Wednesday 29 July 2015

Gayak Fatteman by Prakash Sayami

युग गायक  फत्तेमान ः दृश्य –अदृश्यमा
प्रकाश सायमी




नेपाली संगीतका पाँच युगमा विशेष चर्चा हुने युग हो, नेपाली संगीतको स्वर्णिम युग । यसका युगलाई क्रमवद्ध रुपमा हेर्दा २०१८ देखि २०३५ सम्मा मानिन्छ ।
लगभग यो दुई दशकको समावधिमा नेपाली संगीत आकाशमा धेरै यस्ता होनहार कलाकार आए, जसले नेपाली समाजलाई समृद्ध, सम्पृक्त र सशक्त बनाए । यसमा चार पक्षको सशक्त भूमिका रह्यो, गायक, संगीतकार, गीतकार र स्रोता समाज । नेपालीभाषी स्रोताले जमेर नेपाली गीतसंगीत सुने र तत्कालीन समाजमा हिन्दी गीतसंगीतलाई खुलेर वहिष्कार गरे, त्यसमा रेडियो नेपालको प्रमुख भूमिका रह्यो ।
रेडियो नेपाल स्थापनाको ठीक नौ वर्ष पछि आएका यी कलाकारमध्ये नारायणगोपाल, माणिकरत्न, अरुणा लामा, अम्बर गुरुङ, बटुकृष्ण ज्वाला,  वच्चुकैलाश, फत्तेमान राजभण्डारीको महत्वपूर्ण भूमिका रह्यो । यद्यपि यो भन्दा एक दशक अगि आएका नातिकाजी, हरिप्रसाद रिमाल, उस्ताद भैरववहादुर थापा, तारादेवी, कोइलीदेवी, धर्मराज थापा, प्रेमध्वज प्रधानको पनि महत्वपूर्ण कदम रह्यो भनें उस्ताद् साइँला, मास्टर मित्रसेन, उस्ताद् बद्री, मास्टर रत्नदासको देन अलगै रह्यो ।
नेपाली संगीतको स्वर्णिम युगमा आएका गायक गायिकाले राम्रा संगीतकार, गीतकार पाए त्यस्ता भाग्यमानी गायक मध्ये फत्तेमान राजभण्डारी एक हुन् ।
काठमाण्डूको जयवागेश्वरीमा जन्मेका फत्तेमानको शुरुवाती गायन पशुपतिको भजन र भारतीय मूलका धुरन्धर गायकबाट प्रभावित  थियो ।
उनले भक्ति संगीतबाट गायन शुरु गरेको भएपनि उनलाई ख्याति सुगमसंगीतमा आएर मिल्यो, यो सौभाग्य जुटाउने उनका गुरु वा अग्रज नातिकाजी श्रेष्ठ थिए ।
नातिकाजीको संगीतमा फत्तेमानले गाएका गीतबाट उनको विशिष्ट पहिचान वन्यो । नातिकाजीको संगीतमा गाएका मर्न वरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिनँ र यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले ... यी दुई गीतले फत्तेमानलाई नेपाली सुगम संगीतमा आफ्नो पहिचान बनाउन शक्त बनायो । तीर्थराज तुलाधर र यादव खरेलका यी शब्दलाई संगीत गर्ने नातिकाजीको स्वर्णस्पर्शी हातले फत्तेमानको ओठमा चढ्न पाउँदा एउटा चमक र तरंग ल्यायो । फत्तेमान आफ्ना समकालीन माणिकरत्न, महेश पाल्पाली, भृगुराम श्रेष्ठ, पुष्प नेपाली, कन्हैयाकुमारका अगाडि फरक देखिए ।
स्वरमा मिठास, घनत्व र विविधता भएका कारण फत्तेमानले अन्य संगीतकार शिवशंकर, अम्बर गुरुङ, कोइलीदेवी, नारायणगोपालका संगीतमा पनि गाए । नातिकाजीको संगीतपछि फत्तेमानको स्वरलाई नयाँ धरातल दिने दुई संगीतकार शिवशंकर र नारायणगोपाल थिए ।
शिवशंकरको संगीतमा गाएको कस्तो बत्ती बालिएछ रात आफैँ विझाउने, कस्तो माया लाइएछ ले उनलाई एउटा पृथक परिचय दियो तर नारायणगोपालको संगीतमा गाएको गीतले वृहत परिचय बनायो । यसले नेपाली संगीतमा दुई ध्रुवको असीम मिलन भन्न सकिन्छ ।
नारायणगोपालसित परिचय र गायन
नारायणगोपाल कुशल गायक, संगीतकार र अभिनेता थिए (स्मरणीय रहोस्, उनको मञ्चीय जीवन २०१३ मा नाटक त्याग बाट शुरु भएको थियो ।) तर उनको विरासत उस्ताद् आशागोपाल गुरुवाचार्यको घरबाट शुरु भयो भने उनको सांगीतिक संगत दुई हस्ति प्रेमध्वज प्रधान र माणिकरत्नबाट चुलियो । शास्त्रीय संगीतका ज्ञाता भएको ठाउँ वरौदाको महाराज फिरदौस संगीत विद्यालयमा उनको शास्त्रीय अध्ययन भयो तर गायनको ज्ञान गरिमामा उनी अम्बर, गोपाल र कर्म योञ्जनका सन्निकट थिए । उनलाई राम्रो स्वर र त्यसको प्राकृत अवस्थाको संकेत नहुनु असम्भव छ , यही विधि विधानमा उनले फत्तेमानको गुणगम्भीर स्वरलाई ग्रहण गरे ।
