Wednesday 19 August 2015

Naryan Gopal by Prakash Sayami

नारायणगोपाल नभएको भए

नारायणगोपाल नभएको भए
93 4 2 0 0
नेपाली गायन क्षेत्रमा नारायणगोपाललाई स्वरसम्राट भनिन्छ । उनी भएर संगीतले के पायो ? र, उनी नभएको भए के गुमाउँथ्यो ? संगीत समीक्षक प्रकाश सायमीको विश्लेषण :
प्रकाश सायमी
प्रकाश सायमी
नेपालका पहिलो रक सिंगर माइक खड्काले प्रसंगवश संगीतकार दीपक जंगमलाई सोधेछन्, ‘नारायणगोपालको स्वरको टेक्स्चर गुलाम अलीको भन्दा राम्रो भन्न मिल्छ ?’
पाकिस्तानी गजल गायक गुलाम अलीसँग पनि सहकार्य गरिसकेका गायक–संगीतकार दीपक जंगम लामो समय मौन भएछन् र एक पेग उडाएपछि बल्ल मुस्किलले भनेछन्, ‘भन्न गाह्रो छ, दुवैको आ–आफ्नो रेन्ज र टोन छ, तर लङ रनमा दुवैको तुलना गर्न मिल्दैन ।’ दुवै गायकको आवाजलाई ‘क्रुसियल’ समयमा प्रयोग गरेका सिद्धहस्त संगीतकारको यो मूल्यांकन चानचुने होइन ।
नारायणगोपालसँग पछिल्लो समय काम गरेका दुई सशक्त संगीतकार हुन्, दिव्य खालिङ र दीपक जंगम । दुवैले क्षमताले भ्याएअनुसार नारायणगोपालबाट लिए पनि, दिए पनि । नारायणगोपाल ३० र ४० को दशकमा नेपाली संगीतका अमिताभ बच्चन थिए, उनले जसलाई छोयो, त्यो संगीतकार वा गीतकार सफल हुन्थ्यो । शम्भुजित, भूपेन्द्र रायमाझी, चन्दन लमजेल आदि उनकै गीतमा गुञ्जिएपछि चर्चा वा पहिचानमा आए ।
नारायणगोपालले सुरुवाती कालखण्डमा गाएका ६ वटा गीत रत्नशमशेर थापाका थिए । त्यसपछि उनले अम्बर गुरुङ, गोपाल योञ्जन अनि कर्म योञ्जनका गीत गाए । तेस्रो चरणमा उनले सिके रसाइली, नातिकाजी, शिवशंकर, चन्द्रराज शर्मा आदिका गीत गाए ।
पहिलो इनिङ र दोस्रो इनिङमा फरक नारायणगोपालको स्वर मात्र थियो । पहिलो इनिङमा उनले राम्रो हुन राम्रा गीत खोजे । तर, दोस्रोमा राम्रा गीतले उनलाई खोजे । कालीप्रसाद रिजाल, नोर्देन रुम्बा, विश्वम्भर प्याकुर्‍याल, चाँदनी शाहका गीत यसका उदाहरण हुन् ।
०१८ देखि ०४४ सालसम्म उनले एक सय ५७ गीत गाए । कुनै पनि गीतमा उनले आफूलाई स्वरिता, गायकी र शब्दचयनमा दोहोर्‍याएनन् । उनी एकनास नर्मदाजस्तै फरक–फरक रूपमा बगे । तर, बीच–बीचमा रेस्ट लिएर ।
नारायणगोपालको स्वरमा दुइटा खुबी थियो, मौलिकता र उच्चारण । नेपाली गायकीमा पाइने शुद्ध ब्राह्मणीय ओज र ढबबाट उनी अलग थिए । पुरानो पारसीशैलीको गायनलाई त उनले पूर्ण बहिष्कार गरेका थिए ।
