Friday 8 December 2017

Devkota by Prakash Sayami

देवकोटाः महान वा गरीब ?
प्रकाश सायमी, (सैंबु, ललितपुर)
गुरुजी, देवकोटाको तुलना भारतका कुन कविसँग हुन्छ ?
जवाफमा गुरुजीले भने देवकोटाको तुलना भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशंकर प्रशाद र निरालासित हुन्छ ।
राहुल सांस्कृत्यायनको यो प्रतिउत्तर सुन्दा भावुकताको चरमजस्तो लाग्छ । तर उनले अत्यन्त सम्मानका साथ यो उत्तर सुधीजनहरुका माझ दिएको प्रख्य इतिहास छ ।
नेपाल र भारतको तुलना गर्दा देवकोटाको तुलना सदैव भारतका तीन महान हस्ती पन्त, निराला र प्रसादसँग गरेको पाइन्छ । भारतका महाकवि सुमित्रानन्दन पन्तले भारतवर्षका महान् एघार नक्षत्रमा नेपालका महाकवि देवकोटाको नाउँ पनि गर्वका साथ जोडेर उनले उत्तर दिएकाछन् । उत्तरका क्रममा उनले नागार्जुन, रमण महर्षि, शंकर, गोरखनाथ, जे कृष्णमूर्ति र बुद्धका समतुल्य देवकोटा मानेकाछन् । तर नेपालीले देवकोटालाई दरिद्र कवि, दुःखी कवि र अव्यवहारिक प्राणी भन्दा अर्को संज्ञाबाट सम्बोधन गरेको कमै पाइन्छ ।
नेपालका महाकवि देवकोटालाई नेपाल र नेपालीले चिन्न नसकेको होइन । चिनेको तर परबाट अस्पष्ट रुपमा चिनेको र देखेको बुझिन्छ । उनले जीवन र जगतलाई आफ्नो दर्शन ज्ञान र आकर्षणले भोगेका छन् । देवकोटालाई कसैले कवि, कसैले दार्शनिक, कसैले उपन्यासकार, कसैले निबन्धकार, कसैले कथाकारका रुपमा पाएकाछन् । तर उनको समग्र स्वरुप एक गुरु वा एक चिन्तकका रुपमा हेरिनु जरुरी छ । उनी त्यससमयमा जन्मिए जतिबेला भारत र नेपालजस्ता मुलुक आफैंभित्र एउटा जटिल लडाइँ लड्दै थिए त्यो लडाइँको पहिलो धार हो जनजनमा आत्मजागरण जगाउनु । अनि राष्ट्र जागरणको भाव स्वतः मन मनमा फैलिन्छ यसको प्रत्यक्ष प्रभाव थियो देवकोटाको सुन्दर, शान्त, विशाल नेपालको परिकल्पना र विश्वकवि रबीन्द्रनाथ ठाकुरको जनगण मन ।
यी दुवै कविका विचार र विश्वासमा एउटा समानता के थियो भने पाठकप्रतिको जिम्मेवारी अनि चेतनशीलताको बोध ।
विश्वकवि रबीन्द्र ठाकुरले अँग्रेजको घनघोर विरोध गरे तापनि उनको अँग्रेजी भाषाको अध्ययन सामान्य मान्छेको भन्दा उच्च् र उम्दा थियो नेपालका महाकवि देवकोटाको क्षमता पनि त्यस्तै थियो उनले पश्चिमाजगतका होनहार कविलाई पानीजस्तै पिएकाथिए र त उनी आफ्नो रचनाको भावभूमिमा विश्वका ठूल्ठूला लेखकलाई पात्र बनाएर माचस्थ गर्थे । विश्वकवि रबीन्द्रनाथ ठाकुरलाई अत्यन्त सम्मान गर्ने महाकवि देवकोटाले आफ्नो अध्ययन कक्षमा रबिबाबुको फोटो कृष्ण भगवानसँगै सजाएर राखेकाथिए । उनी कविलाई भगवानजत्तिकै माया गर्थे भन्ने उनको सम्मान दृष्टिबाट अभिमिाचत हुन्छ ।
देवकोटाले आफ्ना समयका सबै महान् स्रष्टालाई पढ्न बुझ्न र लेख्न भ्याए । यसको कारण हो उनको रुचिसम्पन्न स्वभाव । उनी त्यस समयका महान् महान् स्रष्टासाथ देश विदेशमा सँगै र एउटै आरेखमा उभिएर बोल्न पाएका थिए । त्यो अवसरको उनले भरपूर प्रयोग गरेर समय समाज र संस्कारको विकास गरॆको सत्य हो । उनी राणाशासनका वेला दरबारबाट बोलाइएर ट्यूशन पढाउने पाउने आकर्षक शिक्षक थिए । उनको माग थियो । उनी त्यो समय एक साहित्यकारका रुपमा भारत रुस आदि मुलुक घुम्न पाउने र घुमेर त्यसको लाभ लिन सक्ने एक सम्मानित स्रष्टा थिए । उनी आफ्नो समयका शक्तिशाली लेखक बालकृष्ण सम बीपी कोइरालाजस्ता स्रष्टासित पनि समन्वय राख्न सक्ने र प्रतिस्पर्धा गर्न सक्ने साधक थिए । उनी एक शिक्षित परिवारका सन्तान भएकाले पनि उनलाई कुनै ठाउँ परिस्थिति र प्रवृत्तिमा झुक्न परेन ।
