Friday, 10 June 2016

Amber Samaya By Prakash Sayami

अम्बर समय
प्रकाश सायमी


नेपाली सुगम संगीतमा अम्बर गुरुँग एउटा समय हो ।
यो समयलाई  चार किसिमले हेर्न सकिन्छ, गायनको हिसाबले , संगीतको हिसाबले , संगीत संयोजनका हिसाबले र गीत रचनाको हिसाबले ।
यो समयलाई तीन कालक्रमका हिसाबले छुट्याउन सकिन्छ, दार्जीलिँगमा आर्ट एकेडेमीमा छँदाको समय, नेपालमा प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक छँदाको समय र नेपाल प्रज्ञा प्रतिष्ठानबाट बाहिरिए पछिको समय ।
कालक्रममका हिसाबले बाँडिएको यो तीन समयमा अम्बर गुरुँग सबभन्दा बढी सक्रिय रहेको र जागीरको हिसाबले बाँधिएको समयमा नै उनले धेरै फरक फरक धारका गीत बनाए तर कसैकसैले उनको यो समय पनि खुल्ला हिसाबले उनको सिर्जनात्मक समय मानेका छैनन् । बरु यो समय उनी बढी जागीरे जीवनमा सीमित भयो भनेका पनि छन् ।
१ पहिलो समय ः नौलाख तारा र पहाडको कथा
अम्बर गुरुँगले गाएका धेरै गीत मध्ये पहिलो गीत रेकर्ड हुन पाएन । दार्जीलिँगको भद्रसमाजका एक सज्जन सच्चिन्द्रमणी गुरुँगले सुनेका कारण उनको गीत नौलाख तारा उदाए रेकर्ड हुन सक्यो, सन् १९६१ जनवरीमा ।
यो गीतले पहिलो प्रथम पटक सुन्ने धेरै स्रोतासमुदायले खूब मनपराए । मनपराएका कारण यसको गायन र प्रस्तुति मात्र होइन, संगीत संयोजन पनि हो । यसभन्दा अगि यस किसिमको विशिष्ट संगीत संयोजन शायद भएका थिएनन् नेपाली गीतमा । यस गीतको सफलता पछि गीतकार नगेन्द्र थापाले अम्बर गुरुँगलाई यो गीतमा यति भावुक भएर गाउनुको कारण के हो भनेर  सोधेको एक प्रश्नको उत्तरमा त्यही समय अम्बर स्वयम्ले भनेका छन्,
यो गीतमा तीनओटै तारतम्य मिलेको छ । शब्दले नेपाली अवस्था राम्ररी जनाएको छ र शब्दहरुको गहिराईअनुरुप मैले संगीत भर्दा धेरै चिन्तन गरेँ । गायकीमा भावमयता छ । भावपूर्ण आवेशमा आएर नगाएको भए त्यो गीत त्यति सफल हुने थिएन ।
नौलाख तारा नेपाली गेय संगीतमा एउटा ठूलो मोड हो भन्नु  अत्युक्ति हुन्न । गीतमा भावपक्ष  नै सबल भएको अम्बरले स्वीकारेका थिए । उनले भनेका छन्,
मुख्यतः अभावको वेला यस गीतको जन्म भयो , नेपालबाहिर बसेका नेपालीहरुको राजनीतिक अवस्थाबाट जन्मेको गीत हो यो । अरु त परै जाओस् , यस गीतले मेरो जीवनमा नै नयाँ मोड ल्याईदियो ।
१९ जना वाद्यवादक र एकजना गायकले एक चुनौतिपूर्ण स्थितिमा गायकले तीन मिनटभित्र डिस्क रेकर्ड गरिएको यो गीत रागको आधारमा भीमपलासीको निकट पाइन्छ भने भने प्रकुृतिका आधारमा नेपाली प्रवृत्ति सँग घनिष्ठ देखिन्छ , यस गीतकार वारे अम्बरका एक वाद्यवादक पिटर जे कार्थक भन्छन्,
यो गीत शब्दद्धारा शुरु नगरिएर ओ ओ ओ ..को तानले गरिन्छ , रचनाकार अगमसिंह गिरीले यो थप शिल्पलाई चिताएका पनि थिएनन् होला न त स्रोताले नै । त्यो ओ ओ ओ ले सतर्क बनाउँछ स्रोताहरुलाई । अर्को थप कुरा हो, यो तान काव्यात्मक पनि छ, यसले स्रोताहरुलाई आव्हान (इभोक) र उत्तेजना  (प्रभोक ) एकसाथ दिन्छ । त्यसपछि शुरु भएको स्थाइलाई माइनरमै कुशलतापूर्वक स्वरवद्ध गरिएपछि बाँसुरीको मेजर लहरको अन्तिम स्वर सँग अन्तरा शुरु हुन्छ । स्थायी र अन्तराको विभिन्नतालाई मध्यभागको एक्लो बाँसुरी र भ्वाइलेनको समूहको मेजर माइनरले सम्बद्ध गरेपछि श्रोताहरु गीतको आधा चरणमा आइपुगेर गीतसँग परिचित हुन सफल हुन्छन् । यो हुनुभन्दा पनि अघि स्वरसमूह किन पो यहाँ आयौ नि ले अर्को व्यापकता ल्याएको छ , त्यसपछि फेरि त्यै ओ ओ ओ... र समवेत कोरस मंगलाचरणको सामूहिकतामा गीतको रेकर्डिँग धीमा भएर टुँगिन्छ । गीतमा साँगीतिक पूर्णताको उत्कृष्ट उदाहरण यस कृतिमा पाइए पनि शायद स्रष्टा अम्बर गुरुँग केही असन्तुष्ट नै छन् र त्यसरी अटुँगोमा गीत सकिएको होला भन्ने लाग्छ किनकि यस्तो किसिमको समाप्ति एउटा शिल्प मात्र नभएर अरु दृष्टिकोणले पनि लाक्षणिक वा सांकेतिक छ । नेपाली लोकताल (समला) लाई यहाँ आधुनिकीकरण गरिएको छ ।
त्यसपछि नौलाख तारा इतिहास भयो । यस इतिहाले एउटा गायकको नाम अग्रपंक्तिमा आयो , अम्बर भन्छन् , मैले हार्मोनियम समातेर गाउन नथालेको भए अथवा गायक पहिले नभएको भए म कसरी संगीतकार हुन्थेँ, मैले संगीत नगरेको भए कसरी गीतकार हुन्थेँ ?
अम्बरको यो प्रश्न धेरैले बुझेका छैनन् ।
नौलाख पछि उनको तिमी आऊ बहार पर्खिरहेको छ युगल बनिसकेको थियो , यसको रेकर्ड पनि हिट बन्यो । त्यस बाहेक उनले संगीत गरेको पहिलो गीत
धरमर धरमर  रात लम्की वरपर आयो,
किन यो थोत्रो जीवनमा प्रतिपल सतायो
पनि रेकर्ड नभएपनि चर्चित नै थियो । त्यसवाहेक म  अम्बर हुँ तिमी धर्ती, अरुणा लामाको स्वरमा आज यौवन उदास उदास, आफ्नै शब्दमा भुलेका छैनौ सुगौली सन्धि , पहाड सुक्यो सुक्यो जस्तो लाग्छ गीत चर्चित थिए ।
यी गीतको जन्मकाल दार्जीलिँग भयो त्यतिवेला अम्बर दार्जीलिँगको लोक मनोरञ्जन शाखा, आर्ट एकेडेमी अफ म्युजिक र ग्राह्म्स् होम आदिमा आवद्ध भए र अन्ततः राजा महेन्द्रको आग्रहमा नेपाल आए ।
२. नेपालमा दोस्रो इनिँग
विसं २०२५ सालमा उनी नेपालमा बस्ने गरी निम्त्याइएपछि उनको जागीरे जीवनमा प्रज्ञा प्रतिष्ठानमा विसं २०२६ बाट  शुरु भयो ।
 विसं २०१३ सालमा स्थापना भएको प्रज्ञा प्रतिष्ठानमा उनकै निम्ति संगीत निर्देशक पद सिर्जना गरेर उनलाई त्यहाँ राखियो ।
प्रज्ञा प्रतिष्ठानमा उनको उनले करीब २८ वर्ष विताए, यहाँ बस्दा उनले त्यहीँका कलाकार फत्तेमान राजभण्डारी, निर्मला श्रेष्ठ, दीपक जंगम, जयनन्द लामा, दीप श्रेष्ठ, सुक्मीत गुरुँग आदिसित मिलेर सांगीतिक सृजनामा काम गरे भने सत्यमोहन जोशीको नाटक फर्केर हेर्दा, जब घाम लाग्छ, सपनाबाट ब्यूँझिँदा, अरनिको जस्ता नाटकमा संगीत गरे , विजय मल्लको पहाड चिच्याइरहेछ पनि त्यस मध्ये एक हो ।
प्रज्ञा प्रतिष्ठान मै छँदा उनले प्रज्ञा बाहिरका कलाकार प्रेमध्वज प्रधान, नारायणगोपाल, तारादेवी, किरण प्रधान आदिसित पनि काम गरे ।
प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले गीति नाटक मुनामदन मा संगीत गरे जसको निर्देशन कोकिल गुरुँगले गरे । त्यसको केही समय पछि प्रज्ञा प्रतिष्ठानद्धारा प्रस्तुत माधव घिमिरेको गीति नाटक मालती मंगले मा संगीत गरे जसलाई बसन्त श्रेष्ठले निर्देशन गरे ।
प्रज्ञा प्रतिष्ठानमा हुँदा नै उनले चलचित्र मेरो देश को गीत रेकर्डका निम्ति मुम्बई गए तर यसका गीत  लता मंगेशकरले सिके पनि गाउन पाइनन् भने मनको बाँध मा पृष्ठ संगीत गरे र जीवन रेखा पाश्र्व संगीत गरे । यी दुवै चलचित्र उनको आजसम्म उपलव्ध रेकर्ड हुन् ।
जीवन रेखा मा उनको संगीतमा प्रेमध्वज प्रधान, तारादेवी, उदीतनारायण झा आदिले गाए ।
जीवन रेखा पछि उनले थारुभाषाको भिडिओ फिल्म कर्म मा पनि संगीत गरे ।
गायिका निर्मला श्रेष्ठसितको सहकार्यमा उनले पहिलो पटक कवि दुर्गालाल श्रेष्ठको जिगु म्ये उपहार नामक् नेवारी भाषाको अल्बम पनि गरे ।
प्रज्ञा प्रतिष्ठानमा विताएको मानक समयमा उनले हरिभक्त कटुवाल, भूपी शेरचन, रत्न शम्सेर थापा, राजेन्द्र थापा, सुनील देउजा, नीर शाह, गोपालप्रसाद रिमालका आदिका गीतमा संगीत गरे , गोपालप्रसाद रिमालको रातो र चन्द्र सूर्यले एउटा इतिहास नै खडा गर्यो जुन अहिले सम्म कायमै छ ।
प्रज्ञा प्रतिष्ठानमै हुँदा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा फत्तेमान राजभण्डारीको स्वरमा केही गीत गरे भने केही आफ्ना रचना मैले फुल्न जानिनँ, जीवन हुरीको गीत आदि पनि गरे । फत्तेमान , नारायणगोपाल र निर्मला श्रेष्ठ सित अम्बरको विशेष सांगठनिकता देखिन्छ ।
प्रज्ञा प्रतिष्ठानको कार्यकालमा नै उनले सांगीतिक प्रशिक्षण दिन शुरु गरे, जसमा उनका शुरुवाती शिष्यका रुपमा शक्तिवल्लभ, बुलु मुकारुँग, सामन्त कंसाकार, निलम श्रेष्ठ, रमेशचन्द्र अर्याल,  महेशराज ठाकुर आदि थिए भने यो तालीम र प्रशिक्षणको सिलसिला पछि उनको घरमा पनि कायमै रह्यो जसमा बसन्त खड्का, राजेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ, अच्युत फुँयाल आदि थिए ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठामा हुँदा उनले २०४५ सालतिर फेरि जन जागरणका गीत पनि गरे जसमध्ये आफ्नै शब्दमा होशियार यसबखत होशियार आदि गीत गरे ।
२०४२ सालको हाराहारिमा उनले धेरै समयपछि अम्बर साँझ  नामक् एकल साँझ गरे ।
यसै समय उनले कहिले लहर कहिले तरंग  आफ्नै शब्द संगीत र स्वरमा अल्बम तयार पारे , आफ्ना जेठा छोरा किशोर गुरुँगले शुरु गरेको साँग रेकर्डिँग स्टुडिओबाट प्रकाशित यो अल्मब उनको क्यासेटमा निस्केको थियो ।
साँग पछि उनले म्युजिक नेपालबाट दोभान नामक् अल्बम निकाले यो उनको रत्न शम्सेर थापासितको अशोसियसन थियो । दोभान मा दीप श्रेष्ठ, अरुणा लामा, सुक्मित गुरुँग, रोविन शर्मा आदि समाहित थिए ।
देशमा बहुदलीय व्यवस्था घोषणा भएपछि अम्बर गुरुँगको गायनको एक फरक परिधि देखा पर्यो ।
३ अम्बरका केही नयाँ प्रयोग
गायक, संगीतकार एवम् गीतकार अम्बर गुरुँगसित जोडिएको प्रज्ञा प्रतिष्ठानको संगीत योजकको पदवी विस्तारै कमजोर हुँदै गएपछि अम्बर गुरुँगले क्वायर प्रस्तुत गर्ने सपना देखे, यो २०४९ मा आएर फत्ते भयो ।
विसं २०५२ सालमा अम्बर गुरुँग रेडियो सगरमाथाको संयोजनमा अम्बरका भाखा नामक् कार्यक्रम लिएर पाटनको यलमाया केन्द्रमा देखिए । यलमाया को उद्घाटन नै यही कार्यक्रमबाट भएको हो भनेर कनक दीक्षित स्पष्ट पार्छन् ।
२०५६ सालमा उनले आफ्ना पुराना गीतको अल्बम नौलाख तारा पुनः प्रकाशन गरे , यसमा उनले आफ्ना रचना वाहेक अगमसिंह गिरी, बैरागी काइँला, इन्द्र थपलिया, ईश्वरवल्लभका गीत आफ्नै एकल स्वरमा समाहित गरे । आरवीए फिल्म्स् द्धारा प्रस्तुत यस अल्बम पछि उनको यही कम्पनीबाट कहिले लहर कहिले तरंग पुनः प्रकाशित भयो । यसमा पनि सबै उनको एकल स्वर र एकल रचना रह्यो तर संयोगले यसमा उनका पुराना  समकालीन वैरागी काइँलाको एउटा गीत पनि समावेश गरियो ।
कहिले लहर कहिले तरंग लाई पछि म्युजिक नेपालले पुनः प्रकाशन गरेको छ । यस अल्बम का प्रायः गीतमा अम्बरको संगीतमा उनका जेठा छोरा किशोर गुरुँगले संगीत संयोजन गरेका छन् ।
गायक अम्बर गुरुँगको एक विशिष्ट अल्बम यो नै मान्न सकिन्छ यद्यपि यसपछि उनले कुन्दन रायमाझी, सुसन मास्के, झुमा लिम्बू का निम्ति गरेको भए पनि तर उनका प्रायः गीतमा जीवन, जगत, स्वदेशप्रेम, प्रकृति, व्यक्ति र समाजका विम्ब परेका छन् तर गायक फत्तेमान राजभण्डारीको निम्ति संगीत गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैले भने खोई त, भो है तिमी नआऊँ , सत्यमोहन जोशीको फर्केर हेर्दा र आफ्नै शब्दमा यति बिरानो , तिम्रो माया जीवन जीवन , मैले फुल्न जानिनँ, ईश्वरवल्लभको शब्दमा कति खोला बगी आदि गीत यही समयका यादगार गीत हुन् ।
साठी दशकको अन्त्यतिर उनले राष्टगान सयौँ थुँगा फूलको हामी जसले उनलाई राष्टका एक प्रमुख साधकका रुपमा सम्मान दिलायो ।
अम्बरको सपना संगीत हो, देश हो र त्यस सँग जोडिएको युग हो ।
००

