Saturday 24 January 2015

Khokana by Prakash Sayami

फोटो यात्रा : खोकना

 
बिहान सबैलाई प्रिय लाग्दो हो, जो छिटो सुत्छ र छिटो उठ्छ तिनका लागि त झन्।
म बिहान अचाक्ली जोशिलो हुन्छु, सायद बिहान ५:३० मा जन्म भएर होला।

बिहान जन्मेको मान्छे बिहान जाँगरिलो हुन्छ भन्छन् तर मलाई लाग्छ, बिहान हरेक मान्छेका निम्ति जाँगरिलो समय हो। बिहान मेरोनिम्ति सुन्दर कविताजस्तै हो जसरी जापानका कवि बोको बिहान उठेर सबभन्दा पहिले आफ्नो नाम पुकार्छन् रे। अनि आफूलाई नै केही प्रश्न गर्छन् रे।
त्यो बानी ममा पनि धेरै वर्ष रह्यो जब मुम्बईमा एक्लै र अलग्गै बस्न थालेँ। पछि मैले आफ्नो नाउँको ठाउँमा गणेशजीको नाम लिन थालेँ।
गत माघ ३ गतेको दिन गणेशजीको नाम लिँदै उठेँ ६ बज्नुअघि नै। माघको प्रथम शनिबार। सामान्य चिसो कम भइसकेको थियो। कवि शिरोमणि लेखनाथ पौड्यालले कवितामा भनेजस्तै,
समाते सूर्यले फेरि उत्तराकाशको गति
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति
कविताको भावमा सूर्यनारायणको पोजिसन चेन्ज भइसकेको सन्दर्भ थियो। क्रिकेटमा रिल्याक्स हर्ट भनेजस्तै सचिन तेन्दुलकर ९० र १०० का बीचमा धिमा गतिमा खेल्छन् र स्वरूप बदल्छन्। यो माघ महिना हामी न्यानोप्रिय प्राणीका निम्ति रिल्याक्स हर्ट हो।
खोकना दोबाटोमा ७ बजे।
फोटोग्राफर दीपेन्द्रको एसएमएसले हिजै बाटो तय गरिसकेको थियो। एसएमएस पाएलगत्तै अञ्जली र म समयमै तयार भइसकेका थियौं।
यो यात्रासित जोडिएका तीन आकर्षणप्रति म बालकजत्तिकै विभोर थिएँ, पहिलो यो कलम होइन क्यामेरासितको यात्रा। दोस्रो, यो दक्षिणतिरको यात्रा। दक्षिण मेरानिम्ति जीवनचक्रको उल्टो सुई थियो।
अञ्जलीले भैंसेपाटीको गोधूलि संसारमा घर बनाएदेखि मेरो बिहान-बेलुकाको दानापानीको यात्रा उत्तरको मात्र हुने गर्छ। मेरोमात्र होइन, मेरोवरपर बस्ने सबै स्वजनको। त्यो चाहे पत्रकार पुष्करलाल श्रेष्ठको होस् वा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीको।
चलचित्र नायक धीरेन शाक्यको होस् वा गायक रामकृष्ण ढकाल वा अमृत गुरुङको। केही समयदेखि मेरा निकटमै बस्न आइपुगेका मेरो कलेजका सहपाठी सञ्चारकर्मी रवीन्द्र मिश्रको होस् वा फोटोकवि कुमार आलेको। टीभीकर्मी भूषण दाहालको होस् वा चियाविज्ञ भूषण सुब्बाको। हामी सबै बस्नचाहिँ काठमाडौंको दक्षिणीय भूखण्डमा बस्छौं।
कामधाम र जीवनयापनका निम्ति हामी सधैं उत्तरतिर लाग्छौं। त्यसैले भनेका रहेछन्, उत्तरोत्तर प्रगतिको कामना।
तर, दीपेन्द्रले हाम्रो यात्रा यसपालि दक्षिणतिर तय गरे। एउटा यस्तो ठाउँ जहाँ म जीवनमा दुईपटक पनि पुगेको छैन, केवल चार किलोमिटरको दूरीमा भए पनि।
सही समयमा दीपेन्द्रले हामीलाई खोकना दोबाटोमा स्वागत गरे। युवाप्रतिभा विद्यालयको प्रांगणमा गाडी पार्क गरेर हामी दुवैले आयोजक स्कुल अफ क्रिएटिभ कम्युनिकेसनका संस्थापकमध्ये एक नगिना श्रेष्ठबाट परिचयपत्र र दिवान्त भोजको कार्ड अनि यात्राको सूची लियौं जसलाई यात्रा गर्नेहरू आइटिनरी भन्छन्।
एससीसी फोटोयात्रा ३ खोकना।
हातमा क्यामेरा बोकेर सारा यात्री आफ्नो रुचिअनुसार फोटो खिँच्दै हिँड्ने, फोटोमा विषयवस्तु र कथानक पक्ष हुनु प:यो अनि यही फोटोबाट छानिएर सेलेक्टेड फोटोको त्यही सहरमा प्रदर्शनी हुने। यस किसिमको कार्यक्रम एससीसीको तेस्रो रहेछ- भक्तपुर र कीर्तिपुरपछि।
