Tuesday 7 October 2014

Memoir on Actor ShreeKrishna

सिनेमाका साथी र सारथि श्री
प्रकाश सायमी
चलचित्रको सङ्गीतमा पन्च् र नृत्यमा टाइमिङ्गको खूब ख्याल गरिन्छ, र त्यो नै सही मापदण्ड हो । अभिनेता श्रीकृष्ण श्रेष्ठको नृत्यमा सबभन्दा सही मानिने चीज हो टाइमिङ्ग ।
र, उनी रजतपटमा प्रवेश गरेको टाइमिँग पनि एकदम सही थियो । त्यतिवेला नेपाली चलचित्रमा नाचगान जान्ने एउटा कुशल नायकको जरुरत थियो, त्यो श्रीकृष्णले पूरा गरे । उनीभन्दा अग्रज अभिनेताद्धय शिव श्रेष्ठलाई एक्शन हिरो र भुवन केसीलाई रोमान्टिक हिरोका रुपमा निर्माता निर्देशकले स्वीकारीसकेका थिए तर डान्सिँग हिरोका रुपमा एउटा रिक्त रहेका ठाउँमा श्रीकृष्णले आफ्नो जादू र जमीन बनाए ।
नेपालभाषाप्रेमी निर्माता लक्ष्मीदास मानन्धर र उनका टोलीले नेवारी फिल्म सीलु पछि नेपालीमा बनाउन लागेको सिनेमा भुँवरी का निम्ति श्रीकृष्णलाई आफ्ना निर्देशक चेतन कार्कीका सामू लगे तर निर्देशक कार्कीले भने, “केटो राम्रो छ तर ढिलो भयो अब अर्जुृनको साथीको रुपमा मात्र सुहाउँछ । मिहेनत गर्यो भनें रोल अलि बढाइदिन्छु । ”
जुनियर आर्टिस्टका रुपमा २०४६ सालको असारमा चलचित्रमा प्रवेश गरेका श्रीकृष्ण त्यसपछि साँच्चै नेपाली सिनेजगतमा सबैका साथी भए । संयोग वा वियोग, दुवै मान्न सकिन्छ, ४६ सालको आन्दोलनपछि अर्जुनजंगका सबै सिनेमा प्रतिवन्धित भएपछि श्रीकृष्णको उज्यालो अनुहार फेरि पनि प्रकटमा आउन सकेन । तर अर्जुनजंगले चलचित्रमा भनेजस्तै हिँड् म तिमीलाई मेरो सीट दिन्छु ।
अर्जुनले छोडेको रिक्त स्थानमा श्रीकृष्णले यात्रा शुरु गरे ।
४६ सालमा धेरै नेपाली कलाकार पर्दामा देखिए, मनीषा कोइराला, प्रकाश अधिकारी, रवीन्द्र खड्का, रतन थापा आदि आदि । कति हराए, कति विस्थापित भए । श्रीकृष्ण यही भीडमा एक सामान्य पहिचान लिएर प्रविष्ट भएका थिए ।
फिल्मकार कार्कीले भनेजस्तो उनी ढिलो आएका थिए तर समय सही थियो ।
अर्जुनजङ्गले चलचित्र छोड्नु अनि उनले त्यही वेला प्रवेश गर्नु । सामान्यतया छओटा गीत हुने नेपाली सिनेमामा राम्रो नृत्य गर्न सक्ने नायक नभएको गुनासो गरिरहने नृत्य निर्देशकका अगाडि श्रीकृष्ण एउटा ठूलो सम्भावना बोकेर देखा परे ।
शुरुमा उनले केही चलचित्र आफूलाई स्थापित गर्न नामका लागि मात्र खेले भने पछिल्लो चलचित्रमा उनले जम्पिँग ज्याक् का रुपमा आफूलाई चिनाए । चलचित्र हलमा लाग्नु अगि टेलिभिजनमा गीत हेर्ने दर्शकका निम्ति उनी फिल्मी गीतका कारण एक्कासि घरेलु नाम भए, उनको फुटवर्क र कम्मर मर्काईमा दर्शक झुम्मिन थाले ।
ढिलो चाँडो गरेर उनले केही व्यवसायिक फिल्म खेले तर जब उनले नाता खेले त्यसपछि उनको नायकीय छवि बद्लियो, नायकका रुपमा पहिचान बनाएका विश्व बस्नेतले निर्देशन गरेको यही सिनेमाबाट श्रीकृष्णको पर्दाको छवि रुपान्तरण भयो, पुअर म्यान अफ् शिव श्रेष्ठको छविबाट उनलाई विश्वले बद्लिदिए । अर्जुनजंग पछि दोस्रो पटक अर्का नायकले उनलाई सिनेमामा सही ठाउँ दिए । यही ठाउँका निम्ति नै उनलाई यति लामो संघर्ष गर्नु परेको थियो ।
संघर्षको यो दौरानमा उनले शिव, भुवन र राजेश हमालपछि चौथो स्थान बनाए । अनि उनी यहीँ कायम भए ।
विश्व बस्नेतको नाता पछि श्रीकृष्ण हरेक नयाँ नायिकासित नयाँ फिल्ममा देखिन थाले, रेखा शाही, सारँगा श्रेष्ठ, विपना थापा, झरना बज्राचार्य, झरना थापा, निरता सिंह अनि श्वेता खड्का । र, उनी नयाँ नायिकाका निम्ति भाग्यमानी सावित भए ।
