Saturday 18 October 2014

Article on Dharma Raj Thapa

सपना विपना भो
प्रकाश सायमी
धर्मराज थापाको युग गायनको युग थिएन, त्यो प्रचारको युग थियो ।
सन् १९१६ मा रुस राष्ट्रियकरण भइसकेपछि लेनिनले सिनेमालाई आफ्नो हतियार बनाएर भनेका थिए, “अब सिनेमाले मात्रा समाजभित्रको आत्मलाई बचाउन सक्छ ।”
र उनले त्यसवेला सिनेमामा कला भन्दा प्रोपोगान्डा हुनुपर्छ भनेर बल गरे त्यही मुताविक सर्जेई आइजेन्स्टाइन, लियो कुलेशाव र अन्य निर्देशकले प्रोपोगान्डा सिनेमा बनाए जसले लेनिनको वृहत्तर छवि बनायो ।
यही सूत्र पछि भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुलाई पनि फाप्यो, उनले पनि बलिऊड सिने उद्योगका हस्तिसित हात मिलाए र सिनेमामा नयाँ सन्देश  दिन आग्रह गरे । देवआनन्द, राजकपूर र दिलीपकुमारलाई उनैले थ्री विगको नाम दिए उनी बलिऊडका स्वतःस्फूर्त प्रिय भए । नेहरुले सिनेमा र संगीतलाई आफ्नो अस्त्र बनाए ।
यही आत्मसत्यलाई स्वीकारेर तत्कालीन नेपालका तत्कालीन नयाँ नरेश महेन्द्र पनि मैदानमा आए, उनले पनि संगीत र साहित्यमा आफ्नो आत्मीयता जगाए र महेन्द्रवाद फैलाए । यस लहरमा रेडियोमा गाउने गायक गायिका देखि जिल्लाजिल्लामा बसेर साहित्य, संगीतको सेवा गरेर बसेका साधक महेन्द्र लहरमा होम्मिए ।
महेन्द्रले आफ्नो राज्याभिषेकको लगत्तै पहिलो पटक नेपालमा पञ्चै बाजा महोत्सव गरे, यसले नेपालका धेरै अन्य लोकबाजालाई देशसित जोड्यो । काठमाण्डू बाहिर पूर्व पश्चिमका थुप्रै वाद्यवादक राजधानीसित तानिए । नेपालको इतिहासमै पहिलो पटक –(अहिलेसम्मको इतिहासमा पनि पहिलो नै मानिने ) आयोजनाले  नेपाल बाहिरका संगीत साधकलाई पनि राष्ट्रिय संगीतको मूलप्रवाहमा जोड्यो । धर्मराज थापा यसै अभियानका खातिर नेपालवाहिर भारतको डुवर्स, शिलाङ, देहरादून, दार्जीलिँग पुगे ।
उनले भारतका नेपाली बाहुल्यता भएको प्रान्तमा गाएका नेपाली राष्टवादी गीतले अन्य ठाउँमा भन्दा पश्चिम बंगालको पर्वतीय राज्य दार्जीलिँगमा मान्छेलाई जगायो । उनको गीत नेपालीले माया मार्यो बरु लै, जन्मेको  देशलाई, त्यो आफ्नो भेषलाई  गीत सुनेपछि जवाफमा दार्जीलिँगकै कवि गीतकार अगम सिंह गिरीले तत्काल प्रत्युत्तर लेखे,
नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको
 छैन र कहाँ पहाडी फूल काँडाको माझ हाँसेको 
धर्मराज थापाको राष्ट्रिय मूल प्रेरणाको गीतमा बँगालीसित थिचोमिचो खाएर नेपाली भाषाको निम्ति पराई भूमिमा लडिरहेका जातीय आन्दोलनका हिमायतीले आक्रोश, आँसु र पीडा एकसाथ पोखे, त्यही गीतमा ।
त्यो गीत पछि अम्बर गुरुङको स्वर र संगीतमा सचिन्द्रमणी गुरुङको लगानीमा रेकर्ड भएर अगम्य गीत भएर गुञ्जियो,
नौलाख तारा उदाए
धरतीमा आकाश हाँसेछ
शरद् लाग्यो वनमा फूलले प्रीति गाँसेछ ।
धर्मराज थापा दार्जीलिँग नपुगेको भए शायद यो गीत जन्मिँदैन थियो, यो गीत नजन्मेको भए नेपालीले अम्बर गुरुङको स्वरमा यति मिठो गीत रेकर्ड हुँदैन थियो वा अम्बर गुरुङ जस्ता गायक नै हामीसित हुँदैन थियो कि ? वा सचीन्द्रमणी गुरुङले यो गीत सुनेर उत्साही नभएको भए भारतीय नेपालीले कति पछि नेपाली गीत रेकर्ड गर्थे होला यसको अनुमान लगाउन कठीन छ ।
कुरा सत्य हो, अगम अम्बरको यो गीतले एउटा चेतनशील नेपाली जाग्यो र एक झमकमै म यो गीत रेकर्ड गराउँछु भाइ भन्यो । गीतको रेकर्ड पछि भारतमा नेपालीको लहर जाग्यो अनि गीतलाई लिएर भारतीय प्रशासन अलि सतर्क पनि भयो । अन्ततः यही गीत सुनेर दार्जीलिँग पुगेका राजा महेन्द्र भावुक भए र उनले आफ्ना नेपाली दाजुभाइ प्रति सम्मानपूर्वक आग्रह राखे, नेपाल आउन ।
सुनको सपना आँसुमा किन पो बाँधी ल्यायौ नि ,
घरको माया विर्सेर किन पो यहाँ  आयौ नि ?
