Monday, 3 November 2014

Rashtra Gaan ko katha by Prakash Sayami

एउटा राष्ट्रगानको कथा
प्रकाश सायमी

00
 भारतको राष्टगान जनगणमन अधिनायक एक नेपालीभाषी भारतीयले बनाएको भनेर थाहा पाएको वेला सम्म नेपालको राष्ट्रगान कसले बनाएको थाहा थिएन । तर स्कुल र कलेज पढ्दा राष्टगान गाउने समय भन्दा ढिलो स्कुल पुगिन्थ्यो । विशेष गरेर स्कुल सामान्य परिस्थितिमा गुठीको जग्गामा बनेको हुनाले एसेम्वली नामको कार्यक्रम हुन्नथ्यो तर स्कुल छेवमा रहेको सिनेमा हलमा सिनेमा हेर्न जाँदा सदैव श्रीमान् गम्भीर बज्दा जुरुक्क उठ्नु पथ्र्यो । त्यसकारण सिनेमा हलमा पनि कास्टिँग सके पछि मात्र हलमा प्रवेश गर्ने बानी बस्यो ।
यो बानी कलेज सम्म नै चल्यो र चलिरह्यो ।
यो श्रीमान् गम्भीर भन्ने गीत कुन चैँ श्रीमानको लागि रचिएको रहेछ, भन्ने वेतुकको प्रश्न एक दिन तुकको बन्यो जब यसका संगीतकार को हो भनेर थाहा भयो । यो त पञ्जाब राइफल्सका एम एस पठानले ब्रिटीशहरुको गड सेभ दी किँग को धुनको हुबहु नक्कल गरेका रहेछन् तर हल्लामा र चलनचल्तिमा यसका संगीकतकार काठमाण्डू भूईख्यलः का बखतबहादुर बुढापिर्थिले गरेको पनि भनिँदो रहेछ, संगीत अन्वेषक रामशरण दर्नाल यसमा पक्का थिए । तर कमल दिक्षितहरु यो कुरा मान्दैनथे ।
यस्तो राष्ट्रगान किन बनाएको होला भनेर मेरो प्रश्न जताततै फैलिएको वेला इतिहासवेत्ता चित्तरञ्जन नेपालीले प्रथम राणा प्रधानमन्त्री  जंगबहादुरले बेलायत भ्रमण गर्दा राजमति कुमति जिके वःसा पिरती राष्टगान भनेर गाएका थिए भनेर  भन्नु भयो तर यो पनि जनश्रुतिको आधारमा मात्र हो भन्ने पाइयो ।
धेरै पछि आख्यानकार ध च गोतामेले नेपालको पहिलो राष्टगान लण्डनको लाइव्रेरी अफ् न्याशनल एन्थेममा देखेको छु भनेर एकदिन भनेको सुनेँ तर उहाँले पनि यकिनका साथ यसवारे केही लेख्न नपाउँदै उकालोको बाटो तताउनु भयो, एउटा तपसीलको कुरालाई थाँती नै राखेर । अब यसवारे जान्ने , चासो राख्ने मान्छे कमै हुँदै गएको वेला  मैले एकदिन एफएमको माध्यमबाट राष्टगान फेर्न पाए कसो होला भनेर प्रश्न उठाएँ, स्रोताको सहभागिता पनि व्यापक बढ्यो ।
२०५६ साल फागुन सात गतेका दिन चलाइएको त्यो कार्यक्रममा धेरैले हालको राष्टगान फेरिनुपर्ने र फेर्दा नै राम्रो हुने राय दिए , धेरैले देशले रगत मागे, रातो चन्द्र र सूर्य , कतिले गाउँछ गीत नेपाली बनाए राम्रो हुने तात्तातो सुझाव दिए ।
सबै कुरा राम्रै चल्दैथियो, अचानक गृह मन्त्रालयका एक  सचिवले फोन गरेर एफएमका स्टेशन म्यानेजरलाई भनेछन्, कार्यक्रम तत्काल रोक्नु होस् । एफएमबाट यस्तो कार्यक्रम चलाउन पाइन्छ ।
स्टेशन म्यानेजर पनि अलि जिराहा थिए, कार्यक्रम झन् धेरै लामो चल्यो । उनले मलाई केही भनेनन् ।
स्वागतयोग्य रह्यो कार्यक्रम विवाद जे सुकै आएपनि ।
कानुनी उपचारमा राष्टगान फेरिनु बडो गाह्रो कुरा थियो, संसद्को दुई तिहाई बहुमतको समर्थन चाहिन्छ । यो चानचुने काम थिएन । भारतकै राष्टगान पनि गोर्खाल्याण्डको आन्दोलन पछि फेर्र्ने खूब हल्ला भएको थियो, नेपाली जातिसित असन्तुष्टि भएर । तर हुन सकेन कारण राष्ट्रगानको अन्तर्राष्ट्रिय लाइब्रेरी देखि लिएर धेरै ठाउँमा सच्याइनु र बनाइनुपथ्र्यो । यो धेरै गाह्रो काम मध्ये थियो , अन्ततः रवीन्द्रनाथ ठाकुरको रचना र श्रीरामसिंह ठकुरीको संगीत नै कायम रह्यो ,श्रीरामसिंहको नाम पछाडि रहेको नेपाली चैँ विस्तारै हटाइयो । भारतीय वीगब्रदरहुड –बडेभैयापन) ले कहिले काहिँ ठकुरीलाई कहिलेकहिँ ठाकुर पनि बनाउन खोजिन्थ्यो तर भारतमै रहेका उनका छोरा भाइको विरोधपछि त्यो बडबोलेपन वा बेइमानीको माने लागेन ।
भारतको राष्टगानमा जनताको गुण गान छ, नेपालको राष्टगानमा श्रीमान्को ।
कहिलेकाहिँ पिरोल्थ्यो मनमा । तर यसको निदान भयो, दोस्रो जनआन्दोलन पछि र गणतन्त्रको घोषणापछि ।
नयाँ नेपालको नयाँ राष्टगान बन्ने भयो । यसका लागि शब्द मागियो, देशका धुरन्धर कवि गीतकार देखि नवसिखुवा सम्मले पनि बुझाए । मैले आपत्ति जनाउँदाजनाउँदै पनि राष्टककवि माधव घिमिरे किताब नै बुझाउनु भयो । उहाँलाई त पहिलो चरणमै रिजेक्ट गरिदिए । पछि कविवरले पश्चाताप मान्दै भन्नु भयो, सायमीजीले त भन्नु भएको थियो । के गर्नु ? बेकारमा बुझाइयो ।
गीतकार प्रेमविनोद नन्दन, हरिहर तिमिल्सेना आदि चैँ दशभित्र परे तर बाजी मारे , प्रदीपकुमार राई अर्थात् ब्याकुल माइलाले । उनलाई राष्टगान मागेको छ बुझाउनु न भाइ भनेर सल्लाह दिने उनका मित्रदाजु गजलकार सुनील पुरी थिए । सुनील आफूले चैँ बुझाउन भ्याएनन् शायद ।
