Saturday, 20 June 2015

Basu Da by Prakash Sayami

वासुदालाई सम्झिँदा
प्रकाश सायमी

“जो भूइँमा सुत्छ, ऊ पलंगबाट खस्ने डरले पहिले भूइँमा सुतेको हो । म यसलाई पनि वहादुरी मान्दिनँ, जो एक्लै सुत्छ । एक्लै सुत्ने मान्छे अरुमे  डरले एक्लै सुतेको हो ।”
 फ्राञ्ज काफ्काले आफ्नो डायरीको एक कुनामा लेखेको यो पंक्ति पढ्दा डरको साम्राज्य मान्छेको जीवनम कत्ति छ धेरै व्याप्त छ ,  थाहा पाएर अचम्मित भएथेँ ।
मान्छे आफ्नासित, परिवारसित, आफ्ना सहकर्मीसित, शुभेच्छुकसित, आफ्ना पराई सबैसित कति डराईरहेका हुन्छन् । यो स्वभाव त स्वभावतः देखिन्छ, जब साँच्चै मान्छे एक्लो हुन्छन् ।
एक्लो हुँदा के , भीडमा मान्छे कति डराउँछन्, त्यो त भूकम्पको त्रासमा देखियो । मान्छेको डर मान्छेसित कति छ ?
यस्ता डरका अनेकानेक व्याख्या गरेर फिल्म बनाउने सर्जक वासु भट्टाचार्य आज भन्दा १८ वर्ष अगि आजकै दिन मुम्बई विते । उनको सिनेमामा डरको भयावह रुप देखिन्छ, विशेषतः पति–पत्नीको सम्बन्धमा उनको डर विस्तीर्ण रूपमा पर्दायित हुन्छ ।
उनी सम्वन्धमा सबभन्दा बढी डर देख्छन् ।
सम्वन्ध नै उनको चिन्ताको विषय हो । उनले सम्वन्धका वारेमा कैयन सिनेमा बनाए, सम्बन्धका वारेमा वनाएका उनका कालजयी सिनेमा मध्ये ‘आविष्कार’ लाई एउटा मान्न सकिन्छ । जसमा अभिनेता राजेश खन्नाले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाए ।
स्टारसिस्टमलाई विल्कुल नमान्ने वासु भट्टाचार्यले राजेश खन्नालाई एकदिन कारबाट ट्याक्सीमा लगेर शुटिंग गरिदिएपनि उनी शीर्षक बने समाचारका ।
हिसाबले उनी दिलीपकुमारसित काम गर्न चाहन्थे । तर अभिनेता दिलीपकुमारका कैयन् शर्त उनलाई निर्देशकीय रुपमा पचेन । दिलीप कुमारसित उनको मधुमति –(नि. विमल राय) को समयमा नै कलाकार ठूलो कि निर्देशक भन्ने कुरामा बाजी परेको थियो र यो बाजी स्क्रिन पत्रिकामा विज्ञापनका रुपमा पनि प्रकाशित भएको थियो तर उनले दिलीपलाई हराईदिए  उनले दिलीपको ठाउँमा राजकपूरलाई लिएर तीसरी कसम बनाए ।
‘तीसरी कसम’ असफल भएपछि यसका निर्माता गीतकार शैलेन्द्रले आत्महत्या गरे तर पछि फिल्म सफल भयो र तीसरी कसमले अन्तर्राष्ट्रिय स्तरका कैयन् पुरस्कार पाए । सत्यजित रे को पाथेर पाञ्चाली पछि ख्वाजा अहमद अब्बास, केतन आनन्द  अनि वासु भट्टाचार्यले अन्तर्राष्ट्रिय सिनेमाको बजार खोजे ।
उनले आफैँ निर्माताको रुपमा नसीरुद्दीन शाह र शबाना आजमी जस्ता नयाँ कलाकार लिएर स्पर्श बनाए, सई पराञ्जपेलाई निर्देशक लिएर ।
वासु भट्टाचार्य सार्थक सिनेमाका अभियन्ता थिए । सार्थक सिनेमाको अर्थ बजार पनि उनको एक शर्त हो । अर्थमुखी सिनेमाका निम्ति उनी परिचित थिए । तर उनको बाटो सरल थिएन, उनी कठिन बाटोमा लड्खडाउँदै धेरै वर्ष हिँडे ।
