Sunday 24 January 2016

Garage Music by Prakash Sayami

ग्यारेज गायनको अतीत
प्रकाश सायमी



विश्वप्रसिद्ध सांगीतिक व्यान्ड् बीटल्स् र यस समूहका थरीथरीका गायक र वाद्यवादकको आआफ्नै परिचय छ । जोन लेनन, पल मकार्टिनी, जर्ज ह्यारिसन, रिँगो स्टार आदि । पल र जोन बाल्यकालदेखि नै साथी थिए ।
यी दुवैले आफ्नो गायन स्कुलेजीवनमै शुरु गरेका थिए । यिनका अधिकृत जीवनी लेखक फिलीप नरम्यानका अनुसार यिनको समूहको गीति गायनको अभ्यास पहिलो पहिलो पटक मोटर ग्यारेजमा शुरु भएको थियो । मोटर ग्यारेजमा अभ्यास गरेको कैँयौ वर्ष पछि मात्र यिनले मञ्चमा पाइला टेकेका थिए ।
हुन त राम्रो नराम्रो जस्तो गाउनेको पनि गायन बाथरुमबाट शुरु हुन्छ भन्छन् तर प्रसिद्ध रक गायक माइक खड्का भन्छन् , “राम्रो गाउन जान्यो भनें वाथरुम सबभन्दा राम्रो गाउने ठाउँ हो , त्यहाँ इको सिस्टम मिलेको हुन्छ ।”
यद्यपि माइक खड्काको यो कुरालाई गलत भनि हाल्न पनि मिल्दैन । किनकि भारतीय सिने उद्योग बलिऊडकी चर्चित गायिका लता मंगेशकरले कालजयी सिनेमा ‘मुगल–ए–आजम’ को एउटा गीत ‘जब प्यार किया तो डरना क्या’ वाथरुम मै गएर रेकर्ड गरेकी थिइन् ।
यस फिल्मका संगीतकार नौशादका अनुसार त्यति वेला गीत रेकर्ड गर्दा रिभर्भ ( प्रतिध्वनि हाल्ने प्रविधि)को विकास भइसकेको थिएन । त्यसैले वाथरुम जत्ति उपयुुक्त ठाउँ अरु देखिएन । त्यसैले लतालाई वाथरुममा गएर गाउन अनुरोध गरियो ।
वाथरुम पछि मोटर ग्यारेज पनि गाउन र अभ्यास गर्न एक उपयुक्त ठाउँ मानिन्छ । तर अनौठो र अचम्मको कुरा धेरै गायक, सर्जक, कलाकारको अधिकांशको प्रारम्भिक जीवन पहिले मोटर ग्यारेजमै वितेको पाइन्छ । युरोप र अमेरिकामा यस्ता घटना धेरै छन् तर एशियाई मूलमा पनि नेपाल, भारत, पाकिस्तानका स्रष्टा सर्जकको जीवनमा मोटर ग्यारेजको धेरै अहम् भूमिका छ । त्यसमध्ये पहिलो नाउँ आउँछ , भारतका प्रसिद्ध फिल्मकार गुलजारको ।
गुलजारले नेपाल आउँदा ललितपुरको यलमाया केन्द्रमा भने, “म कलम चलाउनु भन्दा पहिले मोटर ग्यारेजमा रिन्चु र पेँन्चिस चलाउँथे । ”
सन् १९९९ मा काठमान्डूमा आयोजना गरिएको काठमान्डू फिल्म फेस्टिभलमा प्रमुख अतिथिका रूपमा आउँदा गुलजारले आफ्ना जीवनका पूर्व दृश्यपटका कुरा गर्दा पाकिस्तानबाट भारतको दिल्ली आएर संघर्ष गरेको अनि आफ्ना दाजुसित काम गर्न बम्बई आएको स्मरण साझा गरेका थिए ।