हामी आइपुगेको यो ग्रामीण उपत्यका खोकना काठमाडौं उपत्यकाको दक्षिणी भूभागमा पर्छ। इतिहासकालमा यो राज्यमा मल्ल राजा नै थिए, अमर मल्ल यहाँका अन्तिम राजा मानिन्छन्।
खोकनाको निकटवर्तीमा अर्को उपत्यका बुंगमती पर्छ, बुंगमती रातो मत्स्येन्द्रनाथको आवास क्षेत्र पर्ने हुनाले सर्वाधिक चर्चामा रहने एक प्रान्त हो। यहाँका नेवार बासिन्दाले १२ वर्षमा एकपटक मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरसम्म गर्छन्।
यो ऐतिहासिक परम्परा आजको होइन, सयौं वर्ष पुरानो हो। नेपालमा सहकाल निम्त्याउन भारतको कामख्या मन्दिरबाट मत्स्येन्द्रनाथलाई काठमाडौं, भक्तपुर र ललितपुरका तीन राजाको सल्लाहमा नेपाल भित्र्याइएपछि सुरु भएको यो इतिहासमा ललित नामका किसानको कथाकल्पनासित ललितपुरको नामकरण भएको छ।
ललित नामक श्रमिकले नै बोकेर ल्याएका थिए जसको सम्मानमा नै यस जिल्लाको नाम राखिएको थियो। ललितपुरलाई पुरानो नाउँ यल: पनि भन्छन्, काठमाडौं र भक्तपुरसित जोडिएको हुनाले पाटन पनि भनियो।
पाटनमाथि प्रसिद्ध उपन्यासकार विजय मल्लको पाटन शीर्षकको कथा पनि छ, जुन पाटनबारे होइन एक युवतीको मनोविज्ञानबारे लेखिएको हो।
शीर्षक हाल्न अल्छी गर्ने विजय मल्लले आफ्नो यो कथा पाटनबाट कथा लिन आउने पत्रकारका निम्ति लेखेका रहेछन्, सम्झनाका लागि उनले पाटन लेखेर छोडेर गएको कथापछि पत्रकारले पाटन शीर्षक सम्झेर त्यही राखिदिएका हुन् भन्ने साहित्यिक चर्चा छ।
पाटन र खोकनाको अद्भुत सम्बन्ध छ, चिउरा र तेलका बारेमा।
खोकनाको तेल नेपालप्रसिद्ध मानिन्छ, पिउन र शरीरमा प्रयोग गर्न। शुद्ध तोरीको तेलका निम्ति प्रसिद्ध खोकनामा १२ हजार जनसंख्यामा नगर निवासित छ, पोखरी, मण्डप अनि पुराना काष्ठकलाका घरले सजिएको खोकना राज्यमा रुद्रायणी मन्दिर र सिकाली मन्दिर पनि चर्चित छ।
खोकना यति पुरानो सहर हो जहाँ नेपालमा उत्पादित पहिलो बिजुलीको चिम बलेको घर छ। रुद्रायणी मन्दिरको परिसरमा बनेको त्यो घरमा अहिले खोकना म्युजियम बनेको छ।
खोकना म्युजियम अहिले मदनकृष्ण महर्जनले सञ्चालन गरिरहेका छन्। फोटोयात्राका क्रममा हामी त्यो घरमा पुग्दा मदनकृष्णजीले आफ्नो घरमा कसरी चिम आयो भन्ने रोचक कथा डराई डराई सुनाउनुभयो। डराई डराई सुनाउनुका केही कारण छन्, त्यो पछि यहाँले पनि भ्रमण गर्दा सुन्न रोचक हुन्छ। मैले थाती राखेँ।
म्युजियमका सञ्चालक मदनकृष्णसित भेट हुँदा अचानक एक ऐतिहासिक पात्र मोहनकृष्णको पनि स्मरण भयो। मोहनकृष्ण पञ्चायतकालमा खोकना नामबाट कार्टुन लेख्ने एक हस्ती हुन्, आज उनको कहीँ चर्चा छैन।
खोकना रमेशनाथ पाण्डेको पत्रकारितासित सुरु भएका एक चर्चित व्यंग्यचित्रकार हुन्, जसले २०औं वर्ष यो धन्दामा आफ्नो नाम बनाए होलान्, पछि उनले साप्ताहिक 'विमर्श', 'नेपाली आवाज', 'जनजागृति'मा आएर विश्राम लिए।
२०३६ सालको जनमतसंग्रहका बेला खोकनाको कार्टुन चर्चित थिए। आज वात्स्यायन जुन स्थानमा छन्, कार्टुनका कारण, खोकना त्यस्तै पारिवारिक नाम थिए पञ्चायतकालमा। उमेरले उनी वात्स्यायनकै समकालीन हुनुपर्छ, खोकनाका स्थानीय युवा शिव डंगोलका अनुसार उनी अहिले खोकना बस्दैनन्।
खोकनाको यात्रा हामीले बिहान साढे ७ मा सुरु गरेर साढे २ मा सकायौं।
करिब सात घन्टाको यात्रामा हामीले डंगोलबन्धु (हरिनाथ र शिव) अनि अशोक महर्जनबाट खोकनाका अद्भुत कथा सुन्यौं, खोकनामा लसुन र कुखुरा पाइँदैन भन्ने पहिलोपटक थाहा भो।
यो सहरको पुरानो नाउँ जितापुर रहेछ। अहिलेको नाउँ खोकना नेवार शब्दबाट बनेको रहेछ जसको अर्थ हुन्छ, रोईरोई भनिएको कथा।
