Sunday 10 May 2015

Nepali Ekata by Prakash Sayami

भूकम्पमा नेपालीको यस्तो एकता

प्रकाश सायमी | २०७२ बैशाख २६ शनिबार1388 पटक पढिएको
104
1
भनिन्छ, भूकम्प एकपटक आउँछ तर त्यसको कम्पन घरिघरि आइरहन्छ।
यो साह्रै पुरानो कुरा। तर एकदम सत्य कुरा। भौगर्भिक यथातथ्यमा दोहोरिइरहने साँचो कुरा हो यो। तर, यसका निर्मितिका पछाडि अनेक तर्कना छन्, भूकम्पले अनेक उथलपुथल ल्याउँछ, मान्छेलाई ब्यूँझाउँछ, सुताउँछ अनि सताउँछ। यस्तै भनिएको कथा छ।
नेपालमा ९० सालको भूकम्पदेखि यसपालि ७२ सालसम्मको भूकम्पका बीचमा ८२ वर्षको इतिहास छ। यो ८२ वर्षको दरम्यानमा अन्य कैयन् भूकम्प गए तर त्यसको खास लेखाजोखा छैन। तहसनहस र क्षतिको हिसाबले यी दुई भूकम्पले नेपालका युवा, वृद्ध, बालबालिका सबैलाई त्रस्त बनाइदियो। छोयो सबैलाई भित्रैदेखि, अन्तरकुन्तर हल्लाइदियो।
भूकम्प आउँछ भन्ने हल्ला त पहिलेदेखि नै थियो तर यसको प्रारूपिक तयारी थिएन भन्ने बुझियो यसपालि। २०१८ सालमा बरु यसको अलिअलि प्राभ्यास गरिएकै थियो। तर, यसपालि शून्य बराबर नै थियो।
कैयौंले वर्षौंदेखि भूकम्पको नाउँ विभिन्न संघसंस्था र एनजीओ चलाएर खाएका थिए, डिस्यास्टर म्यानेजेमेन्टका कैयन् साइनबोर्ड झुन्ड्याएकै थिए तर वैशाख १२ गते ती सबको बाह्र बजाइदियो भूकम्पले।
यसलाई सुरुमा महाभूकम्प भनियो।
पछि विनाशकारी भूकम्प भनेर पुन: नामकरण पनि गरियो। हामी यसबाट के बुझ्छौं भने ९० सालमा ध्वंश भएका धेरै कुरामध्ये यसपालि दरबारमार्गको छेउमा रहेको घन्टाघरले आफ्नो पहरेदारी दिइरह्यो, त्यो भत्केन वा चर्केको खबर सम्म पनि आएन बरु त्यसैको पारिपट्टिको दरबार हाइस्कुलको क्षतिको तस्बिर पहिलो कम्पनमै चश्मदीद गवाह बन्न पुग्यो।
रानीपोखरीको पानीसँगै भिजेएर बसेको घन्टाघरको जग सायद बलियो थियो कि? तर, घन्टाघरसँगै पुन:र्निमाण भएको धरहराले यसपालिको विनाशलाई सहन सकेन।
धरहरासित ९० सालपछिको सुन्धाराको झरझर बगिरहने पानीको कथा अब काठमाडौं मलले सुकाइसकेको थियो। काठमाडौंको परिकल्पना गर्ने कर्मचारी सञ्चय कोषलाई मान्नैपर्छ यो घडीमा जसले एउटा ऐतिहासिक धाराको मुहान सुकाउनमा ठूलो छलाङ लगायो।
काठमाडौं मल बन्दै गर्दा नै आजभन्दा २५ वर्षअघि काठमाडौं ट्वान्टी ट्वान्टीका संयोजक रविराज कर्माचार्यले भनेका थिए, 'यो भवन बन्नु सुन्धारा, धरहरा, हनुमानढोका सबैका निम्ति खतरा छ। यहाँ फ्लाई ओभर बन्नु, ठूल्ठूला क्रसिङ ब्रिज बन्नु तनावपूर्ण छ।
