Thursday 9 April 2015

Franceko Mounta By PS

फ्रान्सको मौनता 
प्रकाश सायमी



ग्रेगेरियन क्यालेण्डरको अन्तिम महिना डिसेम्बर ।
डिसेम्बरको अन्तिम दिन विश्वमा पहिलो पटक सिनेमा देखाइएको थियो, आजभन्दा ११८ वर्ष अगाडि । फ्रान्सबाट बनेको विश्वको पहिलो मूक चलचित्र ‘अ ट्रेन अरायभल टु स्टेशन’ मार्फत यसले नयाँ कलाको जन्म दिएको थियो ।
फ्रान्सको प्यारिसस्थित होटल ग्राण्ड क्याफेको बेसमेन्टमा सन् १८९५ मा देखाइएको त्यो अवाक् चलचित्रले विश्वजगतलाई ठूलो सन्देश दिएको थियो, गुडिरहेको रेल र झरिरहेका यात्रु मार्फत् ।
दुई फ्रान्सेली बन्धु अगस्त्य लुमिएर र लुई लुमिएरले बनाएको त्यो चलचित्र पनि संसारका अन्य मुलुक सिनेमा निर्माणमा विस्तारै अग्रसर भयो तर सिनेमाजस्तो नयाँ कलाको जन्म फ्रान्समै भयो ।
फ्रान्सका ती दुई दाजुभाइले त्यो सिनेमा बनाउन इटालीको यात्रा गरे । इटालीको कोक्ट्यो नामक् पहाडमा उनीहरूले ५६ सेकेन्ड लामो त्यो सिनेमाको छायाँकन गरे । ती दाजुभाइले त्यो पहाड नै छान्नुको कारण थियो, त्यहाँको चिप्लो र सलक्क परेको ढुँगा । त्यो ढुँगामा रेल सहजै गुड्न सक्ने र सामान्य परिस्थितिमा रोकिन सम्भव थियो । त्यो ढुङ्गाको लोकप्रियताको कारण नै लुमिएर बन्धु त्यहाँ आइपुगेर र छायाँकन शुरु गरे, छायाँकन सफल भयो ।
यसपछि बाँकी कुरा इतिहास बन्यो ।
कोक्ट्यो पहाडको त्यो डाँडोको ढुँगो यति लोकप्रिय थियो कि महान् मूर्तिकार माइलएन्जेलो डी लोडकोभिको ब्युनारोपट्टी सिमोनी  पनि त्यही ढुँगाबाट आफ्ना अप्रतिम मूर्ति बनाउथे । उनैको मूर्तिकलाको ज्ञानबाट प्रभावित भएर त्यस ढुँगा बारे जानकारी पाएपछि  लुमिएर दाजुभाइ त्यहाँ पुगे र छायाँकन गर्न सफल भए ।
चलचित्रमा दृश्य यस्तो थियो, रेल गुड्दै गुड्दै क्यामेरा सम्म आइपुग्नु पर्ने  र क्यामेरा अगाडि रेल यन्त्रवत् रोकिनु पर्ने  । यो सबै काम क्यामेराको अगाडि सहजै हुन सक्ने ठाउँ त्यही चप्लेटी ढुँगाको डाँडो बन्न पुग्यो ।
र, त्यहाँ त्यही परिस्थितिमा त्यो  सिनेमाको  छायाँकन भयो ।
छायाँकन सफलतापूर्वक सकिएपछि त्यो शुटिंगको एउटा कार्टुन फ्रान्सेली अखबारमा छापियो जुन कार्टुनले सारा संसारलाई हँसायो । त्यो कार्टुनले हँसाउनुको कारण रोचक थियो । सिनेमा शुटिंग हुँदै गर्दाको एउटा दृश्य यस्तो थियो, ठूलो यन्त्र (रेल) लाई सानो यन्त्र –(क्यामेरा) ले ताक्दै थियो । क्याप्सनमा लेखिएको थियो, सानो विरालोले ठूलो बाघलाई ताक्दै ।
क्याप्सन पढ्दा मान्छे खूब हाँसे । तर भविष्यवाणी सही सावित भयो, साँच्चै नै सानो विरालोेले बाघलाई खायो नै ।
