Sunday 12 August 2018

Short poem by Prakash Sayami


यात्रामा कसैलाई भेट्दा
छुट्टीने बेला
उनको नाम सोध्न विर्से जस्तै
आज अचानक सम्झिरहेछु
उनको  नाउँ
भगवानले आशिष दिए जस्तै 

Poem by Prakash Sayami

दरवार छोडेर हिँडेको 
ऊ सिद्धार्थबाट बुद्ध भयो । 
अहिले दिनदिने घर
छोडेर खाडी हिँड्छन् बुद्धहरु 
फर्किँदा 
'सिद्ध' गुमाएर 'अर्थ' बोकेर आउँछन् ,
कहाँ हराएछ ,
सिद्धार्थ ?
कहिले फर्किन्छ बुद्ध ?

Wednesday 8 August 2018


Singer Ramesh Tamrakar

नेपथ्यका गायक रमेश
प्रकाश सायमी
##
नेपाली रंगमञ्चमा आफ्नो मातृभाषामार्फत भाषा, कला, संस्कृतिको सेवा गर्ने केही प्रमुख जातिमा नेवारभाषी कलाकार पनि हुन् । नेपालभाषाको माध्यमबाट आफूलाई मञ्चमा सक्रिय बनाउने कलाकारमध्ये प्रेमध्वज प्रधान, भृगुराम श्रेष्ठ, नारायणगोपाल, नगेन्द्र हाडा, सत्यनारायण राजभण्डारी, द्वारिकालाल जोशी आदि प्रमुख हुन् ।
त्यसमध्ये एउटा नाम जोडिएर अगाडि आउँछ, रमेश ताम्रकार ।रमेश ताम्रकारको जन्म काठमाडौंको मुटु मानिने मरुटोलमा २००७ सालमा भएको हो । उपत्यकाको प्रमुख मानिने यो ठाउँ मरुटोल, जसको चर्चा ‘राजमति कुमति’ गीतमा समेत ठँहिटी र कोहिटीबीचको एक प्रमुख नगर मरुहिटीको व्याख्या गरिएको छ । यस गीतमा चर्चा गरिएको यो प्रख्य सहर मरुटोल कुनै समय राजनीतिको केन्द्रबिन्दु पनि मानिन्थ्यो । आजसम्म पनि काठमाडौं उपत्यकामा हुने केही विशेष कार्यक्रम यही परिसरमा हुने क्रम जारी छ ।मरुटोल नेपालभाषा जागरणमा प्रमुख भूमिका निर्वाह गर्ने एउटा विशेष ठाउँ हो । रमेश ताम्रकार यही ठाउँबाट उदाएका एक कलाकार हुन् ।
२०२७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर गायनमा आफ्नो विशिष्ट छाप बनाउन सफल रमेश ताम्रकारलाई उनका आफन्त पर्ने अग्रजगायक माणिकरत्न स्थापितले संगीतकार हुतराज शर्मासित गायन सिक्न अभिप्रेरित गरेको भन्ने गर्थे ।गायक माणिकरत्नले दीपतारा ताम्रकार, रमेश ताम्रकार, अनि केही नयाँ कलाकारका निम्ति सदैव प्रेरणाको पात्र बने ।
२०३१ असोज २८ गते रेडियो नेपालमा रेकर्ड भएको राजेन्द्र थापाको शब्द र शिवशंकरको संगीतको एउटा गीतले रमेश ताम्रकारको गायनलाई फरक धारमा पुर्याइदियो, त्यो गीतको बोल थियो– दिन सुनका रात चाँदीका, तिम्रो मेरो माया मिलनका ।शब्दमा अलग्गै भाव भएको यस किसिमको गीत त्यो समय नयाँ किसिमको थियो र आज पनि यस किसिमको रचना नयाँ मानिन्छ । रमेश ताम्रकारको यो गीत र यसै भावशैलीको गीत अहिले भारतमा भर्खरै गायक कैलाश खेरले पनि ‘दिन है सोने का रात है चाँदीका’ भनेर गाएको सुन्दा यो गीतको अतीतमोह भएर आउँछ ।
गायक भक्तराज आचार्यभन्दा तीन वर्षअघि रेडियो नेपाल प्रवेश गरेका रमेश ताम्रकारले भक्तराजको संगीत, भोला रिजालको शब्दमा ‘मैले आँखाको भाखा बुझिनँ’, पुरुषोत्तम सापकोटाको शब्द, सिके रसाइलीको संगीतमा ‘रोजी–रोजी हिँड्छौ किन’ तीसको दशकमा रेकर्ड गराइसकेका थिए ।शुभबहादुर र रोज कपुरको संगीतमा, उत्तमलाल श्रेष्ठको शब्दमा ‘जिन्दगीमा’ बोलको उनको गीत त्यो समय लोकप्रिय मानिएको थियो । संगीतकार शिवशंकरका प्रिय गायक रमेश ताम्रकारले प्रेमध्वज प्रधान, ज्ञानबहादुर श्रेष्ठ, गणेश रसिक, चन्द्रराज शर्मा, शम्भुजित बासकोटाका आदिका संगीतमा धेरै चर्चित गीत गाएका छन् ।