खोकनाको हाम्रो यात्रा चिबा डाँडाबाट थालनी भएको थियो, जहाँ यात्राका उद्देश्यबारे एससीसीका प्रमुख दीपेन्द्र वज्राचार्यले जानकारी गराए। ५० भन्दा बढी फोटोग्राफरलाई। देशमा आमाको नाममा नागरिकता दिनुपर्छ भनेर नारा उर्लिरहेका बेला यहाँ पनि पाँचजना महिला फोटोग्राफरको उपस्थिति थियो क्यामेरासहित।
चिबा: डाँडा खोकनामा सबभन्दा पहिले घाम पुग्ने ठाउँ रहेछ, जहाँ एउटा एक्लो रूख छ जसलाई यात्रा क्रममा 'वन ट्री हिल' नाम दिइएको थियो सम्भवत: यो नाउँ नहुन पनि सक्छ, भएमा अन्यथा मान्ने कुरा पनि भएन। त्यो बिहान घामलाग्दा त्यो रूख एक्लो थिएन, पचास अलगअलग कथा बोकेर आएका फोटोग्राफर थिए।
फोटोग्राफर शब्द मलाई बेपत्ता मन पर्छ, यसमा राजनीति र जेन्डरले कुनै विभेद गर्न सक्दैन। यसमा क्यामेराम्यानमा जस्तो लिंगीकरण छुट्ट्याइरहुन पर्दैन, ग्राफर भनेपछि सबै लिंग, जात, वर्ग विभेदलाई अन्त्य गर्छ।
नत्र त आजकालको एनजीओ जीवनमा खेलाडी भन्नेबित्तिकै महिला खेलाडी वा पुरुष, अभिनेता भन्नेबित्तिकै अभिनेत्री, यसरी बारम्बार कोष्ठक चिह्न प्रयोग गर्नुपर्ने व्यवधान यहाँ छैन।
यात्राका क्रममा चिबा: डाँडापछि युवाप्रतिभा विद्यालय गएर बिहानी भोजन ग:यौं। त्यति बेला हामीलाई स्कुलका प्रधानाध्यापक यज्ञराज दाहालले स्वागत गर्नुभयो। यो स्कुल महिलालाई शिक्षा दिनकै निम्ति स्थानीय दाजुभाइ मिलेर २०४६ मा स्थापित भएको रहेछ। संस्थापकमध्ये एक रामभक्त डंगोलजी पनि त्यहीँ भेटिनुभयो।
पुन: हामीले यात्रा सुरु गर्दा दीपेन्द्रजीले सबलाई एउटा जानकारी दिइसकेका थिए, फोटो खिच्दा स्थानीयवासीलाई कुनै आपत्ति वा दु:ख नहोस्, कसैको अनुमतिबेगर कुनै पनि फोटो नखिचियोस्।
यो सावधानीपछि म पनि सशंकित नै भइरहेँ।
मलाई यात्रामा सबभन्दा बढी साथ दिइरहे, मूर्तिकार विजय शाक्यले। उनी क्यामेराबिना आएका थिए।
मैले सोधेँ उनलाई, 'किन बिनाक्यामेरा?'
जवाफमा उनले भनेको कुराबाट भयभीत रूपमा प्रभावित भएँ। नले भने, 'दाइ, म इनर्जी प्राप्त गर्नमात्र आएको हुँ। मूर्ति बनाउन नयाँनयाँ इनर्जी चाहिरहन्छ। कहिलेकाहीँ हामी सुक्खा भएर गइसकेका हुन्छौं। पोजेटिभ भाइब्स् खोजिरहन्छु, यस्तो यात्रामा हिँडेपछि मलाई खुब शक्ति मिल्छ।'
नाम्चेमा तेन्जिङ नोर्गे शेर्पाको भीमकाय मूर्ति बनाएर कीर्ति कायम गरेका विजयको भनाइले मलाई राष्ट्रकवि माधव घिमिरेको अतीतसित जोड्यो।
कविवर घिमिरे काठमाडौं बसेर रचनाहीन हुन थालेपछि पोखरा जाँदा रहेछन्। पोखरा गएपछि वेगनासताल पुगिहाल्दा रहेछन्। वेगनास तालको सुन्दरी डाँडामा बसेर दुई ताललाई नियालेर दिनभरि बसेपछि नै उनी कुनै न कुनै रचना लेख्दा रहेछन्।
शारदा शर्मा पनि 'ताप' उपन्यास लेख्दाताका त्यतै छेउछाउमा कुनै घरमा भूमिगत भएकी थिइन्।
अरू त अरू, माधव घिमिरेको 'मालती मंगले'मा गीत रेकर्ड गर्नुअघि स्वरसम्राट् नारायणगोपाल पनि केही समय लमजुङको मस्र्याङ्दी पुगेको इतिहास छ।
विजयको भनाइ मलाई शाश्वत लाग्यो। संस्कृतका महाकवि कालीदासलाई उज्जैन राज्यले अपार सम्मान दिएर दरबार बोलाए तर उनले दरबार बसुन्जेल केही पनि लेख्न सकेनन्।
ऋतु संहार, मेघदूत लेखिसकेका महाकविलाई आफ्नो ग्राम्यप्रदेश फर्किसकेपछि शुभेच्छुकले सोधेछन्, 'किन? केही लेख्न सकेनौ त्यहाँ?'
कालीदासको जवाफ संवेदनास्पद सुनिन्छ। 'त्यहाँको माटोमा कोमलता छैन। कोमलता नभएको माटोमा प्रेरणा हुँदैन', कालीदासीय शैलीमा भने विजयले।
