Thursday 8 January 2015

Paribhasha by Prakash Sayami

परिभाषा

प्रकाश सायमी, (ललितपुर)



धेरै कुरा बद्लिएको छ
यो मानवशालामा ।
नबद्लिएको एउटा कुरा छ यो
त्यो हो परिभाषा ।
परिभाषा ।

सबैका दुइटा भएको छ ।
नया र पुरानो ।
दरबार नया
सडक नया
कानुन नया
संविधान नया
तर मान्छे पुराना भएका छन् ।

मान्छे पहिले थिए
अहिले जनता भएकाछन्
पहिले मूर्त थिए
अहिले अमूर्त भएकाछन्
शासक चाहन्छन्
हतियार किन्न
विदेश भ्रमण गर्न वा सेना रुपान्तरण गर्न ।
तर नाम सारिन्छ जनताको ।
सांच्चै यो कुरा नया भएको छ
दरबार पुरानो राजा नया
राजा पुरानो युवराज नया

नया अनुहार यति विध्न छाए यो शहरमा
आंखा खोल्न पनि गाह्रो भो
आंखा पुरानो चश्मा नया
यो अाजान शहरमा नचिनिकन नमस्ते सलाम दुआ भन्न गाह्रो भो
बीच बजारमा उभिन्छु देख्छु
बजार पुरानो बजार भाउ नया
पहिले तोलामा बिक्थे नेता अहिले मासामा बिक्न थालेकाछन्
यो कुरा नया भएको छ

नवीनतालाई जोगाउने कुरामा
इतिहास पुरानो भो
मुश्किल छ यो समय
यति धेरै नया अनुहार
नया आवाजको कोलाहल
आवाज चिन्ने कला पुरानो कुशलता नया भएको छ
नया नया
यति नया
अब नया भन्ने शब्द नया
अर्थ पुरानो भएको छ
यो कविता छापिउन्जेल
कविता नया
कवि पुरानो
यो कविता पढुन्जेल पाठक नया
कविता पुरानो
सबथोक नया
अर्थ पुरानो भएको छ ।

No comments:

Post a Comment