संगीतकार शम्भुजित बासकोटाको संगीतमा उनले ‘यादैयादमा अल्झ्यो मेरो जिन्दगानी’, ‘माया के हो चिन्नलाई’ जस्ता लोकप्रिय गीत गाएका थिए ।रमेश ताम्रकारको हिट गीत ‘यादैयादमा अल्झ्यो मेरो जिन्दगानी’ पञ्चायतकालमा प्यारोडी बनेर हिट लिस्टमा पनि परेको थियो । यसै गीतमार्फत संगीतकार शम्भुजित बासकोटा गाईजात्रा महोत्सवमा प्यारोडी गायकका रूपमा चर्चामा आएका थिए ।
अर्थशास्त्र विषयमा अध्ययन गर्न लन्डन पुगेका रमेश उताबाट फर्केपछि अभिनयमा पनि रुचि लिन थाले, उनले आफ्नो एउटा गीतमा अभिनय पनि गरे । गीतकार नीर शाहको शब्द, चन्द्रराज शर्माको संगीतमा अभिनेत्री विणा बस्नेत बुढाथोकीसित उनले एउटा म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् ।
यसपछि उनले आफ्ना गायक साथी विष्णु श्रेष्ठ, निर्मल श्रेष्ठ, अभिनेता प्रकाश अधिकारी आदिसित मिलेर नेपाल थिएटरमा अभिनय पनि सिक्न थाले ।
अभिनयका सोखिन रमेश ताम्रकारले गायनमा जस्तो अभिनयमा निरन्तरता दिन सकेनन् । यही समय उनी सांस्कृतिक संस्थानमा महाप्रबन्धक भए । पञ्चायतकालमा गायक नारायणगोपाल गुरुवाचार्य महाप्रबन्धक भएर उचाइमा पुर्याएको सांस्कृतिक संस्थानमा पछि गायक गणेश रसिक महाप्रबन्धक हुँदै रमेश ताम्रकारको पालो आउँदा यो संस्थान अलिअलि लथालिंग भइसकेको थियो, तर ताम्रकारले आफ्नो भूमिका ज्युँका त्युँ धाने पनि यो संस्थान त्यति उकासिन सकेन ।
रमेश ताम्रकारको महाप्रबन्धकत्व काल त्यति यादगार रहेन । उनले आफ्नो सांगीतिक यात्राका क्रममा धेरै गीत आफ्नै भाषा, भाव र सौम्यताका आधारमा गाएका छन् । तीमध्ये नेपालभाषामा गाएका उनका गीत सदा स्मरणीय छन् ।
नेपालभाषाको उनको अजरअमर गीतमध्ये एक यस्तो छ–
लाय्कुली दरबार दु
हलवाई पसलय् प्यारामरी दु
असनय् आजु दु वँगलय् आजु दु
मखनये सःस दु
नखःत्यावना वैगु जिलाथौँ
सिक्क हे धे धे चु ।
भक्तपुरका प्रसिद्ध गायक संगीतकार नगेन्द्र हाडाको शब्द–संगीतमा रमेश ताम्रकारले गाएको यो गीत एउटा उत्कृष्ट सांस्कृतिकमध्ये हो । उनै रमेश ताम्रकारले गणेश रसिकको शब्द संगीतमा गाएको गीत हो–
बाँच्न जन्मेको नेपाली म मृत्यु देखेर तर्सिन्नँ,
पुग्नु छ मैले धेरै पर आँधी हुरीमा रोकिन्नँ,
पहराले छेकेर छेकिन्न बाँच्न जन्मेको नेपाली म...
रमेश ताम्रकार यस प्रकारका गीतका निम्ति सदैव लोकप्रिय रहे ।
यो वर्ष उनको जीवनका निम्ति असाध्य दुःखद घटना रह्यो, तर यसै वर्ष उनलाई नातिकाजी संगीत स्मृति पुरस्कार दिइएको थियो, पुरस्कार ग्रहण नगरी रमेश ताम्रकार आफ्नो महायात्रामा हिँडे ।
सबैका सामु भाव शालीनता, सक्रिय जीवन, हार्दिक सम्बन्ध रहेका रमेश ताम्रकारको जीवनमा त्यो समय पूर्णविराम लाग्यो, जब उनी आफ्नो सांगीतिक जीवनका निम्ति केही नयाँ काम गर्ने तयारीमा थिए ।