मूर्तिकार विजयसित बाहेक अरूसित त्यति निकटता हुन पाइएन। अरूसित त ख्वै, आफैंसित गएकी जीवनसंगिनी अञ्जली सुब्बासित पनि त्यो दिन धेरै कम बोलचाल र भेटघाट भयो।
युद्धस्तरको छायांकन र दौडले गर्दा। लिम्बू जातिको खापुङ परिवारबाट आएकी अञ्जली नेवार सभ्यता र संस्कृति खूब रुचाउँछिन्।
त्यसो त यात्रामा सँगसँगै हुन एकदम गाह्रो छ रे। मन र शरीर त सँगै हुन कठिन हुन्छ भने दुई प्राणी के कारणले निकट हुन सक्ला, मैले पनि त्यो दिन त्यही महसुस गरेँ।
फेरि त्यो दिनको यात्रा एउटा मिसनको यात्रा थियो, हातमा क्यामेरा हुनेबित्तिकै पाँच विषय आइहाल्थे- पात्र, विषय र इतिहास। समय र स्थानले त फेरि थप दबाब दिएकै हुन्छ, त्यही भयो त्यो दिन।
खोकना उपत्यका मेरो पहिलो परिभ्रमण थियो, इतिहाससित एउटा साक्षात् दर्शन। यात्राकार निर्मल बर्माको भाषामा भन्ने हो भने यदि यो यात्रा हो भने यो स्थानहरूको नभएर मनको यात्रा हो अन्त:प्रक्रियाहरूको लेखाजोखा हो।
मलाई पनि यात्राभर त्यस्तै लागिरह्यो। हिँडिरहेँ तर इतिहासका क्रूर अनुहारसित मेरो साक्षात् भइरह्यो।
खोकनाका कैयन् कथा दोहोरिइरहे, रोईरोई भनिएको त्यो कथामा कति धेरै पीडा थिए होलान्।
जर्मनी महाकवि भन्थे, जुन सहरसित आफ्नो पीडाको दस्तावेज छैन त्यसले के गर्व गर्नु?
एकछिनलाई मान्नुस्, खोकनासित अतीतको कुनै साक्षी छैन, न एेतिहासिक स्मारक, न पुराना मन्दिर, न खण्डहर? तर यसको त्यो पाण्डुलिपि खोइ त जसले नेपाल नामको देश बनाउन शाहवंशीय शासकलाई शक्तिमा पु:याएको थियो? गोरखा राज्य वा बीसे नगर्चीभन्दा धेरै पुरानो घटनावृत्ति बोकेको यो ठाउँ अब रोल्पाजति पनि समाचारमा छैन।
खोकना राजधानीको निकटस्थ उपत्यका भएर पनि धेरै कुराबाट वञ्चित छ- धर्मप्रचार, संविधानसभा, क्याफे कल्चर, वाइफाई आदि इत्यादि। नेपालमा पहिलो बिजुली बलेको यो राज्यको विजयगाथा अब सीमित समुदायमा अभिकृत छ।
खोकनामा घरमा चुकुल लगाएर सुत्नुपर्ने जरुरी पटक्कै छैन रे, किनकि यहाँ चोरडाँकुले अहिलेसम्म प्रवेश पाउन सकेको छैन रे।
यात्राका क्रममा हामी एक्कासि कुमारीबहालमा भेटियौं, जीवित देवी कुमारीको दर्शन गर्न।
हरेक नेवारबस्तीमा हुने जस्तै जीवित देवी कुमारी यहाँ पनि दर्शनार्थ भेटियो कुमारीबहालमा। सबै फोटोग्राफरले सामूहिक फोटो खिचे, कुमारी सुरुमा त मुडमा थिइन्, पछि फोटो खिच्न गाह्रो भयो।
फोटो खिच्ने क्रममा कुमारीले अचानक अञ्जलीलाई अँगालो हालेर निकट बोलाइन्, सबै आश्चर्यचकित भए। भटाभट फोटो खिच्न थाले सबैले।
संयोजक दीपेन्द्रले भनिहाले, 'आज कुमारी माताले भाउज्यूको दिन भव्य बनाइदिइन्।'
फोटोमा कुमारी जत्ति उज्यालो र धपक्क बलेकी थिइन्, त्यो उज्यालो अञ्जलीको अनुहारमा पनि सरेको थियो।
हाँसोको यो सञ्चार धेरै कम देख्न पाइन्छ, फोटोग्राफर नगिना श्रेष्ठले पनि फोटोलाई आफ्नो क्यामेरामा सञ्चित गरिन्।
फोटोयात्राको यो तेस्रो शृंखला सकिँदासम्म पनि यो फोटोको धेरैले चर्चा गरिरहे।
बेलुकी यो फोटो फेसबुकमा अपडेट हुने बित्तिकै लन्डनबाट सेफ थोमस किल्रायले ट्विटरमा लेखे, 'जीवित देवी कुमारीसित मेरी जेठी सासू।' अनि गाथाकार ददि सापकोटाले आफ्नो फ्रेन्च वेबसाइटमा यसलाई प्रकाशन गरे।
फोटोको कमाल यही छ। भनिँदै आएको सत्य कुरा यही हो, फोटोले हजारौं शब्दको व्याख्या गर्छ। अनवरत रूपमा।
- See more at: http://annapurnapost.com/News.aspx/story/6293#sthash.2uwMKfi1.9I3lQFg5.dpuf

