Sunday 21 December 2014

Jagganth Timilsina by Prakash Sayami

जीवनमा फूलमाक्र्स पाएनन् उनले
प्रकाश सायमी
00

 बलिऊडका अहिलेका चर्चित अभिनेता नसीरुद्दीन शाहले आफ्नो विवाहोत्तर रोमान्स र आफूमाथि एक पञ्जाबी साथीले गरेको आत्मघाती हमलाका वारेमा लेख्दा जीवनको त्यो क्षीण अवस्थामा  आफ्ना सहृदयी नेपाली कलाकार मित्रलाई सम्झे र, लेखे,  ती नेपाली कलाकार साथीको सहृदयता र अभिनय क्षमताको पनि खुलेर प्रशंसा गरेकाछन् ।
सन् २०१४ मा प्रकाशित आफ्नो आत्मकथा ‘एन् देन वन् डे मेमोयर ’ मा आफ्ना सहपाठी कलाकारको वारेमा यस्तो लेखेकाछन्;
“ मैले घरभाडा महँगो र असाध्य हुँदै गएपछि बम्बईमा अर्का एकजना  एफटीआईआईका मेरा नेपाली कलाकार साथी टीका सिंहसित कोठा शेयर गरेर लिएँ । उनी बम्बई सानातिना कामका लागि निष्फलदायी समय विताइरहनु भन्दा आफ्नै मुलुक फर्के । ”
टीका सिंह जसलाई नेपाली चलचित्र जगतमा टीका पहाडीका नामबाट चिनिन्छ, उनले  चलचित्र बद्लिँदो आकाश देखि आफ्नो स्पष्ट छवि बनाउँदै आएका छन् ।  तिनै टीका पहाडी भारतको एफटीआईआई मा अभिनेता नसीरुद्दीन शाह, रामेश्वरी, जसपालका सहपाठी थिए । टीका पहाडीले भारतको मुम्बईमा इप्टामा पनि कैँयौ वर्ष अभिनय कलाकारका रुपमा काम गरे । सोही पुस्तकमा नसीरले अर्को पृष्ठतलमा लेखेका छन्,
“रत्ना –(पाठक) र म प्रायः भेट्न थालेका थियौँ, उनको घरमा । त्यो यसमा निर्भर गथ्र्यो उनको घरमा उनका अभिभावक छन् कि छैनन् । टीका यस्तो परिस्थिति बुझेर हामीलाई कोठा छोडेर मध्यान्ह पछि हराउथे, अनि हामी दुई प्रेमी रुमल्लिरहन्थ्यौँ । ”
टीका पहाडीको यो प्रसँग पढेपछि मैले यस पुस्तकको वारेमा जानकारी दिँदा टीका  आश्चर्यचकित भए,  “ओहो । त्यसलाई अहिले सम्म ती सबै कुरा सम्झना रहेछ, वाफ रे वाफ । नेपालीले भए विर्सिसक्थे ।”
३९ वर्षअठिका ई  एकेक कुरा सम्झी सम्झी नसीरुद्दीनले आफ्नो आत्मकथामा लेखेका छन्, अद्भूत र अभूतपूर्व लाग्ने कुराहरू ।
नसीरुद्दीन शाह आज भारतको मात्र होइन, विश्व सिनेजगतकै एक स्वनामधन्य कलाकार भइसके । उनका निम्ति अभिनय मात्र खेलौना भइसकेको छ, त्यो चाहे मिर्जा गालिब होस् वा मण्डी, मन्थन होस् वा जुनून । तर त्यो स्तरका एक कलाकारलाइृ हाम्रा एक सज्जन नेपाली कलाकारलाई सम्झिनु कत्रो महानता हो, बुझिनसक्नु छ ।
नसीरुद्दीन शाह, ओम पुरी, शबाना आजमी पूनास्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिीच्यूटमा अभिनय पढ्दै गर्दा नेपालबाट गएकार टीका पहाडीले ख्यातिको झन्डा गाडिसकेका थिए  र टीका पहाडीको छुट्टै परिचय थियो र बन्यो ।
टीका पहाडी भन्दा अलिक पहिले एफटीआईआईमा अभिनय पढ्न रीता राज गुरुङ, बलमानसिंह स्वाँर पनि पुगेका थिए । तिनले पनि नेपालमा आएर जुनी, जीवन रेखामा अभिनय गरे । टीका पहाडी अलि ढिलो आइपुगे र ‘बद्लिँदो आकाश’ देखि उनले नेपाली चलचित्रमा निरन्तरता दिए यद्यपि उनले जीवन रेखा बाट आफ्नो कार्यारम्भ गर्न भ्याएनन् । हिन्दी फिल्म ‘ऊँची उडान’का निम्ति टीका पहाडी निर्देशक जगजीत खुरानासित नेपाल आएपछि उनी नेपालकै भए ।
बलिऊड उनको लागि भएन ।

टीका पहाडीले पंक्तिकारसित फोनमा भने जस्तै , “नेपालीले भएको भए विर्सिसक्थे । ..”