गुलजारले माचिस, इजाजत, नमकीन, मौसम, आँधी, मेरे अपने, मिर्जा गालिब जस्ता फिल्म निर्देशन गरेका छन् । उनले नै निर्देशन गरेको फिल्मबाट पहिलो पटक डैनी, शत्रुध्न सिन्हा, विनोद खन्नाले  फिल्मी क्यारिअर शुरु गरेका थिए भने उनले नै लेखेको फिल्म आनन्द बाट राजेश खन्नासँगै अमिताभ बच्चन पहिलो पटक चर्चामा आएका थिए ।
पाकिस्तानको दीनामा जन्मेका गुलजार भारत विभाजन पछि उनी पाकिस्तान छोडेर  दिल्लीमा स्थानान्तरण भए । दिल्लीबाट आफ्ना दाजुसित उच्च अध्ययन गर्न आएका गुलजारको पढाई इन्टरमिडियटबाट अगि वढ्न सकेन । उनी आफ्नो संस्मरणको एक किताबमा लेख्छन्,
बम्बईमा मेरो आरम्भिक दौड चल्दैथ्यो । इन्टर पास गर्न सकिनँ, फलस्वरुप दुई छाक टार्न जे काम हात लागे पनि गर्थेँ । एउटा मोटरग्यारेजमा एकाउन्टेन्टको काम गर्दैथिएँ । त्यो ग्यारेजमा गाडी रँगाउन पनि मान्छे आउँथे । त्यो जमानामा आजको जस्तो बनाइएको रंग पाइँदैनथ्यो , त्यसलाई बनाउनु पथ्र्यो । त्यो काम एकदम चूनौतिपूर्ण हुन्थ्यो , किनकि गाडीको जुन भागलाई रंगाउनु पथ्र्यो त्यसको रंगसित गाडीको रंग पुरै मेल खानु जरुरी थियो । ग्यारेजमा काम गरेकोले मलाई सही रंगलाई सही अनुपातमा मिलाएर सही रंग बनाउन आयो । पछि गएर एक फिल्मकारको रुपमा , रंगसितको मेरो यो परिचय पुरा काम आयो । ”
गुलजारले मोटर ग्यारेजमा हुँदै अग्रज निर्देशक विमल रायको फिल्म बन्दिनी मा गीत लेखे । पछि रायले नै उनलाई मोटर ग्यारेज तिम्रो ठाउँ होइ, फिल्ममा आऊ भनेपछि उनले मोटर मेकानिक्सको काम छोडेर सहायक निर्देशक भएर फिल्ममा प्रवेश गरे ।
अन्ततः उनी स्वयम् पनि एक कुशल निर्देशक भए ।
उनकै समकालीन कवि कुँवर नारायणले पनि साहित्यलाई धन्दा बनाउन नपरोस् भनेर मोटर स्पीड नामको ग्यारेज खोले । कवि लेखकको मात्र होइन, प्रसिद्ध गजल गायक मेंहदी हसनको पनि मोटर ग्यारेजबाटै आफ्नो क्यारिअर शुरु भएको देखिन्छ ।
नेपालका राणा प्रधानमन्त्री जुद्ध शम्सेरको शासनकालमा यहीँको दरवारमा शास्त्रीय संगीतका दरवारीया गुरु भएर बसेका आजम खाँ का नाति मेँहदी हसन पनि भारत पाकिस्तान विभाजन पछि भारत छोडेर आफ्ना पिता सित पाकिस्तान गए ।
हातमा दशहजार रुपियाँ लिएर पाकिस्तान गएका मेँहदी हसनको परिवारलाई त्यतिवेला संकट आइपर्यो जब सम्पूर्ण परिवारले गायनमा निर्भर रहनु पर्यो । आफ्ना काका इस्माइल खाँको आग्रहमा उनले शुरुमा मोटर ग्यारेजमा सहायक भएर पछि मेकानिक्स् भएर काम गरे ।
सन् १९५५ सम्म उनले रेडियो र माइक्रोफोन देखेका थिएनन् । आफ्ना पिता, पितामह, परमपिता सबैले संगीतमा जीवन होमे पनि उनले  जीवन गुजाराको निम्ति मोटर ग्यारेजमा पार्ट पूर्जा फिट गर्ने , नटबोल कस्ने, रिञ्चू, पेन्चिस चलाउने काममा पोख्त भए ।