Thursday 8 January 2015

Paribhasha by Prakash Sayami

परिभाषा

प्रकाश सायमी, (ललितपुर)



धेरै कुरा बद्लिएको छ
यो मानवशालामा ।
नबद्लिएको एउटा कुरा छ यो
त्यो हो परिभाषा ।
परिभाषा ।

सबैका दुइटा भएको छ ।
नया र पुरानो ।
दरबार नया
सडक नया
कानुन नया
संविधान नया
तर मान्छे पुराना भएका छन् ।

मान्छे पहिले थिए
अहिले जनता भएकाछन्
पहिले मूर्त थिए
अहिले अमूर्त भएकाछन्
शासक चाहन्छन्
हतियार किन्न
विदेश भ्रमण गर्न वा सेना रुपान्तरण गर्न ।
तर नाम सारिन्छ जनताको ।
सांच्चै यो कुरा नया भएको छ
दरबार पुरानो राजा नया
राजा पुरानो युवराज नया

नया अनुहार यति विध्न छाए यो शहरमा
आंखा खोल्न पनि गाह्रो भो
आंखा पुरानो चश्मा नया
यो अाजान शहरमा नचिनिकन नमस्ते सलाम दुआ भन्न गाह्रो भो
बीच बजारमा उभिन्छु देख्छु
बजार पुरानो बजार भाउ नया
पहिले तोलामा बिक्थे नेता अहिले मासामा बिक्न थालेकाछन्
यो कुरा नया भएको छ

नवीनतालाई जोगाउने कुरामा
इतिहास पुरानो भो
मुश्किल छ यो समय
यति धेरै नया अनुहार
नया आवाजको कोलाहल
आवाज चिन्ने कला पुरानो कुशलता नया भएको छ
नया नया
यति नया
अब नया भन्ने शब्द नया
अर्थ पुरानो भएको छ
यो कविता छापिउन्जेल
कविता नया
कवि पुरानो
यो कविता पढुन्जेल पाठक नया
कविता पुरानो
सबथोक नया
अर्थ पुरानो भएको छ ।

Wednesday 7 January 2015

Narayan Gopal by Prakash Sayami

Narayan Gopal by Prakash Sayami


राम्रो गीत गाउने गायिकालाई नेपालीमाकोइलीभनेर सर्काइन्छ भने राम्रो गीत गाउने गायकलाई के भन्नुपर्ला ? — राम्रो गीत गाउने गायकलाई कोइलाभन्नुपर्छ किनकि रक्सी खाँदाखाँदै उसको मुटु जलेर कोइलाजस्तो भइसकेको हुन्छ ।
यो माथिको संलाप कुनै हाँस्य कलाकारको नभई नेपाली जातिका वियोगान्त गायक नारायणगोपालको हो । एक पत्रकारले सोधेको जटिलखाले प्रश्नको अन–द–स्पट प्रकृतिस्थ भई ‘टेजेडी किङ्ग’ नारायणगोपालले दिएको यो उत्तर नेपाली सङ्गीत जगत्को जीवित सत्यमध्ये एक हो र स्वरसम्राट नारायणगोपाल त्यसका ज्वलन्त साक्षी हुन् । कलाकार नारायणगोपालका विशेषकीय पक्ष हुन्— गायन र सङ्गीत । यिनलाई यी दुई दीपाधारले ढाकेको छ, तर खोज्ने हो भने व्यक्ति नारायणगोपाल, प्रकाशक नारायणगोपाल, पहलमान नारायणगोपाल र ती सबै वैयक्तिकतालाई उछिन्ने कमेडियन नारायणगोपाललाई धेरैले गुनेका छैनन् ।

