Friday 2 October 2015

Marilyn Monroe by Prakash Sayami

मर्लिन मुनरोको लागि एक प्रार्थन
प्रकाश सायमी


मार्लिन मुनरोको लागि एक प्रार्थना ।
प्रभु !
स्वीकार गर यो युवा महिलालाई जसलाई संसारले मार्लिन मुनरो नामले चिन्दछन्
यद्यपि त्यो तिनको वास्तविक नाउँ होइन,
( तर तपाइँलाई उनको वास्तविक नाउँ थाहा नै छ जसलाई अनाथ आश्रममा ६ वर्ष को उमेरमा वलात्कृत भएकी थिइन् र सेल्सगर्लले १६ वर्षको उमेरमा आत्महत्या गर्ने कोशिश गरेकी थिईन् । )
तिनी विना मेकअप आएकीछिन्
विना प्रेस सहायक
विना फोटोग्राफर अनि विना अटोग्राफरका हुल
एक्लो अन्तरीक्ष यात्री जस्तो
तिनी बालखा छँदा नै सपना देख्थिन्
चर्चामा नाँगै जन्मिएको
( टाइम को अभिलेख अनुसार )
स्वीकार गर प्रभु ।
त्यो सेल्सगर्ललाई
जसको केही दोष छैन
जो अरु सेल्स गर्ल जस्तै
स्टार हुने सपना देख्थिन्
तिनको सपना वास्तवमै पूरा भयो –( तर टेक्निकलरको वास्तविकता जस्तै )
तिनले त्यसरी नै अभिनय गरिन्
जसरी हामीले उनलाई भूमिका दियौँ
तर कथा हाम्रै जीवनको, अनि त्यो विसंगति
माफ गर प्रभु उसलाई
अनि माफ गर हामीलाई
अनि वीसौँ शताब्दीको यो निर्माणलाई
जुन यो तथाकथित सुपर हिट विषयलाई
जसमा हामी सबैले करामत गर्यौँ
तिनी प्रेमकी प्यासी थिइन् हामीले टेन्किविलाइजर दियौँ
अवसाद मेट्न  के के मागिन् हामी सन्त थिएनौँ
मनोविद्ले तिनलाई पागलखाना जानु भने
याद गर,
प्रभु तिनको क्यामेराप्रति भय ।
तिनको मेकअपप्रतिको वितृष्णा
कसरी तिनीभित्र त्रासले घर बनाउँदै थियो
स्टुडिओमा तिनी आउन ढिलो हुँदै थिइन्
अन्य सेल्सगर्ल जस्तै तिनले स्टार हुने सपना देखी
अनि तिनको जीवन सपना जस्तै अवास्तविक हुँदो हो
तिनको प्रेम
आँखा बन्द गरेर खाइएको म्वाईजस्तो थियो
जब तिनले आँखा खोलिन्
तिनी वत्तीको झुन्डमा एक्ली थिइन्
तिनीहरुले बत्ती मारे
तिनीहरुले उनलाई बोकेर दुई पर्खाल भएको
कोठमा पुर्याए –( यो शुटिँग सेट थियो )
जब निर्देशक पटकथा सहित गए
तर दृश्य पहिल्यै छायाँकन भइसकेको थियो
जस्तो क्रुजको यात्रा वा सिंगापुरको म्वाई वा रियोको नृत्य ।
....