ग्वालियर र जयपुर दरवारमा कलावन्त पदवी पाइसकेका घरानिया परिवारमा जन्मेका  यी नाति उस्तादले युवाकालमै  हार्मोनियम , तबला छोडेर मोटरको बनेटमा हात बजार्न थाले । तर यिनको गायनको खाकी यहीँबाट तीक्ष्ण हुँदै गयो । उनले ग्यारेजमा साथीभाइलाई फिल्मी गीत नक्कल गरेर सुनाउने र आवाजको विविध प्रयोग गर्न थालेपछि यिनलाई ग्यारेजबाट रेडियोको स्टुडिओ पुर्याउने काम यहीँबाट भयो ।
शारीरिक रुपले हट्टाकठ्ठा, बलवाहुमा ताकत भएका अग्लो  कदका मेंहदी हसन हेड मिस्त्रीबाट गजल गायनमा विश्वकै उच्चाकर्षणमा पुगे, उनलाई गजल गायनका बादशाहको पदवी दिइएको छ । उनी नेपालमा गोरखा दक्षिण वाहु पाउने पहिलो विदेशी कलाकार थिए । उनले पछि आफ्नो स्वरमा चाँदनी शाहको शब्द र दीपक जंगमको संगीतमा छओटा गीत गजल पनि गाएका छन्, उर्दूमा ।
मेँहदी हसनले एकपटक लताको स्वरको तारिफ गर्दै भनेका थिए, भगवानले लताजीलाई राम्रो गला दिएको छ ।
लताले यसको जवाफमा भनेकीथिइन् , भगवानले मलाई गला मात्र दिएको छ तर मेँहदी हसनको त गला मै भगवान छ ।
गजलका पर्याय मेंहदी हसनलाई रत्न रेकर्डिँग संस्थानको निम्तोमा पन्ध्रदिने लामो कार्यक्रम गर्न नेपाल आउँदा नारायणगोपालसित भेट्न रुचि पनि रा्खेका थिए र दुवैको भेट होटल याक एन्ड यति मा भएको थियो ।
मेंहदी हसनले काठमान्डूको सभागृहमा कार्यक्रम प्रस्तुत गर्दा नारायणगोपालको गीत गाएर कार्यक्रम शुरु गरेका थिए । सार्क संगीतमा मेंहदी हसनलाई मनपराउने कलाकार कैयन् छन् तर नारायणगोपाल पनि त्यसमध्ये एक अवश्य थिए , उनले मेरो वेहोशी मेरो लागि पर्दा भो कम्पोज गर्दा मेंहदीबाट आफू प्रभावित भएको स्वीकारेका छन् ।
हसनकै गायनबाट प्रभावित भएर घन्टौँ साधना गर्ने नारायणगोपालको जीऊडाल र कदकाठी पनि उनकै जस्तो देखिन्छ, चौडा छाति, बलिष्ठ बलवाहु र गरजदार आवाज । यी दुवैमा धेरै कुरा समानता देखिन्छ । दुवै शारीरिक व्यायाम प्रशस्त गर्ने, खान्कीमा पनि निकै बल गर्ने । रसरसादी पिउन र चिया चुरोटका पनि अम्मली ।
संयोगले दुवैको मिल्दो अर्को चरित्र हो, ग्यारेजको हेड मिस्त्री ।
नारायणगोपाल गायनमा स्वर सम्राट हुनु अगि हेटौँडाको एउटा आरडीएक कार्यायलमा हेड मिस्त्री थिए ।
त्यतिवेला उनी सँगै काम गरेका नुवाकोटका रामहरि रिमाल लेख्छन्, नारायणगोपाल राम्रो गाउने र त्यही रहेका अर्का मिस्त्री शास्त्रीय संगीततका ज्ञाता सत्पालजीले नारायणलाई नयाँ राग ढाल्न सघाउँथे । यहाँ हुँदा उनले आफ्ना अनेक हुनर देखाए ।