नारायणगोपाल गाउँदा एउटै मान्छेलाई हिरो सम्झिन्थे– आफैँलाई । आफैँलाई केन्द्रमा राखेर गाउन सक्ने उनको क्षमता नै पछि उनको उग्र अहम् र झोँकी स्वभावको पहिचान भयो । उनको ‘लार्जर देन लाइफ’को छविले उनलाई लोकप्रियतामा जति माथि पुर्‍यायो, त्यसैले उनलाई ‘बोहेमियन’ (असामाजिक प्राणी, चम्चाहरूको घेरामा रमाउने)जस्ता ट्याग पनि भिरायो । तर, यहीकारण पञ्चायतकालमा दरबारका सचिवदेखि मन्त्रालयका सचिव, उपसचिवसम्म उनको वरपर हुन चाहे । त्यो उनको स्वरको कारण मात्र होइन, उनको ‘बिग ब्रदर’को व्यक्तित्वको कारण पनि हो । उनको खान्की, विश्व राजनीति र इतिहासको जानकारीले धेरैलाई लोभ्यायो, गायनमा विश्वास र पक्कडले पनि । उनले गाउन अस्वीकार गरेका गीत फ्लप भएका छन्, उनले गाएका कमसल गीत पनि लामो समय टिकेका छन् । रञ्जित गजमेर र शम्भुजित बासकोटाका गीतलाई त्यस कोटिमा राख्न सकिन्छ ।
नारायणगोपालको मातृभाषा नेवारी हो । उनले नेवारी रंगमञ्चमा एक वा दुई कार्यक्रमपछि कुनै गीत गाएनन् । नेवारी गीत गाएर राजनीति गर्न चाहेनन्, नारायणगोपालले । पछि नेवारी गीत गाउने चाहना भने साथीहरू दुर्गालाल र गिरिजाप्रसाद जोशीसित राखेका थिए उनले ।
उनका पिता आशागोपाल शास्त्रीय संगीतका धुरन्धर उस्ताद थिए, छिमेकी कोमलनाथजस्तै । तर, नारायणगोपालले आफ्ना पिताको बाटोलाई समाएनन् । आफ्नै बाटो बनाए ।
नेपालमा गीत गाएर गुजारा गर्न सकिँदैन भनिने समयमै उनी गीत गाएरै सांस्कृतिक संस्थानको महाप्रबन्धक भए । यो फरक कुरा हो कि उनको महाप्रबन्धकत्वकाल विवादास्पद रह्यो ।
उनीसित प्राय: कलाकारहरू रुष्ट नै रहे । कतिले त उनीविरुद्ध केही समय पर्चाबाजी पनि गरे । तर, उनको अटेरीपना कलाकारको हक–हितकै लागि थियो, सांस्कृतिक संस्थान बचाउन थियो । त्यतिवेला सांस्कृतिक संस्थान कलाकार भर्ती केन्द्र थियो । संस्थानका कलाकारलाई राणाका दरबार, पाँचतारे होटल र चलचित्रले तान्न खोज्थे, यसका सख्त विरोधी थिए, नारायणगोपाल ।
नारायणगोपाल कलाकारलाई सांस्कृतिक संस्थानले नै पाल्नुपर्छ भन्ने अभियानमा थिए । यो नै उनको घातक कदम हुन पुग्यो । नारायणगोपाल कुनै तालिमप्राप्त महाप्रबन्धक थिएनन् । सामान्य अध्ययन भए पनि महाप्रबन्धक भएका उनी पहिलो कलाकार थिए । यसले अरू कलाकारलाई पनि ‘जिएम’ हुने ‘रन वे’ बनाइदियो ।
दरबारसँग लभ एन्ड हेट रिलेसनसिप भएका नारायणगोपालले लामो समय दरबारबाट आएको गीत गाउन चाहेनन् । त्यसअघि नै उनले दरबारबाट निहत्था बनाएर फ्याँकिएका रवीन्द्र शाहको गीत गाएका थिए ।
गीतमा सन्देश, चेतना, जागरण र आह्वान भए पनि नारायणगोपाल ०४६ सालको आन्दोलनमा प्रत्यक्ष सरिक भएनन् । त्यतिवेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाएको विरुद्धमा ३ चैतमा कालोपट्टी बाँधेर विरोध गर्ने कार्यक्रममा उनले आफ्ना मित्र वासु शशीलाई आउँछु भनेका थिए । तर, आएनन् । उनी आलोचित भए ।
