Tuesday 21 April 2015

Sharan Pradhan by Prakash Sayami

सम्झनाको गर्भमा सङ्गीतकार शरण प्रधान
Prakash Sayami

                     ‘म अभागीको दुस्मनै हाँसोस्
                         बरु मेरो आशिषै  लागोस्
                           बिन्ती छ दैव नि लै लै
                             भाग्य लेख्नेको हातै भाँचोस् है.....’ 
                             आफ्ना प्रतिभाशाली पति शरण प्रधानको सङ्गीत र रचनामा गाएको यस गीतको रेकर्डिङको एक महिनापछि अरुणा लामाको जीवनमा स्वभावतः अभागीको कर्मरेखा कोरियो— मे  ४ तारिख सन् १९७४ मा तीस वर्षको उमेरमा । तीस वर्षको कम उमेरमा आफ्नो महायात्रा तय गर्ने गीतकार–सङ्गीतकार शरण प्रधानका बारेमा नेपालको राष्ट्रिय दैनिक २०३१ साल जेठ १० गते यस्तो लेख्छ—
  “......दार्जीलिङ निवासी श्री शरण प्रधानको गत वैशाख २० गते उहाँको निवासस्थानमा हृदयगति बन्द भएर देहावसान भएको थियो । उहाँ तीस वर्षको हुनुहुन्थ्यो । उहाँका एक छोरा, एक छोरी र श्रीमती –गायिका अरुणा लामा) छन् ।....”
  गोरखापत्रको भाषामा त्यतिबेला शरण प्रधानको सम्झनामा एउटा स्मृतिसभा गरिएको थियो— अम्बर गुरुङ, मास्टर रत्नदास, नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, भूपि शेरचन र ईश्वरवल्ल्भको सक्रियतामा । यसपछि र यसअघि इतिहासको कुनै पनि कालखण्डमा शरण प्रधानलाई सम्झने र सम्झना दोहो¥याउने काम कतैबाट भएन, न परिवारबाट, न साङ्गीतिक समूहबाट, न सहृदयीबाट, न त लाखौँलाख पुरस्कार बाँड्दै हिँड्ने सङ्घ–संस्थानबाट । त्यसकारण उनलाई यहाँ खोजखनिज गर्ने काम गरियो— उनको प्रस्थानको सत्ताइस वर्षपछि ।
 यो सत्ताईस वर्षको लामो आरेखमा नेपाली सङ्गीतक्रममा आकाश–पातालको  परिवर्तन भइसक्यो । त्यसबाहेक—
— नेपालमा कलाकर्मीहरूलाई रोयल्टी दिन थालियो ।
— कलकत्ता र मुम्बईबाहेक नेपालभित्रै असङ्ख्य रेकर्डिङ स्टुडियो खुले ।
— नेपाली सङ्गीतका अघिल्लो पुस्ताका कीर्तिस्तम्भ मास्टर रत्नदास प्रकाश लगायत जितेन्द्र बर्देवा, नारायणगोपाल गुरुवाचार्य, गोपाल योञ्जनका साथै पछिल्लो पुस्ताका अरूण थापाले बिदा लिइसके भने उनकै कथा–व्यथाको इतिहास बोकेर बस्ने जीवनसङ्गीनी अरूणा लामाले ‘जीवनसाथी’–को भूमिका त्यागिसकिन् ।
— अब एउटा कथा बाँकी छ — शरण प्रधान को हुन् ?
शरण प्रधानलाई सम्झेर एकदिन उनकै गुरु ईश्वरवल्लभले भने— “बाबुआमाले करोडौँ रुपियाँ राखिदिएका नेपाली त थोरै नै छन्, लाख–दशलाख राखिदिएका त कमै छन् तर यिनले बेन्जोलाई मेन्डोलिन बनाउन्जेलको यात्रालाई भाषागत प्रसादगुण तथा लक्षण र उपमा भनेर लिन सक्छन् । सत्य के हो भने, बेन्जोलाई मेन्डोलिन बनाउन शरणले साह्रै नै सङघर्ष गरेको थियो अर्थात् ब्न्जोबाट मेन्डोलिनसम्म यात्रा गर्दा यसले कष्ट सहेका थियो । त्यो वास्तविक सत्यतासित जुध्न उसलाई साह्रै  कठोरता अनुभव गर्नुपरेको थियो, यो यथार्थिकता तिनीहरूले बुझ्दैनन् ।
  उनीहरूसित त सद्भावनाका शब्दहरू मात्र छन् । शरणको मेन्डोलिनबाट निक्लेको स्वरले चिच्याएको अनुभव सुन्ने शक्ति भएको कान छैनन् ।”
    सम्भवतः त्यो ‘सुन्ने शक्ति भएका कान’ अझै पनि बनेका छैनन् जसले शरणका संरचनाहरू त सुन्छन्, उनलाई बिर्सन्छन् । सम्झनुपर्ने हुन्छ उनका यी कालजयी गीतहरूः
    मान्छे सबै एउटै रगतको......
   (प–सा– । साँ प पनि साँ र । नि–ध, म । ध ध–प–।)
   मैले जीवनलाई कसरी सजाएँ...
   (ग–म ग ग । प–प–प । धसा रेग गर साँ, रे । नि–ध)
   आँखाहरूले कसलाई –कसलाई खोजे झैँ लाग्छ....
   (ग म ध प म– । प...)
   यो बैनीको माया....
   (ग । म धसा रेग रे । ग– –म । ग...)
   सी स्यार्पमाइनर २÷४ ‘मान्छे सबै एउटै रगतको’ होस् वा बी मेजर ५÷८ मा ‘मैले जीवनलाई कसरी सजाएँ’ होस् वा फ्ल्याट मेजरमा मणिकमल क्षेत्री र अरुणा लामाको युगलबन्दीमा ‘आँखाहरूले कसलाई ...’ होस्, हरेक सङ्गीतमा शरणले सरल सुनियोजित ढङ्गबाट स्वरलाई बाँधेर मीठामीठा गीतहरू जन्माएका छन् । गीतरचनाका हिसाबले पनि शरणलाई उनका समकालीनहरूले छुन नसकेका कुरा मणिकमल क्षेत्रीले अजम्मरी गीतसङ्गीतको स्रष्टा साप्ताहिक (रेडियो सगरमाथा)–मा दोहो¥याएका छन् भने उनका सहधर्मी सङ्गीतकार गोपाल योञ्जनको भनाइमा “अम्बर गुरुङको सङ्गीत स्कुलमा हुर्के पनि पछि गएर शरणले गीतसङ्गीत रचनामा आफ्नै व्यक्तित्व खडा ग¥यो । शरणको सङ्गीतशैली सरल, सोझो, मौलिक तथा सर्वग्राह्य र चित्ताकर्षक सुनिँदासुनिँदै पनि उसको स्वरगठन जटिल र उच्चस्तरीय हुन्छ, जुन अरुणाजत्तिकै श्रेष्ठ गायिकाले मात्रै सफलतासित अभिव्यक्त्याउन सकेकी हुन् ।”
   अम्बर गुरुङकी प्रियंवदा गायिका अरुणा लामाको एकल गायनमा आफ्नो साङ्गीतिक संसार थालेका प्रधानले आफ्नो प्रारम्भिक खण्डका बारेमा जीवनको अन्तिम बेलातिर गीतकार विश्ववल्लभलाई दिएको वार्तासार यस प्रकार छ ः
   “...आमाले नै मेन्डोलिन किनेर सङ्गीत सिक्ने प्रेरणा दिनुभयो र मेन्डोलिन लिएर मैले आफ्नै कोसिसले आफै सिक्न थालेँ र पछिबाट यसरी सिक्दासिक्दै मैले श्री अम्बर दाइ(अम्बर गुरुङ)–सँग भेट्ने मौका पाएँ । अम्बर दाइसँग भेटेपछि स्टेजहरूमा धेरै कार्यक्रमहरूमा भाग लिन थालेँ । अम्बर दाइले नै मलाई धेरै प्रेरणा दिनुभएको हो । सिस्टमेटिक म्युजिक कसरी बजाइन्छ, सिकिन्छ इत्यादि उहाँबाटै सिकेँ । त्यतिबेला म आर्ट एकेडेमीमा थिएँ । त्यसपछि मैले रेकर्डिङमा अम्बर दाइसित ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ (स्वरः रुद्रमणि गुरुङ र अरुणा लामा, शब्दः पासाङ बाडवल) र अम्बर दाइको कालजयी गीत ‘म अम्बर हुँ तिमी धर्ती’ इत्यादि गीतहरूमा मैले मेन्डोलिन बजाउने मौका पाएँ । त्यसरी कलकत्तामा गएर मेन्डोलिन बजाएपछि आफैलाई पनि एक प्रकारले गर्व लाग्यो, आत्मविश्वास पनि बढेर आयो ।”
 अम्बर गुरुङको आर्ट एकेडेमीमा एक वाद्यवादकका रूपमा अनुसेवी शरण प्रधानले अम्बर गुरुङ लोकमनोरञ्जन शाखाका सङ्गीत–निर्देशक भएर गएपछि आफ्नै संयोजकत्वमा अर्कै साङ्गीतिक समूह खोलेको कुरा २०२१ सालको ‘गोरखापत्र’ दैनिकमा सार्वजनिक गराएका छन्, यसरी—
 “....र हामीले अम्बर दाइको प्रस्थानपछि अर्कै एउटा संस्था ‘सङ्गम’ नाम गरेर खोल्यौँ । यस संस्थाबाट सर्वप्रथम हामीले रेकर्डिङ ग¥यौँ ‘यहाँ फूल नखिलेछ...’ । अरुणाको स्वरको यस गीतलाई जनताले साह्रै रुचाए र त्यसपछि कम्पनीका लागि हामीले रेकर्ड गरेका थियौँ— ‘हेर न हेर कान्छा, डाँडालाई फूलले ढाक्यो’ भन्ने गीत जुन जनताले खुब रुचाएका गीतहरू हुन् ।”
  ‘सङ्गम’ समूहका एक सदस्य गीतकार जितेन्द्र बर्देवा र अरुणा लामाको युगल स्वरबन्दीमा प्रतिस्थापित यस गीतले नारायणगोपाल र तारादेवीको युगल गीत ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’–सँग स्वस्थ प्रतिस्पर्धा गरेको थियो भने अम्बरकै संरचनाको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’–सँग नैरन्तर्य राखेको थियो ।
