Saturday 27 June 2015

Bachchan : Kathmandu Selfie by PS

बच्चन : काठमान्डू सेल्फी

  • १२ असार, २०७२
  • प्रकाश सायमी

बच्चन : काठमान्डू सेल्फी
नेपालमा यसपालि गएको विनाशकारी भूकम्पपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकै चर्चामा आए। त्यसपछि अभिनेता अमिताभ बच्चन। अमिताभले भूकम्प पीडितका लागि राहत कोषमा ११ लाख भारतीय रुपैयाँ जम्मा गरेपछि उनी नेपाली मिडियाको हेडलाइन बने। उनलाई लिएर भारतीय प्रधानमन्त्री मोदीले रिट्वीट नै गरे। मोदीकै कारण अमिताभले कुनै समय गुजरातको प्रवर्द्धनका निम्ति निःशुल्क विज्ञापन खेलेका थिए, गुजरातका ब्रान्ड एम्बोसेडर भएर।
नेपालमा चलेको फिल्मबाट करोडौं कमाउने खान बन्धु— आमिर खान, सलमान खान र शाहरुख खान चुप लागे पनि अमिताभ चुपचाप बस्न सकेनन्। नेपालमा भूकम्प आउनासाथ पशुपतिनाथको सम्झना गर्दै आफ्नो फिल्म ‘महान्'को सुटिङको संस्मरण ब्लगमा लेखेर सहानुभूति प्रकट गरे।
नेपाल सन्दर्भमा सदासर्वदा चर्चामा रहने बम्बई फिल्मी उद्योगका चर्चित अभिनेता अमिताभ बच्चन पहिलो होइनन्। उनीभन्दा पहिल्यै सदावहार अभिनेता देव आनन्दले त नेपाललाई आफ्नो फिल्ममार्फत अन्तर्राष्ट्रि्रय बजारमा समेत लिएर गए। ‘कान्छा रे कान्छी रे प्रीत मेरे साँची' जस्तो लोकप्रिय गीतमार्फत नेपाली लोकधुनलाई बलिउडमा जीवित राखे। उनले नेपाली बाजा मादललाई समेत स्थापित गराइदिए।
देव आनन्द नेपालका सानासाना दुःखमा दुःखी हुने एक भारतीय अभिनेता थिए। नेपाली कलाकार रवि शाह, प्रकाश थापा, मीना सिंह, सुनील थापा, गोपाल भुटानी, छुन्की भुटिया, केबी मोक्तान, रतन गुरुङ र पछिल्लो चरणमा गायक उदीतनारायण झालाई उनले मौका दिए। यसबाट उनको नेपाल–सम्बन्ध प्रस्ट हुन्छ। देव आनन्दको स्टुडिओ नवकेतनमा नेपाली फिल्मको प्राविधिक कार्यको निम्ति छुट थियो।
उनले नेपालमा आफ्ना दुई फिल्म ‘ईश्क ईश्क ईश्क' र ‘हरे रामा हरे कृष्णा' छायांकन गरे। पछिल्लो हिट भयो तर अघिल्लो फिल्मका कारण नेपालसित शबाना आजमी र शेखर कपूरको सम्बन्ध सेतु जोडियो। देव आनन्दकै कारण यश चोपडाले ‘जोशिले' यहीँ छायांकन गरे।
देव आनन्दले सिनेमाका अलावा आफ्नो पुस्तक ‘रोमान्सिङ विद् लाइफ' प्रवर्द्धनका लागि पनि नेपाल आएर अपार माया दर्शाए। असी वर्षको उमेरमा आफ्नो पुस्तकका निम्ति अन्तिमपटक नेपाल आएका उनी पहिलोपटक चालीस वर्षअघि दरबारको पाहुना भएर युवराजधिराज वीरेन्द्रको बिहेको जन्तीमा आएका थिए।
पञ्चायती कालका शासक महेन्द्रका उनी प्रिय थिए। उनी दरबारका एक चहेता कलाकार। भारतीय प्रधानमन्त्रीसित महेन्द्रको सम्बन्ध बिग्रँदा पनि देव आनन्दसित खसोखास सम्बन्ध थियो नै।