विक्रम संवत् २०१८ सालमा आफ्ना दाजु नन्दगोपाल गुरुवाचार्य आरडीएकको डिभिजन अफिसर भएर जाँदा नारायणगोपाल पनि हेटौँडा पुगेका थिए , मोटर ग्यारेजको हेड मिस्त्री हुन ।
नारायणगोपालका भाइ गायक मनोहरगोपाल गुरुवाचार्य स्वरसम्राटको २५ औँ पुण्यतिथिमा यो कुरा सम्झना गर्दै भन्छन्, गाएर जीवन गुजारा हुँदैन भनेर बुबाले उहाँलाई त्यहाँ पठाएका थियो तर एउटा गायकको त्यहाँ पनि मन बस्न  सकेन । त्यहीँ हुँदा उहाँको गीतकार क्षेत्रप्रताप अधिकारी, गायक संगीतकार भीम विरागसित भेट भएको थियो । ”
भीम विरागको आजभोलि हरेक साँझ मात्तिन थालेछ, तिमीले पनि मजस्तै माया दिएर हेर, कसरी म भुलेँ जस्ता गीतमा पछि नारायणगोपाल जमेका छन्, त्यो हेटौँडा बस्दाको निशानी हो ।
स्वरसम्राट नारायणगोपाल हेटौँडमा हेड मिस्त्री हुँदा क्षेत्रप्रताप अधिकारी साझा यातायातमा सहायक चालक थिए, यी दुईको यही परिचय पछि दिव्य खालिङ को संगीतमा म त लालीगुराँस भएछु मा लालीगुराँस झैँ फैलियो ।
त्यो ग्यारेजमा नारायणगोपालले कैयन् गीत गाए वा सुनाए । आज उनको आवाज त्यो ग्यारेजमा सीमित रहेन ।
००

Sunday 10 January 2016

Lekhak Hunu ko Abhinaya

लेखक हुनुको अभिनय
प्रकाश सायमी
 काठमाण्डूको सबैभन्दा पुरानो सिनेमा हलको नाउँ संयोगले काठमाण्डू सिनेमा हल नै थियो । यो हललाई पछि साहु भुवनेश्वर अमात्यले किनेर प्रयोगमा ल्याए, जनसेवा हल नाउँबाट ।
जनसेवा हलले शाही शासनकालमा जनता र राजा दुवैलाई सिनेमा मार्फत् मनोरञ्जन दिँदै आएका थिए । यो हलमा अन्तिम चलेको फिल्म थियो, द मिशन अफ् डैञ्जर ।
यो सिनेमा चल्दै गर्दा २०१८ सालको भदौमा यो हलमा आगो लगाइयो , आगालागी पछि हलका सबै कुरा  सत्यानाश भए ।  हलकै भग्नावशेषमा अहिलेको व्यापारीक हब विशाल बजार बन्यो ।
१८ सालपछि यो हलले काठमाण्डूको जनजीवनसित सबै कुराको सम्बन्ध तोड्यो , इतिहास केही रहेन । रह्यो त एउटै कुरा , जनसेवाका अन्तिम म्यानेजरको टिप्पणी ः
“हल जलेपछि म ढुक्क भएँ, अब कसैलाई हल म्यानेजरको रुपमा नयाँ वर्षको शुभकामना लेखीरहनु परेन ।  ”
जनसेवा हलका अन्तिम म्यानेजर थिए, हल मालिक भुवनेश्वर अमात्यका छिमेकी शंकर । शंकर लामिछाने यसअगि नै नेपाली साहित्यमा निवन्धकार, कथाकारका रूपमा परिचित थिए ।
शंकरले यही समय हलको जागीरबाट सन्न्यास लिएर क्यूरिओ पसल खोले न्यूरोडमा । तर सिनेमा हलसितको उनको पूर्वसम्वन्धले सिनेमा र सिनेकर्मीसित जोडिरह्यो । विशेषतः विहाइन्ड द स्क्रिनमा ।