Tuesday, 7 June 2016

Amber Syphony by Prakash Sayami

अम्बर सिम्फोनी
प्रकाश सायमी


आज देशको शेयर सूचीमा कति अंक माथि वा कति अंक तल त्यो हिसाब स्टक एक्सचेन्जमा देखिएला, कति घाटा वा कति नाफा बैँकको खाताको मौज्दातमा पुष्टि होला ।
आज राष्टको कराडौँ करोड मूल्यको सम्पत्ति सकाएर म घर फर्किँदा मैले आफ्नो स्वजनको सूचिमा श्रद्धेय अम्बर गुरुँगको नामको अगाडि स्वर्गीय थप्ने दुस्साहस सम्म गरेँ ।
स्वर्गीय अम्बर गुरुँगसितको आजको ७ घन्टा लामो यात्रा आर्यघाटमा गएर दुई घन्टा चानचुनमा सकिएको छ ।
यो विगतको ११ घन्टामा मैले अम्बर गुरुँगका वारे ७ प्रश्न यी यी सम्झेँ ।
पहिलो
१. अम्बर नेपाल किन आए ?
अम्बर गुरुँगका पिता उजीरसिंह अनि उनका बुबा नेपालको रिसिंगबाट कामको खोजीमा भारतको दार्जीलिँग गए । दार्जीलिँगमा उनको व्यवसायिक बसाई भयो , त्यही अम्बर जन्मिए गुरुँग परिवारमा ।
पूर्व सैनिकको परिवारमा जन्मिएका अम्बरले पहिलो प्राक्कथनमै नेपाली जातिलाई चुनौति दिएर अगमसिंह गिरीको गीत गाए,
नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली
हामीलाई माया लाग्दछ हाम्रै पाखा चियाबारी
यो गीत उनले समयमा रेकर्ड गर्न नसके पनि यस गीतको जवाफ उनलाई नेपालबाट पुष्प नेपालीको आयो,
फर्क है फर्क नेपाली
तिमीलाई डाक्छ नेपाली
पुष्प नेपालीको यो गीत पछि अम्बरले अगमसिंह गिरीकै संगीतमा फेरि जवाफ दिए,
नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको
छैन र कहाँ पहाडी फूल काँडाको माझ हाँसेको
नौलाख तारा गीतको वीचको यो गीतको पंक्तिले जनकवि धर्मराज थापाले पहिले प्रश्न लेखिसकेका थिए,
नेपालीले माया मार्यौ बरि लै
जन्मेको देशलाई नेपाली भेषलाई
तर वास्तवमा अम्बरको जवाफको मूल पक्ष धर्मराज थापा, पुष्प नेपालीले बुझे पनि नबुझे पनि तत्कालीन राजा महेन्द्रले बुझे । राजा महेन्द्रले यो गीत दार्जीलिँगमा अम्बरको होइन, अर्कै मान्छेको स्वरमा सुनेर अचम्भित भएका थिए ।
पछि अम्बर काठमाण्डूमा आएर जमलको प्रभा हलमा यो गीत गाउँदा राजा महेन्द्रले फर्मायस गरे, फेरि अम्बरले यो गीत दोहोर्याएर गाए ।
यसपछि राजाले उनलाई यो भेटमा नेपाल मै बसेर काम गर्न आग्रह गरे, तर उनले त्यो आग्रह स्वीकार्न सकेनन् किनकि त्यतिवेला अम्बर पश्चिम बँगाल सरकारको आर्ट एकादेमीका निर्देशक थिए । आफ्नो जिम्मेवारी र पद छोडेर उनी आउन सकेनन् र आएनन् पनि ।
पछि राजा महेन्द्रले हेलिकोप्टर पठाएर उनलाई नेपाल ल्याए जुन उनको जीवनको ठूलो परिवर्तन हुन पुग्यो ।
राजा महेन्द्रसित उनको भेट हुनु अगि नेपालबाट दार्जीलिँग पुगेका शंकर लामिछाने, कवि भूपी शेरचन, भाषाविद् चित्तरञ्जन नेपालीसित उनको भेट भइसकेको थियो । नेपालबाट उनी यी साहित्यिक व्यक्तित्वबाट प्रभावित भइसकेका थिए ।
नेपाल आउनु त्यतिवेला उनका लागि ठूलो चुनौति थियो तर डर पनि थियो अर्को अर्थमा , उनको बन्दै गरेको सुदूर भविष्य अनि भारतमा नेहरुको डक्टरायन । र नेहरु र महेन्द्रको फरक फरक स्वदेश प्रेम ।
उनी नेपाल आए  अरु जस्तो काम खोज्न होइन , उनलाई काम गर्न बोलाइएको थियो ।
२. प्रज्ञा प्रतिष्ठान नै किन ?
नेपाल प्रज्ञा प्रतिष्ठान राजा महेन्द्रको बर्न चाइल्ड थियो यसले दशवर्षे बालखको रुप ग्रहण गर्दै थियो तर अवस्था यसको लयबद्ध थिएन । अम्बर गुरुँगलाई यहाँ संगीत निर्देशक पद सिर्जना गरेर कलमी सारियो ।
प्रज्ञा भवनको प्राँगणमा लगाइएको अम्बर नामको कलमी तत्कालीन राजा महेन्द्रको गीत गर्न होइन, त्यतिवेला प्रज्ञा प्रतिष्ठानको भवन टिकाउन र नाटक मञ्चनको इतिहास कोर्न अम्बरलाई एक पिलरको रुपमा प्रयोग गरियो ।
फर्केर हेर्दा, पहाड चिच्याइरहेछ, जब घाम लाग्छ जस्ता नाटकमा उनले पहिलो पटक प्रज्ञा प्रतिष्ठानभित्रै बसेर प्रतिभा देखाए , यही नाटकको सफलता पछि प्रज्ञा प्रतिष्ठानले कुलपति चढ्ने रातो भ्यान किन्यो । अम्बर त्यसका एक कारिगर थिए ।
एक समीक्षकका दृष्टिले प्रज्ञा प्रतिष्ठानमा सारिएको अम्बर नामक् कलमीको खेर गएको समय पनि त्यही दशक हो भनेर ठोकुवा गर्दा म भूलमा पर्दिनँ ।
प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेको अर्को साल अम्बरलाई गोरखा दक्षिण वाहु दिइयो ।
३ त्यो गोरखा दक्षिण वाहु को पीडा
उनले गोरखा दक्षिण वाहु पाएको साल नेपालको राष्टिय दैनिक गोरखापत्रमा छापिएको समाचार उनका बाबु उजिर सिंह गुरुँगले आफनी छोरीबाट सुने तर उनले पत्याएनन् , भारतबाट गएको मान्छेलाई नेपालका राजाले के तक्मा देलान् ? त्यो अर्कै नेपालकै अम्बर भन्ने कोही होला ।
यो अम्बरका पिताको अविश्वासलाई उनले पछि जिते, उनी साँच्चै नेपालकै अम्बर भए ।
गोरखा  दक्षिण वाहु पाएको उनको यो खुशी केही वर्ष पछि नाश भयो जब उनले नालायक भनेका संगीतकारलाई पनि यो पदक दिइयो । उनले आफ्नो डेराको झ्यालबाट यो तक्मा मकै बारीमा हुत्याइदिए ।
तर विहानतिर उनलाई डर जस्तो लाग्यो ।
उनले फ्याँकेको तक्मा कतै राजाका सेनाले पाएर उनलाई डण्डी लगाए भनें । उनी तक्मा खोज्न मकैबारीमा पसे तर पाएनन् ।
उनलाई ज्वरो जस्तो आयो, तीन चार  दिन यही पीरले उनी थलिए पनि ।
उनकी पत्नी  वीणाले उनलाई हाँस्दै सोधिन् , किन के भयो र सञ्चो नभए जस्तो छ ?
जवाफमा अम्बरले भने, त्यही गोरखा दक्षिण वाहुको कुरा गरे जुन उनले बारीमा फ्याँकेका थिए ।
अम्बर  पत्नी वीणाले भनिन् , किन चिन्ता लिएको त्यो तक्मा मैले राखिदिएको छु दराजमा ।
अम्बर नेपालमा दक्षिण वाहु पाउन र राजाको गीत गर्न आएका थिएनन् तर उनी कता कता खुम्चिए जस्तो भए । उनले मेजर वर्क त गर्न पाएनन् तर ...
४ अम्बरको मेजर वर्क
अम्बर गायक, संगीतकार वा गीतकार त छँदैथिए तर उनी एक कुशल संगीत संयोजक पनि थिए । उनले कैँयौ कालजयी गीतमा आफैँ संगीत गरेका छन् । उनी एक कुशल वाद्यवादक पनि ।
नेपाली जातिमा स्टाफ नोटेशन लेख्न जान्ने विरलै नेपाली संगीतकारमा अम्बर एक हुन् । उनले नेपालमा क्वायर गर्ने सपना देखे र त्यो पूरा पनि गरे विसं २०४९ मा ।
अम्बरले क्वायर बाहेक मिनी सिम्फोनी, क्यान्टटा पनि गरे , यी सबैमा यिनको खूबी एक संगीतकारको रुपमा कम एक संगीत परिकल्पनाकारको रुपमा धेरै देखिन्छ ।
५ अम्बर एक स्कुल थिए कि इन्स्टिच्युशन ?
स्कुलिँगको अर्थ विद्यालयीय भाषामा विद्यार्थी जन्माउनु र हुर्काउनु हो तर अम्बरको सांगीतिक पाठशालको शैली फरक थियो , स्वतन्त्रता । अर्थात् आफूलाई फरक अस्तित्वमा स्वीकार्नु ।
अम्बर गुरुँगले दार्जीलिँगको लोक मनोरञ्जन शाखामा हुँदै एक हुल शिष्यलाई आफ्नो सांगीतिक विरासत दिइसकेका थिए, शरण प्रधान, रञ्जित गजमेर, कर्म योञ्जन, गोपाल योञ्जन, रुद्रमणी गुरुँग, अरुणा लामा, पिटर जे कार्थक त्यसका विम्ब थिए र तिनैले पछि अम्बरको सांगीतिक छविमा प्रतिविम्ब थपे । अम्बर त्यहीँनेर इन्स्टिच्युशनको रुपमा देखिए ।
पछि उनले नेपालमा पनि कलाकार प्रशिक्षणको सिलसिलामा शक्तिवल्लभ, बुलु मकारुँग, निलम श्रेष्ठ, जयनन्द लामा,  महेशराज ठाकुर, बसन्त खड्का, ठूले राई, राजेन्द्र श्रेष्ठ आदि जन्माए भने भने पछि पनि उनका शिष्य यो जगतमा देखिए ।
५. चलचित्र संगीतमा अम्बर किन एक्लै ?
चलचित्रका निम्ति अम्बरले धेरै कममा संगीत दिए , मेरो देश, सपना कतिपय, जीवन रेखा र मनको बाँध ।
यी सबै फिल्म फरक फरक विधाका थिए तर जीवन रेखाको पाश्र्व संगीत र मनको बाँध को पृष्ठ संगीतले उनलाई जीवनभर परिचित बनायो ।
उनले गर्न चाहेका र गर्न खोजेका सिनेमायी संगीतको विशाल क्षितिज यहाँ साँघुरो अर्थमा टेम्पररी म्युजिक मात्र थियो जुन उनको लक्ष्य थिएन र भएन पनि ।
अम्बरले वृत्तचित्र आदिकवि भानुभक्तमा गरेको संगीत आजसम्मकै उत्कृष्ट संगीत पनि हो ।
थारुभाषाको फिल्म कर्म मा उनले गरेको संगीत पनि यादगार मान्न सकिन्छ ।