एउटा रेलले जति मान्छेलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सक्थ्यो त्यो भन्दा अपार क्षमतामा चलचित्रले लाखौँलाख दर्शकलाई एकैसमय एकैपटक नपुगेको ठाउँमा पुर्याउनसक्थ्यो । परिचित गराउँथ्यो । यसले विश्वका धेरै अन्य चुनौतीलाई पराजित गर्दै संसार जित्यो ।
त्यो कार्टुन छापिएको ११८ वर्ष पछि फेरि एउटा कार्टुन छापियो , शार्ली  हेब्डो मा  । जुन कार्टुनका कारण फ्रान्समा आतङ्ककारीेले दुराशयपूर्वक हमला गरे । संसारलाई रुवाउने गरी त्यो कार्टुनसँग सम्बद्ध कलाकर्मी र प्रकाशक सम्पादकको हत्या गरे । फ्रान्सलाई शोक र संशयमा डुबाइदियो ।
आजको समाजले, सारा संसारले अत्यन्त निकृष्ट र नृशंस मानेको यो आक्रमणका कारण फ्रान्सप्रति धेरै मुलुकको, धेरै धर्म, सम्प्रदायका मान्छेको अचानक स्नेह र सद्भाव पलायो ।
फ्रान्ससँग विश्वका धेरै मुलुकको आआफ्नै किसिमको सम्बन्ध र स्नेहको सेतु छ तर मिरर मिजरमेन्ट ( सँग्लो नजर) मा हेर्ने हो भने फ्रान्सले विश्वलाई धेरै नयाँ चीज दिएको छ, नयाँ कला, नयाँ विचार, नयाँ दर्शन अनि नयाँ धारको चिन्तन ।
संसारको सबैभन्दा पछिल्लो कला सिनेमाको जन्म फ्रान्समै भयो । पहिलो विश्वयुद्धपछि फ्रान्सबाटै लुइ डेलाकले नयाँ विचारधारा दिए, सिनेम्याटिक रुपवन्धमाथि । यसको जयजयकार आजसम्म पनि भइरहेको छ । सिनेमा जन्मेको तेस्रो वर्षमै जादूगर जर्ज मेलिसले फ्रान्सबाटै चमत्कारीक सिनेमाको कला देखाए ।
चित्रकलामा डाडाइज्म, क्युविज्मको जन्म फ्रान्समै भयो । चित्रकलामा आएको नयाँ विचार अवाँ गार्द फ्रान्सबाटै जन्मियो भने चलचित्रमा ध्वनिको आगमन पछि नयाँ धार फ्रान्सले नै भित्र्यायो ।
चलचित्र कलाको एउटा युग अन्त्य हुन लाग्दा पहिलो पटक फ्रान्सबाट प्रकाशित हुने कहिअर्स दु सिनेमा मार्फत् केही फिल्म समीक्षकले सिनेमाको बचाउ गरेर सार्थक समीक्षा माथि वहस गर्न थाले । झँ ल्युक गोदार, फ्रान्सुआ त्रुफो, एरिक रोहमर, शेवराल जस्ता फिल्म समीक्षकले फिल्ममा परिवर्तन चाहिन्छ भनेर आन्दोलन चलाएपछि सन् १९४५ मा एक नारा गुञ्जियो , ‘सिनेमाको कथाकार लेखक होइन, निर्देशक हो उसैलाई यो कथा भन्ने अधिकार दिइनुपर्छ । ’
सिनेमाको बद्लिँदो युगसँग फ्रान्सले त्यतिवेला ठूलो परिवर्तन ल्यायो ।