 माउन्ट इज योँग् नामक् सिनेमाका निम्ति लियाजेँ अफिसर भएर पोखरा पुगे लेखक र फिल्मकर्मीसित । सिनेमाको छायाँकन त भएन तर यस चलचित्रमा उनी मज्जाले आवद्ध भए ।
सिनेमासित उनको अर्को रोचक सम्वन्ध रह्यो, निजी क्षेत्रको पहिलो नेपाली चलचित्र माइतीघर ले गर्दा । सुमनाञ्जलि फिल्म्स् का निम्ति डा जोगेन्द्र झा र जनरल नरशम्सेरले बनाएको फिल्म माइतीघर को नामाकरण नै शंकरले गरिदिएका थिए जसका कारणले पछि सिंहदरवार, थापाथली र बबरमहलको चौतारोको नाउँ नै माइतीघर चोक हुन पुग्यो किनकि त्यही माइतीघर फिल्मको कार्यालय थियो ।
माइतीघर फिल्मको न्वारन शंकरले गरिदिएको भएपनि यसमा उनी अन्य किसिमले आवद्ध थिएनन् ।
सिनेमामा अत्यधिक रुचि राख्ने शंकरले आफ्ना समयका चर्चित नायिका मार्लिन मनरोको भनाईलाई धेरै ठाउँमा सन्दर्भतः कोट अनकोट गरेका छन्, मलाई जोक नबनाऊ भन्ने भाषामा ।
सिनेमाप्रेमी शंकरले आफ्ना निवन्धमा त्यतिवेलाका चर्चित अभिनेता जोन गिल्गुइड को अन्तर्वार्तालाई साभार गरेका छन् । त्यतिवेलाकै चर्चित निर्देशक फ्रान्क काप्राको नाउँ सापट लिएर कथा कसको टाउको भन्ने कथा पनि लेखेका छन् ।
शंकरको अध्ययनको दायरा व्यापक र विस्तीर्ण त थियो नै तर उनी सिनेमको चास्नी लिएर साहित्यमा त्यसको भिजीनरी –दृश्यीक स्थायीत्वको सिद्धान्तअनुसार दृश्यसत्ता दिन सक्ने ) हस्ति थिए । उनका कतिपय निवन्ध वा कथा यसै क्षमताका परिचायक थिए ।
शंकरले सिनेमाको आफ्नो अनुभव विज्ञापन लेखनमा पनि प्रयोग गरी भ्याएका छन् । रुपरेखा को पहिलो अंकमा प्रकाशित मोरंग सुगर मिलको विज्ञापनमा उनले चिनी र साहित्यको तुलना गरेर लेखेको सन्दर्भ सम्झनायोग्य छ ।
निवन्धमा उनले भित्र्याएको क्लोज अप र लंग शट्को भाषा सिनेमाकै उपज थियो भनें अन्तर्वार्तामा उनले भित्र्याएको प्रोफाइल को कन्सेप्ट पनि सिनेमाकै देन हो ।  विम्ब प्रतिविम्बमा पाइएका निवन्धमा उनको फ्ल्याशव्याक शैलीको लेखन सिनेमासित निकटता राख्दछ ।
सिनेमासँग उनको गज्जबको लगाव थियो भन्ने देखिन्छ । फ्रान्सबाट विकसित भएको नयाँ कला सिनेमामा मात्र होइन, चित्रकला अनि संगीतमा उनको वर्चस्व एउटा पाठक वा भावकको भन्दा वढी थियो । उनी चित्रकलामा वर्गसाँ, मोनेँ, पिकासो, डालीको चर्चा गर्छन् भन्ने संगीतमा विथोवन, बाख, मोत्सार्टका सन्दर्भ गाँसिरहन्छन् ।
नेपालमा रेडियोको स्थापना भएपछि पहिलो गीत लेख्ने र  बजेको आधारमा रेडियोको पहिलो गीतकारको खिताब पाउने रचनाकार शंकरका अन्य गीत अम्बर गुरुङको आवाजमा रेकर्डवद्ध छन् । रेडियो नेपालले सदैव उनलाई पहिलो गीतकारको रुपमा नै सम्मान दिइरहन्छ ।