यस कुरामा गहिरो भाव छ अनि पीडा पनि । सहानुभूति छ, समवेदना पनि । गत मंसीर २६ गते शुक्रवार नेपाली चलचित्र जगतका निम्ति त्यस्तै एउटा घटना घट्यो , नेपाली चलचित्रजगतले, दर्शकले, चलचित्र पत्रकारले विर्सिसकेका एक नेपाली चलचित्र कलाकार यस जगतबाट प्रस्थान गरे ।
उनका वारेमा कुनै समाचार, सूचना वा जानकारी कहिँकतैबाट आएन । काठमाण्डू हाँडीगाउँस्थित आफ्नो निवासमा शौचालयबाट फर्किँदा लडेर निधन भएका ती कलाकार हुन् , जग्गनाथ तिमिल्सिना ।
फिल्म अभिनेता, वृत्तचित्र निर्देशक, फिल्मका सहायक निर्देशक, अभिनयका गुरु जग्गनाथले टीका पहाडीले पढेकै पूनाको फिल्म इन्स्टिीच्युटबाट अभिनयमा डिप्लोमा गरेका थिए , उनी एफ्टीआईआईमा सामान्य विद्यार्थी थिएनन् , उनले अभिनयमा गोल्डमेडल हासिल गरेका थिए ।
आजका भारतका चर्चित अभिनेता अमिताभ बच्चनकी पत्नी जया वच्चनसित  डिप्लोमा फिल्म सुमन मा नायकका रूपमा अभिनय गरेका तिमिल्सिनाले यसै फिल्ममा गरेको अभिनयका निम्ति गोल्डमेडल पाएका थिए । मदन भादरीया निर्देशित १६ मिनटको यो फिल्ममा पहिलो पटक डैनी डेन्जोँग्पाले टी पी डेन्जोँग्पा नामबाट अभियन गरेका थिए चरित्र अभिनेतामा । यस फिल्ममा नायकको रुपमा अभिनय गरेका जग्गनाथले  बम्बईमा फिल्म जगतमा संघर्ष गर्न छोडेर उनी नेपाल आए ।
नेपालमा शाही नेपाल चलचित्र संस्थानबाट बनेको पहिलो श्यामश्वेत चलचित्र  ‘मनको बाँध’ मा उनले खलनायकको रुपमा अभिनय गरेर ख्याति कमाए भने त्यसपछि बनेको दोस्रो रंगीन फिल्म सिंदूरमा अभय नामको एक पात्रको भूमिकामा अभिनय गरेर ख्याति कमाए । सिन्दूर मा उनको कम्बाइन्ड स्टडीवाला सम्वाद् र उनीसित अभिनय गर्ने महिला कलाकार सुवर्ण पोखरेल त्यो वेला निकै चर्चामा आएका थिइन् । सिन्दूर पछि नेपालमा निजी क्षेत्रबाट फिल्म बन्न शुरु भएपनि जग्गनाथलाई चिन्ने र चलचित्रमा लिने फिल्म निर्माता र निर्देशक देखिएनन् ।
नेपाल ब्याँक्को जागीर छोडेर अभिनय पढ्न पूना गएका तिमिल्सेना नेपाली जातिमा अभिनय पढ्न जाने पहिलो कलाकार हुन् यद्यपि उनले यसअगि प्रचार प्रसार डिभिजनबाट निर्मित चलचित्र हिजो आज भोलि मा एक्स्ट्राको रूपमा अभिनय गरिसकेका थिए ।
प्रकाश थापा निर्देशित पहिलो फिल्म मनको वाँध का खलनायक शिव र सिंदूर का चरित्र अभिनेता अभय जस्ता चरित्रलाई जीवन्त रुपमा पर्दामा उतार्न सक्ने तिमिल्सिना पछिल्लो चरणमा बागवजारस्थित एकाडेमी  अफ पफर्मिङ्ग आर्टस्मा  आफैँ पनि अभिनयका गुरु भए । चलचित्र नायक विश्व बस्नेतद्वारा सञ्चालित सो  अभिनय स्कुल नेपालमा चल्दा अर्को स्कुल खुलेका थिएनन् तर पनि त्यतिवेला हरिहर शर्माले नेपाल थिएटर, कुमार दर्शनधारीले कलाकार प्रशिक्षण केन्द्र र चलचित्रकर्मी प्रताप सुब्बाले घरैमा अभिनय तालीम दिन थालिसकेका थिए  । तर तिमिल्सिनाको यो अभिनय स्कुल पनि केही समयपछि शटर बन्द भयो ,  उनी पर्दाबाट हराए जस्तै विस्तारै पर्दा पछाडि ओझेल पर्न थाले  ।