नारायणगोपालको स्वर र व्यक्तित्वमा फरक शक्ति थियो । सबैलाई दबाउन र कँजाउन यसले उनलाई सहयोग गरेको थियो । काठमाडौंमा आयोजना गरिएको पहिलो एकल साँझ ‘स्वर्णिम साँझ’मा उनले औद्योगिक परिवारका वसन्त चौधरीलाई प्रयोग गरे । वसन्त पनि त्यतिवेला दरबारसँग निकट हुन चाहन्थे । यी दुवै कुरा दुवैलाई मिल्यो ।
काठमाडौंका रैथाने नेवारसित अलोकप्रिय भइसकेका नारायणगोपाललाई नेवार परिवारसित निकट मानिने चौधरी परिवारका वसन्तले स्वापु (नेवारीमा यसको अर्थ हुन्छ सुधारिएको सम्बन्ध) जोडिदिए । वसन्तको न्युरोडका भिडिओ पसले, कपडा व्यवसायी, थँहिटीका होटल व्यापारीसित राम्रो सम्बन्ध थियो । ती सबलाई नारायणगोपालको कार्यक्रममा वसन्तले टिकट विक्रेता, स्वयंसेवक, सज्जाकार बनाइदिए । नेवार समुदायसँग सहकार्य नभई त्यो कार्यक्रम काठमाडौंमा असम्भवप्राय: थियो ।
नारायणगोपालले जम्मा चारवटा नेवारी गीत गाए । तर, मन्चमा कहिल्यै गाएनन् । उनले नेवारी समुदायकी युवतीसँग विवाह गरेनन् । नेवार जाति र सम्प्रदायको कुनै आन्दोलनको हिस्सा बन्न चाहेनन् । यस्ता कारणले काठमाडौंका नेवार उनीसित टाढा थिए । त्यसबाहेक काठमाडौंका अन्य कलाकार पनि उनीसित रुष्ट थिए । दार्जिलिङबाट आएका कलाकार गोपाल योञ्जन, कर्म योञ्जन, दिव्य खालिङलाई मात्र नारायणगोपालले च्याप्यो भन्ने आरोप लागेको थियो उनीमाथि । त्यसैले, उनका पुराना साथी, संगीतकर्मी पनि टाढिइसकेका थिए ।
नारायणगोपालको जीवनमा दुई चुनौती थिए, अस्तित्वको बचाउ र स्वरको समृद्धि । महाप्रबन्धकको जागिर त्यसको बाधक भइसकेको थियो । मद्यपानको अनवेक्ष प्रयोगले उनको स्वरमा भन्दा शरीरमा थकान थपिसकेको थियो ।
स्वरका कारणले युनिक नारायणगोपालका रिजर्भेसन पनि थिए । उनी गीत छानेर र मागेर गाउँथे । तर, पैसा मागेर होइन, तोकेर लिन्थे ।
प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेको नाटक ‘मालती–मंगले’ चर्चित भएपछि राजदरबारले सबैलाई बाँड्नू भनेर दुई लाख रुपैयाँ बक्सिस पठायो । नारायणगोपालको हातमा १० हजार मात्र पर्‍यो । उनले लेखकले कति पाए भनेर सोधे । कतैबाट जवाफ आयो, ‘५० हजार ।’
त्यो जवाफ पाएपछि उनले त्यो १० हजार फर्काइदिए र भने, ‘उसले लेखेर यो गीतिनाटक चलेको हो भने साझा प्रकाशनमा किताब थन्कने थिएन । मेरो आवाजले चलेको हो, मलाई आधा हिस्सा चाहिन्छ ।’
यो कुरा जहाँ पुग्नुपर्ने थियो, पुग्यो । र, उनलाई लेखकको भन्दा धेरै पैसा आइपुग्यो । हार्न उनले जानेका थिएनन् र जितका लागि उनी आफैँ कोर्ट बनाउँथे । बल पनि आफ्नै, कोर्ट पनि आफ्नै ।