Thursday 2 August 2018

Writers in Cinema


सिनेमामा लेखकको मृत्यु
प्रकाश सायमी

००
सन्दर्भ १ :
नायक राजेश हमालले पहिलो फिल्म भाग्यरेखा साइन गर्दा उनलाई रु १० हजार दिइएको थियो र नायिका करिश्मा केसीले त्यतिवेला नायकले भन्दा ५ हजार बढी पाए मात्र खेल्ने भन्ने शर्तमा भाग्य रेखा  फिल्म छोडेकी थिइन् , पछि कृष्टि केसीले नायिकामा प्रवेश गरिन् । तर सिनेमामा दुवै जना नायक नायिका नरहे पनि सिनेमा बन्यो । तर चलेन ।
यो २०४४ सालको कुरा थियो , यो राजेश हमालले चलचित्रको निम्ति पाएको  पहिलो रेट थियो ।
विसं  २०५३ सालमा  राजेश हमालले पद्मा पिक्चर्सको अवतार नामक् सिनेमामा आएर बल्ल  रु एक लाख पाए, नेपाली चलचित्रमा एक लाख लिने उनी पहिलो नायक थिए तर उनलाई रु दशहजार बाट एक लाख सम्म आउन करीब नौवर्ष चानचुन लाग्यो ।
सन्दर्भ २ :
भारतको बलिऊड भनिने सिने उद्योगमा प्रवेश गर्दा अमिताभ बच्चन प्रसिद्ध कवि डा हरिवंश राय वच्चनका पुत्र भनेर चिनिन्थे , उनी कोलकत्ताको बड एन्ड बड इन्टरन्याशनल कम्पनीमा म्यानेजर भएर काम गर्थे । कोलकत्ताबाट उनी पन्ध्र हजार रुपैञाको तलब छोडेर पहिलो फिल्म सात हिन्दुस्तानी खेल्न आए , लेखक ख्वाजा अहमद अब्बासको फिल्ममा । उनलाई अब्बासले रु १० हजार मा साइन गरेका थिए । सन् १९६९ मा यो त्यतिवेलाको धेरै धनराशि थियो । यो उनको पहिलो पारिश्रमिक थियो ।
सात हिन्दुस्तानी पछि अमिताभ बच्चनले धेरै सफल असफल खेल्दै सन् १९७५ मा शोले सम्म आइपुग्दा उनले रु एक लाख पाए ।
सात हिन्दुस्तानी बाट शोले सम्म  आइपुग्दा उनको फिल्मी जीवनको छवर्ष वितिसकेको थियो । केवल छ वर्षमा उनको रेट १० हजारबाट १ लाखमा चढिसकेको थियो ।
भारत र नेपाल दुई अलग अलग देश भए पनि बजारतन्त्रले यसमा तात्विक असर पारेको देखिन्छ ।
अमिताभ बच्चन र राजेश हमालको समय फरक भए जस्तै बजार पनि फरक थियो तर यो बजारसँगै यसले तोक्ने अन्य सबै तत्व फरक नै थियो ।
भारतका पहिलो सुपरस्टार राजेश खन्ना पछि सर्वाधिक चर्चामा आएका अमिताभ बच्चनलाई पहिलो फिल्मबाट सातौँ फिल्म सम्म आइपुग्दा दोस्रो सुपरस्टार घोषणा गरिसकेको थियो ।
सन् १९७० जनवरी १ मा भारतको ट्रेड म्यागजिन मा फिल्म पत्रकार तथा पीआरओ शब्दकुमारले राजेश खन्नालाई सुपर स्टार इज बर्न भनेर लेखेका थिए तर यस शब्दको आविष्कार फिल्मपत्रकार देवयानी चौबलले गरेकी थिइन् , राजेश खन्नाका निम्ति ।
सन् १९७१ मा क्वेस्ट पत्रिकामा फिल्मकार एवम् कवि दिलीप चित्रेले सफलतालाई परिभाषित गर्दै लेखेका थिए, यदि भारतमा कुनै यस्तो व्यक्ति होला जसको आकर्षण देशको प्रधानमन्त्री भन्दा बढी ज्यादा छ भने त्यो हो, राजेश खन्ना ।
चित्रेले द करिश्मा अफ राजेश खन्ना मा खन्नाको सुपरस्टारडम, मास हिस्टेरिया अनि बजारतन्त्र र उनको मँहगो पारिश्रमिकका वारे लेखिरहेको वेला भारतमा निर्देशक, लेखक वा अन्य चलचित्रकर्मीको तुलना नै हुँदैन थियो ।
राजेश खन्नाको युगको प्रशंसा जति भइरहेको थियो त्यतिवेला उनको विरोध पनि प्रशस्त भइरहेको थियो ।
एउटा संस्कृतको उपकथाको चर्चा गर्दै लेखक सलीम खानले लेखेका छन् , जब गाउँबाट कुनै दूधको बयलगाडी जाँदै थियो एउटा कुकूर घामबाट बच्न त्यसको छायामा पछि पछि लाग्थ्यो तर धेरै दिनपछि कुकूरलाई यस्तो लाग्न थाल्यो त्यो बयलगाडी मेरै कारणले तानिँदैछ । एक पछि एक फिल्म हिट भएपछि हरेक अभिनेतालाई यस्तै लाग्न सक्छ , सारा फिल्म मेरै कारणले चलेका हुन् ।
राजेश खन्नाको यो युगलाई तोड्न सलीम खानले आफ्ना सहकर्मी जावेद अख्तरसित मिलेर सलीम जावेद नामबाट फिल्म लेख्न शुरु गरिसकेका थिए । स्मरणीय कुरा, सलीम जावेद जोडी जन्माउन सुपरस्टार राजेश खन्नाकै हात थियो ।
 राजेश खन्नासित दुई फिल्म आनन्द र नमकहराम खेले पछि यो सुपरस्टारडम् विस्तारै अमिताभ बच्चनतिर हस्तान्तरण हुँदै गयो । सलीम जावेदले जञ्जीर फिल्म मार्फत् अमिताभ बच्चनलाई सन् १९७३ मे ११ का दिन पर्दामा ल्याए । भनिन्छ,  प्रकाश मेहरा निर्देशित यो फिल्ममा अमिताभ बच्चनले पारिश्रमिक स्वरुप ६०,००० लिएका थिए । लेखकद्धय सलीमजावेदले पनि यस फिल्मको पटकथाका निम्ति ५५,००० लिएका थिए । त्यतिवेला ५०,००० पनि ठूलो रकम मानिन्थ्यो । यस फिल्ममा एउटा संवाद् पनि यस्तो थियो, शेर खाँलाई इन्सपेक्टर विजय (अमिताभ बच्चन) लाई मार्न रु ५०,००० अफर गर्दा शेर (प्राण) ले भन्छन् , एक इन्सपेक्टर की जान की किम्मत पचास हजार रुपैये । मालूम होता है बडा ही इमान्दार इन्सान है ।