नेपालीभाषाप्रेमी शंकरले नेपाली साहित्यमा हिन्दी, उर्दू, फारसी, नेवारी, अँग्रेजी शब्द  भित्र्याउने श्रेय पाएका छन् , उनैले हो नेपाली भाषामा आफ्नो किताबको नाउँमा अँग्रेजी शब्द एब्स्ट्रैक्ट प्रयोग गरेर पहिलो पर्दा खोले । उनले बनाएको यो बाटोमा आज धेरै युवा पुस्ता पचासवर्ष पछि पनि सक्रिय छन् ,  आज त नेपाली साहित्यमा यो त एउटा फैशनको अख्तियार नै  भइसक्यो ।
आफ्नो पुस्तकमा अरुको भूमिका राख्न र लेखाउन मन नपराउने शंकरले पारिजातको शिरीषको फूल र पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे मा भूमिकाले नै तहल्का मचाइदिएका थिए ।
भूमिकाको आतंक मचाउने नेपाली साहित्यमा शंकर जतिको कोही हुन सकेन । शायद यो सरस्वति उनले मात्र पाएका थिए कि ?
जापान र भारत वाहेक अन्य मुलुकको भ्रमण नगरेका शंकरका निवन्धमा योरोप र अमेरिकाका सुगन्ध पनि प्रशस्त आउनुको कारण बुझ्न गाह्रो छ ।
नेपाली साहित्यमा धेरै कुरा भित्र्याउने शंकरले जापान गएर आएपछि हायकू विधा नेपाली साहित्यमा भित्र्याए, यसका लागि नेपाली साहित्यमा समाजमा नसम्झने को होला ? वा, कसले यो खण्डको इतिहास मेट्न सक्ला ?
जीवनमा एउटा ऐतिहासिक उपन्यास लेख्ने तयारीमा थिए शंकर तर प्रकाशकले धोखा दिएका कारण यस उपन्यासको भ्रूण हत्या भएको उनले स्वीकारेका छन् । त्यतिवेलाका पट्व्याइलर उपन्यासका अगाडि आफ्नो निवन्ध कृतिको बजार अलि अलि क्षय हुँदा उनले लेखे, मेरो कृति पचासवर्ष पछिका मेरा पाठकका लागि हुन् ।
आज पचास वर्षपछि नेपाली साहित्यमा सबभन्दा धेरै पढिने लेखकमा देवकोटा, भूपी पछि शंकर पनि पर्छन् तर त्यतिवेला चलेका ती उपन्यासकार अहिले रसातलमा पुगिसके । त्यसैले उनी सही थिए, बजारले बनाएका लेखक बाँच्दा रहेनछन् ती बजारकै लागि मात्र हुँदा रहेछन् ।
नेपाली साहित्यमा गोपालप्रसाद रिमालको आमाको सपना र पारिजातको शिरीषको फूल को जन्म देखि प्रकाशन र प्रकाशन देखि पुरस्कारको संघारसम्म पुर्याउन उनले गरेको यावत् मिहेनत विर्सन सकिने खालको छैन ।
आज पनि नेपाली साहित्यमा शंकर लामिछानेको निवन्धको एक टुक्रा लिएर लामो लामो निवन्ध लेख्ने कति कलमबाज होलान् तर तिनको सबको स्मृतिमा शंकर विभिन्न सन्दर्भमा होलान् तर हुनुपर्ने सम्झनाको एउटा पाटो हो, शंकरको रिडर्स भ्यालू ।
यसमा शंकरलाई कसैले सेकेन्ड बनाउन सकेनन् ।
शंकरलाई जीवनमा तीन कुराले खूब सतायो, पाठकले । पाठक जस्ता  साहित्यिकले । साहित्यिक जस्ता मित्रले ।