निर्देशकलाई  सादरपूर्वक यो अधिकार नदिइएपछि यिनै समीक्षकले चलचित्रको वागडोर सम्हाले, क्याप्टेन अफ दी शीप का रुपमा । यिनैले राम्रा राम्रा सिनेमा बनाए जसलाई नोभेला भेग अर्थात् अलग धारको नाम दिइयो । यही लहरमा फ्रान्सुआ त्रुफोको फोर हन्ड्रेड ब्लोज्, झँ लूक गोदारको ले पेटिट फाउ ले संसारभरिका चलचित्रकर्मीलाई प्रभाव पार्यो । अलग धारको यो लहर विश्वभरि करेन्टको रुपमा फैलियो, सिनेमाप्रति मान्छेको आकर्षण पुनः थपियो । हाम्रै छिमेकी मुलुक भारतमा त सन् सत्तरी र अस्सीको दशक सम्म यसको छापमा परेर नवयथार्थवादी र समानान्तर सिनेमाको खेती नै चल्यो । गोविन्द निहलाणी, श्याम बेनेगल, कुमार शहानी, मणि कौल, कुन्दन शाह, केतन मेहता यसका अनुयायी भए । भारतको सानो राज्य असमका फिल्मकर्मी जानु बरुआ देखि चीनका झँग यिमाऊ सम्म यो शैलीबाट प्रभावित भए ।
सिनेमा निर्माणको क्रममा शुरुवातदेखि नै फ्रान्सलाई पछ्याउँदै आएका मुलुक अमेरिका, डेनमार्क, स्वीडन, जर्मनी, स्पेन पनि यसका पथअनुयायी भए ।
सिनेमालाई प्रोत्साहित गर्न पुरस्कार दिने, महोत्सव गर्ने जस्ता सत्कार्य फ्रान्सबाटै शुरु भयो ।
सिनेमाको जन्म फ्रान्समा भएपनि यसमा प्राविधिक परिवर्तन र भाषाको दमन अमेरिकी मुलुकको रह्यो भने यसमा नयाँ वाद फ्रान्स, जर्मनी र इटालीले ल्याए । इटालीको नवयथार्थवाद र फ्रान्सको ‘नोभेला भेग’मा एउटै कुरा फरक थियो, वोधात्मक सौन्दर्यको  । इटालीको नवयथार्थवादले कलापक्षलाई वहिष्कार गरेको थियो भने नोभेला भेगले कलामिश्रित यथार्थलाई अंगीकार गर्दै आएको थियो ।
सिनेमाले यो सदाशयता साहित्यिक विरासतबाट पाएको थियो । फ्रान्सको साहित्यले विश्वका ठूल्ठूला ग्रन्थसित आफ्नो सामीप्य खोजिसकेको यथता र अर्थवत्ता सही थियो । 
सिनेमाबाहेक फ्रान्सबाट साहित्यमा मोलिएर, शर्ल बोद्ल्यर, ओन्रेडे बाल्जाक,  गुस्ताभ फ्लेविएर, जुल्स वार्नेस, पल वेलेरी,  राब्ब ग्रिये, ज्याँ पल् सात्र्र, आन्द्रे जीद्,  अल्वेयर क्यामूका कृति पनि सर्वाधिक चर्चाका विषय बने ।
गुस्ताभ फ्लेविएरको इस्लामिक मुलुक टर्कीको भ्रमणले ल्याएको परिवर्तनका वारेमा ओरहान पामुकले ससम्मान आफ्नो आत्मकथा इस्तानबुलमा लेखेकाछन्, कसरी हामी बद्लियौँ भनेर ।
समाज र समयलाई बदल्न एउटा स्रष्टाले निभाउने भूमिका कति चुनौतिपूर्ण हुन्छ त्यो पामुकले आफ्नो नोबेल पुरस्कार पाएपछि दिएको मन्तव्यमा प्रख्य छ ।
सात्र्रको अस्तित्ववादको दर्शन फ्रान्सकै एउटा पाँचतल्ले घरबाट शुरु भएको थियो भने अल्वेयर क्यामूको विसङ्गतिवाद हामीकहाँ सम्म आइपुग्दा उनी नोबेल पुरस्कारले सम्मानित भइसकेका थिए ।
फ्रान्सबाटै गुञ्जिएको हो यो संवाद् , “आमा भन्नु हुन्थ्यो, तँ फौजमा गएको भए जर्नेल हुन्थेस् । चर्चमा गएको भए पादरी हुन्थेस् ’ तर म चित्रकलामा लागेँ पाब्लो पिकासो बन्न ।”