नृत्यकलाका कुशल अभिनेता श्रीकृष्णलाई अभिनय शैलीमा चलचित्रकर्मी उज्वल घिमिरे र प्रकाश थापाले बद्लिदिए । घिमिरे र थापाका सिनेमाले उनको फिल्मीग्राफमा केही आशा लाग्दा सिनेमाका नाम थपिए जसपछि श्रीकृष्णको अर्कै बजार बन्यो । उनले यो आफ्नो ख्याति र नाम नयाँ निर्देशकहरुसित शेयर गरे , त्यसमध्ये शिव रेग्मीसित उनको जोडी खूब सफल मानियो ।
नेपाली चलचित्रका सदा सम्मानित नृत्य निर्देशक बसन्तजङ्गङ्ग रायमाझीको भाषामा श्रीकृष्णलाई लिएर नेपाली फिल्म इन्डस्ट्रीमा क्लासिकल म्युजिकल फिल्म बन्नुपर्छ ।
बजार खोज्दै गरेको नेपाली सिने उद्योगमा श्रीकृष्णका मनोहारी नृत्यबाट अन्तर्राष्ट्रिय बजारमा अलग्गै पहिचान बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि त्यस्तो आँट कसैले गर्न सकेनन् र उनी बजारसिद्धान्त अनुसार व्वाइ एट नेक्स्ट डोरको छविमा सफल बन्दै गए । नृत्यमा उनको हिस्सी र अभिनयमा उनको अदाले गर्दा उनी विस्तारै बक्स अफिसका लक्की चार्म भए ।
कलेजका सहपाठीका कारण चलचित्रमा नायकका साथी भएर आएका श्रीकृष्णका चलचित्र उद्योगमा थुपै साथी थिए, निर्माता विजु रञ्जित, फिल्म डिजायनर सुन्दर श्रेष्ठ, स्टिल फोटोग्राफर माधव थापा, नृत्यनिर्देशक राजु शाह । यी सबैको स्नेहसिक्त सम्बन्ध अनि आत्मीयतामा उनले चलचित्र उद्योगमा राम्रो साथ पाएका थिए भने यिनकै कारणले नै श्रीकृष्ण १६ वर्षअगि नै मृत्युको मुखबाट बचेर आएका थिए ।
चलचित्रजगतको सम्बन्ध, परिवारको स्नेह र दर्शकको प्रार्थनाले श्रीकृष्ण हेपाटाइटिस बी को घातक आक्रमण पछि चलचित्र उद्योगमा सफल अभिनेताका रुपमा पुनः फर्किए । यही समय यिनले समाज र सिनेमाको राम्रो साथ पाए । उनले सिनेमामा जुन नायकीय भूमिका गरे समाजमा उनी त्यस्तै देखिए ।
पुनर्जीवन पछि खेलेका उनका हरेक सिनेमामा दर्शक उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्थे । र, उनी त्यही सम्बलतामा काम गर्न थाले ।
नयाँ नायिकाका निम्ति लक्की चार्म मानिने श्रीकृष्ण नयाँ निर्देशक र नयाँ निर्माताका पनि त्यस्तै सावित भए, उनले यस समय गोठालो, आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, कहाँ भेटिएला पछि मात्र आफूलाई पर्दामा रुपभाषी बनाउन सकेका छन् ।
फरक शैलीका अभिनय गर्ने क्रममा उनका केही आशावादी चलचित्र दाजुभाइ, शुभकामना, चुनौती चल्न सकेनन् र ती निर्माताका तिनै चलचित्र अन्तिम हुन पुगे यसको कारण हाम्रो चलचित्र बजारको सीमित बजारको संकुचित माग र दर्शक नै प्रमुख कारण बन्न पुग्यो चलचित्र अभिनयमा रोनाधोना, नाचगान महिलापात्रको पाटोमा पर्ने अवस्थितिमा श्रीकृष्णले त्यो सहभार पनि आफूतिर तानेर महिला दर्शक र युवालाई आफ्नो लक्ष्य बनाए ।
समयको परिभाषा फरक छ, फिल्म निर्देशक चेतन कार्कीले आफ्नो कृपाले रोल बढाइदिएजस्तो श्रीकृष्णलाई परमपिता परमेश्वरले रोल बढाउन सकेनन् , उनी ४७ वर्षको उमेरमा विवाहको लगत्तै एकमहिना पछि भूमिका परिवर्तनमा गए ।
स्मरणीय कुरा, उनको शवयात्रामा देखिएको भीड र भीडको सम्मानले एउटै कुरा प्रमाणीत गर्छ । चलचित्रमा अभिनय गर्ने कलाकारको चाल र चरित्र पनि समाजमूलक र प्रेरणादायी हुनुपर्छ जुन उनले एक भाइ भएर अग्रजलाई, एक छोरा भएर आमालाई अनि एक प्रेमी भएर प्रेमिकालाई दिएका छन् । यो नै अहिलेको युवाले चलचित्रबाट, साहित्यबाट सिक्न खाजेका हुन् जुन श्रीकृष्णमा पाए । हरेक दोस्रो नेपाली युवाले आफ्नो असफलतामा वा खोजमा रंगीन पर्दामा श्रीकृष्णलाई देख्थे र त्यसैले पनि शवयात्रामा हरेक अनुहारमा श्रीकृष्णकै झल्को देखिन्थ्यो । यो नै उनको कलाकारिताको ठूलो पहिचान थियो ।
००

No comments:

Post a Comment