    सन् १९४३ मे ४ तारिखका दिन पश्चिम बङ्गालस्थित दार्जीलिङ स्टेसनमा श्री तथा श्रीमती हर्कबहादुर प्रधानका एकमात्र सन्तानका रूपमा जन्मेका शरणकुमार प्रधानले किशोरवयमै सङ्गीताञ्चलमा प्रवेशिए पनि वैवाहिक जगत्मा एक्काइस वर्षको उमेरमा आगमन गरे— आफ्नै सहकर्मी गायिका अरुणा लामासित । १७ जुलाई १९६४ का दिन अरुणासित पतिदेवका रूपमा बस्न सुरु गरेका शरणले एक दशक पनि उनीसित भूमिका निर्वाह गर्न पाएनन् । यो एक दशकमा उनले अरुणासित मिलेर एक छोरी (सपना) र एक छोरा (सुप्रीत)–लाई जन्म दि एभने कैयन् अजम्मरी गीतहरूलाई हुर्काए पनि ।
 कमभन्दा कम गीत–सङ्गीत रचेर आफ्नै अग्रजलाई चुनौती दिन सक्ने शरणले आफ्ना समकालीनहरूका निम्ति पाठ सिकाइदिए । भनेका पनि छन्, उनका प्रथम गुरु अम्बरले— “....शरण एक दुर्लभ सङ्गीतकार हुन् । फ्र्यान्ज सुवार्ट ३१ वर्षको कलिलो उमेरमा गए र प्रायः झन्डै त्यही उमेरमा शरण प्रधानको दुःखमय निधन भयो । सुवार्ट पाश्चात्य सङ्गीतकलाका अतुलनीय  प्रतिभा थिए र नेपाली सङ्गीतको पृष्ठभूमिमा शरण प्रधानको भूमिका पनि कम छैन । हुन त शुवार्टको दाँजोमा शरणले मेजर वर्कहरूतिर  त्यति ध्यान दिएनन् तर सरल सङ्गीतको सन्दर्भमा भन्ने हो भने कुनै पनि नेपाली सङ्गीतकारको भन्दा शरणको स्थान सानो हुन सक्दैन ।”
आदरणीय गुरुको दावाअनुसार शरणले सुरुआतदेखि त्यही रणनीति अपनाए । आफ्नो पहिलो सङ्गीत कार्यान्वितिमा समकालिकतामै हमला गरे र त्यही कृतिले उनलाई अजर–अमर बनाइदियो । सन् १९६३ तिर धुनबद्ध गरिएको जितेन्द्र बर्देवाको ‘यहाँ फूल नखिलेछ.....बहार आउन नै भुलेछ’ गीत नै शरणको ‘ट्रम्प कार्ड’ रह्यो । दार्जीलिङ जिल्लामा भएको सङ्गीतप्रतियोगिताका निम्ति जितेन्द्र बर्देवाले तीन घण्टा ल्वोयड  फूलबारीमा घुमेर लेखेको यो गीत अरुणा र दिलमाया खातीको स्वरप्रतियोगितामा प्रथम भएको थियो भने शरण–रञ्जित र कर्म–गोपाल योञ्जनको प्रतिद्वन्द्विताको अर्को झलक पनि हो । यस गीतले शरण र अरुणालाई एउटा परिचय दियो भने साङ्गीतिक हिसाबले यस परिचयले एकाकी गायनको पीडा (अरुणा शैलीका गीतहरू) बोकेको पाइन्छ । शरणको भाषामा यो डेड म्युजिक पनि हो । डेड म्युजिकलाई यहाँ मृतसङ्गीत नभनी संरचनाका आधारमा डी मेजर, इ मेजर, ए मेजर र डी मेजर (डेड)–मा धुनबद्ध गरिएको साङ्गीतिक रचनाले शरण–अरुणाको जन्म भएको मानिन्छ ।
   शरण–अरुणा–रञ्जितको त्रिवेणीमा पछिल्लोपटक मणिकमल क्षेत्रीको आगमन हुन्छ— युगलगीतबाट । दार्जीलिङमा काउब्वाय शैलीको सिनेमा ‘द म्याग्निफिसेन्ट सेभन’–को प्रदर्शनपछि रचिएको यस गीतमा दार्जीलिङकै बतासे डाँडाको देन पनि छ— कथाकार पटिर जे. कार्थकको सम्झना हो यो । पासाङ बाङ्देलको ‘हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो’ गीतको सफलतामा अरुणा र जीतेन्द्र बर्देवाको स्वरमा माधुर्यसँगै रचनाकारिताको नमूना पनि अद्वितीय नै थियो, सविशेष यस चरणमा केटा ः  आकाशधर्ती साक्षी छ
        हृदयको माया तिम्रै हो
        यो जीवन मात्रै होइन
        अर्को जीवन पनि तिम्रै हो
केटी ः   जीवन हाम्रो एकबाजी
        फुलेको सम्झ मायामा
        हृदयको माया मेरो
        एकबाजी सुम्पेको सम्झ न
   युगल गीतमा यसपछि आफ्नो छाप र पहिचान जोड्ने शरण र आफ्ना सहयोगी रञ्जितसँगको यात्रामा तनमनले जुट्दै गए— अरुणाको स्वर आफ्ना शब्दमा । रचनामा भावदशा र वैयक्तिक जीवनदर्शन पोख्न रुचाउने शरण सङ्गीतमा आधुनिकता मन पराउँथे भन्ने तथ्य उनले देहान्त हुनु एकदिनपूर्व सारङ्गी परिवारका निम्ति अजित निराशालाई दिएको वार्ताबाट पुष्टि हुन्छ । उनले भनेका छन्— “पाश्चात्य सङ्गीतको ताल (रिदम)–साज र टेक्निक आदि उपयुक्त तरिकासित अपनाएर नेपाली सङ्गीतमा नवरूप ल्याउनु अत्युक्ति होइन तर ‘आफ्नोत्व’–चाहिँ लोप नहोस् ।”
 दार्जीलिङे सङ्गीत र आधुनिकताका बारेमा आफ्नो निर्वैयक्तिक अभिमत राख्ने गीतकार–सङ्गीतकार शरणको भनाइ यस्तो छ— “हाम्रो दार्जीलिङे नेपाली सङ्गीतमा यस्तो आधुनिकता ल्याउने र हामीलाई बाटो देखाउने श्रेय त अम्बर दाइलाई दिइनुपर्छ । तर यसरी आधुनिकीकरण गरेर पाश्चात्य सङ्गीतको हार्मोनाइजेसन, काउन्टर अनि रिदमका सहयोगले हाम्रो गीतमा मिठास भर्न पनि असाध्यै असल हुन जान्छ जसरी ‘मलाई माफ गरिदेऊ’ भन्ने गीतमा गोपाल योञ्जनज्यूले एउटा बल्दो उदाहरण थप्नुभएको छ ।”
   सङ्गीतमा अरूको प्रयोग र परम्परालाई स्वीकार्न सक्ने सङ्गीतकार शरण एकमात्र यस्ता साधक हुन् जसको गीत लोकगीत बन्न पुग्यो उनको जीवनकालमा । त्यो गीत हो उनकै रचना र सङ्गीतको ‘जोेबन गयो बैँस त गएन लै–लै, यो जोबनलाई सलाम, यो बैँसलाई सलाम’ । यसबाहेक ‘म आँखैमा राखिने योग्य कहाँ छु,’ आकाशको प्रीत धर्तीको गीत,’ ‘शीतल पवनले बगाइल्यायो’, ‘जोबनमा जोगिएर’, ‘मलाई आँखैमा राख्नु पर्दैन है’–जस्ता अजर–अमर गीत रच्ने शरणको प्रस्थानको एक वर्षपछि सङ्गीतकार शान्ति ठटालले आफ्नो संस्मरणमा लेखेकी छन्ः
  “ शरणका प्रायः गीतहरू वेदनाले आद्र्र छन् । भनौँ केही  दुःखकारी छन् । मनोरञ्जनार्थ उच्छृङ्खलता प्रायः छैन । तथाकथित पश्चिमेली पप स्टाइल त झन् उसले रच्नेबारे सोचेन पनि होला । सरल, साधारण जनजीवनलाई हुने शब्द र लोकधुनबाट ज्यास्तै प्रभावित शरणको झुकाव रागभन्दा बढी रागिनी –माइनर नोट्स)–प्रति थियो । यसो भनौँ उसका प्रत्येक गीतहरूले माइनर नोट्सलाई नछोई छाड्दैनथ्यो । उसको जीवनको बिहानी रचनाहरूमा ‘यहाँ फूल नखिलेछ’ लोकप्रिय भयो नै, ‘मैले जीवनलाई कसरी सजाएँ’, मलाई साह्रै मन पर्ने गीत हो । म प्रश्न गर्थे उसलाई— “तमीले यो गीत किन रच्यौ ? यो गीत त मैले लेख्नुपर्ने ।”
       सोध्नुपर्ने एउटा प्रश्न अझै बाँकी रह्यो । शरणको प्रस्थानपछि अरुणाको स्वरमा पीडाको भार थपियो वा शरणको अभावमा अरुणा अझै राम्री गायिका भइन् भन्ने सङ्गीतसमीक्षकहरूको भनाइ छ । शरणको सङ्गीतमा पनि तिनी त्यतिकै राम्री गायिका कसरी रहिन् ?
       त्यसैले शरण आफ्ना गीतमा यस्तो पनि लेख्छन् ः
                 म आँखैमा राखिने योग्य कहाँ छु
                 मलाई सम्झी टिठ्याउने योग्य कहाँ छु
                 म भूल हुँ सुधारिने योग्य कहाँ छु
                 कुनै दिन जब मैले सबैलाई रिझाएँ
                 त्यहीँ म किन आज सबलाई बिझाएँ
                 म मान्छे हुँ मान्छेलाई माया चाहिन्छ
                 मेरो जीवनलाई पनि साथी चाहिन्छ
                 तर साथी बन्ने म योग्य कहाँ छु
                 कसैको माया पाउने योग्य कहाँ छु
                 उदास मेरो मुहारमा मुस्कान जँचेन
                 ऐनामा म हाँस्दा आफैलाई चिनिनँ
                 दुःखको उदाहरण मेरै जीवन होइन
                 खुसीमा के मेरो अधिकार नै छैन
                 यी प्रश्न उठाउने म योग्य कहाँ छु
                 कसैको माया पाउने योग्य कहाँ छु
                               