भारतमा उनका समकालीन शत्रुध्न सिन्हा, डैनी डेन्जोँङ्ग्पा, जया भादुरी चम्किँदै थिए भने उनी यहाँ सेलाउँदै थिए ।
अभिनयको प्रसङ्गमा उनले जानेसिकेको कुरा पर्दामा देखाउन नै पाएनन् । फिल्म इन्स्टिच्यूटका गोल्ड मेडलिस्ट जग्गनाथका निम्ति अभिनयको अवसर यहाँ उपलब्ध नै हुन सकेन । के कारणले हो उनी विस्तारै मद्यपानका शिकार हुँदै गए, अत्यधिक मदिरा सेवनले उनको शरीरमा प्राण र अनुहारमा तेज  हराउँदै गयो । उनलाई चलचित्रमा भन्दा ओमवहाल, झोछ्येँ, लगन, न्यूरोडको बाटोमा ठूलो कोटमा ख्याउटे शरीर लिएर लखरलखर हिँडेको मात्र देखिन थाल्यो ।
अनुशासनको कमी वा हार्दिकताको अभाव के ले गर्दा हो नेपालमा बनेका नयाँ नयाँ सिनेमामा जग्गनाथ तिमिल्सिना देखिन छोडे । उनका चर्चा पनि हुन छाड्यो । समय क्रमसँगै उनका समकालीनहरु हिमालय लोहनी, राजनसिंह बस्न्यात, गौतमरत्न तुलाधार, वर्षा सुब्बा, शशी पाठक, बलमान सिंह स्वाँर पनि हराउँदै गए । उनीसित नायकका रुपमा आएका शैल्यान केसी र विश्व बस्नेतमध्ये शैल्यान वितिसके भने विश्व वस्नेतले उनलाई सम्झेर कहिलेकाहिँ अभिनय गराएको देखिन्थ्यो ।
भारतमा जन्मेर हुर्केर नेपाली चलचित्रमा लागेका नेपालीलाई नेपालमा आएर सिनेमामा काम गर्दा कति लाभ भएको देखिन्छ तर जग्गनाथलाई भारतमा भएका अवसर छोडेर नेपाल आउँदा शाही नेपाल चलचित्र संस्थानको सामान्य जागीर वाहेक केही हुन सकेन ।
काठमाण्डूमै विक्रमाब्द १९९९ मंसीर २६ मा जन्मेका जग्गनाथ तिमिल्सिनाका पिता गोविन्दप्रसाद तिमिल्सिना  लामो समयसम्म सांस्कृतिक संस्थानमा कार्यरत थिए उनी त्यहाँका कामु महाप्रवन्धकसम्म भए । त्यही समय जग्गनाथ तिमिल्सिना चलचित्र संस्थानमा सहायक निर्देशककमा रुपमा करारमा थिए ।
उनले नेपालमा छायाँकन भएको देव आनन्दको हिन्दी फिल्म हरे रामा हरे कृष्ण मा देवआनन्दको निर्देशन  सहायक भएर पनि काम गरे
शाही नेपाल चलचित्र संस्थानमा कार्यरत रहँदा उनले हरियो वन देशको धन नामक् वृत्तचित्र पनि बनाए । उनले यो वृत्तचित्र बनाउँदै गर्दा उनका अर्का सहकर्मी चक्रवहादुर कार्कीले आत्महत्या गरेको घटनाले उनी भावविव्हल भएका थिए भने उनका अर्का सहकर्मी अभिनेता निर्देशक नवीन केसीको असामयिक मृत्यु हुँदा उनी नयाँ चलचित्रको निर्देशनको तयारमिा जुटेका थिए ।