ललितपुरको भूतपूर्व सैनिक संगठनमा कर्माचार्यले भनेका यी भनाइ पंक्तिकारको कानमा अझै गुञ्जिरहेको छ। धरहरा, सुन्धारा त अब रहेन तर रविराजको भनाइ शाश्वत सत्य नै बनेको छ।
असन वा भोटाहिटीभित्र पनि अन्नपूर्ण मन्दिर छेउमा यस्तै विशालकाय भवन बनेको भए हुन्थ्यो के? आज असन गोँगबुजस्तै ध्वस्त हुन्थ्यो।
गोँगबुको आफ्नै गर्वशाली इतिहास थियो, त्यसलाई त्यहाँ बनेका कालचुम्बी घरले सखाप बनाइदियो, रहेन त्यो इतिहास अब। भनिन्थ्यो, गोँगबुमा धानको एउटा बालाले नौ मालाको धानको बाला झुलाउँथ्यो र त्यही धानको बालाले उपत्यका धान्थ्यो। गोँगबु अर्थात् भाले नाच्ने खेत अब इतिहासको कालखण्डमा यो भूकम्प कथाभन्दा पहिले हराइसकेको थियो।
अब यो भूकम्पले त्यहाँका विशालकाय भवनको नाश गर्‍यो। त्यस्तो घर बनाउन स्वीकृति दिने नियामक, नगरपालिका वा प्रशासन प्रणाली कति हदसम्म यसको दोषी हो? लेखाजोखा बाँकी नै छ।
लोभ लालच र भ्रष्ट आचारले बिगारेको हाम्रो प्रशासन प्रणालीले सांस्कृतिक जीवनलाई डस्यो, नाश ग:यो, आज त यही नागरिकीय जीवनलाई पनि नारकीय बनाइदियो।
कथा यत्तिमात्रै हो तर दु:ख अनन्त छ। गोर्खा, भक्तपुर, सिन्धुपाल्चोक, खोकना, बुंगमती सारालाई छियाछिया पा:यो। कतिमा प्रशासनको दोष होला कतिमा हाम्रो लापरबाही?
त्यसको पनि हिसाबकिताब थाती नै रह्यो।
यी सारा कुरा भईकन पनि यसपालिको विनाशकारी भूकम्पले नेपालीका बीचको सद्भाव, एकता र सहचार्यलाई अनुपम चरित्रको रूपमा प्रस्ट्यायो। नेपाली एकदम सहिष्णु जाति रहेछ भन्ने प्रमाणित गर्‍यो।
के राहत, के पैसा, के स्वास्थ्य सेवा? सबैमा एकजुट भएर देखा परे। नेपालीले नेपालीलाई देखाएको अदम्य साहस र स्नेह इतिहासभर यादगार हुने भो।
सामाजिक सञ्चाल, सञ्चारजगत्, सूचनाचक्र, लिपि प्रतिलिपि सबै कुरामा नेपालीले आफ्नो प्रेमभाव देखाए।
'तिमीलाई शक्ति चाहिन्छ जब कुनै कुरा दबाउन वा हत्याउनु छ भने यदि तिमी केही उद्धार गर्न चाहन्छौ भने प्रेम नै काफी छ।'
विश्वप्रसिद्ध चलचित्र अभिनेता चार्ली च्याप्लिनको यो भनाइ यसपालिको भूकम्पको प्रकोपपछि देखियो। शक्ति हुने, सत्तामा हुने, पार्टीमा हुने वा राजनीति गर्ने मौन देखिए तर जो कहिल्यै कुनै राजनीतिक जुलुस, सभा, समारोह वा पार्टीको ब्याच वितरणमा कमै देखिए। त्यस्ता मान्छे सहयोग, स्नेह, सद्भाव र राहत वितरणमा देखिए।
यसपालिको विनाशकारी भूकम्पले नेपालीका बीचको सद्भाव, एकता र सहचार्यलाई अनुपम चरित्रको रूपमा प्रस्ट्यायो। नेपाली एकदम सहिष्णु जाति रहेछ भन्ने प्रमाणित गर्‍यो। के राहत, के पैसा, के स्वास्थ्य सेवा? सबैमा एकजुट भएर देखा परे। नेपालीले नेपालीलाई देखाएको अदम्य साहस र स्नेह इतिहासभर यादगार हुने भो।