प्रहास्यक नारायणगोपाल
पीर, वेदना र वियोगले भरिएका गीत गाएर ट्रेजेडी किङ्ग भएका स्वर्गीय नारायणगोपाल एक सफल हाँस्य कलाकार पनि हुन् भन्ने कुरा उनका परिवार र मित्रजनलाई बाहेक अरूलाई कमै ज्ञान होला । नारायणगोपालको ‘सेन्स अफ् ह्यूमर’ जति तेजिलो र गम्किलो मानिन्छ, त्यति नै क्षमताशील थियो उनको मिमिक्री गर्ने शैली । अरूको हाव र भावलाई हुबहु नक्कल गरी कटाक्ष गर्ने कलालाई क्यारिकेचर वा मिमिक्री भनिन्छ, यो कला नारायणगोपालको सर्वाधिक बलियो पक्ष थियो जसले गर्दा पर्दामा वा पृष्ठवाचनमा उनको पाश्र्वगायकी सशक्त रहेको मानिन्छ । भारतका एक प्रसिद्ध गायक मुहम्मद रफीसित पनि यो तागत प्रशस्त थियो रे, त्यसैले उनी जुनसुकै नायकको नक्कल गरी छवि सुहाउँदो शैलीमा गीत गाउन सक्थे रे । यही प्रतिभा नारायणगोपालमा पनि प्रशस्त थियो । भनिन्छ, उनी एकपटक भेटेको मान्छेको वाक्शैलीको दुरुस्त नक्कल गर्ने क्षमता राख्थे । आफ्नो छुट्टीका दिनमा (सांस्कृतिक संस्थानका महाप्रबन्धकबाट रिटायर्ड भएपछि) उनी घरबाहिर बसेर वा लुकेर अफिस जान लागेकी आफ्नी पत्नी पेमला गुरुवाचार्यलाई स्वर फेरेर झुक्याएर “एई ! नारायणगोपालकी बूढी, कता हिँडेकी हँ ?” भनेर जिस्काउँथे भनेर श्रीमती नारायणगोपाल सदा सम्झिन्थिन् । उनका पुराना मित्र एवं समकालीन गायक प्रेमध्वज प्रधान आफ्नी आमा प्राणदेवीलाई नारायणगोपालले चिनियाँ भाषामा रेडियो समाचार पढेर सुनाएको कहिल्यै बिर्संदैनन् । क्यारिकेचर गर्ने नारायणगोपालको शैलीले सबैभन्दा बढी चर्चा त्यतिबेला पायो, जतिबेला उनले रामायणलाई तिब्बतीय शैलीमा नेपालीकरण गरेर साथीभाइलाई सुनाए— “एई सीते ! मो बात् खान्चा ।” यी उनका चर्चित सम्वादका नमूना हुन् । भारतीय रजतपटका लोकप्रिय गायक के.एल.सहगलको गायकी हुबहु उतार्न सक्ने नारायणगोपाललाई उनका प्रशंसक रूपा प्रधानले पाल्पाबाट एउटा यस्तो प्रश्न सोधिन्— “तपाईंको स्वरमा जादू छ, मिठास छ, दर्द छ, मोहिनी छ अनि तपाईंको प्रत्येक गीतले मुटु छोइदिन्छ, पाइला भत्काइदिन्छ, आँखा रसाइदिन्छ, सपना जगाइदिन्छ, फूल फुलाइदिन्छ— यहाँको प्रतिक्रिया?” जवाफमा नारायणगोपालले यस्तो लेखे— “नारायणगोपाललाई या त कालापानी पठाइदिनुपर्छ, हैन भने कमसेकम छ महिना कैद तथा पाँच हजार जरिवाना गर्नुपर्छ ।” उनको व्यङ्ग्यशक्तिमा साहस पनि छ र सौम्यता पनि, अझै बढी तर्कशक्तिको प्रयोग पनि । जीवनको अन्तिमकालमा अस्पतालको पलङ्मा अस्वस्थ भएर लडिरहँदा उनी अनिद्राले सताइए । त्यतिबेला उनका साथी गीतकार नगेन्द्र थापाले उनलाई भगवान् पशुपतिनाथ सम्झेर सुत्न सल्लाह दिए । त्यसको जवाफमा नगेन्द्र थापालाई नारायणगोपालले भने— “म सक्दैसक्दिन, नगेन्द्र ! जतिजति म पशुपतिनाथको तस्वीर सम्झिन खोज्छु, त्यतित्यति मेरो आँखामा जोगमेहरको अनुहार देखापर्छ ।” पञ्चायतकालको अन्तबेला पञ्चायती व्यवस्थाका एक गृहमन्त्रीलाई बारम्बार सम्झिनु ‘सेन्स अफ ट्रयाजिक’ पनि थियो ।

पहलमान नारायणगोपाल
नारायणगोपालको जन्म किलागलमा भयो र बाँकी जीवनवृत्त पोखरा, हेटौँडा, काठमाडौँ फर्केर ठमेल नरसिंह चोक र महाराजगञ्जमा बित्यो । किलागलमै रहँदा आफ्ना पिता आशागोपाल गुरुवाचार्य र मित्र माणिकरत्न स्थापित, प्रेमध्वज प्रधान, राममान तृषित्को सङ्गतले उनी गायक भइसकेका थिए । विवाहपछि उनी सपत्निक पोखरा गए जहाँ उनी बाध्यताले इतिहासका अध्यापक भए, अमरसिंह मा. वि.मा । त्यसपछि काठमाडौँ पुनरागमन भएपछि सांस्कृतिक संस्थानका कर्मचारी भए र चलचित्रमा पाश्र्व गायक पनि भए । नरसिंह चोकमा हुँदाहुँदै उनी सांस्कृतिक संस्थानका हाकिम अर्थात् महाप्रबन्धक भए र पछि महाराजगञ्ज चक्रपथ निवासी भए । चेस खेल्न अत्यधिक मन पराउने नारायणगोपाल फुटबलप्रेमी त थिए नै तर किलागल र जनबहालमा बिताएका जवानीका दिनमा उनी वर्जिस(स्वास्थ्य साधना) गरेर शारीरिक सुगठनतिर लागिसकेका थिए, जसले गर्दा त्यसबेलाका दौँतरीहरू उनलाई सानुबाबु र सान्चा नामबाट पुकार्थे । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ उनलाई ‘टार्जन’ भन्थे भने अम्बरलाई उनी ‘सैन्डो’ भन्थे । यी दुवै उपनाम पहलमानीका सम्बोधन थिए । पहलवान नारायणगोपाल २०३५ सालमा प्रज्ञाभवनको रङ्गमञ्चमा ‘सम्झनाको रात’मा गाउन निस्कँदा उनलाई हुटिङ गर्ने दर्शकमाथि यसरी खनिए— “को हो त्यो कराउने ? लड्ने भए यहाँ आऊ वान बाइ वान !” यस घटनापछि नारायणगोपाललाई मञ्चबाटै ल्याण्डरोवरमा राखेर भगाइयो रे । त्यसको दस वर्षसम्म स्वरसम्राट उपत्यकाका मञ्चहरूमा कतै देखिएनन् ।