६ म अम्बर हुँ तिमी धरति
अम्बरले नेपाली संगीतमा शुरु गरेको आत्मकथात्मक गायनको यो एक युगान्तकारी पुष्टि हो जसलाई पछ्याउन अझै एक पुस्ता बाकी नै छ । अर्थको दुर्दान्त प्रभाव के छ भने समयले अम्बरलाई सदैव आफ्ना र आफ्नो ठानिएकाबाट परै राख्यो । यो उनको गीतमा र जीवनमा बारम्बार देखिन्छ ।
उनका सांगीतिक शिष्यहरुले उनीसित अनेक काम गरेका छन् र उनले आफ्ना शिष्यका निम्ति योगदान पुर्याएका छन्, कसैलाई पाठ सिकाएर कसैलाई जीवन ज्यूँने बाटो देखाएर ।
तर उनको गीतमा भनिए जस्तै एक किसिमको अनौठो सम्बन्ध रह्यो उनका शिष्यहरु सित । कोही शिष्यले मुम्बई लगेर उनको गीत बेचेर खाए ।
कोही शिष्यले उनलाई मुद्दा लड्ने सम्म पनि बनाए ।
तर सम्बन्ध त उनको अम्बर र धरतीको नै रह्यो टाढा र नजीक ।
७ दुई साथीसितको जीवन्तता
अम्बरको जीवनको ७९ वर्षमा उनले चिनेका र चिनेर मनपराएका दुई स्रष्टा छन्, शंकर लामिछाने र  भूपी शेरचन ।
यी दुईलाई भेट्नु र नेपाल चिन्नुमा नै उनको सौभाग्य खुलेको उनी ठान्छन् ।
भूपीले उनलाई नजन्मेका कलाकार भनेका छन् भने शंकरले उनलाई भविष्यका सिम्फोनी मेकर मानेका छन् । तर दुवै गइसकेपछि उनले कैयौ काम गरे, कैँयौ इतिहास रचे ।
अम्बरले नेपाल आउनु अगि उतै हुँदा कवि ईश्वरवल्लभ, कवि बैरागी काइँला पनि नचिनेका होइनन् तर भूपी, शंकर ले बनाएको यिनको निम्तिको बाटो कठिन त थियो तर अस्पष्ट थिएन त्यसैले उनी भूपीको कविता र शंकरको निवन्धमा देखिने नेपालको मोन्टाज खोज्न नेपाल आए ।
नेपाल यिनका निम्ति अगमसिंह गिरीले भने जस्तो पराई पीडा भएन । अम्बरका धुनहरु यहाँ कालकालसम्म दिगन्त भएर गुञ्जिरहनेछन् यो कुरा शंकरले चालीसवर्ष अगि नै भनिसकेका थिए ।
म अम्बर हुँ उनले त्यही सही भनेका रहेछन् गीतमै भएपनि ।
००