गजब आवाजका धनी नारायणगोपालको बानी–व्यहोरा पनि गजबकै थियो । उनी मन नपरेको मान्छेलाई घरको दैलोसम्म आए पनि भेट्दैनथे, त्यसमा कैयौँपटक दरबारका सचिवदेखि मन नपरेका संगीतकार, गीतकार पनि परेका छन् । यति मात्र कहाँ हो र, उनी मन नपरेका दर्शकलाई समेत मञ्चबाट च्यालेन्ज गर्थे । त्यसको एउटा उदाहरण हो, ‘सम्झनाको रात’ । उनले त्यो कार्यक्रममा गीतै गाएनन् ।
गीतगंगा स्थापित गर्ने नारायणगोपालको सपना थियो । उनी बितेको २५ वर्ष भइसक्दा पनि उनको यो सपना अधुरो नै छ, यो सपना पूरा गर्ने जिम्मेवारी लिएको नारायणगोपाल संगीतकोष पनि वर्षमा एक दिन पुण्यतिथि मनाएर सेलाइसकेको वा हारिसकेको छ ।
जीवनभर नारायणगोपालकै मात्र गीत गाएर साधना गर्दै आएका गायक शैलेश सिंह भन्छन्, ‘नाममा कुनै कोष नभए पनि हराउने कलाकार होइनन् नारायणगोपाल, सालिक नहुँदैमा नचिनिने साधक होइनन् उनी, तर नारायणगोपाल संगीतकोषले नारायणगोपाललाई झन् पछि धकेल्दै छ ।’
अहिले पनि बर्सेनि नारायणगोपालको सम्झनामा देशभर कार्यक्रम हुन्छन् । ती कार्यक्रमको प्रायोजक या त रक्सीको ब्रान्ड हुन्छ, या चुरोटको ।
यो कस्तो विडम्बना ? रक्सी र चुरोटले नै पराई बनाएका नारायणगोपाललाई सधँै यसैको समर्थन र सहयोग चाहिने ?
यस्ता थिए नारायणगोपाल
१. नारायणगोपाललाई ‘स्वरसम्राट्’ पहिलोपटक गीतकार नगेन्द्र थापाले ‘धुपी’ पत्रिकामा ०२६ सालमा
भनेका हुन् ।
२. नारायणगोपालले पहिलोपटक रेडियो नेपालको स्वर परीक्षामा प्रेम माणिकको संगीत र राममान तृषितको शब्द रहेको ‘पंखको स्वाद लिई जीवन’ गाएका हुन् । त्यसपछि उनले प्रेम माणिकका कुनै
गीत गाएनन् ।
३. नारायणगोपालले कुल मिलाएर नेपाली एक सय ५७ र नेवारी चार गीत गाएका छन् ।
४. नारायणगोपाल पहिलोपटक चलचित्र ‘माइतीघर’का लागि गीत गाउन मुम्बई गए, तर अस्वस्थ भएर नगाई फर्के । त्यो गीत पछि भारतकै प्रसिद्ध पाश्र्वगायक मन्ना डेले गाए ।
५. नारायणगोपाल गायनमा आउँदा पोखराका सरोजगोपाल बज्राचार्य पनि चर्चामा थिए । नाम जुध्यो भनेर नारायणगोपालले केही समय आफ्नो नाम एन. गोपाल पनि राखे ।
६. चलचित्रमा पाश्र्वगायनका निम्ति पहिलोपटक नेपालमा राष्ट्रिय चलचित्र पुरस्कार ‘कान्छी’को पृष्ठ गीत ‘छोरीको जन्म’का लागि नारायणगोपाललाई दिइएको थियो । तर, उनले ‘पुरस्कार लिएर मञ्चमा गाउनुपर्छ भने, म लिन्नँ’ भने र लिएनन् । त्यो पुरस्कार अहिले पनि आयोजकसँगै होला ।