व्याकुल माइलाको शब्द छानिनुअगि उनले नै ट्रेस पेपर बनाएर लेखेको पुरानो राष्टिय गीत पनि चर्चामा आयो यद्यपि दुवै गीतको अक्षरको मात्रा बराबर नै छ, तालको मात्रा पनि त्यति नै ।
व्याकुल माइलाको गीत छानिएपछि संगीतकारको मैदानमा चारओटा धुन देखा परे, अम्बर गुरुँगको दुइटा , न्ह्यू बज्राचार्यको एउटा र प्रहरी ब्यान्ड्का राजेन्द्र गुरुङको एउटा ।
यही वेला मेरा आदरणीय गुरु एवम् प्रिय संगीतकार अम्बर गुरुङले आफ्नो चण्डोलको डेरामा एउटा मिटिँग बोलाए, राष्टगानको प्रतिस्पर्धामा जाने कि नजाने ?
हामी गुरुले बोलाएको समयमा सहभागी भयौँ, गायक संगीतकार शैलेश सिंह र म । त्यहाँ गुरुका तीनै छोरा किशोर, राजु र शरद् थिए भने गायक, संगीतकार दीप श्रेष्ठ, बाहेक गुरुका आफ्नै चेलाहरु पनि थिए ।
परिवारका सबै सामू गुरुका अगाडि बाहिरीयाहरुले दुई किसिमका तर्क ल्याए, यो राष्टगान पास भए पनि टिक्ने होइन । दोस्रो, सरकारले नै तपाइँलाई आएर आग्रह गरे मात्र गर्ने नत्र किन गर्ने ?
मिटिँगभर धेरै कुरा बहसमा आए ।
तर गुरुका चेलामध्ये एकजना उपब्रुजुकले भाषणजस्तै गर्दै भने, यो राष्टगान गर्नु को केही फाइदा छैन । यो पास नै हुँदैन ।
दीप श्रेष्ठ, शैलेश र मैले एक स्वरले भन्यौँ, सरले नै गर्नुपर्छ नत्र अर्को वाहियात मान्छेले मैदान मार्ला , तपाइँ पनि न्ह्यू पनि आउट होला ।
गुरुवर पछिल्लो कुरामा कन्भिस्ड् त भए तर उनी न्ह्यूको कम्पोजिशनप्रति त्रसित थिए । त्यहाँ भएका मध्ये धेरैको न्ह्यूसित राम्रो थिएन । दीपदाइले मलाई न्ह्यूसित कुरा गरेर प्रतिस्पर्धाबाट पछि हट्नलाई अनुरोध गर्न भने ।
म त्यही दिन न्ह्यू बज्राचार्यकोमा पुगेँ । उनी मानसिक रुपले अम्बर गुरुङ मैदानमा आउँछ भने छोड्न तयार भएको बताए । यो त उनले अरु खराब मान्छे आउलान् भनेर ठाउँ बुक मात्र गरेको बताए ।
यसरी अम्बर गुरुङ मैदानमा एक्लै आए, संगीत संयोजन उनका जेठा छोरा किशोरले गरे । किशोरले मसित पनि केही सांगीतिक कार्य  गरिसकेका थिए ।
अम्बर गुरुङको संगीतमा व्याकुला माइलाको राष्टगान पास भयो तर सार्वजनिकिकरण गर्नमा सरकार त्यति औत्सुक्य देखिएन । र चहल पहल पनि भएन कुनै ।
म न राष्टगानको गायक थिएँ न रचयिता म चैँ असाध्य खुशी थिएँ पुरानो राष्टगान बद्लिएकोमा ।
यो खबर मैले नै न्यूजको रुपमा जानकारी दिएँ एफएमहरुमा । तर सरकारका सचिव अझै पनि अम्बर गुरुङलाई अल्झाइराख्न चाहन्थे, हो वा होइनको स्थितिमा ।
एक जना अधिकारी थरका सचिव जो गीतकार पनि हुन् उनले त सीधै भनेछन् अम्बरसरलाई , तपाइँले मिडियावालालाई भन्न नहुने ।
अम्बरसरले भनेछन्, ऊ मिडियाको मान्छे होइन मेरो स्टुडेन्ट हो ।
अम्बर गुरुङ र मेरो सम्बन्ध अनौठो थियो, न उनले मलाई गीत सिकाए न मैले संगीत सिकेँ ।  न म त्यो विषयको विद्यार्थी नै हुँ ।
तर उनले गर्वले भनेछन्, ऊ मेरो विद्यार्थी हो ।
मलाई पनि गर्व लाग्यो अज्ञात गुरुजीप्रति ।
राष्टगान पास भयो तर सरकारले कुनै औपचारिक घोषणा गरेन । अर्का सचिव जलकृष्ण श्रेष्ठलाई मैलै निरन्तर दवाव दिएँ, कार्यक्रम गर्नुपर्यो । नेपालको व्यूरोक्रेसीको लापर्वाही कति छ भनेर त्यो वेला थाहा पाइयो , रंगशालामा सारा जनसमुदायका सामू रिलीज गर्ने भनिएको राष्टगान योजना आयोगको कक्षमा रिलिज भयो ।
सकियो ।
त्यसपछि राष्टगानको विरोधमा अनि  समर्थनमा व्यापक आलोचनाहरु भए ।
राष्टगान पास भएपछि नजानिकन म पनि मैदानमा ओर्लिएँ गुरुको आदेशले । गुरु थला परेका थिए स्ट्रेसले । किशोर र मैले जताततै गीत वारे बोल्न थाल्यौँ ।
राष्टगान पास भए पनि संगीतकारले पाउनुपर्ने पारिश्रमिक वा परीतोषिक पाउन पाँचमहिना नै लाग्यो यसका लागि मैले सचिव जलकृष्ण श्रेष्ठ र मन्त्री पृथ्वी सुब्बा गुरुँगलाई बारम्बार फोन गर्नु पर्यो ।
एकदिन गुरुलाई मैले भने सर अब हजुरले सबै शुभेच्छुक जसले हजुरलाई सकारात्मक सल्लाह दिएका थिए, उनीहरुलाई बोलाएर एउटा चियापान वा रात्रिभोज गर्नु पर्यो, विशेषतः दीप श्रेष्ठ, शैलेशहरु ।
चियापान कार्यक्रम नै भयो, बौद्धमा ।
गुरुका कान्छा छोरा शरदको ससुरालीको रेस्त्राँमा ।
म पनि गएँ, देखेँ अघिल्लो दीर्घामा । तिनै मान्छे जसले अम्बर गुरुलाई राष्टगान गर्न हुन्न भनेका थिए । तर गर्नुपर्छ भन्ने दीप श्रेष्ठ, शैलेश सिंह त्यहाँ थिएनन् ।
००
twitter @sayamiprakash
www.facebook.com/prakash.sayami