Cinema ra Nirwasan by Prakash Sayami

सिनेमा र निर्वासन
प्रकाश सायमी

गान्धी होस् या गालिब
अब दुवैको शिक्षाको के  काम ?
सामान्य लाग्ने कुरा असमान्य तरिकाले लेख्न सक्थे,  कवि साहिर ।
उनको यो क्षमतालाई इस्लामीबहुलता भएको  सरकार र समाजलाई पच्दैनथ्यो, त्यसैले उनी भागी भागी हिँड्थे सिक्रीबाट बँच्न । पाकिस्तानको  सवेरा मा छापिएको उनको कविताको कारण सन् १९४७ मा भेष बद्लेर पाकिस्तान छोड्नु पर्यो र भारत आएर बाँकी जीवन विताए । पाकिस्तानमा त्यतिवेला न कलमको आजादी थियो, न बोलीको । भारतमा पनि उनले कसेर ताजमहल माथि कविता लेखे,
इक शहन्शाह ने दौलत का सहारा लेकर
हम गरीबोँ का मुहब्बत का उडाया है मजाक
यस्तै कविताकर्मका कारण साहिर कहिले भित्र कहिले बाहिर परिरहे । साहिरले नै लेखेका हुन् , गालिब र गान्धीका वारेमा । यी दुईको मृत्युले कति फरक पार्यो हाम्रो भाषा र शिक्षामा ।
गालिब उर्दूभाषाका महाकवि थिए, तर विचारको उनको सोचाइ   सामान्य मान्छेकै जस्तो  हुन्थ्यो । वा, उनी त्यस्तै सोच्थे ।
उनले त्यतिवेलै आदमी –(मान्छे ) र इन्सान –(मनुष्य ) फरक पहिल्याए,  मौल्लाहरु तर्सिए र उनी धर्मविरोधी भनेर प्रचारित भए ।
गालिब समय भन्दा अगाडि थिए कि पछाडि थाहा भएन तर समयसाथमा थिएन उनको । गजलकार  नीदा फाजलीले भनेका छन्, “गालिबलाई आजको समयमा भएको भए फाँसी दिइन्थ्यो या त फतवा जारी गरिन्थ्यो । धन्न, उनी समय भन्दा पहिले नै आए र गए ।
अहिलेको समय झन् कठोर बन्दै गएको छ, राजनीति, हतियार, संघ, संगठन र पार्टीले गर्दा ।
सलमान रुश्दी, तसलीमा नसरीन, तहमीना दुर्रानीआदि इस्लामी समाजमा यसैका शिकार भए  ।
सलमान रुश्दीले ‘द सटानिक भर्सेज्’ का कारण कैँयौ वर्ष भूमिगत जीवन विताए ।  नाम नै बदलेर जोसेफ एन्टोन भएर बाँच्नु पर्यो ।
सन् १९८९ फरवरीको १४ तारिखका दिन  उनले वीवीसका  एक पत्रकारबाट थाहा पाए यो  अप्रिय सन्देश ।  सुन्नु पर्यो त्यो प्रणयदिवसका दिन  अयातोल्लाह खोमेनीले  जारी गरेको मृत्युसम्मको सजायँ अर्थात् फतवा ।
सलमान रुश्दीले फतवा शब्द पहिलो पटक सुनेका थिए ।
फतवा ?
के का लागि भन्दा लेखनका लागि । यो उनको लागि गज्जबको सन्देश थियो ।
इस्लाम धर्मका विरुद्ध गएर लेखिएको भनेर पाएको यो सजायँका निम्ति रुश्दीले आफ्नो सम्पूर्ण  जीवन गुमाएर गुमनाम भएर बाँच्नु पर्यो । यस्तो सजायँ विरलै हुन्छ तर उनलाई यो पुरस्कार स्वरुप नै आयो ।
तहमिना दुर्रानीले जीवनभर आफ्ना राजनीतिज्ञ पतिको कुटाइ मार खाइन् ,एउटै कारण । कुरानमा यही लेखिएको छ भनेर । पछि उनले यस कुरालाई भण्डाफोर गर्नु पर्दा आफ्नो देश छोड्नुपर्यो र पतिको थर पनि । र, तिनले त्यही पुस्तक माई फ्युडल लोर्डका निमित्त इटालीमा सम्मान पाई  ।
सत्ताधीशकी पत्नीले एउटा चेतनामूलक किताब लेख्दा यस्तो सजायँ भोग्नु पर्ने सम्प्रदायमा पुरुषलाई त कलम चलाउने अनुमति छैन भने सामान्य महिलाको हालत कस्तो होला ?
फतवा घोषणा गरिने मुलुक इरानको र इरानका महिलाको हालत के होला सोच्दा पनि भयावह लाग्छ तर इरानकी एक अभिनेत्री गोल्सहिफ्तेह फराहनीले यो सबै कागजी पैरहन (जसलाई मुल्ला मौलवी आफ्नो हतियार मान्छन् ) लाई तोडमरोड गरेर राखिदिइन् जब उनले हलिऊड गएर फिल्म खेल्ने निर्णय गरिन् ।
इरानका धार्मिक नेता खोमेनीले रुश्दीको विरुद्धमा फतवा जारी गर्नु भन्दा ६ वर्षअगि मात्र जन्मिएकी फराहनीले त्यही समय अभिनय शुरु गरिन् जतिवेला उपन्यासकार  रुश्दीमाथि संकटको आकाश खसेको थियो ।
उनका पिता बेहजाद फराहनी एक थिएटर निर्देशक थिए भने  माता फहीमेह रहीमिनीया एक कुशल रंगमञ्च अभिनेत्री ।
 यी दुवैको प्रेरणाले अभिनय अपनाएकी गोल्सहिफ्तेहलाई सरकारबाट पियानो सिक्न वियना जाने मौका आए पनि उनले अभिनय नै गर्छु भनेर प्रण गरिन् र अभिनयकै कारण उनी इरानमा सर्वश्रेष्ठ ठहरिइन् ।
दुनियाभरमै यो मानिन्छ कि इस्लामी संस्कृतिको कट्टरताको कारण युवा खुलेर आफ्नो जीवन बाँच्न पाउँदैनन् तर गोल्सहिफ्तेहले यो आम धारणलाई मिथ्या सावित गरिदिइन् । तिनी ती युवाका निम्ति दीपाधार भइन्, ‘जो जीद गर र दुनिया बदल’ भन्ने नारामा विश्वास गर्छन् ।
गोल्सहिफ्तेहले १४ वर्षको उमेरमा द पियर ट्री नामक् फिल्ममा मुख्य भूमिकामा उनी चुनिइन् । यही सिनेमामा गरिएको अभिनयका कारण उनलाई इरानकी सबैभन्दा लोकप्रिय अभिनेत्रीको सिंहासन हासिल भयो । यही फिल्मकै भूमिकाका निम्ति उनलाई फ्रज्र फिल्म फेस्टिभल मा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार पनि मिल्यो ।
यसपछि उनले २५ भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । कैयन सिनेमामा उनले अन्तर्राष्ट्रिय स्तरका सबै महोत्सव र  पुरस्कार भ्याइसकेकी छिन् ।
सन् २००६ मा प्रदर्शित हाफ मून मा उनलाई सैन सेबास्टीयन फिल्म फेस्टिभलमा गोल्डेन सीशैल पुरस्कारले सम्मानित भइन् । यही साल एम फर मदर का निम्ति गोल्सहिफ्तेहलाई इरानमा अत्यधिक सम्मान गरियो भने देशको आधिकारीक प्रविष्टीको रुपमा यसलाई ओस्कार पुरस्कारमा मनोनित गरियो ।
गोल्सहिफ्तेहलाई  यसपछि हलिऊडका निर्देशक रिडली स्कटले बडी अफ लाइज नामक् फिल्मामा नायक रसेल क्रोव र लियोनार्डो डीक्याप्रिओका नायिकाको रुपमा छाने जतिवेला तिनको विवादास्पद फिल्म सन्तूरी इरानमा प्रतिवन्धित थियो भने तिनी त्यही समय हलिऊडमा चुनिइन् । ईरानबाट हलिऊड गएर अभिनय गर्ने उनी पहिलो अभिनेत्री भइन् ।
आफ्नो नवीनतम फिल्म द पेशेन्स् स्टोन को न्यूयोर्कमा प्रिमियर भएपछि गोल्सहिफ्तेहले एक प्रेस कन्फ्रेन्समा भनिन् , “फारसी भाषामा एउटा कहावत छ, शेरको पुच्छरसित खेल्नु । म इरानी समाजको अपेक्षा मुताविक एउटी असल केटी कहिले हुन सकिनँ, बच्चैदेखि म शेरको पुच्छरसित खेल्दै आएँ । ”
इरानकी प्रसिद्ध अभिनेत्री गोल्सहिफ्तेह जन्मजात विद्रोही स्वभावकी थिइन् जब उनले सानोमा आफ्नो स्कुलमा कक्षाकोठा तातो बनाउने (हिंटीँग ) नहुँदा सबैलाई उचालेर स्कुल नै हडताल गरिदिइन् । उनको यो विद्रोही स्वभाव चरम स्थितिमा त्यतिवेला पुग्यो जब १६ वर्षको उमेरमा उनले अन्य महिलाले जस्तै टाउकोमा हिजाब बाँध्नुपर्ने वेला टाउको नै मुडुल्याएर तिनी केटाको पहिरनमा साइकलमा तेहरानको खुल्ला सडकमा हिँड्न थालिन् । यो इस्लामिक समाजको लागि ठूलो झापड थियो ।
बडी अफ लाइज् पछि हलिऊडकी प्रिय भइसकेकी गोल्सहिफ्तेह फराहनीले सन् २००९ मा अबाउट लिली मा  बर्लिनमा सिल्भर बियर ट्रफीले पुरस्कृत गरियो ।
फरहानीको जीवनमा इरानको सरकार र इस्लामिक संस्कृतिको कट्टरताले त्यतिवेला उनलाई लपेट्यो जब उनी आफ्नो पहिलो हलिऊड फिल्मको प्रदर्शनको वेला अमेरिका गइन् । एउटा समारोहमा हिजाब नलगाइकन भाग लिन गएको कारण ईरानी शासक तथा मुल्ला मौलवीहरुले यति कडा कारवाही गरे कि गोल्सहिफ्तेहलाई अन्य हलिऊड फिल्म खेल्न रोक लगाए र उनको पासपोर्ट नै जफत गरिदिए ।
जन्मकैद जस्तो सजायँ बोकेर अभिनय विनाको जीवन बाँचेर ईरानमा कुहिनु भन्दा उनी त्यहाँबाट फ्रान्स पुगे । र, त्यहाँ उनले आफ्नो करिअर पुनः शुरु गरे ।
फ्रान्स प्रवेशपछि गोल्सहिफ्तेहले ईरान सरकारलाई अर्को झट्का त्यति वेला दिइन् जब उनले सन् २०१२ मा एउटा फ्रेन्च पत्रिकाको निम्ति नग्न चित्र खिँचाइन् जसमा उनले आफ्नो स्तन दुवै हातले छोपेकी थिइन् । यसपछि उनले फ्रान्सको ओस्कार पुरस्कार मानिने सीजर पुरस्कारका निम्ति ३० अन्य कलाकारका साथमा एक प्रोमोशनल भिडिओमा भाग लिइन् ।
त्यस भिडिओमा हरेक कलाकारले जस्तै गोल्सहिफ्तेहले पनि आफ्नो वस्त्र उतार्दै एउटा सम्वाद् बोल्नु थियो, ‘म आफ्नो आत्म तथा आफ्नो शरीरलाई कलाका निम्ति समर्पित गर्दछु .. म अवश्य पनि तिम्रो सपनालाई साकार गर्नेछु ।’
यो भिडिओ पश्चात् इरानमा मानौँ भूइँचालो नै आयो । त्यहाँको मुल्ला–मौलवीले इरानमै रहेका उनका पितालाई धम्की दिन थाले । धम्की दिने मध्ये एक जो सर्वोच्च न्यालयका उच्च अधिकारी भन्थे, उनले यस्तो सम्म भने, “तिम्री छोरीलाई माफ हुँदैन अब । उसलाई जरुर सजायँ हुनेछ । उसको दुवै स्तन काटेर किश्तीमा राखेर हामी तिमीलाई भेंट गर्नेछौँ । ”
यी सबै धम्कीका वावजूद पनि गोल्सहिफ्तेह मौन छैनन् उनी भन्छिन्, “मलाई शेरको पुच्छरसित खेल्ने शौख छ । जिन्दगीमा म सदैव हिम्मतवाली नै छु , किनकि यसविना वाँच्नु सम्भव नै छैन । जबकि मलाई देशनिकाला दिइयो तर फेरि पनि मेरो सपना ईरानमै छ, मेरो आत्मको एउटा ठूलो भाग आज पनि ईरानमै रम्दछ । म कहिले पनि ईरान वाहेक अन्त कतै बस्नै चाहन्नथेँ । शायद मेरो सपनाको ईरानमा कुनै अस्तित्व नै छैन अब । ”
अस्तित्वरहित सपनाको भार बोकेर तिनी निर्वासनको घडीमा छिन् तर खुशी छिन्, उत्साही छिन् । यो क्षणको उनको लागि चुनौतीपूर्ण तर प्रिय छ, उनी भन्छिन्, “निर्वासनको यो स्थितिमा फ्रान्समा दुई किसिमका मान्छे छन् ( एक जो घोर निराशामा प्यारिसको सीएन नदीमा हाम्फालेर आत्महत्या गर्छन् । अनि, दोस्रो मजस्तो मान्छे , जो योद्धा बनेर आफ्नो सारा निराशा एउटा ठूलो पंखावाला इञ्जिन बनाउनमा व्यस्त छ ता कि ऊ उड्न सकोस् .....यो निर्वासन नै मेरो सबैभन्दा ठूलो ताकत हो ।”
भावप्रवणशील आँखा, सशक्त व्यक्तित्व र आकर्षक रुपरंगका कारण गोल्सहिफ्तेहका हरेक क्रियाकलाप चुनौतीपूर्ण भइसकेको छ । हलिऊडमा यसपालि उनको उपस्थिति अझै सम्मानजनक रह्यो जब उनले फ्रान्सको प्री गोनोकोर्टद्धारा सम्मानित उपन्यास द पेँशेन्स् स्टोन मा अभिनय गरिन् । अफगान युद्धमा आधारित अतीक रहीमीको निर्देशनमा बनेको त्यस सिनेमामा गोल्सहिफ्तेहले दुई बच्चाकी आमाको अफगान महिलाको भूमिका निभाएकी छिन् जसको पति गोली लाग्नुका कारण कोमामा छन् । यी महिला रातदिन ती पतिको सश्रुषा संकल्पनामा  जुटेकीछिन् जबकि त्यतिवेला बाहिर भीषण युद्ध चलिरहेछ । सानो नलीको माध्यमबाट तिनी आफ्नो पतिलाई चिनीको पानी पिलाइरहेकीछिन् भने साथसाथै आफ्नो जीवनको सारा गोप्य घटना पनि सुनाइरहेकीछिन् जुन तिनले पहिले कसैलाई सुनाएकी थिइनन् ।
द्वन्द्वग्रष्त इलाकामा बम, बारुद र हिंसाका वीच ती महिला आफ्ना वेहोश पतिका सामू ती सबै अपराध कबूल गर्दैछिन् जसका लागि तिनी कुनै पनि वेला पतिलाई धोखा दिन सक्छिन् , मानौँ एउटा कन्फेशनजस्तो शैलीमा तिनी यो पनि भन्छिन्, मैले तिमीलाई कहिले पति नै मानिनँ । तिमीबाट यौनइच्छा परिकल्पना नभए पछि म कसरी एक युवकसँग लागेँ, के के गरेँ । ती सारा कुरा सविस्तार सुनाएर तिनी हलुका हुन चाहन्छिन् ।
द हलिऊड रिपोर्टर लगायत अन्य धेरै पत्रपत्रिकाले विशेषतः फिल्मको र ती अफगानी महिलाको मन्त्रमुग्ध हुने सशक्त भूमिकाको निम्ति गोल्सहिफ्तेहको अत्यधिक प्रशंसा गरेका छन् ।
यसफिल्मको प्रदर्शनपछि नायिका गोल्सहिफ्तेहले भनेकी थिइन्, शुरुमा फिल्ममा यस्तो लाग्छ कि यो एउटा कमजोर अफगान महिलाको भूमिका हो जो परम्परा, धर्म र यहाँसम्मकि आफ्नो पतिसित पनि आफूलाई अलग गर्न चाहन्छिन् । तर तिनी हालतको शिकार भएपछि एक महिलाबाट एक योद्धाको रुपमा परिवर्तित हुँदै जान्छिन् । तब फिल्मको अन्त यो महिलाको मुक्तिको रुपमा हुन्छ ।
यो फिल्मका लागि गोल्सहिफ्तेहको सारा देशमा तारिफ र प्रशंसा हुँदैछ तर ईरानको त्रासदी यसवारे बाँकी नै छ ।
अरबी मुलुकमा हालसम्म कुनै महिला निर्देशक मैदानमा आउन नसकेको यो अवस्थामा गोल्सहिफ्तेह प्रेरणाका पात्र बन्न  सक्छन् भन्ने यस फिल्मका लेखक अनि निर्देशक अतीकको ठहर छ ।
संकटको जीवनमा पनि सिनेमा र ईरानको मृदु सपना बोकेर बाँचीरहेकी गोल्सहिफ्तेह यसपालि हलिऊडको नयाँ फिल्म माई स्वीट पेप्परल्याण्ड मा फेरि देखापर्दैछिन् ।
सलमान रुश्दीले भोगेको भन्दा फरक त्रासदी जीवन बाँचीरहेकी गोल्सहिफ्तेह फराहनीले आफ्ना लाखौँ लाख फ्यानको निम्ति ट्वीटरमा अनि फेसबुकमा एउटा सन्देश लेख्छिन् , “सिनेमा नै मेरो संघर्ष हो ।”
सिनेमायी जीवनको निम्ति परिवार त्यागेका कैयन् कलाकार होलान् तर देश नै त्याग्नु परेको यो इतिहास गोल्सहिफ्तेह फराहनी कै पहिलो होला ।
संसार बदलियो भन्नेका लागि गोल्सहिफ्तेह फराहनीको यो जीवनले केही सोधेको अवश्य छ, हो वा होइन ?
००