यो संवाद् बाट थाहा हुन्थ्यो त्यो समय पचास हजारको कति मूल्य थियो ।
सलीम जावेदले जञ्जीर  का निम्ति लेखकका रुपमा ५५ हजार लिएरै छाडे । त्यति मात्रै होइन यी दुईले पोस्टरमा आफ्नो नाम पनि निर्देशक कै बराबर राख्न लगाए, यो हिन्दी फिल्म इतिहासमा पहिलो र नौलो घटना थियो ।
यसअगि हिन्दी फिल्म इतिहासमा यस्तो घटना घटेको थिएन । यसअगि हिन्दी फिल्ममा लेखकको अवस्था हरिजन बराबर मानिन्थ्यो । चलचित्रको शुटिंग पछि स्टुडिओबाट  निर्देशक नायक नायिका कारमा चढेर सररर बाहिर जान्थे , लेखक पियन वा चौकिदार जस्तो गाडीको छेवमा बसेर उनलाई विदा गर्थे ।
भारतमा लेखकलाई कतिपय ठाउँमा लेखनदास पनि भनिन्थ्यो तर त्यस्तो अवस्थामा पनि लेखकका रुपमा आफूले मुन्शी जस्तो पद पाउने पहिलो लेखक त प्रेमचन्द थिए , त्यो पनि उनले साहित्यिक जगत मै त्यो पद पाएका थिए तर सिनेमामा त्यो अझै सम्भव वा साध्य थिएन ।
हिन्दी फिल्ममा लेखकका रुपमा पंडित मुखराम शर्मा, अबरार आल्वी, अमान , कमाल आमरोही, ख्वाजा अहमद अब्बास, गुलजार आदिले केही सम्मान पाउनुको कारण ती व्यक्तिहरु सिनेमाका प्राविधिक पक्षका ज्ञाता पनि थिए ।
बरु यस समय सिनेमामा गीत लेखेर साहिर लुधियानवीले गायक गायिका वा संगीतकारले भन्दा १ रुपैञा बढी लिएर आफ्नो भाउ बढाए पनि फिल्म लेखकले त्यो पहिचान पाएनन् । सलीम जावेदले यसमा खुल्ला वहस शुरु गरे , पाँच मिनटको गीत लेखेर जाने गीतकारको भन्दा कथा, पटकथा संवाद् लेखकको एउटा हिरोको जतिकै मूल्य छ यो फिल्मको लागि ।
यी दुई यही कुरामा अडिग रहे ।
सलीम जावेदले यसअगि अन्दाज, हाथी मेरे साथी, सीता और गीतामा लेखन कार्य गर्दा नाम पनि इज्जतले पाएनन् , बरु तिनको नाउँ स्टोरी बोर्ड नामक् समूहमा देखा पर्यो ।
जञ्जीरको सफलाता पछि यिनले अन्दाज कै निर्देशक रमेश सिप्पीको अर्को फिल्म शोले ( सन् १९७५ ) त्यस चलचित्रका नायक अमिताभ बच्चनले जतिकै पारिश्रमिक लिए । त्यसवाहेक फिल्मको प्रिरिलीजको निमित छापिएको पोस्टरमा फिल्मको नाम बराबर सलीम जावेदको नाम छापेर बधाई दिइएको थियो , निर्माता जीपी सिप्पी र निर्देशक रमेश सिप्पीको तर्फबाट ।
सिप्पी बन्धुकै सन् १९७१ मा प्रदर्शित फिल्म अन्दाज मा यी दुई लेखकको नाउँ सिप्पी फिल्म्स् स्टोरी डिपार्टमेन्टमा अतिरिक्त लेखकका रुपमा प्रकाशित थियो ।
जञ्जीर पछि अमिताभ बच्चनको पारिश्रमिक बढ्दै गयो , त्यससँगसँगै यी लेखकद्धयले अमिताभ बच्चन अभिनीत हरेक फिल्ममा अमिताभ बराबर नै पारिश्रमिक लिए , त्यसमध्ये १९७४ को मजबूर , सन् १९७५ को दीवार, सन् १९७५ को शोले, सन् १९७७ को इमान धरम, सन् १९७८ को त्रिशुल , सन् १९७८ को डन, सन् १९७९ मा काला पत्थर, १९८० मा दोस्ताना प्रमुख मानिन्छ ।
सन् १९८२ मा सलीम जावेदले दिलीप कुमार र अमिताभ बच्चनका लागि शक्ति नामक् फिल्म लेखे ।
सन् १९७० देखि सन् १९८० सलीम जावेदको अपार युग  थियो , सन् १९८० मा निर्माण नियन्त्रक यश जौहर ( फिल्म निर्देशक करण जौहरका पिता) लेख जब दोस्ताना बनाउने निर्णय गरे त्यतिवेला सलीम जावेदले पटकथाका लागि १२ लाख पचास हजार मागे , जतिवेला अमिताभ बच्चनले बाहिरका फिल्ममा प्रति फिल्म १२ लाख लिन थालिसकेका थिए ।
देव आनन्दका फिल्म गाइड, ज्वैल थिफ, प्रेम पुजारीमा निर्माण नियन्त्रक रहीसकेका जौहरले लेखकद्धयलाई १२ लाख पचास हजार नै तिरे ।
यो घटनलाई लिएर लेखक सलीम खानले पुराना लेखक अबरार आलवीलाई भने , अबरार साहब हामीले त्यो गरेरै देखायौँ जुन बलिऊडमा हुन बाँकी थियो ।
एउटा चलचित्रमा लेखकको स्थान तोक्न र बनाउनमा सफल यो जोडी मिस्टर इन्डिया ( सन् १९८७ ) मा गएर अन्त्य भयो त्यो पनि अमिताभ बच्चनले भूमिका अस्वीकार गर्नुको कारणले ।
मिस्टर इन्डिया मा नायकको भूमिकालाई लिएर अमिताभ बच्चनको असहमतिलाई दुई लेखकले अलग अलग इन्टरप्रेट गरे पछि यो जोडी यहीँ गएर टुक्रियो ।