Friday, 31 October 2014

Ghazal by Prakash Sayami

फूल भए पनि राम्रो काँडा भए पनि राम्रोे
विना शर्त माया गरेँ टाढा भए पनि राम्रो

तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले
नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

म विनाको एउटा संसार देख्यौ आज तिमीले
सँधै समथर कहाँ हुन्छ डाँडा भए पनि राम्रो

सिरानीमा थियौ सँधै तिमी विहानीमा गयौ
हिजो पनि अधुरो थेँ, आज आधा भए पनि राम्रो

Thursday, 30 October 2014

जगदीश घिमिरे by Prakash Sayami

प्रकाश सायमी -
 जगदीश घिमिरे पोहोर आजको दिनसम्म हामीसित हुनुहुन्थ्यो, हारगुहार र पुकारका बीच । भगवान, डाक्टर, परिवार, साहित्यिक समाज, पाठक सबै सक्रिय थिए उहाँलाई बचाउन ।
माइलोमा मल्टिपल क्यान्सर उहाँका कारणले नेपालमा चर्चित रोग बन्यो । भारतमा बलिहुड अभिनेत्री लिजा रेले यो रोगलाई चर्चामा ल्याइन् । ओम हस्पिटलमा उहाँले अत्यन्त मुश्किलका साथ देह त्याग गर्नुभयो । परिवारका लगभग सबै त्यहाँ थिए, भाउज्यू दुर्गा घिमिरे, छोरा हिमाल, छोरी, बुहारी, स्वजन सबै ।
वितेको एकवर्षमा उहाँलाई उहाँको परिवारले बाहेक अरु कति साहित्यिकले, सुधीजनले सम्झे वा सम्झना गरे म भन्न सक्दिनँ तर एक पखवार (दुई हप्तापूर्व ) अन्नपूर्ण पोस्ट्मा कवि, निबन्धकार गीता त्रिपाठीले उहाँको बारेमा ‘नजाने उसपार क्या होगा..’ लेखेको लेखोट पढेपछि मलाई उहाँसितका प्रत्येक भेट स्मरणमा आए, आईरहे ।
अन्तरमनको यात्रा को लेखन, प्रकाशन र विमोचनदेखि धेरै चर्चा । काठमाडौंको बजारमा पुस्तक बिक्रीको रेकर्डमा उच्चता कायम गर्ने एक सच्चा किताब । अनि त्यसका लेखक । कार्यक्रममा बोलाउँदा मुस्किलले आउने र आए पछि आफ्नो ठूलो भारीभरकम उपस्थितिको मूल्य चुक्ता गर्न सक्ने लेखक ।
किताब लेख्न र पढ्न मनपराउने । किताब पढाउन मनपर्ने लेखक ।
फटाहा र जालीसित पर बस्न मनपराउने मान्छे जगदीश काठमाडौं उपत्यकाको किनारमा रहेको च्वबहा–(आजको चोभार)को भाजँगाः मा बस्नुहुन्थ्यो ।
किताब र औषधीको थाककाबीच उहाँसित सामान्य असामान्य कैयन् भेट भए ।
उहाँको घरमा विश्वपुस्तक दिवस पनि मनाइयो एकपटक । हामीले नेपाल–भारत पुस्तकालयमा दुई पटक उहाँसित विश्व पुस्तक दिवस पनि मनायौँ । उहाँ र मैले संयुक्त रुपमा आनी छोइङ डोल्माको फूलको आँखामा किताबको विमोचनमा अतिथिका रुपमा भाग लियौँ तर उहाँको एउटा होइन हजार विशेषता थियो जुन प्रायः नेपाली लेखकमा पाउन गाह्रो छ, पढेको कुरा शेयर गर्ने, किताब मागेर पढ्ने तुरुन्तै फर्काउने, कलमको शौकिन, कार्यक्रममा जाने तर धेरै बेर बोल्ने वा बस्ने आदत नभएको, आफूले पढेर मनपरेको लेखकलाई फोन गरेर बधाई वा शुभकामना भन्ने । जुन अहिले भएका लेखकमा चेतन कार्की, तेजेश्वर बाबु ग्वँगः र भैरवबहादुर थापामा मात्र त्यो बानी सीमित छ अरुमा खुम्चिँदै गएको छ ।
उहाँको अन्तरमनको यात्रा र लिलाम मैले कैँयौ पटक पढेको छु, अन्तरमन किनेर बाँडीदिएको पनि छु ।
अन्तरमनको यात्रा को विमोचन उहाँले थिएटरको हलमा गर्नुभएको थियो भने सकस उहाँले थिएटर बाहिर डबलीमा गर्नुभएको थियो, प्रज्ञाभवनमा । सकसको विमोचनमा भव्य उपस्थिति थियो त्यस्तो बहुविविधा व्यक्तिको उपस्थिति नेपालमा कमै देख्न पाइन्छ । त्यो भीड देखेर म चकित चकित भएँ । कोही थिएन र त्यहाँ राजनीतिज्ञ, कुटनीतिज्ञ, समाजसेवी, कानूनविद्, गायक संगीतकार, अभिनेता, प्रकाशक, होटल व्यवसायी, मानवअधिकारीकर्मी, पर्यटन व्यवसायी, संचारकर्मी सबै सबै थिए ।
त्यही दिन विमोचित किताब सहुलियत दरमा बिक्री भएको थियो, किताब किनेर म कार्यक्रम नटुँगिदै हिँडिहालेँ । बेलुका उहाँलाई फोन गरेर सोधेँ, ‘दाइ किताब त निकै गयो होला । मान्छे त हजारको हाराहारिमा थिए ।‘
जगदीशदाइले भन्नु भयो ‘किताब ३०० ओटा जति गए ।‘
आश्चर्य !
काठमाडौंजस्तो सुविधासम्पन्न शहरमा बस्ने, गाडी चढेर, पर्फ्यूम शरीरभरि दलेर आउने मान्छेले खल्तिमा २७३ रुपैयाँ पनि बोकेर आउँदा रहेनछन् । वा किताब किनेर पढ्नु पर्छ भन्ने मान्यताबाट हाम्रा बुद्धिजीवि प्रभावित नै छैनन् भन्ने बुझियो यो देशमा ।
काठमाडौंमा नबिक्ने पुस्तक के जुम्लामा गएर विमोचन गरेर बिक्ला त ?
प्रश्नका लागि प्रश्न धेरै थिए मेरा निम्ति । अन्तरमनको यात्रा पढेपछि मात्र म उहाँसित निकट भएको हो । नेपालमा वेस्ट सेलिँगको दर्जा पाएका धेरै किताब मध्ये एक उत्कृष्ट हो त्यो किताब ।
पाँच सात वा आठपटक त्यो किताब किनेको छु । वीस वा तीस पटक पाना खरर खरर पढेको छु । अझै पनि कुन पानामा के लेखिएको छ, नपल्टाइकन भन्न सक्छु । तर त्यस्ता किताब लेखकको विमोचनमा त यो हालत छ भने अरु लेखकले धाकधक्कू नलगाए भो भन्ने लाग्यो ।
गालिब, गजल, सिनेमा, नेपालको राजदरबार, इतिहास, जातजातिको भाषा र हिन्दुस्तानको रहन सहन केहि केहि पनि विषयमा कुरा गर्न सकिने जगदीश घिमिरेसित किताबको कुरा गर्न झन् गाह्रो छ, उहाँले नपढेको किताब कुनै थिएन । सबै पढेर कलमले ठाउँठाउँमा चिन्ह लगाएका वा पढेर बुक मार्कले ढाकेका । मैले एकपटक उहाँले नामै नसुनेका एक लेखकको किताब पढ्न दिएँ, पढ्नु भएको रहेनछ । काठमाडौंमा पाइन्छ ? सोध्नु भो । मैले भने ‘दशओटा मगाएर मैले धेरैलाई बाँडिदिएँ । अब सम्भव छैन दाजु । दाजुसित चिनजान थिएन र दिने आँट गरिनँ ।’
त्यसपछि उहाँले त्यो किताब पढेर भन्नुभयो ‘यो त मेरै शैलीमा लेखिएको किताब रहेछ । रोग मात्र फरक ।’
किताबको नाउँ थियो, डार्कनेस भिजीबल ।
लेखक विलियम स्टाइरन ।
प्रकाशक पिकाडोर ।
८४ पृष्ठको किताब उहाँले ३ हप्तामा पढ्नु भयो । किताब फर्काएर घर ल्याएको दिन उहाँले फोन गरेर भन्नुभयो ‘म त्यो किताब राख्न चाहन्थेँ ।’ म किताब दिन त्यति गाह्रो मान्ने मान्छे थिइँन तर त्यो किताब दिन सकिनँ । किनकि त्यो किताब पाउन अब सम्भव थिएन । पाउन त अमाजोन, डाउनलोड अन्य उपाय होलान् तर मेरो यो किताबसित आत्मीयता अर्कै अर्थमा थियो । फेरि पछि पनि उहाँले यो किताब पढ्न मन गर्नुभयो, फेरि यो किताब लिएर म गएँ । त्यो दिन उहाँको लिलाम प्रेसबाट आएको रहेछ, पहिलो कपि मोँ ब्लाँ ले साइन गरेर मलाई भाउज्यू दुर्गा घिमिरेलाई साक्षी राखेर दिनुभयो ।
भाउज्यूले नै तख्ताबाट चौबीसहजार पर्ने मोँ ब्लाँ कलम झिकेर ल्याइदिनु भएको थियो, एकवर्ष भएछ । लिलाम पढेँ । उहाँको लिलाम पढेपछि थाहा पाएँ, उहाँको पुस्तकका पंक्तिबाट केहि हरफ चोरेर वा बिना अनुमति नेपालका दुई जना कविले राम्रा कविता लेखेका रहेछन् । ती दुवै कवि नेपालको सरकारी पदमा ठूलो ओहोदामा पुगे, देश विदेश घुमे, नाम, दाम कमाए तर त्यो कविता जगदीश घिमिरको भनेर उनले भनेनन् , मैले एकदिन जगदीश दाइले सोधेँ ‘तपाइँको कविता चोरेछन् नि दाइ ?’
हाँस्दै जगदीश दाइले भन्नुभयो ‘ती दुवै मेरा फ्यान हुन् : प्रकाशजी ।’
रोगमा जिउन सकिन्छ भनेर हामीलाई वास्केटबल प्लेयर म्याजिक जोन्सन्, वसिम अक्रम, अमिताभ बच्चनले सिकाए तर रोगमाथि पनि जीवन जत्तिकै किताब लेख्न सिकाए जगदीश दाइले ।

Wednesday, 29 October 2014

Ghazal by Prakash Sayami

भाउ केही छैन जिन्दगीको अभाव धेरै छ
आफूलाई बन्धकी राख्नु पर्ने दवाब धेरै छ
पहिले त दुःखमा पनि हाँसिन्थ्यो मज्जाले
अचेल सुखसयलमा पनि बदलाव धेरै छ

भाले बासेको संकेत विहानी पो हो कि

पर्खिन्छु बरु सुनामीको हावभाव धेरै छ

जिन्दगी बाँच्ने कला हो अरुबाटै सिकेँ

हारमा पनि मस्त रहने स्वभाव मेरै छ

Tuesday, 28 October 2014

Pardeshma Poem by Prakash Sayami

परदेशमा

प्रकाश सायमी, (ललितपुर )


परदेशमा
धेरैवेरदेखि संघारमा कसैको आहटले
कसैको पदचापले
ढोका ढक्ढकाइरहेजस्तो
धेरैदिन देखि
आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो
कोही आउने सन्देश लिएर विहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो
हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो
वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ
यो परदेशमा ।