Saturday 18 April 2015

Kumudiniko Khoji by Prakash Sayami

कुमुदिनीको खोजी
प्रकाश सायमी
“..जिन्दगीमा बाँच्न जत्ति गाह्रो केही रहेनछ, कुमुदिनी बहिनी ।
यी पंक्ति हुन्, नेपाली भाषाका प्रख्यात निबन्धकार शंकर लामिछानेका । उनले निबन्धमा मदन पुरस्कार पाए, निबन्धकै निम्ति सर्वप्रियता पाए । उनैले व्यक्ति विम्ब लेख्ने परम्परा शुरु गरे नेपाली साहित्यमा, विम्ब प्रतिविम्ब नामबाट । उनैले भूमिका लेखे वापत् पारिश्रमिक लिने परम्परा बसाले । के लेखेनन् उनले कविता, कथा, गीत वा इतिहास तर उनी अन्त्यमा सर्वाधिक चर्चित भए, यिनै दुई पंक्तिले ।
“ बाँच्न जत्ति गाह्रो केही रहेनछ, कुमुदिनी बहिनी । तपाइँले पिकासोको जीवनी पढ्नु भयो भने थाहा पाउनु हुनेछ उनले बाँच्नका निम्ति कत्ति चोरी गरेका थिए । ”
 यो शंकर लामिछानेले साहित्यमा चोरी गरेको आरोप लागेपछि २०२९ सालमा दिएको एउटा कन्फेशन हो ।
कन्फेशन एउटा क्रिष्टान समुदायमा चर्चित फ्रेज हो जहाँ गएर धर्मावलम्वी आफ्नो मुहारको दाग हटाउँछन् र भन्छन्, ‘यो मेरो महान् स्वीकारोक्तिमा भूल छ भने स्वीकार गर । ’
कन्फेशन चर्चको धुमिल कक्षमा गएर लिइन्छ तर बाइबल पढ्नेले पहिलो पंक्ति उज्यालोकै वारे पढ्छन्, लेट देअर वी लाइट एन्ड देअर वज लाइट ..
शंकरले पनि जीवनमा त्यस्तै उज्यालो खोजे यो चोरीको आरोप लागे पछि । नेपाली साहित्यमा यो पहिलो घटना हो कसैले आफूले गरेको चोरी सहजै स्वीकार गरेको । यस्तो हिम्मत देवकोटा, लेखनाथ वा समले  गर्न सकेका थिएनन् । वाङ्गदेल, भिक्षु, रिमाल, शशी वा मैनाली पनि गर्न सकेका थिएनन् ।
शंकरले यो आँट गरे पहिलो पटक । र, यो अन्तिम नै घटना हुन गयो । उनले त्यसपछि साहित्यिक जीवनबाट संन्यासको घोषणा गरे , त्यही कुमुदिनी वहिनीलाई लेखेको पत्रबाट ।
कुमुदिनी जसले शंकरको रुपरेखा मा प्रकाशित निबन्ध ‘आभाँगार्डको सौन्दर्य शास्त्र’ माथि चोरीको आरोप लगाएका थिए । आभाँगार्ड एउटा फ्रान्सेली शब्द हो जसको अर्थ हुन्छ, जुलुस अथवा र्यालीलाई ईशारा दिन अघिअघि बढ्ने सूचक । नेपालीमा यसको शब्द नभएपनि नेवारीमा यसलाई हःपा भनिन्छ, हःपा रथा तान्दा सबभन्दा अगाडि ठूलो आवाज सहित खडा हुने व्यक्ति  ।
लेखनमा चोरीलाई  प्लेगरिज्म भन्ने नाम दिइएको छ, सत्रौँ शताब्दीमा ल्याटिन भाषाबाट आविष्कृत  यो शब्द ग्रीसेली शब्द प्लेजिनम् बाट प्रभावित छ । 
यो १९ औँ शताब्दीको अन्त्यतिर मात्र हामी कहाँ आइपुग्यो ।
शंकर पहिलो लेखक होइनन् जसलाई प्लेगरिज्म् को आरोप लागेको तर उनले स्वीकारीदिए र उनलाई आरोप लगाउने कुमुदिनी बहिनीलाई आश्वस्त बनाए, पत्रैमा । भने, “तपाइँजस्तो बहिनीको तिलक लगाएर म कसम खान्छु अब आइन्दा चोरी गर्नेछैन, तपाइँले शिकायत गर्ने मौका पाउनु हुने छैन । अब म ..”
यसपछि उनले इमान्दारीपूर्वक साहित्यबाट संन्यास लिए र केही वर्ष लेखेनन् पनि । २०३२ माघ १० मा उनको निधन भयो तर उनलाई चोरीको आरोप लगाउने कुमुदिनीको चर्चा कहिले सेलाएन , उनी सदैव चर्चामा आइरहे जब जब नेपाली साहित्यमा साहित्यिक चोरीको प्रसँग आउँछ, जबजब शंकरका पाठकलाई उनको कृतिको कमी र खामीको नजर हुन्छ, कुमुदिनी वारम्बार झुल्कामा आइरहन्छन् ।
कुमुदिनी यस्ता पाठक थिइन् जो सदा चर्चामा रहिन्, उनको अध्ययन र अनुभवलाई लिएर । कुमुदिनी यस्तो भयावह नाम भयो , यो नाम अपनाएर कसैले साहित्यमा प्रवेश गर्ने आँट पनि गरेनन् । उपनाम सम्म राख्ने हिम्मत  कसैले गरेनन् । यो एउटा पुरुष पाठकको शुभ छद्मनाम थियो । पन्थी थरका ती कमुदिनी लामो समय गृह मन्त्रालयमा आवद्ध थिए ।
कुमुदिनीलाई पनि शंकरमाथि चोरीको आरोप लगाएकोमा पीडा वोध  भइरह्यो भनेर उनको गोप्य पत्र डोल्पाको दुनैबाट बोकेर आउने पत्रवाहक गोविन्द शर्माले पछि यसपंक्तिकारलाई र कुमुदिनीलाई  पत्रैमार्फत् एक दैनिक अखबारमा  जानकारी नै दिए ।
कुमुदिनीले शंकरको त्यो चोरी न्यूरोडस्थित अमेरिकन लाइब्रेरीमा गएर पढेको र त्यहीबाट थाहा पाएका थिए ।
पाल्पाको चिदीपानी, आर्यभञ्ज्याँगका कुमुदिनीको पाल्पाकै  बर्तुङका  हरि भट्टराईकी छोरीसित वैवाहिक जीवन शुरु भयो, यसपछि कुमुदिनीले आफ्नो  भूमिगत जीवन अपनाए नेपाली साहित्यबाट ।
 ( यो पंक्ति लखिनुको मुख्य कारण  यत्ति मात्र हो नेपाली पाठकमा कुमुदिनी का वारेमा विभिन्न भ्रम छन् र आरोप पनि अन्य स्रष्टालाई लगाइन्छन् , त्यसबाट स्पष्ट गराउन खोजिएको मात्र हो । )
कुमुदिनीले फेरि यही कुरा पत्र लेखेको ३२ वर्षपछि पंक्तिकारसित शेयर गरे , “यो काम सही थिएन, मैले गरेको । म शंकरको प्रतिभाको अस्त चाहन्नथेँ तर भइदियो त्यस्तै । ”
दुर्घटनाको अद्भुत स्वरुप गज्जब छ,  चोर्ने यहाँ सचेत हुँदैनन् प्रभावित हुनेले चोरी स्वीकारी दिन्छन् । अनि कुमुदिनीका नाममा अरुले स्कूप मार्छन् । 
कुमुदिनीको त्यो पत्र काठमाण्डूसम्म बोकेर ल्याउने गोविन्द शर्मा त्यतिवेला सामान्य विद्यार्थी थिए, उनलाई यति पनि ज्ञान थिएन यो पत्रले नेपाली साहित्यमा यस्तो भूकम्प आउला र देवकोटा पछिका एक आशावान निवन्धकारको असमयमै अन्त होला भनेर । उनी पनि यस विषयलाई लिएर वेलावेलामा गम्भीर  हुन्छन् ।
गत हप्ता नेपालगञ्जबाट फोनमा कुरा गर्दा उनले यही दुःख पोखे, “मैले गरेको त्यो काममा दुःख पनि छ, गर्व पनि छ । कसरी भन्नु ? म पनि शंकरको नाश चाहनेमा एकजना हुन पुगेँ ।”
गोविन्द केही वर्ष पहिले सिप्रदीमा काम गर्थे, अहिले साइन प्रिन्ट नामक्  संस्थामा आवद्ध छन् । पत्र बाकेर आउँदा उनी काठमाण्डू झरेका मात्र  थिए, काठमाण्डू हेर्न आएका थिए । उनले यो पत्र कुमुदिनीका भाइ जो पानीपोखरीमा भानुभक्त मेमोरियल  स्कुलमा पढाउँथे उनलाई दिन ल्याएका थिए , सम्पादक मदनमणी दीक्षितले खामको अक्षर चिनेर छाप्न मागे र यसरी यो पत्र समीक्षा साप्ताहिकमा छापियो । कुमुदिनी छाए, शंकर हराए ।
त्यसपछि शंकर लामिछानेले रुपरेखा पत्रिका मार्फत् संन्यासको घोषणा गरे । शंकरका विरुद्ध एउटा सिन्डीकेट सफल भयो ।
शंकरका सबै कुरा सकिए, जीवन दुई भागमा विभाजित भयो उनका पाठक मौन भए । उनले कलम थन्काए घटना सकियो  तर त्यस्ता घटना कहिले सकिएनन् । दोहोरि रहे ।
गोपालप्रसाद रिमालको मसान लाई इब्सेनको डल्स् हाउस बाट प्रभावित भनियो । देवकोटाको मुनामदन नेवारभाषाको ‘जि वया लच्छि मदु नि’ बाट प्रभावित भनेर चन्द्रबहादुर श्रेष्ठ, नर्मदेश्वर प्रधानले लेख नै लेखे । कवि दुर्गालाल श्रेष्ठ अझै पनि भन्छन्, “महाकविले त्यो कुरा स्वीकार्न सकेको भए दैव नै हुन्थे । ”
देवकोटाको चारु अँग्रेजीको  ‘लुसी ग्रे’ बाट प्रभावित धेरैलाई थाहा छ । विजय मल्लको कुमारी शोभा अमृता प्रीतमको पिघलती चट्टान बाट प्रभावित भनेर उपन्यासकार धुस्वाँ सायमीले अन्तर्वार्तामा भनेका छन् , दुवै स्रष्टालाई कथाको वीज दिने उनकी पत्नी वसुन्धरा नै थिइन् ।
लैनसिंह बाँग्देलको मुलुक वाहिर एउटा रुसी उपन्यासबाट प्रभावित भएको कुरा समीक्षक शरद प्रधानले धेरैवर्ष अगि एक साप्ताहिकमा उल्लेख गरेका थिए । प्रज्ञाप्रतिष्ठानको कुलपतिको पदमा रहेका वाँग्देल चूप रहे, पारिजातले यसमा मुद्दा शुरु गर्नुपर्छ पनि भनिन् ।
यसमा हुन सक्ने केही छैन ।
शंकरका पाठकलाई व्युँझाउन खोज्दा शंकर नै अस्ताए । उनलाई व्युँझाउन खोज्ने कुमुदिनी आजसम्म गुमनाम बसेका छन् ।
केशवराज पिंडालीको सर्वाधिक चर्चित उपन्यास अन्त्यदेखि शुरु साझा प्रकाशनले छापेर निकै पैसा कमायो तर पुनप्र्रकाशनको डर खेप्न सकेन । पञ्चायतकालमा जब यसको शाही नेपाल चलचित्र संस्थानले  नेपालीभाषामा फिल्म बनाउने घोषणा गरे पछि यो हिन्दी र बाँग्लाभाषामा बनेको कोरा कागज भन्ने फिल्मबाट प्रभावित भएको पक्डिएपछि रु ८ हजार पारिश्रमिक लिएर उनी चूप भए । निर्देशकले पटकथा लेखक चेतन कार्कीसित मिलेर कथा नै बद्लिदिए ।
यसपछि यो किताब छाप्ने कोशिश न प्रकाशकले गर्यो न न्याय सेवामा उच्च तहमा पुगेका उनका छोरा अनुपराज शर्माले नै गरे । आज उपन्यासकार केशवराज पिंडाली को अन्त्य नै भएको छ ।
शहरी परिवेशमा लेखिएको गुरुप्रसाद मैनालीको चित्ताको ज्वाला भन्ने कथा शरत्चन्द्रको बँगाली कथाबाट हुबहु प्रभावित छ ।
मदन पुरस्कार विजेता ईश्वरवल्लभको आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन् भन्ने कृति टी एस इलियटको कविताबाट कसरी चोरिएका हुन् भनेर खोजी गर्ने चन्द्रेश्वर दुवेले कुमुदिनीको जस्तो नेपथ्यको जीवन बाँच्नु परेन । उनले शानले ईश्वरवल्लभका कृतिको शवपरीक्षण भनेर खण्ड खण्डमा किताब नै निकाले । दुवेसित धेरै साहित्यकार त्रसित हुनुपर्ने स्टाटस नै आयो एक समय ।
दुवे र वल्लभको ठाउँठाउँमा कुश्ताकुश्ती पर्ने अवस्था नै आयो । तर यसलाई नेपाली साहित्य समाजले विचार हो कतै मिल्न जान्छ भनेर क्षमावरण गरे । वल्लभले यसपछि लामो कवितामा दुस्साहस गरेनन् ।
र्यान्डल झारेलले भनेका छन्, कविलाई हजारौँपटक पर्ने चट्याँगको एक दुई झिल्का परे पुग्छ, त्यसैमा ऊ चिनिन्छ ।
वल्लभ होस् वा सिद्धिचरण उनका एकसेएक कविताले उनलाई पहिल्यै चिनाइसकेको थियो र अरु आरोप प्रत्यारोपले कुनै पृथ्वी हल्लिने थिएन । सिद्धिचरणलाई वोल्गा से गंगा तक का पंक्तिले वेलावेलामा नछोएका होइनन् तर उनले हाँसेरै ज्यो ज्यो भनेर टारिदिए ।
ण्ण्

