Monday 9 February 2015

Poem by Prakash Sayami

प्रकाश सायमी, (काठमाण्डौ)

तिमीलाई देखेको समय
मभित्र मौन उज्यालो खस्छ
अथाह वेग लिएर
तिमी समक्ष मेरो सामुदिक मनले
कविताको
भूगोल बनाउँछ
यत्र तत्र ।

चूपचाप तिमी कतै
चूपचाप म कतै
दुई अपरिचित जहाजजस्तै
हामी नाइल नदीको किनार भएर
वगिरह्यौँ
समय एक स्थिर स्वर भएर पर्खिरहेछ -
हामीलाई - चूपचाप ।
सिमानाको बाटो भएर बसेका
तिम्रा अचल नयनमा
असमान जुलुस देख्छु
आमन्त्रणको ।

म नतस्मतक
ऐना सम्मुख
सिँदूरको प्रतोलिका लिएर
उभिएकी विधवा झैँ
तिम्रा आँखाका गुफामुनि
आत्मसमर्पित छु
प्रिय !

हामी कविताका दुई पंक्ति झैँ
किनार किनार छौं
हामी कविताका दई मुद्रा झैँ
अधर अधर छौँ
तिमीलाई देखेको समय
मैले मेरो ईश्वर मरेको घोषणा गरेँ
तिमीलाई देखेको समय
मैले मेरो नयाँ ईश्वर जन्मेको घोषणा गरेँ ।

