Wednesday 19 November 2014

Cinema and Award by Prakash Sayami

सिनेमा र पुरस्कार
 प्रकाश सायमी
००
सिनेमालाई उत्कर्षमा पु¥याउनमा पुरस्कारले सदैव महत्वपूर्ण भूमिका निभाएको छ । पुरस्कारको उच्चाकर्षणले सिनेमालाई जनस्थानमा नयाँ  भाषा,भाव र पहिचान दिएको छ । र यसलाई क्रमवत् रुपमा बदल्दै आएको इतिहास सत्य हो ।
सिनेमाका पुरस्कार सदैव दुई कारणले दिइन्छ , निर्णायकको चयनको आधारमा र दर्शकको मतको आधारमा, पब्लिक च्वाइस र नोमिनेशन जसलाई भन्ने गरिन्छ । यस्ता विश्वस्तरीय चलचित्र प्रतियोगितामा पहिचान नभएका मुलुकलाई सहभागिता बनाउने परम्परा पनि छ, यसलाई कार्लोवारी फिल्म महोत्सवले शुरु गरेको भन्ने इतिहास छ ।  ओस्कारले विदेशी पुरस्कार भनेर एउटा नयाँ ढाँचा बनाएको छ ।
सिनेमा समयको स्वर हो तर पुरस्कार यसको सही पहिचान हुन सक्छ भन्ने धारणा सहित हलिउडmबाटै ओस्कार पुरस्कार शुरु गरियो । सिनेमाको नोबेल पुरस्कार मानिने ओस्कार वाहेक आज दुनियाँमा हजारौँ हजार अन्तर्राष्ट्रिय स्तरका पुरस्कार छन् र तिथि मिति मिलाएर ठाउँठाउँमा दिइन्छन् ।
देशदेशान्तर र त्यसको भूगोलिय मापदण्ड र सामाजार्थिक विकासक्रमलाई हेर्दै एशिया, योरोप र इस्लामिक बहुलता भएको मुलुकमा पृथक अवधारणाका साथ भिन्न नाम र शीर्षकमा भिन्न ऋतु र मौसममा पुरस्कार दिइने परम्परमा हुन थालको छ । यसले सिनेमालाई तीन प्रवृत्तिमा परावर्तन  ल्याएको छ,
पहिलो भाषागत सिनेमामा ।
दोस्रो आफ्ने समुदायका लघुबजेटमा बनाइने सिनेमाको नयाँ परिचयमा र तेस्रो अन्तराष्टिय बजारको खोजीमा । तर यसले प्रविधि र नयाँ शैलीको प्रस्तुतिलाई पनि पहललाई पनि पछ्याउँदै आएको छ ।
हलिऊडको विकास र वैभव पछि विश्वमै देखिइने गरी चलचित्रमा दिइने ठूलो पुरस्कार बन्यो, ओस्कार मोशन  पिक्चर अवार्ड । यसका लागि दिन, महिना र स्थान अनि विषयको छाँटकाँटका निम्ति हरेक चलचित्रकर्मी त्यो जुनसुकै भाषाको किन नहोस् सजग र सतर्क हुन थाल्यो जसले गर्दा ओस्कार आज चासोको विषय बन्दै गएको छ ।
“ओस्कार सम्पूर्ण पुरस्कारको अन्त्य हो, यसपछि कुनै पुरस्कार छैन । ”
यो भनाई हो जीवनमा सबभन्दा बढी  पुरस्कार र सम्मान पाउने विश्वप्रसिद्ध फिल्मकार सत्यजित रेको । भारतको बँगालमा जन्मेर आफ्नै मातृभाषा बँगाली भाषामा सिनेमा बनाएर अन्तराष्टिय पहिचान बनाउने रे दक्षिण एशियाई भूखडण्डमा चर्चा र प्रशंसा पाउने एक सर्जक हुन् ।  उनले आफूले बनाएका हरेक सिनेमाका निम्ति कम्तिमा दुइटा अन्तर्राष्टिय पुरस्कार पाएका छन् । तर उनले ओस्कार पुरस्कार पाउन कालको काखमा पुग्नु पर्यो । उनलाई मृत्युपूर्व करीब ३२ घन्टा अगाडि अस्पतालको पलंगमा सन् १९९२ मा जीवन पर्यन्तका निम्ति ओस्कार दिइयो । यो उनले जीवनकालमा पाएको अन्तिम तर सर्वोच्च पुरस्कार थियो, उनको भाषामा ।
