Sunday 11 October 2015

Cinemama Katha by Prakash Sayami

सिनेमामा कथाको समय
प्रकाश सायमी   

हालैका दिनमा ट्वीटर मार्फत् बलिऊडका प्रसिद्ध अभिनेता  अभिनेता अमिताभ बच्चनले लेखे, मेरो जीवनको दोस्रो महत्वपूर्ण सिनेमा ‘रेशमा और शेरा’ मा लाटोको भूमिकामा अभिनय गर्नुमा निर्देशक सुनील दत्तको भन्दा उनका सहायक थापाजीको महत्वपूर्ण हात थियो । 
‘रेशमा और शेरा’ फिल्म अभिनेता बच्चनको जीवनमा दोस्रो फिल्म थियो जसमा उनले आफ्ना आमा तेजी वच्चनका मित्र इन्दिरा गान्धीका कारण त्यतिवेलाका सांसद् अभिनेत्री नर्गीस दत्तसित भेट गरे र यहीभेट मार्फत् उनका पति सुनील दत्तको फिल्म रेशमा और शेरा मा सहायक कलाकारको रोल पाएका थिए ।
‘रेशमा और शेरा’ मा दुई नेपालीभाषी आवद्ध थिए निर्माण नियन्त्रकमा केबी लामिछाने र निर्देशन सहयोगीमा देहरादून निवासी वी एस थापा । वी एस थापाले नै अमिताभको भावपूर्ण चेहरा र दुव्लो पातलो ज्यान हेरेर लाटोको भूमिका निर्देशक सुनील दत्तलाई सिफारीश गरेका थिए भन्ने कथन छ । तर थापाका विरोधी पक्ष यसो पनि भन्छन्, अमिताभको स्वर राम्रो भएको हुनाले सुनील दत्त माथि हावी हुने डरले थापाले वच्चनलाई अन्याय गरेका थिए ।
यो भनाईलाई गलत पुष्टि गर्दै धेरै वर्ष पछि अभिनेता वच्चनले यो कुरा ट्वीटमा मेन्सन गर्दा फिल्मकार वीएस थापा मुम्बईमा ९२ औँ वर्ष मनाई रहेका थिए ।
नेपाली सिनेजगतका सबभन्दा ज्येष्ठ निर्देशक वी एस थापा नेपाली सिने जगतमा दुई कारण सदा स्मरणीय छन् , पहिलो ः नेपाली सिनेमाको निर्माणकालमा भारतमा बसेर निजी क्षेत्रबाट सिनेमा बनाउने उनी पहिलो निर्देशक थिए । माइतीघर उनको त्यो वेलाको सक्षम प्रस्तुति थियो ।
माइतीघर का निम्ति उनी कैयन् वाहवाही र स्यावासी पाए पनि निर्माता नर शम्सेर र डा जोगेन्द्र झाबाट कृतज्ञताका शब्द कहिल्यै पाएनन् । विसं २०२२ सालमा ९ लाख रुपैञामा बनेको त्यो सिनेमाबाट तत्कालै लाभ हुन नसकेपछि निर्माता उनीबाट हताश भएका थिए, डा जोगेन्द्र झाको अभिव्यक्तिबाट यही स्पष्ट हुन्छ तर माइतीघर निर्माण र निर्देशनको दृष्टिकोणबाट हरेक किसिमले उत्कृष्ट सिनेमा मानिन्छ आज पर्यन्त पनि ।
आज सम्म पनि यसका गीतहरु रिमिक्स गरिन्छन् ।
यस सिनेमाका कैयन कलाकार प्राविधिक कुनै न कुनै कारणले अहिले पनि नेपाली चलचित्रमा आवद्ध छन् ।
यस सिनेमाका कैयन् दृष्य आज पनि सर्वाधिक रुचाइएका छन् ।