Saturday 7 February 2015

Parda dekhi Pardasamma by Prakash Sayami

पर्दा देखि पर्दा सम्म
प्रकाश सायमी



 टाढाबाट हेर्नेले सिनेमालाई ‘मनोरञ्जनको दुनियाँ’ मात्र  भन्छन् । यसलाई मनसित मात्र पनि जोड्छन् । मस्तिष्क वा अन्य अवयवसित यसको काम नभएको ठहर गर्छन् तर रमाइलो कुरा विश्वका तीन चिन्तक कार्ल गुस्ताभ जुँग, रमन महर्षि र सिग्मन्ड फ्रायोडले यसलाई जीवनको हरेक पाटासित जोडेका छन् ।
अनपेक्षित रुपमा सिनेमाको मास अपिल धेरै छ सिनेमा नबुझ्नेका लागि अपार छ ।
‘सिनेमाले सारा संसार बद्लिन सक्छ’ भन्थे, रुसका नेता लेनिन । उनले आफू भूमिगत हुँदा धेरै राम्रा सिनेमा  ज्यूरिचमा हेरे भने आफू सत्तामा आएपछि उनले रुसमा सिनेमाको विद्यालय खोल्न पहल गरे । र, उनैले कुलेशाव, पुडोवकिन र डोभजेन्को जस्ता फिल्मकर्मीलाई फिल्म पढ्न र पढाउन कर गरे ।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले हिन्दी सिनेमासित सितै हाल मिलाएर सिनेमा हाम्रो संसार हो भनेर सम्वोधन गरे अनि बलिऊडका तीन नायक देव आनन्द, दिलीपकुमार र राज कपूरलाई जोडेर थ्री वीगको नाम दिए । उनका समकक्षी पाकिस्तानका प्रधानमन्त्री मोहम्मद अली जिन्ना मुम्बई हुँदा अभिनेत्री नरगीसको शुटिँग हेर्न गइरहन्थे ।
चीनका चर्चित नेता माओ डे जुँग हलिऊडका अभिनेता चार्ली च्याप्लिनका फ्यान थिए, उनी उनलाई पछ्याइरहन्थे ।
सिनेमासित जोडिएका धेरै राजनीतिक परिवार विश्वभरि नै छन् । सिनेमा ठूलो कुरा होइन तर ठूलो कुरा बनाउँछ जीवनलाई ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो राजनीतिमा आउन भन्दा अगि सिनेमामा रुचि लिन्थे, उनलाई सिनेमा ल्याउन बलिऊडका फिल्मकार ओपी रल्हनले पुरै कोशिश गरेका थिए तर उनले आँट गरिनन् । बेनजीर पढाइसकेर नाटकतिर त लागिन् । सिनेमालाई उनले आफ्नो कप अफ टी बनाउन चाहिनन् ।
बेनजीर जस्तै पाकिस्तानका चर्चित क्रिकेट खेलाडी इमरान खानलाई सिनेमामा अभिनय गराउन भनेर नै बलिऊडका फिल्म निर्देशक देव आनन्दले अब्बल नम्बर नामको सिनेमा लेखे । राजनीतिक कारण आपसी द्वन्द्वका कारण पाकिस्तानी मूलका खानले हिन्दुस्तानी सिनेमा अव्वल नम्बर खेल्न सकेनन् । समय आयो सिनेमा बन्यो तर इमरानको ठाउँमा अमिर खानलाई लिएर ।
इमरान खान, बेनजीर भुट्टो जस्तै भारतका पूर्व प्रधामन्त्री राजीव गान्धीलाई सिनेमामा अभिनय गराउन मुम्बई फिल्म उद्योगका धेरै निर्माता निर्देशकले ताकेता गरेका थिए तर सकेनन् तर अन्तिम पटक ओपी रल्हनले गरेको कोशिशले राजीव एक्टर बन्न सकेनन् बरु उनका साथी अमिताभ बच्चन चैँ पर्दामा आए , नायक भएर ।
सिनेमासित अद्भूत आकर्षण छुन सक्ने र तान्न सक्ने । तर जसलाई सिनेमासित मोह छैन ती  सदैव यो आर्क लाइट र चकाचौँधबाट परै रहन्छन् । अभिनेता नेता भएका छन् तर नेता अभिनेता भएको इतिहास कमै छ ।
गायक, खेलाडी, सामाजिक अभियन्ता वा टीभी एँकरले पर्दामा छवि निर्माण गरेका छन् । तर कतिले चाहेर पनि सिनेमासित साइनो जोड्न सकेका पनि छैनन् ।
सिनेमा गज्जबको ठाउँ हो यहाँ  आउन चाहने जीऊज्यान लगाएर महिरहत्ते गर्छन् तर कोही बोलाउँदा पनि आउन मन गर्दैनन् ।
गायक प्रेमध्वज प्रधानले म गायक मात्र हुँ नभनेको भए उनी पहिलो नेपाली चलचित्र माइतीघरका नायक हुन्थे वा उनी नेपाली सिनेजगतकै पहिलो नायक मानिन्थे । तर उनले माइतीघर की नायिका माला सिन्हा, निर्देशक वीएस थापा अनि निर्माता जोगेन्द्र झाको प्रस्तावलाई सामान्य शर्तमा अस्वीकार गरिदिए जसले गर्दा माइतीघरमा भानु राणाले नायक बन्ने कोशिश गरे । भानु पनि टिक्न नसकेपछि अन्ततः गीत गाउनै त्यहाँ पुगेका सीपी लोहनी माइतीघरका नायक भए ।
माइतीघर को यो कथा जस्तै आमा चलचित्रको पनि त्यस्तै कथा छ , गायक शिवशंकर मानन्धर यसका नायक बने । उनले पनि यसपछि लोहनीले जस्तै अभिनयलाई त्यागी दिए ।
होटल व्यवसायमा सम्बद्ध र शाहकालीन समयमा दरवारसित निकटस्थता भएका सहदेव शम्सेर राणा पनि सिनेमा खेल्न मुम्बई सम्म पुगे, आफ्नो लाखौँलाख खर्च गरेर । तर उनलाई के आसिफ ले नायक बनाउन खोजे पनि उनलाई मुम्बई फापेन उनी सिनेमा छोडेर पछि नेपाल फर्केर होटल अन्नपूर्ण चलाएर बसे । र, पछि  उनी बलिऊड, हलिऊडबाट आएका कलाकारलाई होटलमा रात्रिभोज दिएर बसे । सिनेमासित उनको सम्वन्ध यति मात्रै रह्यो ।
