Thursday 30 October 2014

जगदीश घिमिरे by Prakash Sayami

प्रकाश सायमी -
 जगदीश घिमिरे पोहोर आजको दिनसम्म हामीसित हुनुहुन्थ्यो, हारगुहार र पुकारका बीच । भगवान, डाक्टर, परिवार, साहित्यिक समाज, पाठक सबै सक्रिय थिए उहाँलाई बचाउन ।
माइलोमा मल्टिपल क्यान्सर उहाँका कारणले नेपालमा चर्चित रोग बन्यो । भारतमा बलिहुड अभिनेत्री लिजा रेले यो रोगलाई चर्चामा ल्याइन् । ओम हस्पिटलमा उहाँले अत्यन्त मुश्किलका साथ देह त्याग गर्नुभयो । परिवारका लगभग सबै त्यहाँ थिए, भाउज्यू दुर्गा घिमिरे, छोरा हिमाल, छोरी, बुहारी, स्वजन सबै ।
वितेको एकवर्षमा उहाँलाई उहाँको परिवारले बाहेक अरु कति साहित्यिकले, सुधीजनले सम्झे वा सम्झना गरे म भन्न सक्दिनँ तर एक पखवार (दुई हप्तापूर्व ) अन्नपूर्ण पोस्ट्मा कवि, निबन्धकार गीता त्रिपाठीले उहाँको बारेमा ‘नजाने उसपार क्या होगा..’ लेखेको लेखोट पढेपछि मलाई उहाँसितका प्रत्येक भेट स्मरणमा आए, आईरहे ।
अन्तरमनको यात्रा को लेखन, प्रकाशन र विमोचनदेखि धेरै चर्चा । काठमाडौंको बजारमा पुस्तक बिक्रीको रेकर्डमा उच्चता कायम गर्ने एक सच्चा किताब । अनि त्यसका लेखक । कार्यक्रममा बोलाउँदा मुस्किलले आउने र आए पछि आफ्नो ठूलो भारीभरकम उपस्थितिको मूल्य चुक्ता गर्न सक्ने लेखक ।
किताब लेख्न र पढ्न मनपराउने । किताब पढाउन मनपर्ने लेखक ।
फटाहा र जालीसित पर बस्न मनपराउने मान्छे जगदीश काठमाडौं उपत्यकाको किनारमा रहेको च्वबहा–(आजको चोभार)को भाजँगाः मा बस्नुहुन्थ्यो ।
किताब र औषधीको थाककाबीच उहाँसित सामान्य असामान्य कैयन् भेट भए ।
उहाँको घरमा विश्वपुस्तक दिवस पनि मनाइयो एकपटक । हामीले नेपाल–भारत पुस्तकालयमा दुई पटक उहाँसित विश्व पुस्तक दिवस पनि मनायौँ । उहाँ र मैले संयुक्त रुपमा आनी छोइङ डोल्माको फूलको आँखामा किताबको विमोचनमा अतिथिका रुपमा भाग लियौँ तर उहाँको एउटा होइन हजार विशेषता थियो जुन प्रायः नेपाली लेखकमा पाउन गाह्रो छ, पढेको कुरा शेयर गर्ने, किताब मागेर पढ्ने तुरुन्तै फर्काउने, कलमको शौकिन, कार्यक्रममा जाने तर धेरै बेर बोल्ने वा बस्ने आदत नभएको, आफूले पढेर मनपरेको लेखकलाई फोन गरेर बधाई वा शुभकामना भन्ने । जुन अहिले भएका लेखकमा चेतन कार्की, तेजेश्वर बाबु ग्वँगः र भैरवबहादुर थापामा मात्र त्यो बानी सीमित छ अरुमा खुम्चिँदै गएको छ ।
उहाँको अन्तरमनको यात्रा र लिलाम मैले कैँयौ पटक पढेको छु, अन्तरमन किनेर बाँडीदिएको पनि छु ।
अन्तरमनको यात्रा को विमोचन उहाँले थिएटरको हलमा गर्नुभएको थियो भने सकस उहाँले थिएटर बाहिर डबलीमा गर्नुभएको थियो, प्रज्ञाभवनमा । सकसको विमोचनमा भव्य उपस्थिति थियो त्यस्तो बहुविविधा व्यक्तिको उपस्थिति नेपालमा कमै देख्न पाइन्छ । त्यो भीड देखेर म चकित चकित भएँ । कोही थिएन र त्यहाँ राजनीतिज्ञ, कुटनीतिज्ञ, समाजसेवी, कानूनविद्, गायक संगीतकार, अभिनेता, प्रकाशक, होटल व्यवसायी, मानवअधिकारीकर्मी, पर्यटन व्यवसायी, संचारकर्मी सबै सबै थिए ।
त्यही दिन विमोचित किताब सहुलियत दरमा बिक्री भएको थियो, किताब किनेर म कार्यक्रम नटुँगिदै हिँडिहालेँ । बेलुका उहाँलाई फोन गरेर सोधेँ, ‘दाइ किताब त निकै गयो होला । मान्छे त हजारको हाराहारिमा थिए ।‘