भारत र पाकिस्तानको लडाइँ चरमचुलीमा भएको बेला भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीले पाकिस्तानसित वार्ता गर्न चाहँदा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले सशर्त स्वीकार गरे। त्यो वार्ताको नेतृत्व प्रधानमन्त्री वाजपेयीले गरेको भए पनि ड्राइभिङ फोर्समा देव आनन्द नै थिए। वार्ता गर्न लाहोर गएको बसको अघिल्लो सिटमा चेक शर्ट र कोटमा देव नै थिए, उनैले नवाज शरीफलाई अँगालो हालेर वार्ताको निम्ति बधाई दिए। संयोगले शरीफ देव पढेकै लाहोर कलेजका जुनियर परेछन्।
देव आनन्द यस्ता धेरै कुरामा छिमेकीका असल मित्र थिए, यो उनको सिनेमामा पनि देखिन्थ्यो र व्यवहारमा पनि। २०५८ जेठ १९ गते नेपालमा भएको दरबार हत्याकाण्डपछि देव आनन्द अति भावुक भए र उनले आफूलाई माया गर्ने नातेदारलाई गुमाएको महसुस गरे। उनले यसबारे आत्मकथामा पनि सगर्व लेखेका छन्। उनी त्यसको केही समयपछि नेपाल आए र पशुपति मन्दिरको घाटमा दिवंगतका निम्ति श्रद्धाञ्जली अर्पण गर्दै रोए पनि।
उनी नेपाल–भारतबीच सांस्कृतिक दूतजस्तै थिए। यसपालि हाम्रो दुर्दशाको तस्बिर हेर्न नपाई उनी चार वर्षअघि नै बितिसके।
तर, उनी जत्ति नै दुःखी देखिए— अभिनेता अमिताभ बच्चन।
नेपाल र नेपालीका निम्ति सदैव चिन्ता गर्ने प्रसिद्ध अभिनेता अमिताभको नेपालमा दुई सिनेमा ‘महान्' र ‘खुदा गवाह' छायांकन भएका छन्। दुवै फिल्म सफल भएको मानिन्छ।
‘महान्' त अमिताभका लागि नेपालीको लागि नै एक यादगार फिल्म मान्न सकिन्छ। यसै फिल्मबाट अमिताभले टि्रपल रोलमा प्रवेश गरेका थिए भने यो चलचित्र सुटिङ गर्दाका प्रायः स्थान यसपालि ध्वस्तन्यस्त भएका छन्। भूकम्पलगत्तै उनले ब्लगमा त्यो पुरानो तस्बिर पनि शेयर गरेका थिए।
अमिताभ नेपालमा महानको सुटिङ गर्न आउँदा होटल एभरेस्टमा बसेका थिए। यो भूकम्पले होटल एभरेस्टलाई पनि भग्न अवस्थामा पुर्याकइसकेको छ। पुलित्जर पुरस्कार विजेता आइएम शेलीले एभरेस्ट होटल उपन्यास लेखेर चर्चा पाएका थिए। यही होटलमा ०४१ सालमा अमिताभ आफ्ना पिता डा. हरिवंश राय बच्चन, आमा तेजी बच्चन र छोराछोरीसहित आएका थिए। अमिताभ त्यो बेला काठमान्डू आउँदा नेपालका चार पत्रिकाले उनीसित गुणगम्भीर वार्ता गरेका थिए। गोरखापत्रबाट दुर्गानाथ शर्मा, मधुरमबाट विश्व बस्नेत र रिपु श्रेष्ठ, ममताबाट विजय उदय पाल्पाली र पुकारबाट थियो— यो पंक्तिकार। तीमध्ये गोरखापत्रबाहेक अरू पत्रिका भग्नावशेष भइसके। एभरेस्ट होटलमा अन्तर्वार्ता दिँद अमिताभ ताज्जुब भएका थिए, नेपाली पत्रिकाले पनि उनलाई चिन्छन् भनेर।
उनले त्यो बेला एभरेस्ट सेराटन, होटल अन्नपूर्ण, मुग्लिङमा फरक–फरक शैलीमा अन्तर्वार्ता दिएका थिए।
महान्, अमर अकबर एन्थोनी, दिवार, बर्सादकी एक रात, नमक हलाल, अमिताभका नेपालमा व्यावसायिक रूपले सफल फिल्म हुन् तर उनको अर्को सफल फिल्म ‘शोले' काठमान्डूमा रिलिज हुन पाएन, प्रतिबन्धित भयो। धर्मेन्द्रका कारणले यो फिल्म नेपालमा चल्न पाएन। यसबारे अमिताभले त्यो बेला आश्चर्य प्रकट गरेका थिए।