अमिताभ बच्चनलाई क्रुद्ध युवा नायकको छवि दिने यो जोडीले सन् १९५६ मा बेलायती लेखक जोन आस्बर्नद्धारा लिखित लूक ब्याक् इन एँगर बाट एँग्री योंगम्यान् सापटी लिएका हुन् यद्यपि हिन्दी फिल्ममा यो शब्दावली मुझे जीने दो मा सुनील दत्त अनि गंगा जमुना मा दिलीप कुमारले पनि पाइसकेका थिए तर महबूब  खानको मदर इन्डिया मा सुनील दत्तले गरेको विरजूको भूमिकालाई त्यो वेला नै एंग्री योँग म्यान्को पदावली दिइएको थियो ।
नेपाली सिनेमामा राजेश हमालले गरेका धेरै भूमिकालाई एँग्री योँगम्यान्का ट्याग लागेको थियो ।
सिनेमामा नायकलाई चरित्र दिने मात्र नभइ चलचित्रमा लेखकको सम्मान र स्थान निक्र्यौल गर्नमा उच्चतम भूमिका निर्वाह गर्ने यी दुवै लेखक मध्ये जावेद अहिले कवि र शायरका  रुपमा परिचित छन् भने सलीम खान फिल्म नायक सलमान खानका पिताका रुपमा चिनिन्छन् । जावेद प्रसिद्ध गीतकार जाँ निस्सार अख्तरका छोर थिए भने उनी चलचित्रमा लेखक नै बन्न आएका थिए तर पुलिस इन्सपेक्टरका छोरा सलीम खान भारतको इन्दौरबाट चलचित्रका नायक बन्न आएका थिए ।
आज दुवै लेखकका छोरा चलचित्रमा नायकका रुपमा समर्पित छन् , जावेद अख्तरका  छोरा फरहान अख्तर चलचित्र लेखक निर्देशक अनि संगीतकार छन् भने उनकी छोरी जोया अख्तर पनि निर्देशक छिन् ।
सलीम खानका तीनै छोरा सलमान , अरवाज अनि सौहेल खान अभिनयमा सक्रिय छन् ।
सलीम जावेदल अस्सीको दशकमा हिन्दी सिनेमामा बनाएको आफ्नो गर्वशाली युग फेरि बलिऊडमा दोहोरिन  सकेन । अहिले फेरि हिन्दी सिनेमामा लेखकको उपस्थिति शून्य बरारब भएको छ , वा मृत अवस्थामै छ । निर्देशकले अँग्रेजी वा कोरियन फिल्मको डिभीडीबाट हुबहु सिनेमा कपी गर्छन् , अनुवाद गर्नका निम्ति एउटा लेखनदासको खाँचो हुन्छ त्यो काम कुनै पनि समय उनका सहायक वा अरु कसैले पनि गरिदिने चलन छ ।
हाल नेपाली फिल्मको अवस्थामा पनि लेखकको हालत त्यही छ ।
नेपाली सिनेमामा शुरुवात देखि लेखकको अवस्था क्षतिपूर्तिको रुपमा लिइन्छ , कतिपय ठाउँमा लेखकको नाउँ सम्म पनि दिइँदैन ।
उदाहरणका लागि आफ्नो दुई दशकको फिल्मी क्यारिअरमा राजेश हमालले साथीको लागि यो हात सलाम हो , दुश्मनको लागि यो हात फलाम हो नाम हो मेरो पृथ्वी भनेर बोलिने सम्वाद् कुन लेखकको हो कसैलाई थाहा छैन वा राजेश हमालले मञ्चमा बोल्दा त्यो जरुरी पनि मानेनन् ।
पृथ्वी फिल्मको यो संवाद् संयोगले यही पंक्तिकारले लेखेका हुन् भन्ने धेरै पाठकलाई ज्ञान नहुन सक्छ ।
राजेश हमाल मात्र होइन, शिव श्रेष्ठ, भुवन केसी , अर्जुनजंग शाही, रवीन्द्र खड्का , विजय लामा, कृष्ण मल्ल, सौगात मल्ल, दयाहाँग राई , अनमोल केसी कसैले पनि बोल्ने संवाद् वा पटकथा कुनै लेखकले लेखेका होलान् तर तिनको चर्चा कहिले कतै भएको पाइँदैन ।
पहिलो नेपाली सिनेमाका लेखक दुर्गाप्रसा श्रेष्ठ देखि लिएर सबैभन्दा बढी पारिश्रमिक पाउने सेतो बाघ का लेखक डायमन शम्सेर राणा सम्म आइपुग्दा धेरै लेखकले नेपाली सिनेमामा लेखकका रुपमा योगदान दिइसकेका छन् , विजय मल्ल, चेतन कार्की, केशवराज पिंडाली, हिराकुमार सिंह, डा ध्रुबचन्द्र गौतम, अविनाश श्रेष्ठ, ब्रजेश खनाल, मोहन निरौला, नयनराज पाण्डे आदि तर तिनको उपस्थितिमा पनि कुनै नायकले हिन्दी फिल्मकै संवाद् हुबहु नेपालीमा अनुवाद गरेर अनमोल केसीकै स्वरमा मेरा दुश्मनहरुले सोचिरहेका होला म फर्केर आउने छैन भनेर । बोल्छन् भने लेखकको उपस्थिति के अर्थ रहला त ?
सलीम जावेदल आफ्नो फिल्म डन, जञ्जीर को रिमेक गर्दा पनि त्यसमा आफ्नो अहम् अस्तित्व खोजे । जब डन २ बनाइयो त्यतिवेला पनि उनीहरुले हामीसित दोस्रो डन को निम्ति स्वीकृति लिइएको थिएन भनेर मुद्दा हालेका छन् , त्यो मुद्दा अहिले मुम्बईको उच्च अदालतमा निर्णयाधीन नै छ ।
लेखक हुनुको अर्थ यो पो हो त ।
एउटा लेखकले सिनेमामा नायकको जति कै महत्व सृजना गर्ने सलीम खान र जावेद अख्तरको जोडी टुट्नु भारतीय सिने इतिहासमा व्यावसायिक युगको अन्त्य त हो नै तर सलीम खान स्वयम्ले भनेका छन् , मारियो पूजोले जस्तै एउटा गडफादर लेखेर मर्न पाउँ ।
उनको यो प्रार्थना जारी छ ।
००

