका छन् ।
नेपालमा भारतका जस्तै पाकिस्तानबाट गजलका वादशाह मेँहदी हसन, गुलाम अली, अवीदा परवीन आदि आएर गीत गजल गायनमा सहभागी भएका छन् भने नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा पाकिस्तान गएर गायक दीपक जंगमले मेँहदी हसनका गजल गाएर सम्मान पाएर आएका थिए । यही भेट र समन्वयको स्वरुप पछि स्वरसम्राट नारायणगोपालको आमन्त्रणमा मेँहदी हसनले राष्टिय सभागृहमा एकहप्ते लामो एकल साँझ प्रस्तुत गरे ।
पाकिस्तानमा गएर मेँहदी हसनले चाँदनी शाहका गीतलाई उर्दूमा गाएर रेकर्ड गरे । गुलाम अलीले संगीतकार श्याम तमोट, न्ह्यू बज्राचार्य अनि दीपक जंगमका गीत गाएर सार्क संगीतमा एक छलाँग थपेका छन् ।
बाँग्लादेशको ज्योति शिल्प कला केन्द्रको आमन्त्रणमा युनाइटेड आर्टिस्टले नेपालको सहभागिता दिएका छन् भन साहित्यकार परशु प्रधान, पवन आलोकले ढाकाको साहित्यिक भ्रमण पनि गरेका छन् ।
सर्वनाम नाट्य थिएटरले पाकिस्तानमा रंगमञ्चको वहस अनि नाट्य प्रस्तुति गरेका छन् ।
सार्क राष्टको अन्य गतिविधिलाई काठमाण्डूमा हुने पर्वतीय म  फिल्म महोत्सव र साउथ एशियन फिल्म्स्का गतिविधिले पनि सक्रियता दिएको पाइन्छ । यस महोत्सवमा भारतबाट श्याम बेनेगल, गिरिश करनाड, गुलजार सुहासिनी मुले लगायत पाकिस्तानबाट फैयाज गुजानी, बाँग्लादेशबाट शफीक अहमद सहभागी भएका छन् ।
लेखनका दृष्टिकोणले नेपालभन्दा भुटान धेरै पछाडि भएपनि भुटानले सन् २००८ को जनवरीमा प्रतिलिपि अधिकार संघले आयोजना गरेको स्रष्टा अधिकार भेलामा भाग लिएको पाइन्छ भने त्यही साल पाकिस्तानबाट न्याशनल अकादमी अफ्  पफर्मिङ  आर्टस्का निर्देशक अरशद् महमुदले स्रष्टा सहभागिता जनाएका थिए ।
नेपालमा हुने पुस्तक मेलामा पनि भारत, बाँग्लादेश, पाकिस्तानका लेखक सहभागी भएको देखिन्छ भने नेपाल बाहिर भारतको जयपुरमा हुँदै आएको लिस्ट फेस्टमा नेपालबाट पनि स्रष्टा सहभागी भएको देखिन्छ । 

No comments:

Post a Comment