अमिताभबाहेक बलिउडका धेरै कलाकारले नेपालमा सुटिङको निम्ति आउने र यहाँको ठाउँको प्रशंसा गर्ने गरेको पाइन्छ। ती चाहे सलमान खान हुन् वा ऋषि कपूर, नाना पाटेकर हुन् वा नसिरुद्दीन शाह, विनोद खन्ना हुन् वा शशि कपूर, अनिल कपूर हुन् वा जैकी श्राफ; ती सबैले नेपालमा आएर भारतमा भन्दा बढी नै माया र सम्मान पाएकै छन्।
अमिताभ ती कलाकारभन्दा फरक हुनुका दुई कारण छन्— सम्बन्ध र इतिहास।
अमिताभको नेपालसितको सम्बन्ध अभिनय, फिल्म र सुटिङका कारणमात्र भएको होइन। उनको जीवनकै पहिलो विदेश यात्रा नेपालमा भएको थियो। औसत बाल्यकाल पनि यहीँ बित्यो। नेपालका कविहरू लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, बालकृष्ण सम, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठहरूलाई बाल्यकालमै स्पर्श गर्न पाउने उनी पहिलो भारतीय अभिनेता थिए। उनी पिता हरिवंश रायसित युगकवि सिद्धिचरणको घर पनि पुगेका थिए भनेर युगकविले संस्मरणमा लेखेका छन्। पितासँगै अमिताभ महाकवि देवकोटाले स्थापना गरेको सरस्वती सदनको पुस्तकालय हेर्न पनि पुगेका थिए।
अमिताभले यसपालि ११ लाख रुपैयाँ दिँदै भने, ‘म नेपाल र नेपालीको लागि अझै कुनै पनि किसिमको सहयोग गर्न इच्छुक छु।'
उनको यो भनाइमा पनि गर्वशाली इतिहास झल्किन्छ। इलाहावाद, दिल्लीमा बाल्यकाल बिताएका उनको एउटा गौरवशाली बाल्यकाल काठमान्डूमा बित्यो। त्यही बेला उनले दिलीपकुमारका राम्राराम्रा फिल्म हेरेका थिए। सन् २०११ को डिसेम्बरमा दिलीपकुमारलाई बधाई दिँदै उनले उनले उल्लेख गरेका छन्, ‘मैले तपाईंका आन, सहिदजस्ता शक्तिशाली फिल्म काठमान्डूको पुरानो सिनेमा हलमा हेर्दा कुनै दिन यहाँसित एउटै पर्दा शेयर गर्छु भन्ने कल्पना पनि गरेको थिइनँ।'
अमिताभले सिनेमा हेरेका ती पुरानो हल त भुइँचालोभन्दा पहिले नै हराइसके।
अमिताभ अभिनेताका रूपमा पहिलोपटक सन् १९८१ को मे महिनामा आएको भए पनि यसअघि उनी सन् १९५५ मा पितासँग भारतीय राजदूतावासका सचिव महाराजकृष्ण रसगोत्रको निम्तो मान्न आएका थिए। यही कालमा उनको धेरै समय काठमान्डूमा बितेको थियो। उनका पिता भने सन् १९५४ मै भारतीय दूतवासले आयोजना गरेको कवि सम्मेलनमा कविका रूपमा आइसकेका थिए।
पहिलोपटकको कवि सम्मेलनबारे कवि बच्चनले लेखेका छन्, ‘नेपालमा मलाई कविको रूपमा चिन्नेहरू कम थिएनन्। धेरैजसो मान्छे मेरो मुखबाट कविता सुन्न चाहन्थे। नेपालमा मेरो प्रवासकालमा कतिपय ठाउँमा कैयौंपटक कवि सम्मेलन भए, जसमा नेपाली कविहरूले पनि भाग लिए। नेपालका जुन कविहरूको नाउँ मलाई याद छ, ती थिए— कवि श्री बालकृष्ण सम, श्री देवकोटा, श्री घिमिरे, श्री केदारमान व्यथित र श्री भवनी भिक्षु।'
नेपालका कविहरूमाझ लोकप्रिय भइसकेका कवि बच्चनको ‘मधुशाला' नेवारभाषामा त्यतिबेला जनकवि दुर्गालाल श्रेष्ठले ‘सुलिँ' नामबाट अनुवाद गरिसकेका थिए।