बलिऊडसित प्रत्यक्ष नाता नभएपनि काठमाण्डू न्यूरोडमा होटल चलाएर बसेका मथुरा श्रेष्ठले हिन्दीमै पहाडी जवान भन्ने सिनेमा बनाएर नाता जोडे तर उनी पनि यही एउटा सिनेमाबाटै पलायन भए ।
सिनेमामा मानिस तीन कारणले आकर्षित हुन्छन्, प्रसिद्धि, सन्तुष्टि र जनसम्पर्क । तर आर्थिक कारण पनि पछि यसको सहारा बन्न जान्छ । नेपाल र भारत जस्तो गरीब मुलुकमा धनसम्पत्ति भन्दा जीवन गुजारा नै प्रुमख कारण बन्न गएको छ ।
आमाबाबुले अशिक्षा र अभावका कारण बालकालमा छोराछोरीलाई सिनेमामा प्रवेश गराइदिएपनि पछि त्यो तिनको एउटा नशा वा अभिव्यक्तिको सशक्त माध्यम बन्न जान्छ । बलिऊडकी प्रसिद्ध अभिनेत्री रेखा आफ्ना माता र पिता दुवै सिनेमामा भएका कारण सिनेमाप्रति आकर्षित थिइन तर पछि उनलाई परिवारले कि त पढ, कि त सिनेमामा जाउ भने पछि उनले वाध्य भएर सिनेमा नै चुनेकी बताएकी छिन् । सोफीया लरेन, झँ मारियाका पनि यस्तै कथा छन् ।
नेपाली सिनेमामा अभिनय गर्न आएका नायक शिव श्रेष्ठ कुनै पनि सामान्य भूमिकामा खलनायक सम्म भएर खेल्ने रहरले आएका थिए उनी नायक भए र स्थापित भए भने उनकै समकालीन अर्जुनजंग शाही नायक हुने इच्छाले आउँदा पनि खलनायकमा प्रविष्ट भएर पछि पेशागत कारणले चलचित्रबाट दूरस्थ हुनु पर्यो । अर्जुनले पछि  पनि चलचित्रमा पुनरागमन गर्ने कोशिश गरे पनि उनलाई सिनेमालाई सहृदयतपूर्वक लिन सकेन । उनी सिनेमाको सीमाबाट बाहिरै रहे ।
अर्जुनजंग शाहीले खलनायकमा प्रवेश पाएकै वेला सिनेमाको चस्का लागेका शरतसिंह भण्डारी पनि जीवन रेखा नामक् चलचित्रका निम्ति खलनायकमा चयन भएका थिए तर उनी आफ्ना पिताको अकस्मात् भएको निधनका कारण गाउँ फर्किनु पर्यो र अन्ततः उनले पिताको राजनीतिक जीवन सम्हाल्न सिनेमालाई छोडेर राजनीतिमा प्रवेश गरे ।
पञ्चायतकालमा रापसबाट राजनीतिमा प्रवेश गरेका भण्डारी पर्दामा नआइकनै हराउने एक कलाकार थिए । पछि उनले चलचित्रको मुहूत्र्तमा आउने र क्ल्याप बजाउने बाहेक अरु काम गर्न  सकेनन् । शरतसिंह भण्डारी जस्तै साहित्यिक जगतमा कलम  चलाइरहेकी शारदा शर्माले पनि कान्छी नामक् चलचित्रमा नायिकाको भूमिकाको निम्ति अभियनमा कोशिश गरेकी थिइन् । साहित्यकार महेश्वर शर्माकी छोरी शारदा अभिनयमा आउन लागेको कुरका उनकै समकालीन मित्र चेतन कार्कीलाई मनपरेको थिएन र उनले शारदालाई चलचित्र चुनौतीपूर्ण पेशा हो भने हटाइदिइन् ।
शारदा शर्मा हाल साहित्यमै सक्रिय छिन् लेखन र अध्ययनमा । अनि विशेषतः धार्मिकस्थलको यात्रामा । शारदाको ठाउँमा कान्छीमा त्यतिवेला एभेरेष्ट दन्तमञ्जनको विज्ञापन खेल्दै गरेकी शर्मीला शाह देखा परिन् उनले कान्छी पछि वासुदेव, के घर के डेरा, चिनो, बादल, गोठालो जस्ता सिनेमामा अभिनय गरेर शारदाको अभावलाई पूरा गरिन् ।
शर्मीला शाह सिनेमामा आएकै समय निकै ठूलो अभ्यास र मिहेनतले अंशुमाला अर्थात् सुषमा शाही पनि चलचित्रमा आएकी थिइन् । चलचित्रप्रेमी धीरेन्द्र शाहीकी छोरी अंशुमालालाई उनकै मामाको नाता पर्ने हेमबहादुर लामाले निकै तालीम, दिग्दर्शन र दिशा निर्देशन  दिएर चलचित्रमा ल्याएको  भए पनि पछि उनी टेलिभिजन प्रस्तोता विजयकुमार पाण्डेसित विहे गरे पछि सिनेमाबाट ओझल परिन् । त्रिभुवन विश्वविद्यालयबाट एमए गरे पछि म पुनः चलचित्रमा आउँछु भनेकी अंशुमालालाई एमएले भन्दा विहेले वाधा पुर्यायो उनी फर्केर नेपाली सिनेमामा आउन सकिनन् । उनले पच्चीस  वसन्त र टेलिसिरियल मृगतृष्णा मै आफ्नो प्रतिभालाई सीमित राखिन् । तर अंशुमालासित अभिनयमा आएका विजय लामा अहिले हलिऊडको सिनेमामा समेत छाउँदैछन् र सक्रिय फिल्मी जीवन विताउँछैन् । महिलालाई अवसरले मात्र पनि सफलता नदिँदोरहेछ भन्ने उदाहरण यो पनि एउटा हो ।
विजय लामासँगै अभिनयको कखरा सिकेकी अंशुमाला अब विजय कुमारकी पत्नी भनेर मात्र चिनिन थालेकी छिन् त्यो पनि विजयकुमारसित कुनै कार्यक्रममा देखिइन् भने ।
अंशुमाला जस्तै सूर्यमाला शर्मा पनि सरोज खनालसित विहे गरेपछि हराएकीछिन् भने लामो अन्तराल पछि सूर्यमाला भाष्कर ढुँगानाको सिनेमा सुन्तलीमा देखा पर्दैछिन् । सूर्यमालाकी बहिनी चन्द्रमाला जो माला परिवारकी पहिलो सिनेकलाकार थिइन् जसले सिनेकलाबाट विदा लिएर अहिले जुत्ता पसल चलाएर बसेकीछिन् दरवार मार्गमा ।