Friday, 3 June 2016

Khokana Yatra by Prakash Sayami

Khokana Yatra


बिहान सबैलाई प्रिय लाग्दो हो, जो छिटो सुत्छ र छिटो उठ्छ तिनका लागि त झन्।
म बिहान अचाक्ली जोशिलो हुन्छु, सायद बिहान ५:३० मा जन्म भएर होला।
बिहान जन्मेको मान्छे बिहान जाँगरिलो हुन्छ भन्छन् तर मलाई लाग्छ, बिहान हरेक मान्छेका निम्ति जाँगरिलो समय हो। बिहान मेरोनिम्ति सुन्दर कविताजस्तै हो जसरी जापानका कवि बोको बिहान उठेर सबभन्दा पहिले आफ्नो नाम पुकार्छन् रे। अनि आफूलाई नै केही प्रश्न गर्छन् रे।
त्यो बानी ममा पनि धेरै वर्ष रह्यो जब मुम्बईमा एक्लै र अलग्गै बस्न थालेँ। पछि मैले आफ्नो नाउँको ठाउँमा गणेशजीको नाम लिन थालेँ।
गत माघ ३ गतेको दिन गणेशजीको नाम लिँदै उठेँ ६ बज्नुअघि नै। माघको प्रथम शनिबार। सामान्य चिसो कम भइसकेको थियो। कवि शिरोमणि लेखनाथ पौड्यालले कवितामा भनेजस्तै,
समाते सूर्यले फेरि उत्तराकाशको गति
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति
कविताको भावमा सूर्यनारायणको पोजिसन चेन्ज भइसकेको सन्दर्भ थियो। क्रिकेटमा रिल्याक्स हर्ट भनेजस्तै सचिन तेन्दुलकर ९० र १०० का बीचमा धिमा गतिमा खेल्छन् र स्वरूप बदल्छन्। यो माघ महिना हामी न्यानोप्रिय प्राणीका निम्ति रिल्याक्स हर्ट हो।
खोकना दोबाटोमा ७ बजे।
फोटोग्राफर दीपेन्द्रको एसएमएसले हिजै बाटो तय गरिसकेको थियो। एसएमएस पाएलगत्तै अञ्जली र म समयमै तयार भइसकेका थियौं।
यो यात्रासित जोडिएका तीन आकर्षणप्रति म बालकजत्तिकै विभोर थिएँ, पहिलो यो कलम होइन क्यामेरासितको यात्रा। दोस्रो, यो दक्षिणतिरको यात्रा। दक्षिण मेरानिम्ति जीवनचक्रको उल्टो सुई थियो।
अञ्जलीले भैंसेपाटीको गोधूलि संसारमा घर बनाएदेखि मेरो बिहान-बेलुकाको दानापानीको यात्रा उत्तरको मात्र हुने गर्छ। मेरोमात्र होइन, मेरोवरपर बस्ने सबै स्वजनको। त्यो चाहे पत्रकार पुष्करलाल श्रेष्ठको होस् वा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीको।
चलचित्र नायक धीरेन शाक्यको होस् वा गायक रामकृष्ण ढकाल वा अमृत गुरुङको। केही समयदेखि मेरा निकटमै बस्न आइपुगेका मेरो कलेजका सहपाठी सञ्चारकर्मी रवीन्द्र मिश्रको होस् वा फोटोकवि कुमार आलेको। टीभीकर्मी भूषण दाहालको होस् वा चियाविज्ञ भूषण सुब्बाको। हामी सबै बस्नचाहिँ काठमाडौंको दक्षिणीय भूखण्डमा बस्छौं।
कामधाम र जीवनयापनका निम्ति हामी सधैं उत्तरतिर लाग्छौं। त्यसैले भनेका रहेछन्, उत्तरोत्तर प्रगतिको कामना।
तर, दीपेन्द्रले हाम्रो यात्रा यसपालि दक्षिणतिर तय गरे। एउटा यस्तो ठाउँ जहाँ म जीवनमा दुईपटक पनि पुगेको छैन, केवल चार किलोमिटरको दूरीमा भए पनि।
सही समयमा दीपेन्द्रले हामीलाई खोकना दोबाटोमा स्वागत गरे। युवाप्रतिभा विद्यालयको प्रांगणमा गाडी पार्क गरेर हामी दुवैले आयोजक स्कुल अफ क्रिएटिभ कम्युनिकेसनका संस्थापकमध्ये एक नगिना श्रेष्ठबाट परिचयपत्र र दिवान्त भोजको कार्ड अनि यात्राको सूची लियौं जसलाई यात्रा गर्नेहरू आइटिनरी भन्छन्।
एससीसी फोटोयात्रा ३ खोकना।
हातमा क्यामेरा बोकेर सारा यात्री आफ्नो रुचिअनुसार फोटो खिँच्दै हिँड्ने, फोटोमा विषयवस्तु र कथानक पक्ष हुनु प:यो अनि यही फोटोबाट छानिएर सेलेक्टेड फोटोको त्यही सहरमा प्रदर्शनी हुने। यस किसिमको कार्यक्रम एससीसीको तेस्रो रहेछ- भक्तपुर र कीर्तिपुरपछि।
हामी आइपुगेको यो ग्रामीण उपत्यका खोकना काठमाडौं उपत्यकाको दक्षिणी भूभागमा पर्छ। इतिहासकालमा यो राज्यमा मल्ल राजा नै थिए, अमर मल्ल यहाँका अन्तिम राजा मानिन्छन्।
खोकनाको निकटवर्तीमा अर्को उपत्यका बुंगमती पर्छ, बुंगमती रातो मत्स्येन्द्रनाथको आवास क्षेत्र पर्ने हुनाले सर्वाधिक चर्चामा रहने एक प्रान्त हो। यहाँका नेवार बासिन्दाले १२ वर्षमा एकपटक मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरसम्म गर्छन्।
यो ऐतिहासिक परम्परा आजको होइन, सयौं वर्ष पुरानो हो। नेपालमा सहकाल निम्त्याउन भारतको कामख्या मन्दिरबाट मत्स्येन्द्रनाथलाई काठमाडौं, भक्तपुर र ललितपुरका तीन राजाको सल्लाहमा नेपाल भित्र्याइएपछि सुरु भएको यो इतिहासमा ललित नामका किसानको कथाकल्पनासित ललितपुरको नामकरण भएको छ।
ललित नामक श्रमिकले नै बोकेर ल्याएका थिए जसको सम्मानमा नै यस जिल्लाको नाम राखिएको थियो। ललितपुरलाई पुरानो नाउँ यल: पनि भन्छन्, काठमाडौं र भक्तपुरसित जोडिएको हुनाले पाटन पनि भनियो।
पाटनमाथि प्रसिद्ध उपन्यासकार विजय मल्लको पाटन शीर्षकको कथा पनि छ, जुन पाटनबारे होइन एक युवतीको मनोविज्ञानबारे लेखिएको हो।
शीर्षक हाल्न अल्छी गर्ने विजय मल्लले आफ्नो यो कथा पाटनबाट कथा लिन आउने पत्रकारका निम्ति लेखेका रहेछन्, सम्झनाका लागि उनले पाटन लेखेर छोडेर गएको कथापछि पत्रकारले पाटन शीर्षक सम्झेर त्यही राखिदिएका हुन् भन्ने साहित्यिक चर्चा छ।
पाटन र खोकनाको अद्भुत सम्बन्ध छ, चिउरा र तेलका बारेमा।
खोकनाको तेल नेपालप्रसिद्ध मानिन्छ, पिउन र शरीरमा प्रयोग गर्न। शुद्ध तोरीको तेलका निम्ति प्रसिद्ध खोकनामा १२ हजार जनसंख्यामा नगर निवासित छ, पोखरी, मण्डप अनि पुराना काष्ठकलाका घरले सजिएको खोकना राज्यमा रुद्रायणी मन्दिर र सिकाली मन्दिर पनि चर्चित छ।
खोकना यति पुरानो सहर हो जहाँ नेपालमा उत्पादित पहिलो बिजुलीको चिम बलेको घर छ। रुद्रायणी मन्दिरको परिसरमा बनेको त्यो घरमा अहिले खोकना म्युजियम बनेको छ।
खोकना म्युजियम अहिले मदनकृष्ण महर्जनले सञ्चालन गरिरहेका छन्। फोटोयात्राका क्रममा हामी त्यो घरमा पुग्दा मदनकृष्णजीले आफ्नो घरमा कसरी चिम आयो भन्ने रोचक कथा डराई डराई सुनाउनुभयो। डराई डराई सुनाउनुका केही कारण छन्, त्यो पछि यहाँले पनि भ्रमण गर्दा सुन्न रोचक हुन्छ। मैले थाती राखेँ।
म्युजियमका सञ्चालक मदनकृष्णसित भेट हुँदा अचानक एक ऐतिहासिक पात्र मोहनकृष्णको पनि स्मरण भयो। मोहनकृष्ण पञ्चायतकालमा खोकना नामबाट कार्टुन लेख्ने एक हस्ती हुन्, आज उनको कहीँ चर्चा छैन।
खोकना रमेशनाथ पाण्डेको पत्रकारितासित सुरु भएका एक चर्चित व्यंग्यचित्रकार हुन्, जसले २०औं वर्ष यो धन्दामा आफ्नो नाम बनाए होलान्, पछि उनले साप्ताहिक 'विमर्श', 'नेपाली आवाज', 'जनजागृति'मा आएर विश्राम लिए।
२०३६ सालको जनमतसंग्रहका बेला खोकनाको कार्टुन चर्चित थिए। आज वात्स्यायन जुन स्थानमा छन्, कार्टुनका कारण, खोकना त्यस्तै पारिवारिक नाम थिए पञ्चायतकालमा। उमेरले उनी वात्स्यायनकै समकालीन हुनुपर्छ, खोकनाका स्थानीय युवा शिव डंगोलका अनुसार उनी अहिले खोकना बस्दैनन्।
खोकनाको यात्रा हामीले बिहान साढे ७ मा सुरु गरेर साढे २ मा सकायौं।
करिब सात घन्टाको यात्रामा हामीले डंगोलबन्धु (हरिनाथ र शिव) अनि अशोक महर्जनबाट खोकनाका अद्भुत कथा सुन्यौं, खोकनामा लसुन र कुखुरा पाइँदैन भन्ने पहिलोपटक थाहा भो।
यो सहरको पुरानो नाउँ जितापुर रहेछ। अहिलेको नाउँ खोकना नेवार शब्दबाट बनेको रहेछ जसको अर्थ हुन्छ, रोईरोई भनिएको कथा।
खोकनाको हाम्रो यात्रा चिबा डाँडाबाट थालनी भएको थियो, जहाँ यात्राका उद्देश्यबारे एससीसीका प्रमुख दीपेन्द्र वज्राचार्यले जानकारी गराए। ५० भन्दा बढी फोटोग्राफरलाई। देशमा आमाको नाममा नागरिकता दिनुपर्छ भनेर नारा उर्लिरहेका बेला यहाँ पनि पाँचजना महिला फोटोग्राफरको उपस्थिति थियो क्यामेरासहित।
चिबा: डाँडा खोकनामा सबभन्दा पहिले घाम पुग्ने ठाउँ रहेछ, जहाँ एउटा एक्लो रूख छ जसलाई यात्रा क्रममा 'वन ट्री हिल' नाम दिइएको थियो सम्भवत: यो नाउँ नहुन पनि सक्छ, भएमा अन्यथा मान्ने कुरा पनि भएन। त्यो बिहान घामलाग्दा त्यो रूख एक्लो थिएन, पचास अलगअलग कथा बोकेर आएका फोटोग्राफर थिए।
फोटोग्राफर शब्द मलाई बेपत्ता मन पर्छ, यसमा राजनीति र जेन्डरले कुनै विभेद गर्न सक्दैन। यसमा क्यामेराम्यानमा जस्तो लिंगीकरण छुट्ट्याइरहुन पर्दैन, ग्राफर भनेपछि सबै लिंग, जात, वर्ग विभेदलाई अन्त्य गर्छ।
नत्र त आजकालको एनजीओ जीवनमा खेलाडी भन्नेबित्तिकै महिला खेलाडी वा पुरुष, अभिनेता भन्नेबित्तिकै अभिनेत्री, यसरी बारम्बार कोष्ठक चिह्न प्रयोग गर्नुपर्ने व्यवधान यहाँ छैन।
यात्राका क्रममा चिबा: डाँडापछि युवाप्रतिभा विद्यालय गएर बिहानी भोजन ग:यौं। त्यति बेला हामीलाई स्कुलका प्रधानाध्यापक यज्ञराज दाहालले स्वागत गर्नुभयो। यो स्कुल महिलालाई शिक्षा दिनकै निम्ति स्थानीय दाजुभाइ मिलेर २०४६ मा स्थापित भएको रहेछ। संस्थापकमध्ये एक रामभक्त डंगोलजी पनि त्यहीँ भेटिनुभयो।
पुन: हामीले यात्रा सुरु गर्दा दीपेन्द्रजीले सबलाई एउटा जानकारी दिइसकेका थिए, फोटो खिच्दा स्थानीयवासीलाई कुनै आपत्ति वा दु:ख नहोस्, कसैको अनुमतिबेगर कुनै पनि फोटो नखिचियोस्।
यो सावधानीपछि म पनि सशंकित नै भइरहेँ।
मलाई यात्रामा सबभन्दा बढी साथ दिइरहे, मूर्तिकार विजय शाक्यले। उनी क्यामेराबिना आएका थिए।
मैले सोधेँ उनलाई, 'किन बिनाक्यामेरा?'
जवाफमा उनले भनेको कुराबाट भयभीत रूपमा प्रभावित भएँ। नले भने, 'दाइ, म इनर्जी प्राप्त गर्नमात्र आएको हुँ। मूर्ति बनाउन नयाँनयाँ इनर्जी चाहिरहन्छ। कहिलेकाहीँ हामी सुक्खा भएर गइसकेका हुन्छौं। पोजेटिभ भाइब्स् खोजिरहन्छु, यस्तो यात्रामा हिँडेपछि मलाई खुब शक्ति मिल्छ।'
नाम्चेमा तेन्जिङ नोर्गे शेर्पाको भीमकाय मूर्ति बनाएर कीर्ति कायम गरेका विजयको भनाइले मलाई राष्ट्रकवि माधव घिमिरेको अतीतसित जोड्यो।
कविवर घिमिरे काठमाडौं बसेर रचनाहीन हुन थालेपछि पोखरा जाँदा रहेछन्। पोखरा गएपछि वेगनासताल पुगिहाल्दा रहेछन्। वेगनास तालको सुन्दरी डाँडामा बसेर दुई ताललाई नियालेर दिनभरि बसेपछि नै उनी कुनै न कुनै रचना लेख्दा रहेछन्।
शारदा शर्मा पनि 'ताप' उपन्यास लेख्दाताका त्यतै छेउछाउमा कुनै घरमा भूमिगत भएकी थिइन्।
अरू त अरू, माधव घिमिरेको 'मालती मंगले'मा गीत रेकर्ड गर्नुअघि स्वरसम्राट् नारायणगोपाल पनि केही समय लमजुङको मस्र्याङ्दी पुगेको इतिहास छ।
विजयको भनाइ मलाई शाश्वत लाग्यो। संस्कृतका महाकवि कालीदासलाई उज्जैन राज्यले अपार सम्मान दिएर दरबार बोलाए तर उनले दरबार बसुन्जेल केही पनि लेख्न सकेनन्।
ऋतु संहार, मेघदूत लेखिसकेका महाकविलाई आफ्नो ग्राम्यप्रदेश फर्किसकेपछि शुभेच्छुकले सोधेछन्, 'किन? केही लेख्न सकेनौ त्यहाँ?'
कालीदासको जवाफ संवेदनास्पद सुनिन्छ। 'त्यहाँको माटोमा कोमलता छैन। कोमलता नभएको माटोमा प्रेरणा हुँदैन', कालीदासीय शैलीमा भने विजयले।
मूर्तिकार विजयसित बाहेक अरूसित त्यति निकटता हुन पाइएन। अरूसित त ख्वै, आफैंसित गएकी जीवनसंगिनी अञ्जली सुब्बासित पनि त्यो दिन धेरै कम बोलचाल र भेटघाट भयो।
युद्धस्तरको छायांकन र दौडले गर्दा। लिम्बू जातिको खापुङ परिवारबाट आएकी अञ्जली नेवार सभ्यता र संस्कृति खूब रुचाउँछिन्।
त्यसो त यात्रामा सँगसँगै हुन एकदम गाह्रो छ रे। मन र शरीर त सँगै हुन कठिन हुन्छ भने दुई प्राणी के कारणले निकट हुन सक्ला, मैले पनि त्यो दिन त्यही महसुस गरेँ।
फेरि त्यो दिनको यात्रा एउटा मिसनको यात्रा थियो, हातमा क्यामेरा हुनेबित्तिकै पाँच विषय आइहाल्थे- पात्र, विषय र इतिहास। समय र स्थानले त फेरि थप दबाब दिएकै हुन्छ, त्यही भयो त्यो दिन।
खोकना उपत्यका मेरो पहिलो परिभ्रमण थियो, इतिहाससित एउटा साक्षात् दर्शन। यात्राकार निर्मल बर्माको भाषामा भन्ने हो भने यदि यो यात्रा हो भने यो स्थानहरूको नभएर मनको यात्रा हो अन्त:प्रक्रियाहरूको लेखाजोखा हो।
मलाई पनि यात्राभर त्यस्तै लागिरह्यो। हिँडिरहेँ तर इतिहासका क्रूर अनुहारसित मेरो साक्षात् भइरह्यो।
खोकनाका कैयन् कथा दोहोरिइरहे, रोईरोई भनिएको त्यो कथामा कति धेरै पीडा थिए होलान्।
जर्मनी महाकवि भन्थे, जुन सहरसित आफ्नो पीडाको दस्तावेज छैन त्यसले के गर्व गर्नु?
एकछिनलाई मान्नुस्, खोकनासित अतीतको कुनै साक्षी छैन, न एेतिहासिक स्मारक, न पुराना मन्दिर, न खण्डहर? तर यसको त्यो पाण्डुलिपि खोइ त जसले नेपाल नामको देश बनाउन शाहवंशीय शासकलाई शक्तिमा पु:याएको थियो? गोरखा राज्य वा बीसे नगर्चीभन्दा धेरै पुरानो घटनावृत्ति बोकेको यो ठाउँ अब रोल्पाजति पनि समाचारमा छैन।
खोकना राजधानीको निकटस्थ उपत्यका भएर पनि धेरै कुराबाट वञ्चित छ- धर्मप्रचार, संविधानसभा, क्याफे कल्चर, वाइफाई आदि इत्यादि। नेपालमा पहिलो बिजुली बलेको यो राज्यको विजयगाथा अब सीमित समुदायमा अभिकृत छ।
खोकनामा घरमा चुकुल लगाएर सुत्नुपर्ने जरुरी पटक्कै छैन रे, किनकि यहाँ चोरडाँकुले अहिलेसम्म प्रवेश पाउन सकेको छैन रे।
यात्राका क्रममा हामी एक्कासि कुमारीबहालमा भेटियौं, जीवित देवी कुमारीको दर्शन गर्न।
हरेक नेवारबस्तीमा हुने जस्तै जीवित देवी कुमारी यहाँ पनि दर्शनार्थ भेटियो कुमारीबहालमा। सबै फोटोग्राफरले सामूहिक फोटो खिचे, कुमारी सुरुमा त मुडमा थिइन्, पछि फोटो खिच्न गाह्रो भयो।
फोटो खिच्ने क्रममा कुमारीले अचानक अञ्जलीलाई अँगालो हालेर निकट बोलाइन्, सबै आश्चर्यचकित भए। भटाभट फोटो खिच्न थाले सबैले।
संयोजक दीपेन्द्रले भनिहाले, 'आज कुमारी माताले भाउज्यूको दिन भव्य बनाइदिइन्।'
फोटोमा कुमारी जत्ति उज्यालो र धपक्क बलेकी थिइन्, त्यो उज्यालो अञ्जलीको अनुहारमा पनि सरेको थियो।
हाँसोको यो सञ्चार धेरै कम देख्न पाइन्छ, फोटोग्राफर नगिना श्रेष्ठले पनि फोटोलाई आफ्नो क्यामेरामा सञ्चित गरिन्।
फोटोयात्राको यो तेस्रो शृंखला सकिँदासम्म पनि यो फोटोको धेरैले चर्चा गरिरहे।
बेलुकी यो फोटो फेसबुकमा अपडेट हुने बित्तिकै लन्डनबाट सेफ थोमस किल्रायले ट्विटरमा लेखे, 'जीवित देवी कुमारीसित मेरी जेठी सासू।' अनि गाथाकार ददि सापकोटाले आफ्नो फ्रेन्च वेबसाइटमा यसलाई प्रकाशन गरे।
फोटोको कमाल यही छ। भनिँदै आएको सत्य कुरा यही हो, फोटोले हजारौं शब्दको व्याख्या गर्छ। अनवरत रूपमा।