ओस्कार पाउन उनले ३१ ओटा ठूला फिल्म र सातओटा वृत्तचित्र बनाउनु पर्यो अन्ततः उनी यसका निम्ति योग्य ठहरिए । उनी ओस्कार पाउने भारतका पहिलो फिल्मकार हुन् । यसअगि भारतीय महिला भानु अथ्थैयाले वेशभूषाका निम्ति बेलायती सिनेमा गान्धी का निम्ति ओस्कार पाएका थिए ।
ओस्कार लाई अकादमी अवार्ड पनि भनिन्छ । यो पुरस्कार सन् १९२७ को ज्यानवरी ११ का दिन स्थापना भएको थियो । सन् १९२९ मे १६ का दिन पहिलो पटक यो वितरण गरियो । सन् १९३१ मा मार्गरेट हिरिकले एक योद्धाले दुवै हातले तरवार समातेर फिल्को रिलमा टेकेर उभिएको एउटा मूर्तिलाई ओस्कार नाम दिए ।
एकाडेमी अफ मोशन पिक्चर्स आर्टस् एन्ड साइन्सेस्ले –एम्पास) नामक् संस्थाले लुई वी मेयरको सुझावमा स्थापना गरेको यो पुरस्कार आजसम्म विश्वकै आकर्षणको केन्द्र विन्दु मानिँदै आएको छ । आज यस संस्थामा ४,७४४ जना कार्यकर्ता कार्यरत छन्, जसमध्ये १२० जना अभिनयीहरु, ३६६ जना लेखकहरु ३२८ जना निर्माताहरु, २८२ जना फिल्म प्राविधिज्ञहरु, २४५ जना कला निर्देशक तथा वेशभूषा विन्यासकहरु, २४० जना सङ्ंगीतज्ञहरु, २३० जना निर्देशकहरु, १९८ जना लघुचलचित्रका कलाकार, १७२ जना सम्पादकहरु, १०८ जना छायाकार, ३०३ जना सहायकहरु छन्, बाँकी अन्य जनसम्पर्क अधिकारी २५५ वाहेक अरु कुनै पदस्तरीय छैनन् ।
ओस्कार सदैव सम्पूर्ण राष्टियताका कलाकारलाई लिइन्छ, यसमा देश, जाति, वर्ण र वर्गको कुनै भेद हुँदैन, सबैले यसमा समान सहभागिता पाउँछन् ।
प्रतिशतको आधारमा ओस्कार विजयी राष्टियताहरु यसप्रकार छन्,
सर्वश्रेष्ठ अभिनेता ः अमेरिकन ः ६९.१ प्रतिशत
                  व्रिटीश ः २३.६ प्रतिशत
                  अन्य राष्ट ः ७.३ प्रतिशत ।
सर्वश्रेष्ठ अभिनेत्री ः अमेरिकन ः ७४.५ प्रतिशत
                 व्रिटीश १४.९ प्रतिशत
                  अन्य राष्ट ः ४.९ प्रतिशत
यो पुरस्कारको घोषणपूर्वको कार्यतालिका यसप्रकार छ,
डिसेम्बर १ का दिन ः उत्कृष्ट मानेर मनोनयन गरिएका फिल्मको फर्म भर्ने अन्तिम तिथि ।
डिसेम्बर ३१ का दिन ः पुरस्कार वर्षको अन्त
जनवरी  १६ का दिन ः मनोनयनमा फिल्मको भोटको आव्हान
जनवरी  ३० का दिन ः मनोनयनको अन्त
फेब्रुरी ११ का दिन ः मनोनयन फिल्मको घोषणा
फेब्रुरी २० का दिन ः फिल्म प्रदर्शन