जस्तो सबै मिथ्या ।
एकदिन तिनी मृत अवस्थामा कोठामा फेला परी फोन सहित
गुप्तचरले अहिले सम्म थाहा लगाउन सकेको छैन
 तिनी फोन कसलाई गर्दैथिइन्
मानौँ , तिनी कुनै परिचित आवाज सुन्न फोन गर्दैथिइन्
र मात्र तिनले रेकर्डेड आवाजमा यति सुनिन् , रंग नम्बर ।
कुनै सन्देहास्पद ग्याँगस्टारको फोन जस्तै काटियो
प्रभु,
जसलाई तिनले फोन गरेकी भएपनि
वा नगरेको भएपनि – वा त्यो कोही नभए पनि )
अथवा, त्यो नम्बर लस एन्जेल्सको फोन डायरीमा नभए पनि
तिमीले स्वीकारयौँ
धन्य तिमी, प्रभु ।
यो एउटा चर्चित कविता हो, कार्देनालको ।
यो कविता छापिँदा कवि एर्नेस्तो कार्देनाल नोबेल पुरस्कारका निम्ति अनुमोदित भएका थिए, यद्यपि उनले पुरस्कार त पाएनन् तर कविताको सर्वोच्चता अछुत नै रह्यो त्यस समय ।
कार्देनाल ल्याटिन अमेरिकी कवितामा सेसर वाय्यखो र पाब्लो नेरुदा पछिका सबभन्दा ठूला कवि मानिन्छन् । मानिएका पनि छन् , उनका कविता ‘शून्यकाल, सूक्तिहरु, बसमा अमेरिकाको यात्रा गर्दै गर्दा’ जस्ता कविता सदैव चर्चामा रहे भने यसवर्षको मजदूर दिवसका दिन प्रकाशित उनको कविता सेलफोन ले विश्वका ठूल्ठूला पब्लिशिँग हाउस र बहुर्राष्ट्रिय कम्पनीका हड्डी थर्थर बनाइदियो । मोबाइलमा प्रयोग हुने कन्डेन्सरहरु कँगोको कोल्टनबाट सात देखि दशवर्षका बच्चा कसरी मारिन्छन्, यसै पीडामा लेखिएको यो कविताले यसपालि धेरै श्रमिकका निम्ति दिन जगाईदियो ।
कार्देनाल एक रोमन क्याथोलिक पादरी हुन् र माक्र्सवादी चिन्तक पनि । र, यी दुई हुनुमा उनलाई केही भेद छैन किनकि उनको मान्यतामा दुवैको उद्देश्य मनुष्यको मुक्ति हो ।
यी पादरी कविले लेखेको मार्लिन मुनरोमाथि कविताले हामीलाई भाव विभोर बनाउँछ, वाह्यन्तरवादले । कविताबाट वाहिरका विवरणहरु र दृश्यहरुमाथि निर्भर हुनुका कारणले आफ्नो कवितालाई उनले वाह्यन्तरवाद भनेका छन्, एक्सेतेरिएरिज्मो ।
पश्चिमी कवितामा यो प्रयोग कमै देखिन्छ ।
निकारागुआमा ‘आवर लेडी अफ सोलेन्तीनामे’ नामक् कम्युन चलाएर बसेका कवि कार्देनालले हलिऊड नायिका मार्लिन मुनरोमाथि लेखेको यो कविता आफैँमा एउटा समय शक्ति हो ।
मार्लिन मुनरोका लागि एक प्रार्थना यो कविता छापिँदा मुनरो यो जगतबाट अलप भइसकेकी थिइन् ।
मार्लिन मुनरो हलिऊडकी अहिले सम्मको सवभन्दा चर्चित अभिनेत्री मानिन्छिन् । फ्रान्सकी ज्याँ मारिया देखि चीनकी गोँङ्ग लीई सम्मको तुलना यिनीसित हुन्छ तर यिनको सौन्दर्यको तुलना आज सम्म कसैसित गर्न सकिएको छैन ।
करीव डेढ दशक लामो फिल्मी क्यारिअरमा मार्लिन मुनरोले संसार हल्लाईदिइन् ।
सिनेमा, साहित्य, फोटोग्राफी, राजनीतिमा यिनको नाम सर्वत्र गुणगानका साथ लिइन्थ्यो ।
सिनेमामा  यिनले सामान्य उमेरमा प्रवेश गरेकी थिइन्, वीस वर्षको उमेरमा । विवाह गरेको चारवर्ष पछि यिनी पर्दामा नायिका भएकी थिइन् । यिनलाई नायिकाको रुपमा पर्दा दिने संस्था ट्वेन्थिट् सेन्च्युरी फोक्स् त्यो वेलाको नाम चलेको व्यानर थियो ।
सन् १९४६ देखि सन् १९६१ सम्म निर्वाद्ध रुपमा उनले हिट फिल्महरुमा खेलिन्, त्यसमध्ये अन्तिम फिल्म समथिंग् इज गट टु गिभ जुुन कहिले पूरा हुन सकेन ।
द मिसफिट्स, समलाइक इट हट, दी प्रिन्स् एन्ड दी शो गर्ल, लेट्स् मेक अ लभ, हाऊ टु म्यारी अ मिलिनियर, दी सेभेन इयर ईच् सर्वाधिक चर्चित भए ।
दी सेभेन इयर ईच् मा उनको चर्चित सेतो स्कर्ट उड्ने दृश्यले आज पनि दर्शकमा उत्तेजना भर्दछ । सन् १९५४ को सेप्टेम्बरमा यो दृश्य छायाँकन गर्दा अमेरिकी समाजमा तहल्का मच्चिएको थियो  ।