Thursday 9 April 2015

Franceko Mounta By PS

फ्रान्सको मौनता 
प्रकाश सायमी



ग्रेगेरियन क्यालेण्डरको अन्तिम महिना डिसेम्बर ।
डिसेम्बरको अन्तिम दिन विश्वमा पहिलो पटक सिनेमा देखाइएको थियो, आजभन्दा ११८ वर्ष अगाडि । फ्रान्सबाट बनेको विश्वको पहिलो मूक चलचित्र ‘अ ट्रेन अरायभल टु स्टेशन’ मार्फत यसले नयाँ कलाको जन्म दिएको थियो ।
फ्रान्सको प्यारिसस्थित होटल ग्राण्ड क्याफेको बेसमेन्टमा सन् १८९५ मा देखाइएको त्यो अवाक् चलचित्रले विश्वजगतलाई ठूलो सन्देश दिएको थियो, गुडिरहेको रेल र झरिरहेका यात्रु मार्फत् ।
दुई फ्रान्सेली बन्धु अगस्त्य लुमिएर र लुई लुमिएरले बनाएको त्यो चलचित्र पनि संसारका अन्य मुलुक सिनेमा निर्माणमा विस्तारै अग्रसर भयो तर सिनेमाजस्तो नयाँ कलाको जन्म फ्रान्समै भयो ।
फ्रान्सका ती दुई दाजुभाइले त्यो सिनेमा बनाउन इटालीको यात्रा गरे । इटालीको कोक्ट्यो नामक् पहाडमा उनीहरूले ५६ सेकेन्ड लामो त्यो सिनेमाको छायाँकन गरे । ती दाजुभाइले त्यो पहाड नै छान्नुको कारण थियो, त्यहाँको चिप्लो र सलक्क परेको ढुँगा । त्यो ढुँगामा रेल सहजै गुड्न सक्ने र सामान्य परिस्थितिमा रोकिन सम्भव थियो । त्यो ढुङ्गाको लोकप्रियताको कारण नै लुमिएर बन्धु त्यहाँ आइपुगेर र छायाँकन शुरु गरे, छायाँकन सफल भयो ।
यसपछि बाँकी कुरा इतिहास बन्यो ।
कोक्ट्यो पहाडको त्यो डाँडोको ढुँगो यति लोकप्रिय थियो कि महान् मूर्तिकार माइलएन्जेलो डी लोडकोभिको ब्युनारोपट्टी सिमोनी  पनि त्यही ढुँगाबाट आफ्ना अप्रतिम मूर्ति बनाउथे । उनैको मूर्तिकलाको ज्ञानबाट प्रभावित भएर त्यस ढुँगा बारे जानकारी पाएपछि  लुमिएर दाजुभाइ त्यहाँ पुगे र छायाँकन गर्न सफल भए ।
चलचित्रमा दृश्य यस्तो थियो, रेल गुड्दै गुड्दै क्यामेरा सम्म आइपुग्नु पर्ने  र क्यामेरा अगाडि रेल यन्त्रवत् रोकिनु पर्ने  । यो सबै काम क्यामेराको अगाडि सहजै हुन सक्ने ठाउँ त्यही चप्लेटी ढुँगाको डाँडो बन्न पुग्यो ।
र, त्यहाँ त्यही परिस्थितिमा त्यो  सिनेमाको  छायाँकन भयो ।
छायाँकन सफलतापूर्वक सकिएपछि त्यो शुटिंगको एउटा कार्टुन फ्रान्सेली अखबारमा छापियो जुन कार्टुनले सारा संसारलाई हँसायो । त्यो कार्टुनले हँसाउनुको कारण रोचक थियो । सिनेमा शुटिंग हुँदै गर्दाको एउटा दृश्य यस्तो थियो, ठूलो यन्त्र (रेल) लाई सानो यन्त्र –(क्यामेरा) ले ताक्दै थियो । क्याप्सनमा लेखिएको थियो, सानो विरालोले ठूलो बाघलाई ताक्दै ।
क्याप्सन पढ्दा मान्छे खूब हाँसे । तर भविष्यवाणी सही सावित भयो, साँच्चै नै सानो विरालोेले बाघलाई खायो नै ।
एउटा रेलले जति मान्छेलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सक्थ्यो त्यो भन्दा अपार क्षमतामा चलचित्रले लाखौँलाख दर्शकलाई एकैसमय एकैपटक नपुगेको ठाउँमा पुर्याउनसक्थ्यो । परिचित गराउँथ्यो । यसले विश्वका धेरै अन्य चुनौतीलाई पराजित गर्दै संसार जित्यो ।
त्यो कार्टुन छापिएको ११८ वर्ष पछि फेरि एउटा कार्टुन छापियो , शार्ली  हेब्डो मा  । जुन कार्टुनका कारण फ्रान्समा आतङ्ककारीेले दुराशयपूर्वक हमला गरे । संसारलाई रुवाउने गरी त्यो कार्टुनसँग सम्बद्ध कलाकर्मी र प्रकाशक सम्पादकको हत्या गरे । फ्रान्सलाई शोक र संशयमा डुबाइदियो ।
आजको समाजले, सारा संसारले अत्यन्त निकृष्ट र नृशंस मानेको यो आक्रमणका कारण फ्रान्सप्रति धेरै मुलुकको, धेरै धर्म, सम्प्रदायका मान्छेको अचानक स्नेह र सद्भाव पलायो ।
फ्रान्ससँग विश्वका धेरै मुलुकको आआफ्नै किसिमको सम्बन्ध र स्नेहको सेतु छ तर मिरर मिजरमेन्ट ( सँग्लो नजर) मा हेर्ने हो भने फ्रान्सले विश्वलाई धेरै नयाँ चीज दिएको छ, नयाँ कला, नयाँ विचार, नयाँ दर्शन अनि नयाँ धारको चिन्तन ।
संसारको सबैभन्दा पछिल्लो कला सिनेमाको जन्म फ्रान्समै भयो । पहिलो विश्वयुद्धपछि फ्रान्सबाटै लुइ डेलाकले नयाँ विचारधारा दिए, सिनेम्याटिक रुपवन्धमाथि । यसको जयजयकार आजसम्म पनि भइरहेको छ । सिनेमा जन्मेको तेस्रो वर्षमै जादूगर जर्ज मेलिसले फ्रान्सबाटै चमत्कारीक सिनेमाको कला देखाए ।
चित्रकलामा डाडाइज्म, क्युविज्मको जन्म फ्रान्समै भयो । चित्रकलामा आएको नयाँ विचार अवाँ गार्द फ्रान्सबाटै जन्मियो भने चलचित्रमा ध्वनिको आगमन पछि नयाँ धार फ्रान्सले नै भित्र्यायो ।
चलचित्र कलाको एउटा युग अन्त्य हुन लाग्दा पहिलो पटक फ्रान्सबाट प्रकाशित हुने कहिअर्स दु सिनेमा मार्फत् केही फिल्म समीक्षकले सिनेमाको बचाउ गरेर सार्थक समीक्षा माथि वहस गर्न थाले । झँ ल्युक गोदार, फ्रान्सुआ त्रुफो, एरिक रोहमर, शेवराल जस्ता फिल्म समीक्षकले फिल्ममा परिवर्तन चाहिन्छ भनेर आन्दोलन चलाएपछि सन् १९४५ मा एक नारा गुञ्जियो , ‘सिनेमाको कथाकार लेखक होइन, निर्देशक हो उसैलाई यो कथा भन्ने अधिकार दिइनुपर्छ । ’
सिनेमाको बद्लिँदो युगसँग फ्रान्सले त्यतिवेला ठूलो परिवर्तन ल्यायो ।
निर्देशकलाई  सादरपूर्वक यो अधिकार नदिइएपछि यिनै समीक्षकले चलचित्रको वागडोर सम्हाले, क्याप्टेन अफ दी शीप का रुपमा । यिनैले राम्रा राम्रा सिनेमा बनाए जसलाई नोभेला भेग अर्थात् अलग धारको नाम दिइयो । यही लहरमा फ्रान्सुआ त्रुफोको फोर हन्ड्रेड ब्लोज्, झँ लूक गोदारको ले पेटिट फाउ ले संसारभरिका चलचित्रकर्मीलाई प्रभाव पार्यो । अलग धारको यो लहर विश्वभरि करेन्टको रुपमा फैलियो, सिनेमाप्रति मान्छेको आकर्षण पुनः थपियो । हाम्रै छिमेकी मुलुक भारतमा त सन् सत्तरी र अस्सीको दशक सम्म यसको छापमा परेर नवयथार्थवादी र समानान्तर सिनेमाको खेती नै चल्यो । गोविन्द निहलाणी, श्याम बेनेगल, कुमार शहानी, मणि कौल, कुन्दन शाह, केतन मेहता यसका अनुयायी भए । भारतको सानो राज्य असमका फिल्मकर्मी जानु बरुआ देखि चीनका झँग यिमाऊ सम्म यो शैलीबाट प्रभावित भए ।
सिनेमा निर्माणको क्रममा शुरुवातदेखि नै फ्रान्सलाई पछ्याउँदै आएका मुलुक अमेरिका, डेनमार्क, स्वीडन, जर्मनी, स्पेन पनि यसका पथअनुयायी भए ।
सिनेमालाई प्रोत्साहित गर्न पुरस्कार दिने, महोत्सव गर्ने जस्ता सत्कार्य फ्रान्सबाटै शुरु भयो ।
सिनेमाको जन्म फ्रान्समा भएपनि यसमा प्राविधिक परिवर्तन र भाषाको दमन अमेरिकी मुलुकको रह्यो भने यसमा नयाँ वाद फ्रान्स, जर्मनी र इटालीले ल्याए । इटालीको नवयथार्थवाद र फ्रान्सको ‘नोभेला भेग’मा एउटै कुरा फरक थियो, वोधात्मक सौन्दर्यको  । इटालीको नवयथार्थवादले कलापक्षलाई वहिष्कार गरेको थियो भने नोभेला भेगले कलामिश्रित यथार्थलाई अंगीकार गर्दै आएको थियो ।