Wednesday 11 April 2018

Kamala Shrestha

गायिका कमला : ज्योतिको स्वरुप
प्रकाश सायमी


महाकवि लक्ष्मीप्रसाद देवकोटाको दुई कृति मुनामदन र म्हेन्दु दार्जीलिँगमा मञ्चन भएपछि यसलाई नेपालमा मञ्चन गर्ने प्राभ्यास  धेरैले गरे तर असफल भयो ।
दार्जीलिँगकै कुमुदिनी होम्स्को मुनामदन मञ्चन भएको घटनाबाट प्रभावित भएर काठमान्डूमा यसको मञ्चनका तैयारी गरे , नाट्यकर्मी कोकिल गुरुँगले । कोकिल गुरुँगको यो साहसिक काम पोखरामा गएर विफल भए पछि उनी ऋणपान गरेर पोखराबाट फर्के , यसपछि मुनामदन मा कसैले हात हालेनन् ।
मुनामदन भारतमा कुनै समय बन्दै रोकिएको लब एन्ड गड जस्तै भयो , असफलताको प्रतीक ।
केही समयको अन्तरालमा फेरि सांस्कृतिक संस्थानको प्रयासमा मुनामदन को मञ्चनको तैयारी भयो , यसलाई नेपाल कलाभूषण चन्द्रराज शर्माले संगीत निर्देशन गरे । चन्द्रराज शर्माको महाकवि देवकोटासित अलि परको नाता पनि थियो ।
मुनामदन यसपालि पनि फ्लप खायो ।
विक्रमाब्द २०३७ सालमा फेरि सांस्कृतिक संस्थानकै पहलमा पुनः मुनामदन मञ्चन गर्ने तैयारी गर्यो , यसपालि यसको संगीत निर्देशन सांस्कृतिक संस्थानकै कर्मचारी नारायणगोपालले गर्ने भयो ।
नारायणगोपालका निम्ति यो दुई कारणले चुनौति थियो, यसअगि यो गीति नाटकमा दुई भेट्रानले संगीत गरिसकेका थिए, अम्बर गुरुँग र चन्द्रराज शर्माले । दुवैको सांगीतिक आरेख अरु कुनै संगीतकारको भन्दा कम थिएन ।
 नारायणगोपालले गायकका रुपमा धेरै ख्याति कमाएपनि यस्तो मेजरवर्कमा पहिल्यै हात हालेका थिएनन् । यो पहिलो चुनौति थियो ।
दोस्रो चुनौति उनको निम्ति झन् ठूलो थियो , त्यो हो यस गीति नाटकमा मदनकी दिदी को पृष्ठगायनका निम्ति । सांस्कृतिक संस्थानले शुरुवातमा गायिका तारादेवीलाई अस्थायी रुपमा सेवामा नियुक्त गरेको भएपनि सांस्कृतिक संस्थानले अब त्यो क्रम दोहोर्याउने छाँट थिएन ।
नारायणगोपालका निम्ति गायिका छान्नु महाभारत भयो , तारादेवीसित उनको शीतयुद्ध जारी थियो अथवा बोलचालको क्रम नै बन्द थियो । अर्की गायिका अरुणा लामा नेपाल बाहिर भारतको दार्जीलिँगमा बस्थिन् , उनलाई पाश्र्वगायनको निम्ति निम्त्याउनु संस्थानको नीति विरुद्ध थियो । घ श्रेणीको संस्थानसित त्यति बजेट पनि हुँदैन थियो ।
नारायणगोपालले यसको बैतरणी पार गरे, गायिका कमला श्रेष्ठलाई चयन गरेर । कमला श्रेष्ठ त्यतिवेला सांस्कृतिक संस्थानमा काम गर्न थालेको दशवर्ष भइसकेको थियो ।
कमला श्रेष्ठमा भएको प्रचुर सम्भावना नारायणगोपाललाई ज्ञात थियो , नारायणगोपाल र गोपाल योञ्जनको मीतज्यू नाइटमा कमला श्रेष्ठले करामत गरिसकेकी थिइन् ।
मीतज्यू नाइट मा कमलाको गायनलाई लिएर साहित्यकार पारिजातले समेत प्रशंसा गरेर गोरखापत्रमा लेखिसकेकी थिइन् ।
नारायणगोपालको संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना गाउने पाउने भाग्यमानी गायिका कमला श्रेष्ठले कुनै दाग छोडिनन् ,
हे मेरा भाइ, ती तिम्रा मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरुप लिएर तिनी बगैँचा बसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती
नारायणगोपालसित कमला श्रेष्ठको सहगायन गुञ्जिँदा नाचघरभित्र ईश्वर प्रकट भएको महशूश गर्छन्, नारायणगोपालका भाइ मनोहरगोपाल गुरुवाचार्य ।
संगीतका गुरु मनोहरगोपालले नारायणगोपालका सबै गीत राम्रा हुन् तर मुनामदन मा उनलाई ईश्वरीय बरदान मिलेको एक रेडियो कार्यक्रममा जानकारी दिएका छन् ।
सच्चा अर्थमा भन्ने हो भने नारायणगोपालले त्यतिवेलाका एकसेएक नाम चलेका गायिकालाई छोडेर कमला श्रेष्ठलाई चुन्नु एउटा अग्निपरीक्षा नै थियो ।
यो अग्निपरीक्षामा नारायणगोपालले अघिल्लो इतिहास मेटिदिए, असफलतका सारा पाठलाई पल्टाईदिए । यसअगि मुनामदन मा उर्मिलाकुमारी श्रेष्ठ, तारादेवी, अरुणा लामा, निर्मला श्रेष्ठले गाइसकेकको भएपनि कमला श्रेष्ठको आवाज नै अहिलेसम्म सुनिँदैछ , यसको कारण हो गीतिनाटकको सफलता ।