७. नारायणगोपाल सारा संसारका अगाडि स्वर–सम्राट्को नाउँले लोकप्रिय भए पनि उनका साथीमाझ उनी विभिन्न नाउँले विख्यात छन्, उनका बालसखा राममान तृषित अनि कवि भूपी शेरचन उनलाई सानबाबु भन्थे, गोपाल योञ्जन उनलाई मितज्यू भन्थे, गीतकार नगेन्द्र थापा उनलाई नारान् भन्थे, संगीतकार अम्बर गुरुङ उनलाई सैन्डो पहलमान भन्थे । उनी आपसमा सम्बोधन गर्दा गायिका दिलमाया खातीलाई दोस्त भन्थे भने दिव्य खालिङलाई सोम र गायक फत्तेमानलाई महाराज भन्थे । नारायणगोपाललाई उनका केही साथी चिढ्याउन गैँडा भन्थे ।
८. नारायणगोपाल अरूले गाइसकेको गीत पनि मन पर्‍यो भने मागेर गाउँथे । दिलमायाले गाइसकेको ‘तिम्रोजस्तो मेरो पनि’ र इन्दिरा श्रेष्ठले गाइसकेको ‘ए मलाई माया गर्छु भन्ने हजुर’ अनि पेमा लामाले गाइसकेको ‘मायाको आधारमा सम्झौता नै हुन्छ’ पछि उनकै स्वरमा लोकप्रिय भए ।
९. नारायणगोपालका दुई घनिष्ठ मित्र थिए, गीतकार नगेन्द्र थापा र संगीतकार नगेन्द्र हाडा । उनले थापाका प्राय: गीत गाए, तर हाडाका कुनै गाएनन् । नारायणगोपालले मितज्यू गोपाल योञ्जनका सबैजसो गीत मागी–मागी गाए । तर, विश्वास फिल्मको ‘अंग–अंगमा तरंग ल्याई’ गाउन मानेनन् । गीतकार एवं फिल्म निर्देशक चेतन कार्कीको कार्यालयमै पुगेर उनले भने, ‘चेतन म यो गीत गाउँदिनँ ।’ यसपछि मितज्यूको जोडी अलग भयो ।
१०. नारायणगोपाल गायनमा आउनुभन्दा अगाडि रंगमञ्चमा अभिनय गर्थे । पहिलो अभिनय गरेको नाटक ‘त्याग’ थियो, जसमा उनी अन्धोको भूमिकामा थिए । ०१३ सालमा मञ्चित त्यो नाटक कवि दुर्गालाल श्रेष्ठले लेखेका थिए । इतिहासमा अत्यधिक रुचि लिने नारायणगोपालले संगीतसम्बन्धी दोस्रो पत्रिका बागीना (बाजा, गीत, नाच)को सम्पादन पनि गरेका थिए ।
- See more at: http://www.enayapatrika.com/2015/08/22132?sthash.PxPv8dY7.sd60xqHn.mjjo#sthash.PxPv8dY7.oUFzLT5I.dpuf

Saturday 15 August 2015

Amber Bhakha by Prakash Sayami

लोकगीतको आलोकमा अम्बरका अमर भाखा
प्रकाश सायमी




संगीतकार अम्बर गुरुङको रचनाको संसारमा दुई दृश्यमान पक्ष छन्, शास्त्रप्रदत्त संगीतको ज्ञान र नेपाली लोकसंगीतको पाश्र्वभूमि  ।
नेपाली संगीतको १०८ वर्ष  लामो  सांगीतिक इतिहासमा  आधा शताब्दी लामो गौरवपूर्ण सांगीतिक यात्रा तय गर्ने सौभाग्य संगीतकार अम्बर गुरुङले पाएका छन् ।
सर्वविदीतै कुरा हो, गुरुङको सांगीतिक यात्रा भारतको पहाडी राज्य दार्जीलिङबाट शुरु भयो । दार्जीलिङ,  त्यो समय हिन्दी गीतसंगीतबाट मुक्त र अछुत थियो तर नेपाली शैलीका संगीतको वैभवका निम्ति हरि प्रदीप उदय, जीतेन्द्र बर्देवा, एचमान गुरुङ सक्रिय थिए भनें अम्बर त्यही वेला अगमसिंह गिरीको शब्दमा आफ्नै संगीतमा नौलाखे तारा उदाए लिएर उदय भए, यस गीतको रेकर्ड पछि उनको जे जस्तो परिचय बन्यो त्यो इतिहास बन्यो ।
समला धुनमा तयार पारिएको यस गीतमा शरण प्रधानको मैण्डोलिन, गोपाल योञ्जनको बाँसुरीले करामत गरको छ तर त्यसगीतमा भएको लोक शैलीको भाववोध र रचनात्मक पक्षलाई प्रायःले मनन गर्न भ्याएन । यसपछि अम्बरले घाम जून पञ्च साँची राखी, बाँध मायाले जस्ता गीत संगीत गरे जसमा पनि लोक बाजाको संयोजन र ताल बाजामा नेपाली लोकभाकाको छाप देखिन्थ्यो ।
दोस्र्रो पटक चर्चामा आएको रुद्रमणी गुरुङ र अरुणा लामाले गाएको उनको  युगल गीत ‘ए कान्छ मलाई सुनको तारा खसाई देउ न, गायन र संगीत संयोजनका हिसाबले न्यूनाधिक्य रुपमा नेपाली लोक गीत जस्तो  सुनिए पनि यो अम्बरको खूबी हो उनले भाव पक्ष र गायनको सम्प्रेषणीयतामा नेपालीयता कायम राखे , यसैकारणले पनि भारतीय मूलका संगीतकार आरडी बर्मनले यसलाई नेपाली लोक गीत सम्झेर नै हिन्दी पाश्र्वगीतमा प्रयोग गरेको कुरा उनका जीवनी लेखक अनिरुद्ध भट्टाचार्जी र बालाजी विट्टलले आरडी बर्मन दी म्यान्, दी म्युजिक मा उद्धृत गरेका छन् ।
नेपाली संगीतकारमा पूर्वीय र पश्चिमीया संगीतका पोख्त ज्ञाता मानिने अम्बर मात्र एक संगीतज्ञ हुन् उनले मेरो आँखालाई राख्ने फूलवारी छैन, पोखिएर घामको झुल्का जस्ता गीतमा जुन किसिमको लयविधान रचेका छन् , त्यसमा पहाड तराईको समन्य र स्पशै देखिन्छ । उनले यी गीतमा जुन किसिमको वाद्यसंयोजन गरेका  छन् त्यसले नेपाली जनजीब्रोको लोक लयलाई सिंचन र संरक्षण गरेको बुझिन्छ तर उनमाथि प्रायः संगीत समीक्षक र संगीतकर्मीको आरोप एउटै थियो, अम्बरलाई पश्चिमीया संगीतको जति ज्ञान छ, त्यति नेपाली लोक गीतको ज्ञान छैन ।
यो आरोप धेरै समयसम्म  उनको वरिपरि घुमिरह्यो । यो आरोपको सामना गर्ने र यसलाई प्रतिवादको रुपमा जवाफ दिने अवसर  उनले मालती मङ्गले नामक् गीति नाटकमा पाए । यो उनको निम्ति चुनौति पनि थियो र परीक्षा पनि ।
विक्रमाब्द २०२६ मा संगीतप्रमुखका रुपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका अम्बरले संगीत निर्देशकका रुपमा वढुवा भएपछि प्रज्ञाकै नाटक ‘पहाड चिच्याइरहेछ, ‘जब घाम लाग्छ, ‘फर्केर हेर्दा’ जस्ता नाटकमा आफ्ना शिल्प र क्षमता देखाइसकेका थिए तर समय वा कारणले साथ नदिएर उनले नेपाली लोक संगीत पक्षमा आफ्नो दह्रो उपस्थिति देखाउन पाएका थिएनन् ।