सिनेमाले यो सदाशयता साहित्यिक विरासतबाट पाएको थियो । फ्रान्सको साहित्यले विश्वका ठूल्ठूला ग्रन्थसित आफ्नो सामीप्य खोजिसकेको यथता र अर्थवत्ता सही थियो । 
सिनेमाबाहेक फ्रान्सबाट साहित्यमा मोलिएर, शर्ल बोद्ल्यर, ओन्रेडे बाल्जाक,  गुस्ताभ फ्लेविएर, जुल्स वार्नेस, पल वेलेरी,  राब्ब ग्रिये, ज्याँ पल् सात्र्र, आन्द्रे जीद्,  अल्वेयर क्यामूका कृति पनि सर्वाधिक चर्चाका विषय बने ।
गुस्ताभ फ्लेविएरको इस्लामिक मुलुक टर्कीको भ्रमणले ल्याएको परिवर्तनका वारेमा ओरहान पामुकले ससम्मान आफ्नो आत्मकथा इस्तानबुलमा लेखेकाछन्, कसरी हामी बद्लियौँ भनेर ।
समाज र समयलाई बदल्न एउटा स्रष्टाले निभाउने भूमिका कति चुनौतिपूर्ण हुन्छ त्यो पामुकले आफ्नो नोबेल पुरस्कार पाएपछि दिएको मन्तव्यमा प्रख्य छ ।
सात्र्रको अस्तित्ववादको दर्शन फ्रान्सकै एउटा पाँचतल्ले घरबाट शुरु भएको थियो भने अल्वेयर क्यामूको विसङ्गतिवाद हामीकहाँ सम्म आइपुग्दा उनी नोबेल पुरस्कारले सम्मानित भइसकेका थिए ।
फ्रान्सबाटै गुञ्जिएको हो यो संवाद् , “आमा भन्नु हुन्थ्यो, तँ फौजमा गएको भए जर्नेल हुन्थेस् । चर्चमा गएको भए पादरी हुन्थेस् ’ तर म चित्रकलामा लागेँ पाब्लो पिकासो बन्न ।”
फ्रान्सले साहित्य र सिनेमा वाहेक चित्रकलामा विश्वलाई दिएका नामचीन चित्रकार हो,  पाब्लो पिकासो । उनैलाई पछ्याएर संसारका कैयन् कलाकारले आफ्नो जीवनको दुःखको बाटो बद्लेका छन् । उनलाई हामी सदैव सम्झना गर्न सक्छौ भावपूर्ण हिसाबले ।
सिनेमाको संसारमा त्रुफो र गोदारले ल्याएको परिवर्तनका एक अग्रज थिए, ज्याँ रेने । चित्रकलाका ज्याँ रेने थिए, पिकासो । उनले संसारमा चित्रकलालाई रंगका माध्यमबाट भन्दा जीवनका माध्यबाट हेर्न र जीवनको कोण नै बद्ल्न उत्साहित बनाए ।
पिकासो कै प्रेरणाले डाली, कान्डास्की, मोनेँले आफ्नो नयाँ शैली बनाए जसलाई चित्रकलामा अवाँ गार्द को संज्ञा दिइयो ।
पिकासो वाहेक संसारले चिनेका धेरै नामहरु फ्रान्सेली नै थिए,त्यो चाहे पर्वतारोही मौरिस हर्जोग हुन् वा विश्वकी प्रसिद्ध अभिनेत्री ज्याँ मारिया ।
हर्जोगले नेपालमा आएर पहिलो पटक अन्नपूर्ण हिमाल चढे पछि अनिर्वचनीय पंक्ति भने, हे भगवन् । म र पर्वत अलग होइनौँ । मलाई थाहा छैन, म अन्नपूर्णा हुँ कि अन्नपूर्णा म । मलाई थाहै भएन । ”
 अन्नपूर्णा हिमशिखरलाई विश्वभरि चिनाउने हर्जोग हुन् वा भारतको बलिऊडमा आएर एशियन सिनेमालाई विश्व बजार दिनु पर्छ भन्ने सर्वोत्कृष्ट अभिनेत्री ज्याँ मारियाले बलिऊडकी यथार्थवादी अभिनेत्री स्मिता पाटिलका सारा फिल्मलाई प्यारिसमा लगेर रेस्ट्रोपेक्टिभ शो –(पुनरावलोकन प्रदर्शनी ) गरिन् र हिन्दी फिल्मलाई उच्चाकर्षण दिइन् । उनकै कारणले पछि बलिऊड पश्चिम प्रिय भयो ।
सन् १९५५ मा पाथेर पाञ्चाली बनाएर अन्तर्राष्टिय ख्याति कमाएका सत्यजित रेलाई पनि फ्रान्सबाट कोलकत्ता आएर दी रिभर नामक् सिनेमा खिँच्न आएका ज्याँ रेनेले नै गाइड गरेका थिए र उनले बाटो पाए ।
यस्ता धेरै उदाहरणका लागि फ्रान्स र फ्रान्सेलीहरु सर्वथा अगाडि छन् । नेपालकै प्रसँगमा पनि फ्रान्सका कैयन् स्रष्टाले नेपालको काष्ठकला र यसका बुनोटका वारेमा उल्लेख र चर्चा गरेर विदेशमा चिनाइदिएका छन् । नोबेल पुरस्कार विजयी स्रष्टा आन्द्रे जीदले आफ्नो आत्मकथात्मक उपन्यास दी इम्मोरलिस्ट मा नेपालको काष्ठकलाको प्रशंसा आत्मविभोर भएर गरेका छन् ।
हामीलाई हाम्रो देश र कलाको जति माया छ, संसारमा सबै मुलुकलाई आफ्नो कला र कृतिको माया हुनु स्वभाविक हो । त्यसलाई बचाउन वा संरक्षण गर्न चलचित्र कला नै एक उत्तम कला हो भन्ने पुष्टि गरेको छ आजको विश्वले ।
संसारलाई सबभन्दा नयाँ कला दिने फ्रान्समाथि गतहप्ता संसारको सबभन्दा घृणीत कला आतंकको छायाँ परेको छ । एउटा कार्टुन प्रकाशित गरेका कारण पत्रिकाको कार्यालयमा गएर त्यसका सम्पादक, प्रकाशक र अक्षरजीविमाथि गरिएको हत्या र हमलाको जति निम्नकोटिको शब्दमा आलोचना गरे पनि कम हुन्छ । तर संसारलाई हृदयहीन बनाउने त्यो दुष्कार्यले फ्रान्सलाई झन् सम्वेदनशील र सहृदयी बनाएको छ, दुई कारणले ।
एक कलाको सम्मान र दोस्रो वाक् स्वतन्त्रताको पक्षमा फ्रान्सको अभिभावकीय उपस्थिति । यो यतिवेला फ्रान्सजस्तो एक सांस्कृतिक नम्रता भएको मुलुकले वाहेक अरुले यसको जवाफदेहीता दिन सक्छ ।
फ्रान्सले आज आफ्नो परिवर्तनका वेला धेरै कुरा गुमाएको छ, तर बचाएको छ एउटा स्थिर चरित्र जसका निम्ति फ्रान्सको शदीयौँ पुरानो परम्पारिक कोमलताको ठुलो परीक्षा भएको छ ।
आज इतिहासको पाना पल्टाएर हेर्दा विश्वजनीन रुपमा फ्रान्सका दुई चीज सदासर्वदा लोकप्रिय छन्, फ्रेञ्च किस र फ्रेञ्च कमेडी ।
फ्रेञ्च किस अर्थात् टाढैबाट दिइने आत्मीय चुम्बनलाई निकै सत्कारपूर्वक लिइन्छ यसले मानवीय मनोभावलाई स्वच्छन्द रुपमा प्रकटन गर्छ, यसका वारेमा कुनै अश्लीलता देखिन्न ।
फ्रेञ्च कमेडी अर्थात् फ्रान्सेली नाट्य विधामा पाइने विदूषकीय परम्पराले अति सम्मानका साथ हास्यकलाकारिताले ग्रहण गरेको छ जसले फ्रेञ्च कमेडीको महत्व अति लोकप्रिय बनाएको छ ।
हलिऊड सिनेमाका चर्चित हास्यकलाकार  चार्ली च्याप्लिन् आउनु भन्दा अगाडि नै फ्रान्सेली स्रष्टा मोलिएरको हास्य पात्र स्काँपा लोकप्रसिद्ध भइसकेका थिए भने तारतुफ त्यस्तै पारिवारीक पात्र बनिसकेका थिए ।
फ्रान्सको गौरवशाली परम्परासित जोडिएको दशात्मक स्थितिमा अरुलाई हँसाउन सक्ने स्काँपाको फ्रेञ्च कमेडी माथि यसपालि धर्मको नाममा अधर्म गर्नेहरुले फ्रान्ससित अर्को मेटाफोर जोडिदिएको छ, फ्रेञ्च ट्रेजेडी । यसले वर्षौँसम्म मान्छेलाई रुवाउँछ, झक्झकाउँछ एउटै कारणले , स्वतन्त्रताको अर्थ अरुको अस्तित्व नै नस्वीकानु हो त ?
कालान्तरमा यो प्रश्न धर्ममाथिको कलंक त हुने नै छ तर यो वर्ष नै हृदयहीनहरुको सम्झनामा खेर गएको वर्ष पनि मानिने त्रास छ ।
सन् २०१४ मा कैयन् विश्वप्रसिद्ध व्यक्ति, राजनीतिज्ञ, स्रष्टा, कलाकार हृदयाघातले विते , के साँच्चै सांकेतिक भावमा हामी सबैसित हृदयस्थल नै नाश भएको हो, गत हप्ता फ्रान्समा भएको त्यो आक्रमणले यो सवाल वारम्बार उठाइरहेको छ ।
कुनै कवित्तमनले भनेका थिए, मौन शब्दबाटै जन्मिने हो ।
तर यो मौनताभित्र हजारौँ शब्द निःशब्द भएका छन् , फ्रान्सका प्रति ।
००