यस फिल्मका गीतहरु पहिलो पटक  मुम्बईको भव्य रेकर्डिँग स्टुडिओमा रेकर्ड गरिएका थिए भनें भारतीय चर्चित गायिका लता मंगेशकर, आशा भोँसले, मन्ना डे, गीता दत्त जस्ता कलाकारले पहिलो पटक नेपाली सिनेमामा गाएका थिए भनें हाम्रै कलाकार प्रेमध्वज प्रधान, अरुणा लामाको पहिलो पाश्र्व गायन यही फिल्मबाट शुरु भएको थियो ।
माइतीघर यसका कारण पनि रोचक इतिहास भएको छ, यस सिनेमाका गीत अजर अमर छन् ।
नेपाल र नेपाल वाहिर आयोजना गरिने कुनै न कुनै सांगीतिक वा सुन्दरी प्रतियोगितामा यस चलचित्रका गीत मञ्चस्थ गर्ने गरेको पाइन्छ । यो गर्वको कुरा हो ।
अझै रोचक कुरा, यही चलचित्रको गीत यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर बोलको गीतमा नाचेर सन्  २०१३ की  मिस नेपाल ईशानी श्रेष्ठ विश्व सुन्दरी प्रतियोगिताको पाँच उत्कृष्टमा पुग्दा समाचारकी शीर्षक बनेकी थिइन् । हजुरआमाको समयको गीतमा नातिनी नाचेको घटनाले ईशानी मात्र होइन, गीतकार किरण खरेल पनि चर्चामा आएका थिए ।
माइतीघर पछि धेरै वर्ष नेपालमा निजी क्षेत्रबाट सिनेमा बन्न सक्ने सम्भावना थिएन, सरकार र निजी क्षेत्रका व्यक्ति यसको पहल खोज्दै थिए । सत्रवर्ष पछि दोस्रो पटक  निजी क्षेत्रबाट अर्को सिनेमा बन्यो, कान्छी ।
त्रि ओम् प्रोडक्शन्सको पहिलो फिल्म कान्छी का निम्ति वीएस थापाको पुनरागमनभ भयो ।
कान्छी  व्यावसायिक रुपले अपार सफल भएपछि निजी क्षेत्रमा सिनेमा निर्माणको लहर चल्यो । यही सिनेमाबाट नायक शिव श्रेष्ठ,  नायिका शर्मीला मल्ल, संगीतकार गोपाल योञ्जन, गायक नारायणगोपाल, गायिका अरुणा लामा, गीतकार चेतन कार्की ले विशिष्ट परिचय बनाए ।
कान्छी का गीतले नेपाली जनसमाजमा विशिष्ट धरातल बनाए ।
यही सिनेमाबाट स्वर सम्राट नारायणगोपाल, नायक शिव श्रेष्ठ, गीतकार चेतन कार्की, गायिका अरुणा लामा, निर्देशक वीएस थापा पहिलो राष्टिय चलचित्र पुरस्कारबाट पुरस्कृत भए यद्यपि नारायणगोपालले त्यो पुरस्कार कहिले स्वीकारेनन् ।
नेपाली चलचित्र उद्योगमा निजी क्षेत्रमा तरंग ल्याउने श्रेय वीएस थापालाई जान्छ तर उनले यस सिनेमा मार्फत् जुन व्यावसायिक पुट दिए, यसैको जड र जगमा आज नेपाली सिनेमा उभिएको छ भन्दा अत्युक्ति नहोला । हुन त यस सिनेमा निर्माण गर्ने नारायणघाटका उद्योगी व्यापारीको पनि अमूल्य योगदान विर्सन मिल्दैन । 
निर्देशनमा कुशलता भएका वीएस थापामा पटकथा लेखन र सम्पादनको प्रशस्त ज्ञान थियो । उनले पर्दामा रचेका दृश्य गुणगम्भीर र भावमय हुन्थे ।
