Tuesday 1 September 2015

Rabindra Mishra's comment.



Rabindra Mishra with Prakash Sayami
सुर्यको प्रकाशको अगाडि दियो बाल्ने प्रयास
आज भृकुटीमण्डपमा मेरो कलेज दिनदेखिका मित्र र मेरो एकजना प्रेरणा प्रकाश सायमी (तस्वीरमा बोल्दै) को निबन्ध संग्रह ‘काठमाण्डू सेल्फी’ विमोचनमा मलाई उनले पुस्तकबारे बोलिदिन आग्रह गरेका थिए।
बहू-आयामिक व्यक्तित्वका धनी प्रकाश सायमीको असाधारण स्मरण शक्ति छ। मैले उनीजति तेज सम्झना शक्ति भएको एकाध व्यक्तिहरुमात्र भेटेको छु। ‘अजर-अमर गीत’का सबै स्रोताले पनि त्यो महशुस गरेको हुनुपर्छ।
काठमाण्डू सेल्फीमा पनि लेखकीय क्षमतामात्र होइन, साहित्य र संगीतबारे उनको ज्ञान र स्मरणशक्तिको राम्रै आभाष पाउन सकिन्छ। काठमाण्डू सेल्फी पढेपछि मलाई प्रकाश सायमीलाई निबन्धकारमात्रै भन्दा पनि ‘कला-निवन्धकार’ भन्न मन लागेको छ।
उनको लेखन र व्यक्तित्वको बारेमा मैले बोल्नु भनेको सुर्यको प्रकाशका अगाडि दियो बाल्नुजस्तो हो भन्ने मलाई थाहा थियो। तर मैले माथि नै भनिसकेँ उनी मेरा मित्र र प्रेरणा पनि हुन्। म आइएमा पढ्दा उनले नै मेरो पहिलो लेख एउटा साप्ताहिक पत्रिकामा छपाइदिएका थिए। मेरो जीवनमा उनका अन्य प्रभावहरू पनि परेका छन्।
त्यसैले मैले उनको सदभावपूर्ण अनुरोध नमान्ने कुरै थिएन। तर मञ्चमा आसिन (बायाँबाट क्रमश:) गीतकार नगेन्द्र थापा, साहित्यकार सनतकुमार वस्ति, साहित्यकार तथा निर्देशक चेतन कार्की र अभिनेता कृष्ण मल्लले प्रकाशको व्यक्तित्वमा साँच्चिकै प्रकाश पारिदिएपछि, मेरो मन हलुका भयो।
प्रकाश, म दियो हुँदाहुँदै पनि मलाई संझिएकोमा धेरैधेरै धन्यवाद!
तिम्रो सधैं भलो चाहाने,
रवीन्द्र

No comments:

Post a Comment