उदाहरणका लागि उनले धनी र कुलीन परिवारका लेखक समले जत्तिकै सम्मान पाए ।
राजनीतिक रुपले शक्तिशाली लेखक बीपी कोइराला र मबीवि शाहजस्ता स्रष्टाका सामु पनि उनको अन्तर्राष्ट्रिय जगतमा सदैव सम्मान भयो । उनलाई पश्चिमका एकेक कविले त्यतिकै अनुभूतिका साथ पढे र चर्चित बनाए ।
महाकवि देवकोटाको रुचिको कुरा गर्दा उनले घुम्न चाहेका सानोभन्दा सानो ठाउँ पनि मन लगाएर घुमेका वा पुगेका छन् । त्यो चाहे उनको बुढो मावली झिल्टुँग होस् वा भारतको पहाडी राज्य दार्जीलिङ । दार्जीलिङको टाइगर हिललाई त उनले माया गरेर बाघचूली नाम नै राखिदिएका छन् यो उनको सौम्यिक चरित्र हो । भ्रमणका शौखिन देवकोटा आफूमात्र होइन आफूलाई मनपरेका मान्छेलाई समेत लिएर भ्रमणमा निस्किन्थे । त्यसको सामान्य उदाहरण हो उनको भारतको आगराको भ्रमण । उनले आगरा जाँदा माधवप्रसाद घिमिरे शङ्कर लामिछाने र श्रीप्रकाश घिमिरेलाई पनि लिएर गएका थिए । आफ्ना अनुज आफ्ना शिष्य आफ्ना पि्रयजनलाई पनि त्यतिकै प्रेम गर्ने महाकवि देवकोटा इतिहास कला र राजनीतिका पारखी थिए उनले त्यही ज्ञानले प्रेरित भएर मित्रहरुलाई ताजमहल देखाउन लगेको इतिहास छ । ताजमहल देखाएका मात्र होइन ताजमहल देखाउन जाँदा उनले ताजमहलमाथि कविता लेखेर चर्चा पाउने कवि एवं शायर साहिर लुधिायनवीका कविता अन्तस्थबाट सुनाएका थिए ।
हिन्दी नेवारी अँग्रेजी भाषाका विज्ञ मानिने देवकोटाले उन्नाइँसौ शताब्दीमा आएका नयाँ नयाँ विधासित परिचित भएर सहकार्य गरेका छन् । उनले त्यतिवेलाको लोकपि्रय विधा मानिने नाटकलाई पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाए र त्यसैको परिणामस्वरुप डिल्लीबजारका युवालाई लिएर नाटकको निर्देशन पनि गरे । त्यही नाटकको निर्देशनका क्रममा उनले त्यतिवेलाका अभिनेता हरिप्रसाद रिमाललाई डिल्लीबजारको हिरो नाम राखिदिएका थिए । र उनी युवालाई आकर्षण दिन फिल्मीभाषामा हिरोको संज्ञा दिन्थे ।
युवाहरुका माझ सदैव लोकपि्रय देवकोटाले युवा पुस्तालाई पुस्तकको संसारतिर सदैव आकर्षित गरे । अर्नेस्ट हेमिङ्वेले पुस्तकजस्तो इमान्दार साथी तिमीले कोही भेट्दैनौ भने जस्तै महाकवि देवकोटाले सदैव पुस्तक र पुस्तकालयप्रति मानवमनलाई खिँचिरहे । जसको उदाहरण हो नेपालमा भारतीय सरकारको लगानीमा नेपाल भारत सांस्कृतिक पुस्तकालय खुल्दा उनले त्यहु लाइब्रेरियन भएका शंकर लामिछानेलाई सदस्यको संख्या बढाउन प्रशस्त सहयोग गरेका थिए । देवकोटाकै सहयोगमा त्यतिवेलाका युवा तेजेश्वरबाबु ग्वँगः जस्ता युवक त्यस पुस्तकालयको सदस्य भएका थिए । र उनले आज पर्यन्त उनको त्यो गुणलाई प्रेरणाको रुपमा लिएका छन् । यही प्रेरणाका कारण उनी सदैव युवामाझ उच्चाकर्षणका पात्र थिए ।
उनले सदैव युवालाई नयाँ नयाँ विधालाई मानवोच्चित सम्मान दिए । उनले युवाजगतलाई भ्रमबाट मुक्त हुन अनि सार्थक स्वप्नको दुनियाबाट विाचत हुन निर्देशन दिए । जब उनलाई युवा लेखक र उनकै विद्यार्थी शङ्कर लामिछानेले मार्ग निर्देशनको निम्ति सल्लाह माग्न गए उनले स्पष्ट भने " रिपिटेशन अन् दि सेम लाइन ह्याज नेा मिनीग । म लागेको बाटोमा तिमी आउने हो भने नआउनू ।"