मैले यहाँ लड्खडाउँदै लेख्नुको अर्थ दुईटा छन्, एक त उनको व्यावसायिक जीवन चुनौतीपूर्ण थियो । उनले सिनेमा बनाउँदा सूत्रवद्ध सिनेमाको वाढी थियो । तीन ओटा फाइट, पाँचओटा  गीत अनि फुटेज नापी नापीकन आमाको रुने दृश्य, वहिनीको आत्महत्या र अन्त्यमा केटा केटीको मिलन यस कोटिका हिन्दी सिनेमाको निस्सिम जालोमा वासु भट्टाचार्य  वाटो खोज्दै थिए जसका निम्ति कुनै पथ प्रदर्शक थिएनन् वा भएनन्  ।
दोस्रो, उनको वैवाहिक जीवन पनि संकट र धरापमा थियो त्यो वेला । उनी सिनेमामा पति पत्नीको सम्वन्धका वारे उच्चकोटिको वयान त दिन्थे तर उनकी पत्नी रिँकी भट्टाचार्यसितको उनको दाम्पत्य जीवन अदालतको कठघरामा आइसकेको थियो । 
जीवनको यो अस्थिर आकाशमा  वासुदासित मेरो मुम्बईमा दोस्रो  भेट भयो सन् १९८६ मा, मुम्बईको प्रसिद्ध होटल सीरकमा । (सम्झनाको लागि पहिलो भेट पनि होटलमै भएको थियो, काठमाण्डूको शंकर होटलमा ) मुम्बईको सीरक होटललाई मैले  अमिताभ वच्चन अभिनीत  हिन्दी सिनेमामा मात्र देखेको थिएँ ।
मलाई त्यो होटलभित्र वासुदाले लिएर गए, उनको नयाँ फिल्मको साथमा । करीव डेढ महिना मैले उनीसित त्यो होटलको भित्र वाहिर गरेँ, कहिले तल कहिले माथि ।
उनी मेरा सिनेमाका गुरु थिए, गुरु बन्नका  लागि उनले चाहिने जत्ति सबै गुण बोकेका थिए तर धेरै जसो  फ्याँकिसकेका थिए ।
चिनाजानीको पहिलो चरणमा  मलाई भन्नका लागि उनले  तयार पारेको पहिलो कथोपकथन  यस्तो थियो, हिन्दीमा उनले सुनाएको यो संवाद् मैले नेपालीमा उतार गर्दा मभित्र अझै तरङ्ग पैदा हुन्छ ८.१ को भूइँचालो जस्तो । उनी भन्दैथे,
“म  चेलालाई सबै फर्मूला सिकाउन सक्छु ।  तर म अरु गुरुजस्तो एउटा फर्मूला लुकाएर राख्दिनँ । वरु चेलासित कम्पिट गर्न पछि अर्को नयाँ फर्मूला निकालूँला ।”
उनले मलाई एकवर्षको संगतमा कुनै नयाँ फूर्मला सिकाएनन् कारण,उनी स्वयम् नै फर्मूृलाका विरोधी थिए । फर्मूला जानेका भए उनी पनि एक कमर्शियल फिल्म डाइरेक्टर हुन्थे अरु जस्तै  सफलको अर्थमा ।
मैले उनलाई भेट्दा उनी हातमा साइँली र कान्छी औँलामा रंगधारी  औँठी लगाएर  महँगो चुरुटको कश मार्दै थिए,  मिठो कश । मैले यसरी चुरुटको स्वादमा रमेका तीन प्रिय मान्छे देखेको छु,स्वरसम्राट नारायणगोपाल, साहित्यकार पारिजात अनि ई मेरा नन्ब्राण्डेड  गुरु वासुदा  ।
पारिजात दिदी त चुरुटलाई प्रेमले ‘यो सिग्रेट होइन, ए ग्रेड हो’ भन्थिन् अनि उनैले चुरोटलाई चुरुट लेख्दा मलाई यसको रुट मिले जस्तो लागेथ्यो ।
वासुदाको हातमा चुरुट सुहाउँथ्यो, त्यो चुरुट भएको हात विस्तारै मुखाभिमुख हुन पुग्दा उनको वाक्लो तर चमकदार चश्मा देखिन्थ्यो । अनि देखिन्थ्यो त्यो चश्माभित्र डुबेका र अलि अलि भिजेका भावप्रवणशील आँखा । जुन आँखाले त्यो उमेरमा जसलाई हेरे पनि मायाले हेरेजस्तो लाग्थ्यो  । त्यो आँखामा हेर्दा मलाई डर डर लाग्थ्यो ।
मेरा गुरु यस्ता थिए, हातमा चुरुट अनि अशान्त मुद्रामा सल्बलाइरहने ।
परमहंस योगानन्दलाई तिमीले खोजेको गुरु ओठमा चम्मच लिएर घुमिरहेको हुन्छ, तिमीलाई नै उसले बोलाउँछ भने जस्तै मेरा गुरु पनि मेरा सम्मुख थिए हातमा चुरोट लिएर , पहिलो भेटमा । मलाई उनैले नजीक बोलाए र भने, “ल सिग्रेट खान्छौ ?