चन्द्रमाला जस्तै कुनै समयकी चर्चिता सिनेनायिका रुपा राना अहिले जमलमा झोला व्यवसाय गरेर बसेकी छिन् ।
सिनेमा अद्भूत संसार हो, कोही पस्छन् कोही फर्किन्छन् कोही अल्झिरहन्छन् । यो एक्जिटको  ढोका जस्तै हो । यहाँ टिक्न धेरै समय र  संयम चाहिन्छ । त्यसको ज्वलन्त उदाहरण हो, कुनै समयका चर्चित राजनीतिज्ञ फत्ते सिंह थारुकी साली सुषमा शाही को ।
मनको वाँध की नायिका सुषमा शाही परिवर्तन र कान्छी जस्ता चलचित्र पछि प्रतिभा, रुप र सौन्दर्य हुँदा  हुँदै पनि ललिऊडका सिनेमा खेल्ने लालसाले पाकिस्तान गएपछि उतै पलायन भइन् । कहिलेकाहीँ उनको परिवारमा अरुले सिनेमाको रुचि देखाएपनि कोही देखा पर्न सकेको छैन, रंगीन पर्दामा ।
सिनेमामा आउन पाएर पनि  हराएका कैयन् कलाकार छन् , जसमध्ये डली गुरुङ र सिर्जना योञ्जनको नाउँ अग्रस्थानमा आउँछ । चाउचाउको विज्ञापनमार्फत् काँचको पर्दामा देखिए डली –(प्रतिभा गुरुङ) पाकिस्तानी निर्देशक आर एस सुलेमानको सात विजलीयाँ की एक बिजुली थिइन् । यो सिनेमा पछि डली पाकिस्तानमा चर्चित अभिनेत्री मध्ये एक थिइन् तर उनको जीवनचक्र मलेशिया, हँगकँग हुँदै अन्ततः चलचित्रको  रिलजस्तै घुम्दै ललितपुरकै झम्सिखेलमा सीमित भयो ।
सिनेमाबाट पलायन भएपछि काठमाण्डूको  त्रिपुरेश्वरमा रोल्स् नामक् रेस्त्राँ खोलेर पुनः नेपाली समाजमा देखा परेकी डली अहिले घरेलु म्यागेजीनका आवरणमा स्वास्थ्यवारे जानकारी दिँदै गरेको देखिन्छिन भने उपत्यकामा हुने ह्यापिनिँग्स्मा उनी आफ्ना पतिका साथ झल्किन्छन् मात्रै ।
नेपाली संगीत जगतमा किरण प्रधान, विनोद स्याँग्देन, वीके गिरी,  विमला राई, संगीता प्रधान, तारा थापा जस्ता गायक गायिकालाई सपरिचित गराउने संगीतकार गोपाल योञ्जनले चलचित्रका निम्ति सबभन्दा बढी यादगार गीतमा संगीत दिए भने उनले चलचित्र र आधुनिक  संगीतमा दिएका उनका गीत उनका सन्तान मात्र होइनन्, नेपाली कला सौन्दर्यको श्रीसम्पत्ति नै बनेको छ । उनको जेठी सन्तान  सृजना योञ्जनलाई उनले नै संगीत गरेको नेपाली सिनेमा पहिलो  प्रेममा नायिका को रुपमा निर्देशक चेतन कार्कीले चयन गरे तर सिनेमा शुरु भएर केही दिनपछि दुर्घटनामा परेर हात भाँचिए पछि सृजना अचानक सिनेमाबाट हटाइन् र उनको  ठाउँमा करिश्माले प्रवेश गरिन् ।
सांगीतिक परिवारबाट ठूलो सम्भावना बोकेर आएकी सृजना सिनेमाबाट हराए पनि हाल केही विज्ञापन र टेलिभिजन कार्यक्रमको एङ्करको रुपमा देखापरिरहन्छिन् , यो नै उनको निरन्तरता मान्न सकिन्छ ।
यदि सिनेमा सजिलो विधा हुँदो हो त अभिनेता राजेश हमाललाई उनका पिता चुडाबहादुर हमालले थिँक् ट्वाइस् भन्ने थिएनन् । वा कविपुत्र अमिताभ बच्चनलाई उनका पिता डा हरिवंश राय वच्चनले सिनेमामा भित्र भएर पनि हामी बाहिरै रहनुपर्छ भन्ने थिएनन् । यो सिनेमाको स्वभाव हो, मुम्बईकी चर्चित अभिनेत्री लीला नायडुले होटल व्यसायी ओवेरायसित विहे गरे पछि सिनेमालाई अछुत मान्नु पर्यो भने शाहरुख खान अभिनीत स्वदेश की नायिका गायत्री जोशी पनि त्यही परिवारको बुहारी भए पछि सिनेमा उनको निम्ति परदेश भएको छ ।
के सही के गलत सिनेमामा भन्न गाह्रो छ, वीवीसी नेपाली सेवामा कार्यरतर सञ्चारकर्मी रवीन्द्र मिश्रले हाइवे नामक् सिनेमा खेलेपछि असन्तुष्टि व्यक्त गरे र फेरि अभिनय सिके बलिऊड अभिनेता नसीरुद्दीन शाहसित । बलिदान फिल्मबाट फालिए पछि पनि अभिनेता अनुप बराल अभिनयमा कोशिश गर्दैछन्, मूलधारमा पाखुरी मुसार्न । केही टीभीसिरीयल र सिनेमाको अभिनयको असफलता पछि रंगकर्मी सुनील पोखरेलले आफूलाई रंगमञ्चमै सीमित राखे । मनबहादुर मुखिया, हरिवहादुर थापा, लक्ष्मी श्रेष्ठ, टीका पहारी, गौतम तुलाधर, कृष्ण मल्ल  यस्तै स्मृतिकोशका पात्र भएका छन् ।
सिनेमा कला मात्र होइन, यो व्यवसाय पनि । कलामिश्रित व्यवसाय । जहाँ व्यसाय हुन्छ, त्यहाँ टिकाउ हुनलाई विकाउ हुन जरुरी छ । जहाँ क्रयविक्रयको मापदण्डको धरा हुन्छ , त्यहाँ राजनीतिक दाउपेच र चलखेल चलिरहन्छ । त्यसैले चर्चित फिल्मकर्मी उडी एलेन आफ्नो सानो विचारमा यसो भन्छन्, “सिनेमा उद्योग कुकुरले कुकुर टोक्ने व्यवसाय हो । फरक यत्ति हो, यहाँ एउटा कुकूरले अर्को कुकूरलाई तेरो फोन आएको  छ भन्दैन ।”
००