कवि बच्चन स्कुले जीवनदेखि नै नेपालप्रति आकर्षित थिए। इलाहावाद युनिभर्सिटी इतिहास विभागका प्रमुख डा. ईश्वरप्रसाद सिंहकै कारण नेपालप्रतिको मोह उनमा बढेको थियो। जुद्धशमशेरको शासनकालमा नेपालको इतिहास लेख्न बोलाइएका सिंहले नेपालको गौरवपूर्ण वर्णन गरेको सुनेपछि बच्चन नेपाल आउन लालायित भएका थिए। कवि बच्चनले आत्मकथा ‘बसेरे से दूर'मा लेखेका छन्, ‘विद्यार्थी जीवनदेखि नै मेरो मनमा नेपालका लागि कुतुहलता थियो। मानचित्रमा भारतको उत्तरमा कम चौडाइ भएको ज्यादा लम्बाइको यो देशलाई देखाएर हाम्रो अध्यापक यो बताउन भुल्दैन थिए कि नेपाल एक स्वतन्त्र देश हो। आफ्नो गुलामीका दिनमा यो कल्पना गर्दा मनमा एक प्रकारको हर्ष हुन्थ्यो। नेपालमा केही यस्तो शक्ति छ जबकि हाम्रोजस्तो लम्बाचौडा देश अंग्रेजसित पराजित भएको थियो तर नेपालले स्वतन्त्रताको झन्डा उँचो राख्यो।'
कवि बच्चनले नेपालको कुनाकुना घुमेका थिए। मठमन्दिर, दरबार र सांस्कृतिक सम्पदा सबै। उनले लेखेका छन्, ‘पुरानो काठमान्डू त मन्दिरहरूको नगरी हो। सायदै त्यस्तै ठाउँ होला जहाँ तपाईं उभिनुस्, मन्दिर नदेखियोस्। सडक गल्ली, चोक, चौबाटो, दोबाटो, कुना काप्चामा जहाँ ठाउँ मिलेको छ, त्यहाँ मान्छेले मन्दिर बनाएका छन्।'
अमिताभलाई नेपालसित जोड्नमा कवि बच्चनको इतिहास ज्ञानको अहम् भूमिका छ। पिताले बनाएको बाटोमा सुसंस्करित रूपमा हिँड्न सिकेका अमिताभले आफ्नो छोराको बिहे, आफ्नो जीवनमा आएको आर्थिक संकटमा सदासर्वदा पशुपतिनाथलाई सम्झे र विनाशकारी भूकम्प गएको पर्सिपल्ट पशुपतिनाथलाई सम्झेर यिनै पंक्ति लेखे आफ्नो ब्लगमा।
‘थाहा छैन, भगवानमा केही शक्ति त छ यस्तै भूकम्पमा पनि यी अडिग रहे।'
अमिताभमात्र होइन बच्चन परिवारकी बुहारी अभिनेत्री जया बच्चनको पहिलो फिल्म सुमनका नायक पनि नेपालकै अभिनेता जग्गनाथ तिमिल्सेना थिए। यी धेरै सम्बन्ध र स्नेहका कारण बच्चन परिवार नै नेपालको निकट रहे। कवि बच्चन आउँदा होस् वा अभिनेता बच्चन आउँदा, नेपालमा तिनको स्वागत हुनुको कारण पनि त्यही हो।
‘दशद्वार से सोपान तक' कृतिमा कवि बच्चनले लेखेका छन्, ‘नेपालका राजाकी बहिनी शारदा अमिताभकी फ्यान थिइन्। उनले दिएको भोजमा राजमाता भेट भइन्। स्व. महाराज महेन्द्रकी पत्नीले मेरो पछिल्लो यात्रामा मेरा काव्य पाठ सुनिसकेकी थिइन्, जसको स्मृति तिनलाई अझै पनि छ/थियो। स्व. महाराज स्वयं एक राम्रा कवि थिए र एक गोष्ठीमा उनको कविता सुन्ने अवसर मिलेको थियो। राजमातालाई त्यो दिनमा याद थियो।'
बच्चनले सम्झेका र सम्झना गरेका धेरै कुरा त अब रहेनन्। कति त स्मृतिमै सीमित भए । दरबार हत्याकाण्ड र भुइँचालोपछि धेरै कुरा हराए/गुमे। तर नहराएको कुरा अझै बाँकी छ— असल छिमेकीको सदासयता र स्नेह।
- See more at: http://www.nagariknews.com/entertainment/bollywood/story/40536.html#sthash.EFpjV7Gc.dpuf

No comments:

Post a Comment