हाकिम नारायणगोपाल
आफ्ना निकटतम् प्रशंसक पेमला लामासित विवाह भएपछि पोखरा पलायन भएका नारायणगोपाल सत्ताइस सालको पछिल्लो महिना(फागुन)मा कवि एवं गीतकार भूपी शेरचनको दरबारमा शरण माग्न पुगे, जहाँ उनी एकाध महिना ‘पेइङ् गेस्ट’का रूपमा रहे भने पछि दुवै दम्पत्तिले मास्टरी पेशा अपनाए, त्यसैबेला धान–चामलका हाकिम भएर जान लागेका गीतकार नगेन्द्रले २०२७ सालमै एक पत्र लेखे, आफ्ना मित्रलाई—“...तिमी दार्जीलिङ गएपछि कस्सिएर म फेरि सचिव र डाइरेक्टर कहाँ धाउन लागेँ । भोलि–भोलिमा नै धेरै दिन बिते। एकदिन डाइरेक्टर र अरू एक–दुई अधिकारीको उपस्थितिमा मलाई पनि बोलाइयो, कुरै कुरामा धेरै कुरा भए । तिमीलाई प्रथम श्रेणीको कलाकार मान्न उनीहरू अन्कनाइरहेका थिए, होइन पनि भने(जब कि तिमी नेपालीको एकमात्र गायक हौ—स्वरसम्राट) धेरै वादविवादपछि तिमीलाई तीन सय रुपैयाँमा किन्ने अभिप्राय देखाए, त्यो पनि अस्थायी तीन सय रुपैयाँमा तिमीलाई बेच्न म तयार थिइनँ ।” नगेन्द्रको यो चिठीमा नबिक्ने नारायणगोपाल थिए भने उनकै सहयोगमा पिताको आमन्त्रणमा नारायण–पेमला दुवै पोखराबाट नेपालखाल्डो फर्किए । गायक–सङ्गीतकार माणिकरत्नको सहयोग–सौजन्यमा जनार्दन समको उपस्थितिमा जुद्धसडकस्थित पारस होटल(हाल पिनट्स पसल रहेको ठाउँ)मा गायक–सङ्गीतकार नारायणगोपाल नाचघरमा कर्मचारी–कलाकारका रूपमा प्रविष्ट भए । राष्ट्रिय नाचघरमा उनले वाद्यवादक(तबलावादक) का रूपमा कन्ट्र्याक्टमा पसेका थिए भन्ने उनका समकक्षी माणिकरत्नको सम्झना ताजै छ । यही अफिसमा तलमाथि गर्दागर्दै गायक नारायणगोपाल महाप्रबन्धकका रूपमा पदासत्र भए । कुर्सीले उनलाई साथ दिए पनि प्रायः साथीहरूले उनको साथ छोड्दै गए, माणिकरत्न नाचघरबाट अलग्गिए भने उनको पहिलो गीतका सङ्गीतकार प्रेम–माणिकमध्ये प्रेमध्वज प्रधानसँग अदृश्य शीतयुद्ध चलिसकेको थियो । साँच्चै भन्नुपर्दा नारायणगोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक भएपछि त्यहाँको रङ्गमञ्चमा वहार छायो, नाटकहरू मञ्चन खुब भए । रिमालको ‘मसान’, देवकोटाको ‘मुनामदा’, मनबहादुर मुखियाको ‘क्रसमा टाँगिएको जिन्दगी’ आदि आदि । “नाटककै कमाइले कार किनेँ”— नाटक निर्देशक हरिप्रसाद रिमालको दावी अझै सही छ । सिर्जनात्मक क्रियाशीलतामा सक्रिय देखिएका हाकिम नारायणगोपालको जीवनमा एउटा नराम्रो दाग लगाइदिए बोर्डका साथीहरूले— दशैँको मुखमा चालीसजना कलाकारलाई बेरोजगार बनाइएको आरोप हाकिम नारायणगोपालमाथि लगाइयो र प्रशस्त अखबारबाजी भए त्यसबेला । त्यसबेला निकालिएका कलाकारहरूमध्ये हरिवंश आचार्य, सुशीला के.सी.(रायमाझी) लगायत कैयन् कलाकार वषौँसम्म बेरोजगार रहे ।