Thursday 5 February 2015

Narayan Gopal by PS

समानताको स्वर र असमानताको जीवनः नारायणगोपाल
प्रकाश सायमी, (सैंबु, ललितपुर)

यो वर्ष नेपाली आधुनिक संगीतले एकसय एक वर्षमा प्रवेश गरेको छ भने यही वर्षबाट नारायणगोपालले गाउन शुरु गरेको पनि एकाउन्न वर्ष पूरा भएको छ । नेपाली सुगम संगीतमा नारायणगोपालले गाउन प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खर दशवर्ष पुगेको थियो । दशवर्षे रेडियोमा आफ्ना साथी माणिकरत्न स्थापित र प्रेमध्वजको संगीतमा गीत गाएर स्वर परिक्षामा उत्रेका गायक नारायणगोपालले पाँचवर्षभित्र रेडियो नेपालका एक स्तम्भ बन्ने सौभाग्य हासिल गरे । उनी कम समयमा रेडियो नेपालका चर्चित गायक र संगीतकार नै भए । उनले आफ्नो संगीतमा गाएका गीतले नै उनलाई नाप्न नसकिने प्रसिद्धी दियो जसका हकदार उनी स्वयम् नै थिए तर उनको ख्यातिको पहिलो अंश उनका गीतकार रत्नशम्सेर थापा, उनका सहगायक र सहगायिका तारादेवी र दिलमायालाई पनि जान्छ ।