मार्च १४ का दिन अन्तिम भोट आव्हान
मार्च २४ का दिन ः अन्तिम भोटको क्रम बन्द
मार्च ३० का दिन ः पुरस्कार वितरण ।

ओस्कार चलचित्र  समीक्षक र दर्शकको दृष्टिको आधारमा होइन, निर्णायकको बहुमतको समर्थन र सामूहिक छलफलबाट दिइन्छ । फिल्मलाई विभिन्न दृष्टिकोण र अर्थमतको आधारमा पुरस्कारको मूल्याँकन भित्र राखिन्छ । विधागत आधारमा पनि फिल्मलाई उत्कृष्टताको मापदण्डमा राखिन्छ र त्यही अनुरुप यसलाई चुनौतीको आरेखमा राख्ने ओस्कारको परम्परा छ ।
सर्वश्रेष्ठ फिल्मको छनौट र विजेताको आधार हालसम्म यस्तो छ,
विधा                   नामांकन                  विजयी
सामाजिक फिल्म       ४७.०                      ४१.४
हास्य फिल्म            १७.०                      १३.८
ऐतिहासिक फिल्म       १०.२                       १३.८
सांगीतिक फिल्म        ८.८                       १३.८
एक्शन एडभेन्चर        ६.८                        ५.२
युद्ध सम्बन्धी            ४.४                       ८.६
सस्पेन्स                 ३.४                       १.६
वेस्टर्न                  २.४                       १.७ 
लस एन्जेल्सको एम्बेसेडर होटलमा स्थापित यो  पुरस्कार साढे १३ इञ्ची अग्लो र साढे आठ पाउण्डको भारी छ । टीन र चाँदीमा माथि सुनले लिपिएको यो पुरस्कार महायुद्धको वेला अकालले धातुको अभावमा प्लास्टर गरिएको थियो ।
यो पुरस्कारको वैशिष्ट्य परम्परा के छ भनें यसको विश्वव्यापकता, निष्पक्षता र नियमितता । हरेक कार्यक्रम र कार्यविधान सही र सन्तुलित अनि क्रमबद्ध हुनु यसको विशेषता हो । यसो भइकन पनि यो कार्यक्रम चारपटक अनियमित र विलम्ब भएको इतिहास छ, सन् १९३८ मा अमेरिकामा आएको बाढीले गर्दा, सन् १९६७ मा टेलिभिजनको हडतालले गर्दा केही समय ढिला भएको थियो भने उपराष्टपति मार्टिन लूथर किँगको हत्याले गर्दा सन् १९६८ मा कार्यक्रम दुई दिन ढिला भएको थियो भने सन् १९८१ मा अमेरिकी राष्टपति रोनाल्ड रेगनमाथि हत्याको दुष्प्रयासले गर्दा कार्यक्रम २४ घन्टा पर सारिएको थियो ।
ओस्कारको गर्वशाली इतिहासमा दक्षिण एशियाई मुलुक सन् ८०को दशक देखि प्रवेश गरे पनि पुरस्कारको नाममा शून्य बराबर नै रहेको छ ।
ओस्कार पुरस्कार शुरु भएको ५५ वर्षपछि सन् १९८२ मा बल्ल  गर्न वेलायतले रिचर्ड एटेनब्रो निर्देशित गान्धी मार्फत् ८ ओस्कार जितेर  अमेरिकी फिल्मको समतुल्यमा आउने कोशिश गर्यो । तर एशियाई सिनेमा यो मुकामबाट अझै टाढा नै देखिन्छ ।