भूकम्पले तोडेको जमिन भएकै बेला मन जोडेको छ सारा नेपाली एक भएका छन्, नेपालीले आफ्नो दह्रो एकता देखाएका छन् यति बेला। विभिन्न नाराले देश टुक्रा पार्ने खेल भइरहेका बेला हात हातेमालो गर्दै देश जोडिँदैछ।
समय कठोर छ, बलवान् पनि। समय शक्तिशाली छ र धराशयी पनि। तर, किनारमा बसेर हेर्नेबाहेक अर्को विकल्प छैन। विकल्प भगवान्, जिसस वा मोहम्मद पनि होइन, मान्छे नै रैछ भन्ने पुष्टि भयो।
मान्छे नै आपत्मा मान्छेको काम आउँदो रहेछ। मान्छे यस्ता सब विपद्का लागि तयार हुनुपर्ने, यस्ता विपद्मा पनि मान्छेले मान्छेकै मुख हेरेर, हात समाएर अघि बढ्नुपर्ने रहेछ भन्ने कुरा त सत्य नै भो।
संकट पर्छ मान्छेलाई
ढुंगालाई के पर्छ
युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो कवितामा भनेकै हुन्। रामेश, रायन, अरिम, मञ्जुलले गाएकै हुन्। मान्छे हरेक संकटका लागि उभिनुपर्ने रहेछ मान्छेकै आँखामा।
मान्छे यस्तो संकटमा पनि पाँच दिन, ६ दिन, सात दिन, आठ दिन, नौ दिनसम्म ढुंगाले पुरिएर थिचिएर बाँचेको समाचार विश्वसामु इतिहास बन्यो।
'जहाँ पर्खाल छ, त्यहीँ तिम्रो बाटो छ', फ्रेडरिक नित्सेले वर्षौंअघि भनेको यो यथार्थ यसपालि एउटा अर्थवत्तामा परिणत भयो। मान्छेले आफ्नो द्वार आफैं बनाउनुपर्छ बाधाले छेकिए पनि।
मान्छेले संकटमा आत्तिनु हुँदैन, डराउनु हुँदैन भन्ने कुरा यसपालिको यो भावदशाले सिकायो। मान्छेलाई संकटमा पनि साहस चाहिन्छ, धैर्य चाहिन्छ भन्ने कुरा यस कालखण्डले देखायो।
संकट त हरेक घडीमा छ तर संकटसित सामना गर्ने कला हामीले आफैंसित सिक्नुपर्छ भन्ने भावबोध दियो यसपालि भएका अद्भुत अद्भुत घटनाले।
संकट त पाइलापाइलामा छ तर सामना गर्न हामी तयार हुनुपर्छ। यो कलमी घोषणालाई हाम्रा वीर, धीर र शूर नेपालीले प्रमाणित गरे।
द्वार, उद्धार, संहार, प्रतिहारको क्षणमा नेपालीलाई दुई कुराले साथ दियो, आँसु र रगत।
रगतले आक्रोश दिन्छ तर आँसुले करुणाको भाव।
आँसुले विनय पोख्छ, रगतले प्रणयको दशा अभिव्यक्त्याउँछ।
वास्तवमा यी दुवै कुरालाई बचाउन सक्नुपर्ने रहेछ यस्तो आपद् र संकटमा।
नेपालका भूमिपुत्रले यसपालि आफ्नो आँसुले बचाएको छ, यो गौरवपूर्ण जीवनको अस्तित्व।
नेपालीमाथि परेको अर्को धारिलो प्रहार यसपालि फरक शैलीको पर्‍यो, भारतीय मिडियाको एकतन्त्री प्रसार। र, काँचको पर्दामा नेपाली जनजीवनको गरिबी र दुर्दशाको नांगो तस्बिर, जसका कारण नेपाल र नेपाली भूकम्पले भन्दा यस पापरवाज्जीले आहत भए। तर, यसलाई पनि सूचनामैत्री नेपालीले एकजुट भएर सामना गरे।