यसैको परिणाम स्वरुप उनले नेपाली गीत सङ्गीतका निम्ति पनि युवाका चासो निम्ति गीत रचना गरे र युवालाई हौसला पनि दिए । आफ्ना मित्र आशागोपाल गुरुवचार्यका छोरा नारायणगोपाललाई उनले सदैव सुगम सङ्गीतको विकासमा र त्यसको रचनात्मक संरक्षणमा अगि बढ्न सल्लाह र सुझाव दिए ।त्यही प्रेरणाले गायक सङगीतकार नारायणगोपालले कवितका गीत कविका कवितालाई सँगीत गरे गाए । र स्वयम् नारायणगोपालले पनि आफ्नो एक निबन्धमा सो विषयमा लेखेकाछन् यदि देवकोटा बाँचेका भए भनेर । त्यो निबन्धमा स्वरसम्राट नारायणगोपालले रुचिसम्पन्न कवि देवकोटाको विचारको उच्चता र वैभवको उच्चभावले प्रशंसा गरेकाछन् । देवकोटाको व्यक्तित्वबाट प्रभावित भएर नारायणगोपालले महाकविको कालजयी कृति सगरभरि छाति चिरी लाई गीत बनाएर गाए । देवकोटालाई हृदयतः मनन गरे ।
नारायणगोपालले आफू चेतनाले सम्पन्न भइसकेपछि महाकविको गीति नाटक मुनामदन लाई सबभन्दा सुन्दरतापूर्वक सँगीत गरेर सजाए जसका कारण देवकोटा फेरि जन्मे फेरि अर्को आयु पाए । यो देवकोटाको युवाप्रति युवापनको सँगीतप्रतिको परिणाम हो । उनले जीवनलाई चिनेका थिए जानेका थिए ।
नारायणगोपाल मात्र होइन देवकोटा सङ्गीतप्रवीण नरराज ढकाललाई पनि अति माया गर्थे ।
शास्त्रीय सँगीतका ज्ञाता नरराज ढकाललाई उनले सुयोग्य सम्झेर आफ्नी भााजी बधुको रुपमा दिन सहर्ष स्वीकार गरे र उनले सङ्गीतका अनुसेवी ढकालको उत्तरोत्तर भविष्यको सदैव सफलताको कामना गरे । सँगीत प्रवीण नरराज ढकालले सदैव महाकवि देवकोटाको धन दौलत नहेरी व्यक्तिको प्रतिभाबाट प्रभावित भइ महाकविले गरेको यो गुण गाइरहे ।
देवकोटाले नेपाली जनस्थानमा शिक्षाको प्रतिभाको र सामूहिकताको सदैव प्रशंसा गरेकाछन् । उनले साहित्यको अध्ययनमा पाण्डित्याँई नदेखाइ हरेक किसिमको अध्ययनमा जोड दिए त्यो चाहे इलियट होस् वा बैकन । टैगोर होस् वा गालिब । शेक्सपियर होस् वा पल् भेलेरी । उनले सम्मानका साथ पढ्न र पढाउन लगाए । यो नै देवकोटाको बैयक्तिक विशेषताको पहिचान थियो । तर देवकोटाको दुर्भाग्य भनेको समकालिकता हो ।
उनलाई सबभन्दा बढी उनकै समकालीनले चिन्न सकेनन् । उनलाई उनी जन्मेको समाजले गलत व्याख्यातीत गरे । उनी सदैव प्रतिभासम्पन्न भन्दा गरीब र निर्धन भएर बाँचको परिस्थितिकीको चर्चा गरे । यो देवकोटाको जीवनको ठूलो त्रेजेडी मान्न सकिन्छ ।
मनपरेको खान पाउने मनपरेको ठाउँमा घुम्न जाने र त्यस्तो समयमा मनले चाहेजस्तो पढ्न र पढाउन पाउने सौभाग्यशाली व्यक्ति देवकोटालाई बारम्बार नेपाली जनसमाजले सरकारलाई गाली गर्ने बाहना गरीब बनाइरह्यो तर वास्तवमा उनी गरीब चैँ थिएनन् वल्कि उनी त्यससमयका अन्तर्राष्ट्रिय समाजमा समादृत स्रष्टा थिए र विश्वका निम्ति नेपालका सांस्कृतिक राजदूत थिए ।
यो कुरा हाम्रो अर्द्ध बौद्धिक समाजले कहिले र कुनै शर्तमा बुझ्न सकेन ।
विश्वले मानेका र पुजेका महान देवकोटा नेपालका गालिब नेपालका बोर्खेस नेपालका कामू थिए यस कुराको हेक्का हामीलाई सयवर्षपछि पनि भएको छैन ।
सयवर्षपछि पनि हामीले देवकोटालाई उर्दूका महाकवि गालिबलाई जति पनि सम्मान नदिएर क्ष्ाधापूर्वक उनको गरीबी उनको चरुट उनको दयनीयताको व्याख्या गरिरह्यौँ भने सबभन्दा बढी हाम्रो गरीबी झल्किरहनेछ ।
हामी यो गरीबीबाट मुक्त होऔं ।

No comments:

Post a Comment