२०४१ सालमा कलाकार हिमालय लोहनीले निर्माण गर्ने भनेर घोषणा गरिएको राम जंगल नामक् सिनेमाका उनी सम्भावित निर्देशक थिए , ढोकाटोलस्थित हिमालय लोहनी निवासमै मुहूर्त भएको यो सिनेमा दस्यु सुन्दरी फूलन देवीको नेपाल  प्रवासका वारेमा रचिएको कथामा आधारित थियो भने यसका लागि उनी पटकथा लेखनमा आवद्ध हुँदै थिए ।
मुहूत्र्त भएर घोषणा नभएको यो सिनेमा पछि जग्गनाथ पूर्णतः शाही नेपाल चलचित्र संस्थानमै निर्भर रहे ।
काठमाण्डू पुरानो भन्सारबाट उनी पैदलै पञ्चायत प्लाजामा रहेको शाही नेपाल चलचित्र संस्थान सम्म हिँडेरै पुग्थे  । उनको दूरी यो भन्दा बढी हुन सकेन । उनी सानो दुरीका धावक भए ।
भारतको पुनास्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूटबाट अभिनयमा गोल्डमेडल लिएर आएका तिमिल्सिनासित अभिनय सिक्ने त्यतिवेलाका कलाकारले आज पनि भारतीय फिल्म उद्योगको खम्बा धानेका छन् , ती चाहे दक्षिण भारतका हुन् वा उत्तरभारतका ।
गिरीश कर्नाड, रामेश्वरी, विजेन्द्र घाटगे, मिथुन चक्रवर्ती, डैनी, शत्रुध्न सिन्हा, शबाना आजमी, सुरेश ओवेराय, ओम पुरी आदि कुनै न कुनै रुपमा पर्दामा सक्रिय छन् भने हाम्रा एक मात्र गोल्ड मेडलिस्ट अभिनेताले आफ्नो गुमनाम  जिन्दगीको ७२ औँ अध्याय मौनतापूर्वक सकाएका छन् । उनलाई श्रद्धाञ्जलि दिनु पर्छ भनेर न चलचित्र कलाकार संघले सम्झे न चलचित्र पत्रकारले उनका नाममा दुई शब्द लेखे ।
हरियो वन जस्तो डक्यूमेन्टरी बनाएर नाम आर्जन गरेका तिमिल्सिना ढलेको त्यो बुधवार   काठमाण्डूमा किम्फको वृत्तचित्र महोत्सवको वृत्त घुमिरेहेको थियो तर   त्यही दिन तिमिल्सिना जीवन वृत्तको समाप्तिको संघारमा पुग्यो । 
नेपालमै नक्कली सर्टिफिकेट लिएर उच्चाकर्षणमा पुगेका मान्छे सफल छन् भने भारतको त्यस्तो सम्मानित अभिनय संकायबाट स्वर्ण पदक पाएर आएका तिमिल्सिनाको सर्टिफिकेटमा के खोट थियो त ? वा उनलाई दिइएको प्रमाणपत्र नै गलत थियो कि ? वा उनी यहाँ फर्कनु नै गलत थियो कि ? यी धेरै प्रश्नका वीच सन् १९८२ मा महान फिल्मको शुटिंगमा बलिऊडबाट आफ्ना पतिसित काठमाण्डू आएकी जया बच्चनले होटल अन्नपूर्णमा किशोरराज पाण्डेले दिएको रात्रिभोजमा जग्गनाथ तिमिल्सिनालाई चिनाउँदै भनेकी थिइन्, “ये हमारे इन्स्टिच्यूट के सबसे बेहतरीन एक्टर है , गोल्ड मेडलिस्ट जे एन तिमिल्सिना ।”
यो परिचय सुनेर अमिताभ वच्चन आश्चर्यास्पद भएका थिए । शायद यो परिचय नै गलत ठाने  कि ?
अभिनयमा फूल माक्र्स पाएका जग्गनाथलाई जीवनमा फूल मार्क मिलेन ।
००