फ्रान्सले साहित्य र सिनेमा वाहेक चित्रकलामा विश्वलाई दिएका नामचीन चित्रकार हो,  पाब्लो पिकासो । उनैलाई पछ्याएर संसारका कैयन् कलाकारले आफ्नो जीवनको दुःखको बाटो बद्लेका छन् । उनलाई हामी सदैव सम्झना गर्न सक्छौ भावपूर्ण हिसाबले ।
सिनेमाको संसारमा त्रुफो र गोदारले ल्याएको परिवर्तनका एक अग्रज थिए, ज्याँ रेने । चित्रकलाका ज्याँ रेने थिए, पिकासो । उनले संसारमा चित्रकलालाई रंगका माध्यमबाट भन्दा जीवनका माध्यबाट हेर्न र जीवनको कोण नै बद्ल्न उत्साहित बनाए ।
पिकासो कै प्रेरणाले डाली, कान्डास्की, मोनेँले आफ्नो नयाँ शैली बनाए जसलाई चित्रकलामा अवाँ गार्द को संज्ञा दिइयो ।
पिकासो वाहेक संसारले चिनेका धेरै नामहरु फ्रान्सेली नै थिए,त्यो चाहे पर्वतारोही मौरिस हर्जोग हुन् वा विश्वकी प्रसिद्ध अभिनेत्री ज्याँ मारिया ।
हर्जोगले नेपालमा आएर पहिलो पटक अन्नपूर्ण हिमाल चढे पछि अनिर्वचनीय पंक्ति भने, हे भगवन् । म र पर्वत अलग होइनौँ । मलाई थाहा छैन, म अन्नपूर्णा हुँ कि अन्नपूर्णा म । मलाई थाहै भएन । ”
 अन्नपूर्णा हिमशिखरलाई विश्वभरि चिनाउने हर्जोग हुन् वा भारतको बलिऊडमा आएर एशियन सिनेमालाई विश्व बजार दिनु पर्छ भन्ने सर्वोत्कृष्ट अभिनेत्री ज्याँ मारियाले बलिऊडकी यथार्थवादी अभिनेत्री स्मिता पाटिलका सारा फिल्मलाई प्यारिसमा लगेर रेस्ट्रोपेक्टिभ शो –(पुनरावलोकन प्रदर्शनी ) गरिन् र हिन्दी फिल्मलाई उच्चाकर्षण दिइन् । उनकै कारणले पछि बलिऊड पश्चिम प्रिय भयो ।
सन् १९५५ मा पाथेर पाञ्चाली बनाएर अन्तर्राष्टिय ख्याति कमाएका सत्यजित रेलाई पनि फ्रान्सबाट कोलकत्ता आएर दी रिभर नामक् सिनेमा खिँच्न आएका ज्याँ रेनेले नै गाइड गरेका थिए र उनले बाटो पाए ।
यस्ता धेरै उदाहरणका लागि फ्रान्स र फ्रान्सेलीहरु सर्वथा अगाडि छन् । नेपालकै प्रसँगमा पनि फ्रान्सका कैयन् स्रष्टाले नेपालको काष्ठकला र यसका बुनोटका वारेमा उल्लेख र चर्चा गरेर विदेशमा चिनाइदिएका छन् । नोबेल पुरस्कार विजयी स्रष्टा आन्द्रे जीदले आफ्नो आत्मकथात्मक उपन्यास दी इम्मोरलिस्ट मा नेपालको काष्ठकलाको प्रशंसा आत्मविभोर भएर गरेका छन् ।
हामीलाई हाम्रो देश र कलाको जति माया छ, संसारमा सबै मुलुकलाई आफ्नो कला र कृतिको माया हुनु स्वभाविक हो । त्यसलाई बचाउन वा संरक्षण गर्न चलचित्र कला नै एक उत्तम कला हो भन्ने पुष्टि गरेको छ आजको विश्वले ।