भारत परिन्दा र नायकन बाट दर्तामा देखिन्छ भने लगान देखि स्पर्धामा छाएको देखिन्छ । चीन झ्याँग यिमाऊको द रेड शोघरम पछि छाप मार्न सफल भएको छ भने नेपालको उपस्थिति फ्रान्ससित सहकार्यमा बनेको सिनेमा क्याराभान देखि मात्र कायान्तरण भएको भए पनि मौलिक नेपाली सिनेमाको दर्ता पचास दशकको अन्त्यबाट मात्र भएको पाइन्छ ।
ओस्कार  चलचित्र पुरस्कारमा सदैव अमेरिकी बहुलता भएका निर्माण कम्पनी आवद्ध भएका सिनेमाले हालीमुहाली गर्न थालेपछि फ्रान्समा यही स्तरको सेजार फिल्म पुरस्कार, जर्मनीमा बर्लिन फिल्म महोत्सव, इटालीलमा भेनिस फिल्म महोत्सव, अष्ट्रेलियाको मेलवर्न फिल्म महोत्सव, शिकागो फिल्म महोत्सव, रुसमा मस्को फिल्म महोत्सव थालियो भने ओस्कारकै शैलीमा शुरु भएको क्यान्स् फिल्म महोत्सवले एशियाई सिनेमाको आकर्षणलाई पश्चिमी जगतमा तान्दै लगेको पाइन्छ ।
ओस्कार जस्तै चर्चामा रहने अन्य धेरै चलचित्र महोत्सव मध्ये कार्लोभीवारी पनि एक हो भने एशियाई मूलका बजारको आकर्षणमा रहेको बुसान फिल्म पनि एक हो ।
कार्लोभीवारी फिल्म पुरस्कार ओस्कार पछिको सबैभन्दा पुरानो र नियमित चलचित्र पुरस्कार मानिन्छ, यसमा दक्षिण एशियाबाट मुश्किलले भारत, जापान, चीनले प्रवेश पाएका छन् भने भारतले अस्सीको दशकमा केही पुरस्कार पनि जितेका छन्  ।
कार्लोभीवारी चलचित्र पुरस्कारमा चार प्रकारका पुरस्कार दिइन्छन्
ग्य्राण्ड प्रिक्स ः सर्वश्रेष्ठ चलचित्रका निम्ति क्रिष्टल ग्लोब –कुल धनराशि वीसहजार डलर ) सहित
विशेष ज्यूरी पुरस्कार ।
सर्वोत्कृष्ट निर्देशक पुरस्कार ।
सर्वश्रेष्ठ अभिनेता पुरस्कार ।
सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार ।
भारत सन् १९६० देखि यस प्रतियोगितामा समावेश भएपनि हालसम्म अभिनेता ओम पुरीले अर्ध सत्य का  लागि मात्र यो पुरस्कार पाएका छन् भने स्मिता पाटिलले चक्र नामक् सिनेमा लागि पाएकीथिइन् ।
कार्लोभीभारी फिल्म पुरस्कारमा कथानक चलचित्र र वृत्तचित्र दुवै समावेश छन् । कथानक चलचित्र यहाँ समावेश गरिँदा कहिँ सार्वजनिक प्रदर्शन गरिएको हुन नहुने र वृत्त चित्र ३० मिनट भन्दा छोटो एकखाले र ३० भन्दा लामो दुई खाले अलग अलग धारमा समाविष्ट हुन्छन् ।
चेक गणतन्त्रमा स्थापना गरिएको यो पुरस्कार सन् १९४६मा स्थापना भएको थियो, विश्वयुद्धपूर्व नै केही उत्साही चलचित्रकर्मीको पहलमा शुरु भएको यो चलचित्र महोत्सवमा अप्रतियोगी रुपमा सात राष्ट सहभागी थिए भने म्यारियान्स्के लाज्ने र कार्लोभीभारी अलग अलग स्थानमा यो आयोजना गरिएको थियो ।