नेपालका प्रायः निर्देशक फिल्म हेरेर निर्देशक हुने परम्परा भएको इतिहासमा वी एस थापा फिल्म सिकेरै निर्देशक भएका पहिलो निर्देशक थिए । उनले निर्देशन गरेका हिन्दी सिनेमा लक्ष्मी वाहेक बलिऊडमा धेरै सिनेमा यादगार मानिन्छन् ।
लक्ष्मी मा राज बब्बर र रीना रायको अभिनयको सर्वदा प्रशंसा भएको पाइएको छ ।
औपचारिक शिक्षामा पनि राम्रो दख्खल भएका वी एस थापाले कानून मा स्नातक गरेका थिए , कानूनमा ज्ञान भएको कारणले उनले लेखेको हिन्दी सिनेमा एक ही रास्ता को कोर्ट सीन आज सम्मको यादगार सिनेमा मानिन्छ जसमा उनले कानूनका दाउ पेच, वहसबाजीलाई एक नयाँ ढँगले प्रस्तुत गरेका थिए ।
भारतीय नेपाली भएर पनि नेपाली भाषा, संस्कृति र वेशभूषामा राम्रो ख्याल राख्ने वी एस थापाले संवाद् , बोलीचालीमा नेपालीपन ल्याउने खूब कोशिश गर्थे ।
कान्छी को चारवर्ष पछि वीएस थापाले तेस्रो फिल्म मायाप्रीति को निर्देशन गरे,  यो फिल्म पनि व्यावसायिक रुपमा अपार सफल भयो ।
मायाप्रीति मा नयाँ नायक रवीन्द्र खड्का र पाश्र्वगायक किरण प्रधानले व्यापक प्रशंसा पाए । यही सिनेमा मार्फत् काठमाण्डूका फोटो व्यवसायी डी वी थापा र फोटो कन्सर्न सिने उद्योगमा होम्मिए ।
माया प्रीति मा पुनः उनका साथ संगीतकार गोपाल योञ्जन र गीतकार चेतन कार्की जोडिए भनें कान्छी पछि पुनः गायिका अरुणा लामाले प्रवेश गरिन् । नेपाली जनस्थानका प्रसिद्ध लोक गायक झलकमानको कालजयी लोकगीत आमैले सोध्लिन् नि खोई छोरा भन्लान् पहिलो पटक नेपाली चलचित्रमा प्रयोग गरेर ऐतिहासिक दस्तावेज बनाइयो ।
काठमाण्डू वाहेक पोखरालाई वढी महत्वपूर्ण रुपमा पर्दामा प्रस्तुत गर्ने वी एस थापाले पोखरालाई पर्यटकीय स्थलको आकर्षणको रुपमा प्रस्तुत गर्नमा महत्वपूर्ण योगदान छ । मुकुन्द शरणको प्राकृत पोखरा वा प्रेमप्रकाश मल्लको पोखरा त साँच्चै नै पोखरा नै रैछ, गुञ्जिनु भन्दा अगि नै वी एस थापाले पोखरालाई पर्दामा रुपायित गरिसकेका थिए ,  यो एउटा संयोग नै हो वी एस थापाले पोखरामा प्रस्तुत गरेको समय नै व्हेन संगको माउन्टैन इज योँग पनि पोखरामा छायाँकन गर्ने उद्देश्य राखेर चलचित्रकर्मीको डकोटा पोखरामा ल्यान्ड भएको थियो तर छायाँकन स्थल बन्न सकेन । तर वी एस थापाले कायम राखेको त्यो अझै पनि कायमै छ ।
नेपाली चलचित्रमा व्यावसायिक पुट भित्र्याउने र व्यावसायिकतालाई शक्ति स्रोत मानेर सिनेमा लेखन, निर्देशन गर्ने वी एस थापाले आफू पछि आएका निर्देशक प्रताप सुब्बा, तुलसी घिमिरे, शम्भु प्रधान, किशोर राना, उग्येनका निम्ति पनि नेपालमा सिनेमा निर्माण गर्ने सहज वातावरण बनाईदिए भनें उनले नेपाली समय अनुसार चलचित्रमा रंगमञ्चका कैयन् कलाकारलाई सही मौका दिए , त्यसमध्ये कैयन् कलाकार अहिले पनि चलचित्र र रंगमञ्चमा दुवैतिर आवद्ध छन् ।