संसारलाई सबभन्दा नयाँ कला दिने फ्रान्समाथि गतहप्ता संसारको सबभन्दा घृणीत कला आतंकको छायाँ परेको छ । एउटा कार्टुन प्रकाशित गरेका कारण पत्रिकाको कार्यालयमा गएर त्यसका सम्पादक, प्रकाशक र अक्षरजीविमाथि गरिएको हत्या र हमलाको जति निम्नकोटिको शब्दमा आलोचना गरे पनि कम हुन्छ । तर संसारलाई हृदयहीन बनाउने त्यो दुष्कार्यले फ्रान्सलाई झन् सम्वेदनशील र सहृदयी बनाएको छ, दुई कारणले ।
एक कलाको सम्मान र दोस्रो वाक् स्वतन्त्रताको पक्षमा फ्रान्सको अभिभावकीय उपस्थिति । यो यतिवेला फ्रान्सजस्तो एक सांस्कृतिक नम्रता भएको मुलुकले वाहेक अरुले यसको जवाफदेहीता दिन सक्छ ।
फ्रान्सले आज आफ्नो परिवर्तनका वेला धेरै कुरा गुमाएको छ, तर बचाएको छ एउटा स्थिर चरित्र जसका निम्ति फ्रान्सको शदीयौँ पुरानो परम्पारिक कोमलताको ठुलो परीक्षा भएको छ ।
आज इतिहासको पाना पल्टाएर हेर्दा विश्वजनीन रुपमा फ्रान्सका दुई चीज सदासर्वदा लोकप्रिय छन्, फ्रेञ्च किस र फ्रेञ्च कमेडी ।
फ्रेञ्च किस अर्थात् टाढैबाट दिइने आत्मीय चुम्बनलाई निकै सत्कारपूर्वक लिइन्छ यसले मानवीय मनोभावलाई स्वच्छन्द रुपमा प्रकटन गर्छ, यसका वारेमा कुनै अश्लीलता देखिन्न ।
फ्रेञ्च कमेडी अर्थात् फ्रान्सेली नाट्य विधामा पाइने विदूषकीय परम्पराले अति सम्मानका साथ हास्यकलाकारिताले ग्रहण गरेको छ जसले फ्रेञ्च कमेडीको महत्व अति लोकप्रिय बनाएको छ ।
हलिऊड सिनेमाका चर्चित हास्यकलाकार  चार्ली च्याप्लिन् आउनु भन्दा अगाडि नै फ्रान्सेली स्रष्टा मोलिएरको हास्य पात्र स्काँपा लोकप्रसिद्ध भइसकेका थिए भने तारतुफ त्यस्तै पारिवारीक पात्र बनिसकेका थिए ।
फ्रान्सको गौरवशाली परम्परासित जोडिएको दशात्मक स्थितिमा अरुलाई हँसाउन सक्ने स्काँपाको फ्रेञ्च कमेडी माथि यसपालि धर्मको नाममा अधर्म गर्नेहरुले फ्रान्ससित अर्को मेटाफोर जोडिदिएको छ, फ्रेञ्च ट्रेजेडी । यसले वर्षौँसम्म मान्छेलाई रुवाउँछ, झक्झकाउँछ एउटै कारणले , स्वतन्त्रताको अर्थ अरुको अस्तित्व नै नस्वीकानु हो त ?
कालान्तरमा यो प्रश्न धर्ममाथिको कलंक त हुने नै छ तर यो वर्ष नै हृदयहीनहरुको सम्झनामा खेर गएको वर्ष पनि मानिने त्रास छ ।
सन् २०१४ मा कैयन् विश्वप्रसिद्ध व्यक्ति, राजनीतिज्ञ, स्रष्टा, कलाकार हृदयाघातले विते , के साँच्चै सांकेतिक भावमा हामी सबैसित हृदयस्थल नै नाश भएको हो, गत हप्ता फ्रान्समा भएको त्यो आक्रमणले यो सवाल वारम्बार उठाइरहेको छ ।
कुनै कवित्तमनले भनेका थिए, मौन शब्दबाटै जन्मिने हो ।
तर यो मौनताभित्र हजारौँ शब्द निःशब्द भएका छन् , फ्रान्सका प्रति ।
००

No comments:

Post a Comment