मैले भनेँ, “खान्थेँ । छोडिसकेँ ।
उनी चकित परे । मेरो ओठ, आँखा, मेरो उँचाई अनि अनुहार हेरेर भने  “कति वर्ष भयौ ? कति ओटा सिग्रेट देखेका छौ , तिमी त यस्तो कुरा गर्दैछौ ? मानौँ ?
मैले खर्र्रर सातओटा चुरोटको नाम भनिदिएँ , डनहिल र रोथम्यान्स्को चर्चा नगरिकन । मेरो उत्तर सुनेर उनमा कमसेकम ९.१ रेक्टरको कम्पको अनुभव भएको हुनुपर्छ । एकैपटक झर्केर उनले भने चूप । वदमाश ।
वासुदाको वोलीमा दुइटा विविधता थियो चमत्कारको । उनी गाली गर्दा पनि माया गरे जस्तो गरेर भन्थे ।  उनको माया पनि कहिलेकाहिँ गाली जस्तो कठोर हुन्थ्यो ।
सिनेमाको उनलाई जति ज्ञान कसैले थिएन, त्यो मलाई पक्का थाहा थियो ।
वासु भट्टाचार्यलाई सिनेमाको जत्तिकै ज्ञान त हरेक विषयमा थियो, संगीत, राजनीति, होटल व्यवसाय, सैनिकी जीवन, प्रहरी प्रशासन आदि इत्यादि । इतिहास उनको सबभन्दा प्रिय विषय थियो ।
आँखा चिम्लेर उनी नेपाल र भारतको इतिहास भन्न सक्थे । नेपालका कुलीन परिवारका राणाखलक  उनलाई कवाडी वेच्ने साहु जस्तै लाग्छ रे , उनी वेला वेला भन्थे ।
उनको नेपालका राणा र शाह परिवारसित पनि निकटता र विकटताको सम्वन्ध रहेछ । भारतमा पहिलो हिन्दी सिनेमा बनाउने इन्दु शम्सेर (जो चेत भवनका मालिक थिए ) , कलकत्तामा पलायन भइवसेका भारत शम्सेरलाई  जुत्ताको लाइनमा अगाडि पछाडि देखेका रहेछन् ।
पञ्चायतकालको नेपालमा यस्तो कुरा कसैबाट स्वाद् मानेर सुन्नु पाउनु सौभाग्य थियो ।
क्राइसाटाब्द १९८६ डिसेम्वरको त्यो शीतकालीन मुम्बईमा वासुदा मेरा निम्ति पैगम्बर जस्तै थिए , खाना, तलब, होटल सुविधा र फिल्मस्टारसितको भेटघाट सबै मिलाईदिने ।
त्यो समय उनी श्रीमती टीका सिंहसित एउटा नेपाली फिल्म सहकार्यमा बनाउँदै थिए । टीका सिंह त्यतिवेला शाही नेपाल चलचित्र संस्थानका महाप्रवन्धक थिइन् । नेपालका तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको विहेको रंगीन तस्वीर खिँचेर चर्चामा आइएससकेकी  टीका सिंह दरवारका निकट थिइन् भने उनका पति भरतकेशर सिंह त्यो वेला कुनै मुलुकमा नेपालका राजदूत थिए ।
टीका सिंहसित मेरो मुम्बईमै परिचय भयो, त्यही पञ्चवटी फिल्मका निम्ति । नेपाल र भारतको लगानीमा बनेको त्यस फिल्मकी लेखिका कुुसुम अंशल  थिइन् भने भारतका लागि  निर्मात्री शोभा डाक्टर अनि नेपालका लागि टीका सिंह । यी उग्र महिलाका वीच एक शालीन महिला थिइन् , दीप्ति नवल जो यस फिल्मकी नायिका थिइन् ।