उनी लाइफ म्यागेजिन ( १९५२ ) र टाइम म्यागेजिन (१९५६ ) मा छापिने पहिलो फिल्मी नायिका थिइन् । यो सौभाग्य अरुलाई ढिलै वा उनी पछि मात्र विस्तारै  प्राप्त भयो, टाइम पत्रिकाको टिप्पणी अनुसार ।
मार्लिन मुनरो यसरी सर्वाधिक चर्चामा आउनुको प्रमुख कारण उनको विन्दास अभिनय र आकर्षक शारीरिक सौष्ठव नै मानिन्छ । उनको हाँसो सबभन्दा लोकप्रिय मानिन्थ्यो जसलाई त्यतिवेला लाखौँको मुस्कान भनेर शीर्षक दिइएको थियो ।
लाखौँको मुस्कान र श्वेत पहिरनमा एक युवती छापामा उनलाई दिइने सब्लाइम मानिन्छ, यो आजकालका नायिकाले पाउन थालेको पगरी हो ।
उनको प्रसिद्धीले हलिऊड यति मन्त्रमुग्ध थियो कि त्यतिवेलाका अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले मुनरोका निम्ति व्हाइट हाउसको दरवार सँधै खुल्ला राखेको थियो, सन् १९६२ मा अमेरिकी राष्टपति जोन एफ केनेडीको जन्मदिनमा न्यू योर्क सिटीको मेडिसन स्क्वायर गार्डेनमा उनले राष्टपतिको सम्मानमा ह्याप्पी वर्थडे गीत गाएकी थिइन् ।
अमेरिकी राष्टपतिका भाइ रोबर्ट केनेडीसितको सम्वन्ध, सोभियत संघका प्रमुख ख्रुश्चेभ उनलाई भेट्न उनकै शुटिंग स्पटमा आउनु , विँग क्रोश्वीको पालम मरुभूमिस्थित निवासमा सप्तान्त विताउँदा  अमेरिकी राष्टपति पनि त्यहीँ हुनुले उनको विश्व राजनीतिको वरिपरि नै थिइन् भन्ने बुझिन्छ ।
सौन्दर्याषक रुप र हँसिलो जोवन, अनि स्पष्टवक्तको व्यक्तित्व भएकी मार्लिन आफ्नो जवानी मेन्टेन गर्न भरमग्दूर प्रयाग गरिन् ।
बलिऊडका मधुवाला देखि माधुरी दीक्षित सम्म वा नेपालका करिश्मा मानन्धर सम्म आज उनको त्यो शैली र स्वभावका अनुयायी मानिन्छन् ।
अभिनयमा सहजता, पर्दामा फोटोजेनिक देखिने मुनरोका लागि नै पहिलो पटक सेक्स् भन्ने आँग्ला शब्दमा सुपरलेटिभ थपेर सेक्सिइस्ट लेखिन थालेको हो, आज यो अँग्रेजी शब्दकोशको धन भएको छ ।
नोर्मा जीनी मोेर्टेन्सन् नामबाट सन् १९२६ मा लस एञ्जेल्स्को काउन्टी अस्पतालमा जन्मेकी मुनरोले नोर्मा नामबाटै सन् १९४२ मा जेम्स् डाउगेत्रीसित  विवाह गरिन् । ट्वेन्थिट् सेन्च्युरी फोक्स्सित नायिकाको रुपमा अनुवन्ध भएपछि तिनले डाउगेत्रीसित पारपाचुके गरिन् ।
फिल्मी जीवनमा सफल भएपछि पनि उनको दुई विवाह भए, जोय् डीम्यागियो र आर्थर मिलरसित ।
 मिलर विश्व साहित्यमा अल माइ सन्स् र डेथ अफ् सेल्स्म्यान जस्ता नाटकका कारण विश्व चर्चित मानिन्छन् । मिलरसित उनको वैवाहिक जीवन करीब छ वर्ष टिक्यो र यो विवाहबाट पनि सन्तानौपत्ति नभए पछि मार्लिनमा एक प्रकारको वैराग देखियो । मिलरसित सम्बन्धविच्छेद भएकै समय उनको दी मिस्फिट्स रिलीज भएको रिलीज भएको थियो । यही वर्ष मुनरोलाई न्यूयोर्कको मानसिक अस्पताल भर्ना गरिएको थियो ।
दी मिस्फीट्स् सार्वजनिक रुपमा मुनरोको जीवनकालको अन्तिम सिनेमा हुन पुग्यो ।
 सन् १९६२ को अगस्ट ५ का दिन उनी आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको मृत्युको  आज ठीक ५३ वर्ष पुगिसक्दा पनि अहिले सम्म पनि अमेरिकी गुप्तचर संस्थाको निम्ति त्यो एउटा रहस्य नै भएको छ । उनको मृत्युको लगत्तै अमेरिकी राष्ट्र«पति केनेडीकी पत्नी जैकी केनेडीले भनेकी थिइन्, तिनी सच्चा रुपले धाममा हुनेछिन् ।
मुनरोको निधनको लगत्तै डैली न्यूज्ले सातपृष्ठको श्रद्धाञ्जलि अंक फोटोसहित प्रकाशित गरेको थियो भनें उनको अन्तिम अन्तर्वार्ता लाइफ म्यागेजिनले छापेको थियो, त्यो अन्तर्वाता अंशमा मुनरोले भनेकी थिइन्,
प्रसिद्धीले ईष्या निम्त्याउँछ । तिनले आफूलाई के ठान्छिन् ? मार्लिन मुनरो ?