मुटूको रगत एउटै हो पीरको बह वेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि मनको चोट वेग्लै छ
...
महेन्द्रको यो दार्जीलिँग भ्रमणपछि अम्बर नेपाल आउन कर लाग्यो । अम्बरसित एक लश्कर संगीतकर्मी नेपाल आए र नेपाली संगीतको मुहार बदल्न सफल भए जसको श्रेयको हकदार जानीनजानी  धर्मराज थापाको प्रवास मुभमेन्टलाई नै जान्छ ।
भानुभक्तले भाषाको आधारमा  देशलाई जोड्ने धार बनाए, धर्मराज थापा त्यसका अर्को चक्का वा चक्र थिए । उनले अलि अलि अपूरो अवस्थामा छोडेको अभियानमा दार्जीलिँगबाट अम्बरले अनि नेपालबाट नारायणगोपाल गुरुवाचार्यले पहल गरेपछि नेपाली संगीतको स्वर्णिम युग शुरु भयो ।
यो नेपाली संगीतको स्वर्णिमयुगमा धर्मराज थापा लोकगीत र लोकाधुनिक परम्परामा अलि अलि ओझेल परे पनि उनले आफ्नो ट्रेडमार्कलाई झ्याउरेबाट उकासिसकेका थिए । विसं १९८४ मा भारतको बम्बई र कलकत्तामा स्थापित भारतीय रेडियो प्रसारले नेपाली गीतलाई झाम्रे भनेर नेपाली गीत बजाउँदा देवकोटाको मुनामदनले यसको जवाफ दिइसकेको थिएन । देवकोटाको मुनामदन नआउँदै भारतको धर्मशालामा विसं १९५२ मा जन्मेका  मित्रसेन थापा मगर र विसं १९७० मा काठमाण्डूमा जन्मेका रत्नदास प्रकाशले नेपाली गीतको छवि निरुपण गर्ने काममा करामत गरिसकेका थिए, यसपछि सातसालमा स्थापित रेडियो नेपालले समृद्ध स्वरका धनी र संगीतका ज्ञाता उस्ताद् भैरववहादुर थापा, हरिप्रसाद रिमाल, कोइलीदेवी माथेमा, नातिकाजी श्रेष्ठ, उही गोविन्दबहादुरको आगमन स्वीकारी सकेको थियो ।
यसपछि सामान्य स्वरिता र औसत सांगीतिक ज्ञानमा धर्मराज थापा देखिए । उनका निम्ति असाध्य ठूलो चुनौति थियो, उनकै सामू ख्यातनामा भइसकेका मास्टर रत्नदास प्रकाश ।
अभिनय, स्वर शैली र सांगीतिक संरचनाले भरपूर व्यक्तित्व बनाइसकेका रत्नदास प्रकाश राणाको दरवारमै एक नायकीय छवि बनाइसकेका एक दिगन्त पुरुष थिए । र, कविवर माधव घिमिरेका गीत रचनाका गुरु पनि भइसकेका थिए ।
रत्नदास प्रकाशको गायनका अगाडि धर्मराज थापाले नयाँ ट्रेन्ड दिन नसकेपनि भएकै शैलीमा शिल्पता हासिल गर्नु जरुरी थियो । लोकशैलीका गीत गाउँदा मित्रसेन थापा मगर र उस्ताद साइँलाको रेकर्ड तोड्नु गाह्रो थियो त्यसैले धर्मराज थापाले त्यही बाटो भएर फरक गन्तव्य जानु भन्दा गन्तव्य त्यही बनाएर उनले बाटोमा अलि सुधार ल्याएर जसलाई पछि लोकाधुनिककरण भनियो, उनी त्यसमा कामयाब पनि भए ।
उनले आफ्ना त्यसगीतमा पर्व चर्चा, देशप्रेम, मातृवोध, वनजंगलका बखान अनि महेन्द्रवादको नयाँ उद्वोधनलाई अलि अलि जोडे जहाँ उनी नजानिँदो पाराले तत्कालीन नेता केआइं सिंह र विवादास्पद् पर्वतारोही तेन्जिँग नोर्गे शेर्पाको उच्चाकर्षणलाई थप्न पुगे ।