जगदीशदाइले भन्नु भयो ‘किताब ३०० ओटा जति गए ।‘
आश्चर्य !
काठमाडौंजस्तो सुविधासम्पन्न शहरमा बस्ने, गाडी चढेर, पर्फ्यूम शरीरभरि दलेर आउने मान्छेले खल्तिमा २७३ रुपैयाँ पनि बोकेर आउँदा रहेनछन् । वा किताब किनेर पढ्नु पर्छ भन्ने मान्यताबाट हाम्रा बुद्धिजीवि प्रभावित नै छैनन् भन्ने बुझियो यो देशमा ।
काठमाडौंमा नबिक्ने पुस्तक के जुम्लामा गएर विमोचन गरेर बिक्ला त ?
प्रश्नका लागि प्रश्न धेरै थिए मेरा निम्ति । अन्तरमनको यात्रा पढेपछि मात्र म उहाँसित निकट भएको हो । नेपालमा वेस्ट सेलिँगको दर्जा पाएका धेरै किताब मध्ये एक उत्कृष्ट हो त्यो किताब ।
पाँच सात वा आठपटक त्यो किताब किनेको छु । वीस वा तीस पटक पाना खरर खरर पढेको छु । अझै पनि कुन पानामा के लेखिएको छ, नपल्टाइकन भन्न सक्छु । तर त्यस्ता किताब लेखकको विमोचनमा त यो हालत छ भने अरु लेखकले धाकधक्कू नलगाए भो भन्ने लाग्यो ।
गालिब, गजल, सिनेमा, नेपालको राजदरबार, इतिहास, जातजातिको भाषा र हिन्दुस्तानको रहन सहन केहि केहि पनि विषयमा कुरा गर्न सकिने जगदीश घिमिरेसित किताबको कुरा गर्न झन् गाह्रो छ, उहाँले नपढेको किताब कुनै थिएन । सबै पढेर कलमले ठाउँठाउँमा चिन्ह लगाएका वा पढेर बुक मार्कले ढाकेका । मैले एकपटक उहाँले नामै नसुनेका एक लेखकको किताब पढ्न दिएँ, पढ्नु भएको रहेनछ । काठमाडौंमा पाइन्छ ? सोध्नु भो । मैले भने ‘दशओटा मगाएर मैले धेरैलाई बाँडिदिएँ । अब सम्भव छैन दाजु । दाजुसित चिनजान थिएन र दिने आँट गरिनँ ।’
त्यसपछि उहाँले त्यो किताब पढेर भन्नुभयो ‘यो त मेरै शैलीमा लेखिएको किताब रहेछ । रोग मात्र फरक ।’
किताबको नाउँ थियो, डार्कनेस भिजीबल ।
लेखक विलियम स्टाइरन ।
प्रकाशक पिकाडोर ।
८४ पृष्ठको किताब उहाँले ३ हप्तामा पढ्नु भयो । किताब फर्काएर घर ल्याएको दिन उहाँले फोन गरेर भन्नुभयो ‘म त्यो किताब राख्न चाहन्थेँ ।’ म किताब दिन त्यति गाह्रो मान्ने मान्छे थिइँन तर त्यो किताब दिन सकिनँ । किनकि त्यो किताब पाउन अब सम्भव थिएन । पाउन त अमाजोन, डाउनलोड अन्य उपाय होलान् तर मेरो यो किताबसित आत्मीयता अर्कै अर्थमा थियो । फेरि पछि पनि उहाँले यो किताब पढ्न मन गर्नुभयो, फेरि यो किताब लिएर म गएँ । त्यो दिन उहाँको लिलाम प्रेसबाट आएको रहेछ, पहिलो कपि मोँ ब्लाँ ले साइन गरेर मलाई भाउज्यू दुर्गा घिमिरेलाई साक्षी राखेर दिनुभयो ।
भाउज्यूले नै तख्ताबाट चौबीसहजार पर्ने मोँ ब्लाँ कलम झिकेर ल्याइदिनु भएको थियो, एकवर्ष भएछ । लिलाम पढेँ । उहाँको लिलाम पढेपछि थाहा पाएँ, उहाँको पुस्तकका पंक्तिबाट केहि हरफ चोरेर वा बिना अनुमति नेपालका दुई जना कविले राम्रा कविता लेखेका रहेछन् । ती दुवै कवि नेपालको सरकारी पदमा ठूलो ओहोदामा पुगे, देश विदेश घुमे, नाम, दाम कमाए तर त्यो कविता जगदीश घिमिरको भनेर उनले भनेनन् , मैले एकदिन जगदीश दाइले सोधेँ ‘तपाइँको कविता चोरेछन् नि दाइ ?’
हाँस्दै जगदीश दाइले भन्नुभयो ‘ती दुवै मेरा फ्यान हुन् : प्रकाशजी ।’
रोगमा जिउन सकिन्छ भनेर हामीलाई वास्केटबल प्लेयर म्याजिक जोन्सन्, वसिम अक्रम, अमिताभ बच्चनले सिकाए तर रोगमाथि पनि जीवन जत्तिकै किताब लेख्न सिकाए जगदीश दाइले ।

No comments:

Post a Comment