Friday 7 November 2014

Memoir by Prakash Sayami

 सम्झनाको कोलाज
प्रकाश सायमी
00

 “प्रकाशसँग मेरा दुईवटा महत्वपूर्ण घडीहरू पनि गाँसिएको छ । मेरो पहिलो लेख पत्रिकामा प्रकाशित गरिदिने व्यक्ति प्रकाश नै हुन् । मलाई अहिले पनि सो साप्ताहिक पत्रिकाको नाम याद छैन । त्यतिवेला हामी दुवै रत्नराज्य कलेजमा आइएमा पढ्दै थियौँ ।
दोस्रो, प्रकाश र म आइएमा पढ्दा नै अन्तर कलेज प्रहशन प्रतियोगितामा पुगेका थियौँ . प्रकाशले लेखेको स्क्रिप्ट र निर्देशनमा । प्रज्ञा प्रतिष्ठानमा फाइनलका लागि प्रहशन गर्न जाँदा थाहा भयो , अर्का प्रतिस्पर्धीका रूपमा सरस्वति क्याम्पसबाट सन्तोष पन्त आएका रहेछन् ।”
ः रवीन्द्र मिश्रले गत महिना छ तारिखका दिन लेखेका यी पंक्तिले मलाई इतिहासको त्यो गर्तमा पुर्याईदियो जहाँ म झुक्किएर कहिलेकाहिँ मात्र पुग्थेँ ।
ग्रेगेरियन क्यालेण्डरका अनुसार सन् अस्सीको दशक । विश्वमा तहल्का मच्चाएको गर्विलो युग । उपन्यासकार जर्ज अर्वेलको भाषामा एक अन्धो युग ।
. सन्दर्भ शायद त्यति पुरानो होइन । तर इतिहासले त्यसमा एउटा विशेषता  बनाइसकेको छ ।
.सडक कविता क्रान्ति बाट थाकेका सडकले जनमत संग्रहको आव्हान त्यसपछि सुधारिएको पञ्चायती व्यवस्था स्वीकारिसकेको थियो ।
.बाटोघाटोमा मधुरो स्वरमा सुनिने ‘के छ कमरेड भन्ने अभिवादन अझै मधुरो हुँदै गएको वर्तमान थियो ।
. नेपाली जनजीवनमा वा नेपालकै इतिहासमा एउटा ऐतिह्य मानिएको  एक महायात्रामा हिँडेर फर्केका शोकमग्न यात्रीहरुले  एक नेतालाई विदा गरिसकेको युग थियो त्यो ।
. भर्खर काठमाण्डू फर्केको थिएँ, के पढ्ने कता पढ्ने अलमलमा थिएँ । टाढाका एकजना नातेदारले फर्म भरेर  रत्नराज्य लक्ष्मी क्याम्पसमा मेरो  नाम निकालिदिएका थिएछन् । 
.रत्नराज्यलक्ष्मी क्याम्पस त्यसभन्दा पहिले गल्र्स कलेजका रुपमा परिचित थियो अहिले केही वर्ष यतादेखि सहशिक्षामा तब्दिल –(परिवर्तन)  भएको थियो, त्यसैले त्यहाँ पढ्न दिल बन्यो  भन्दा अलि अलि काफिया मिलाएको ठहरिएला तर काफी मात्रामा साथीभाइको दिल त्यहीँ थियो, म त्यहीँ पसे ।
त्यहीँ पढ्थे मेरा धेरै साथी भाइ राजु सिलवाल, सुनील खरेल,  रोविन शर्मा, उदीतनारायण झा, भुवन केसी, शबनम बज्राचार्य, प्रमोद पाण्डे आदि । कोही अभिनयमा, कोही गायनमा,  कोही पत्रकारितामा कोही सञ्चारचक्रमा, कोही रंगमञ्चमा व्याप्त थिए ।