कतिपय भारतीय नेपाली लैनसिंह बाँग्देल देखि हरिप्रसाद प्रधानसम्म नेपालीयता भित्र समाहित पुग्न लागेको वेला भारतीय हुन पुगेका तेन्जिँग नोर्गे शेर्पा भूलवश नेपाली गीत गणीतका नायक हुन पुगे, यो यस्तो किसिमको पहिलो घटना वा घटक मानिन्छ ।
तेन्जिँग नोर्गे शेर्पालाई नेपाली समाजमा यस्तो उच्चार्षण दिने धर्मराज थापाले पनि यसपछि जनकवि केशरी जस्तो गरिमामयी पद पाए, राजकीय स्वरुपमा । यो उनको निम्ति ठूलो उपलब्धि नै थियो । धर्मराज थापा यसका लागि लायक पनि ठहरिए, इतिहासले यही भन्छ ।
धर्मराज थापाले आफ्नो युगमा पोखरा बाटुले चौरका गान्धर्वजातिलाई सारङ्गीसहित राष्टियता संगीतको मूलप्रवाहमा ल्याउनमा अहम् भूमिका निभाएकोमा दुई मत हुन सक्दैन । उनकै पहलमा दुर्गावहादुर गन्धर्वको संकलनको कालजयी लोकगीत आम्मैले सोध्लिन् ख्वै छोरा भन्लान् ..परियारकै छोरा झलकमान गन्धर्वको स्वरमा रेडियो नेपालमा रेकर्ड हुन सम्भव भयो । यसमा आँखा चिम्लेर धर्मराज थापालाई पूर्णांँक दिए हुन्छ । विक्रमाब्द २०१३ मा रेडियो नेपाल २५० मिडियम हर्ज थपिएर ५०० वाटको ट्रान्समिटर भएपछि धर्मराज थापाले राष्टिय स्तरमा लोकगीतको भूइँचालो नै ल्याए जसमा पश्चिमाञ्चलका लोक गीत वाहेक पूर्वेली लोकभाका पनि विद्युतीय तरङमा समाहित भए । झाम्रे गीतलाई विस्तारै उनले लोकगीतको दर्जामा ल्याएर उत्कृष्ट पहिचान दिलाए ।
रत्नदास प्रकाश र हरिप्रसाद रिमालको जस्तो गायनमा अभिनयको शैली नभए पनि उनले लोकलहरी मार्फत् आफ्नो नायकीय छविलाई रेडियोमा उतारे ।
बाइससालपछि जन्मेका नवकला कुञ्ज, लेकाली परिवार, राल्फाली समूह यसै लोक लहरी मार्फत् विद्युतीय तरंगमा देखा परेका हुन् भने गायिका तारादेवीलाई जनकवि केशरी धर्मराज थापाले नै रेडियो नेपालको आँगन टेकाएका हुन् र उनैको पहलमा उस्तद् भैरववहादुर थापाको संगीतमा तारादेवीले रेडियो नेपालमा पहिलो गीत तिमी र हामी भेटौँला फूलवारी छेवैमा भन्ने रेकर्ड गराएकी थिइन् । तिनै तारादेवीलाई पछि नेपाली जनसमाजले स्वरकिन्नरीको रुपमा स्वीकारेको इतिहास छ ।
तारादेवीलाई रेडियो नेपालमा ल्याउने वाहेक धर्मराज थापाले नेपाली संगीत क्षेत्रमा गरेको अमूल्य कार्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको आँशिक रेकर्डिँग पनि महत्वपूर्ण पाटो हो । देवकोटाको गीति नाटकलाई रेडियो सम्म पुर्याउन उनलाई उनकी प्रिय गायिका उर्मिलादेवी श्रेष्ठले पनि प्रशस्त योगदान पुर्याएकी थिइन् ।
सन्ध्या तिम्रो रिमझिमतामा, जीवनको आशा त्यो जस्ता गीतका कारण लोकप्रियताको शिखरमा भएकी गायिका उर्मिलादेवी श्रेष्ठ संगीतकार गोपाल श्रेष्ठकी भाञ्जी थिइन् । धर्मराज थापा उनको गलाका  फ्यान नै भए र उनीसित केही युगल गीत रेकर्ड गराए जुन नेपाली संगीतको अमूल्य खजाना भएको छ ।