नारायणगोपालसँगै २०१८ को हाराहारिमा रेडियो नेपाल प्रवेश गरेकी कमला श्रेष्ठ संयोगले २०२४ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा नारायणगोपालले सर्वोत्तम गायक को पुरस्कार पाउँदा त्यही साल कमला श्रेष्ठले सर्वोत्तम गायिकाको पुरस्कार पाएकी थिइन् , यादव खरेलको शब्द अनि नातिकाजीको संगीतमा ,
नौगेडीको मेरो माला मेरो कता हरायो...
 अज्ञात कारणवश कमला श्रेष्ठ प्रथम भएको  यो गीत पछि तारादेवीको स्वरमा रेडियो नेपालमा रेकर्ड भए पछि कमला श्रेष्ठको नाम मेटियो ।
गीतकार यादव खरेलले यस गीतका संगीतकार नातिकाजी वारे यस्तो लेख्नु भएको छ,
नातिकाजी एकजना संगीतकार मात्र नभएर आफैँमा एउटा संस्था र घराना हुनुहुन्छ । उहाँले आधुनिक , लोकगीत, राष्ट्रीय गीत, भजन आदि समेत गरी करीब २ हजार भन्दा बढी गीतहरुका साथै बीस गीति नाटक मा संगीत दिनु भएको छ ।..
तर दुर्भाग्यवश  नातिकाजीको त्यो आरेखमा कमला श्रेष्ठको नाउँ पछि समेटिएन , कारण इतिहास मै पुरिए वा निशब्द भइसकेकी कमला श्रेष्ठ मै दवियो कि ?
कमला श्रेष्ठ यसपछि गोपाल योञ्जन क्याम्पकी प्रिय गायिका भइन् , गोपाल योञ्जनको संगीतमा उनले ईश्वरवल्लभको शब्दमा एउटा कालजयी गीत गाइन् ,
कति टाढा खोलाको किनार
कति टाढा सपना मेरा
यो गीत पछि कमलाले आफ्नो परिचयका निम्ति नाम दोहोर्यारहन परेन । भारतको पश्चिम बँगालको दार्जीलिँगबाट गोपाल योञ्जन नेपालीमा एमए गर्न नेपाल आएपछि यहाँ शुरुवातमा उनको प्रिय गायिका कमला नै थिइन् , कमला श्रेष्ठले गोपाल योञ्जनको शब्द संगीतमा प्रस्तुत गीत गाइन् ,
म बाँच्ने उमेरहरु सारा हजुरलाई
मेरा भागका सारा खुशीहरु सारा हजुरलाई
रेडियो नेपाल बाहिर रत्न रेकर्डस् को ईएसआर २९ का निम्ति उनले योञ्जनको संगीतमा दुई गीत रेकर्ड गरिन् , यो त्यतिवेलाका मानक गीत भए ।
पछि कमलाले गोपालकै शब्द संगीतमा म सपनाभरि छु, छातिभित्र मुटु, आकाशबाट जस्ता यादगार गीत गाइन् । यी सबै गीत गाउञ्जेल गोपाल योञ्जनका चमकदार गीत बन्दै थिए । लामो समयपछि (करीब दशवर्ष पछि मात्र)  संगीतकार योञ्जनले उनलाई मायाप्रीति फिल्ममा दोहोर्याए, उनले यस चलचित्रमा कल्याण शेरचनको संकलनमा गायिका ज्ञानु राणा र मीरा राणाका साथ रत्यौली गीत गाइन् ।
संगीतकार नातिकाजीसित पनि उनले लामो अन्तराल पछि पच्चीस बसन्त मा एउटा भोजपुरी गीत गाएकी थिइन् , यो नातिकाजीसित उनको कम्पेनशेसन हो वा सुधारको संकेत ? तर यात्रा यसअगि बढ्न सकेन ।
नातिकाजी वाहेक उनले शिवशंकरको संगीतमा पनि गाएकी छिन् , युवराज ज्ञवालीको शब्दमा शिवशंकरको संगीतमा यो उनको यादगार गीत मानिन्छ,
तारे भीरमा बाबियो लसरी
लाको माया छुट्ने कसरी
सल्लै हो जोवन कल्लाई हो
आधुनिक गीत गायनमा वाहेक कमलाको गायनमा लोकगीत, भाषाभाषीका गीतमा अत्यन्त ठूलो उपस्थिति छ , उनले भोजपुरी मैथली र आफ्नै मातृभाषा नेपालभाषा समेत उनले कमालका गीत गाएकी छिन् । त्यसमध्ये ल्याय्म्हम्क दाजु तंचाया ला छु, छितः जिं ला छु है धैगु मदु ( जवान मेरा दाजु रिसाउन भयो कि क्या हो मैले त तपाइँलाई केही भनेकै छैन) लोकप्रिय मानिन्छ । त्यसवाहेक गुलित फसाद बियेत्यना कृष्ण र वाउँगु सिमाचाय् म्हासुम्ह झँगचा ( हरियो रुखको हाँगामा पहेँलो चरी ) पनि लोकप्रिय मानिन्छ ।
यो बाह्रमासे र बसन्त नामक् अल्बम उनका पति तारारत्न स्थापितले नै प्रकाशन गरेका हुन् ।
सांस्कृतिक संस्थानमा उनीसित १८ वर्ष सँगै काम गरेकी गायिका निर्मला श्रेष्ठ उनलाई सम्झिँदै भन्छिन्, कमला म भन्दा अग्रज हुन् । म मोहनसुन्दर श्रेष्ठसित शास्त्रीय गायन सिक्न जाँदा कमला नाचघर मा आएकी थिइनन् तर पछि उनी जागीरे कलाकारको रुपमा आएपछि हाम्रो परिचय बढ्यो । उनी खानपीनमा धेरै शौकिन थिइन् , अहिले उनी वित्यो भन्ने सुन्दा उनले खानाको कुरा गरेको अनि विशेष गरेर बोसो भुटेर खाएको प्रसंग भन्ने गरेको खूब सम्झेँ । उनी साह्रै प्रतिभाशाली तर साह्रै सादा र साधारण महिला हुन् । म त स्तव्ध छु ।
अमेरिकामा बस्दै आएकी निर्मलाले उनको निधनको खबर फेसबुकबाट थाहा पाएको बताइन् ।