एक स्वरमा सारा नेपालीले विरोध गरे सामाजिक सञ्जालका माध्यममा, गो होम इन्डियन मिडिया भन्ने ह्यास्ट्याग यस हप्ताको पहिलो दिन पहिलो आरेखमै प:यो। भारतीय बुद्धिजीवी र साहित्यिक जगत्ले समेत नेपालीको यो कदमको खुलेर प्रशंसा गरे, भारतीय मिडियाको तानाशाहीबाट विरक्त भएका भारतीय राजनीतिक एवं सामाजिक जगत् पनि यही मौकामा खनिए, भारतीय मिडियातन्त्रमाथि।
यसपालि थाहा भयो, पत्रकारले मनमा लागेको लेख्ने हो तर मनपरी लेख्ने वा बोल्ने होइन रहेछ। पत्रकारिताको बिग्रिभत्किसकेको सिद्धान्तमाथि फेरि एकपटक गम्भीरतापूर्वक सोच्नुपर्ने बनायो, गो होम इन्डियन मिडिया ट्रेडिङले।
नेपाली सहनसक्ने, सहनसक्ने र दुख्ने गरी सहनसक्ने जाति हुन् तर सहन नसकेपछि ध्वंश गर्नसक्ने जाति पनि हुन् भन्ने पहिचान भयो यसपालिको यो घटनाले।
भूकम्पले धाँजा पारेका जमिनलाई त कालान्तरमा समयले यो प्रकृतिले जोड्ला तर नेपाली मन मुटुमा यसपालि कसैले धाँजा पार्न सकेन।
नेपाली मन दह्रो छ, बलियो छ र चोखो छ भन्ने सन्देश प्रवाहित भयो यही मौसममा।
गोपाल योञ्जनले त्यसैले गीतमै भनेका छन्,
सबैले मन खोलेर भन जय जय नेपाल
भन्यो कि बन्यो नेपाल हाम्रो सुन्दर शान्त र विशाल।
होइन भने नेपाली नभन
वीरको छोरा नातिमा नगन
छ धेरै छ गर्नु सेवा नेपाली बन्नलाई...
आज नेपाली मन जागेको छ, देश, विदेश र सर्वत्रबाट नेपालीले मन फुकाएर खर्च पठाएको छ। एक नेपालीले अर्को नेपालीको आँसु पुछ्न रुमाल पठाएको छ, सान्त्वनाले भरिएको प्रेमको रुमाल। यसलाई नेपालीपनको कमाल मान्नुपर्छ।
यसपालि भूकम्पपीडित क्षेत्रमा राजनीतिक पार्टीका नेता कम देखिएका छन्; डर, अभाव र आफ्नो प्रतिबद्धताले गर्दा। सबैतिर भय छ, नेताको अनुहार लिएर बाहिर आउँदा कस्तो किसिमको हमला हुने हो भनेर।
यो डरमा नेताले आफ्नो फेसियल भ्यालु बचाउन अब धेरै मेहनत गर्नुपर्ने देखिन्छ, आपत्मा राजनीतिक पहिचान त्यागेका छन् नेपालीजनले।
यस्तो बेला राजनीतिले कम काम गर्दो रहेछ। भूकम्प गएकै बेला प्रधानमन्त्रीलाई घेराउ गर्न गएका केही लेखक कविको धर्नालाई पनि जनताले राजनीतिक लेप लगाएर थुइक्क भनेका छन्।
भूकम्प जमिनमा मात्र होइन, मनभित्र पनि जाँदो रहेछ।
केही समयदेखि टेलिभिजन र अखबारको पानामा सधैं देखिने छद्म अनुहार विलय भएको छ।
यही हो भूकम्पको नयाँ कम्पन।
- See more at: http://annapurnapost.com/News.aspx/story/11543#sthash.oXqKqTJy.pFFhN0fr.dpuf

No comments:

Post a Comment