उनका साहित्यिक जस्ता मित्रले उनको नियमितजस्तो चलिरहेको ‘गोरखापत्र’ को स्थायी स्तम्भको लेखन धन्दा खोसीदिए, सँधै शंकर मात्र किन ? भनेर ।
उनलाई नियमित पढ्ने पाठक धेरै थिए भनें उनले लेखेको मननपराउने साहित्यिक मित्र पनि त्यतिकै थिए भनेर बुझन् सकिन्छ , तीले वारम्बार हमला गरे पछि उनले पचास रुपैञा पारिश्रमिक आउने नियमित स्तम्भ त्याग्नु पर्यो ।
उनले केही लामो समय नियमित लेख्न पाएका भए, नेपाली पाठकले कति धेरै विश्व साहित्य र लेखनको टेक्निकी सिक्थे होलान् , यो उनका साहित्यिक जस्ता मित्रलाई पचेन अनि शक्तिहीन अवस्थाम रहेका सम्पादकले पनि आत्मसमर्पण  गर्नुपर्यो । धन्न, शंकर त्यतिवेला अहिलेका जस्ता प्रकाशकका  नाता परेर वा पार्टी एउटै भएर जागीर पाएका पृष्ठ संयोजक वा सम्वाद्दातासित जुध्नुपरेन ।
शंकरको लेखनको युगमा पाठक र लेखकका वीच कुरा गर्ने माध्यम पुस्तक वाहेक अरु थिएन । यद्यपि लेखकले आफ्नो किताप वेच्न आज जस्तो सन्नी लिओनको अवतार लिनु पर्ने अवस्था पनि थिएन तर उनले आर्थिक अभावका कारण पुस्तक प्रकाशनपूर्व नै अग्रिम भुक्तानी लिने परम्परा शुरु गरे, पुस्तक संसारका  देवीप्रसाद काफ्ले त्यसका एक उदाहरण हुन् । जसले शंकरको विम्वप्रतिविम्ब छापे ।
शंकरकै समय उनका पाठकजस्ता साहित्यिकमित्रले ताजा हमला गरे, उनको साहित्यिक चोरी माथि । जसले गर्दा त्यसपछि शंकरले लेखनबाट वाकओभर लिए । यो उनी माथि भएको प्रमुख हमला हो जसका निम्ति नेपाली साहित्य सदैव त्रासदीय  देखिन्छ ।
सादृश्य रुपम ाशंकरको लेखनको  दुई युग छ, एउटा पाठकको युग र अर्को लेखकको युग ।
नेपाली साहित्यमा यो भाग्य धेरै कम लेखकलाई मिलेको छ । उनले पाठकले भनेका र चाहेका लेखिरहे तर त्यो कालान्तरमा लेखकका लागि रस्टक नै ठहरियो ।
उनी पाठकको माग आपूर्तिका निम्ति लेख्ने क्रममा धेरै पटक लेखक भन्दा तल्लो दर्जामा पनि झरे वा रहे, यो उनको महान् स्वीकारोक्तिमा देखिन्छ, उनी स्वयम्ले भनेका  छन्,
“बाँच्नका निम्ति मैले कैयन् झूठ बाँचेको छु । ”
यो हरेक लेखकको जीवनमा देखिइने एक  विडम्बना हो ।
सिनेमा र साहित्य मनपराउने शंकरको शुरुको सिर्जनात्मक यात्रा अभिनयबाट शुरु भयो, गौरी शंकर नाट्य समुदायको अभिनेताको रुपमा । यो अभिनयको यात्रा एकाधवर्षको रह्यो तर जीवनभर उनले लेखक हुनुको अभिनय गरिरहनु पर्यो र कहिले सच्चा लेखक । कहिले नक्कली लेखक ।
यो अभिनय अन्तिमसम्म कायमै रह्यो ।
जनसेवा हल आगलागी भएपछि उनले लेखेको पहिलो पंक्ति त्यसैको उद्वोधन थियो,
“अब नयाँ वर्ष शुभकामना लेखीरहनु परेन । ”
००