समयका हिसाबले म भन्दा ठीक एकसाल पहिले रंगमञ्चमा प्रवेश गरेका सम्राट सापकोटा, विकास अमात्य, मोहन ढुँगाना ती पनि केही न केही कारणले त्यो कलेजसित आवद्ध थिए ।
कलेज भर्ना हुनु अगि कवि ईश्वरवल्लभदाजु सितको धेरै गफगोष्ठिमा त्यो कलेज किन पढ्ने भन्ने सवाल जवाफ भए, कवि, कार्टुनिष्ट जीवन आचार्यले त्यहाँ पत्रकारिताको पढाइ भर्खर शुरु भएको छ भनेर आकर्षण दिए मलाई ।
 र म ऐजन ऐजन  कारणले तानिएँ ।
गीतकार हरिभक्त कटुवाल, कवि ईश्वरवल्लभ, कवि स्तम्भकार जीवन आचार्य ती मैले भीडको  बाटोमा भेटेका मेरा साहित्यिक गाइड थिए । शहीद दिवसको दिन कविता पढ्न जाँदा भीडमा भेटिएका यी कविवरहरू मेरा निम्ति अभिभावक जस्तै भए पछिसम्म  ।
त्यसवाहेक मैले पत्रकारका रुपमा गोपालदास श्रेष्ठ, मदनमणी दीक्षित, सोमनाथ घिमिरे, बद्रीप्रसाद गुप्ता, नीरमान नेवा, उत्तम कुँवर, नगेन्द्रराज शर्मा  आदि पनि भेटिसकेको थिएँ ।
रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिताको कक्षा भर्खर शुुरु भएको थियो, पहिलो व्याच्मा दिनेश सत्याल, हेमवहादुर विष्ट आदि पढ्दै थिए भन्ने परैबाटै सुनेको मात्र थिएँ ।
म कलेज भर्ना हुँदा झन् धेरै उत्साही मित्रहरू भटिए,  ब्रम्हा विष्णु , महेशजस्ता ।
ती ब्रम्हा विष्णु महेशले विस्तारै आफ्नो नाउँ देखाए, विजय लामा, रवीन्द्र मिश्र र माधव थापा ।
माधव अहिले विदेशतिर कहाँ छन् कुनै ज्ञान छैन तर विजय र रवीन्द्र फर्केर नेपाल नै आएका छन् ।
रवीन्द्र यसअगि बेलायतमा वीवीसी नेपाली सेवाका निम्ति  थिए भने विजय धेरै वर्षको  अध्ययनको निम्ति  अमेरिकाको टेक्सासमा थिए, आज उनी पनि नेपाल वायु सेवा निगममा विमान उडाउँछन्, टीवी प्रस्तोता छन्, फिल्ममा नायक चरित्र अभिनेताका रुपमा अभिनय गर्छन् । उनलाई समयले हिरो बनायो र उनी बने पनि ।
रवीन्द्र बीबीसी नेपाली सेवाका प्रमुख छन् अहिले ।
परोपकारी समाज परोपकारी राज्य परिवर्तन हाम्रै जीवनकालमा, उनको एउटा अर्को अभियान जारी छ जनस्थानमा ।  रेडियो पत्रकारितामा उनको कालिकता सर्वथा स्मरणीय भइसकेको छ ।
विजय हाम्रो कलेजमा सबैभन्दा अग्ला थिए भने रवीन्द्र सामान्य उँचाईका । म पुड्का पुड्का कविता अर्थात् मुक्तक वा शायरी सुनाएर आफ्नै कदकाठीको परिचय बनाउँथे । रवीन्द्र वाहेक देवेन्द्र श्रेष्ठ, विमल भौकाजी, रोमिला श्रेष्ठ अनि अरु धेरै छन् सूचिमा । कोही फेसबुकमा छन् भने भेट हुन्छ नत्र हुन गाह्रो छ । 