स्वरसम्राट नारायणगोपालले महाकवि देवकोटाको ‘सगरभरि छाती चिरी’ जस्तो गीतमा लोपप्रायः भइसकेको पूर्वीय लोक बाजा एकतारेलाई कुशल वाद्यवादक जसबहादुर राई मार्फत् प्रस्तुत गनुृ र नारायणगोपाल स्वयम्ले ‘ए कान्छा ठट्टैमा बैंश जान लाग्यो ’ जस्तो गीतमा नेवारी लोक धुन ‘गुँला म्ये’को विशिष्ट प्रयोग गरिनुले अम्बरका निम्ति एउटा चुनौति यथावत् नै थियो, आफ्ना समकालीन नातिकाजी र शिवशंकर संगीतमा पनि लोकपक्षको भरमार प्रयोग देखिइनु अम्बरका निम्ति लञ्चिंग प्याड् नै बनेको थियो । उनका शिष्य गोपाल योञ्जनले आफ्ना मीत कल्याण शेरचनसित मिलेर पश्चिमीय लोकभाकामा व्यापक र विस्तीर्ण खोज गरिरहेका वेला अम्बरको भागमा मालती मंगले गीति नाटक आइपुग्यो, २०४० सालमा ।
कविवर माधव घिमिरेले पश्चिम नेपालको परिवेशमा रचना गरेको मालती मंगले मा पात्रगत रूपमा तीनटा  क्लास (वर्ग) थियो, शासक, शोषक र शोषित । यी तीनै वर्गको प्रतिनिधित्व गर्ने त्यहाँ एउटै वैचारिक आरोह अवरोह थियो, स्थानीयताको रंग दिन सक्ने गायन र संगीत ।
संगीत रचनाका हिसाबले मालती मंगले अम्बर गुरुङ को भव्य उपस्थिति थियो । यसको सांगीति पक्ष सम्पूर्ण रुपले पश्चिमीय नेपालको लोकलयमा आधारित थियो । लोकगीतलाई सम्पूर्ण सुगम संगीतको मातृभूमि मान्ने अम्बरले यसमा संगीत गर्दा सबैलाई नाजवाफ नै बनाइदिएका छन् । मालती मँगलेका मूल गायक नारायणगोपालले समेत गीत रेकर्ड गर्नु भन्दा अगाडि  अम्बरलाई फोक म्युजिकको के ज्ञान छ भनेर गीति नाटकका रचयिता माधव घिमिरेलाई प्रश्न गर्दा उनले मौन वस्नु परेको स्मरण उनी गर्छन् तर नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय भित्र रेकर्ड गरिएको मालती मंगलेका गीतमा गोपालनाथ योगी, मोहन सुन्दर श्रेष्ठ, जेवी लामा जस्ता कुशल वाद्यवादकले काम देखाएका थिए भनें गायनमा तारादेवी, नारायणगोपाल, सुक्मित गुरुङ, किरण प्रधानले आफ्नो स्वर र क्षमताको पहिचान दिएका थिए ।
कवि घिमिरेले रचना गरेका पश्चिमीया नेपालको लोक भाका र लोक बाजालाई अम्बरले सकुशल संयोजन गरेका थिए । यस गीति नाटकका चर्चित गीत ढोका खोल मालती ढोका खोल न, शिरको टोपी भइँमा राखी म गर्छु विनती, आज भोलि दुख्दैन गोडा मैनकाँडाले घोचे पनि, म जहाँ जान्छु ठक्कर खान्छु म  कहाँ जान्छु र, मलाई पनि लानुस् हुजुर जस्ता गीतमा नेपाली लोकसंरचित भाखाको सुदुर र सुरम्य प्रयोग भएको छ ।
नेपाली आधुनिक संगीतका निर्माता मध्ये एक मानिने अम्बरलाई नै यस नाटकमा चयन गर्नुका कारण रचनाकार माधव घिमिरेले भनेका छन्, अम्बरजीमा लोक संगीतको पूर्ण ज्ञान छ तर त्यसको सही प्रोग भएको छैन यो यसैको नमूना हो ।
यो नाटकमा अम्बर गुरुङले प्रयोग गरेको बाजको सम्मिश्रण र स्वरिताको पूर्ण भावभूमि नेपाली लोक गीत नै हो तर दुई उत्कृष्ट समुह गायन –क्वायर ) र विशाल वाद्यवृन्द –सिम्फोनी) को अनुभव आर्जन गरिसकेका अम्बरले नेपालमा चराको संसार (वाद्यवृन्द) घर र लाहुर (क्यान्टेटा ) लघु वाद्यवृन्द –मिनी सिम्फोनी) पनि गरिसकेका थिए ।