नारायणगोपालले मनपराएका गायक फत्तेमानको स्वर विद्युतीय तरंगमा गुञ्जिसकेको थियो भने परिचय र निकटताको क्रम बढाइदिए, न्हैकन्तला निवासीय नरेन्द्र बाटाजूले । सितारवादक बाटाजूले फत्तेमान र नारायणगोपाललाई परिचय गराईदिएको त्यो क्षण सम्भवतः नेपाली संगीतको एक महत्वपूर्ण घटकको रुपमा  लिन सकिन्छ, गोपाल योञ्जन र नारायणगोपाल मित लगाएको क्षण जस्तै ।
फत्तेमानको स्वरको मात्र होइन, व्यक्तित्वबाट प्रभावित नारायणगोपालले तुरुन्तै आफ्नो संगीतमा नारायणगोपालका निम्ति केही गीत संगीत गरेर गाउन दिए, ती सबै गीत तीसदशकका सर्वाधिक चर्चित गीत भए, जिन्दगीका पानाभरि सुख भेटिँदैन, वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले र शान्तिको धरा ..
यी सबै गीतले फत्तेमानलाई नेपाली संगीत समाजमा उच्चाकर्षण दियो दुई कारणले, एक नारायणगोपालको सम्बल र सशक्त संगीतले र अर्को, नारायणगोपालले आफ्नो संगीतको गीत आफूले वाहेक अरुलाई गाउन दिएका थिएनन् यस्तो भाग्य पाएका उनका दोस्रा गायक हुन् कन्हैयाकुमार सिंह पछि ।
फत्तेमान पछि मात्र अरुणा लामाले नारायणगोपालको संगीतमा अरुणा लामाले गाएकी थिइन् ।
नारायणगोपालको संगीतमा गाएर फत्तेमान राजभण्डारीले जुन परिचय नेपाली सांगीतिक समाजमा बनाए त्यसका निम्ति उनलाई भजन शिरोमणी, गायन शिरोमणी वा युग गायक कुनै पनि परिचय उपयुक्त भएन, उनी नारायणगोपालको नजरमा संगीतका महाराज भए र उनलाई दिलदार गायक स्वरसम्राट नारायणगोपालले महाराज उपनाम दिए ।
नारायणगोपालले महाराज उपनाम दिएका फत्तेमानको दोस्रो पारी –इनिँग) अझै यादगार भयो जब उनको दार्जीलिँगबाट नेपाल आएर स्थायी बसोबास गरिरहेका अम्वर गुरुङसित भयो । अम्बरसित उनले केही कालक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत शाखामा सहकर्मी भएर काम पनि गरे , यी क्रममा अम्बरको संगीतमा फत्तेमानले फर्केर हेर्दा, जब घाम लाग्छ जस्ता नाटकमा गीत पनि गाए । यी गीतको विशिष्टतालाई कायम राख्न अम्बरले संगीतमा जति मिहेनत गरे, त्यतिकै गायनमा फत्तेमानले पनि अहम् भूमिका निभाए, फर्केर हेर्दा जे देख्छौ तिमी अरुलाई नभन, म फूल होइन मानिस हुँ, तिमीलाई गरीब भन्दा जस्ता गीत यस समयका  प्रतीक हुन् ।
नाटककार सत्यमोहन जोशीको शब्दमा रचित फर्केर हेर्दा जे देख्छौ तिमी बोलको गीतले फत्तेमानलाई रंगमञ्चका नायक नै बनाएको थियो , उनी जमे यस गीतमा । यो इतिहास भुल्न नसकिने गरी कोेरिएको छ नेपाली नाटकको आलेखमा ।
अम्बर र फत्तेमानको संयुक्ति –कोर एशोसियसन)को जोडदार नमूना बनाईदिए अर्का कवि श्यामदास वैष्णवले । वैष्णवको हातबाट पाएको कवि गोपालप्रसाद रिमालको गीत रातो र चन्द्र सूर्य जंगी निशान अम्बरले दसमिनटमा संगीत गरे । यति कम समयमा संगीत गरिएको यो गीत यति लामो समय सम्म टिक्नुमा अम्बरको संगीतजस्तै स्वर अनि फत्तेमानको सहगायन प्रमुख मानियो । आज पनि यो गीत नेपालका क्रिकेट खेलाडी खेल मैदान आफ्नो जोश थप्न गाउँछन् , यो गीत गाएर उत्साह वढाउने नेपाली खेलाडीलाई थाहा छैन होला यसमा फत्तेमान जस्ता होनहार गायकको स्वरको जार्गन र गर्जन पनि छ भनेर ।