चार चार जना शक्तिशाली महिलाका वीचमा एक्ला वासुदा त्यति असहज कहिले देखिएनन् । एउटा संवेदशील पुरुषलाई यति धेरै महिलाको भीडमा काम गर्नु पर्दा कति कठिनाई हुँदो हो, म सोच्थेँ । व्यवहार र बोलीमा कहिँ तलमाथि भए, कति घात आघात हुँदो हो । फेरि ती चारैजना महिलाका वीच तार मिलाउन कति गाह्रो हुँदो हो ।
वासुदालाई यस कुरामा मैले मानें र मान्नै परेको कारण अर्को छ, उनले ती कुनै महिलाका वीच पनि आफ्नो पुरुष अहम्लाई वाधा वा अडचन हुन दिएनन् । खास्साको सन्तुलन थियो गुरुजीमा ।
सिनेमा वन्यो तर नेपालमा त्यो फिल्म प्रतिवन्धित भयो , दरवारमा शक्ति सन्तुलन बद्लिसकेको थियो । टीका सिंह भन्दा ताकतवार मान्छेले उनको ठाउँ र नाउँ लिइसकेको थियो । दरवार त्यसै पनि कमजोर ठाउँ । टीका सिंहले जसलाई फ्याँकेर दरवार नजीक भएका थिए, तिनै अब दरवारका सारथि बनिसकेका थिए ।
पञ्चवटी डब्बा बन्द भो ।
पञ्चवटीका निर्देशक वासु भट्टचार्यसित मेरो सम्बन्ध झन् झ्याँगिदै गयो, गुरु चेलाको रुपमा । उनले चूपचाप मसित एक शर्त राखे, “तिमी मसित काम  गर्छौ अब ?”
शर्त दुवैतिरबाट स्वीकार  भयो । उनी र म सँगसँगै हिँड्न थाल्यौँ झन् । साह्रै कम पैसामा गुजारा गर्नु पर्ने मुम्बईको जिन्दगीमा वासुदाको यो अफर कम उत्साहवद्र्धक  थिएन ।
उनी मलाई जिस्काएर , एलई  भन्थे । जसको पूर्ण अर्थ हुन्थ्यो, लिविँग इन्साइक्लोपेडिया । उनले मलाई यो नाम  जिस्काएर दिएका थिए, डिसेम्वर १३, १९८६ मा । त्यो दिन मंसीर २७ गते परेको थियो ।
र, यो त्यही मंसीर २७ थियो, २०४३ सालको । मलाई वासुदाले एलई नाम दिएको ।
यसपछि मलाई धेरैले धेरै नाम दिए, फिल्मकार चेतन कार्कीले नेपाली व्रिटानिका भने, अभिनेता हरिहर शर्माले वकिँक टकिँग डिक्शनरी भने, पत्रकार श्याम स्मृतले नेपाली विकीपिया भने, गायक भक्तराजका पुत्रद्धयले नेपाली गुगल भने । तर जसले जे भने पनि म ती सब उपनामको हकदार मान्दिनँ त्यो एउटा स्नेह हो ।  तर  मलाई वासुदाले दिएको त्यो नाम स्मृतिकर लाग्छ वा एउटा जिम्मेवारी लाग्छ ।
चलचित्रका कारण वासुदालाई मैले चिनेको हुँ, तर साहित्य, संगीत, चित्रकलाका कारण उनी झन् व्यापक भए मभित्र ।