मुनरोको शवयात्राका तैयारी प्रमुखका अनुसार उनको निधन रातको ९.३० वा ११.३० को वीचमा भएको हुनुपर्छ । तिनको घरेलु केटीले तिनलाई व्युझाउन सकिनन् तर कोठामा बत्ती बलेको देखेपछि प्रहरी र राल्फ ग्रीनसनलाई बोलाइन् । ढोका खोल्न नसकेपछि उनीहरुले झ्याल –(फ्रेञ्च विन्डो ) फोडे र पसे ।
एक कुनामा तिनी मृत्त अवस्थामा थिइन् , उनको शरीरमा देखिएको विषाक्त प्रयोगले एक किसिमले लाक्षणिक आत्महत्या भन्न सकिन्थ्यो भनेर रिपोर्टमा भनिएको छ ।
उनको मृत्युपछि दिइएको असंख्य प्रतिक्रियामा फोटोग्राफर फिलीप हाल्सम्यान्ले भनेका छन्, तिनी इतिहासकी सबभन्दा चर्चित प्रेमकी देवी हुन् ।
उनको अन्तिम चर्चितका निर्देशक जोन ह्युस्टनले भने, यो अत्यन्त विशाद्को कुरा हो सारा सुन्दरता हामीले एकैपटक गुमायौँ ।
जोन ह्यूस्टनको दी मिस्फिट्स् पछि उनका कुनै चलचित्र पछि रिलीज भएका छैनन् तर आजको डिजीटल युगमा उनको नाम टाइप गर्ने वित्तिकै गुगलमा १२, ६००, ००० ओटा फरक फरक चर्चित साइटहरु फेलापर्छन् , मृत्युको ५३ वर्ष पछि पनि यति धेरै चर्चा पाउने सेलेब्रेटीमा मुनरो एल्भिस प्रेस्ले, वीटल्स् पछि तेस्रोमा पर्छिन् ।
उनका नाममा आधिकारीक रुपमा ५०  ओटा पुस्तक प्रकाशित छन् हरेक पुस्तकको शीर्षकमा मुनरो वा मार्लिन नाम राखेर प्रकाशित छन् ।
उनका वारेमा नाटाली ऊड भन्छिन्, जब तपाईँ पर्दामा मार्लिनलाई देख्नुहुन्छ कतै  केही नराम्रो नहोस् भनेर कामना गर्नु हुन्छ ।
तर पनि मार्लिनलाई लेखकले, दर्शकले वा उनका जीवनी लेखकले कहिले सही बुझ्न कोशिश गरेनन् भन्ने उनको गुनासो छ, उनले आफ्ना प्रिय लेखक आन्द्रे जीद्को भनाई  सापट लिएर भनेकीछिन् लेडिज् होम जर्नल की मार्गरेट प्याट्रोनलाई ,  कृपया मलाई ठट्टा नठानीदिनुस् ।
मार्लिन्को यो भनाई फ्रान्सेली लेखक आन्द्रे जीदको कृपया मलाई छिटो बुझ्ने कोशिश नगर्नुहोस् । 
तर दुर्भाग्यवश यो अन्तर्वार्ता छापिएन, सम्पादकको असन्तुष्टिका कारण । सम्पादकले प्याट्रोनलाई भनेछन्, “तिमीले बढी नै सहानुभूति राख्यौ मार्लिन प्रति । यति धेरै सहानुभुतिले शोभा दिँदैन । तिमी पुरुष भएको भए म अनुमान गर्नसक्छु, त्यो कोठामा मार्लिन र तिमी वीच के भएको थियो भनेर । तर अपशोच ...”
सम्भवतः मार्लिनको त्यो अन्तर्वार्ता त्यसै थन्कियो उनको मृत्यु पछि पनि ।
०००

No comments:

Post a Comment