पश्चिमी बाजालाई नेपाली परिवेशमा सही छनौटका आधारमा प्रयोग गर्न सक्ने अम्बरले नेपाली कथानक चलचित्र जीवन रेखा को पृष्ठ गीत कहिँ आफ्नै भुँवरीमा आफैँ पर्यौ कि ? भन्ने गीतमा खूब करामत गरेका छन्, राजै शब्दको प्रयोग र म्युजिक एरेन्जमेन्टमा । पहाडी पृष्ठभूमिका निम्ति शहरीया चरित्रद्धारा गाइने यस गीतमा अम्बरले यात्रावृत्त र स्मृति –कन्टेटा) को इफेक्ट दर्विलो पाराले दिएका छन् ।
भारत सरकारको सिक्किम राज्य बाट बनेको आदिकवि भानुभक्त नामक् सिनेमाका निम्ति मुम्बईमा रेकर्ड गरिएको पाश्र्व गीत र संगीतमा अम्बरले बलिउड फिल्म इन्डस्ट्रीका वाद्यवादक प्रयोग गर्दा पनि नेपाली फ्लेबर ( गन्ध र लय)को सांगीतिकता कायम राखे । यसै वृत्तचित्रका निम्ति उनले आफैँ गाएको भानुभक्तको रचना अपला चपला अमरावति कान्तिपुरी गाउँदा त्यसमा मिस्सिएको ऐतिहासिकी र भानुको जन्मस्थलको काल्पनिकी एक सुस्वादु संयोजनका रुपमा व्यक्त भएको छ ।
अम्बर गुरुङको संगीतमा पाइने लोक वाद्यवादनको प्रयोग एक इतिहासमा उनी सम्वद्ध दार्जीलिङको आर्ट एकादेमीसित जोडिन्छ, त्यतिवेला वीसको दशकमा उनी नेपाली लोक बाजा र धुनको खोजी दार्जीलिङका कमान र वस्ति वस्ति पुग्थे । त्यहाँ देखिको उनको सांगीतिक खोजीको यात्रा कै भरमा उनले पछि वैरागी काइँलाको गीत स्याउली सुकाई राखे सुकी जाला भन्ने डर, रुमाल छोडी राखे मैली जाला भन्ने डर मा पनि प्रयोग गरेका छन् ।
उनका गीति एल्बम कहिले लहर कहिले तरंग शुद्ध रुपमा आधुनिकताको  मिठास थियो भनें रत्न शम्सेर थापासित संयुक्तिमा गरेको दोभान एल्बममा उनले नेपाल र नेपालका पहाडी भूभाग, गाउँवेसी झल्किने गीत गरेका छन् , विशेषतः दीप श्रेष्ठले गाएको वारी भरि फुल्यो होला सयपत्री, अरुणा लामाले गाएको आँखामा मेरो छाइरहेको बादल हटेन जस्ता गीत उदाहरणार्थ लिन सकिन्छ ।
संगीतका कुशल अध्येता अम्बर गुरुङले नेपालको राष्ट्रगान सयौँ थुँगा फूलको हामी संगीत गर्दा माइनर रागको प्रयोग गरेका छन् भने समूह गायनमा सजिलो होस् भन्नका लागि फोक फ्लेबर (लोकभाखाको प्रभाव ) कायम राखेका छन् । संयोगले यस राष्ट्रगानका संगीत संयोजक उनकै छोरा किशोर गुरुङ पनि पश्चिमी नेपालको लोक संगीत घाटु माथि शोधार्थी रहेका छन् ।
ए कान्छा सुनको तारा देखि मालती मंगले र मालती मंगले देखि नेपालको पछिल्लो राष्ट्र गान सम्म संगीत गर्दा अम्बर गुरुङ हर समय नेपाली लोक लय र लोक बाजालाई एक विशिष्टीकृत रुप दिएका छन् । उनको संगीतमा पाइने यो सीमान्तीकृत भाव, स्वभाव र मनोभूमि नै उनको लोक संगीत प्रतिको स्नेहार्पण भन्ने बुझिन्छ ।
००