उनी भाषाका रचयिता थिएनन् तर भाषा र भाव उनी राम्ररी बुझ्थे । जन्मभाषा नेवारी भए पनि नेपालीका रैथाने बोलीमा उनको गहिरो पकड थियो । दार्जीलिङ र नेपालको आवत्–जावत्ले उनको लवजमा लोचकता त थपियो नै तर कवि रत्नशम्शेर थापा(सहपाठी), गोपाल योञ्जन(मीतज्यू), पेमला(जीवनसाथी) र नगेन्द्र थापा(साथी)को संसाथले उनको नेपाली भाषा सेवाप्रति जिम्मेवारी बन्दै गयो, उनी यसरी २०३० साल कात्तिकमा एक त्रैमासिक पत्रिका ‘बागीना’का सम्पादक बन्न पुगे । नरसिंह क्याम्प, ठमेलमा डेरा गरी बस्दा सम्पादक बन्न पुगेका नारायणगोपालले सम्पादकीयको पहिलो हरफमा यस्तो लेखे— “भनिन्छ, नेपाली स्रोताहरूको सङ्गीत सुन्ने कान छैन, हाम्रा कान बुझिएका छन्— हिन्दी सिनेमाका गीतहरूले र पश्चिमे सङ्गीतका अस्थायी र अव्यवस्थित धुनहरूले । यस्तै–यस्तै अनेकथरीका भनाइ सुनेर स्थापना भएको (नेपाली सङ्गीत) नेपाली बाजा, नेपाली गीत र नेपाली नाचका क्षेत्रहरूमा के–कस्ता अर्घेलाहरू छन्, अभावहरू छन्....‘बागीना’ रङ्गमञ्च हो— नेपाली ललितकलाको । ‘बागीना’ आह्वान हो सामूहिक उत्तरदायित्वको ।” सम्पादक नारायणगोपालका साथमा ‘बागीना”मा व्यवस्थापक गोपाल योञ्जन र प्रकाशक नगेन्द्र थापा थिए भने प्रथमाङ्कमा उनलाई आवरणचित्रमा उत्तम नेपाली र लेखहरूमा लैनसिंह बाङ्देल, भैरवबहादुर थापा, सुवी शाह, उत्तम नेपाली, अम्बर गुरुङ्, रामशरण दर्नाल, ए.बी. राजपुत, सप्तमुनि बज्राचार्य, धर्मराज थापा, रत्नदास प्रकाश, लख्खीदेवी सुन्दास, वैरागी काइँला र नगेन्द्र थापाले लेखेर सहकार्यभागिता दिएका हुन् । नियमितरूपमा विक्रमाब्द २०३५ चैतसम्म बाइस अङ्क प्रकाशित भएको ‘बागीना’ को दोस्रो अङ्कमै नारायणगोपाल प्रकाशक नै भए र क्षति–दुर्गति आफै बेहोरे ।

सन्दर्भ र समयानुसार नारायणगोपालले ‘ऐतिहासिक यात्राः सांस्कृतिक यात्रा उत्तर कोरियाको’ आफ्नै शैलीमा संस्मरण पनि लेखे । यसबाहेक उनले अरू लेख–प्रलेख लेख्न नसके पनि अग्रज गायक उस्ताद साहिँलाको सम्झनामा एक बेजोड रचना दिए—
कालो ठेकीः विस्मृतिको घेराबाट। कालो ठेकी नारान काली काठको रातो ठेकी दारको । दिनै आउँछ रिम्दैघुम्दै जोवन एकै बारको हजुर कर्मै रिसाउने ....
‘कालो ठेकी’ जस्तो एउटा झ्याउरे गीत लिएर आफ्नो समय र सङ्गीतलाई उछिन्न पुगेका उस्ताद अष्टमान श्रेष्ठमाथि नारायणगोपालले आफ्नो ‘एडिटोरिएल टोन’ यसरी दिएका छन्— “...कारण मनुष्य जातिको कुनै एउटा राम्रो गुण वा वस्तु देखाप¥यो भने त्यही नामबाट पुकारिने परम्परा हाम्रो समाजमा मात्र होइन, पाश्चात्य मुलुकहरूतिर पनि छ । अरूहरूको कुरा त छाडिदिऊँ, म आफै पनि एकताका ‘ए कान्छा ठट्टैमा’ गाएर सबैको कान्छा हुनपुगेको मलाई अझै सम्झना छ । चर्चित ‘हीट सङ्’को इतिहासमा ‘कालो ठेकी’को क्रमाङ्क प्रथम पंक्तिमा त आउाछ नै, अनि यही गीतले गर्दा उसको उपनाम ‘कालो ठेकी साहिँला’ रहन गएकोमा आश्चर्य मान्नुपर्ने केही देखिँदैन ।” सबैका प्रिय गायक नारायणगोपाल लामो समयसम्म सर्वप्रिय सम्पादक बन्न सकेनन् । आर्थिक कारण, अव्यवस्थापन र संकुचित विपणनका कारण छैटौँ वर्ष प्रवेश गर्नुअघि नै उनले पत्रिका थन्को लगाए तर, पत्रिकाको भूमिका कमजोर थियो भन्न चाहिँ मिल्दैन भन्ने यथातथ्य यसपटक प्रतिक्रियाबाट प्रस्ट हुन्छ । पाठक अभि सुवेदी पाँचौ अङ्कमा लेख्छन्—


सम्पादकज्यू बागीनाका आजसम्म प्रकाशित प्रायः सबैजसो अङ्कहरू मैले पढ्ने अवसर पाएको छु । तपाईंहरूले बाजा, गीत र नाच(बागीना)को क्षेत्रमा निकै ठूलो खाँचो पूरा गर्नुभएको छ । राजनीतिक, सामाजिक र साहित्यिक जगतमा घटेका कुराहरू प्रकाशन गर्नका लागि हामीसँग अनेकौँ पत्रपत्रिका छन् तर बागीनाको क्षेत्रमा घटेका घटनाहरू र यस क्षेत्रका कलाकारहरूले सोचेका र गरेका कुराहरूको विवरण प्रकाशित गर्नसम्म पनि हामीसँग बागीनाले दीर्घकाल सेवा गरोस् भन्ने कामना गर्दै सङ्गीतकार शरण प्रधानलाई मेरो सानो श्रद्धाञ्जली दिन्छु । सदा तपाईंकोअभि सुवेदी१२÷३१६ बाङ्गेमुढा, काठमाडौँ
,




नेपाली साहित्यका यस्ता गुणसिद्ध पाठकहरूको माया पाएको अमूल्य पत्रिका बन्द भएको तेइसौँ वर्ष बितिसक्दा पनि अर्को पत्रिका निस्किन नसक्दा सम्पादक नारायणगोपालको मन कति रोएको होला !