नारायणगोपाले शुरुमा गायक भएर त्यसपछि नायक भएर र पछिल्लो वा अन्तिम चरणमा सहायक भएर गाउन थालेको इतिहास इन्छ नारायणगोपालको शुरुवती गायन नारायणगोपालले पहिलो पटक त्रिचन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरुका आग्रहमा मञ्चमा उत्रिने आँट गरे । जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए । काठमाण्डू किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानको स¨तमा धेरै हिन्दी गीतमा स्वराभ्यास गरे । तलत महमुद र के एल सहगललाई अति मनपराउने नारायणगोपाल अनि करण देवानलाई मनपराउने माणिकरत्न स्थापित र मन्ना डेको गीत गाएर स्वर परीक्षामा उत्रेको प्रेमध्वज वीच मोतालमेला संगीतकै कारण शुरु भयो र तीनैजना माणिकरत्नको घरमा आएर संगीताभ्यास गर्न थाले । माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए । गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो । उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे ।

प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए , त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छओटा गीत तयार भए , ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । उनले त्यस संकलनमा चारओटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल –बिछोडको पिडा र ए कान्छा ठट्टैमा यो बैंश जान ) गाए । यस गीतका सम्पूर्ण रेकर्डि¨ भारतवर्षको कोलकतामा सम्पन्न भयो । त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो । उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे ।

राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए । पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई ज¨लभरिका औंलाहरुले चुम्न’ जस्ता गीत गाए । यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासित परिचित गरायो । उनी युवा हृदयका प्रिय गायक नै मानिए । उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो । यससमय नेपाली संगीतमा
जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसित स्पर्श गर्दै
नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे । उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए । उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसित विचारविमर्श गर्न थाले ।

यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो , बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रुपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार स¨ीतकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए । गोपाल योञ्जनसितको मितेरी साइनोपछि उनको गायनमा स्वतः परिवर्तन आएको कुरा पछि उनका पत्नी पेमाला गुरुवाचार्यले स्वीकारेकाछन् । नारायण–गोपाललाई मीत लगाइदिने ईश्वरवल्लभको भाषामा नारायणगोपाल त्यसपछि नेपाली हृदयका गायक भए । उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, बियोगका र बिरहका गीत गाउन थाले । उनी यस समय साँच्चै नेपाली संगीतमा नायक भएर देखापरे ।

बीसको दशकमा उनको शालीनता नेपाली सुगम संगीत बीसको दशका स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो । यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो । यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो । यसलाई जित्न वा छोप्न नेपाली गीतिजगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो , यही क्रममा नारायणगोपालले गोपाल योञ्जनसित मिलेर
असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए । बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले गोपाल योञ्जनलाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा बिशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे । उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे । यही समय उनी हरेक संगीतकार प्रिय गायक भए । त्यतिवेला उनले युग बनिसकेका संगीतकार नातिकाजी,
शिवशंकर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे । उनलाई चेतनाका गायक पनि भन्न थालियो ।

बीस दशकमै उनले आफ्ना प्रशंसिका पेमालासित विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो , यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसित र हेटौँडामा गीतकार स¨ीतकार भीम विरागसित उठबस शुरु भयो यसको परिणमतः उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए , भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए । प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मीतज्यू गोपाल योञ्जनलाई जान्छ । यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन । नारायणगोपाल परिवर्तनको संघारमा हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाण्डू आए र जागीरे भए नाचघरमा । आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले । नाचघर पस्दा उनी बाद्यवादकका रुपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए । उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरु गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरुलाई छोड्दै गए । त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसित हुुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो ।

उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए । उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसित बोलचाल बन्दको अवस्था बन्न पुग्यो । उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसित पनि दुरी बढाए । आफ्ना मितज्यू गोपाल योञ्जनको विवाह पछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन
आयो । उनी एक्कासित परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासित भेट भयो । त्यसमध्ये दिव्य खालिङसित उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे । त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो । यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकु¥यालसित उठबस शुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए । संगीतकारमा नयाँ पुस्तामा शम्भुजित बास्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे । यस ख्यातिको समय नारायणगोपालको गायनको मूल्याँकन गर्दा उनी यतिबेला संगीतजगतमा स्थापित हुने चाहने नयाँ पुस्ताका सहायक मात्र बन्न पुगेको पनि देखिन्छ । उनले धेरै युवा पुस्तालाई जगदिन कमजोर गीत पनि गाए भन्न सकिन्छ । त्यसमध्ये रञ्जित मेरको बीरताको चिनो, पहाडको माथि–माथि जस्ता गीतबाट उनले आफ्नो लागि भन्दा अरुका लागि जग बनाइदिए । यो समय उनी सहायक भएर देखा परेको बुझिन्छ । अन्ततः नेपाली संगीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व नारायणगोपालले चलचित्रमा परिवर्तनमा भी बलसाराको संगीतमा गाउन शुरु गरेर अन्तिममा चोट चलचित्रमा भूपेन्द्र रायमाझीको संगीतमा बिरही माया अधूरो भयो सम्म गाएर आफ्नो सफल यात्रा तय गरे ।

कुल मिलाएर अठ्ठाईसवर्षको निरन्तर गायनमा नारायणगोपालले डेढ दर्जन चलचित्रमा गाए भने एकसय सन्तावन्न ओटा गीत गाए । उनले आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिकाको गीत बनाए । एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए । उनी पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रुपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए । चलचित्र कासेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए । उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए । यसको दाग उनलाई जीवनभर लागिरह्यो ।

चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए । फुटबल खेलका पारखी थिए । चेसका खेलाडी थिए । उनी भान्सामा कुशल भान्से थिए । र, शौखिन फोटोग्राफर थिए । उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे । उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स,साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना पूरा खटे । उनले आफ्ै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे ।
यी सबै इविबृत्त बाहेक नारायणगोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पंक्ति छ, नारायणगोपालको , उनी भन्थे, म गाउँछु केवल जनताको लागि गाउँछु ।

Cinema ko Katha by PS

एउटा सिनेमाको कथा
प्रकाश सायमी
००
 नेपाली सिनेमा बन्न थालेको धेरै वर्ष पछि मात्र मैले हिन्दी सिनेमा हेर्न थालेको हुँ, हिन्दी सिनेमामा विशेषतः मलाई एक्कासि तानेको दिलीप कुमार अभिनीत क्लासिक फिल्मले नै हो । दिलीप कुमारका ती सफल र सार्थक सिनेमासित निर्देशकीय विज्ञता घनिष्ठतापूर्वक जोडिएको हुन्छ भन्ने कुरा उनले अभिनय गर्ने चरित्र, मनोभाव र सम्वाद् प्रकट गर्ने शैलीबाट  थाहा हुन्थ्यो ।
अभिनेता दिलीप कुमार अघिल्लो चरणमा विमल रायका फिल्मबाट विख्यात भए ।
विमल रायका तीनजना सहायक ऋषिकेश मुखर्जी, वासु भट्टाचार्य अनि गुलजार पछि स्वयम् निर्देशक भएर आए, यी तीनैले फरक फरक धारका विशिष्ट शैलीका सिनेमा बनाए, जसले समानान्तर सिनेमाको नाम दिइयो । यी तीनैजना राजेश खन्नाको सुपर स्टारडमको युगमा आएका थिए निर्देशकीय छविमा । सबैले राजेश खन्नासित काम पनि गरे । तर वासु भट्टाचार्यले राजेश खन्नासित बनाएका कुनै पनि सिनेमा त्यतिवेला सफल भएनन् तर अचाक्ली राम्रा थिए भन्ने मलाई लाग्यो । र, मैले त्यसैवेला धर्मवीर भारतीको  सम्पादनमा प्रकाशन हुने धर्मयुग मा वासु भट्टाचार्यका सिनेमा असफल हुुनुका कारण वारे उनको राम्रो लेख पढेँ ।
साहित्यसित भन्दा साहित्यकारसित निकटता भएका भट्टाचार्यले प्रसिद्ध हिन्दी नाटककार मोहन राकेश लिखित आषाढ के एकदिन लाई पनि त्यो वेला फिल्माँकन गरिसकेका थिए तर रिलीज भएको थिएन ।
वासु भट्टाचार्यका कम बजेटमा बन्ने समानान्तर सिनेमा हेर्ने सुयोग त्यतिवेला काठमाण्डूका ठूला हलले भन्दा बढी वटु, प्युखा, मिखाबहालका भिडिओ पार्लरले दिए । तिनैको सौजन्यमा वासु भट्टाचार्यका राम्रा नराम्रा सबै सिनेमा हेर्ने सौभाग्य मिल्यो । हो, त्यही समय वासु भट्टाचार्यले निर्माताको रुपमा बनाएको सई पराञ्जपे निर्देशित स्पर्श पनि त्यही वेला हेर्ने मौका मिल्यो । तर स्पर्श रिलिज नुहुनुका पछाडि भट्टाचार्य नै प्रमुख कारण थिए भन्ने पनि त्यही वेला थाहा भयो ।
वासु भट्टाचार्य निर्देशकका रुपमा कतिपय ठाउँमा अति मनपथ्र्यो , कतिपय ठाउँमा समस्यामूलक । कतिपय ठाउँमा उनको अभिव्यक्ति स्वतन्त्र र स्पष्ट हुन्थ्यो कतिपय ठाउँ आश्चर्यास्पद् । उनका सबै सिनेमाप्रति मेरो रुटिन चेक अप स्कुले जीवनदेखि नै शुरु भइसकेको थियो । उनका वारेमा पनि मलाई प्रशस्त जानकारी भइसकेको थियो, चाहेर मात्र होइन नचाहेर पनि ।
उनी विमल रायका छोरी रिँकी भट्टाचार्यका पति । प्रसिद्ध फिल्म समीक्षक रिन्की र भट्टाचार्यका सम्बन्धका वारेमा बलिऊडका प्रायः सिने खबरकागजमा केही न केही मसलादार शीर्षक आइरहेका हुन्थे । हिन्दी सिनेमामा विवाहेतर सम्बन्धमा सिनेमा बनाउने भट्टाचार्यको आफ्नो वैवाहिक जीवन कहिले राम्रो भएन भन्ने पाठ्य सामग्री पनि हाम्रो भान्साकोठामा आइसकेको थियो ।
यस्तै खबर खातका वीचमा एकदिन वासु भट्टाचार्य एकदिन काठमाण्डू आए , एकदम मौनतापूर्वक ।
भद्रकाली मन्दिर छेवमा ट्याक्सीमा उनी छायाँकन गर्दै थिए, एउटा फिल्म पञ्चवटी । अभिनेता अकबर खान र दीप्ति नवल यसका नायक नायिका थिए । उनका क्यामेराम्या अदीप टण्डन व्यस्त थिए, सिंहदरवार अगाडिको सुनसान सडक खिँच्नमा । एकचालीस सालको काठमाण्डूमा सिंहदरवार मध्यान्हमा प्रायः जनहीन नै देखिन्थ्यो ।
पञ्चवटी नेपाल र भारत मिलेर बन्न लागेको संयुक्त लगानीको पहिलो फिल्म थियो,े निर्माता भारतका तर्फबाट शोभा डाक्टर र नेपालका तर्फबाट शाही नेपाल चलचित्र संस्थानका निम्ति टीका सिंह ।
टीका सिंह चलचित्र संस्थानका महाप्रवन्धक भएर आए लगत्तै  बन्दै गरेको यो सिनेमा पञ्चवटी हिन्दीका प्रख्यात उपन्यासकार कुसुम अन्सलको एक और पञ्चवटीमा आधारित थियो । यस सिनेमामा नेपालबाट कलाकारका रुपमा शान्ति मास्के, जयनेन्द्र चन्द ठाकुर, श्रीकृष्ण पौडेल, झलकमान गन्धर्व आदि सहभागी थिए भने बाँकी कलाकार र शुटिँगस्थल भारतको दिल्ली नै थियो ।
पञ्चवटी छायाँकन गर्न आएका वासु भट्टाचार्यलाई भेट्ने र अन्तर्वार्ता गर्ने नियतले एकदिन पत्रकार पुष्करलाल श्रेष्ठ र म उनी बसेको होटल शंकरमा पुग्यौँ । भट्टाचार्य खैरेनीमा शुटिंगक सकेर भर्खरै फर्केका थिए र थाकेका हुनाले उनले अन्तर्वार्तामा कुनै रुचि नै देखाएनन् । सामान्य भेटघाट पछि हामी फक्र्यौँ ।
हामीलाई लाग्यो, समय ठीक थिएन ः हामी फक्र्यौँ तर  पुष्करजीले नायिका दीप्ति नवलसित छोटो भलाकुसारी गरे जुन पछि कतै प्रकाशित पनि भयो तर मलाई वासु भट्टाचार्यसित उनको समग्र सिनेमाका वारे  भव्य कुराकानी गर्नु थियो ।
त्यसको केही दिन पछि वासु भट्टाचार्य र उनको टोली मुम्बई फर्के । तर वासु भट्टाचार्यसित त्यो भेट त्यहीँ टुँगिएन । त्यसपछि म सिनेमा  अध्ययनको काममा मुम्बई गएँ ।