 सात राष्टले भाग लिएर शुरु भएको यो महोत्सवमा सन् २०१० मा २०७ राष्ट्र सहभागी थिए । सम्भवत एशियन सिनेमा सहभागी भएको यो पहिलो महोत्सव थियो । यसलाई पछ्याउँदै पछि टीआइएफएफ अर्थात् टोरोन्टो इन्टरन्याशनल फिल्म फेस्टिभल सन् १९७६ मा क्यानडाको ओनतारियोमा स्थापना भएको छ । सेप्टम्बर महिनामा आयोजना हुने यो  फिल्म प्रतियोगिता क्यानडाको क्यालेण्डरको पहिलो सोमवार श्रमिक दिवसको दिन शुरु भएर ११ दिन सम्म चल्छ । यसमा ४००००० मान्छेलाई स्वागत गरिन्छ भने फिल्म पेशाकर्मी ४००० सम्म सहभागी हुन्छन् । भाषाको वन्देज नभएको यस प्रतियोगितामा सन् २०१२ देखि ७२ राष्टका  ३७२ ओटा फिल्म क्यानडाको मध्य शहरमा चौतीस प्रदर्शनी हुनेगर्छन् ।
टोरन्टो फिल्म महोत्सव सन् १९७८ मा  जम्मा ८५ ओटा  फिल्मबाट शुरु भएको थियो । हालसम्म यस प्रतियोगितामा जापान, नर्वे, अर्जेन्टिना, म्याक्सिको, दक्षिण अफ्रिका, वेलायत, अमेरिका लेबनान, दक्षिण आयरल्याण्ड, इटाली पुरस्कृत भएका छन् भने नेपालभन्दा पछि आफ्नै भाषामा सिनेमा बनाउन थालेको अष्टेलिया पनि सन् १९९२ मा पुरस्कृत भएको इतिहास छ । ताइवानी सिनेमा र स्पेनी सिनेमाको सहभागिता पनि यसमा सबल नै देखिन्छ ।
यस प्रतियोगितामा अन्य पुरस्कारमा पिपल्स च्वाइस वेस्ट डक्युमेन्टरी र टप टेन क्यान्डियन फिल्म भनेर दशक पुरस्कार पनि घोषणा गरिन्छ ।
२७ अगस्ट देखि ६ सेप्टेम्बर सम्म चल्ने भेनिस फिल्म फेस्टिभल सन् १९३२ मा इटालीमा मा शुरु भएको थियो र यसमा सन् १९५० देखि जापान र १९५५ देखि भारत पनि पुरस्कृत हुँदै आएको इतिहासले के बताउँछ भने यस महोत्सवमा एशियन सिनेमाको गहिरो पकड भएको भान हुन्छ । हालसम्म यस प्रतियोगितामा अमेरिका, स्वीडेन, जर्मनी, नर्वे, फ्रान्स, इटाली, जापान, चीन, बेल्जियम, भारत, टर्की, पोल्याण्ड, क्यानडा, फिनल्याण्ड, डेनमार्क, रुस पुरस्कृति बहुलतामा पुरस्कृत भएका छन् भने सिनेमा उद्योगमा धेरै नयाँ राष्ट मानिने इरान पनि पुरस्कृत भएको इतिहासले नयाँ मुलुकलाई आशावादी बनाएको छ । यस प्रतियोगितामा सहभागी हुने सिनेमा अँग्रेजी उपशीर्षकमा हुनुपर्ने अनिवार्य छ । यहाँ लामा फिल्म, छोटा फिल्म र वृत्तचित्र गरी तीन खण्डीय महोत्सव हुने गर्छ ।
सन् १९४६ अगस्ट २३ तारिखका दिन स्वीट्जर्ल्याण्डको लोकार्नोस्थित ग्य्राण्ड होटलमा ओ सोले मियो नामक् सिनेमा देखाएर शुरु भएको लोकार्नो इन्टरन्याशनल फिल्म फेस्टिभल आज सम्म सर्वाधिक आकर्षणको केन्द्रविन्दू मानिन्छ । अन्तर्राष्टिय फिल्म निर्माता संघको सक्रियतामा आयोजना गरिने यो महोत्सव मुक्त आकाशी प्रदर्शनी हुने गर्दछ । ८,००० दर्शकले एकसाथ सहभागी हुनपाउने यो महोत्सवमा २६ं१४ मिटरको पर्दामा विश्वभरिका सिनेमा देखाइनेछ । यस महोत्सको सबैभन्दा ठूलो पुरस्कार गोल्डेन लिओपार्ड अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वश्रेष्ठ मानिएको फिल्मलाई दिइने गरिन्छ ।