Wednesday 8 April 2015

Kavitama Samaya by Prakash Sayami

कवितामा स्पेशको खोजी  ..
प्रकाश सायमी


“समय उब्रिएछ भनें
म तिमीलाई माया गरुँला..”
यस्तै शीर्षकको कविता पढेर अशेष मल्लले काठमाण्डूको मञ्चमा ख्याति कमाएका थिए । कैँयौ कैँयौ पटक यो कविता उनले मञ्चमा वाचन गरेका छन्, कैँयौँ पटक रेडियोबाट पनि बजेका छन् । दर्शकको दिल दिमागमा त अझै बजिरहेकै होला , घरि घरि ।
यस्तो कविता लेख्ने कवि अशेष मल्लले पछि कविता लेख्नै छोडे र उनी बढी रङ्गकर्मतिर बढी होमिए ।
“अब यो धरतिमा आइमाइको आवश्यकता छैन..”
यो शीर्षकको कविता पढेर काठमाण्डूको काव्य मञ्चमा जमेका जीवन आचार्यलाई ‘लेऊ, च्याउ र खिया’ पछि दर्शकजनले सुन्न पाएनन् । जीवनको वाचन र मञ्चमा उपस्थितिको प्रभाव जोडदार थियो उनी हल सम्हाल्न सक्ने क्षमता राख्थे ।  पछि  उनलाई  चित्रकलाको संसारले खाइदियो । विस्तारै उनी  कवि कम चित्रकार बढी हुँदै गए ,  अनि विस्तारै कार्टुनिस्ट ।  पछि डिजाइन राइटर हुँदै गए ।
उनी कवितामा भन्दा बढी पछि ‘अर्थात्’ नामक् स्तम्भ मा लोकप्रिय भए ।  किशोर नेपालले सम्पादन गरेको देशान्तर मा आचार्यको अर्थात् निकै लोकप्रिय स्तम्भ थियो । भाषामा अर्थ बचाउने र मानवीय स्थितिको सरलीकरणहरुको विरोध गर्ने काममा यो स्तम्भले तगडा वकालती गरेको  थियो , विवाद र असमझदारीको पक्षलाई छोडेर । 
‘अर्थात्’  नाउँ नै लोकप्रिय मानिएको यो स्तम्भ त्यसभन्दा पहिले  लामो समय हिन्दी दैनिक ‘जनसत्ता’ मा अर्थात् शीर्षक मै रघुवीर सहायले चलाइसकेका थिए । कुनै समय दिनमान मा सम्पादक भइसकेका सहाय किशोर नेपालका पत्रकारिताका गुरु नै मानिन्थे । यो शीर्षक उनले गुरुबाट दक्षिणाका रुपमा नै लिएका हुनुपर्छ ।
१९९० डिसेम्बर ३० मा देहान्त भएका सहाय कवि पनि हुन्, उनको कविताकृति ‘हंसो हँसो जल्दी हँसो’ (१९७५), ‘लोग भूल गये है’ (१९८२) र ‘कुछ पते कुछ चिठ्टीयाँ’ (१९८९) मा प्रकाशित भएका छन् । सहायको त्यतिवेलाको लोकतन्त्र शीर्षकको कविता आज पनि सान्दर्भिक लाग्छ,
लोकतन्त्रको मजाक हुँदै गरेको देखेर
हेरिरहेछन् एकदम बुढाहरू
कम उमेरका बुढा भन्छन् कि के यही हो लोकतन्त्र ?
झन् धेरै कम बुढाहरू लोकतन्त्रसित घृणा गर्छन्
बाँकी सबैलाई एकआर्कासित घृणा छ
..
सहाय शिवमङ्गल सिंह सुमन, सर्वेश्वरदयाल सक्सेना, नरेन्द्र जैन,  नेपाल र नेपालीलाई माया गर्ने कवि थिए । उनले अर्थात् मार्फत्  ख्याति कमाए , यहाँ कवि जीवनलाई यही स्तम्भले चिनायो ।
अशेष, जीवन जस्तै मञ्चमा कविता पढ्दा थर्काउन सक्ने अर्का होनहार कवि थिए, दिनेश सत्याल । जसको कविता भाटभटेनीहरु मलाई हात देऊ सुनेपछि धेरै युवाले त्यसपछि कविता लेख्नै छोडिदिए । दिनेश सत्याल काठमाण्डूमा सडक कविता क्रान्ति हुँदा वा मञ्चमा कविता पढ्दा वासु शशी, हरिभक्त कटुवाल जस्तै ताली पाउने कवि थिए उनलाई पछि पत्रकारिताको पेशाबाट कविलाई अलग्याइदियो र उनी कालान्तरमा सौरभ नामबाट स्तम्भकार भए, धेरैका मनपर्ने, धेरैलाई अति मननपर्ने ।
सौरभ कवि स्तमम्भकार हुनु अगि सर्वाधिक कथाकारका रूपमा सर्वाधिक चर्चामा थिए, उनको कथाको क्राफ्टम्यानशीप फरक खालको थियो, धेरै फरक खालको । दिनेश सत्यालको निकथा –(जसलाई उनले निबन्ध कथा नाम दिएका थिए ) बाट सम्पादकहरू खुशी थिए तर पाठक ?
 दिनेशका कथा डायमन हरवरलाई मेरो सलाम, थाट, मृत्युघाट, तोप, अम्बर जस्ता कथामा त्यही शैली थियो, त्यतिवेला त्यस्तो कथा बुझ्ने र पढ्ने पाठकको अल्पताले गर्दा मधुपर्कका सम्पादक नारायणवहादुर सिंहले उनलाई दोहोर्याएर छाप्न शायद सकेनन् ।  कथा लेखेर नै दिनेश सत्यालले अन्तर्राष्ट्रिय जगतको पहिलो साहित्यिक पुरस्कार पाए, डोयेचेवय्ला पुरस्कार । कथा थियो, सीमावारि सीमापारि ।
नेपाली साहित्यमा अन्तर्राष्ट्रिय स्तरको यस्तो पुरस्कार पाउने पहिलो स्रष्टा थिए, दिनेश सत्याल । उनैले पछि साहित्यबाट सन्न्यास लिए , “ म नयाँलाई स्पेश दिन चाहन्छु भन्दै ।
अहिलेका युवा पुस्तका कथाकार कुमार नगरकोटीले उनको शैलीलाई पछ्याइरहेकोमा खुशी मान्नपर्छ, दिनेशको शैली अझै जीवित नै छ । आजकालका युवा पाठक र पत्रकार झुमेका छन् यो शैलीमा । कथाकार दिनेश शङ्कर लामिछानेको कथा शिल्पका एक इन्ट्रयुडर हुन् ।
कविका रुपमा दिनेशको अन्त्य भएपछि कथाकारको रुपमा पनि उनले परित्याग गरे यो परिचय । उनको कविता वाचन शैली तीस दशकको एक फेनोमेना नै थियो । कवि साहित्यकारको सङ्गतबाट टाढिने रहरले साहित्य छोडेको उनले गत साताको एक भेटमा सुनाए ।
दिनेश, अशेष, जीवन जस्तै कविता वाचनमा रोब र दवाव भएका अन्य दुई कवि हुन् , विमल कोइराला र मीनबहादुर विष्ट ।
विमलले पछि कविता भन्दा भाषण र गीत लेख्न थाले, एउटा उनको पेशा र अर्को उनको शौख भयो । गीतमा पनि उनी खास जम्न सकेनन्, हतियार उनले गीत लेखेको पहिलो चलचित्र थियो भने उनले शक्तिवल्लभसित धेरै एल्बममा काम पनि गरे ।
मीनबहादुर चाहेर पनि साहित्यमा फर्कन सकेनन् । उनका कविता समयका निम्ति धक्का थिए तर समयले उनलाई जागीरमै धकेलिदियो, शिक्षा सेवामा उनका अधिकांश समय वित्यो ।
मीनबहादुरको ‘साला पहाड मेँ क्या है होस् वा विमलको ‘सिक्किम’ कविता आज पढ्दा पनि वा उनको आवाजमा सुनेका स्रोतालाई सम्झिँदा पनि तरंग पैदा हुन्छ ।
कविता साधनाको चीज रहेछ, शक्तिको होइन । बल गरेर कविता लेखेर नहुने रहेछ । लेख्दा खस्किन सक्ने र खस्किँदै जाने प्रशस्त प्रमाण भेटिएको छ ।
विमल कोइरालाको मौन शिविरबाट जति चर्चामा आयो तर पछिल्लो कृति उत्सव मनाउने तयारी मा कविताले भन्दा डा वासुदेव त्रिपाठीको भूमिकाले मात्र उचाल्यो । मीनवहादुर विष्टका कविता जनार्दन जोशी, कणाद् महर्षिका कविता जस्तै दुर्लभ भएर गए ।
मीनवहादुरकै जस्तै वाचन शैली भएका अर्का जोडदार कवि थिए, कृष्णभूषण वल । उनले पछिल्लो चरणमा कविता कम लेखे पछि पूर्वाञ्चलमा कविता लेख्ने एक जेनेरेशन तयार पारे, जसमा मनु मञ्जिल, सुमन पोखरेल, कुमुद अधिकारी, सविता गौतम दाहाल, ज्योति जंगलको नाउँ स्मरणमा आउँछ ।
कृष्णभूषण बलका समकालीन कविमा पूर्ण विराम र लव गाउँलेको पनि नाम आउँछ । लवका कविता अहिले कम हुँदै गएका छन् भने पूर्ण विरामले आपूmलाई क्लोज अपमा राखेका छन् ।
कविता लेखन जस्तै वाचनको शक्ति भएका अर्का कवि हुन्, दिनेश अधिकारी । अधिकारीको कविता भर्खरै हिन्दीमा अनुवाद गरेर निकाल्ने क्रममा अनुवादक गंगाप्रसाद अकेला र पंक्तिकार निकै सक्रिय भएका थियौँ तर उनका यी कविता अब हिन्दी पाठकले पढ्ने सौभाग्य पाउने भए । कवि तुलसी दिवस पछि भारतको प्रकाशनले उनलाई बजारमा ल्याएको छ, कविताको दम र दम्भका वारेमा चर्चा पछि नै होला ।
अहिले हिन्दीमा पनि सशक्त कविहरू विनोदकुमार शुक्ल, हेमन्त कुकेरती,  राजेश जोशी, अरुण कमल, ज्ञानेन्द्रपति, विष्णु नागर नरेन्द्र गौड, असद जैदी, दिनेश कुमार शुक्ल, बद्री नारायण, यतीन्द्र मिश्रको छवि कायमै छ । यिनकै भीडमा दिनेशको स्वागत कस्तो होला, हेर्न बाँकी छ ।
कवि दिनेश अधिकारी कविता लेखनमा जस्तै वाचनमा पनि आफ्नै पहिचान राख्ने कवि हुन्, उनले आफ्ना कविता  वाहेक हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई पनि वाचन गरेर मञ्चप्रिय बनाएका छन् । कविता वाहेक गीतमा वर्चस्व भएका दिनेशले ‘पर्खाल’ नामक् नाटक पनि लेखेका छन् । तर नाटकमा उनको स्थिति सही हुन सकेन ।
छन्द कविता वाचनको लयदार इतिहासमा भूपी शेरचन, तुलसी दिवस, हरिभक्त कटुवाल, वासु शशी, ईश्वरवल्लभले बनाएको धारालाई पछि दिनेशले अझै मिठासपूर्ण बनाए ।
दिनेश अधिकारीका समकालीनमा कविता वाचनको तज्जन्य आकर्षण भएका कविमा अन्य धेरैले त्यो शैली र शिष्टतालाई निरन्तता दिँदै आए । विमल निभा, पुरुषोत्तम सुवेदी, श्यामल, हरि अधिकारीले पनि कवितालाई दर्शकप्रिय बनाएका छन् ।
कविता वाचनको शैलीले कवितालाई लोकप्रिय बनाउनका निम्ति कविले मञ्चमा उभिने स्वभाव, शैली र दर्शकमैत्री हुन जरुरी छ ।
कविताको माध्यमबाट साहित्यिक वृत्तमा आएर पछि गीति साहित्यमा हराएका राजेन्द्र थापा, विश्वम्भवर प्याकुर्याल, नगेन्द्र थापा, श्रीविक्रम राणा, गणेश रसिक,   कालिप्रसाद रिजाललाई पनि यहाँ सम्झना गर्न सकिन्छ । तर काठमाण्डूको मञ्चमा कवितै पढेर ख्याति कमाएका र आफूलाई जमाएका कवि दुर्गालाल श्रेष्ठलाई पनि भुल्न सकिँदैन । हिन्दी कवि डा हरिवंश राय वच्चनको लोकप्रिय कविताकृति मधुशाला लाई नेवारीमा अनुवाद गर्ने पहिलो नेपालीका रुपमा परिचित कवि दुर्गालालको कविता वाचन अन्य कविको भन्दा फरक अनि प्रभावशाली मानिन्छ अझै पनि ।
कविता पढ्ने स्वर र शैली भएका अर्का एक कविमा हेमन्त श्रेष्ठको नाम पनि विर्सन मिल्दैन ।  हेमन्त आफ्ना समकालीन विश्वविमोहन, सरुभक्त, गगन विरही आदिको भन्दा फरक शैलीको वाचन थियो । अभिनयमा पनि रुचि राख्ने हेमन्तले रेडियो नेपालको रसरंग कार्यक्रममा समेत कविता पढेर ख्याति कमाए भने गाईजात्रा महोत्सवमा कविता पढ्ने उनको शैलीलाई पछि  सरुभक्तले पनि पछ्याए ।
कवितामा महिला स्वरमा कुन्दन शर्मा, वाणीरा गिरी, तोया गुरुङको समय अर्कै थियो । सीता पाण्डे र शारदा शर्माले कविता पढ्ने समय आइसक्दा मञ्चमा कविता एक कठिन पाठ भइसकेको थियो ।
कवितालाई लिएर संसारभर अनेक डिस्कोर्स भइरहेको वेला नेपालमा कविता वाचन एउटा क्षतिपूर्तिको माध्यमजस्तो मात्र  थियो जतिवेला भारतमा डा हरिवंश राय वच्चनको कविता उनका पुत्र अमिताभ बच्चनले पढेर वच्चन रिसाइट्स् वच्चन नामबाट विकिरहेको वेला हाम्रा कविहरु मात्र पढ्ने शैलीको विकास गर्दै थिए ।
सार्क राष्ट्रमा कविता वाचनमा पाकिस्तानका फैज अहमद फैज, अहदम फराज, फरहत शहजाद अनि भारतका कैफी आजमी, अलि सरदार जाफरी, जावेद अख्तरले कविता पाठलाई एक मुकाम बनाएको वेला हामी कहाँ विना माइक कविता पढ्नेको भीड तयारीमा थियो ।
तीस र चालीस दशकको कविता वाचन गर्ने शैलीले कवितालाई ऊर्जाशील बनाएका कैयन् कविलाई पछ्याउँदै नयाँ कविले आज आफ्नो शैली बनाउँदै आएका छन् । तर कैयन् कविमा विदेशी कविताको शैली पनि ग्राह्य हुँदै गएको छ ।
आजको कविले सुसम्पन्न स्रोता र उच्चस्तरको प्रविधि पाएको वेला कवितालाई अझै सहज र पाठकप्रेय बनाउन जरुरी देखिन्छ । अहिलेका कविको कविता विदेशी अध्ययन र प्रभावले गर्दा नक्कलको धारमा परेको छ । केहीवर्ष अगि चितवनमा एउटा नयाँ कविताकृतिको विमोचनका क्रममा कार्यक्रमका  विशेष अतिथि कवि प्रेमविनोद नन्दनले “ओहो! यी सबै कविताहरु त अक्टोभियो पाजको कविता मै पढे जस्तो लाग्यो” भन्दा विमोचित कृतिका स्रष्टा तर्सिएका थिए । टिप्पणीका क्रममा विशेष अतिथिले यति सम्म भने, एकपटक यहाँले आफ्ना कवितालाई सच्याउनुपर्ला है ।
यो विडम्वना र पीडा आगामी कविमा नआओस् भन्ने चिन्ता छ । कविता आफ्नै जस्तो होस् पढ्दा डर नलागोस् कि अरुको कविता पो आफ्नो नाममा  पढिरहेको छु कि भन्ने भ्रम नरहोस् ।
पुनः एकपटक कवि दिनेश सत्याल (सौरभ) को भनाईमा “जावो एउटा प्राज्ञ बन्नको लागि कविता लेख्ने हो भनें के कविता लेखीरहनु भनेर कविता मैले छोडेको हुँ । ”
००
 