सांस्कृतिक संस्थानमा आफ्ना अग्रज नृत्यकार भैरववहादुर थापाको सहयोगमा मासिक रु १५० मा  प्रवेश गरेकी कमलालाई अधिकृत कलाकार हुन धेरै समय लाग्यो । विसं २०३३ सालमा गायक नारायणगोपाल सञ्चालक समितिको सदस्य भएर आएपछि उनलाई अधिकृत  कलाकार बनाइएको थियो  ।
विसं २०३६ सालदेखि विसं २०४० सालमा सांस्कृतिक संस्थानमा कमलाको एक शालीन युग वित्यो , गायनमा, विदेश भ्रमणमा अनि नयाँ नयाँ सृजनामा । यस समय सांस्कृतिक संस्थानमा नारायणगोपाल महाप्रवन्धक भएर आइसकेका थिए ।
आफूभन्दा ८ वर्ष जेठा गायक नारायणगोपालसँगै रेडियो नेपाल प्रवेश गरेकी कमलाले नारायणगोपाल सँगै रेडियो नेपालको प्रतियोगितामा विजयी हुने मौका पाइन् भने नारायणगोपालकै संगीतमा मुनामदनमा गाउने अवसर पाइन् । नारायणगोपाल र कमलाको निकटताको कारण संगीत र सांस्कृतिक संस्थान मात्र नभएर अर्को विशेष कारण पनि छ, त्यो हो फुटबल ।
नारायणगोपाल फुटबलका फ्यान । अनि कमलाका पति तारारत्न स्थापित फुटबलका नामी खेलाडी ।
नारायणगोपालसित यति निकटता भएपनि वा नारायणगोपालसित बीसौँवर्ष सहकार्य गरे पनि गायिका कमलालाई नारायणगोपाल संगीत कोशले कहिल्यै स्वरसम्राट नारायणगोपालस्मृति पुरस्कारले पुरस्कृत गर्न सकेन । वा, नारायणगोपाल संगीत कोशको गल्ति हो वा गायिका कमलाको नम्रता वा अल्पभाषी हुनुको पीडा ?
गीतसंगीतका निम्ति दिइने दुइओटा ठूला पुरस्कार  छिन्नलता गीति पुरस्कार र स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार बाट त उनी टाढै रहेन भने अन्य ठुल्ठूला धनराशिका पुरस्कारबाट उनले निकट हुने कुनै मौका नै पाइननन् ? यसवारे उनले आफ्ना सहपाठी एवम् छिमेकी शान्ता सिंहलाई अस्पताल भर्ना हुनु केही दिन अगि भनेकी रहिछिन् , खै कता निवेदन हाल्न, विन्ती गर्न पनि जान सक्दिनँ कसैले सम्झने पनि होइन । पुरस्कारको निम्ति त म कतै धाउन पनि जान सक्दिनँ ।
काठमान्डू चावहिल मैजुबहाल मा उनलाई हिँडिरहेकोे देख्ने टेलिभिजनकर्मी शैलजा सिंह न्यौपाने , संगीतकार शुभवहादुर  सुनाम, प्रभा सुनाम अब उनको आवाज मात्र सम्झिन्छन् ।
२०७४ सालको अन्तिम महिनाको पाँचौ दिन गंगालाल अस्पतालमा प्राण त्यागे । ६९ वर्ष अगि कात्तिक नौ गते पिता रामवहादुर श्रेष्ठ र माता इन्द्रमाया श्रेष्ठकी छोरीका रुपमा जन्मेकी कमलाले करीब पन्ध्रवर्ष को उमेरदेखि गायनमा प्रवेश गरेकी हुन् ।
संगीतकार हुतराज शर्मा, सीके रसाइली, गणेश रसिकको संगीतमा गीत गाएकी छिन् , गणेश रसिकको शब्द र संगीतमा सहिदिन्छु कुट बरु बोलीले नकुट , मरिदिन्छु मार बरु वचनले नमार निकै लोकप्रिय मानिन्छ ।
आधुनिक, भजन बाहेक लोकगीतमा कुमार बस्नेतसित गाएका प्रायः लोकगीत चर्चित छन् तर मादलवादक प्रेमदेव गिरीको संकलनका लोकगीत सरर मलेवा घुम्छ बादलमुनि मायालाई
सर्वाधिक चर्चित मानिन्छ , यो गीत पश्चिामाञ्चलको एक प्रतिनिधि लोकगीत मानिन्छ ।
स्वरमा मुलायमपन, गायकीमा सादगीपन भएकी कमला श्रेष्ठ गत केही वर्ष देखि ओझेलमा बस्न थालेकी थिइन् , आफ्ना तीन छोरा उदय, विनय र बबिनका साथ सुखमय परिवारमा रमिरहेकी कमलालाई मुटूको रोगको समस्याले केही समयदेखि आक्रान्त बनाएको थियो । उनीसितको समय र काललाई सम्झिँदै गायक रोविन शर्माले सामाजिक सञ्जालमा लेखेका छ्न, उहाँसित धेरै जसो कार्यक्रममा सँगै मञ्चमा उत्रने मौका पाएको छु । अति  सरल सादा जीवन भएकी कमला दिदीसितको मेरो सम्झना आजन्म सँगै रहनेछ ।
गायिका कमलालाई धेरैले गायिकाको रुपमा सम्झे पनि उनी एक कुशल नृत्याँगना पनि हुन् , उनले नेपालीमा बनेको दोस्रो चलचित्र हिजो आज भोलि मा नृत्य पनि गरेकी थिइन् ।
औपचारिक शिक्षामा कक्षा ९ सम्म  अध्ययन गरेकी कमलाले इलाहावादको प्रयाग संगीत समितिबाट स्नातक उत्तीर्ण गरेकी थिइन् ।
आफ्ना अग्रज संगीतकार चन्द्रराज शर्मा देखि आफूपछिका गायक द्धारिकालाल जोशी, प्रवीण गुरुँग, लोकवहादुर क्षेत्रीसित सांगीतिक सहकार्य गरेकी गायिका कमलालाई महाकवि देवकोटाको कालजयी रचनाकै शब्दमै समर्पण छ,
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती ...
००