 त्यसवाहेक अरु पनि थिए, गीत गाउने गायक कपिल लोहनी, गीटार बजाउने राजीव उपाध्याय, चित्रकारिता गर्ने इम्प्रेश सिंह, व्यापार व्यवसायमा संलग्न उत्तम शाही, चल्तापुर्जा पत्रकारितामा  गोविन्द शर्मा काफ्ले, चलचित्रमा सहायक भइ काम गर्थे, विजय चालिसे ।
राजीप अहिले वल्र्ड ब्याँक्मा आन्तरिक व्यवस्थापन विज्ञ छन् शायद । हालै प्रकाशित काठमाण्डू नामक् अँग्रेजी पुस्तकमा उनका पिताका वारे पढेको भएर सम्झेको पनि थिएँ ।
कपिल तत्कालीन पाकिस्तानका राजदूत गोविन्द लोहनीका छोरा हुन् । उनका पिता साहित्यिक भए पनि उनी सांगीतिक थिए, किशोर गुरुङ, सुनील पराजुली, इन्दु स्याँङ्बोसित शुरु भएको पप गायनका दुई एल्बम जागेँ सारा रात र सुनसान रातमा का उनी पनि एक सहयात्री थिए । अहिले ब्याँक्मा प्रमुख छन् ।
हाम्रा अग्रज  थिए, राजु सिलवाल, सुनील खरेल उनीहरु  सुमन खरेल लिखित  अनायास नाटक गरेर काठमाण्डूको स्टेजमा चर्चित थिए ।  आग्रह पनि उनीहरुको चर्चित नाटक भइसकेको थियो ।
रत्नराज्य लक्ष्मी क्याम्पसले नाटकमा विगत केहीवर्ष देखि काठमाण्डूमा आफ्नो रेकर्ड कायमै गर्दै आएको थियो । काठमाण्डूमा त्यतिवेला विभिन्न किसिमा नाटक महोत्सव हुन्थे, नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय नाटक महोत्सव र गोदावरी एलुम्नाई अशोसियसनले ह्याम्स् शिल्ड अन्तर्गत लघु नाटक महोत्सव अनि युवा तथा खेलकुद मन्त्रालयले युवा नाटक महोत्सव हुने गथ्र्यो ।
सरुभक्त, अशेष मल्ल, रमेश बुढाथोकी, बद्री अधिकारी बाहिरबाट भाग लिन्थे, बद्रीको आरोहण समुहमा आवद्ध थिए सुनील पोखरेल र सूर्यमाला शर्मा अनि बालकलाकार निशा शर्मा । पुलिस क्लबबाट पनि केही कलाकारले भाग लिन्थे, त्यसमा शमशेर लामा, शोभा सिंहको नाउँ जोडिन्थ्यो ।
रेडियो नेपालमा त्यतिवेला जीतेन्द्र महत अभिलाषी, सुशीला केसी, कृष्ण मल्लको नाउँ अग्रस्थानमा खुल्थ्यो ।
ती सबैका वीच हामी रत्नराज्य लक्ष्मी क्याम्पसबाट नाम जोडिन आयौँ र त्यसको सूत्रधार म हुन पुगेँ ।
उनले  अक्टोबर छ तारिखमा लेखेको त्यो फेसबुकमा ३,७९४ मित्रले लाईक गरेछन् उनको लेखनमा । अनि कतिपय मैले नचिनेका र मलाई चिन्नेले कमेन्ट पनि गरेछन् । मैले चिनेकामध्ये त्यहाँ एकजना मात्र मेरा सुदूरवर्ती परिचित थिए, ग्रेस खालिङ ।
ग्रेस जसलाई म आदरले भाउज्यू भन्छु उहाँले लेख्नुभएको छ, रवीन्द्रको लखोटमुनि, ‘म एकदम सहमत छु ।’