Tuesday 7 April 2015

Preface By Prakash Sayami

'नृशंस पर्खालहरु' : सम्झनाको इजेलमा जीवनको क्यान्भास,(प्रकाश सायमी)



विश्वको सबभन्दा नयाँ गणतन्त्र मुलुक नेपाल घोषणा भएको दिन म एउटा नयाँ पुस्तकमा भूमिकाबद्ध छु । व्यूनो आइरिशमा जन्मेका कवि बोर्खेस् मेरा प्रिय अति प्रिय लेखक हुन् । म उनलाई पढेपछि अरुलाई स्पर्श गर्न डराउँछु- त्यो उनको पुस्तकमा रहेको छन्द र गन्ध मर्ला भन्ने डर यथावत् रहन्छ । त्यही डरका बीचमा मैले बहिनी गीता त्रिपाठीको नव्यत्तम कृति नृशंस पर्खालहरु पढेँ ।

२०६५ जेठ १५मा पर्खाल ढलेपछि मैले त्यो नृशंस पर्खालको कथा विवृत्ति अतीतमनले दोहोर्याएर पढेँ तर समयको तस्वीरमा त्यो पर्खालको कथा- कथाजस्तो भइसक्यो ।
र म त्यही कथा पढ्दैछु- २०६३ बैशाख ७ गतेको । र त्यो कथामा नेपालको विगतका आन्दोलनको चित्र विचित्ररुपले प्रकाशमान छ । म पढ्दैछु-
'जुरुक्क उठेर
बतासले
आगोको कान फुक्यो
बतास बतासमात्रै रहेन अब
आगो आगोमात्रै रहेन अब
(नृशंस पर्खालहरु)
हुरी, बतास, आगोका सम्वाद नै गीताका कविताका पुँजी हुन् स्वीकारोक्ति हुन् । कवि बोर्खेस्ले कहीँ भने झैँ गीताका कविताका शक्ति-स्रोत पनि 'शब्दको ऐन्द्रिकता' हो । जीवनको केन्द्रीयशक्ति पनि त्यही हो (The central fact of my life has been the existence of words and possibility of weaving those words into poetry- Jorge Luis Borges_ .
गीताले कवितामा शब्दहरु कुँदेकी छिन्- बाँसुरीका प्वालहरु कुँदेजस्तै लयबद्ध ! झन् लयबद्ध !
गीताले कवितामा विचारहरु उनेकी छिन्-
'तस्वीरका प्रेमहरुजस्तै
भयमुक्त !
प्रदर्शनी छ अक्षरको
सार्वजनीन शक्ति छ सत्यताको ।'

कविता त सर्वत्र हुन्छ तर विषयलाई बुन्ने क्षेत्र र अधिकार कविको निजी हो र त्यो नीजता नै कविको नीति हो जसका कारण उनी ओतर (स्रष्टा/प्रभु) भनिन्छन् । यहाँ गीता त्यस किसिमको निजीपनको पहिचान राख्छिन्-
'हिजोआज
डिको नभएका हरफहरु झैँ
बिथोलिइरहन्छन् मेरा पंक्तिहरु
के यो युगमा
म सुन्न पाउँदिन फेरी
मेरो बाल्यकालजस्तै सुन्दर
मेरो जीवनको धुन एकचोटि
(निस्तब्ध धुनहरु)

उद्गीत कविता कवितांशको शक्ति स्मृति मात्र होइन स्मृतिको बलमा गुञ्जित यसको स्वरमा जीवनको उज्यालो र जगत्को सौम्यता छ; सहजता र सादापन नै यस्ता कविताको सार र अंश हुन पुगेका छन्- 'निस्तब्ध धुनहरु र 'नृशंस पर्खालहरु' कविका दुई फरक विचार हुन् प्रतिवेदन-निवेदन हुन् । जीवनको मायालुपन र त्यही मायालुपनमा पहिल्याएको कठोर बाटो त्यस सपनाका स्वरुप हुन् । कविता सर्वत्र छ तर त्यसमा 'कवि'को उपस्थिति अनुभौतिक होस् वा भौगर्भिक मायावी होस् वा बोधवादी । त्यो जरुरी छ त्यसैले पोल्याण्डका महाकवि ज्बीग्नीयेब हेर्वेत भन्छन्- "कविताको खाका हमेशा हावामा तैरिरहन्छ र कोही कवि त्यसलाई जमीनमा उतारेर त्यस्तो आकार दिन्छ जुन मनुष्यका लागि परिचित होस्, उसले बुझोस ।"

हेर्वेतले भने झैँ कविताको पहिलो शर्त 'सहजता' हो बुझिने कविता । त्यसैले हाम्रा महाकविले भनेका हुन्- "नलेखिएका कविता अझै सुन्दर हुन्छन् ।" त्यस्ता धेरै कविताको खोजमा गीता भ्रमणशील छिन्, परिचित छिन् । उनले बनाउने क्यान्भासमा उनकै विश्वासको इजेल प्रतिस्थापित छ र त उनी भन्छिन् सम्वादी स्वरमा-
'रगतको अभिलेखमाथि उभिएर
शहीदहरुको सपना पर्खिरहने
क्यान्भासको बलियो किनारा हो- चक्रपथ ।
(क्यान्भासको बलियो किनारा)
वा
'तिम्रो चोर झ्यालबाट
अलिकति चियाएर हेर त !
त्यो उज्यालो अहिले
तिम्रै ढोका ढक्ढकाइरहेछ ।
(समानान्तर उज्यालो)

'सपना' र 'उज्यालो' यहाँ एस्सोनान्स् बन्छन्- एस्सोनान्स् जसलाई हामी कविताको सौन्दर्य बुझ्छौँ । भनिन्छ- Where have you been my long lost lover. । यस पंक्तिमा एल ( L) ले त्यो भाव बोक्छ- constant sound has been repeated. Similarly, long, lost, lover (o) sound repeated producing assonance- The Theory of Poetry(2005,Pg 9) .

'सपना' 'उज्यालो' त्यस्तै शब्द भए हुनन् हाम्रा निम्ति । झन् ६३-६४ को आन्दोलनपछि त्यसले व्यापकता राख्छ । नगर-प्रशासन व्यक्ति-व्यष्टि समाज-धर्म कानुन-राजनीति सूचनाचक्र-समयदर्शन सबै-सबैतिर यसको भावदशा एउटै र यथता एवम् अर्थवत्ता पनि एउटै रह्यो तर यही सपना यही उज्यालो कविका निम्ति आगो हुन्- यही आगोले कैँयन् अवतारका श्रीपेच डढाए हुनन् । आगोलाई निभाउने कर्मकाण्डी करतुत धेरै फ्र्याङ्को, धेरै जियाउल हक, धेरै द'गालले नगरेका होइनन् । तर आगोलाई निभाउन खोज्दा त्यो धूवाँ बन्छ धूवाँलाई थुन्न वा लुकाउन मिल्दैन । त्यसले भित्तामा रेखी कोर्छ- त्यही रेखीको स्वरुप हो हाम्रा समकालीन कविका चिन्ताहरु ।

कवि स्रष्टा गीताका कवितामा धूवाँका ती रचना प्रस्ट र प्रख्य छन्- उनी कवितामा बोल्छिन् तर उनको बोली सामान्यजनको लोलीबाट लाभान्वित छ । उनको कविता विम्बित् छन् आमजनको आक्रोशबाट । उनका कतिपय तर विशेष कवितामा नेपाल र नेपालीको अनुहार छ औँलाको छाप-पहिचान छ ज्यूँदो-जाग्दो शहीदको जीवनदान छ । कविता सायद त्यही हो नलेखिए पनि नदेखिए पनि । १०४ वर्ष अगि चिलीमा जन्मेका कवि पाब्लो नेरुदाका अनुसर्गहरु सम्झिन्छु । भन्छन्- "मैले कवितामा हमेशा आम मान्छेको हात देखाउन चाहेँ । मैले यस्तो कविताको आश गरेँ जसमा औँलाको छाप देखियोस् । माटोको गारोका कविता जसमा पानीले गुन्गुनाउन सकोस् । रोटीको कविता जहाँ हरेकले खान सकोस् ।"

उनलाई सोधियो- "तपाईँ किन लेख्न चाहनुहुन्छ?"
उनको उत्तर थियो- "म एउटा वाणी बन्न चाहन्छु ।"

नोवेल पुरस्कार प्राप्त गरेका नेरुदा साँच्चैका विश्व नागरिक थिए- उनी कहिले राजदूत भए कहिले राष्ट्रपतिका उम्मेदवार त कहिले राजनीतिक शरणार्थी तर उनी सदैव एक 'कविता-लेखक' भनी चिनिए । उनका कविता स्पेनी भाषामा मात्र होइन विश्वका हरेक भाषाका 'वाणी' भए । यो एउटा उपहासास्पद प्रसङ्ग नै भयो- उनका कवितालाई पनि राजनीतिक लेपमा नबुझिने बनाइएको छ । उनले एकपटक दुःखवश भने- "मलाई थाह छैन मलाई बुझ्ने कोसिस पनि भइरहेको छ कि छैन ।"

समयको स्वर अस्पष्ट हुन्छ- यहाँ बुझ्ने कुरा नबुझिने बनाउने सञ्जाल छ । कविता गर्नेहरु भित्रै पनि त्यो जालो छ । त्यो सञ्जाल नेपाली जनस्थानमा पनि सक्रिय छ । कविस्रष्टा गीताले १०४ वर्ष राणाशासनको छायामा टिकेको २४० वर्षको जर्जर शाहीशासन ढलेको र ढल्न अगिको पूर्वसन्ध्यामा जीवन र जगतलाई बुनेर लेखेका कविता उनका कठिन समयका शीर्षकहरु हुन् यसलाई बुझ्न गाह्रो छैन तर गीताका कठिन समयलाई दुःसाध्य बनाउने कसरत नहोस् यही कामना छ मेरो ।

गीतालाई मैले सोध्न पाएको छैन- उनी कविता किन लेख्न चाहन्छिन् तर उनले मलाई दिने उत्तर शतप्रतिशतवादी रुपमा यही हो भन्ने मेरो आत्मीय ठहर छ जहाँ उनी भन्छिन्-

'म समयको वृत्तभित्र
फैलाएर
साङ्लाहरु भर्खरै चुँडालिएका
हातहरु
चक्रव्यूहबाट बाहिरिने
कोसिस गरिरहेछु'
(एक ऋतु)

यदि गीताको उत्तर यही हो भने गीतालाई गीताका गुरुजनलाई गीताका असङ्ख्य अनाम पाठकलाई लाख-लाख सलाम मेरो ।
समय शक्तिको स्रोत बनोस्- यो पुस्तक जसका लागि समर्पित छ; गीताको जीवन लेखन सङ्घर्ष उनको निम्ति एउटा सुन्दर किताब बनोस् । यही कामनासहित-प्रथम गणतन्त्र दिवस- २०६५