मुम्बईमा करीब आठनौमहिनापछि एकदिन मलाई मेरा एक गैरभारतीय मित्रले  टीका सिंहले भेट्न खोज्दैछ भन्ने खबर  ल्याए, टीका सिंह ब्यान्ड् स्टाय्न्डको होटल सी रकमा बसेकीथिइन् , म त्यहीँ पुगेँ उनलाई भेट्न । उनी शानेचसंले संयुक्त लगानीमा बनाएको सिनेमा पञ्चवटी को नेपाली रुपान्तरण कामका निम्ति नै आएकी थिइन् ।
 म उनलाई भेट्न त्यहाँ  पुग्दा  गायक उदीतनारायण झा र गायक मुरलीधर मिजार पनि पुगिसकेका थिए ।
त्यहीँ थलोमा टीका सिंहसित कसले के काम गर्ने कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल चल्यो , उदीतनारायणले नायक अकवर खानको नेपाली आवाजमा स्वर लिप्यान्तरण गर्ने र मुरलीधरले अर्का नायक सुरेश ओवेरायको स्वरलाई भर्ने काम पाए । मेरो काम चैँ थपियो , म वासु भट्टाचार्यको सहायक भएर पूर्ण रुपमा महिना दुई महिना काम गर्ने । तर यो काम चैँ वासु भट्टाचार्यसित भेटे पछि मात्र निश्चित हुने पनि बताइन् । 
त्यही दिन त्यही होटलको प्रिभ्यू थिएटरमा वासु भट्टाचार्यसित भेट भयो, अँध्यारो स्टुडिओमा । भट्टाचार्य मलाई नै पर्खिरहेका थिए यसपालि ।
परिचय पछि उनले मलाई अँग्रेजीमै सोधे, हिन्दी बोल्न आउँछ ?
मैले भनें, वासुदा । तपाइँहरुकै फिल्म हेरेर सिकेको हुँ ।
त्यो त ठीक छ तर साहित्यको कति ज्ञान छ ?
उनले यो प्रश्न सोध्दासोध्दै टीका सिंहले हतारमा मेरो परिचय दिइ हालिन् , हि इज् भर्वल्ली पोय्ट अल्सो ।
मेरो कविता पनि नपढेका टीका सिंहजीले मेरो कविको परिचय दिँदा मलाई हुनुनहुनुको  लाज भयो । भट्टाचार्यले भने, हामीलाई कविता किन चाहियो र ? भाषा हेर्नु पर्यो हिन्दीलाई नेपालीमा । बस् ।
बम्बैया स्टाइलमा उनले कट टु कट शैलीमा कुरा गरे । मलाई ठीक लागेन कुरा मैले भनें, वासुदा म निर्देशनको विद्यार्थी हुँ तपाइँसित बसेर काम सिक्न पाउँछु भनें मात्रै यो काम गर्छु ।
उनले मलाई कुन्नि किन पत्याए, हाँ हाँ ।। भन्दै उनले बाँकी सबै सम्वाद् हिन्दीमा बोले र आफ्ना निर्माण नियन्त्रक कुकी अनि फिल्मका संवाद् लेखक नवेन्दु घोषलाई भेट्न सल्लाह दिए ।
त्यसपछि म विदा लिएर ढोका छेवमा पुगेँ, उनले सोधी हाले अरु के गर्छौ ?
म इप्टामा काम गर्दैछु ।
ए त्यो इप्टा हामीले नै बनाएको हो । तिमी त्यहाँ छौ, वेरी गुड ।
मैले त्यही वेला उनका वारेमा जानेका सुनेका एकदुइटा कुरा भनें जुन उनका निम्ति अप्रत्याशित थिए , उनी जुरुक्क उठ्दै मेरा सामू आएर भने अरे ये तो एल् ई है । वाह रे वाह ।
एल ई को अर्थ थियो, लिविँग इन्साइक्लोपेडिया ।
दोस्रो दिन देखि उनको मुखमा मेरो बोलाउने नाउँ एलई नै हुन गयो कुनै अजीव जीवको नाउँ जस्तै र उनी मेरा वासु दा भए धेरै पुराना परिचित गुरुजस्तै ।
त्यसपछि करीब पैँतीसदिन म उनका  पछि पछि फाइल, कलम, टेप, स्पूल बोकेर दौड्न थाले । मुम्बईमा मेरो व्यस्तता देखेर मेरा साथीभाइ छक्क पर्न थालेँ ।
वासुदासित हरेक भेटमा म केही न केही नयाँ कुरा सिकीरहन्थे , केही न केही नयाँ कुरा बुझिरहन्थे । उनलाई लाग्दो हो, मलाई काममा राखेर उनले ठीक निर्णय गरेनन् तर म चैँ लाभान्वित थिएँ ।
उनका दायाँ वायाँका मान्छे मलाई यति चैँ भन्थे, तिमी दादालाई धेरै दुःख नदेऊ है ।
म पनि आधा काम वीचमा पुगिसकेको भएर निहुँ खोज्थेँ, ठीक छ मलाई निकाली देऊ , अरु कसैलाई खोज न ।
त्यो मुम्बईमा सम्भव थिएन, किनकि त्यहाँ गाउने बजाउने र अभिनय गर्ने नेपाली कलाकार त धेरै थिए तर भाषा हेर्ने, अनुवाद गर्ने निर्देशकीय फाँट सम्हाल्ने मान्छे कमै थिए ।
वासुदा स्पष्टवक्ता थिए, आवश्यकता भन्दा बढी स्पष्ट । उनले एकदिन गायक उदीतनारायण झालाई भने, तिम्री फियान्सी एयर होस्टेस हो ?
हो, दादा । उदीतले भने ।
हो भने लिएर यहाँ लिएर नआऊ है, एयर होस्टेस मेरो कमजोरी हो ।
त्यो कुरा सुनेर उदीतको सातो पुत्लो उड्यो । साँच्चै उनले दीपालाई गीत रेकर्डिँग , डविंगतिर लिएर आउन छोड्यो ।
फिल्म निर्देशन र प्रविधिका अपार ज्ञानी वासु दा ससानो कुरामा पनि सतर्क भएर काम गर्थे तर उनलाई यो फिल्म पञ्चवटी नेपालमा चल्छ र दर्शकले मनपराउला भन्ने कुरामा पटक्कै  विश्वास थिएन ।
पञ्चवटीको पोस्टप्रोडक्शनको कामको सिलसिलामा वासु दासित म निकै  आत्मीय भएँ भने वासुदा पनि फिल्मप्रति आदर राख्ने र फिल्मका वारेमा ज्ञान राख्ने एक नेपाली विद्यार्थीसित भलीभाँती परिचित भए भन्ने कुरामा मलाई शंका भएन ।
एकदिन उनले मलाई भने, मलाई कसैले प्रिमियरमा बोलाए भने कि त म कसैलाई लाँदिन । कि त मलाई एकदम मनपर्ने मान्छेलाई लान्छु । आज तिमीलाई लान्छु कसो होला ?
मैले जीवनको एउटा  ठूलो उपलब्धि ठानेको त्यो पल गुम्न नदिन वासु दालाई कुनै असर र कसर पर्न दिइँन ।
म उनीसित बलिऊडका ठूल्ठूला हस्तिले प्रिमियर हेरिने हलमा पुगेँ, शबाना आजमी अभिनीत  अञ्जुमन नामको सिनेमा थियो त्यो । मुज्जफर अलीले निर्देशन गरेको । यो उमराव जान पछिको उनको अर्को एटेम्प्ट फिल्म  थियो । यस फिल्ममा शबानाले फैज अहमद फैजका गीत पनि गाएकी थिइन्, खैय्यामको संगीतमा ।
अञ्जुमन हेरेर आएपछि वासुदाले भने, हाम्रो सिनेमा यत्तिको मात्र हुन्छ तर नेपालमा यत्तिको सिनेमा चल्दैन ।
लगभग त्यस्तै भयो, नेपालीमा पञ्चवटी तयार भयो तर टीका सिंहले नेपालमा यसलाई रिलिज गर्न सकेनन् ।
दरवारसँग निकटता भएकी टीकासिंहको ‘पञ्चवटी’ निर्माण पछि दरवारसितै दुश्मनी बढ्यो । बुहारी र जेठाजुको सम्बन्धलाई लिएर यो फिल्म नेपालमा अत्यधिक विवादमा पर्यो भने त्यही समय फोटोग्राफर चक्रवहादुर कार्कीको आत्महत्याको कारणले टीका सिंह झन् विवादको घेरामा परिन् । सिनेमा डब्बा बन्द भएर बस्यो, कुनै नेपालीले यसलाई नेपालको कुनै हलमा हेर्नै  नपाइकन हाम्रो नौलाख रुपैञा नेपाली पैसा पनि डुब्यो ।
एउटा राम्रो मेकरले बनाएको सिनेमा यसरी नाश भयो ।
००