 यसवाहेक यस महोत्सवमा अन्य विशेष पुरस्कारमा अप्रतियोगीलाई निरन्तरताको आधारमा चयन पनि गरिन्छ ।
सिनेमा निर्माणको इतिहासमा हलिऊड भन्दा पहिले इतिहास रच्ने फ्रान्सको आफ्नो महोत्सव मे मा हुन्छ जसलाई क्यान्स फिल्म फेस्टिभल नाम दिइएको छ ।
फ्रान्समा हुने क्यान्स् फिल्म फेस्टिभल आज सम्म चर्चाको शिखरमा रहेको अत्यन्त सम्मानित एउटा अन्तर्राष्टिय महोत्सव हो । सन् १९३० मा फ्रान्स सरकारका राष्ट्रिय शिक्षा मन्त्री समाविष्ट भएर स्थापना भएको यो उत्सवमा सन् १९४६ देखि बाहिरी मुलुकले पनि भाग लिन थालेको थियो भने पहिलो पटक १६ राष्टले यसमा सहभागिता जनाएको थियो । यो उत्सवमा सिनेमा बाहेक वृत्तचित्र पनि समावेश हुने गर्छन् तर ती सबै आमन्त्रणका आधारमा चयन गरिने हुुँदा त्यसमा निर्णायक पनि त्यही मुलुकबाट चुनिने परम्परा छ । सन् १९५५ मा यस उत्सवमा ग्य्राण्ड प्रिक्स डु फेस्टिभल पुरस्कारलाई हटाएर पाल्मे दीेओर नामक् पुरस्कार स्थापना गरियो भने यस महोत्सवमा सन् १९५७ देखि महिला सदस्यको निम्ति ठाउँ राखिएको छ ।
क्यान्स् फिल्म महोत्सवको सबभन्दा ठूलो आकर्षण नै यसको रेड कार्पेट र हल बाहिरको फोटो शेसन मानिन्छ ।
प्रतियोगिताका निम्ति छानिएका वीस सिनेमाले पाल्मे डीओर का पुरस्कारका निम्ति लुमियर थिएटरमा देखाइन्छ जुन विश्वको सबैभन्दा पुरानो सिनेमागृह मानिन्छ । विशेष प्रदर्शनी र अप्रतियोगी सिनेमाको लागि पनि यहाँ ठूलो उत्सवधर्मिता देखाइन्छ । पन्ध्र भन्दा बढी वृत्तचित्र प्रतियोगितामा सिनेफोन्डेशनका लागि लड्छन् भने अन्य लघु चलचित्र शर्ट  फिल्म पाल्मे डीओर का लागि लड्छन् । प्यारेलल सेलेक्शनमा नयाँ ढाँचामा बनेका र नयाँ कथ्य भएका सिनेमालाई एक विशेष समारोहमा देखाइन्छ ।
क्यान्सले शुरु गरेको क्यामेरा डीओर पुरस्कार पहिलो पटक फिल्म बनाएका निर्देशकलाई उनको साहसको निम्ति सगर्व दिइन्छ ।
क्यान्स महोत्सवमा फिल्म देखाउने वाहेक निर्माताको गोष्ठि, व्यापार व्यवसायमा छलफल अनि सिनेकर्मीको निम्ति विशेष कक्षा मास्टरक्लास पनि हुने  गर्छन्, यो दुई घन्टा देखि छ घन्टासम्म निरन्तर चल्ने गर्दछ ।