फत्तेमान र अम्वरको अर्को सफल योगदान रह्यो, अम्वरकै शब्दमा रहेको होशियार, यसवखत होशियार ..गीत । यस गीतमा अम्बरले फत्तेमानलाई फत्तेमान भन्दा १८ वर्षपछि आएका नयाँ गायक भक्तराज आचार्यसित उभ्याइदिए र यहाँले फत्तेमानले आफ्नो करामत छोडेनन् ।
नेपाल र नेपालीलाई जगाउन तयार पारिएको यो गीतमा फत्तेमानको स्वरले अलग्गै आस्तित्विक अभियान दिएको थियो । यस वाहेक फत्तेमानले अम्बर गुरुँगको संगीतमा गाएका छन् ।
फत्तेमानको गायनको अर्को महत्वपूर्ण पक्ष हो, लोक शैलीको गायन । यस शृँखलामा उनले पुण्यप्रसाद सुवेदीको शब्दमा घिन्ताङ्मा  घिन्ताङ् मादलै बज्यो एक कालचिन्ह्को रुपमा सदा सम्झना गरिने गीत हो, यस गीतमा फत्तेमानसित युगल स्वरमा तारादेवीको स्वर समाविष्ट छ भने नातिकाजीको संगीतको विशिष्ट जादू कायमै नै छ । तर वीसको मध्यमा रेकर्ड भएको यो गीत साठीको दशकमा फत्तेमानले नयाँ पुस्ताकी गायिका अञ्जु पन्तसित गाउँदा पनि यसले आफ्नो कालवोध यथावत कायमै राखेको थियो । यही गीतबाट आजकी उदीयमान गायिका अञ्जु मञ्चमा आएकी थिइन् ।
फत्तेमानले युगल गायनमा तारादेवी वाहेक कमला श्रेष्ठ, ज्ञानु राणासित पनि गाएका छन् भने उनले राष्ट्रिय भावका गीतमा पुरुष कलाकारसित सहगायन गरेका छन् ।
राष्टिय भाव, आधुनिक, लोकगायन, भजन वाहेक फत्तेमानको गायनको विशिष्टता उनको गजल शैलीका गायनमा विशेष देखिन्छ, शम्भुजित वाँसकोटाको संगीतमा उनले गाएको अँध्यारो मेरो यो भाग्य रेखा .. त्यसमध्ये एक स्मरणीय आधार मान्न सकिन्छ ।
उस्ताद् भैरववहादुर थापा, दीपक जंगम, ज्ञानवहादुर, गोविन्दवहादुर नेपालीका गीत गाएका फत्तेमानले पछिल्लो पुस्तामा शुभवहादुर, शम्भुजीत वासकोटा, डाक्टर किराँत सम्मका गीत गाएका छन् ।
उनको गायनको युगलाई नेपाली संगीत आकाशमा सम्मानका साथ गर्विलो स्वरको भव्य युग मानिन्छ तर उनले गाउने चाहेका र गाएका जस्ता गीतको संरक्षण नेपाली संगीत भइरहला त ? यो प्रश्न अति आदरणीय गायक फत्तेमानले छोडेर गएका छन्
नेपाली संगीत आकाशमा लामो समयसम्म निरन्तर गाउने गायकमा फत्तेमानलाई सदा सम्झना गर्न सकिन्छ तर सवभन्दा अलग तर्कमा आधारमा हेर्ने हो भनें उनी नेपाली संगीतको पुनर्जागरण युगमा पुनः सक्रिय हुने गायकका रुपमा सम्झना गर्न सकिन्छ ।
उनको गायनको शिष्टता, सरलता र आभ्यासिक स्वरका कारण अनि उनको सामाजिकता र सद्भावनाका कारण सदैव सम्मानका साथ हेरिनेछ ।
उनी प्रति नेपाली जगतले हरेक किसिमको सम्मान दिए पनि उनी माथि भएको अन्याय पनि कहिले विर्सिनसक्नुको छ, उनको निधन हुँदा राष्ट्रले उनलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान दिन नसक्नु त्यतिवेलाको सरकारको नालायकी मान्न सकिन्छ ।
संगीत रचना, गायनमा आफ्नै किसिमको बौद्धिक पाक भएका फत्तेमानको रातो र चन्द्र सूर्य देशभरि गुञ्जिने तर उनलाई यही देशले एउटा प्राज्ञको रुपमा कुनै पद दिन नसक्नु वा देशका ठूल्ठूला पुरस्कार ती चाहे जगदम्बा श्री हुन् वा इन्द्रराज्य लक्ष्मी पुरस्कारबाट वञ्चित हुनु हाम्रै संगीत समाजको पनि कति ठूलो कृतध्नता वा नालायकी हो ठोकुवा गरेर भन्न गाह्रो छ ।
फत्तेमानले त गाएर आफ्नो कर्म र धर्म फत्ते गरेर गए तर उनका अनुयायीले उनको योगदानलाई फत्ते गर्न सक्छ, यो प्रश्न सदैव खट्किरहन्छ अनन्त सम्म ।
००
 

No comments:

Post a Comment