 नेपाली चलचित्रका जनक हिरा सिंह खत्री र नेपाली चलचित्रका सफल व्यवसायिक निर्देशक प्रकाश थापाका वीचका एक सेतु मानिने वी एसले आज नेपाली रजतपटमा सक्रिय कैयन् कलाकार, कलाकर्मीलाई लञ्चिँग प्याड् दिएका थिए ।
माइतीघरमा अभिनेताका रुपमा प्रवेश गरेका यादव खरेलले चलचित्रमा आफ्नो भूमिका अझै कायमै राखेका छन् भने  होस् वा माइतीघरमै आएका अभिनेता टीकाभूषण दाहालले आफू सक्रिय हुन नसकेपनि रजतपटमा निशानी छोडेर गएका छन्, आफ्ना छोरा ।
स्वर्गीय टीकाभूषणका छोरा ताराभूषण दाहाल आज भूषण दाहालका नामले भिडिओ जगतमा लोकप्रिय छन् । टीकाभूषणकै सहकर्मी प्रदीप रिमाल, नन्दकिशोर तिमिल्सेना, नन्दकिशोरका सहायक गेहेन्द्र धिमाल आदि विभिन्न विधा विषयमा चलचित्र जगतसित आवद्ध छन् भने वीएस थापाकै सहायक निर्देशक किशोर राना नेपाली चलचित्र जगतमा सीमा रेखा, कर्जा जस्ता फिल्मका कारण अस्तित्वमा छन् ।
नेपाली चलचित्रमा बलिऊड अभिनेत्री माला सिन्हालाई ब्रेक दिने वीएस थापाले सीपी लोहनी, रवीन्द्र खड्कालाई पनि नायकका रुपमा अवसरदान गरे भनें शर्मीला मल्ललाई नेपाली चलचित्र जगतमा कान्छी उपनाम नै प्रदान गरे ।
अझै स्मरणीय र सम्मानको कुरा, उनले बलिऊडका प्रथम सुपर स्टार राजेश खन्नालाई नाटकमा पहिलो ब्रेक दिएका थिए । सुपरस्टार राजेश खन्ना र उनकी प्रथम प्रेमिका अञ्जु महेन्द्रको पहिलो भेट नै वी एस थापाकै नाटक मार्फत् भएको  थियो ।
वी एस थापा नेपालका ती भाग्यमानी निर्देशक मध्ये हुन् जसको पहिलो फिल्म माइतीघर को नाममा काठमाण्डूको एक विशेष ठाउँको नाउँ माइतीघर राखियो ।
 माइतीघर भनेर चिनिने त्यो चोक आजकाल मण्डला माइतीघर नामबाट परिवर्तित भएको छ । तर वी एस थापाले नेपाली सिनेमामा भित्र्याएको अस्सली सूत्र अझै परिवर्तन भएको छैन । त्यो वेचिँदैछ, त्यो विक्दैछ र त्यो त्यसरी नै टिक्दैछ जसरी आज नेपाली म्युजिक भिडिओ काँचको पर्दामा चल्दैछ ।
सिनेमाका प्रथम फिचर निर्देशक डेविड वार्क ग्रीफिथले जसरी सास रोक्दै रोक्दै कथा भनिन्छ त्यो पद्धति नै सिनेमाले अपनाउनु पर्छ भन्ने मान्यताका साथ निर्देशक थापाले कथा भन्ने सिनेमाको सही पद्धति नेपालमा भित्र्याए, जसलाई सिनेमायी भाषामा स्क्रिप्ट राइटिङ्ग भन्छन् । यो नै वी एस थापाको कथा कथ्ने शैली बन्न गयो ।
००

No comments:

Post a Comment