दैलो खोली हेर्दा संघारमा कोही रहेनछ
बलेसीमा
चैतको चञ्चल हावाले पो जिस्केको रहेछ
को आउँछ र, यहाँ ?
को आउनु थियो र ?
कसले पो मेरो नाउँमा चिठी ल्याउँछ यो परदेशमा
छिमेकीको छानामा सुकाएको पलँगको तन्नामा
मंसिरको बैँशालु घाम लडिबुडी खेल्दैछ
मेरो सिरानीमा माघको कठ्याँग्रिदो रात
लमतन्न छ

हे धरा ! मलाई एकमुठी घाम
पठाइदिनु यो परदेशमा ।
सात साल आयो
सत्र साल गयो
छत्तीस नाध्यो
छयालीससले छायो
कसैलाई नपर्खिनु भन्थ्यो समयले यो परदेशमा ।
नसम्झिनु भन्थ्यो आफ्नो घरलाई पनि ।
असारको झरीले
बगाएछ त्यो घरलाई । त्यो बालापन र त्यो बैंशलाई ।
सबैलाई साँचेर राखेको छु
यो बैंशको क्यालेण्डरमा ।

आफैलाई राखको छु यो परदेशमा
आफैलाई झुकाएर राखेको छु यो परदेशमा ।

Sunday, 26 October 2014

Dibya Khaling by Prakash Sayami

गुमनाम दिव्य संगीत

  • प्रकाश सायमी
 
गत हप्ता गायक अरुण थापालाई धेरैले सम्भि्कए। अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उननलाई सांगीतिक समाजले सम्भि्कयो न कुनै प्रज्ञा प्रतिष्ठानले। जातजातिका पार्टी वा कुनै जातीय र धार्मिक संगठनबाट पनि उनलाई सम्भि्कइएन।
नेपालको रंगमञ्चमा क्रान्ति ल्याउने तीन नाटकमध्ये दुई दार्जिलिङबाट आएका थिए– अनि देवराली रुन्छ र रातको प्रथम प्रहर।
यी नाटकका निर्देशक क्रमशः मनबहादुर मुखिया र प्रताप सुब्बा हुन्। रातको प्रथम प्रहर कथा, अभिनय र निर्देशनभन्दा यसको संगीत परिकल्पनाका कारण सफल भयो। संगीत र मञ्च परिकल्पनाले नेपाली नाट्यजगतमा यसले ठूलो प्रभाव पार्योश, जसको श्रेय संगीतकार दिव्य खालिङलाई जान्छ।
गायक अरुण थापाका प्रारम्भिक गुरु अनि उनका कालजयी गीतका रचनाकार–संगीतकार खालिङ नेपाली समाजका प्रिय कलाकार हुन्। जसले नारायण गोपाल–गोपाल योञ्जनपछि दार्जिलिङ र नेपालको संगीत र नाट्यकर्मलाई जोड्ने काम गरे।
यति धेरै साहित्यिक, सांगीतिक, नाट्य संस्था भएका मुलुकमा उनको सत्कार्यको सम्झना नगरिनु अति दुःखद् कुरा हो।
नारायण गोपाल, अम्बर गुरुङ र गोपाल योञ्जन। यी तीन नामसित खालिङको नाउँ अनुस्यूत भएर आउँछ, उनले गुरु अम्बरसित संगीत सिके, गोपालको संगीतका उनी भक्त भए। नारायण गोपालले उनलाई भव्य परिचय दिलाए, गीतकार एवं संगीतकारका रूपमा।
‘नारायण गोपाललाई गीत गाउन लगाउने मेरो सपना हो' भनेर आफ्ना नयाँ–पुराना सबै गीत बोकेर खालिङ दार्जीलिङबाट सन् १९७९ मा नेपाल आए। उनको एउटै गीत ‘मायाको आधारमा सम्झौता नै हुन्छ...'ले सारा नेपालीको सपना पूरा गरिदियो।
यही गीतले नारायण गोपाल र खालिङबीच सोम–सोमको नाता जोडियो। यसपछि नै नारायण गोपाल स्वर सम्राटका रूपमा चिनिन थाले।
नारायण गोपालको सेकेन्ड इनिङ सुरुवात हुँदै गर्दा खालिङ आइपुगे। नारायण साथीभाइबाट टाढा हुँदै थिए भने हाकिमका रूपमा नाचघरका कर्मचारी रुष्ट थिए। बजारमा नयाँनयाँ गायक आएर नारायणलाई आँसु र रक्सीका गायकको संज्ञा दिन थालिसकेका थिए। अम्बर गुरुङसितको अनबनले कुनै नयाँ काम हुन सकेको थिएन। रेडियो नेपालमा लगभग नारायण बहिष्कृत थिए, र विशेषतः उनका मीतज्यु गोपाल योञ्जनसितको सम्बन्ध घाटमा आइसकेको थियो। नारायणका अजर–अमर गीत सुनेर फ्यानका रूपमा खालिङ आफ्ना गीत बोकेर नारायणको जीवनमा आए।
बाइबलमा भनेजस्तै ‘लेट देअर बी लाइट एन्ड देअर वज् लाइट।'
दुवैले कम समयमा धेरै दुरीलाई कम गरे। नारायण भर्खर नयाँ घर महाराजगन्ज सरेका थिए, त्यहाँबाट उनी खालिङको डेरा किरण भवन, कालिमाटी, कुपन्डोल सबै धाउँथे। दिउँसो दुवैको भेट रानीपोखरी अघिल्तिर पालेजस्तै झोक्राएर बसेको पुरानो र थोत्रो भवन नाचघरमा हुन्थ्यो।
साँच्चै खालिङ आएपछि नारायणको गायकी र संगीत संयोजन नै बदलियो, उनी नयाँ अवतारमा देखिए।
‘सधैं नै म हाँसे तिमीलाई रुवाइ', ‘मायाको आधारमा सम्झौता नै हुन्छ', ‘विपना नभई बाँचिदिने', ‘म त लालीगुराँस भएँछु', ‘तिमी जुन रहरले ममा फुल्न आयौ', ‘तिमीलाई भुल्दा म एक्लो परेँछु', ‘प्रेयसीका यादहरू एकान्तमा आज'जस्ता क्षेत्रप्रताप अधिकारीका शब्द र खालिङको संगीतमा वाणीपुत्र नारायण गोपाल गुन्जिएपछि रेडियो नेपालको एक्लो साम्राज्य हल्लिन बाध्य भयो।
फर्माइसी कार्यक्रममा बनाएको ऐतिहासिक आरेख नारायणकै गीत ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो'ले तोड्यो। लगभग यो गीत राष्ट्रिय गीतको स्तरमा पुग्यो। दिव्य साँच्चै दिव्य संगीतकार बने।
यी सबै गीतले नारायण एक्कासि तिनका पनि गायक भए, जो एक किसिमले नारायण गोपाललाई सुन्दैनथे। यसपछि उनले आफ्नो संगीत र खालिङको एरेन्जमा हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ' रेकर्ड गरे। यसमा बादल र बर्सातको इफेक्ट–परिकल्पना खालिङले नै गरेका थिए।
‘लार्जर देन लाइफ' भएका नारायणले दिव्यसित काम गरेपछि नवातग पुस्तालाई आफ्नो संघारमा स्वागत गरे। उनले यही समय सबै युवा संगीतकारको संगीतमा गाए। चन्दन लम्जेल, भुपेन्द्र रायमाझी, शम्भुजित बास्कोटा, शुभबहादुर, दीपक जंगम तीमध्ये यादगार नाम भए।

...
नारायणलाई नयाँ परिचय दिने खालिङको आफ्नो जीवनचाहिँ अलिक अनौठो थियो।
‘दिनुपर्ने जे छ, लिनुपर्ने छ
त्यो बराबर हुन्छ, अनुरोध भनिन्छ
मायाको आधारमा सम्झौता नै हुन्छ।'
यस्तै प्रेम सन्देश लिएर उनी अढाइ वर्षदेखि बिछोडिएकी प्रियेसी भेट्न नेपाल आए। काठमाडौं बागबजारस्थित सुपर भेन्यु लजमा प्रेमिका ग्रेसलाई पुनः पाए भने आफ्ना प्रिय गायक नारायण गोपाललाई एकैपटक भेटे– प्रेम र संगीत सँगसँगै।
पोलिस फिल्मकार आन्द्रे वाजदाले भनेझैं प्रेमविना तिमी राम्रो संगीत गर्नै सक्दैनौ। दिव्यको जीवनमा त्यही भयो। दीप श्रेष्ठका फ्यान ग्रेसले खालिङसितको प्रेम–प्रणयपछि उनकै संगीतमा नारायण गोपाल र अरुण थापा सुनिन्।
‘सुगम संगीतमा अल्पसंख्यका गीत गाएर शिखारोहण गरिरहेका अरुण थापाको स्वरितामा दिव्यको संगीतको ओत परेपछि गायनको स्तर र संगीतलाई बुझ्ने धारको फलक बदलियो,' गायक शैलेश सिंह त्यसै भन्छन्।
अरुणका प्रायः गीतमा खालिङको संगीत गुन्जिन थाल्यो। ‘पग्लेर जाने हिउँ म हैन', ‘नपोखिने नजोखिने', ‘आँखाको निद खोसी लाने', ‘साँझको जूनसँगै आउँछु तिमी भनेर' वा ‘मेरो गीत सबै तिमीलाई' प्रसारणपछि नै अरुण एकाएक लोकप्रिय भए। फलतः आफ्ना समकालीनको छाया र मायालाई छोड्नुपर्योप।
खालिङ–अरुणको सांगीतिक गठबन्धनले गायक पेमा लामा, पवन गोले, दावा ग्याल्मो, छोडेन कार्थक, ललित सुब्बाबाट खालिङ टाढिए पनि यसै बेला किरण प्रधान, प्रकाश श्रेष्ठ, तारा थापा, विमला राई, भक्तराज आचार्य, दिनेश सुब्बा, दीपक खरेल, कुन्ती सुन्दास, रोविन शर्मासित निकट बने।
विवाहपछि खालिङ आफ्नो घर नजिक किरण भवनमा बस्न आउनु नै अरुणले आफ्ना लागि आशीर्वाद मानेका थिए।
विक्रम गुरुङ, सरोजगोपाल बज्राचार्यसित गायन सुरु गरेका अरुण खालिङलाई गुरु मान्थे। खालिङका चेला राजु सिंह उनलाई ‘संगीतका व्याकरण' मान्छन्। ‘उहाँलाई पूर्वीय र पाश्चात्य संगीतको स्वरलिपि, वाद्य यन्त्रको रेन्ज, तालको विविधता, राग आदिको ज्ञानले नेपाली संगीतमा छुट्टै छाप छोडेको छ,' उनी भन्छन्।
खालिङको संगीत संयोजन पक्ष नेपाली जगत्मा सबभन्दा बलियो मानिन्छ। अम्बर गुरुङपछि संगीतको विदेशी नोटेसन लेख्न सक्ने संगीतकार उनीमात्र मानिन्छन्। अर्का संगीतकार दीपक जंगम खालिङको खुबीबारे भन्छन्, ‘उनले संगीत संयोजन गरेका गीतमा दाइ नारायण गोपालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ', भक्तराजजीको ‘हजार आँखा छेक्ने', ‘जति चोट दिन्छौ देऊ मायालु' उत्कष्टमा पर्छन्।'
संगीतकार खालिङ राम्रा गायक पनि थिए। २०३० सालतिर बागबजारको विदेशीसँग आबद्ध सांस्कृतिक केन्द्र पद्मा सदनमा नारायण गोपालको गीत गाउँदै गरेको देखेको सम्भि्कन्छन्, गायक दीपक खरेल। उनले त आफ्ना मित्र यादव अमात्यलाई ‘त्यो गीत गाउने को हो' भनेर सोधेका पनि थिए रे।
२०४१ मा प्रथमपटक रत्न रेकर्डिङ संस्थानले आयोजना गरेको गायन प्रतियोगितामा खालिङले नारायण गोपालको गीत हार्मोनियममा आफैं सुनाएका थिए। उनको हार्मोनियम फिटाइ र गायकीले महेन्द्र पुलिस क्लब एकाएक गुन्जिन पुगेको थियो। कैयौंले अर्को नारायण गोपालको आगमन पनि भने। तर, उनले आफ्नै स्वरमा कहिले गीत रेकर्ड गराउन चाहेनन्।
‘दिव्यका देब्रे हातका औंला हामोर्नियमको रीडमा नाच्दा म छक्क परेर हेर्थें। फिट्नु भन्ने शब्द पहिलोचोटि सुनेँ,' खालिङको हार्मोनियम फिटाइबारे उनकै कान्छा काका एनसी खालिङको सम्झना यस्तो छ, ‘म गीत गाउँथे तर त्यही बेलादेखि बाजा बजाउन छोडिदिएँ।'
बाह्र वर्षको उमेरमै दार्जिलिङस्थित सेन्ट कोलम्बस चर्चमा कान्छा काकाबाट ब्रेक पाएका दिव्यले नेपाली संगीतका धेरै कान्छा गायक–गायिकालाई ब्रेक दिए। जसमध्ये उदय सोताङ, कुन्ती सुन्दास, ओम गुरुङ, राजेशपायल राई, कुबेर राईको नाम आउँछ। रामकृष्ण ढकाललाई गायनमा ब्रेक दिने दिनेश सुब्बालाई पनि उनैले ब्रेक दिएका थिए।

...
सन् १९५२ मार्च २८ का दिन पश्चिम बंगाल दार्जिलिङको मिसन कम्पाउन्डमा श्यामसन खालिङ र मार्थाका माइला छोराका रूपमा जन्मेका दिव्य सात महिनामै पोलियोले ग्रस्त भए। शारीरिक अशक्तताका कारण हिँडडुल गर्न नसक्ने भएपछि उनको चकचके जीवनमा बाबुले उपहार दिएको हार्मोनियम नै साथी भयो। पंक्तिकारले २०३९ सालमा लिएको अन्तर्वार्ताक्रममा उनले खुलाएका थिए।
नारायण गोपालजस्तो गायकलाई गीत गाउन लगाउँदा कस्तो महसुस भयो?
खालिङले भनेका थिए, ‘२०२४ सालताका नारायण गोपाल दार्जिलिङ आएका थिए। उनी दार्जिलिङ आउँदा गीतकार, गायक र संगीतकारको जमघट हुने गर्थ्यो। हामी त सानै थियौं। अम्बर सरका पछाडि डुल्न पाउँदा दंग पर्थ्यौं। गोपाल दाजु सिनियर। केही वर्षअगाडि भूपि शेरचनको शब्दमा गोपाल दाजुको संगीतमा ‘अल्झेछ क्यारे पछ्यौरी' हिट थियो। त्यही साल नारायण नयाँ नेपाली फिल्मको गीत कलकत्तामा रेकर्ड गराएर आएका थिए, ‘बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाखा' हामीले त्यही बेला सुन्यौं। र, त्यति बेलैको मेरो सपना हो नारायण गोपालसित काम गर्ने। आज १५ वर्षपछि पूरा भएको छ। एउटा नेपाली संगीतकारको योभन्दा ठूलो सपना के होला?'
दार्जिलिङको हिमालय कला मन्दिरमा गायक कुमार सुब्बा, दावा ग्याल्मो, पेमा लामा, वाँगेल लामा, मान मोक्तान, बद्रीदुर्गा खरेल, वसन्त क्षत्री, कमल दर्नाल, मेनुका प्रधानसित वर्षौंसम्म हार्माेनियमको नियमन जिन्दगी बिताएर उनले अन्ततः नव कलाकार संघ खोले।
नाटक देखाउन नेपाल आएका खालिङले आफ्नै शब्द–संगीतमा रेडियो नेपालमा मीरा राणाको स्वरमा पहिलो गीत ‘बिर्सिएर मैले फेरि तिमीलाई सम्भि्कदिएँ' रेकर्ड गराए। यो गीतले उनलाई रेडियो नेपाल भिœयायो। तर यसअघि नै आकाशवाणी खर्साङमा दावा ग्याल्मोको स्वरमा दिव्यको रचना–संगीतको पहिलो गीत ‘पहाडजस्तो बनिदेऊ तिमी कहिले पनि नझुक्ने, तर सबको बाटोमा पत्थर बनी ठोकर नदेऊ' हिट भइसकेको थियो।
यसपछि ०३६ सालमा रत्न रेकर्डिङ संस्थानले नारायण गोपाललाई एलपी (लङ प्लेइङ) रेकर्ड गर्ने मौका दिएको बेला खालिङका चार गीत रेकर्ड भए। चारै गीतमा उनकै संगीत, उनकै शब्द।
नारायण गोपालले अम्बर, गोपाल, चन्द्रराज शर्मा, शिवशंकर, नातिकाजी, शान्ति ठटालपछि पछिल्लो पुस्ताका संगीतकार खालिङसित गरेको सहकार्यले पहाड, तराई अनि सीमापारि पनि तहल्का मच्चायो।
‘फाँटहरूले कसलाई पुग्छ
भीरमा पनि फुलिदिन्छु
खुसीमात्र कहाँ हुन्छ
पीरमा पनि भुलिदिन्छु।'
दिव्यले क्षेत्रप्रताप अधिकारीको शब्दमा भरेको यो संगीत साँच्चिकै लालीगुराँस बनेर फुल्यो। यसपछि उनले श्रीपुरुष ढकाल, दिनेश अधिकारी, चेतन कार्की, कञ्चन पुडासैनी, राममणि रिसाल, रवीन्द्र शाह, जस योञ्जन प्यासी, शुद्धि नेपाली, सावित्री खड्का पाण्डे, विश्वम्भर प्याकुरेल, रमण घिमिरे, मदनकृष्ण श्रेष्ठ, अमृतलाल श्रेष्ठ, वीरेन्द्र राई, भूपाल राई, भावेश भुमरीका गीतमा संगीत गरे।
दार्जिलिङ छँदै क्रिश्चियन युवा झुन्डका निम्ति मिनी क्यान्टेटा गरिसकेका दिव्यले नेपालमा आएर कृष्णप्रसाद पराजुलीको कृति ‘जूनतारा' र राष्ट्रकवि माधव घिमिरेको ‘सुनपंखी चरी'मा शृंखलाबद्ध संगीत गरे। राष्ट्रकवि खालिङका दुई गुण सम्झन्छन्, ‘सही स्वर ज्ञान र शीघ्र रचना। उनले फुटकर गीत र अपेराको निम्ति प्रशस्त स्वर रचना गरे। उनको संगीतमा दिव्य स्पर्श छ।'
०३५ सालमा ‘रातको प्रथम प्रहर'मा संगीत गरेपछि उनले ‘अतृप्त आत्मा', ‘आघात', ‘कुहिरोभित्र अल्मलिँदा' नाटकमा संगीत गरे। आघात नाटकका निम्ति गीत गाउन अरुणा लामालाई भारतदेखि बोलाए उनले। पहिलोपटक यही नाटकका लागि नारायण गोपालको गीत रेकर्ड गराए।
नाटकबाहेक उनले विभिन्न नेपाली फिल्ममा पनि संगीत दिएका छन्। ‘दिदी'मा संगीत गर्दा उनले राष्ट्रियताको नमुना नै देखाए। मुम्बईमा रेकर्ड गरिने गीतमा उनले भारतीय स्वर प्रयोग नगर्ने निर्णय गर्दै सारा कलाकार नेपालबाट लिएर गए। उनको यस कार्यका निम्ति नेपाली फिल्मका प्राविधिक र उद्योग सदैव खुल्ला हृदयले प्रशंसा गर्छन्।
नेपालमा पहिलोचोटि आयोजित अन्तर्राष्ट्रिय स्तरको नेपाल स्काउटको प्रथम ज्याम्बोरीका लागि खालिङले ०४६ सालमा गीत–संगीत तयार गरे। यसका निम्ति उनी सदैव स्काउट जगतमा स्मरणीय छन्।
वैवाहिक जीवनपछि उनी ०३८ सालदेखि ग्रेससँग नियमित रूपमा काठमाडौं बस्न थाले पनि सानेपा, झम्सिखेल, जाउलाखेल, कालिमाटी, कुपन्डोल, लगनखेल, धोबिघाटको चक्रमा जीवन चलिरह्यो।
शारीरिक रूपले धेरै चलमल गर्न नसक्ने खालिङले नारायण गोपाललाई लिएर घुमिरहे– दार्जिलिङ, सिलिगुडी, सिक्किमतिर।
नारायण गोपाललाई एकल साँझका लागि पहिलो पटक उतार्ने खालिङ नै थिए। प्रकाश श्रैष्ठका साथ नारायणको एकल साँझ ०३९ मा दार्जिलिङमा भएको थियो। यसपछि पोखरा र काठमाडौंमा नारायणका एकल साँझ हुन थाले, जसको प्रमुख श्रेय खालिङ नै हुन्।
नारायण गोपाललाई दार्जिलिङ लगेजस्तै उनले दार्जिलिङबाट अरुणा लामा, शंकर गुरुङ, पेमा लामा, कर्म योञ्जन, डेजी बराइली, कुन्ती सुन्दासलाई नेपाल ल्याएर ०३९ सालमा ‘स्मृतिका कोसेली हाम्रा गीतहरू' आयोजना गरे। जसमा नेपालबाट अभिनेत्री भुवन चन्दसँगै यो पंत्तिकार पनि सहभागी थियो। कार्यक्रम आयोजना नारायण गोपालले गरेका थिए, जसको संयोजक दिव्य खालिङ।
यसबाहेक ०४४ सालदेखि करिब दुई दशक ज्ञानोदय स्कुलमा खालिङ संगीत शिक्षक बने। केही समय धोबीधारास्थित आफ्नै संगीत सिर्जनालयमा संगीतको प्रशिक्षण पनि दिए।
०६० को सुरुवाततिर अचानक मेजर स्ट्रोक भएपछिका दुई वर्ष चानचुन खालिङको चलायमान जीवन संगीतमा होइन, शैय्यामा नै स्तब्ध भयो। उनको निम्ति कोही भएनन्, आफ्नो पुरानो साथी हार्मोनियमले पनि उनको साथ छोड्यो। समय उनको लागि तस्बिरजस्तै स्थिर भयो।
तीन छोरा र एक छोरीका पिता दिव्य अचानक पूर्णतः ग्रेसमाथि निर्भर हुन पुगे। उनलाई चिकित्सा विज्ञान र औषधोपचारले काम नगरेपछि मौनतापूर्वक २५ जून २००६ मा यस धरतीबाट बिदा लिए। काठमाडौंबाट दार्जिलिङ र दार्जिलिङबाट काठमाडौं एउटा शोकको लहर छरियो। उनको आफ्नै शब्दमा भनिएजस्तै उनी सर्वत्र यसरी गुन्जिए–
विपना नभई बाँचिदिने मभित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना।
दिव्यले नारायण गोपाललाई ब्लुजभित्र समेटेका ब्ल्यु नोट्सका कारण सदा स्मरणीय छन् भने नारायणको गीति यात्रामा उनको उपस्थिति सदैव छ, सोमको रूपमा। गायक किरण प्रधानले गाएका ‘पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदेऊ', ‘बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ', भक्तराजको स्वरमा ‘जून लाग्यो लेक ढाकी, जून आउँछ रातिराति' वा दीप श्रेष्ठले गाएको टेलिशृंखला ‘अविरल बग्दछ इन्द्रावतीका' गीत हुन्; बिर्सन गाह्रो छ। फरक यति हो, हामी कतिको सम्भि्कन्छौं!
दिव्यबारे नगेन्द्र गोर्खाले लेखेका छन्,
‘दिव्य खालिङको नाउँलाई एकपटक दार्जिलिङले सोचेको हुन्छ।
दिव्य खालिङको नाम हजारपल्ट नेपालीले सोचिरहेकै हुन्छ।'

Thursday, 23 October 2014

Woman Power in Literature

प्रेरणास्रोत नारी
मिति : २०७० फागुन २४, शनिबार [1055 पटक पढिएको]
प्रकाश सायमी |


आई एम म्याड्म् बाभोरी ! बहुआलोचित यो स्वीकारोक्तिपछि विश्व साहित्यमा गुस्ताभ फ्लेबर्ट निकै चर्चित भएका थिए। फ्लेबर्ट महिला थिएनन्, न त उनले जीवनमा कहिल्यै विवाह गरे। नायिका बाभोरीसित न उनको चरित्र मिल्थ्यो न त कथा। बरु केही हदसम्म उनका संवेदना वा भावानुभूतिले उनको जीवनसित साक्षात्करण गर्थ्यो यस कृतिमा।
म्याड्म् बाभोरी गुस्ताभ फ्लेबर्टको सर्वाधिक चर्चित कृति थियो र उनी यसका निम्ति नै कालजयी भए। कृतिको सफलतापछि उनले हिम्मत गरेर भने, 'म नै हुँ, त्यो नायिका।' नायिकाप्रतिको शतप्रतिशतवादी उनको धारणा कृतिप्रतिको न्यायमात्र नभई महिलाको दु:ख, पीडा वा आक्रोशप्रति सम्मान नै थियो।
विश्वका धेरै राम्रा कृति, धेरै राम्रा सिनेमा वा धेरै राम्रा गीत पुरुषले लेखे पनि त्यसमा महिलाको उपस्थिति वा महिलाको ऊर्जा औं अस्मिताको सफल छायांकन भएको पाइएको छ। त्यसैले कहिलेकाहीँ यस्ता कृतिमाथि सन्देहास्पद भएर हेरिने समाज पनि यथावत् छ।
कृतिको सफलतापछि वा त्यसले उचाइ हासिल गरेपछि स्रष्टा हराएर स्रष्टाको लिंगीय पहिचान खोजिने गरिन्छ।
हलिउडका तीन अपार सफल चलचित्र टेक्विला सनराइज, डिस्पोजल र इन्डिसेन्ट प्रपोजलमा यस्ता प्रश्न नआएका होइनन्। यद्यपि इन्डिसेन्ट् प्रपोजल्‌मा त यो सिनेमा निर्देशक महिला हुन् कि परुष भन्ने घातक प्रश्न बारम्बार आएका थिए। यस फिल्ममा जुलिया रोबर्टस्को भूमिका र टेक्विला सनराइज्‌मा मिचेली फ्रिफायरको भूमिकामा महिला सर्जक हावी भएको समीक्षकले दाबी गरेपछि निर्देशक प्रकट भएर प्रस्टीकरण दिएको थियो।
नेपाली गीति समाजका अत्यन्त आदरणीय गीतकार किरण खरेलका चर्चित गीतमा धेरै नै महिलाको प्रसंग र चर्चा आएको बारेमा उपन्यासकार डा. ध्रुवचन्द्र गौतमले प्रश्न गर्दा गीतकार खरेलले भनेका थिए, 'म बच्चैदेखि महिलाकै वरिपरि हुर्कें। मलाई मामाघरकी हजुरआमाले पाल्नुभयो, काठमाडौं आएपछि फुफू दिदीहरूसित बसेँ। गीतसंगीतमा लागेपछि पनि मलाई महिला कलाकारले बढी स्नेह र साथ दिए। त्यसैले मेरा प्राय: गीतमा महिलाका कुरा आउनु स्वाभाविक हो, म यसमा गर्व पनि गर्छु।'
बालबालिकासम्बन्धी पत्रिका 'कोपिला'का निम्ति लिइएको यो अन्तर्वार्तामा गीतकार खरेलले जे कुरा स्वीकारेका छन्, यस्तै हुबहु विचार केही वर्षअघि भारतका चर्चित फिल्मी गीतकार जावेद अख्तरले पनि राखेका थिए- मेरो रचनामा सदैव महिलाको सम्मान वा इज्जत नै हुने गर्छ कारण म आमा, सानीमुमासित हुर्कें।
बाबुले आमालाई छोडेर गएपछि मलाई मामाघरकी हजुरआमाले नै हुर्काउनुभयो। मेरी आमा बित्दा मलाई मेरी हजुरआमाले लासमाथि माटो छर्ने बेला कठालो पक्डेर 'आमाको मुख हेरेर कसम खा, आमाले पाएको दु:खको बदला लिन्छु, भन् भन्।' मैले त्यसरी नै कसम खाएँ र मेरा सारा रचना, कृति आमाजस्ता महिलाप्रति नै समर्पित भए।
जावेदले आफ्ना धेरै सिनेमामा, गीतमा महिलालाई पुरुषको प्रेरणा वा विजितको भूमिका दिएका छन्। उनका रुमानी गीतमा महिलाको बयान गर्दा ईश्वरको अनुकम्पा वा प्रकृतिको शक्तिसित समतुल्य मानिएको यथेप्सित पंक्ति पाइन्छन्।
पूर्वीय होस् वा पश्चिमा, सबै स्रष्टाका लेखनमा वा विषयवस्तुमा प्रेरणाको स्रोत प्राय: महिला नै भएको पाइन्छ। अझै धेरै स्रष्टाका चर्चित कृति महिलाका विषयमा नै प्रधानताका साथ अगाडि छन्। टोल्सटायको अन्ना केरेनिना वा म्याक्सिम गोर्कीको मदर, डी एच लरेन्स्का लेडी च्याटर्जिज लभलेटर, शरतचन्द्रको परिणीता वा व्सेवोल्द पुडोवकिनको सन् १९२६ को महान् रुसी चलचित्र मदर वा एसियाली भूखण्डमा अत्यधिक सफल मानिएको महबुब खानको मदर इन्डिया वा हाम्रै नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमा यसमध्येका केही गुणनीय उदाहरण नै हुन्।
यी धेरै कारणले वा प्रमाणले गायक, लेखक, चित्रकार, फिल्मकार वा खेलाडीको जीवनको सफलतामा महिलाको भूमिका अहम् रहेको पाइन्छ। फरक यतिमात्र हो- कतै आमाको भूमिकामा, कतैकतै दिदीको भूमिकामा, कतै प्रेमिकाको भूमिका, कतै पत्नीको भूमिकामा। वा कसैकसैलाई छाडेर गएकी प्रेमिकाले र कसैकसैलाई बितेर गएकी पत्नीले पनि रचनाकालमा ठूलो प्रभाव पारेको पाइन्छ।
विश्वविख्यात फुटबल खेलाडी क्रिस्टिना रोनाल्डोकी दिदी अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनका फ्यान थिए। उनले आफ्नो भाइलाई यही नामले जन्म दिए। आज रोनाल्डोसित फुटबल र दिदीले दिएको नाम सँगसँगै टाँसिएको छ, निशानीमा।
गायक अरुण थापालाई आफ्नी प्रेमिका विमलाले छोडेर गएपछि उनले उनकै सम्झनामा राम्राराम्रा गीत गाएका छन्, स्वस्थ सम्बन्धको चर्चा गर्दै। राष्ट्रकवि माधव घिमिरेले पहिली पत्नी गौरी को सम्झनामा गौरी शोककाव्य लेखेर आफू पनि रोएका छन् र अरूलाई पनि अझैसम्म रुवाइरहेका छन्।
भारतीय साहित्य जगत्का शक्तिशाली गद्यकवि डा. हरिवंश राय वच्चनले आफ्ना दिवंगत पत्नी श्यामाको सम्झनामा निशा निमन्त्रण लेखेर कैयौंलाई रुवाए र उनले वाचन गर्दा कैयौं रोए। त्यही कविता सुनेर रुने उनका पाठकमध्ये एक तेजी सुरीले 'आजसम्म तिमी एक्लै रोयौ अब तिमीसित म पनि रुन्छु' भनेर वच्चनलाई जीवनसाथीका रूपमा स्वीकारेर दुई सन्तान अमिताभ र अजिताभको जन्म पनि दिए।
पहिले प्रशंसकका रूपमा पछि प्रेरणाका रूपमा तेजी वच्चन उनका कृतिमा रहिन्।
शब्द वा अक्षरमा जेसुकै खेलबाट गरे पनि कैयन् स्रष्टा साधकले आफ्नो नामको अगाडि सरु वा पछाडि मधु राखेको स्मरणीय हिस्सा पाइन्छ।
अम्बर गुरुङका गीतमा 'उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला' भन्ने गीतमा कैयौं प्रेरक महिलाको नाम सगर्व गाँसिएर आउँछ। गोपाल योञ्जनका सदाबहार गीतमा उनको प्रारम्भिक जीवनमा साथ दिने उनकी महिला मित्र मदन प्रधानको भूमिका कति पाश्र्वतर भएर झल्किन्छ।
हरेक सफल कवि, लेखक, कलाकार वा उद्यमी सबैको जीवनमा महिलाको भूमिका पाश्र्वभूमिबाट अग्रभूमिमा सरेको देखिन्छ। त्यो चाहे चित्रकार पाब्लो पिकासोको बारेमा भनौं या संगीतकार विथोभिन। गायक जोन लेननको जीवनमा उनकी पहिली पत्नी सिन्थिया लेननदेखि उनको जीवनमा योको ओनोसम्मको फरकफरक भूमिका छ तर पनि उनले आफ्ना हरेक गीतमा स्त्रीको वामाशक्तिलाई सहर्ष स्वीकारेर कैयन् गीत रचेका र गाएका छन्।
गीत, कविता, कथा वा जेसुकै रचनामा महिलाको शक्तिलाई स्मरण गर्दै लेखिएका प्रसंगमा स्रष्टाले सदैव आफ्नो प्रेमलाई भन्दा प्रेमिकाको नामलाई ताकत मानेका छन्। मराठी भाषाका सर्वसम्मानित लेखक विजय तेन्दुलकरले महिलाकै समस्यामाथि लेखेर नाटक र मञ्चमा स्त्रैन्यवादी लेखकको खिताब नै पाएका छन्, उनले भारतको आदिवासी जातिमा देखिएको महिलाको समस्यामा कमला वा राजनीतिक वृत्तमा महिलामाथि शोषण भएकोमा गिद्धाडे लेखेर आफ्नो पहिचान बनाएका छन्।
महिला यस अर्थमा धेरै लेखकको प्रेरणाको मुहान त अवश्य बनेका छन् तर कहिलेकाहीँ महिला पात्रमाथि भएका कैयन् कुरालाई विवृत्त गर्ने प्रसंगमा हाम्रो समाज वा हाम्रो अर्धबौद्धिक चिन्तन चुकेको पनि पाइन्छ।
नेपाली गीतमा प्रयोग हुने साइँली र माइली पोइल गएछन् वा निष्ठुरीले छाडेर गई हाली, ओ संगीता वा सेक्सी सीताजस्ता गीत विम्बले कहिलेकाहीँ स्रष्टा साधकले महिलाको शारीरिक बनोटको उपल्लो भागलाई गैरमूल्यांकन गरेर शारीरिक अवयवलाई मात्र हेरेका हुन् कि भन्ने भान पनि हुन्छ। यहाँनिर स्मरण गर्नुपर्ने हुन्छ, संयोगले आजकै दिन (मार्च ८ तारिख) सन् १९२१ मा भारतको लुधियानामा जन्मेका क्रान्तिकारी कवि गजलकार साहिरले लेखेका छन् :
लोग औरत को फकत जिस्म सभझ लेते हैं
रुह भी होती हैं उसमें यह कहाँ सोचते हैं
साहिरले उठाएको यो प्रश्न सन् पचास दशकको भए पनि अहिलेसम्म एसियाली समाजमा स्त्रीलाई रुह भएको (आत्मा र आत्मसम्मानको द्वार भएको ) पुर मान्न यो गठबन्धनको समाज डराउँछ। यो वैश्विक समाजमा विज्ञापन निर्माणदेखि प्रशंसाको पत्र बाँध्ने घडीमा समेत स्त्रीको बौद्धिक शक्ति वा धरातलाई न्युनाधिक्य मानेको पाइन्छ।
रक्सीको बोटलको विज्ञापन होस् वा कारको सिटको छालाको नरमपनामा महिलालाई समतुल्य मानेर बनाइने विज्ञापन र हेर्ने दर्शकमा त्यो नकारात्मक धारणा कायम हुनुमा त्यही सोचको अपसोचनीयताको कमाल छ।
आजको कस्मेटिक्स दुनियाँमा रूप, गुण र सौन्दर्यको दाबेदारीमा कुनै चीजको यथतामाथि चर्चाको चर्खा चलाउँदा महिला नै महिलाको विरुद्ध हास्य पात्र बनेको उदाहरण प्रशस्त पाइन्छ।
हरेक सफल पुरुषको पछाडि महिलाको भूमिका हुन्छ भन्ने बहुलोकप्रिय भनाइमा आजकाल यस्तो व्यंग्योक्ति भरेको उद्धरण पढ्न पाइन्छ, हरेक सफल पुरुषको पछाडि महिलाको भूमिका हुन्छ तर हरेक असफल पुरुषको पछाडि अर्को महिलाको भूमिका हुन्छ।
यो भनाइ सुन्दा जति हल्का लाग्छ तर यसमाथि गरिने तार्किक विमर्श सही हुन आउँछ प्राय:जसो। महिलालाई वेश्याको आरोप लाग्नु वा महिलामाथि सौता लाग्नु वा महिलाकै कारणले महिला बेचिइनु यी र यस्ता धेरै घटना प्रतिघटनामा अर्को महिलाको धेरै हात हुन्छ, त्यहाँ पनि पुरुषलाई परिचालित गरिने कारण महिला नै हुन्छ।
हाम्रा मिथक कथामा महिला यसरी पात्र बनेका धेरै उदाहरण त छन् तर त्यो देखेर जानेर बुझेर पनि घरसमाजमा महिलाको सत्ताशक्ति खोस्न अर्को महिला नै शत्रु बनेको उदाहरण प्रशस्त पाइन्छ। यसबारे महिलाले पुरुषविरोधी भएर सोच्दा त्यति न्याय भएको पाइँदैन।
आज हाम्रो छिमेकी मुलुकमा महिला अधिकारकर्मीको अगुवाइमा मुजरा प्रथा त हटेको छ तर त्यससित गाँसिएको एक सामाजिक एवं सांस्कृतिक परम्परा पनि नष्ट भएको छ। फेरि यसविरुद्ध आन्दोलन चल्दैछ।
हाम्रै समाजमा महिलाले महिलाको समर्थनमा बिना झन्डा बोकेर एकल महिला आन्दोलन सफलतापूर्वक चलाएको स्पष्ट उदाहरण हाम्रासामु घामजत्तिकै छर्लंग छ। भारतको गाजियाबादमा गुलाब ग्याङ अर्को उदाहरण बनेको छ जसमाथि अब प्रसिद्ध अभिनेत्रीद्वय माधुरी दीक्षित नेणे र जुही चावलाको प्रमुख भूमिका देखिँदैछन्।
गुलाब ग्याङ पुरुष निर्देशकले नै परिकल्पना गरेको विषयवस्तु हो जसरी आदिवासी महिला कमलामाथि बनेको नाटक र सिनेमा दुवै पुरुषले नै लेखन, निर्माण एवं निर्देशन गरेका हुन्, विजय तेन्दुलकर र जगमोहन मुन्धरा यसका बधाईका पात्र हुन्।
सामान्यतया कविको कल्पना वा चित्रकारको रंगदर्पणभन्दा बाहिर गएर पनि हाम्रो सामाजिक चिन्तन धराशयी बनेको पाइन्छ, जहाँ महिलाले पुरुषलाई नै दोषी मानेको पाइन्छ। पुरुष यस्ता काममा महिलाकै कारण अग्रसर भएको बुझिनुपर्छ, प्राय: भारतमा चलाइने वेश्याकोठी महिलाद्वारा नै सञ्चालन भएको पाइन्छ तर त्यहाँसम्म महिलालाई पुर्‍याउने र त्यहाँका महिलालाई प्रयोगमा ल्याउने प्रमुख पात्र प्रस्ट रूपमा पुरुष नै बनेका छन्।
पुरुषसत्तात्मक यो समाजमा महिला कामकाजी हुन नसक्नु, पहिला इस्तेमालको मात्र वस्तु हुनु पुरुषको दानवीय सोच पनि हो जसलाई कवि गीतकार साहिर लुधियानवीले यसरी व्यक्त गरेका छन् आफ्नो कालजयी रचनामा :
औरत ने जनम दिया मर्दोंको, मर्दों ने उसे बाजार दिया
जब जी चाहा मसला कुचला, जब जी चाहा दुत्कार दिया
महिलाकै प्रेम, प्रेरणा र प्रशंसाले कति महानतम् कृति लेख्ने पुरुष केही तुच्छ कारणले लोभिएका छन् तर त्यो क्षणिक हो भनिए पनि त्यसले दूरगामी असर पारिरहेकै हुन्छ।
पाकिस्तानकी चर्चित लेखिका तहमिना दुर्रानीले माई फ्युडल लोर्डमा धर्मको बहानामा इस्लामी महिलामाथि दमन गरिएको जनाउ दिएर पुरस्कृत कृति नै जन्माइन् भने शिक्षाका कारण तालिवानीको आँखाको तारो बनेका मलाला युसुफजाई आज विश्वचर्चित उदाहरणमात्र बनिनन्, नोबेल पुरस्कारका निम्ति आजसम्मकै कम उमेरकी मनोनयनमा परेकी अभियन्ता भएकी छन्।
यी र यस्ता उदाहरणबीच भर्खरै पहिलो फिल्म वाद्ज्दा बनाएर इराककी पहिलो महिला निर्देशकको उपाधि पाएकी हाइफा अल मन्सौरले भनेकी छन्- अब महिला साधन होइन, शक्ति हुन सक्नुपर्छ।
महिलालाई हाउस वाइफबाट होम मेकरसम्म बनाउन हाम्रो समाज सदैव दुई कारणले सजग हुनुपर्छ- शिक्षा र सहभागिताले। अवसर त्यसपछि आउने प्रकरणमात्र हो। कवि आलोकधन्वा लेख्छन्, मुख्यमन्त्री एउटा मुस्किलले सत्ता चलाउँछन् कैयन् जत्था लिएर।
तर, मेरी उनी एक्लैले घर चलाउँछिन्। के यो कम कुरा हो र?