भाउज्यू ग्रेसले मलाई यो तीसवर्ष विभिन्न धरातलमा देख्नु भएको छ , दुःखमा, अवसादमा, संघर्षमा, सफलतामा अनि चरणचरणको यात्रामा । मैले उहाँकै भान्साकोठामा स्वरसम्राटको अजङ्गको शरीरलाई देखेको र स्नेहले  स्पर्श गरेको थिएँ र संयोगले उहाँकै सुकिलोमुकिलो डेरामा स्वरसम्राट नारायणगोपालको स्वरमा हिन्दी गीत सुनेको थिएँ ।
संयोग किन भने  यो जो कोहीलाई  मिल्ने भाग्य होइन । मलाई मिलेको थियो ग्रेस भाउज्यू र संगीतकार,गीतकार दिव्य खालिङको प्रेम र स्नेहले । र, त्यही कोठाबाट म उद्घोषक बन्न पुगेँ, नारायणगोपालले आयोजना गरेको ‘स्मृतिका कोसेली मेरा गीतहरू’ कार्यक्रममा ।
त्यही कार्यक्रमपछि नै मेरो जग बन्यो रेडियो उद्घोषकको ।
र ग्रेस भाउज्यूको त्यो आत्मीय घरबाट मेरो बाटो बन्यो सिनेमा, साहित्य र सङ्गीतको । त्यहीँबाट मैले नेपाली संगीतको स्वर्णिम युगको धरा कोर्न थालेँ ।
र, त्यही घर थियो जहाँ मैले पहिलो पटक बाइबल देखेँ, जहाँ अर्नेस्ट हेमिँग्वेको उपन्यास पढेँ, जहाँ सुनेँ बाख, विथोविन, मोत्सार्ट अनि शुवर्टका कालजयी संगीत । र, शायद नारायणगोपालको ‘म त लालीगुराँस भएछु’ त्यही घरमा रेकर्ड हुनु अगि  सुनेँ ।
 त्यही घरमा  धेरै आत्मीय मित्रहरू भेटाएँ, अरुण थापा, गायिका रेणु थापा, गीतकार दिनेश अधिकारी, गायक किरण प्रधान, दलसिंह अकेला ।
त्यो घर मेरो लागि पाठशाला थियो ।
रवीन्द्रको पत्र पढेपछि अनि भाउज्यूको कमेन्ट पढेपछि म अचानक नेपथ्यमा पुगेँ ।
रवीन्द्रले पत्रको अन्त्यमा लेखेका छन्, “आज प्रकाश सायमीको फिल्म निर्देशनदेखि साहित्य लेखन र संगीत इतिहास देखि रेडियो प्रस्तुतिसम्मको प्रतिभा देख्दा एकजना निकटको मित्रको रुपमा गर्व लाग्नु स्वभाविकै हो । 
प्रकाश, तिमीलाई धेरै धेरै शुभकामना !”
रवीन्द्रले पत्र लेख्दा पनि ठूलो हृदयले लेखेका छन् , यो उनको स्वभावमा र सहजतामा देखिन्छ । रवीन्द्रले जस्तो ख्याति र सफलता हाम्रा मित्रहरुमा अरु कसैले पाएनन् भन्न मिल्दैन तर पाएकाले आफ्नो अतीत र असली मित्रलाई विर्सेका छन् । नत्र हाम्रोजस्तो हृदयहीन समाजमा यस्ता मैग्नामिटीलाई विर्सिने वा नसम्झिने परम्परा छ ।
रवीन्द्रले त्यो पत्रमा  सन्तोष पन्तलाई सम्झना गरेको तरिका  मलाई हृदयस्पर्शी लाग्यो ।  उनी लेख्छन्,
“त्यो थाहा पाएर हामी भर्खरका फुच्चेहरुले सम्भवत् शुरुमै आत्मविश्वास गुमाइसकेका थियौँ । सन्तोष पन्तको बेजोड हास्य प्रतिभाको अगाडि हामी के नै टिक्न सक्थ्यौँ र ?”