 मित्रसेनले शुरु गरेको नेपाली लोकलयका गीतमा लालबहादुर गुरुङ, काली पन्त, मास्टर जीतु सिंह, उस्ताद जीतु सिंह, हवल्दार मानवीर राणा, भवानी चरणदास, उस्ताद खेमचन्द, उस्ताद साइँला पछि रत्नदासले बनाएको माइलस्टोनमा धर्मराज थापा आफ्ना समकालीन गोकुल जोशी र लोककवि अली मियाँ भन्दा द्रुतगतिमा  स्थापित भए, यो उनको कलाकुशलतको पहिचानको अर्को भाव हो भन्दा अत्युक्ति नहोला ।
गायिका तारादेवी र आफ्नी छोरी ज्ञानु राणाको गलाको कलालाई चिनेर रेडियो नेपालसम्म ल्याउनु र झलकमान गन्धर्व, बुद्धि परियार जस्ता ठेट नेपाली गीतका सर्जकलाई माइक्रोफोनसम्म पुर्याउने साहस गरेका थापा लोक लहरी कार्यक्रम चलाउँदा केही विवादमा पनि आए विशेषतः लेकाली समूहका कलाकारसित ।
रेडियो नेपालको जालझेल र प्रपञ्चभित्र परेर उनले आफ्ना नाममा भएका अरुका गीत जीवनकालैमा मौलिक सर्जकको नाममा फर्काउन ठूलो साहस गरेका छन्, त्यसमध्ये पुण्यप्रसाद सुवेदीको साँघुरी वारी नि हो त्यो धारापानी अनि सुवेदीकै शीतलुमाथि नि शीतलु पर्यो है जस्ता गीतबाट उनले आफ्नो स्वामीत्व झिकेर समयमै महानता देखाएका छन् जसले गर्दा यी गीतमाथि भैरहेको विवाद अन्त्य भएका छन् ।
जनकवि केशरी धर्मराज थापाले आफ्नो संकलनमा धेरै गीत अरुको आवाजमा रेकर्ड गराएका छन्, तीमध्ये तारादेवीले गाएको कालीपारे दाइ कति राम्रो, ढाकाटोपी काँधैमा गलवन्दी होस् वा नारायणगोपाल र ज्ञानु राणाले गाएको ढुँगाको छानो नि कान्छीको ढुँगाको छानो नौतल्ले घरको सुनमाया जस्ता लोकप्रिय गीतका कारण उनी सदास्मरणीय छन् ।
राष्ट्रले दिनुपर्ने र राष्ट्रबाट पाउनु  पर्ने सबै सम्मान र पुरस्कार सही समयमा पाएका स्रष्टा मध्ये पर्नुहुन्छ जनकवि केशरी धर्मराज थापा । तर उनै धर्मराज थापाको नाउँको रचनाको पारिश्रमिक गोरखापत्रको एक साहित्यिक प्रकाशनका उपसम्पादकले खाइदिएकोमा अपमानित महशुश गर्ने जनकवि केशरी आफूले काम गरेको संस्थामा आफैँ अपमानित भएको पीडा खूब पोख्थे अन्तिमकालसम्म । विक्रमाब्द २००३ मा आफ्नो पहिलो गीति साहित्य पहाडी जीवन लिएर साहित्यमा आएका धर्मराज थापा अँग्रेजीमा प्रकाशन भएको लिरिकल नेपाली पोय्ममा आफू नपरेकोमा खूब दुःखी हुन्थे, यसवारे यसका अनुवादक रोविन शर्मा, सम्पादक दिनेश अधिकारी वा प्रकाशक जीवा लामिछानेप्रति उनको अन्तिमकालसम्म गुनासो यथावत् रह्यो ।
उनी अन्तिम पटक गायिका देविका वन्दनको राष्टिय गीतमा एक मोडलका रुपमा सातमहिना अगि देखिएका थिए ।
लोकगीतका  संरक्षक धर्मराज थापालाई अन्तिम पटक उनकै जन्मस्थल पोखरामा गोर्खाली रेडियोले सम्मान गर्दा उनले भनेका थिए, “सपना विपना भो ..
फेरि उनले थप केही बोल्न सकेनन्, बल गरेर दोहोर्याएर  बोले फेरि उही वाक्य, “सपना विपना भो ..
पोखरावासीले उनको गलाबाट सुनेको  अन्तिम वाक्याँश यही थियो । शायद सम्पूर्ण नेपालीका निम्ति उनको अन्तिम सन्देश यही थियो ।
००
Published @aanapurnpost today

3 comments: