Sunday, 24 January 2016

Garage Music by Prakash Sayami

ग्यारेज गायनको अतीत
प्रकाश सायमी



विश्वप्रसिद्ध सांगीतिक व्यान्ड् बीटल्स् र यस समूहका थरीथरीका गायक र वाद्यवादकको आआफ्नै परिचय छ । जोन लेनन, पल मकार्टिनी, जर्ज ह्यारिसन, रिँगो स्टार आदि । पल र जोन बाल्यकालदेखि नै साथी थिए ।
यी दुवैले आफ्नो गायन स्कुलेजीवनमै शुरु गरेका थिए । यिनका अधिकृत जीवनी लेखक फिलीप नरम्यानका अनुसार यिनको समूहको गीति गायनको अभ्यास पहिलो पहिलो पटक मोटर ग्यारेजमा शुरु भएको थियो । मोटर ग्यारेजमा अभ्यास गरेको कैँयौ वर्ष पछि मात्र यिनले मञ्चमा पाइला टेकेका थिए ।
हुन त राम्रो नराम्रो जस्तो गाउनेको पनि गायन बाथरुमबाट शुरु हुन्छ भन्छन् तर प्रसिद्ध रक गायक माइक खड्का भन्छन् , “राम्रो गाउन जान्यो भनें वाथरुम सबभन्दा राम्रो गाउने ठाउँ हो , त्यहाँ इको सिस्टम मिलेको हुन्छ ।”
यद्यपि माइक खड्काको यो कुरालाई गलत भनि हाल्न पनि मिल्दैन । किनकि भारतीय सिने उद्योग बलिऊडकी चर्चित गायिका लता मंगेशकरले कालजयी सिनेमा ‘मुगल–ए–आजम’ को एउटा गीत ‘जब प्यार किया तो डरना क्या’ वाथरुम मै गएर रेकर्ड गरेकी थिइन् ।
यस फिल्मका संगीतकार नौशादका अनुसार त्यति वेला गीत रेकर्ड गर्दा रिभर्भ ( प्रतिध्वनि हाल्ने प्रविधि)को विकास भइसकेको थिएन । त्यसैले वाथरुम जत्ति उपयुुक्त ठाउँ अरु देखिएन । त्यसैले लतालाई वाथरुममा गएर गाउन अनुरोध गरियो ।
वाथरुम पछि मोटर ग्यारेज पनि गाउन र अभ्यास गर्न एक उपयुक्त ठाउँ मानिन्छ । तर अनौठो र अचम्मको कुरा धेरै गायक, सर्जक, कलाकारको अधिकांशको प्रारम्भिक जीवन पहिले मोटर ग्यारेजमै वितेको पाइन्छ । युरोप र अमेरिकामा यस्ता घटना धेरै छन् तर एशियाई मूलमा पनि नेपाल, भारत, पाकिस्तानका स्रष्टा सर्जकको जीवनमा मोटर ग्यारेजको धेरै अहम् भूमिका छ । त्यसमध्ये पहिलो नाउँ आउँछ , भारतका प्रसिद्ध फिल्मकार गुलजारको ।
गुलजारले नेपाल आउँदा ललितपुरको यलमाया केन्द्रमा भने, “म कलम चलाउनु भन्दा पहिले मोटर ग्यारेजमा रिन्चु र पेँन्चिस चलाउँथे । ”
सन् १९९९ मा काठमान्डूमा आयोजना गरिएको काठमान्डू फिल्म फेस्टिभलमा प्रमुख अतिथिका रूपमा आउँदा गुलजारले आफ्ना जीवनका पूर्व दृश्यपटका कुरा गर्दा पाकिस्तानबाट भारतको दिल्ली आएर संघर्ष गरेको अनि आफ्ना दाजुसित काम गर्न बम्बई आएको स्मरण साझा गरेका थिए ।
गुलजारले माचिस, इजाजत, नमकीन, मौसम, आँधी, मेरे अपने, मिर्जा गालिब जस्ता फिल्म निर्देशन गरेका छन् । उनले नै निर्देशन गरेको फिल्मबाट पहिलो पटक डैनी, शत्रुध्न सिन्हा, विनोद खन्नाले  फिल्मी क्यारिअर शुरु गरेका थिए भने उनले नै लेखेको फिल्म आनन्द बाट राजेश खन्नासँगै अमिताभ बच्चन पहिलो पटक चर्चामा आएका थिए ।
पाकिस्तानको दीनामा जन्मेका गुलजार भारत विभाजन पछि उनी पाकिस्तान छोडेर  दिल्लीमा स्थानान्तरण भए । दिल्लीबाट आफ्ना दाजुसित उच्च अध्ययन गर्न आएका गुलजारको पढाई इन्टरमिडियटबाट अगि वढ्न सकेन । उनी आफ्नो संस्मरणको एक किताबमा लेख्छन्,
बम्बईमा मेरो आरम्भिक दौड चल्दैथ्यो । इन्टर पास गर्न सकिनँ, फलस्वरुप दुई छाक टार्न जे काम हात लागे पनि गर्थेँ । एउटा मोटरग्यारेजमा एकाउन्टेन्टको काम गर्दैथिएँ । त्यो ग्यारेजमा गाडी रँगाउन पनि मान्छे आउँथे । त्यो जमानामा आजको जस्तो बनाइएको रंग पाइँदैनथ्यो , त्यसलाई बनाउनु पथ्र्यो । त्यो काम एकदम चूनौतिपूर्ण हुन्थ्यो , किनकि गाडीको जुन भागलाई रंगाउनु पथ्र्यो त्यसको रंगसित गाडीको रंग पुरै मेल खानु जरुरी थियो । ग्यारेजमा काम गरेकोले मलाई सही रंगलाई सही अनुपातमा मिलाएर सही रंग बनाउन आयो । पछि गएर एक फिल्मकारको रुपमा , रंगसितको मेरो यो परिचय पुरा काम आयो । ”
गुलजारले मोटर ग्यारेजमा हुँदै अग्रज निर्देशक विमल रायको फिल्म बन्दिनी मा गीत लेखे । पछि रायले नै उनलाई मोटर ग्यारेज तिम्रो ठाउँ होइ, फिल्ममा आऊ भनेपछि उनले मोटर मेकानिक्सको काम छोडेर सहायक निर्देशक भएर फिल्ममा प्रवेश गरे ।
अन्ततः उनी स्वयम् पनि एक कुशल निर्देशक भए ।
उनकै समकालीन कवि कुँवर नारायणले पनि साहित्यलाई धन्दा बनाउन नपरोस् भनेर मोटर स्पीड नामको ग्यारेज खोले । कवि लेखकको मात्र होइन, प्रसिद्ध गजल गायक मेंहदी हसनको पनि मोटर ग्यारेजबाटै आफ्नो क्यारिअर शुरु भएको देखिन्छ ।
नेपालका राणा प्रधानमन्त्री जुद्ध शम्सेरको शासनकालमा यहीँको दरवारमा शास्त्रीय संगीतका दरवारीया गुरु भएर बसेका आजम खाँ का नाति मेँहदी हसन पनि भारत पाकिस्तान विभाजन पछि भारत छोडेर आफ्ना पिता सित पाकिस्तान गए ।
हातमा दशहजार रुपियाँ लिएर पाकिस्तान गएका मेँहदी हसनको परिवारलाई त्यतिवेला संकट आइपर्यो जब सम्पूर्ण परिवारले गायनमा निर्भर रहनु पर्यो । आफ्ना काका इस्माइल खाँको आग्रहमा उनले शुरुमा मोटर ग्यारेजमा सहायक भएर पछि मेकानिक्स् भएर काम गरे ।
सन् १९५५ सम्म उनले रेडियो र माइक्रोफोन देखेका थिएनन् । आफ्ना पिता, पितामह, परमपिता सबैले संगीतमा जीवन होमे पनि उनले  जीवन गुजाराको निम्ति मोटर ग्यारेजमा पार्ट पूर्जा फिट गर्ने , नटबोल कस्ने, रिञ्चू, पेन्चिस चलाउने काममा पोख्त भए ।
ग्वालियर र जयपुर दरवारमा कलावन्त पदवी पाइसकेका घरानिया परिवारमा जन्मेका  यी नाति उस्तादले युवाकालमै  हार्मोनियम , तबला छोडेर मोटरको बनेटमा हात बजार्न थाले । तर यिनको गायनको खाकी यहीँबाट तीक्ष्ण हुँदै गयो । उनले ग्यारेजमा साथीभाइलाई फिल्मी गीत नक्कल गरेर सुनाउने र आवाजको विविध प्रयोग गर्न थालेपछि यिनलाई ग्यारेजबाट रेडियोको स्टुडिओ पुर्याउने काम यहीँबाट भयो ।
शारीरिक रुपले हट्टाकठ्ठा, बलवाहुमा ताकत भएका अग्लो  कदका मेंहदी हसन हेड मिस्त्रीबाट गजल गायनमा विश्वकै उच्चाकर्षणमा पुगे, उनलाई गजल गायनका बादशाहको पदवी दिइएको छ । उनी नेपालमा गोरखा दक्षिण वाहु पाउने पहिलो विदेशी कलाकार थिए । उनले पछि आफ्नो स्वरमा चाँदनी शाहको शब्द र दीपक जंगमको संगीतमा छओटा गीत गजल पनि गाएका छन्, उर्दूमा ।
मेँहदी हसनले एकपटक लताको स्वरको तारिफ गर्दै भनेका थिए, भगवानले लताजीलाई राम्रो गला दिएको छ ।
लताले यसको जवाफमा भनेकीथिइन् , भगवानले मलाई गला मात्र दिएको छ तर मेँहदी हसनको त गला मै भगवान छ ।
गजलका पर्याय मेंहदी हसनलाई रत्न रेकर्डिँग संस्थानको निम्तोमा पन्ध्रदिने लामो कार्यक्रम गर्न नेपाल आउँदा नारायणगोपालसित भेट्न रुचि पनि रा्खेका थिए र दुवैको भेट होटल याक एन्ड यति मा भएको थियो ।
मेंहदी हसनले काठमान्डूको सभागृहमा कार्यक्रम प्रस्तुत गर्दा नारायणगोपालको गीत गाएर कार्यक्रम शुरु गरेका थिए । सार्क संगीतमा मेंहदी हसनलाई मनपराउने कलाकार कैयन् छन् तर नारायणगोपाल पनि त्यसमध्ये एक अवश्य थिए , उनले मेरो वेहोशी मेरो लागि पर्दा भो कम्पोज गर्दा मेंहदीबाट आफू प्रभावित भएको स्वीकारेका छन् ।
हसनकै गायनबाट प्रभावित भएर घन्टौँ साधना गर्ने नारायणगोपालको जीऊडाल र कदकाठी पनि उनकै जस्तो देखिन्छ, चौडा छाति, बलिष्ठ बलवाहु र गरजदार आवाज । यी दुवैमा धेरै कुरा समानता देखिन्छ । दुवै शारीरिक व्यायाम प्रशस्त गर्ने, खान्कीमा पनि निकै बल गर्ने । रसरसादी पिउन र चिया चुरोटका पनि अम्मली ।
संयोगले दुवैको मिल्दो अर्को चरित्र हो, ग्यारेजको हेड मिस्त्री ।
नारायणगोपाल गायनमा स्वर सम्राट हुनु अगि हेटौँडाको एउटा आरडीएक कार्यायलमा हेड मिस्त्री थिए ।
त्यतिवेला उनी सँगै काम गरेका नुवाकोटका रामहरि रिमाल लेख्छन्, नारायणगोपाल राम्रो गाउने र त्यही रहेका अर्का मिस्त्री शास्त्रीय संगीततका ज्ञाता सत्पालजीले नारायणलाई नयाँ राग ढाल्न सघाउँथे । यहाँ हुँदा उनले आफ्ना अनेक हुनर देखाए ।
विक्रम संवत् २०१८ सालमा आफ्ना दाजु नन्दगोपाल गुरुवाचार्य आरडीएकको डिभिजन अफिसर भएर जाँदा नारायणगोपाल पनि हेटौँडा पुगेका थिए , मोटर ग्यारेजको हेड मिस्त्री हुन ।
नारायणगोपालका भाइ गायक मनोहरगोपाल गुरुवाचार्य स्वरसम्राटको २५ औँ पुण्यतिथिमा यो कुरा सम्झना गर्दै भन्छन्, गाएर जीवन गुजारा हुँदैन भनेर बुबाले उहाँलाई त्यहाँ पठाएका थियो तर एउटा गायकको त्यहाँ पनि मन बस्न  सकेन । त्यहीँ हुँदा उहाँको गीतकार क्षेत्रप्रताप अधिकारी, गायक संगीतकार भीम विरागसित भेट भएको थियो । ”
भीम विरागको आजभोलि हरेक साँझ मात्तिन थालेछ, तिमीले पनि मजस्तै माया दिएर हेर, कसरी म भुलेँ जस्ता गीतमा पछि नारायणगोपाल जमेका छन्, त्यो हेटौँडा बस्दाको निशानी हो ।
स्वरसम्राट नारायणगोपाल हेटौँडमा हेड मिस्त्री हुँदा क्षेत्रप्रताप अधिकारी साझा यातायातमा सहायक चालक थिए, यी दुईको यही परिचय पछि दिव्य खालिङ को संगीतमा म त लालीगुराँस भएछु मा लालीगुराँस झैँ फैलियो ।
त्यो ग्यारेजमा नारायणगोपालले कैयन् गीत गाए वा सुनाए । आज उनको आवाज त्यो ग्यारेजमा सीमित रहेन ।
००

Sunday, 10 January 2016

Lekhak Hunu ko Abhinaya

लेखक हुनुको अभिनय
प्रकाश सायमी
 काठमाण्डूको सबैभन्दा पुरानो सिनेमा हलको नाउँ संयोगले काठमाण्डू सिनेमा हल नै थियो । यो हललाई पछि साहु भुवनेश्वर अमात्यले किनेर प्रयोगमा ल्याए, जनसेवा हल नाउँबाट ।
जनसेवा हलले शाही शासनकालमा जनता र राजा दुवैलाई सिनेमा मार्फत् मनोरञ्जन दिँदै आएका थिए । यो हलमा अन्तिम चलेको फिल्म थियो, द मिशन अफ् डैञ्जर ।
यो सिनेमा चल्दै गर्दा २०१८ सालको भदौमा यो हलमा आगो लगाइयो , आगालागी पछि हलका सबै कुरा  सत्यानाश भए ।  हलकै भग्नावशेषमा अहिलेको व्यापारीक हब विशाल बजार बन्यो ।
१८ सालपछि यो हलले काठमाण्डूको जनजीवनसित सबै कुराको सम्बन्ध तोड्यो , इतिहास केही रहेन । रह्यो त एउटै कुरा , जनसेवाका अन्तिम म्यानेजरको टिप्पणी ः
“हल जलेपछि म ढुक्क भएँ, अब कसैलाई हल म्यानेजरको रुपमा नयाँ वर्षको शुभकामना लेखीरहनु परेन ।  ”
जनसेवा हलका अन्तिम म्यानेजर थिए, हल मालिक भुवनेश्वर अमात्यका छिमेकी शंकर । शंकर लामिछाने यसअगि नै नेपाली साहित्यमा निवन्धकार, कथाकारका रूपमा परिचित थिए ।
शंकरले यही समय हलको जागीरबाट सन्न्यास लिएर क्यूरिओ पसल खोले न्यूरोडमा । तर सिनेमा हलसितको उनको पूर्वसम्वन्धले सिनेमा र सिनेकर्मीसित जोडिरह्यो । विशेषतः विहाइन्ड द स्क्रिनमा ।
 माउन्ट इज योँग् नामक् सिनेमाका निम्ति लियाजेँ अफिसर भएर पोखरा पुगे लेखक र फिल्मकर्मीसित । सिनेमाको छायाँकन त भएन तर यस चलचित्रमा उनी मज्जाले आवद्ध भए ।
सिनेमासित उनको अर्को रोचक सम्वन्ध रह्यो, निजी क्षेत्रको पहिलो नेपाली चलचित्र माइतीघर ले गर्दा । सुमनाञ्जलि फिल्म्स् का निम्ति डा जोगेन्द्र झा र जनरल नरशम्सेरले बनाएको फिल्म माइतीघर को नामाकरण नै शंकरले गरिदिएका थिए जसका कारणले पछि सिंहदरवार, थापाथली र बबरमहलको चौतारोको नाउँ नै माइतीघर चोक हुन पुग्यो किनकि त्यही माइतीघर फिल्मको कार्यालय थियो ।
माइतीघर फिल्मको न्वारन शंकरले गरिदिएको भएपनि यसमा उनी अन्य किसिमले आवद्ध थिएनन् ।
सिनेमामा अत्यधिक रुचि राख्ने शंकरले आफ्ना समयका चर्चित नायिका मार्लिन मनरोको भनाईलाई धेरै ठाउँमा सन्दर्भतः कोट अनकोट गरेका छन्, मलाई जोक नबनाऊ भन्ने भाषामा ।
सिनेमाप्रेमी शंकरले आफ्ना निवन्धमा त्यतिवेलाका चर्चित अभिनेता जोन गिल्गुइड को अन्तर्वार्तालाई साभार गरेका छन् । त्यतिवेलाकै चर्चित निर्देशक फ्रान्क काप्राको नाउँ सापट लिएर कथा कसको टाउको भन्ने कथा पनि लेखेका छन् ।
शंकरको अध्ययनको दायरा व्यापक र विस्तीर्ण त थियो नै तर उनी सिनेमको चास्नी लिएर साहित्यमा त्यसको भिजीनरी –दृश्यीक स्थायीत्वको सिद्धान्तअनुसार दृश्यसत्ता दिन सक्ने ) हस्ति थिए । उनका कतिपय निवन्ध वा कथा यसै क्षमताका परिचायक थिए ।
शंकरले सिनेमाको आफ्नो अनुभव विज्ञापन लेखनमा पनि प्रयोग गरी भ्याएका छन् । रुपरेखा को पहिलो अंकमा प्रकाशित मोरंग सुगर मिलको विज्ञापनमा उनले चिनी र साहित्यको तुलना गरेर लेखेको सन्दर्भ सम्झनायोग्य छ ।
निवन्धमा उनले भित्र्याएको क्लोज अप र लंग शट्को भाषा सिनेमाकै उपज थियो भनें अन्तर्वार्तामा उनले भित्र्याएको प्रोफाइल को कन्सेप्ट पनि सिनेमाकै देन हो ।  विम्ब प्रतिविम्बमा पाइएका निवन्धमा उनको फ्ल्याशव्याक शैलीको लेखन सिनेमासित निकटता राख्दछ ।
सिनेमासँग उनको गज्जबको लगाव थियो भन्ने देखिन्छ । फ्रान्सबाट विकसित भएको नयाँ कला सिनेमामा मात्र होइन, चित्रकला अनि संगीतमा उनको वर्चस्व एउटा पाठक वा भावकको भन्दा वढी थियो । उनी चित्रकलामा वर्गसाँ, मोनेँ, पिकासो, डालीको चर्चा गर्छन् भन्ने संगीतमा विथोवन, बाख, मोत्सार्टका सन्दर्भ गाँसिरहन्छन् ।
नेपालमा रेडियोको स्थापना भएपछि पहिलो गीत लेख्ने र  बजेको आधारमा रेडियोको पहिलो गीतकारको खिताब पाउने रचनाकार शंकरका अन्य गीत अम्बर गुरुङको आवाजमा रेकर्डवद्ध छन् । रेडियो नेपालले सदैव उनलाई पहिलो गीतकारको रुपमा नै सम्मान दिइरहन्छ ।
नेपालीभाषाप्रेमी शंकरले नेपाली साहित्यमा हिन्दी, उर्दू, फारसी, नेवारी, अँग्रेजी शब्द  भित्र्याउने श्रेय पाएका छन् , उनैले हो नेपाली भाषामा आफ्नो किताबको नाउँमा अँग्रेजी शब्द एब्स्ट्रैक्ट प्रयोग गरेर पहिलो पर्दा खोले । उनले बनाएको यो बाटोमा आज धेरै युवा पुस्ता पचासवर्ष पछि पनि सक्रिय छन् ,  आज त नेपाली साहित्यमा यो त एउटा फैशनको अख्तियार नै  भइसक्यो ।
आफ्नो पुस्तकमा अरुको भूमिका राख्न र लेखाउन मन नपराउने शंकरले पारिजातको शिरीषको फूल र पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे मा भूमिकाले नै तहल्का मचाइदिएका थिए ।
भूमिकाको आतंक मचाउने नेपाली साहित्यमा शंकर जतिको कोही हुन सकेन । शायद यो सरस्वति उनले मात्र पाएका थिए कि ?
जापान र भारत वाहेक अन्य मुलुकको भ्रमण नगरेका शंकरका निवन्धमा योरोप र अमेरिकाका सुगन्ध पनि प्रशस्त आउनुको कारण बुझ्न गाह्रो छ ।
नेपाली साहित्यमा धेरै कुरा भित्र्याउने शंकरले जापान गएर आएपछि हायकू विधा नेपाली साहित्यमा भित्र्याए, यसका लागि नेपाली साहित्यमा समाजमा नसम्झने को होला ? वा, कसले यो खण्डको इतिहास मेट्न सक्ला ?
जीवनमा एउटा ऐतिहासिक उपन्यास लेख्ने तयारीमा थिए शंकर तर प्रकाशकले धोखा दिएका कारण यस उपन्यासको भ्रूण हत्या भएको उनले स्वीकारेका छन् । त्यतिवेलाका पट्व्याइलर उपन्यासका अगाडि आफ्नो निवन्ध कृतिको बजार अलि अलि क्षय हुँदा उनले लेखे, मेरो कृति पचासवर्ष पछिका मेरा पाठकका लागि हुन् ।
आज पचास वर्षपछि नेपाली साहित्यमा सबभन्दा धेरै पढिने लेखकमा देवकोटा, भूपी पछि शंकर पनि पर्छन् तर त्यतिवेला चलेका ती उपन्यासकार अहिले रसातलमा पुगिसके । त्यसैले उनी सही थिए, बजारले बनाएका लेखक बाँच्दा रहेनछन् ती बजारकै लागि मात्र हुँदा रहेछन् ।
नेपाली साहित्यमा गोपालप्रसाद रिमालको आमाको सपना र पारिजातको शिरीषको फूल को जन्म देखि प्रकाशन र प्रकाशन देखि पुरस्कारको संघारसम्म पुर्याउन उनले गरेको यावत् मिहेनत विर्सन सकिने खालको छैन ।
आज पनि नेपाली साहित्यमा शंकर लामिछानेको निवन्धको एक टुक्रा लिएर लामो लामो निवन्ध लेख्ने कति कलमबाज होलान् तर तिनको सबको स्मृतिमा शंकर विभिन्न सन्दर्भमा होलान् तर हुनुपर्ने सम्झनाको एउटा पाटो हो, शंकरको रिडर्स भ्यालू ।
यसमा शंकरलाई कसैले सेकेन्ड बनाउन सकेनन् ।
शंकरलाई जीवनमा तीन कुराले खूब सतायो, पाठकले । पाठक जस्ता  साहित्यिकले । साहित्यिक जस्ता मित्रले ।
उनका साहित्यिक जस्ता मित्रले उनको नियमितजस्तो चलिरहेको ‘गोरखापत्र’ को स्थायी स्तम्भको लेखन धन्दा खोसीदिए, सँधै शंकर मात्र किन ? भनेर ।
उनलाई नियमित पढ्ने पाठक धेरै थिए भनें उनले लेखेको मननपराउने साहित्यिक मित्र पनि त्यतिकै थिए भनेर बुझन् सकिन्छ , तीले वारम्बार हमला गरे पछि उनले पचास रुपैञा पारिश्रमिक आउने नियमित स्तम्भ त्याग्नु पर्यो ।
उनले केही लामो समय नियमित लेख्न पाएका भए, नेपाली पाठकले कति धेरै विश्व साहित्य र लेखनको टेक्निकी सिक्थे होलान् , यो उनका साहित्यिक जस्ता मित्रलाई पचेन अनि शक्तिहीन अवस्थाम रहेका सम्पादकले पनि आत्मसमर्पण  गर्नुपर्यो । धन्न, शंकर त्यतिवेला अहिलेका जस्ता प्रकाशकका  नाता परेर वा पार्टी एउटै भएर जागीर पाएका पृष्ठ संयोजक वा सम्वाद्दातासित जुध्नुपरेन ।
शंकरको लेखनको युगमा पाठक र लेखकका वीच कुरा गर्ने माध्यम पुस्तक वाहेक अरु थिएन । यद्यपि लेखकले आफ्नो किताप वेच्न आज जस्तो सन्नी लिओनको अवतार लिनु पर्ने अवस्था पनि थिएन तर उनले आर्थिक अभावका कारण पुस्तक प्रकाशनपूर्व नै अग्रिम भुक्तानी लिने परम्परा शुरु गरे, पुस्तक संसारका  देवीप्रसाद काफ्ले त्यसका एक उदाहरण हुन् । जसले शंकरको विम्वप्रतिविम्ब छापे ।
शंकरकै समय उनका पाठकजस्ता साहित्यिकमित्रले ताजा हमला गरे, उनको साहित्यिक चोरी माथि । जसले गर्दा त्यसपछि शंकरले लेखनबाट वाकओभर लिए । यो उनी माथि भएको प्रमुख हमला हो जसका निम्ति नेपाली साहित्य सदैव त्रासदीय  देखिन्छ ।
सादृश्य रुपम ाशंकरको लेखनको  दुई युग छ, एउटा पाठकको युग र अर्को लेखकको युग ।
नेपाली साहित्यमा यो भाग्य धेरै कम लेखकलाई मिलेको छ । उनले पाठकले भनेका र चाहेका लेखिरहे तर त्यो कालान्तरमा लेखकका लागि रस्टक नै ठहरियो ।
उनी पाठकको माग आपूर्तिका निम्ति लेख्ने क्रममा धेरै पटक लेखक भन्दा तल्लो दर्जामा पनि झरे वा रहे, यो उनको महान् स्वीकारोक्तिमा देखिन्छ, उनी स्वयम्ले भनेका  छन्,
“बाँच्नका निम्ति मैले कैयन् झूठ बाँचेको छु । ”
यो हरेक लेखकको जीवनमा देखिइने एक  विडम्बना हो ।
सिनेमा र साहित्य मनपराउने शंकरको शुरुको सिर्जनात्मक यात्रा अभिनयबाट शुरु भयो, गौरी शंकर नाट्य समुदायको अभिनेताको रुपमा । यो अभिनयको यात्रा एकाधवर्षको रह्यो तर जीवनभर उनले लेखक हुनुको अभिनय गरिरहनु पर्यो र कहिले सच्चा लेखक । कहिले नक्कली लेखक ।
यो अभिनय अन्तिमसम्म कायमै रह्यो ।
जनसेवा हल आगलागी भएपछि उनले लेखेको पहिलो पंक्ति त्यसैको उद्वोधन थियो,
“अब नयाँ वर्ष शुभकामना लेखीरहनु परेन । ”
००

Wednesday, 25 November 2015

Narayan Gopal by Prakash Sayami

नारायणगोपाल नभएको भए
प्रकाश सायमी


00
नेपालका पहिलो रक सिङ्गर  माइक खड्काले प्रसङ्गवश संगीतकार दीपक जंगमलाई सोधेछन्, “तुलनामा हाम्रो नारायणगोपालको स्वरको टेक्स्चर  गुलाम अलीको भन्दा राम्रो भन्न मिल्छ ?”
पकिस्तानी गजल गायक गुलाम अली सित पनि र नारायणगोपालसित सहकार्य गरिसकेका गायक संगीतकार दीपक जंगम लामो समय मौन भएछन् र एक पेग उडाए पछि बल्ल मुश्किलले भनेछन्, “भन्न गाह्रो छ दुवैको आआफ्नो रेञ्ज र टोन छ तर लङ्ग रनमा दुवैको तुलना गर्न मिल्दैन । ”
यो चानचुने मूल्याँकन थिएन एउटा सिद्धहस्त संगीतकारको जसले दुवैको आवाजलाई एक क्रुशियल समयमा प्रयोग गर्न पाएका थिए ।
नारायणगोपालसँग पछिल्लो समय काम गरेका दुई सशक्त संगीतकार थिए, दिव्य खालिङ र दीपक जंगम । दुवैले आफ्नो क्षमताले भ्याए अनुसार नारायणगोपालबाट लिए पनि दिए पनि । नारायण गोपाल तीस र चालीसको दशकमा नेपाली संगीतका अमिताभ बच्चन जस्ता थिए, उनले जसलाई छोयो त्यो संगीतकार वा गीतकार कामयाब हुन्थे, शुभ शम्भुजीत, भूपेन्द्र रायमाझी, चन्दन लम्जेल आदि उनकै गीतमा गुञ्जिएपछि चर्चामा  वा पहिचानमा आए ।
नारायणगोपालले शुरुवाती कालखण्डमा गाएका छओटा गीत रत्न शम्सेर थापाका थिए, दोस्रो कालमा अम्बर गुरुँग र आफ्ना मितज्यू गोपाल योञ्जन अनि कर्म योञ्जनका गाए । त्यसपछि तेस्रो चरणमा उनले सीके रसाइली, नातिकाजी, शिवशंकर, चन्द्रराज शर्मा आदिका गीत गाए र एक विशेष परिस्थितिमा आफ्ै संगीतमा झन् धेरै राम्रा राम्रा गीत गाए ।
उनको पहिलो इनिँग र दोस्रो इनिँगमा फरक एउटै कुराको थियो, उनको स्वर । पहिलो इनिंङ मा उनले राम्रा हुनका लागि राम्रा राम्रा गीत खोजेर गाए तर दोस्रो इनिँङ राम्रा गीतले उनलाई खोज्दै खोज्दै आए , कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, विश्वम्भर प्याकुर्याल, चाँदनी शाह त्यसका उदाहरण हुन् ।
विक्रमाब्द २०१८ देखि २०४४ साल सम्म उनले कुल मिलाएर १५७ ओटा रेकर्डेड् गीत गाए तर कुनै पनि गीतमा उनले आफूलाई दोहोरिन दिएनन्, न स्वरितामा, न गायकीमा, न शब्द चयनमा । उनी एक नाश नर्मदा जस्तै फरक फरक रुपमा बगे । तर उनले वीचवीचमा रेस्ट चैँ लिइरहे, क्रिकेटमा सचीन तेन्डुलकरको रिटायर्ट हल्ट जस्तै ।
नारायणगोपाको स्वरको दुइटा खूबी थियो, उनको स्वरको मौलिकता र स्वरोच्चारणको अतीव नौलोपन । नेपाली गायकीमा पाइने शुद्ध ब्राम्हणीय ओज र ढबबाट उनी अलग्गै थिए भने पुरानो पारसी शैलीको गायनलाई उनले सम्पूर्णता वहिष्कार गरिसकेका थिए ।
उनी गाउँदा एउटै मान्छेलाई हिरो सम्झिन्थे, आफैँलाई र आफैँलाई केन्द्रीयतामा राखेर गाउन सक्ने उनको क्षमता नै पछि उनको उग्र अहम् र झोँकी स्वभावको पहिचान हुन गयो । उनको लार्जर देन लाइफको इमेजले उनलाई लोकप्रियतामा जति माथि पुर्यायो कहिलेकाहिँ त्यसैले उनलाई बोहेमियन –(असामाजिक प्राणी, चम्चाहरुको घेरामा रमाउने ) पनि बनाउँदै लग्यो । तर यसैकारण पनि पञ्चायतकालको शाही शासनकालमा राजदरवारका सचिवदेखि मन्त्रालयका सचिव उपसचिव पनि उनको धर्नामा उभिन वा उनका वरपर हुन मन पराउँथे । त्यो उनको स्वरको कारण मात्र होइन, उनको वीग ब्रदरको व्यक्तित्वको कारण पनि हो, उनको खानगी, उनको विश्व राजनीति र इतिहासको जानकारी अनि आफ्नो गायकीमा विश्वास र पकड । उनी जुन गीत गाउँदिन भने ती गीत फ्लप भएका छन्, जुन कमसल गीत गाए तिनलाई पनि टिकाएका छन् । रञ्जित गजमेर र शम्भुजित बासकोटा गीतलाई त्यस कोटिमा राख्न सकिन्छ ।
नारायणगोपालको मातृभाषा नेवारी हो उनले नेवारी रंगमञ्चमा एक वा दुई कार्यक्रम पछि कुनै गीत गाएनन् । उनले नेवारभाषाको गीत गाएर राजनीति गर्ने रहर पनि चलेन यद्यपी उनले पछि नेवार भाषाको गीत गाउने चाह पनि राखेका थिए आफ्ना साथी दुर्गालाल र गिरिजाप्रसाद जोशी सित ।
उनले आफ्नो पितृशैलीका घरानिया गीत गाएर पुर्खाको सेवा पनि गरेनन्, उनका पिता आशागोपाल शास्त्रीय संगीतका धुरन्धर उस्ताद् थिए आफ्ना छिमेकी कोमलनाथ जस्तै । तर नारायणगोपालले आफ्ना पिताको बाटोलाई भ्याएसम्म अभ्वायड् गरे र आफ्नै बाटो बनाए ।
नेपालमा गीत गाएर गुजारा गर्न सकिँदैन भनेको वेला उनले गीत गाएरै सांस्कृतिक संस्थानको महाप्रवन्धक सम्म भइदिए, उनको महाप्रवन्धकत्वकाल सबभन्दा विवादास्पद र चर्चामुखी रह्यो उनको यो अभ्याक्रमी चरित्रले  ।
उनीसित कलाकारहरु प्रायः रुष्ट नै रहे । कतिले उनका विरुद्धमा केही समय पर्चावाजी पनि गरे । तर उनको यो अटेरीपना तिनै कलाकारको हक–हितको लागि थियो, त्यही  सांस्कृतिक संस्थान बचाउनको लागि । त्यतिवेला सांस्कृतिक संस्थान कलाकार भर्ती केन्द्र थियो र  संस्थानका कलाकारलाई राणाका दरवार, पाँचतारे होटल र चलचित्रले तान्न खोज्थे, यसका सख्त विरोधी थिए नारायणगोपाल र उनको व्यवस्थापकीय शक्ति ।
 नारायणगोपाल शुद्ध कलाकारलाई सांस्कृतिक संस्थानले नै पाल्नु पर्छ भन्ने अभियानमा थिए । यो नै उनको घातक कदम हुन पुग्यो । नारायणगोपाल कुनै तालीमप्राप्त महाप्रवन्धक थिएनन्, उनी त पहिलो कलाकार थिए जो सामान्य अध्ययन भएर पनि जीएमसम्म हुन पुगेका थिए । बरु त्यसपछि उनले अरु कलाकारलाई जीएम हुने रन वे  बनाईदिए ।
त्यतिवेलाको राजदरवारसँग लभ एन्ड हेट रिलेशनशिप भएका नारायणगोपालले धेरै वर्ष दरवारबाट आएको गीत गाउन चाहेका थिएनन् वल्कि दरवारबाट निहत्था बनाएर फ्याँकिएका राजकुमार रवीन्द्र शाहको गीत चैँ उनले शानले गाइसकेका थिए ।
नारायणगोपालको गीतमा सन्देश, चेतना, जागरण र आव्हान भएपनि उनी ०४६ सालको कुनै पनि आन्दोलनमा प्रत्यक्ष सरिक हुन चाहेनन् । त्यतिवेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि वन्देज लगाएको विरुद्धमा चैत्र ३ गते कालोपट्टि बाँधेर विरोध गर्ने कार्यक्रममा उनले आफ्ना मित्र वासु शशीलाई आउँछु भने पनि गिरफ्तार हुने समय सम्म उनी आईपुगेनन् , यसका लागि उनी आलोचित पनि भए ।
नारायणगोपालको स्वर र व्यक्तित्वमा शक्ति थियो तर उनी ती चीजले सवैलाई दबाउन र कँजाउन सक्थे । उनले आफ्नो जीवनमा आयोजित काठमाण्डूको पहिलो एकल साँझ स्वर्णिम साँझमा औद्योगिक परिवारका एक नामचीन व्यक्ति बसन्त चौधरीलाई सही प्रयोग गरे, बसन्त पनि त्यतिवेला राजपरिवारसित निकट हुन स्पेश खोज्दै थिए । यी दुवै कुरा दुवैलाई मिल्यो ।
काठमाण्डूका रैथाने नेवारसित अलोकप्रिय भइसकेका नारायणगोपाललाई नेवारपरिवारसित निकट मानिने चौधरी परिवारका बसन्तले  स्वापू –(नेवारीमा यसको अर्थ हुन्छ सुधारिएको सम्वन्ध ) जोडिदिए । बसन्तको न्यूरोडका भिडिओ पसले, कपडा व्यवसायी, थँहिटीका होटल व्यापारीसित सुसम्वन्ध थियो , ती सबलाई नारायणगोपालको कार्यक्रममा टिकट विक्रेता, स्वयम् सेवक, सज्जाकार बनाईदिए । त्यतिवेला नेवार समुदायसँग सहकार्य नभई त्यत्रो कार्यक्रम काठमाण्डूमा हुन असम्भव थियो ।
पञ्चायतको चरमकालमा काठमाण्डू उपत्यकाका तीन शहरका नेवारभाषी  भाषा आन्दोलनमा होमिरहेको वेला र भिन्तुना र्यालीका कारण सत्ता र सरकारसित विनविनको गेम खेलीरहेको वेला एक नेवारभाषी कलाकारले सबै नेपाली गीत गाउनु चुनौती र पराकाष्ठाको संकेत थियो । यसैसन्दर्भमा नारायणगोपाल यसअगि पनि मञ्चमा आइसकेको तर रिजेक्ट भएर गइसकेको तीतो इतिहास थियो ।
नारायणगोपाललाई गायकका रुपमा चिन्नेले उनका चारओटा नेवारी गीत सुनेका छन् तर त्यो गीत उनले मञ्चमा कहिले गाएनन् । उनले नेवार भई नेवारजातिको दुलही भित्र्याएनन् , उनले कहिले नेवार जाति र सम्प्रदायको कुनै आन्दोलनमा हिस्सा बन्न चाहेनन् , यी धेरै कारणले काठमाण्डूका नेवार उनीसित टाढाटाढा नै  थिए । त्यसवाहेक काठमाण्डूका अन्य कलाकार पनि उनीसित रुष्ट थिए, कारण उनले दार्जीलिँगबाट आएका कलाकार गोपाल योञ्जन, कर्म योञ्जन, दिव्य खालिँगलाई मात्र च्याप्यो भन्ने अर्थमा । उनका यहाँका पुराना साथीसंगीतकर्मी टाढिइसकेका थिए ।
नारायणगोपालका जीवनका असाध्य चुनौति दुइटा थिए, उनको स्वत्वको बचाऊ र स्वरको समृद्धि । उनको महाप्रवन्धकको जागीर पनि त्यसको एक वाधक पक्ष भइसकेको थियो भने मद्यपानको अनवेक्ष प्रयोगले उनको स्वरमा भन्दा शरीरमा थकान थपिसकेको थियो ।
स्वरका कारणले यूनिक  देखिने नारायणगोपालका आफ्ना केही   रिजभर्सेन पनि  थिए, उनी गीत छानेर गाउँथे र मागेर गाउँथे । तर उनी पैसा मागेर लिन्नथे, उनी पैसा तोकेर लिन्थे ।
प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेको नाटक ‘मालती–मङ्गले’ चर्चित भएपछि राजदरवारले सबैलाई बाँड्नु भनेर दुईलाख रुपैञा बख्शिश पठायो । दुर्भाग्यवश, नारायणगोपालको हातमा दश हजार मात्र पर्यो । उनले लेखकले कति पाए भनेर सोधे । कतैबाट जवाफ आयो, “ पचास हजार । ”
जवाफ पाएपछि उनले त्यो दशहजार तत्स्थानमै फर्काइदिए र भने, “उसले  लेखेर यो गीति नाटक चलेको हो भनें साझा प्रकाशनमा यो किताब थन्केर बस्ने थिएन । यो मेरो आवाजले चलेको हो मलाई आधा हिस्सा चाहिन्छ ।”
यो कुरा जहाँ पुग्नु पर्ने पुग्यो,  पैसा उनकोमा लेखकलाई भन्दा वढी नै आईपुग्यो । हार्न उनले जानेका थिएनन्, र जीतको लागि उनी आफैँ कोर्ट बनाउँथे ।
बल पनि आफ्नै कोर्ट पनि ।
करामती आवाजका धनी नारायणगोपालको बानी व्योहोरा पनि करामत कै थियो, उनी मन नपरेको मान्छेलाई घरको दैलो सम्म आएपनि भेट्दैन थिए, त्यसमा कैयन् पटक दरवारका सचिव देखि मननपरेका संगीतकार,गीतकार पनि परेका छन् । यति मात्र कहाँ हो र, उनी मन नपरेका दर्शकलाई समेत मञ्चबाट च्यालेञ्ज गर्न पछि पर्दैनथे , त्यसको एउटा उदाहरण हो, सम्झनाको रात । उनले त्यो कार्यक्रममा गीतै गाएनन् ।
नारायणगोपालको एउटा सपना थियो, गीतगंगा स्थापित गर्ने । उनी वितेको २५ वर्षभइसक्दा पनि उनको यो सपना अधुरो नै रहेको छ, यो सपना पूरा गर्ने जिम्मेवारी लिएको नारायणगोपाल संगीत कोश पनि वर्षमा एकदिन पुण्यतिथि मनाएर सेलाइसकेको वा हारिसकेको छ ।
जीवनभर नारायणगोापलकै मात्र गीत गाएर साधना गर्दै आएका गायक शैलेश सिंह भन्छन्, “नारायणगोपाल त उनको नाममा कुनै कोश नभए पनि हराउने कलाकार होइनन् , उनका सालिक नभए पनि नचिनिने साधक होइनन् तर नारायणगोपाल संगीत कोशले झन् नारायणगोपाललाई पछि धकेल्दै छ । ”
 अहिले पनि बर्सेनी नारायणगोपालको सम्झनामा देशभरि कता कता कार्यक्रम हुन्छ तर कार्यक्रमको प्रायोजक या त रक्सी व्यापारी हुन्छ, या त चुरोटको नाउँ ।
कस्तो विडम्बना रक्सी र चुरोटले पराई बनाएका नारायणगोपाललाई सँधै यसैको समर्थन र सहयोग चाहिने ?
००

Sunday, 11 October 2015

Cinemama Katha by Prakash Sayami

सिनेमामा कथाको समय
प्रकाश सायमी   

हालैका दिनमा ट्वीटर मार्फत् बलिऊडका प्रसिद्ध अभिनेता  अभिनेता अमिताभ बच्चनले लेखे, मेरो जीवनको दोस्रो महत्वपूर्ण सिनेमा ‘रेशमा और शेरा’ मा लाटोको भूमिकामा अभिनय गर्नुमा निर्देशक सुनील दत्तको भन्दा उनका सहायक थापाजीको महत्वपूर्ण हात थियो । 
‘रेशमा और शेरा’ फिल्म अभिनेता बच्चनको जीवनमा दोस्रो फिल्म थियो जसमा उनले आफ्ना आमा तेजी वच्चनका मित्र इन्दिरा गान्धीका कारण त्यतिवेलाका सांसद् अभिनेत्री नर्गीस दत्तसित भेट गरे र यहीभेट मार्फत् उनका पति सुनील दत्तको फिल्म रेशमा और शेरा मा सहायक कलाकारको रोल पाएका थिए ।
‘रेशमा और शेरा’ मा दुई नेपालीभाषी आवद्ध थिए निर्माण नियन्त्रकमा केबी लामिछाने र निर्देशन सहयोगीमा देहरादून निवासी वी एस थापा । वी एस थापाले नै अमिताभको भावपूर्ण चेहरा र दुव्लो पातलो ज्यान हेरेर लाटोको भूमिका निर्देशक सुनील दत्तलाई सिफारीश गरेका थिए भन्ने कथन छ । तर थापाका विरोधी पक्ष यसो पनि भन्छन्, अमिताभको स्वर राम्रो भएको हुनाले सुनील दत्त माथि हावी हुने डरले थापाले वच्चनलाई अन्याय गरेका थिए ।
यो भनाईलाई गलत पुष्टि गर्दै धेरै वर्ष पछि अभिनेता वच्चनले यो कुरा ट्वीटमा मेन्सन गर्दा फिल्मकार वीएस थापा मुम्बईमा ९२ औँ वर्ष मनाई रहेका थिए ।
नेपाली सिनेजगतका सबभन्दा ज्येष्ठ निर्देशक वी एस थापा नेपाली सिने जगतमा दुई कारण सदा स्मरणीय छन् , पहिलो ः नेपाली सिनेमाको निर्माणकालमा भारतमा बसेर निजी क्षेत्रबाट सिनेमा बनाउने उनी पहिलो निर्देशक थिए । माइतीघर उनको त्यो वेलाको सक्षम प्रस्तुति थियो ।
माइतीघर का निम्ति उनी कैयन् वाहवाही र स्यावासी पाए पनि निर्माता नर शम्सेर र डा जोगेन्द्र झाबाट कृतज्ञताका शब्द कहिल्यै पाएनन् । विसं २०२२ सालमा ९ लाख रुपैञामा बनेको त्यो सिनेमाबाट तत्कालै लाभ हुन नसकेपछि निर्माता उनीबाट हताश भएका थिए, डा जोगेन्द्र झाको अभिव्यक्तिबाट यही स्पष्ट हुन्छ तर माइतीघर निर्माण र निर्देशनको दृष्टिकोणबाट हरेक किसिमले उत्कृष्ट सिनेमा मानिन्छ आज पर्यन्त पनि ।
आज सम्म पनि यसका गीतहरु रिमिक्स गरिन्छन् ।
यस सिनेमाका कैयन कलाकार प्राविधिक कुनै न कुनै कारणले अहिले पनि नेपाली चलचित्रमा आवद्ध छन् ।
यस सिनेमाका कैयन् दृष्य आज पनि सर्वाधिक रुचाइएका छन् ।
यस फिल्मका गीतहरु पहिलो पटक  मुम्बईको भव्य रेकर्डिँग स्टुडिओमा रेकर्ड गरिएका थिए भनें भारतीय चर्चित गायिका लता मंगेशकर, आशा भोँसले, मन्ना डे, गीता दत्त जस्ता कलाकारले पहिलो पटक नेपाली सिनेमामा गाएका थिए भनें हाम्रै कलाकार प्रेमध्वज प्रधान, अरुणा लामाको पहिलो पाश्र्व गायन यही फिल्मबाट शुरु भएको थियो ।
माइतीघर यसका कारण पनि रोचक इतिहास भएको छ, यस सिनेमाका गीत अजर अमर छन् ।
नेपाल र नेपाल वाहिर आयोजना गरिने कुनै न कुनै सांगीतिक वा सुन्दरी प्रतियोगितामा यस चलचित्रका गीत मञ्चस्थ गर्ने गरेको पाइन्छ । यो गर्वको कुरा हो ।
अझै रोचक कुरा, यही चलचित्रको गीत यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर बोलको गीतमा नाचेर सन्  २०१३ की  मिस नेपाल ईशानी श्रेष्ठ विश्व सुन्दरी प्रतियोगिताको पाँच उत्कृष्टमा पुग्दा समाचारकी शीर्षक बनेकी थिइन् । हजुरआमाको समयको गीतमा नातिनी नाचेको घटनाले ईशानी मात्र होइन, गीतकार किरण खरेल पनि चर्चामा आएका थिए ।
माइतीघर पछि धेरै वर्ष नेपालमा निजी क्षेत्रबाट सिनेमा बन्न सक्ने सम्भावना थिएन, सरकार र निजी क्षेत्रका व्यक्ति यसको पहल खोज्दै थिए । सत्रवर्ष पछि दोस्रो पटक  निजी क्षेत्रबाट अर्को सिनेमा बन्यो, कान्छी ।
त्रि ओम् प्रोडक्शन्सको पहिलो फिल्म कान्छी का निम्ति वीएस थापाको पुनरागमनभ भयो ।
कान्छी  व्यावसायिक रुपले अपार सफल भएपछि निजी क्षेत्रमा सिनेमा निर्माणको लहर चल्यो । यही सिनेमाबाट नायक शिव श्रेष्ठ,  नायिका शर्मीला मल्ल, संगीतकार गोपाल योञ्जन, गायक नारायणगोपाल, गायिका अरुणा लामा, गीतकार चेतन कार्की ले विशिष्ट परिचय बनाए ।
कान्छी का गीतले नेपाली जनसमाजमा विशिष्ट धरातल बनाए ।
यही सिनेमाबाट स्वर सम्राट नारायणगोपाल, नायक शिव श्रेष्ठ, गीतकार चेतन कार्की, गायिका अरुणा लामा, निर्देशक वीएस थापा पहिलो राष्टिय चलचित्र पुरस्कारबाट पुरस्कृत भए यद्यपि नारायणगोपालले त्यो पुरस्कार कहिले स्वीकारेनन् ।
नेपाली चलचित्र उद्योगमा निजी क्षेत्रमा तरंग ल्याउने श्रेय वीएस थापालाई जान्छ तर उनले यस सिनेमा मार्फत् जुन व्यावसायिक पुट दिए, यसैको जड र जगमा आज नेपाली सिनेमा उभिएको छ भन्दा अत्युक्ति नहोला । हुन त यस सिनेमा निर्माण गर्ने नारायणघाटका उद्योगी व्यापारीको पनि अमूल्य योगदान विर्सन मिल्दैन । 
निर्देशनमा कुशलता भएका वीएस थापामा पटकथा लेखन र सम्पादनको प्रशस्त ज्ञान थियो । उनले पर्दामा रचेका दृश्य गुणगम्भीर र भावमय हुन्थे ।
नेपालका प्रायः निर्देशक फिल्म हेरेर निर्देशक हुने परम्परा भएको इतिहासमा वी एस थापा फिल्म सिकेरै निर्देशक भएका पहिलो निर्देशक थिए । उनले निर्देशन गरेका हिन्दी सिनेमा लक्ष्मी वाहेक बलिऊडमा धेरै सिनेमा यादगार मानिन्छन् ।
लक्ष्मी मा राज बब्बर र रीना रायको अभिनयको सर्वदा प्रशंसा भएको पाइएको छ ।
औपचारिक शिक्षामा पनि राम्रो दख्खल भएका वी एस थापाले कानून मा स्नातक गरेका थिए , कानूनमा ज्ञान भएको कारणले उनले लेखेको हिन्दी सिनेमा एक ही रास्ता को कोर्ट सीन आज सम्मको यादगार सिनेमा मानिन्छ जसमा उनले कानूनका दाउ पेच, वहसबाजीलाई एक नयाँ ढँगले प्रस्तुत गरेका थिए ।
भारतीय नेपाली भएर पनि नेपाली भाषा, संस्कृति र वेशभूषामा राम्रो ख्याल राख्ने वी एस थापाले संवाद् , बोलीचालीमा नेपालीपन ल्याउने खूब कोशिश गर्थे ।
कान्छी को चारवर्ष पछि वीएस थापाले तेस्रो फिल्म मायाप्रीति को निर्देशन गरे,  यो फिल्म पनि व्यावसायिक रुपमा अपार सफल भयो ।
मायाप्रीति मा नयाँ नायक रवीन्द्र खड्का र पाश्र्वगायक किरण प्रधानले व्यापक प्रशंसा पाए । यही सिनेमा मार्फत् काठमाण्डूका फोटो व्यवसायी डी वी थापा र फोटो कन्सर्न सिने उद्योगमा होम्मिए ।
माया प्रीति मा पुनः उनका साथ संगीतकार गोपाल योञ्जन र गीतकार चेतन कार्की जोडिए भनें कान्छी पछि पुनः गायिका अरुणा लामाले प्रवेश गरिन् । नेपाली जनस्थानका प्रसिद्ध लोक गायक झलकमानको कालजयी लोकगीत आमैले सोध्लिन् नि खोई छोरा भन्लान् पहिलो पटक नेपाली चलचित्रमा प्रयोग गरेर ऐतिहासिक दस्तावेज बनाइयो ।
काठमाण्डू वाहेक पोखरालाई वढी महत्वपूर्ण रुपमा पर्दामा प्रस्तुत गर्ने वी एस थापाले पोखरालाई पर्यटकीय स्थलको आकर्षणको रुपमा प्रस्तुत गर्नमा महत्वपूर्ण योगदान छ । मुकुन्द शरणको प्राकृत पोखरा वा प्रेमप्रकाश मल्लको पोखरा त साँच्चै नै पोखरा नै रैछ, गुञ्जिनु भन्दा अगि नै वी एस थापाले पोखरालाई पर्दामा रुपायित गरिसकेका थिए ,  यो एउटा संयोग नै हो वी एस थापाले पोखरामा प्रस्तुत गरेको समय नै व्हेन संगको माउन्टैन इज योँग पनि पोखरामा छायाँकन गर्ने उद्देश्य राखेर चलचित्रकर्मीको डकोटा पोखरामा ल्यान्ड भएको थियो तर छायाँकन स्थल बन्न सकेन । तर वी एस थापाले कायम राखेको त्यो अझै पनि कायमै छ ।
नेपाली चलचित्रमा व्यावसायिक पुट भित्र्याउने र व्यावसायिकतालाई शक्ति स्रोत मानेर सिनेमा लेखन, निर्देशन गर्ने वी एस थापाले आफू पछि आएका निर्देशक प्रताप सुब्बा, तुलसी घिमिरे, शम्भु प्रधान, किशोर राना, उग्येनका निम्ति पनि नेपालमा सिनेमा निर्माण गर्ने सहज वातावरण बनाईदिए भनें उनले नेपाली समय अनुसार चलचित्रमा रंगमञ्चका कैयन् कलाकारलाई सही मौका दिए , त्यसमध्ये कैयन् कलाकार अहिले पनि चलचित्र र रंगमञ्चमा दुवैतिर आवद्ध छन् ।
 नेपाली चलचित्रका जनक हिरा सिंह खत्री र नेपाली चलचित्रका सफल व्यवसायिक निर्देशक प्रकाश थापाका वीचका एक सेतु मानिने वी एसले आज नेपाली रजतपटमा सक्रिय कैयन् कलाकार, कलाकर्मीलाई लञ्चिँग प्याड् दिएका थिए ।
माइतीघरमा अभिनेताका रुपमा प्रवेश गरेका यादव खरेलले चलचित्रमा आफ्नो भूमिका अझै कायमै राखेका छन् भने  होस् वा माइतीघरमै आएका अभिनेता टीकाभूषण दाहालले आफू सक्रिय हुन नसकेपनि रजतपटमा निशानी छोडेर गएका छन्, आफ्ना छोरा ।
स्वर्गीय टीकाभूषणका छोरा ताराभूषण दाहाल आज भूषण दाहालका नामले भिडिओ जगतमा लोकप्रिय छन् । टीकाभूषणकै सहकर्मी प्रदीप रिमाल, नन्दकिशोर तिमिल्सेना, नन्दकिशोरका सहायक गेहेन्द्र धिमाल आदि विभिन्न विधा विषयमा चलचित्र जगतसित आवद्ध छन् भने वीएस थापाकै सहायक निर्देशक किशोर राना नेपाली चलचित्र जगतमा सीमा रेखा, कर्जा जस्ता फिल्मका कारण अस्तित्वमा छन् ।
नेपाली चलचित्रमा बलिऊड अभिनेत्री माला सिन्हालाई ब्रेक दिने वीएस थापाले सीपी लोहनी, रवीन्द्र खड्कालाई पनि नायकका रुपमा अवसरदान गरे भनें शर्मीला मल्ललाई नेपाली चलचित्र जगतमा कान्छी उपनाम नै प्रदान गरे ।
अझै स्मरणीय र सम्मानको कुरा, उनले बलिऊडका प्रथम सुपर स्टार राजेश खन्नालाई नाटकमा पहिलो ब्रेक दिएका थिए । सुपरस्टार राजेश खन्ना र उनकी प्रथम प्रेमिका अञ्जु महेन्द्रको पहिलो भेट नै वी एस थापाकै नाटक मार्फत् भएको  थियो ।
वी एस थापा नेपालका ती भाग्यमानी निर्देशक मध्ये हुन् जसको पहिलो फिल्म माइतीघर को नाममा काठमाण्डूको एक विशेष ठाउँको नाउँ माइतीघर राखियो ।
 माइतीघर भनेर चिनिने त्यो चोक आजकाल मण्डला माइतीघर नामबाट परिवर्तित भएको छ । तर वी एस थापाले नेपाली सिनेमामा भित्र्याएको अस्सली सूत्र अझै परिवर्तन भएको छैन । त्यो वेचिँदैछ, त्यो विक्दैछ र त्यो त्यसरी नै टिक्दैछ जसरी आज नेपाली म्युजिक भिडिओ काँचको पर्दामा चल्दैछ ।
सिनेमाका प्रथम फिचर निर्देशक डेविड वार्क ग्रीफिथले जसरी सास रोक्दै रोक्दै कथा भनिन्छ त्यो पद्धति नै सिनेमाले अपनाउनु पर्छ भन्ने मान्यताका साथ निर्देशक थापाले कथा भन्ने सिनेमाको सही पद्धति नेपालमा भित्र्याए, जसलाई सिनेमायी भाषामा स्क्रिप्ट राइटिङ्ग भन्छन् । यो नै वी एस थापाको कथा कथ्ने शैली बन्न गयो ।
००

Friday, 2 October 2015

Marilyn Monroe by Prakash Sayami

मर्लिन मुनरोको लागि एक प्रार्थन
प्रकाश सायमी


मार्लिन मुनरोको लागि एक प्रार्थना ।
प्रभु !
स्वीकार गर यो युवा महिलालाई जसलाई संसारले मार्लिन मुनरो नामले चिन्दछन्
यद्यपि त्यो तिनको वास्तविक नाउँ होइन,
( तर तपाइँलाई उनको वास्तविक नाउँ थाहा नै छ जसलाई अनाथ आश्रममा ६ वर्ष को उमेरमा वलात्कृत भएकी थिइन् र सेल्सगर्लले १६ वर्षको उमेरमा आत्महत्या गर्ने कोशिश गरेकी थिईन् । )
तिनी विना मेकअप आएकीछिन्
विना प्रेस सहायक
विना फोटोग्राफर अनि विना अटोग्राफरका हुल
एक्लो अन्तरीक्ष यात्री जस्तो
तिनी बालखा छँदा नै सपना देख्थिन्
चर्चामा नाँगै जन्मिएको
( टाइम को अभिलेख अनुसार )
स्वीकार गर प्रभु ।
त्यो सेल्सगर्ललाई
जसको केही दोष छैन
जो अरु सेल्स गर्ल जस्तै
स्टार हुने सपना देख्थिन्
तिनको सपना वास्तवमै पूरा भयो –( तर टेक्निकलरको वास्तविकता जस्तै )
तिनले त्यसरी नै अभिनय गरिन्
जसरी हामीले उनलाई भूमिका दियौँ
तर कथा हाम्रै जीवनको, अनि त्यो विसंगति
माफ गर प्रभु उसलाई
अनि माफ गर हामीलाई
अनि वीसौँ शताब्दीको यो निर्माणलाई
जुन यो तथाकथित सुपर हिट विषयलाई
जसमा हामी सबैले करामत गर्यौँ
तिनी प्रेमकी प्यासी थिइन् हामीले टेन्किविलाइजर दियौँ
अवसाद मेट्न  के के मागिन् हामी सन्त थिएनौँ
मनोविद्ले तिनलाई पागलखाना जानु भने
याद गर,
प्रभु तिनको क्यामेराप्रति भय ।
तिनको मेकअपप्रतिको वितृष्णा
कसरी तिनीभित्र त्रासले घर बनाउँदै थियो
स्टुडिओमा तिनी आउन ढिलो हुँदै थिइन्
अन्य सेल्सगर्ल जस्तै तिनले स्टार हुने सपना देखी
अनि तिनको जीवन सपना जस्तै अवास्तविक हुँदो हो
तिनको प्रेम
आँखा बन्द गरेर खाइएको म्वाईजस्तो थियो
जब तिनले आँखा खोलिन्
तिनी वत्तीको झुन्डमा एक्ली थिइन्
तिनीहरुले बत्ती मारे
तिनीहरुले उनलाई बोकेर दुई पर्खाल भएको
कोठमा पुर्याए –( यो शुटिँग सेट थियो )
जब निर्देशक पटकथा सहित गए
तर दृश्य पहिल्यै छायाँकन भइसकेको थियो
जस्तो क्रुजको यात्रा वा सिंगापुरको म्वाई वा रियोको नृत्य ।
....
जस्तो सबै मिथ्या ।
एकदिन तिनी मृत अवस्थामा कोठामा फेला परी फोन सहित
गुप्तचरले अहिले सम्म थाहा लगाउन सकेको छैन
 तिनी फोन कसलाई गर्दैथिइन्
मानौँ , तिनी कुनै परिचित आवाज सुन्न फोन गर्दैथिइन्
र मात्र तिनले रेकर्डेड आवाजमा यति सुनिन् , रंग नम्बर ।
कुनै सन्देहास्पद ग्याँगस्टारको फोन जस्तै काटियो
प्रभु,
जसलाई तिनले फोन गरेकी भएपनि
वा नगरेको भएपनि – वा त्यो कोही नभए पनि )
अथवा, त्यो नम्बर लस एन्जेल्सको फोन डायरीमा नभए पनि
तिमीले स्वीकारयौँ
धन्य तिमी, प्रभु ।
यो एउटा चर्चित कविता हो, कार्देनालको ।
यो कविता छापिँदा कवि एर्नेस्तो कार्देनाल नोबेल पुरस्कारका निम्ति अनुमोदित भएका थिए, यद्यपि उनले पुरस्कार त पाएनन् तर कविताको सर्वोच्चता अछुत नै रह्यो त्यस समय ।
कार्देनाल ल्याटिन अमेरिकी कवितामा सेसर वाय्यखो र पाब्लो नेरुदा पछिका सबभन्दा ठूला कवि मानिन्छन् । मानिएका पनि छन् , उनका कविता ‘शून्यकाल, सूक्तिहरु, बसमा अमेरिकाको यात्रा गर्दै गर्दा’ जस्ता कविता सदैव चर्चामा रहे भने यसवर्षको मजदूर दिवसका दिन प्रकाशित उनको कविता सेलफोन ले विश्वका ठूल्ठूला पब्लिशिँग हाउस र बहुर्राष्ट्रिय कम्पनीका हड्डी थर्थर बनाइदियो । मोबाइलमा प्रयोग हुने कन्डेन्सरहरु कँगोको कोल्टनबाट सात देखि दशवर्षका बच्चा कसरी मारिन्छन्, यसै पीडामा लेखिएको यो कविताले यसपालि धेरै श्रमिकका निम्ति दिन जगाईदियो ।
कार्देनाल एक रोमन क्याथोलिक पादरी हुन् र माक्र्सवादी चिन्तक पनि । र, यी दुई हुनुमा उनलाई केही भेद छैन किनकि उनको मान्यतामा दुवैको उद्देश्य मनुष्यको मुक्ति हो ।
यी पादरी कविले लेखेको मार्लिन मुनरोमाथि कविताले हामीलाई भाव विभोर बनाउँछ, वाह्यन्तरवादले । कविताबाट वाहिरका विवरणहरु र दृश्यहरुमाथि निर्भर हुनुका कारणले आफ्नो कवितालाई उनले वाह्यन्तरवाद भनेका छन्, एक्सेतेरिएरिज्मो ।
पश्चिमी कवितामा यो प्रयोग कमै देखिन्छ ।
निकारागुआमा ‘आवर लेडी अफ सोलेन्तीनामे’ नामक् कम्युन चलाएर बसेका कवि कार्देनालले हलिऊड नायिका मार्लिन मुनरोमाथि लेखेको यो कविता आफैँमा एउटा समय शक्ति हो ।
मार्लिन मुनरोका लागि एक प्रार्थना यो कविता छापिँदा मुनरो यो जगतबाट अलप भइसकेकी थिइन् ।
मार्लिन मुनरो हलिऊडकी अहिले सम्मको सवभन्दा चर्चित अभिनेत्री मानिन्छिन् । फ्रान्सकी ज्याँ मारिया देखि चीनकी गोँङ्ग लीई सम्मको तुलना यिनीसित हुन्छ तर यिनको सौन्दर्यको तुलना आज सम्म कसैसित गर्न सकिएको छैन ।
करीव डेढ दशक लामो फिल्मी क्यारिअरमा मार्लिन मुनरोले संसार हल्लाईदिइन् ।
सिनेमा, साहित्य, फोटोग्राफी, राजनीतिमा यिनको नाम सर्वत्र गुणगानका साथ लिइन्थ्यो ।
सिनेमामा  यिनले सामान्य उमेरमा प्रवेश गरेकी थिइन्, वीस वर्षको उमेरमा । विवाह गरेको चारवर्ष पछि यिनी पर्दामा नायिका भएकी थिइन् । यिनलाई नायिकाको रुपमा पर्दा दिने संस्था ट्वेन्थिट् सेन्च्युरी फोक्स् त्यो वेलाको नाम चलेको व्यानर थियो ।
सन् १९४६ देखि सन् १९६१ सम्म निर्वाद्ध रुपमा उनले हिट फिल्महरुमा खेलिन्, त्यसमध्ये अन्तिम फिल्म समथिंग् इज गट टु गिभ जुुन कहिले पूरा हुन सकेन ।
द मिसफिट्स, समलाइक इट हट, दी प्रिन्स् एन्ड दी शो गर्ल, लेट्स् मेक अ लभ, हाऊ टु म्यारी अ मिलिनियर, दी सेभेन इयर ईच् सर्वाधिक चर्चित भए ।
दी सेभेन इयर ईच् मा उनको चर्चित सेतो स्कर्ट उड्ने दृश्यले आज पनि दर्शकमा उत्तेजना भर्दछ । सन् १९५४ को सेप्टेम्बरमा यो दृश्य छायाँकन गर्दा अमेरिकी समाजमा तहल्का मच्चिएको थियो  ।
उनी लाइफ म्यागेजिन ( १९५२ ) र टाइम म्यागेजिन (१९५६ ) मा छापिने पहिलो फिल्मी नायिका थिइन् । यो सौभाग्य अरुलाई ढिलै वा उनी पछि मात्र विस्तारै  प्राप्त भयो, टाइम पत्रिकाको टिप्पणी अनुसार ।
मार्लिन मुनरो यसरी सर्वाधिक चर्चामा आउनुको प्रमुख कारण उनको विन्दास अभिनय र आकर्षक शारीरिक सौष्ठव नै मानिन्छ । उनको हाँसो सबभन्दा लोकप्रिय मानिन्थ्यो जसलाई त्यतिवेला लाखौँको मुस्कान भनेर शीर्षक दिइएको थियो ।
लाखौँको मुस्कान र श्वेत पहिरनमा एक युवती छापामा उनलाई दिइने सब्लाइम मानिन्छ, यो आजकालका नायिकाले पाउन थालेको पगरी हो ।
उनको प्रसिद्धीले हलिऊड यति मन्त्रमुग्ध थियो कि त्यतिवेलाका अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले मुनरोका निम्ति व्हाइट हाउसको दरवार सँधै खुल्ला राखेको थियो, सन् १९६२ मा अमेरिकी राष्टपति जोन एफ केनेडीको जन्मदिनमा न्यू योर्क सिटीको मेडिसन स्क्वायर गार्डेनमा उनले राष्टपतिको सम्मानमा ह्याप्पी वर्थडे गीत गाएकी थिइन् ।
अमेरिकी राष्टपतिका भाइ रोबर्ट केनेडीसितको सम्वन्ध, सोभियत संघका प्रमुख ख्रुश्चेभ उनलाई भेट्न उनकै शुटिंग स्पटमा आउनु , विँग क्रोश्वीको पालम मरुभूमिस्थित निवासमा सप्तान्त विताउँदा  अमेरिकी राष्टपति पनि त्यहीँ हुनुले उनको विश्व राजनीतिको वरिपरि नै थिइन् भन्ने बुझिन्छ ।
सौन्दर्याषक रुप र हँसिलो जोवन, अनि स्पष्टवक्तको व्यक्तित्व भएकी मार्लिन आफ्नो जवानी मेन्टेन गर्न भरमग्दूर प्रयाग गरिन् ।
बलिऊडका मधुवाला देखि माधुरी दीक्षित सम्म वा नेपालका करिश्मा मानन्धर सम्म आज उनको त्यो शैली र स्वभावका अनुयायी मानिन्छन् ।
अभिनयमा सहजता, पर्दामा फोटोजेनिक देखिने मुनरोका लागि नै पहिलो पटक सेक्स् भन्ने आँग्ला शब्दमा सुपरलेटिभ थपेर सेक्सिइस्ट लेखिन थालेको हो, आज यो अँग्रेजी शब्दकोशको धन भएको छ ।
नोर्मा जीनी मोेर्टेन्सन् नामबाट सन् १९२६ मा लस एञ्जेल्स्को काउन्टी अस्पतालमा जन्मेकी मुनरोले नोर्मा नामबाटै सन् १९४२ मा जेम्स् डाउगेत्रीसित  विवाह गरिन् । ट्वेन्थिट् सेन्च्युरी फोक्स्सित नायिकाको रुपमा अनुवन्ध भएपछि तिनले डाउगेत्रीसित पारपाचुके गरिन् ।
फिल्मी जीवनमा सफल भएपछि पनि उनको दुई विवाह भए, जोय् डीम्यागियो र आर्थर मिलरसित ।
 मिलर विश्व साहित्यमा अल माइ सन्स् र डेथ अफ् सेल्स्म्यान जस्ता नाटकका कारण विश्व चर्चित मानिन्छन् । मिलरसित उनको वैवाहिक जीवन करीब छ वर्ष टिक्यो र यो विवाहबाट पनि सन्तानौपत्ति नभए पछि मार्लिनमा एक प्रकारको वैराग देखियो । मिलरसित सम्बन्धविच्छेद भएकै समय उनको दी मिस्फिट्स रिलीज भएको रिलीज भएको थियो । यही वर्ष मुनरोलाई न्यूयोर्कको मानसिक अस्पताल भर्ना गरिएको थियो ।
दी मिस्फीट्स् सार्वजनिक रुपमा मुनरोको जीवनकालको अन्तिम सिनेमा हुन पुग्यो ।
 सन् १९६२ को अगस्ट ५ का दिन उनी आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको मृत्युको  आज ठीक ५३ वर्ष पुगिसक्दा पनि अहिले सम्म पनि अमेरिकी गुप्तचर संस्थाको निम्ति त्यो एउटा रहस्य नै भएको छ । उनको मृत्युको लगत्तै अमेरिकी राष्ट्र«पति केनेडीकी पत्नी जैकी केनेडीले भनेकी थिइन्, तिनी सच्चा रुपले धाममा हुनेछिन् ।
मुनरोको निधनको लगत्तै डैली न्यूज्ले सातपृष्ठको श्रद्धाञ्जलि अंक फोटोसहित प्रकाशित गरेको थियो भनें उनको अन्तिम अन्तर्वार्ता लाइफ म्यागेजिनले छापेको थियो, त्यो अन्तर्वाता अंशमा मुनरोले भनेकी थिइन्,
प्रसिद्धीले ईष्या निम्त्याउँछ । तिनले आफूलाई के ठान्छिन् ? मार्लिन मुनरो ?
मुनरोको शवयात्राका तैयारी प्रमुखका अनुसार उनको निधन रातको ९.३० वा ११.३० को वीचमा भएको हुनुपर्छ । तिनको घरेलु केटीले तिनलाई व्युझाउन सकिनन् तर कोठामा बत्ती बलेको देखेपछि प्रहरी र राल्फ ग्रीनसनलाई बोलाइन् । ढोका खोल्न नसकेपछि उनीहरुले झ्याल –(फ्रेञ्च विन्डो ) फोडे र पसे ।
एक कुनामा तिनी मृत्त अवस्थामा थिइन् , उनको शरीरमा देखिएको विषाक्त प्रयोगले एक किसिमले लाक्षणिक आत्महत्या भन्न सकिन्थ्यो भनेर रिपोर्टमा भनिएको छ ।
उनको मृत्युपछि दिइएको असंख्य प्रतिक्रियामा फोटोग्राफर फिलीप हाल्सम्यान्ले भनेका छन्, तिनी इतिहासकी सबभन्दा चर्चित प्रेमकी देवी हुन् ।
उनको अन्तिम चर्चितका निर्देशक जोन ह्युस्टनले भने, यो अत्यन्त विशाद्को कुरा हो सारा सुन्दरता हामीले एकैपटक गुमायौँ ।
जोन ह्यूस्टनको दी मिस्फिट्स् पछि उनका कुनै चलचित्र पछि रिलीज भएका छैनन् तर आजको डिजीटल युगमा उनको नाम टाइप गर्ने वित्तिकै गुगलमा १२, ६००, ००० ओटा फरक फरक चर्चित साइटहरु फेलापर्छन् , मृत्युको ५३ वर्ष पछि पनि यति धेरै चर्चा पाउने सेलेब्रेटीमा मुनरो एल्भिस प्रेस्ले, वीटल्स् पछि तेस्रोमा पर्छिन् ।
उनका नाममा आधिकारीक रुपमा ५०  ओटा पुस्तक प्रकाशित छन् हरेक पुस्तकको शीर्षकमा मुनरो वा मार्लिन नाम राखेर प्रकाशित छन् ।
उनका वारेमा नाटाली ऊड भन्छिन्, जब तपाईँ पर्दामा मार्लिनलाई देख्नुहुन्छ कतै  केही नराम्रो नहोस् भनेर कामना गर्नु हुन्छ ।
तर पनि मार्लिनलाई लेखकले, दर्शकले वा उनका जीवनी लेखकले कहिले सही बुझ्न कोशिश गरेनन् भन्ने उनको गुनासो छ, उनले आफ्ना प्रिय लेखक आन्द्रे जीद्को भनाई  सापट लिएर भनेकीछिन् लेडिज् होम जर्नल की मार्गरेट प्याट्रोनलाई ,  कृपया मलाई ठट्टा नठानीदिनुस् ।
मार्लिन्को यो भनाई फ्रान्सेली लेखक आन्द्रे जीदको कृपया मलाई छिटो बुझ्ने कोशिश नगर्नुहोस् । 
तर दुर्भाग्यवश यो अन्तर्वार्ता छापिएन, सम्पादकको असन्तुष्टिका कारण । सम्पादकले प्याट्रोनलाई भनेछन्, “तिमीले बढी नै सहानुभूति राख्यौ मार्लिन प्रति । यति धेरै सहानुभुतिले शोभा दिँदैन । तिमी पुरुष भएको भए म अनुमान गर्नसक्छु, त्यो कोठामा मार्लिन र तिमी वीच के भएको थियो भनेर । तर अपशोच ...”
सम्भवतः मार्लिनको त्यो अन्तर्वार्ता त्यसै थन्कियो उनको मृत्यु पछि पनि ।
०००

Wednesday, 23 September 2015

Poem By Ernesto Cardenal

v Ernesto Cardenal's
Prayer for Marilyn Monroe
 Translated from the Spanish 
by Jonathan Cohen

 
Recitation by Cardenal ~
Time Magazine (May 14, 1956)
Lord
receive this young woman known around the world as Marilyn Monroe
although that wasn't her real name
(but You know her real name, the name of the orphan raped at the age of 6
and the shopgirl who at 16 had tried to kill herself)
who now comes before You without any makeup
without her Press Agent
without photographers and without autograph hounds,
alone like an astronaut facing night in space.
She dreamed when she was little that she was naked in a church
                              (according to the Time account)
before a prostrated crowd of people, their heads on the floor
and she had to walk on tiptoe so as not to step on their heads.
You know our dreams better than the psychiatrists.
Church, home, cave, all represent the security of the womb
but something else too …
The heads are her fans, that's clear
(the mass of heads in the dark under the beam of light).
But the temple isn't the studios of 20th Century-Fox. 
The temple—of marble and gold—is the temple of her body
in which the Son of Man stands whip in hand
driving out the studio bosses of 20th Century-Fox
who made Your house of prayer a den of thieves.

Lord
in this world polluted with sin and radioactivity
You won't blame it all on a shopgirl
who, like any other shopgirl, dreamed of being a star.
Her dream just became a reality (but like Technicolor's reality).
She only acted according to the script we gave her
—the story of our own lives. And it was an absurd script.
Forgive her, Lord, and forgive us
for our 20th Century
for this Colossal Super-Production on which we all have worked.
She hungered for love and we offered her tranquilizers.
For her despair, because we're not saints
                                              psychoanalysis was recommended to her.
Remember, Lord, her growing fear of the camera
and her hatred of makeup—insisting on fresh makeup for each scene—
and how the terror kept building up in her
and making her late to the studios.

Like any other shopgirl
she dreamed of being a star.
And her life was unreal like a dream that a psychiatrist interprets and files.
Her romances were a kiss with closed eyes
and when she opened them 
she realized she had been under floodlights
                                      as they killed the floodlights!
and they took down the two walls of the room (it was a movie set)
while the Director left with his scriptbook
                                                      because the scene had been shot.
Or like a cruise on a yacht, a kiss in Singapore, a dance in Rio
the reception at the mansion of the Duke and Duchess of Windsor
                    all viewed in a poor apartment's tiny living room.
The film ended without the final kiss.
She was found dead in her bed with her hand on the phone.
And the detectives never learned who she was going to call.
She was
like someone who had dialed the number of the only friendly voice
and only heard the voice of a recording that says: WRONG NUMBER.
Or like someone who had been wounded by gangsters
reaching for a disconnected phone.

Lord
whoever it might have been that she was going to call
and didn't call (and maybe it was no one
or Someone whose number isn't in the Los Angeles phonebook)
                                     You answer that telephone!

Tuesday, 1 September 2015

Rabindra Mishra's comment.



Rabindra Mishra with Prakash Sayami
सुर्यको प्रकाशको अगाडि दियो बाल्ने प्रयास
आज भृकुटीमण्डपमा मेरो कलेज दिनदेखिका मित्र र मेरो एकजना प्रेरणा प्रकाश सायमी (तस्वीरमा बोल्दै) को निबन्ध संग्रह ‘काठमाण्डू सेल्फी’ विमोचनमा मलाई उनले पुस्तकबारे बोलिदिन आग्रह गरेका थिए।
बहू-आयामिक व्यक्तित्वका धनी प्रकाश सायमीको असाधारण स्मरण शक्ति छ। मैले उनीजति तेज सम्झना शक्ति भएको एकाध व्यक्तिहरुमात्र भेटेको छु। ‘अजर-अमर गीत’का सबै स्रोताले पनि त्यो महशुस गरेको हुनुपर्छ।
काठमाण्डू सेल्फीमा पनि लेखकीय क्षमतामात्र होइन, साहित्य र संगीतबारे उनको ज्ञान र स्मरणशक्तिको राम्रै आभाष पाउन सकिन्छ। काठमाण्डू सेल्फी पढेपछि मलाई प्रकाश सायमीलाई निबन्धकारमात्रै भन्दा पनि ‘कला-निवन्धकार’ भन्न मन लागेको छ।
उनको लेखन र व्यक्तित्वको बारेमा मैले बोल्नु भनेको सुर्यको प्रकाशका अगाडि दियो बाल्नुजस्तो हो भन्ने मलाई थाहा थियो। तर मैले माथि नै भनिसकेँ उनी मेरा मित्र र प्रेरणा पनि हुन्। म आइएमा पढ्दा उनले नै मेरो पहिलो लेख एउटा साप्ताहिक पत्रिकामा छपाइदिएका थिए। मेरो जीवनमा उनका अन्य प्रभावहरू पनि परेका छन्।
त्यसैले मैले उनको सदभावपूर्ण अनुरोध नमान्ने कुरै थिएन। तर मञ्चमा आसिन (बायाँबाट क्रमश:) गीतकार नगेन्द्र थापा, साहित्यकार सनतकुमार वस्ति, साहित्यकार तथा निर्देशक चेतन कार्की र अभिनेता कृष्ण मल्लले प्रकाशको व्यक्तित्वमा साँच्चिकै प्रकाश पारिदिएपछि, मेरो मन हलुका भयो।
प्रकाश, म दियो हुँदाहुँदै पनि मलाई संझिएकोमा धेरैधेरै धन्यवाद!
तिम्रो सधैं भलो चाहाने,
रवीन्द्र