त्रिभुवन विश्व विद्यालयको २४ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित उपत्यकाव्यापी प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापमा हामी दुई रवीन्द्र र मैले रत्नराज्यलक्ष्मी क्याम्पसबाट  प्रहशन प्रस्तुत गरेर सहभागी भएका थियौँ ।
पत्रकारिता पढ्थ्यौँ तर प्रहशन पनि गथ्र्यौँ हामी ।
त्रिभुवन विश्वविद्यालयको अतिरिक्त क्रियाकलाम निर्देशनालयको  आयोजनामा २०४० श्रावण ६ गते भएको  त्यो प्रतियोगिता  हाम्रा निम्ति यादगार र खतरानाक थियो कि हामीले त्यसवेलाका प्रसिद्ध हास्य कलाकार सन्तोष पन्तसित सामना गरेर द्वितीय भएका थियौँ ।
  द्वितीय त हाम्रो भाग्यमा थियौ नै । किनकि सन्तोष त्यो वेला नेपालकै नम्बर एक हास्य कलाकार थिए ।
 अद्भूत प्रतिभाका धनी सन्तोष । स्पन्टेनियस, भर्सटाइल, क्यारिकेचर र मिमिक्रीमा उनका अगाडि अरु क्षतविक्षत हुन्थे ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी त्यतिवेला बनिसकेकै थिएन । मदनदाइ कृषि सूचना शाखामा मदनदास श्रेष्ठ, लक्ष्मी भूसाल, चन्द्रदेव भट्टराईसित कार्यरत थिए । 
हरिवंशजी नाचघरमा कार्यरत थिए र भर्खर जागीरबाट निष्काशित भएका थिए शायद । उनी एककिसिमले ढाक्रेकै जीवनमा थिए शायद ।
गोपालराज मैनाली, राजपाल थापा, केशव मानन्धर, भल बस्नेत, परीक्षित ढुँगाना, आनन्द थापा कमै देखिन्थे मञ्चीय प्रस्तुतिमा ।
त्यस्तो समयमा सन्तोषको एकल राज्य थियो, हास्यको बागडोरमा । उनी वन म्यान शोका फ्याक्ट्री थिए ।
उनले हँसाएपछि चानचुन मान्छे आफूलाई थाम्न सक्दैनथे ।
उनका अगाडि हामी दुई थियौँ, जो जीवनमा पहिलो र अन्तिमपटक प्रहशन गर्दैथियौँ । त्यसपछि रवीन्द्रले पूर्ण पत्रकारिताको बाटो अपनायो मैले सिनेमा र साहित्य हुँदै संगीतको बाटो ।  हामी दुवैको बाटो फरक भए पनि भेट र सम्झना भइरहने माध्यम भयो माइक्रोफोन । जुन दुवैका लागि प्रिय थियो र छ ।
आवाजले उनलाई आज जहाँ  पुर्यायो । त्यस्तै वा त्यसप्रकारका आवाजका पछाडि रोविन शर्मा, हरिशरण लामिछाने, प्रभात रिमाल वा ताराभूषण दाहाल क्रमबद्ध छन् ।
यी सबै ती समय नै दृश्यमा आए जब देशमा पञ्चायतको निरंकुशताको भयावह छाप थियो ।
उज्यालो एफएममा अजर अमर गीतहरु शुरु भएपछि म एकदिन पञ्चायतकालका यस्तै गीतको चर्चा गर्दै थिएँ जतिवेला रवीन्द्रले त्यो कार्यक्रम सुने र प्रकाशको प्रभाव शीर्षकमा  पत्र लेखे ।
 अनि चर्चा थियो अम्बर गुरुङको नौलाख तारा गीतको ।
ती र त्यस्ता गीतका कारण नै म अजर अमर गीतहरु प्रति आकर्षित भएको हुँ र म त्यही संघर्षको संस्थानक भएर लडिरहेको छु ।
गीतसँग शुरु भएको त्यो युगको सम्झनाले रवीन्द्रलाई जति भावुक बनायो त्यो पत्रका कारण उनका कतिपय अनि मेरा कतिपय अतीतलाई एक कोलाज बनाइदियो ।
समय भनेको त्यही रहेछ ।
००

No comments:

Post a Comment