Tuesday, 15 March 2016

Tallman Prakash Thapa by Prakash Sayami


टलम्यान्  प्रकाश थापा
प्रकाश सायमी

00
नायिका करिश्मा मानन्धर गत हप्ता छापामा निकै चर्चाम रहे, विशेषतः उनको हल्लामा आएको एउटा चलचित्र फागू र एमाओवादीका अध्यक्ष प्रचण्डको वक्तव्य प्रति उनको टिप्पणीले ।
तर करिश्मालाई साँच्चै चर्चामा ल्याउने पहिलो कुरा थियो फिल्म सन्तान र त्यसको डायलग कान्ता यू ब्लडी विच् ।
यो संवाद् र यो सिनेमा उनका निम्ति प्रकाश थापाले बनाएका थिए तर आजकाल प्रकाश थापा ओझेलमा परेका छन्, करिश्माले उज्यालो छोडेको छैन ।
यस्ता घटना सिनेवृत्तमा सर्वप्रायः  हुने गर्छन् ।
प्रकाश थापा नेपाली सिनेउद्योगको धुनी जगाउने एक निर्देशक हुन् ।
प्रकाश थापा समयको यो आरेखमा कुनै फुटबल खेलाडी हो कि कुनै पूर्व सैनिकको पहिचान हो कि जस्तो जस्तो भएको छ । तर यो चानचुन नाम होइन ।
प्रकाश थापा जुन नामबाट नेपालीमा व्यावसायिक चलचित्रको बाटो बनेको थियो, नेपाली चलचित्र  सरकारी लगानीबाट निजी क्षेत्रतर्फ अग्रसर गराउनुमा प्रकाश थापाको विशेषाधिक देन छ ।
प्रकाश थापा वितेको एक दशक चानचुन भयो तर सिनेकलाकारले, चलचित्र उद्यमीले, चलचित्र पत्रकारले उनलाई कहिले कतै कुनै कारणले दोहोर्याएर सम्झेको देखिँदैन । उनी त्यसरी सम्झिनु पर्ने नाम होइन ।
एउटा क्लासिक लेखकलाई जस्तै अद्भुत विशेषताका साथ  हामी उनका आविष्कारलाई विना उनीप्रति आभारी भई महशुश गरिदिन्छौँ ।
प्रकाश थापा मुम्बईबाट फिल्मौद्योगमा अभिनय गरेर आएका नेपाली अभिनेता मध्ये पहिलो होइनन् ।
प्रकाश थापा नेपालमा फिल्म बन्ने निर्देशक मध्ये पहिलो पनि अवश्य होइनन् ।
प्रकाश थापा नेपाली सिनेमा बनाएर विश्व सिने उद्योगमा नाम दर्ता गराउने सफल फिल्मकार पनि होइनन् ।
सामान्य र औसत स्तरको अध्ययन गरेका प्रकाश थापा नेपाली सिनेमालाई व्यावसायिक लिकमा ल्याउने एक प्रतिवद्ध सिनेकर्मी हुन् ।
उनी सिनेमा बनाउन भारतको मुम्बईबाट नेपाल आउँदा यहाँ सिनेमा बनाउँदै गरेका एकदुईजना व्यक्ति थिए जो सुस्ताइसकेका थिए, नवीन केसीको कहिँ दियो कहिँ बत्ती र सूर्यनाथ शर्माको मायालु डब्बा बन्द भइसकेका थिए ।
सिनेमा निर्माणका निम्ति निजी व्यवसायी र उद्योगीहरु के कति कारणले तयार थिएनन् , सम्भावनाको बाटो  थिएन शायद  । नियम विनिमयका कुरा थिएनन् । समाजमा  इज्जत र आदर्शका कुरा विल्कुल थिएनन्  ।
जब प्रकाश थापा सेतो शर्ट र सेतो पाइन्टमा उँचो कदमा एक्शन भन्न उभिए, त्रिकेटको क्रिजमा मोहिन्दर अमरनाथ उभिएजस्तै ।
उनले एक्शन भन्दा यहाँ एक्शन कट भन्ने कुनै जमात बनिसकेको थिएन । आज उनको घनघोर आवाजको पछि मान्छेले क्लोज शट, लंग शट, मोन्टाज, स्ट्याटिक शट भन्न सिके वा भन्दै गए ।
यस अगि यी र यस्ता धारका  शब्द कुनै छापामा देखिनु, वा कुनै ध्वनि तरंगमा सुनिनु दुर्लभप्रायः   थियो , उनले यसको बानी लगाई दिए २०३२ सालदेखि । उनी यसका प्रमिथस भए ।
प्रकाश थापाका जीवनका दुई दुर्गम क्षणहरु त्यही वेला शुरु भयो जब उनले पहिलो चलचित्र मनको वाँध को क्याप्टनशीप सम्हाले ।
अद्र्धसरकारी स्वामीत्वको शाही नेपाल चलचित्र संस्थानबाट मनको वाँध बनाउँदा त्यहाँ दरवार प्रत्यक्ष सक्रिय थियो भने त्यही संस्थानको बोर्डमा साहित्यकार बालकृष्ण सम, माधव घिमिरे जस्ता दिग्गज स्रष्टा सञ्चालक समितिमा आवद्ध थिए ।
नेपाली साहित्यससित दूर दूरको नाता नभएका बम्बैया बाबू प्रकाश थापालाई असफल बनाउन संस्थानकै प्राविधिक कर्मचारी सक्रिय थिए र यो फिल्म एक हिसाबले धराशायी नै भयो ।
मनको वाँध को फैलिएर पछि प्रकाश थापाका जीवनमा दोधार त्यसै आयो, गुरुदेश भारत फर्किने कि सम्भावना नभए पनि नेपालमै बसेर फिल्म बनाउने ?
दोस्रो अप्सनमा उनले क्लिक् गरे , आफ्नै लगानीमा उनले मेरो देश नामक् सिनेमा घोषणा गरे । दुर्भाग्यले यो सिनेमा पनि नबने पछि उनी फेरि थन्किए ।
शाही नेपाल चलचित्र संस्थानको तेस्रो फिल्म सिन्दूर बाट उनले कमव्याक् गरे । उनले यस फिल्मका लागि उपन्यासका दौलतविक्रम विष्टको कथा जब बादल फाट्छ किने । यस चलचित्रका निम्ति उनले पटकथा लेखनमा मुम्बईका देवू सेन र नायिकाका निम्ति मुम्बईमा संघर्षरत मीनाक्षी आनन्दको सहयोग लिइन् । संगीत निर्देशकमा उनले पहिलो पटक गोपाल योञ्जन र उनका सिनियर नातिकाजी लाई कम्बाइन मा लिए । यस फिल्मका निम्ति उनले छायाकारमा मुरारि ठाकुर र मञ्जुकुमार श्रेष्ठ अनि अन्य सहयोगमा चेतन कार्की, किरण खरेल, प्रदीप रिमाल, चैत्यदेवी सिंह, सतीश कोइरालाको सहयोग लिए ।
सिनेमा बन्यो । चल्यो ।
नेपाली सिनेमाको इतिहासमा पहिलो पटक काठमाण्डू उपत्यकामा ५२ हप्ता भीडका साथ चलेको यो पहिलो सिनेमा थियो र यो ऐतिहासिक रेकर्ड अरु सिनेमाले आज सम्म तोड्न सकेको छैन ।
यसपछि उनले जीवन रेखा बनाए, केशवराज पिंडालीको कथामा । यो सिनेमाले व्यावसायिक रेकर्ड तोड्न सफल भयो ।
नेपाली सिनेमा बन्नु ठूलो कुरा थियो त्यति वेला । र, बनेर चल्नु ठूलो कुुरा थियो त्यो वेला ।
हाम्रा सिनेमामा त्यतिवेला सत्यजित रे, आकिरा कुरोसावा, इँग्मार बर्गम्यान्, फेडरिको फेलिनीका कुरा हुन्थे तर लागू गर्न गाह्रो थियो । त्यतिवेला भारतवर्षमा फ्रान्सेली सिनेमाको नोभेला भेग –(नौलो धार) को प्रभाव आइसकेको थियो । हामी कहाँ नौभेला भेग पढेर आएका पिँढी तयार थिए तर प्रकाश थापाको बाटो त्यतातिर गएन ।
तीस दशकको अन्त्य र चालीस दशकको शुरुवातमा प्रकाश थापाको व्यासायिक लहरले काठमाण्डूका उद्यमीलाई नेपाली सिनेमा बनाउन प्रेरित गरे । यसपछि निजी क्षेत्रबाट केही सिने कम्पनीहरु जुमुराए, सुजाता फिल्म्स् को जुनी, हेम्स्को आदर्श नारी, त्रि ओम प्रोडक्शन्स्को कान्छी ।
यही समय दार्जीलिँगबाट प्रताप सुब्बा र मुम्बईबाट तुलसी घिमिरे र शम्भु प्रधान पनि देखा परे ।
प्रकाश थापाका दुई सिनेमा सिंदूर र जीवन रेखा का कारणले कमोवश रुपमा ल्याएको यो परिवर्तन उनका निम्ति पनि चुनौतीपूर्ण भयो ।
अब उनी भन्दा जान्ने निर्देशकहरु पनि मैदानमा आउन थाले ।
उनले यही समय निजी प्रोडक्शनबाट सन्तान नामक् सिनेमा बनाए, सन्तानमा उनले आफ्नो ठूलो मिहेनतले मुम्बईका ख्यातनामामा सैक्सोफोनिस्ट मनोहरि सिंहलाई संगीतकारको रुपमा लिए ।
यही सिनेमा मार्फत् उनले नेपाली सिनेमाको पर्दामा दुई नयाँ नायिका करिश्मा केसी र गौरी मल्ललाई पदार्पण गराए भनें यही सिनेमाबाट नायकका रुपमा अर्जुनजंग शाही लाई पनि परिचय दिलाए यद्यपि यसअगि जीवन रेखामा उनले नयाँ नायक शिव श्रेष्ठलाई पर्दामा ल्याइसकेका थिए ।
यसवाहेक उनले चलचित्रको पर्दामा अभिनेताका रुपमा विश्व वस्नेत, गोपालराज मैनाली, हरिवंश आचार्य, शम्भुजित बाँसकोटा, क्रिष्टी केसी आदिलाई ल्याईसकेका थिए ।
मुम्बईको वर्लीमा हुर्केका प्रकाश थापाको मुम्बई कनेक्शनका कारण यसपछि नेपाली सिनेमाको कामधाम यसपछि मुम्बईमै हुन थाल्यो । मुम्बईको रफ्तारमा नेपाली सिनेमा व्यावसायिक बन्न थाल्यो । यसको श्रेय दुई शब्दमा भन्दा प्रकाश थापालाई नै जान्छ ।
प्रकाश थापाले नेपाली सिनेमामा धेरै प्रयोग गर्न चाहेनन् किनकि उनले जानेको पनि त्यति नै थियो । एक असफल अभिनेताका रुपमा फिल्मी जीवनमा प्रवेश गरेका प्रकाश थापाको सिनेमायी पृष्ठभूमि निर्देशकका रुपमा त्यति स्पष्ट थिएन ।
धनकुटाको मुगाबाट काठमाण्डू आएर सातसालको क्रान्ति पछि  शान्त शम्सेरको परिवारसित मुम्बई पलायन भएका थापाका पिता उद्दीप सिंह थापा अँग्रेजी साहित्यका अध्येता थिए र अनुवादक पनि । उनैको छत्रछायाँमा उनले साहित्य पढे तर धेरै कम ।
तर प्रकाश थापाले नेपाली सिनेमामा सबभन्दा धेरै साहित्यिक जगतकै सहयोग लिए , माधव घिमिरे, दौलतविक्रम विष्ट, चेतन कार्की, श्रीधर खनाल, केशवराज पिंडाली, कालिप्रसाद रिजाल, लक्ष्मण लोहनी  आदिको ।
सिनेमा निर्माणका क्रममा नेपालमा निर्देशकलाई उनले टेक्निकली साउन्ड हुन  र पल्टीकल्ली करेक्ट हुन  बाटो देखाए ।
उनको चौथो तर निजी क्षेत्रबाट बनेको उनको पहिलो सिनेमा सन्तान को पहिलो प्रिभ्यू उनीसितै बसेर मुम्बईको अँधेरीस्थित फिल्मालयमा हेर्ने मौका मिल्यो । यस प्रदर्शनीमा अभिनेता डैनी डेन्जोँग्पा, निर्देशक उग्येन, गायक उदीतनारायण झा, गायिका दीपा गहतराज सहभागी थिए । त्यस क्रममा उनले गर्व गर्दै भनेका थिए, नेपाली सिनेमा यहाँ आइपुग्ला भनेर मैले कल्पनै गरेको थिइँन तर नेपाली सिनेमा यहाँ नआईपुगेको भए म पनि मुम्बईको भीडमै हराई सक्थेँ ।
प्रकाश थापाका यी भावभिनी शब्द सुनेपछि बाटोमा फर्किँदै गर्दा गायिका दीपा गहतराजले भनेका पंक्ति म आज पनि सम्झिन्छु, प्रकाश थापा नेपाली सिनेमाका ्एक मात्र ड्यासिंग डायरेक्टर  हुन् । उनको मुकाविलामा अरु कोही छैन, हि अज् अल्वेज् टल ।
नेपाली सिने उद्योगका ‘ए टल म्यान्  प्रकाश थापा’ले सन्तान पछि कन्यादान बनाए, कन्यादान कै समय नेपाली टेलिभिजनको इतिहासमा उजेली जस्तो सिरियलको चर्चा भइसकेको थियो । उनले यही शैलीलाई पर्दामा ल्याए ।
यसपछि बनाएको महामाया भन्ने फिल्मले उनलाई असफलताको संघारमा पुर्याई दियो ।
असफलताले उनको जीवनको रंग नै बदलिई दियो ।
सिनेमामा आएका नयाँ प्रविधि र  परिधिसित उनी परिचित थिए तर सतर्क थिएनन् ।
महामाया पछि उनले विश्राम लिए । फेरि हेर्दा समय मौन भइसकेको थियो , उनले चिन्ने र नचिन्नेको लश्कर अगि वढ्दै थियो । उनको साइलेन्स् भन्ने आवाज शान्त भइसकेको थियो ।
उनी चूपचाप एक किनार  लागे , मानौँ इतिहासको एउटा पाना जस्तो ।
 केही अन्तराल पछि उनलाई पुनः  निर्माता भगवानदास श्रेष्ठले नाता रगतको  बाट पुनरागमन गराए ।
सन्तानका निर्माता भगवादासको पनि यो वाह्रवर्ष पछिको कमब्याक् थियो ।
२०५६ सालको फिल्म महोत्सवमा यही सिनेमाबाट उनले सर्वोत्कृष्ट निर्देशकको पुरस्कार पाए, प्रतिस्पर्धीमा उनी सित उग्येन र उज्वल घिमिरे थिए ।
उनले पुरस्कार जित्दा सबै आशावादी  थिए, अब उनको आगमन जोडदार हुनेछ ।
सिनेमाको इतिहासमा यस्तो घटना विरलै हुन्छ । उनले रिटायर्ड हल्ट लिए, क्रिकेटमा ९० र शतकका वीचको पारीमा जस्तै ।
प्रकाश थापा वानेश्वरको हाइटमा एक एकान्तप्रिय जीवनमा गुम्सिए , थाकेका धेरै हारेका कम । सुनिएका धेरै देखिएका कम ।
उनको निधनको एक दशक पछि  र यसवीच उनका चलचित्र कुनै हलमा अहिले सम्म लागेका छैनन् । धेरै कुरा बद्लिसकेका छन्, पर्दा, समय र मान्छे । तर हरेक वर्षको तीज भरि उनको चलचित्रको एउटै गीत (संयोगले नेपाली चलचित्रको एउटै गीत) तीजको रहर वरि आयो लै मा नेपाली चेली नाच्छन्, झुम्छन् गाउँछन् । 
कन्यादानको यो गीत प्रकाश थापाले चेतन कार्कीलाई नलेखाएको भए, वा मनोहरि सिंहलाई संगीत नगराएको भए हाम्रा चेलीको तीज अलि सुख्खा नै हुन्थ्यो होला शायद ।
गीत–संगीत, सिनेमा साहित्यका कारण नेपाली समाजमा यति ठूला वृत्त बनाउने ‘ए टलम्यान् प्रकाश थापा’का निम्ति हामीले हाम्रो मनको कुनै कुनामा वा हाम्रा अखबारका पानामा एउटा सानो स्पेस पनि दिन नसक्नु हाम्रो दुर्भाग्य हो जस्तो लाग्छ ।
०००
 