धर्मयुग नामक् पत्रिकामा उनको एउटा संस्मरण मैले केशोर्यकालमै पढेको थिएँ, उनले डाँका मलखान सिंहलाई चम्बल घाटीमा गालामा झापड हानेको । रामकुमार भ्रमरको कथा तीसरा पत्थर  को छायाँकनको वेला भएको यो घटना पढ्दा त कति डर लाग्छ भने उनले त्यो डाँकूलाई झापड हानेको दिन कस्तो भयावह थियो  होला । कसरी डाँकू मलखान सिंहले थप्पड स्वीकारे , बडा रमाइलो छ कथा ।
यो घटना वारे वारम्बार प्रश्न गरे पछि उनले मलाई यो  पदवी दिएका हुन् , एल्ई भनेर ।
वासुदा सही शर्तमा राम्रा गुरु थिए कि थिएनन् म भन्न सक्तिनँ । र उनको आफ्नो अर्थमा उनी राम्रा शिष्य पनि हुन  सकेनन् । उनी प्रसिद्ध फिल्म निर्देशक विमल रायका शिष्य  थिए, गुलजार, देबु सेन जस्तै । देबु सेनले धेरै नेपाली फिल्मको पटकथा लेखे । गुलजारले विमललाई पछ्याए,  कथा शैलीमा ।
वासुदाले विमल रायकी छोरी रिन्की लाई विहे गरे , उनी गुरुका ज्वाइँ भए । एक छोरा एक छोरी भइसकेपछि  उनको वैवाहिक जीवन दुष्कर हुँदै गयो । उनी गुरुवाट तिरष्कृत जस्तै भए ।
उनले भनेको एउटा गुरुवाणी सदैव मेरो कानमा स्पर्श गरिरहन्छ,
“अनेस्टी इज नट अ पोलिसी । इफ  अनेस्टी इज अ पोलिसी टु अ पर्सन, देन हिज इज् डिस्अनेस्ट । हिज इज युजिँग अनेस्टी लाइक अ क्लोक ।”
सारमा उनले जस्तो जिन्दगी बाँचे, त्यो उनको माग थियो तर उनले जस्तो जिन्दगी पाए त्यो उनको लागि सजायँ भयो ।
सन् १९९७ जून वीसका दिन उनले प्राण त्यागे ,  पुरै बलिऊड मौन थियो । सारा कोशिशका वावजूद उनले अस्पतालमा जीवनको भारी विसाए, जसको आधा जीवन स्टुडियो र अदालतमा वितेको थियो उनको विसौनी अस्पतालको शैय्या बन्यो  । उनका समकालीन फिल्मकार, कवि, शायर गुलजारले उनको सम्झनामा एउटा कविता लेखेका छन्,

हामीले उनलाई
अस्पताल दौडायौँ हतारमा
 प्रायः पेट बाँउडिएर
दुःख भइरहन्थ्यौ
उनी साँप जस्तै गुडुल्किरहेका थिए
सारा दुःख पेटमै थियो
अलार्म जस्तै
उनको रक्तचाप वढ्दो  थियो
उनी सास लिन चाहन्थे
अस्पतालमा
चिकित्सकले अप्रोनले छोपे आफूलाई
उनको पेट चिर्न
घाउ हट्यो
दुखाई कम भयो
जरैबाट
चिकित्सकले उनलाई
टुक्राटुक्राबाट पोका पारे
अस्पतालबाट हामीले फेरि
उनलाई ल्यायौँ
श्मसानघाटमा
टुक्राहरुलाई फेरि फैलायौँ
र हामीले खरानीमा  उनलाई
बाँड्यौँ ।
००
यो कविता पढ्दा म सदैव वासुदाको गुणगम्भीर अनुहार सम्झिन्छु कसरी सहे होलान् , यो पीडा उनले ? जसरी यति लामो जीवन सम्वन्धको पीडा बोकेका थिए , त्यसरी नै ?
आज उनी छैनन् तर धेरै प्रश्नका माझ एउटा प्रश्न गुरुजीलाई ।
००
 
 

No comments:

Post a Comment