सिनेमाको इतिहासमा विभिन्न आन्दोलन र वाद शुरु गर्ने राष्ट मध्ये एक हो जर्मनी । यहाँ सन् १९५१ मा  बर्लिनमा इन्टरन्याशनल फिल्मफेस्टस्पिले शुरु गरियो । युरोपियन फिल्म बजार र विपणनलाई उद्देश्य बनाएर ल्याइएको यो महोत्सवमा गोल्डन विअर र सिल्भर विअर नामक् पुरस्कार राखिएको थियो ।
बर्लिन फिल्म महोत्सवले शुरुआती चरण देखि नै एशियाई सिनेमालाई प्राथमिकता साथ अगि सार्दै पुरस्कृत गर्दै आएको थियो  भने जापानी फिल्मकार आकिरा कुरोसावा, भारतीय फिल्मकार सत्यजित रे यस महोत्सवमा शुरुआतदेखि सहभागी थिए ।
सबैभन्दा अचम्मको कुरो के रह्यो भने जीवनमा केही नजानीकन पहिलो फिल्म बनाएका सत्यजित रे पाथेर पाञ्चाली का निम्ति बर्लिन फिल्म फेस्टिभलमा पुरस्कृत भए, सर्वश्रेष्ठ चलचित्रका निम्ति । र, यसपछि नै उनको अन्तर्राष्टिय छवि बन्यो । उनले यसपछि सन् ६३, ६५ र ७३ मा लगातार पुरस्कार पाएका थिए ।
फ्रान्सले ओस्कार चलचित्र पुरस्कारलाई पछ्याउँदै सन् १९७६ मा अकादेमिक स्तरमा दिइन थालेको यो पुरस्कार फ्रान्सको कला तथा विज्ञान मन्त्रालय आफै आवद्ध भएर शुरु गरिएको हो । यसको चालीसौँ संस्करण भइसकेको छ ।
इस्लामिक सम्प्रदायमा बन्ने गरेका सिनेमालाई लिएर इरानको शहर तेहरानमा गरिने फज्र इन्टरनेशनल पुरस्कारको पनि महत्व देखिन्छ, यसले पर्सियन भाषामा बनेका सिनेमा र इस्लामिक चलचित्रका नारी कलाकार माथि वृहत्त दृष्टि राख्ने गरेको पाइन्छ । नव्वे भन्दा बढी फिल्म सहभागी हुने यस फिल्म महोत्सवमा लेखन, निर्देशन र प्रविधिका पुरस्कार व्याप्त छन् ।
 एशियाई भूखण्डमा आफ्नै महत्व राख्ने एउटा चलचित्र महोत्सव हो, बुसान चलचित्र महोत्सव । दक्षिण कोरियाको सिऊलमा सन् १९९६ बाट शुरु भएको यो महोत्सवको पुरानो नाम पुसान इन्टरन्याशल फिल्म फेस्टिभल हो , यो सेप्टेम्बर को १३ देखि २१ सम्म हुने गर्दछ । गाला प्रस्तुतिकरण, आजको सिनेमाको नयाँ धार, खुल्ला सिनेम र एशियाईको सिनेमाको बजारलाई ध्यानमा राखेर शुरु गरिएको यस महोत्सवमा नेपाल र भारतको सहभागिता नियमित देखिएको छ ।
नेपालले पहिलो रंगीन चलचित्र कुमारी मार्फत् २०३५  सालमा ताशकन्द फिल्म महोत्सवमा भाग लिएर शुरु भएको अन्तर्राष्ट्रिय स्तरका साना ठूला सबै महोत्सवमा हाम्रो सहभागिता जारी छ । तर मुलुकभित्र नियमित हुन नसकेको चलचित्र महोत्सव पहिलो पटक २०४१ मा राष्ट्रिय चलचित्र महोत्सव नामबाट शुरु भए यता धेरै महोत्सव भए पनि तिनको स्थायीत्व हुन सकेको छैन । यद्यपि छोटा चलचित्रहरुको महोत्सव माउन्टेन फिल्म फेस्टिभल र साउथ एशियन फिल्म फेस्टिभलले वृत्तचित्रको बजारीकरणमा एउटा धार र धारणा बनाएको छ ।
००

No comments:

Post a Comment