Wednesday, 3 February 2016

Satyajit Ray by Prakash Sayami

सत्यजीतको संसार
प्रकाश सायमी
बम्बई आजको मुम्बई होइन ।
त्यहीँ मैले पहिलो पटक भेटेको थिएँ, नवेन्दु दा । जसको पूरा नाम थर हो नवेन्दु घोष । उनी सिनेमा लेख्थे, सिनेमालाई कथाको ढाँचामा पटकथामा रुपायित गर्थे तर धीमा स्वरमा साना साना कुरा भन्थे जुन बुझ्दा ठूलो लाग्थ्यो ।
बम्बईको होटलको सीरकको अपेक्षाकृत विशाल वातानुकूलित स्टुडिओमा नवेन्दू घोषसित वासुदाले चिनाइदिएका थिए, यसो भन्दै, मानुष । वैष्णवो जानबो ।
बंगालीमा मैले नबुझेको अविस्मृत  त्यस संवाद्को सारसक्षेप यो मान्छे कविता पनि गर्दोरैछ भनिएको होला भन्ने म बुझ्छु  ।
नवेन्दूदा त्यतिवेला वासु भट्टाचार्य निर्देशित पञ्चवटी मा संवाद् लेख्दैथिए र चलचित्रमै उनले कर्मसिद्धी गुरुज्यू नामक् एक प्रौढ पात्रको भूमिका पनि  निर्वाह गर्दै थिए । म त्यस चलचित्रका निम्ति वासुदाको सहायक थिएँ, त्यसपछि नवेन्दुदासित हिन्दी संवाद् नेपालीमा अनुवाद गर्ने कामको भारा पर्यो मलाई  ।
 वासुदाको सौभाग्यले नवेन्दूदासित पन्ध्र सोह्रदिन मैले सँगै बसेर काम गरेँ ।  विमल राय, ऋषिकेश मुखर्जी, सलिल चौधरी, असित सेन , सत्यजित रेसित काम गरिसकेका नवेन्दूदा पछि आफैँ चलचित्र निर्देशक पनि भए, तृषाग्नि मा
 ।
सन् १९८५ को डिसेम्बर वीसभन्दा अगिको त्यो पन्ध्रदिन मेरा निम्ति सत्यजितमय हुन गयो । उनले सत्यजित रेका वारे यति धेरै जानकारी, ज्ञान र गोप्यता मलाई पोखे , मेरा निम्ति त्यो विश्वविद्यालयीय पाठ भन्दा कम थिए ।
नवेन्दुदा सत्यजित रे कति नजीक कति टाढा थिएन तर सत्यजित रे कहाँ कता के गर्दैछन् सब जानकारी उनी राख्थे ।
बम्बईमा सत्यजित रे एउटा हिन्दी सिरीयलको छायाँकन गर्न आउने कुरा उनले मलाई त्यतिवेला सुनाए, जतिवेला हामी पञ्चवटीको प्याच्वर्क गर्दैथियौँ ।
स्मिता पाटिलले अभिनय गर्ने त्यो सिरीयल मुम्बईमा छायाँकन भएन बरु सत्यजित रे काठमाण्डू गएछन्, किस्सा काठमाण्डूका शुटिंग गर्न ।
त्यही वर्षको डिसेम्बर २६ तिर काठमाण्डूबाट रेले नवेन्दूदालाई एउटा टेलिग्राम पठाए, स्मिता पाटिलको दुःखद् निधन मा शोक व्यक्त गर्दै ।
सत्यजित रे दोस्रोपटक काठमाण्डूमा ‘किस्सा काठमाण्डू का ’को शुटिंग गर्न गएका थिए, पहिलो पटकको शुटिंगमा मेरो मधुर मिलन भएको थियो चलचित्र संस्थानको आँगनमा ।
पहिलो पटक शुटिंग गर्न आउँदा उनलाई चेतन कार्की, हरिहर शर्मा, उज्वल कुन्दन ज्यापू आदिले निकै सहयोग गरेक थिए । तर त्यो वेलाको सहयोग र स्नेह प्राविधिक कारण काम नलाग्ने भएपछि उनले चलचित्र संस्थानलाई मुद्दा हाले आफूलाई विग्रेको क्यामरा प्रयोग गर्न दियो भनेर ।
यसपछि चलचित्र संस्थानले उनलाई क्षतिपूर्ति तिर्नु पर्यो , करीब करीब ५६ लाख रुपियाँ ।
संस्थानसित मिलेर एउटा फिल्म बनाउने उनको र संस्थानको यो सपना ध्वस्तन्यस्त भएपछि नै पञ्चवटी को तयारी भएको हो शायद ।
रेले नेपालीमा सिनेमा बनाएनन् तर नेपालीसित धेरै काम गरे, विशेषतः भारतीय नेपाली र भारतमा भास्सिएका यहाँका पुराना संभ्रान्त नेपालीसित ।
मेरो पहिलो चलचित्र पृथिवी को अल्बम विमोचनमा प्रमुख अतिथि भएर आउँदा भरत शम्सेर जबराले कसरी रे सित सिनेमा बनाएँ भनेर आफ्नो अनुभव सुनाएको म अझै पनि  सम्झिन्छु । सन् १९७१ मा चित्राञ्जली का निम्ति भारत शम्सेरले सीमाबद्ध नामक् सिनेमा उनीसित बनाएका थिए ।
शंकरको उपन्यास सीमाबद्ध मा  आधारित यस फिल्ममा बरुण चन्दा र शर्मीला टैगोरले उत्कृष्ट अभिनय गरेका थिए । यसपछि भारतशम्सेर र सत्यजीत रेले कुनै फिल्म बनाएनन् ।
सत्यजित रेको नेपाल र नेपालीसँग लगाव अरु धेरै कारणले पनि छ, उनले काठमाण्डू माथि कैयन् कथा लेखे । उनले नेपालीवासी धेरै भएको ठाउँ दार्जीलिँगमा गएर कञ्चनजंघा (१९६२) शुटिंग गरे , उनले नेपालीकै सहयोगमा सिक्किमका अन्तिम राजा छोग्यालको लगानीमा सिक्किम (१९७१ ) मा छायाँकन गरे ।
कञ्चनजंघाका वारेमा धेरै तारतम्य प्रसंगमा गोपाल योञ्जन पनि जोडिन्छन्, संगीतकार योञ्जनलाई यस चलचित्रमा रेले शुरु को भागमा बाँसुरी बजाउन लगाएका थिए भनिन्छ तर पर्दामा उनको नाम छैन, आलोक डे को नाम पढ्न पाइन्छ ।
बरु सत्यजित रेले काठमाण्डू आउँदा कञ्चनजंघा को बालपात्र त्यो गुरुङ केटो कसरी छानियो भन्ने चैँ सुनाए , म र मेरा साथी वीरेन्द्र श्रेष्ठलाई ।
पत्रकार वीरेन्द्र श्रेष्ठ पेशाले पत्रकार भए पनि उनमा गायनको नशा थियो उनका दाजु अरुण थापाले गर्दा । उनले सत्यजित रेसितको पहिलो भेटमा केही नेपाली लोक गीत पनि सुनाएका थिए ।
किस्सा काठमाण्डू का को पहिलो एपिसोडको छायाँकनका वेला हामी तीनजना भेट्न गएका थियौँ, वीरेन, सुमीत्रा राई र म ।
त्यो भेट आधा घन्टाको थियो र त्यहीदिन रे महोदय कोलकत्ता उड्दै थिए ।
रे महोदयसित यसपछि अर्का भेट कोलकत्ताको मारोलोक स्टुडिओमा भयो जहाँ गणशत्रु को छायाँकन गर्दा गर्दै उनलाई हर्टअट्याक् भयो  । यो सन् १९८९ को कुरा हो यसपछि उनी धेरै वर्ष सिनेमामा फर्किएनन् । पछि उनले शाखा प्रशाखा र आगन्तुक बनाए ।
भारतीय फिल्म उद्योगका पाँचजना अग्ला मान्छे मध्ये रे पनि एक थिए जो ढले सन् १९९२ मा, कोलकत्ताको  के एम सी अस्पतालमा । सोही अस्पतालमा उनले ओस्कार पुरस्कार समारोह समितिका तर्फबाट दिइएको विशेष  लाइफ टाइम अचिभमेन्ट ग्रहण गरे  । इतिहास उनको निमित घडीको चक्रमा उल्टो घुम्यो । सन् १९५६ मा उनले पहिलो फिल्म ‘पाथेर पाञ्चाली’ का निम्ति क्यान्स् फिल्म फेस्टिभलबाट वेस्ट ह्यूमन डक्यूमेन्ट्री अवार्ड पाएका थिए । 
इतिहासको यो चरणमा ओस्कार पुरस्कार समारोह स्थल छोडेर बाहिर आएको यो पहिलो घटना थियो । शायद् यस्तो उच्चाकर्षणको पुरस्कार दक्षिण एशियाई भूमिसम्म आइपुगेको यो घटना लगभग पहिलो थियो र अहिले सम्म पहिलो नै मानिँदै आएको छ ।
यसको पाँचवर्ष पछि मैले रे लाई समर्पित गरेर रे माथि एउटा पुस्तक प्रकाशन  गरेँ, जसको नाम थियो रे ः द म्यान् अफ् सिनेमा । लेखकीय रुपमा यो मेरो पहिलो आँग्ला भाषाको किताब थियो ।
डापा पब्लिकेशनबाट प्रकाशित यो पुस्तक रे प्रति मेरो श्रद्धाञ्जलि थियो । यस पुस्तक तयार पार्दा मैले कैयन् सर्जक, कलाकार सित भेटेँ, कैयन् सित फोनमा कुराकानी गरेँ । कैयन् तथ्य पुस्तकहरुबाट लिएँ । यसै पुस्तक तयार पार्दा  अभिनेत्री अपर्णा सेनले भनेकी थिइन्, सिनेमाले हामीले गरेको गल्तिलाई झन् ठूलो देखाउँछ । मणिकाकाको सिनेमामा त्यो थिएन ।
चलचित्र पत्रकार चीदानन्द दास गुप्ताकी छोरी अपर्णा सत्यजीत रेलाई मणिकाका भन्थे , सत्यजीत रेलार्य बंगाली मूलका धेरै वन्धुवान्धवहरु माणिकबाबू भन्न मनपराउँथे, नवेन्दुदा पनि माणीकबाबो भन्थे, हाम्रा भारत शम्सेर प्रेमले माणीकदा भन्थे ।
ती माणीक दाप्रति समर्पित भएर पहिलोपटक काठमाण्डूमा सत्यजीत रे फिल्म महोत्सव भयो सन् २००५ मा ।
ललितपुरको यलमाया केन्द्रमा आयोजित यस फिल्म महोत्सवका आयोजक रेशु अर्यालका तर्फबाट महोत्सव मन्तव्य राखीदिन आग्रह गर्दा मैले स्पष्ट रुपमा यो  कुरा भनेको थिएँ,“ सिनेमा दुई कारणले  बन्दछन् , एउटा बनिबनाऊ दुनियाँका निम्ति र अर्को नयाँ बन्दै गरेको दुनियाँका निम्ति । सत्यजीतका निम्ति यी दुवै जगत उपलब्ध थिएनन् र उनले अर्को नयाँ दुनियाँ बनाए जसलाई सत्यजीत रेको संसार भन्न  सकिन्छ जहाँ उनले सबै कुरा स्कुलमा सिके जस्तो सिके । कतिपय मानिस फिल्म स्कुलमा गएर फिल्म पढ्छन् र सिक्छन् तर मेरा निम्ति सत्यजीत आफैँ एक स्कुल हुन्, फरक यत्ति छ । यही फरक छुट्याउन हामी यो जगतमा आउने हो भने सिनेमा हाम्रो लागि नयाँ विधा हो नत्र यी सारा सूत्र पुरानै हुन् । ”
सत्यजीत रेसित मेरो भेट केही केही कारणले महत्वपूर्ण होला तर सत्यजीत रे मेरा लागि  विशेष अर्थपूर्ण बनाइदिए, मेरा आदरणीय गुरु बासु भट्टाचार्यले अनि उनकै छायाँमा भेटिएका आदरणीय नवेन्दु घोषले । नवेन्दुदाले चिनाइदिएको सत्यजीत रेको संसार मेरा निमित अपार छ, अपार ।
००

Sunday, 24 January 2016

Garage Music by Prakash Sayami

ग्यारेज गायनको अतीत
प्रकाश सायमी



विश्वप्रसिद्ध सांगीतिक व्यान्ड् बीटल्स् र यस समूहका थरीथरीका गायक र वाद्यवादकको आआफ्नै परिचय छ । जोन लेनन, पल मकार्टिनी, जर्ज ह्यारिसन, रिँगो स्टार आदि । पल र जोन बाल्यकालदेखि नै साथी थिए ।
यी दुवैले आफ्नो गायन स्कुलेजीवनमै शुरु गरेका थिए । यिनका अधिकृत जीवनी लेखक फिलीप नरम्यानका अनुसार यिनको समूहको गीति गायनको अभ्यास पहिलो पहिलो पटक मोटर ग्यारेजमा शुरु भएको थियो । मोटर ग्यारेजमा अभ्यास गरेको कैँयौ वर्ष पछि मात्र यिनले मञ्चमा पाइला टेकेका थिए ।
हुन त राम्रो नराम्रो जस्तो गाउनेको पनि गायन बाथरुमबाट शुरु हुन्छ भन्छन् तर प्रसिद्ध रक गायक माइक खड्का भन्छन् , “राम्रो गाउन जान्यो भनें वाथरुम सबभन्दा राम्रो गाउने ठाउँ हो , त्यहाँ इको सिस्टम मिलेको हुन्छ ।”
यद्यपि माइक खड्काको यो कुरालाई गलत भनि हाल्न पनि मिल्दैन । किनकि भारतीय सिने उद्योग बलिऊडकी चर्चित गायिका लता मंगेशकरले कालजयी सिनेमा ‘मुगल–ए–आजम’ को एउटा गीत ‘जब प्यार किया तो डरना क्या’ वाथरुम मै गएर रेकर्ड गरेकी थिइन् ।
यस फिल्मका संगीतकार नौशादका अनुसार त्यति वेला गीत रेकर्ड गर्दा रिभर्भ ( प्रतिध्वनि हाल्ने प्रविधि)को विकास भइसकेको थिएन । त्यसैले वाथरुम जत्ति उपयुुक्त ठाउँ अरु देखिएन । त्यसैले लतालाई वाथरुममा गएर गाउन अनुरोध गरियो ।
वाथरुम पछि मोटर ग्यारेज पनि गाउन र अभ्यास गर्न एक उपयुक्त ठाउँ मानिन्छ । तर अनौठो र अचम्मको कुरा धेरै गायक, सर्जक, कलाकारको अधिकांशको प्रारम्भिक जीवन पहिले मोटर ग्यारेजमै वितेको पाइन्छ । युरोप र अमेरिकामा यस्ता घटना धेरै छन् तर एशियाई मूलमा पनि नेपाल, भारत, पाकिस्तानका स्रष्टा सर्जकको जीवनमा मोटर ग्यारेजको धेरै अहम् भूमिका छ । त्यसमध्ये पहिलो नाउँ आउँछ , भारतका प्रसिद्ध फिल्मकार गुलजारको ।
गुलजारले नेपाल आउँदा ललितपुरको यलमाया केन्द्रमा भने, “म कलम चलाउनु भन्दा पहिले मोटर ग्यारेजमा रिन्चु र पेँन्चिस चलाउँथे । ”
सन् १९९९ मा काठमान्डूमा आयोजना गरिएको काठमान्डू फिल्म फेस्टिभलमा प्रमुख अतिथिका रूपमा आउँदा गुलजारले आफ्ना जीवनका पूर्व दृश्यपटका कुरा गर्दा पाकिस्तानबाट भारतको दिल्ली आएर संघर्ष गरेको अनि आफ्ना दाजुसित काम गर्न बम्बई आएको स्मरण साझा गरेका थिए ।
गुलजारले माचिस, इजाजत, नमकीन, मौसम, आँधी, मेरे अपने, मिर्जा गालिब जस्ता फिल्म निर्देशन गरेका छन् । उनले नै निर्देशन गरेको फिल्मबाट पहिलो पटक डैनी, शत्रुध्न सिन्हा, विनोद खन्नाले  फिल्मी क्यारिअर शुरु गरेका थिए भने उनले नै लेखेको फिल्म आनन्द बाट राजेश खन्नासँगै अमिताभ बच्चन पहिलो पटक चर्चामा आएका थिए ।
पाकिस्तानको दीनामा जन्मेका गुलजार भारत विभाजन पछि उनी पाकिस्तान छोडेर  दिल्लीमा स्थानान्तरण भए । दिल्लीबाट आफ्ना दाजुसित उच्च अध्ययन गर्न आएका गुलजारको पढाई इन्टरमिडियटबाट अगि वढ्न सकेन । उनी आफ्नो संस्मरणको एक किताबमा लेख्छन्,
बम्बईमा मेरो आरम्भिक दौड चल्दैथ्यो । इन्टर पास गर्न सकिनँ, फलस्वरुप दुई छाक टार्न जे काम हात लागे पनि गर्थेँ । एउटा मोटरग्यारेजमा एकाउन्टेन्टको काम गर्दैथिएँ । त्यो ग्यारेजमा गाडी रँगाउन पनि मान्छे आउँथे । त्यो जमानामा आजको जस्तो बनाइएको रंग पाइँदैनथ्यो , त्यसलाई बनाउनु पथ्र्यो । त्यो काम एकदम चूनौतिपूर्ण हुन्थ्यो , किनकि गाडीको जुन भागलाई रंगाउनु पथ्र्यो त्यसको रंगसित गाडीको रंग पुरै मेल खानु जरुरी थियो । ग्यारेजमा काम गरेकोले मलाई सही रंगलाई सही अनुपातमा मिलाएर सही रंग बनाउन आयो । पछि गएर एक फिल्मकारको रुपमा , रंगसितको मेरो यो परिचय पुरा काम आयो । ”
गुलजारले मोटर ग्यारेजमा हुँदै अग्रज निर्देशक विमल रायको फिल्म बन्दिनी मा गीत लेखे । पछि रायले नै उनलाई मोटर ग्यारेज तिम्रो ठाउँ होइ, फिल्ममा आऊ भनेपछि उनले मोटर मेकानिक्सको काम छोडेर सहायक निर्देशक भएर फिल्ममा प्रवेश गरे ।
अन्ततः उनी स्वयम् पनि एक कुशल निर्देशक भए ।
उनकै समकालीन कवि कुँवर नारायणले पनि साहित्यलाई धन्दा बनाउन नपरोस् भनेर मोटर स्पीड नामको ग्यारेज खोले । कवि लेखकको मात्र होइन, प्रसिद्ध गजल गायक मेंहदी हसनको पनि मोटर ग्यारेजबाटै आफ्नो क्यारिअर शुरु भएको देखिन्छ ।
नेपालका राणा प्रधानमन्त्री जुद्ध शम्सेरको शासनकालमा यहीँको दरवारमा शास्त्रीय संगीतका दरवारीया गुरु भएर बसेका आजम खाँ का नाति मेँहदी हसन पनि भारत पाकिस्तान विभाजन पछि भारत छोडेर आफ्ना पिता सित पाकिस्तान गए ।
हातमा दशहजार रुपियाँ लिएर पाकिस्तान गएका मेँहदी हसनको परिवारलाई त्यतिवेला संकट आइपर्यो जब सम्पूर्ण परिवारले गायनमा निर्भर रहनु पर्यो । आफ्ना काका इस्माइल खाँको आग्रहमा उनले शुरुमा मोटर ग्यारेजमा सहायक भएर पछि मेकानिक्स् भएर काम गरे ।
सन् १९५५ सम्म उनले रेडियो र माइक्रोफोन देखेका थिएनन् । आफ्ना पिता, पितामह, परमपिता सबैले संगीतमा जीवन होमे पनि उनले  जीवन गुजाराको निम्ति मोटर ग्यारेजमा पार्ट पूर्जा फिट गर्ने , नटबोल कस्ने, रिञ्चू, पेन्चिस चलाउने काममा पोख्त भए ।
ग्वालियर र जयपुर दरवारमा कलावन्त पदवी पाइसकेका घरानिया परिवारमा जन्मेका  यी नाति उस्तादले युवाकालमै  हार्मोनियम , तबला छोडेर मोटरको बनेटमा हात बजार्न थाले । तर यिनको गायनको खाकी यहीँबाट तीक्ष्ण हुँदै गयो । उनले ग्यारेजमा साथीभाइलाई फिल्मी गीत नक्कल गरेर सुनाउने र आवाजको विविध प्रयोग गर्न थालेपछि यिनलाई ग्यारेजबाट रेडियोको स्टुडिओ पुर्याउने काम यहीँबाट भयो ।
शारीरिक रुपले हट्टाकठ्ठा, बलवाहुमा ताकत भएका अग्लो  कदका मेंहदी हसन हेड मिस्त्रीबाट गजल गायनमा विश्वकै उच्चाकर्षणमा पुगे, उनलाई गजल गायनका बादशाहको पदवी दिइएको छ । उनी नेपालमा गोरखा दक्षिण वाहु पाउने पहिलो विदेशी कलाकार थिए । उनले पछि आफ्नो स्वरमा चाँदनी शाहको शब्द र दीपक जंगमको संगीतमा छओटा गीत गजल पनि गाएका छन्, उर्दूमा ।
मेँहदी हसनले एकपटक लताको स्वरको तारिफ गर्दै भनेका थिए, भगवानले लताजीलाई राम्रो गला दिएको छ ।
लताले यसको जवाफमा भनेकीथिइन् , भगवानले मलाई गला मात्र दिएको छ तर मेँहदी हसनको त गला मै भगवान छ ।
गजलका पर्याय मेंहदी हसनलाई रत्न रेकर्डिँग संस्थानको निम्तोमा पन्ध्रदिने लामो कार्यक्रम गर्न नेपाल आउँदा नारायणगोपालसित भेट्न रुचि पनि रा्खेका थिए र दुवैको भेट होटल याक एन्ड यति मा भएको थियो ।
मेंहदी हसनले काठमान्डूको सभागृहमा कार्यक्रम प्रस्तुत गर्दा नारायणगोपालको गीत गाएर कार्यक्रम शुरु गरेका थिए । सार्क संगीतमा मेंहदी हसनलाई मनपराउने कलाकार कैयन् छन् तर नारायणगोपाल पनि त्यसमध्ये एक अवश्य थिए , उनले मेरो वेहोशी मेरो लागि पर्दा भो कम्पोज गर्दा मेंहदीबाट आफू प्रभावित भएको स्वीकारेका छन् ।
हसनकै गायनबाट प्रभावित भएर घन्टौँ साधना गर्ने नारायणगोपालको जीऊडाल र कदकाठी पनि उनकै जस्तो देखिन्छ, चौडा छाति, बलिष्ठ बलवाहु र गरजदार आवाज । यी दुवैमा धेरै कुरा समानता देखिन्छ । दुवै शारीरिक व्यायाम प्रशस्त गर्ने, खान्कीमा पनि निकै बल गर्ने । रसरसादी पिउन र चिया चुरोटका पनि अम्मली ।
संयोगले दुवैको मिल्दो अर्को चरित्र हो, ग्यारेजको हेड मिस्त्री ।
नारायणगोपाल गायनमा स्वर सम्राट हुनु अगि हेटौँडाको एउटा आरडीएक कार्यायलमा हेड मिस्त्री थिए ।
त्यतिवेला उनी सँगै काम गरेका नुवाकोटका रामहरि रिमाल लेख्छन्, नारायणगोपाल राम्रो गाउने र त्यही रहेका अर्का मिस्त्री शास्त्रीय संगीततका ज्ञाता सत्पालजीले नारायणलाई नयाँ राग ढाल्न सघाउँथे । यहाँ हुँदा उनले आफ्ना अनेक हुनर देखाए ।
विक्रम संवत् २०१८ सालमा आफ्ना दाजु नन्दगोपाल गुरुवाचार्य आरडीएकको डिभिजन अफिसर भएर जाँदा नारायणगोपाल पनि हेटौँडा पुगेका थिए , मोटर ग्यारेजको हेड मिस्त्री हुन ।
नारायणगोपालका भाइ गायक मनोहरगोपाल गुरुवाचार्य स्वरसम्राटको २५ औँ पुण्यतिथिमा यो कुरा सम्झना गर्दै भन्छन्, गाएर जीवन गुजारा हुँदैन भनेर बुबाले उहाँलाई त्यहाँ पठाएका थियो तर एउटा गायकको त्यहाँ पनि मन बस्न  सकेन । त्यहीँ हुँदा उहाँको गीतकार क्षेत्रप्रताप अधिकारी, गायक संगीतकार भीम विरागसित भेट भएको थियो । ”
भीम विरागको आजभोलि हरेक साँझ मात्तिन थालेछ, तिमीले पनि मजस्तै माया दिएर हेर, कसरी म भुलेँ जस्ता गीतमा पछि नारायणगोपाल जमेका छन्, त्यो हेटौँडा बस्दाको निशानी हो ।
स्वरसम्राट नारायणगोपाल हेटौँडमा हेड मिस्त्री हुँदा क्षेत्रप्रताप अधिकारी साझा यातायातमा सहायक चालक थिए, यी दुईको यही परिचय पछि दिव्य खालिङ को संगीतमा म त लालीगुराँस भएछु मा लालीगुराँस झैँ फैलियो ।
त्यो ग्यारेजमा नारायणगोपालले कैयन् गीत गाए वा सुनाए । आज उनको आवाज त्यो ग्यारेजमा सीमित रहेन ।
००

Sunday, 10 January 2016

Lekhak Hunu ko Abhinaya

लेखक हुनुको अभिनय
प्रकाश सायमी
 काठमाण्डूको सबैभन्दा पुरानो सिनेमा हलको नाउँ संयोगले काठमाण्डू सिनेमा हल नै थियो । यो हललाई पछि साहु भुवनेश्वर अमात्यले किनेर प्रयोगमा ल्याए, जनसेवा हल नाउँबाट ।
जनसेवा हलले शाही शासनकालमा जनता र राजा दुवैलाई सिनेमा मार्फत् मनोरञ्जन दिँदै आएका थिए । यो हलमा अन्तिम चलेको फिल्म थियो, द मिशन अफ् डैञ्जर ।
यो सिनेमा चल्दै गर्दा २०१८ सालको भदौमा यो हलमा आगो लगाइयो , आगालागी पछि हलका सबै कुरा  सत्यानाश भए ।  हलकै भग्नावशेषमा अहिलेको व्यापारीक हब विशाल बजार बन्यो ।
१८ सालपछि यो हलले काठमाण्डूको जनजीवनसित सबै कुराको सम्बन्ध तोड्यो , इतिहास केही रहेन । रह्यो त एउटै कुरा , जनसेवाका अन्तिम म्यानेजरको टिप्पणी ः
“हल जलेपछि म ढुक्क भएँ, अब कसैलाई हल म्यानेजरको रुपमा नयाँ वर्षको शुभकामना लेखीरहनु परेन ।  ”
जनसेवा हलका अन्तिम म्यानेजर थिए, हल मालिक भुवनेश्वर अमात्यका छिमेकी शंकर । शंकर लामिछाने यसअगि नै नेपाली साहित्यमा निवन्धकार, कथाकारका रूपमा परिचित थिए ।
शंकरले यही समय हलको जागीरबाट सन्न्यास लिएर क्यूरिओ पसल खोले न्यूरोडमा । तर सिनेमा हलसितको उनको पूर्वसम्वन्धले सिनेमा र सिनेकर्मीसित जोडिरह्यो । विशेषतः विहाइन्ड द स्क्रिनमा ।
 माउन्ट इज योँग् नामक् सिनेमाका निम्ति लियाजेँ अफिसर भएर पोखरा पुगे लेखक र फिल्मकर्मीसित । सिनेमाको छायाँकन त भएन तर यस चलचित्रमा उनी मज्जाले आवद्ध भए ।
सिनेमासित उनको अर्को रोचक सम्वन्ध रह्यो, निजी क्षेत्रको पहिलो नेपाली चलचित्र माइतीघर ले गर्दा । सुमनाञ्जलि फिल्म्स् का निम्ति डा जोगेन्द्र झा र जनरल नरशम्सेरले बनाएको फिल्म माइतीघर को नामाकरण नै शंकरले गरिदिएका थिए जसका कारणले पछि सिंहदरवार, थापाथली र बबरमहलको चौतारोको नाउँ नै माइतीघर चोक हुन पुग्यो किनकि त्यही माइतीघर फिल्मको कार्यालय थियो ।
माइतीघर फिल्मको न्वारन शंकरले गरिदिएको भएपनि यसमा उनी अन्य किसिमले आवद्ध थिएनन् ।
सिनेमामा अत्यधिक रुचि राख्ने शंकरले आफ्ना समयका चर्चित नायिका मार्लिन मनरोको भनाईलाई धेरै ठाउँमा सन्दर्भतः कोट अनकोट गरेका छन्, मलाई जोक नबनाऊ भन्ने भाषामा ।
सिनेमाप्रेमी शंकरले आफ्ना निवन्धमा त्यतिवेलाका चर्चित अभिनेता जोन गिल्गुइड को अन्तर्वार्तालाई साभार गरेका छन् । त्यतिवेलाकै चर्चित निर्देशक फ्रान्क काप्राको नाउँ सापट लिएर कथा कसको टाउको भन्ने कथा पनि लेखेका छन् ।
शंकरको अध्ययनको दायरा व्यापक र विस्तीर्ण त थियो नै तर उनी सिनेमको चास्नी लिएर साहित्यमा त्यसको भिजीनरी –दृश्यीक स्थायीत्वको सिद्धान्तअनुसार दृश्यसत्ता दिन सक्ने ) हस्ति थिए । उनका कतिपय निवन्ध वा कथा यसै क्षमताका परिचायक थिए ।
शंकरले सिनेमाको आफ्नो अनुभव विज्ञापन लेखनमा पनि प्रयोग गरी भ्याएका छन् । रुपरेखा को पहिलो अंकमा प्रकाशित मोरंग सुगर मिलको विज्ञापनमा उनले चिनी र साहित्यको तुलना गरेर लेखेको सन्दर्भ सम्झनायोग्य छ ।
निवन्धमा उनले भित्र्याएको क्लोज अप र लंग शट्को भाषा सिनेमाकै उपज थियो भनें अन्तर्वार्तामा उनले भित्र्याएको प्रोफाइल को कन्सेप्ट पनि सिनेमाकै देन हो ।  विम्ब प्रतिविम्बमा पाइएका निवन्धमा उनको फ्ल्याशव्याक शैलीको लेखन सिनेमासित निकटता राख्दछ ।
सिनेमासँग उनको गज्जबको लगाव थियो भन्ने देखिन्छ । फ्रान्सबाट विकसित भएको नयाँ कला सिनेमामा मात्र होइन, चित्रकला अनि संगीतमा उनको वर्चस्व एउटा पाठक वा भावकको भन्दा वढी थियो । उनी चित्रकलामा वर्गसाँ, मोनेँ, पिकासो, डालीको चर्चा गर्छन् भन्ने संगीतमा विथोवन, बाख, मोत्सार्टका सन्दर्भ गाँसिरहन्छन् ।
नेपालमा रेडियोको स्थापना भएपछि पहिलो गीत लेख्ने र  बजेको आधारमा रेडियोको पहिलो गीतकारको खिताब पाउने रचनाकार शंकरका अन्य गीत अम्बर गुरुङको आवाजमा रेकर्डवद्ध छन् । रेडियो नेपालले सदैव उनलाई पहिलो गीतकारको रुपमा नै सम्मान दिइरहन्छ ।
नेपालीभाषाप्रेमी शंकरले नेपाली साहित्यमा हिन्दी, उर्दू, फारसी, नेवारी, अँग्रेजी शब्द  भित्र्याउने श्रेय पाएका छन् , उनैले हो नेपाली भाषामा आफ्नो किताबको नाउँमा अँग्रेजी शब्द एब्स्ट्रैक्ट प्रयोग गरेर पहिलो पर्दा खोले । उनले बनाएको यो बाटोमा आज धेरै युवा पुस्ता पचासवर्ष पछि पनि सक्रिय छन् ,  आज त नेपाली साहित्यमा यो त एउटा फैशनको अख्तियार नै  भइसक्यो ।
आफ्नो पुस्तकमा अरुको भूमिका राख्न र लेखाउन मन नपराउने शंकरले पारिजातको शिरीषको फूल र पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे मा भूमिकाले नै तहल्का मचाइदिएका थिए ।
भूमिकाको आतंक मचाउने नेपाली साहित्यमा शंकर जतिको कोही हुन सकेन । शायद यो सरस्वति उनले मात्र पाएका थिए कि ?
जापान र भारत वाहेक अन्य मुलुकको भ्रमण नगरेका शंकरका निवन्धमा योरोप र अमेरिकाका सुगन्ध पनि प्रशस्त आउनुको कारण बुझ्न गाह्रो छ ।
नेपाली साहित्यमा धेरै कुरा भित्र्याउने शंकरले जापान गएर आएपछि हायकू विधा नेपाली साहित्यमा भित्र्याए, यसका लागि नेपाली साहित्यमा समाजमा नसम्झने को होला ? वा, कसले यो खण्डको इतिहास मेट्न सक्ला ?
जीवनमा एउटा ऐतिहासिक उपन्यास लेख्ने तयारीमा थिए शंकर तर प्रकाशकले धोखा दिएका कारण यस उपन्यासको भ्रूण हत्या भएको उनले स्वीकारेका छन् । त्यतिवेलाका पट्व्याइलर उपन्यासका अगाडि आफ्नो निवन्ध कृतिको बजार अलि अलि क्षय हुँदा उनले लेखे, मेरो कृति पचासवर्ष पछिका मेरा पाठकका लागि हुन् ।
आज पचास वर्षपछि नेपाली साहित्यमा सबभन्दा धेरै पढिने लेखकमा देवकोटा, भूपी पछि शंकर पनि पर्छन् तर त्यतिवेला चलेका ती उपन्यासकार अहिले रसातलमा पुगिसके । त्यसैले उनी सही थिए, बजारले बनाएका लेखक बाँच्दा रहेनछन् ती बजारकै लागि मात्र हुँदा रहेछन् ।
नेपाली साहित्यमा गोपालप्रसाद रिमालको आमाको सपना र पारिजातको शिरीषको फूल को जन्म देखि प्रकाशन र प्रकाशन देखि पुरस्कारको संघारसम्म पुर्याउन उनले गरेको यावत् मिहेनत विर्सन सकिने खालको छैन ।
आज पनि नेपाली साहित्यमा शंकर लामिछानेको निवन्धको एक टुक्रा लिएर लामो लामो निवन्ध लेख्ने कति कलमबाज होलान् तर तिनको सबको स्मृतिमा शंकर विभिन्न सन्दर्भमा होलान् तर हुनुपर्ने सम्झनाको एउटा पाटो हो, शंकरको रिडर्स भ्यालू ।
यसमा शंकरलाई कसैले सेकेन्ड बनाउन सकेनन् ।
शंकरलाई जीवनमा तीन कुराले खूब सतायो, पाठकले । पाठक जस्ता  साहित्यिकले । साहित्यिक जस्ता मित्रले ।
उनका साहित्यिक जस्ता मित्रले उनको नियमितजस्तो चलिरहेको ‘गोरखापत्र’ को स्थायी स्तम्भको लेखन धन्दा खोसीदिए, सँधै शंकर मात्र किन ? भनेर ।
उनलाई नियमित पढ्ने पाठक धेरै थिए भनें उनले लेखेको मननपराउने साहित्यिक मित्र पनि त्यतिकै थिए भनेर बुझन् सकिन्छ , तीले वारम्बार हमला गरे पछि उनले पचास रुपैञा पारिश्रमिक आउने नियमित स्तम्भ त्याग्नु पर्यो ।
उनले केही लामो समय नियमित लेख्न पाएका भए, नेपाली पाठकले कति धेरै विश्व साहित्य र लेखनको टेक्निकी सिक्थे होलान् , यो उनका साहित्यिक जस्ता मित्रलाई पचेन अनि शक्तिहीन अवस्थाम रहेका सम्पादकले पनि आत्मसमर्पण  गर्नुपर्यो । धन्न, शंकर त्यतिवेला अहिलेका जस्ता प्रकाशकका  नाता परेर वा पार्टी एउटै भएर जागीर पाएका पृष्ठ संयोजक वा सम्वाद्दातासित जुध्नुपरेन ।
शंकरको लेखनको युगमा पाठक र लेखकका वीच कुरा गर्ने माध्यम पुस्तक वाहेक अरु थिएन । यद्यपि लेखकले आफ्नो किताप वेच्न आज जस्तो सन्नी लिओनको अवतार लिनु पर्ने अवस्था पनि थिएन तर उनले आर्थिक अभावका कारण पुस्तक प्रकाशनपूर्व नै अग्रिम भुक्तानी लिने परम्परा शुरु गरे, पुस्तक संसारका  देवीप्रसाद काफ्ले त्यसका एक उदाहरण हुन् । जसले शंकरको विम्वप्रतिविम्ब छापे ।
शंकरकै समय उनका पाठकजस्ता साहित्यिकमित्रले ताजा हमला गरे, उनको साहित्यिक चोरी माथि । जसले गर्दा त्यसपछि शंकरले लेखनबाट वाकओभर लिए । यो उनी माथि भएको प्रमुख हमला हो जसका निम्ति नेपाली साहित्य सदैव त्रासदीय  देखिन्छ ।
सादृश्य रुपम ाशंकरको लेखनको  दुई युग छ, एउटा पाठकको युग र अर्को लेखकको युग ।
नेपाली साहित्यमा यो भाग्य धेरै कम लेखकलाई मिलेको छ । उनले पाठकले भनेका र चाहेका लेखिरहे तर त्यो कालान्तरमा लेखकका लागि रस्टक नै ठहरियो ।
उनी पाठकको माग आपूर्तिका निम्ति लेख्ने क्रममा धेरै पटक लेखक भन्दा तल्लो दर्जामा पनि झरे वा रहे, यो उनको महान् स्वीकारोक्तिमा देखिन्छ, उनी स्वयम्ले भनेका  छन्,
“बाँच्नका निम्ति मैले कैयन् झूठ बाँचेको छु । ”
यो हरेक लेखकको जीवनमा देखिइने एक  विडम्बना हो ।
सिनेमा र साहित्य मनपराउने शंकरको शुरुको सिर्जनात्मक यात्रा अभिनयबाट शुरु भयो, गौरी शंकर नाट्य समुदायको अभिनेताको रुपमा । यो अभिनयको यात्रा एकाधवर्षको रह्यो तर जीवनभर उनले लेखक हुनुको अभिनय गरिरहनु पर्यो र कहिले सच्चा लेखक । कहिले नक्कली लेखक ।
यो अभिनय अन्तिमसम्म कायमै रह्यो ।
जनसेवा हल आगलागी भएपछि उनले लेखेको पहिलो पंक्ति त्यसैको उद्वोधन थियो,
“अब नयाँ वर्ष शुभकामना लेखीरहनु परेन । ”
००